–मनिष आजाद
आमा छोरीलाई फोन गर्न डराउछिन्
यस कारण कि–
केही गरी मुखबाट केही निस्किहाल्यो
र ‘गुप्तचर विभाग’ले सुन्यो भने
बाबु छोरीलाई सम्झन्छन्
चिन्ता त लागिरहन्छ नै
तर धेरै फोन नगर्ने कारण
पत्तै नपाइ मुखबाट केही खुस्किने
अनि गुप्तचर विभाग...
ढोकामा राखिएको घण्टीले
कसैले केही खबर ल्यायो कि भनेर
अब कुनै उत्साह ल्याउँदैन
अब त टाउको पो दुखाउँछ
कतै छापामारी त भएन ?
साथीहरू सल्लाह दिन्छन्
राजनीतिक म्यासेज पठाउने नगर्नू
म समाचार पत्र हेरिहाल्छु
यसो भन्दै गर्दा
उनीहरूको आवाज मधुरो हुन थाल्छ
मानौं आफैंलाई चोरी गर्दागर्दै पक्रिएको होस् ।
राजनीतिक मित्रहरू भन्छन्–
काम गर्ने कुनै रचनात्मक तरिका खोज्नु पर्ला
सत्ता असाध्यै दमनकारी छ ।
तर...
तर यदि सत्ता दमनकारी छ भने त
आमाले छोरीसँग धेरै कुरा गर्नुपर्छ
धेरै–धेरै नै कुरा
उसको प्रेमको बारेमा पनि
अनि अँ, आफ्नै प्रेमको बारेमा पनि ।
सत्ता दमनकारी छ
त्यसैले नै
बाबुले छोरीलाई
समय हुनासाथ फोन गर्नु है भन्नुपर्छ
उनलाई नदी, पहाड र झरनाको बारेमा भन्नुपर्छ
र ती किताबको बारेमा पनि भन्नुपर्छ
जुन किताबलाई प्रतिबन्धित गरिसकिएको छ ।
सत्ता दमनकारी छ
त्यसैले त
ढोकाको घण्टी बज्नासाथ
ढोकातिर दौडनु पर्छ
हुन सक्छ
कुनै बच्चाको कपाल
ठक्कर खाएर भित्र आएको होला ।
सत्ता दमनकारी छ
त्यसैले अब
समाचारको होइन कि
सन्देशहरूको खाँचो छ
सन्देश प्रेमको, चिन्ताको, आक्रोशको
सन्देश रोटीको, बिद्रोहीहरूको
गोप्य सन्देश र खुल्ला दुवै सन्देश ।
सत्ता दमनकारी छ
त्यसैले त हामीले
आउँदो पिँढी
एकदम रचनात्मक तरिकाले बाँच्न सकोस्
आउदो पिँढीका
बच्चाहरूका रङ्गिन कलमहरू
एकदम रचनात्मक तरिकाले
कागजमा दौडन सकून
आउदो पिँढीले
एकदम रचनात्मक तरिकाले
कविता लेख्न सकोस् भनेर
सत्तासँग सिधै जुध्न जरुरी छ
बिना कुनै ‘रचनात्मकता’
बस, सिधै सत्ताका आँखामा आँखा जुधाएर ।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले प्रज्ञा प्रतिष्ठानको देवकोटा सभा कक्षमा पानसमा दीप प्रज्वलन गरी आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको तस्बिरमा माल्यार्पण गरेर कार्यक्रमको समुद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा 'मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी-पत्र पूर्णबहादुर रानाले प्रस्तुत गरे । सो अवसरमा उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने बताउँदै संविधानले पनि जातजाति र भाषाभाषीलाई समावेशी अधिकार प्रदान गरेको बताइन् । उनले यसलाई उपयोग गर्दै प्रज्ञा प्रतिष्ठानले थालनी गरेको मातृभाषा साहित्यको बहस अन्तर्गत मगरभाषा साहित्यका आदिकविको योगदानबारे चर्चा हुनु राज्यका प्राज्ञिक अङ्गको उपस्थिति हुनु हो भन्दै यसबाट आफू आशावादी रहेको बताइन् ।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान भएको बताए । उनले कुनै पनि भाषा सानो र ठूलो नहुने बताउँदै मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको बारेमा थप खोजअनुसन्धान हुनुपर्ने बताए ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले नेपालका प्रत्येक मातृभाषामा आदिकवि रहेको बताए । तिनीहरूको योगदानलाई राष्ट्र र समाजसामू ल्याउनुपर्ने उनको भनाइ थियो ।
विचार-गोष्ठीका सभाध्यक्ष, प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापाको ऐतिहासिक योगदानबारे थप खोजी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रस्तुत गोष्ठी-पत्रमाथि मनबहादुर थापा मगरले टिप्पणी गरे । विचार-गोष्ठीको औचित्यमाथि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले प्रकाश पार्दै स्वागत मनतव्य राखेका थिए भने कार्यक्रमको उद्घोषण श्याम राना मगरले गरेका थिए ।
सुनसरीः विश्वकर्मा पूजा आउने बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ ।
कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए । यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो ।
विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजारौँ मूर्ति निर्माण गर्ने गरेको इनरुवा–८ का मूर्तिकार रामलखन मण्डलले बताए । यहाँ दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए ।
इनरुवा–८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेको र तयार भएका मूर्तिमध्ये अधिकांश बिक्री भइसकेका छन् । सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिद–बिक्री हुने गरेको छ । मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए ।
यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दनी गर्दै आएका छन् । यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले सरकारलेसमेत मूर्तिकारलाई समयसमयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवाला बताए । रासस
भरतपुर : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ । भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य सङ्गम चितवनले उक्त कार्यक्रम आयोजना गरेको हो ।
भरतपुर महानगरको हलमा आयोजित कार्यक्रममा कवि राईले अघिल्लो वर्ष प्रकाशित आफ्नो ‘यारी’ कविता संग्रहमा संग्रहीत करिब एक दर्जन कविता सुनाए । ‘सांस्कृतिक एवम् प्राज्ञिक सत्ता र समताका लागि’ अभियानअन्तर्गत भरतपुरमा आएर एकल कविता वाचन कार्यक्रम गर्न पाउँदा खुसी लागेको कुलपति राईले बताए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालमा प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरिएकाले सांस्कृतिक सत्ता र समानताका लागि आवाज उठाउनुपर्ने अवस्था आएको बताए । कवि राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै कवि भूपिन खड्काले उनी पहिचानको आन्दोलनसँग जोडिएका विद्रोही चेतना भएका कवि भएको धारणा राखे ।
कवितामार्फत सीमान्तकृत समुदायको अधिकारका लागि प्रतिनिधि आवाज उठाउँदै आएका राईका सुम्निमाको तस्बिर (कवितासंग्रह–२०५३), दाजै कविता गाउँमै छ (कवितासंग्रह–२०५७), पहिलो हरफ शिरबन्दी (गीतसंग्रह–२०५९), किराती सौन्दर्यशास्त्रको अवधारणा (सहलेखन–२०६६), सीमान्त सौन्दर्य (कवितासंग्रह–२०६७), भूमिगत प्रश्नहरु (निबन्धसंग्रह–२०६९), आगोले जन्मोत्सव मनाउँदैन (कवितासंग्रह–२०७१), सेवान्ने जिन्दगी (गीतसंग्रह–२०७६) लगायतका काव्य कृति यसअघि नै प्रकाशित भइसकेका छन् ।
आधुनिक नेपाली कविताका प्रतिनिधि हस्ताक्षर राई २०७९ फागुन ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा नियुक्त भएका थिए ।
साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य रामहरि श्रेष्ठ,भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र रेग्मी र साहित्य सङ्गम चितवनका सचिव विष्णु तिवारीले पनि मन्तव्य राखेका थिए ।
कुलपति राईका कविता सुन्न चितवन र आसपासका स्रष्टा तथा साहित्य अनुरागीहरू भरतपुर महानगरको हलमा उल्लेख्यरूपमा उपस्थित भएका थिए ।
पवन जायसवाल/मध्यान्ह
बाँके : बाँकेका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबले शनिबार आफ्नो नियमित मासिक गजल गोष्ठी सम्पन्न गरेको छ ।
गुल्जार–ए–अदब बाँकेले प्रत्येक महिनाको अन्तिम शनिबारका दिन आयोजना गर्दै आइरहेको गजल गोष्ठीमा उर्दू साहित्यकारले मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आइरहेका छन् । सोही अनुसार महेन्द्र पुस्तकालको सभाहलमा उक्त गजल गोष्ठीमा साहित्यकारहरुले आ–आफ्ना गजल वाचन गरेका थिए । गजल गोष्ठीमा ‘जो मुझको किसी और का होने नहीं देता’ मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगञ्जका बायोबृद्ध उर्दू साहित्यकार मोहम्मद यूसुफ आरफी कुरैशीको अध्यक्षतामा सम्पन्न भएको थियो । वह गजल गोष्ठीमा भारतका मेराज शिवपुरी, लाल नानपारवीं, हयात नेपाली, सैयद असफाक रसूल नेपाली, सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हमीद सिद्दीकी, मेराज अहमद हिमाल लगायत साहित्यकारहरूले गजल वाचन गरेका थिए ।
कार्यक्रममा जाकीर हलवाई, जमील हाशमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सर्वर नेपालीले गरेका थिए ।
–शुक्रराज कुँवर
“उ मेरो नाताले सोल्टी पर्छ र बाल्यकालदेखिकै साथी पनि हो है मलाई खाली उसैको नाम लिएर घरीघरी घोचि नराख्नुस्, मलाई मन पर्दैन र चित्त पनि दुख्छ ।” आफ्नो घरदेखि हजारौं कोष टाढा खाडी मुलुकमा पसिना चुहाई रहेको सुरजको कानमा आफ्नी श्रीमतीले भनेका यिनै कुरा ठोक्किन आई पुगे । “कति सजिलै भन्छे, मेरो बाल्यकालको साथी हो नाताले सोल्टी पर्छ भनेर” बुढीलाई सम्झिदै मनमनै फुसफुसायो उ । माया त मलाई गर्छे निकै ख्याल पनि राख्छे तर, अलि बढी त्योसँगको हिमचिम चाहिँ मन पर्दैन । सिधै भन्छे त्यसको पनि माया लाग्छ भनेर । जाबो घरमा पालेको एउटा कुकुरको त माया हुन्छ त्यो त मान्छे पो हो त माया हुँदैन ? भनेर भन्छे । यस्तै यस्तै भए नभएका नानाभांती कुराहरु उस्को मनमा खेलिरहे ।
खासमा राज भन्ने राजबहादुर उसको बुढीको बाल्यकालदेखिकै साथी हो भन्ने कुरा उसलाई पहिलेदेखि नै थाहा थियो । उसँग चिनजान नभएको पनि होइन, एक/दुई पटक राज उसको घरमा आएर बसेर, सँगै खाना नखाएको पनि होइन । राज उसलाई राम्रै लाग्थ्यो तर, राजसँग उसको बुढीको हेलमेल ख्यालठट्टा कहिलेकाहीँ फोनमा उनीहरु बिच हुने लामो कुराकानी उसलाई निको लाग्दैन । कति चोटी त राजको विषयलाई लिएर उनीहरुबिच ठाकठुक नभएको पनि होइन । “राज सँग तँ धेरै नजिक छेस्, राजलाई तँ मन पराउछस्, के चल्दैछ तिमीहरुबिच, राम्रो हुँदैन है” भनेर उसले पटक पटक बुढीलाई भन्ने गथ्र्यो । “ए बाबा कति शंकोची भको हो यो मान्छे ! राज र म सानोदेखिकै मिल्ने साथी हो, राजसँग त्यस्तो केही छैन, साथी मात्र हो । त्यस्तो केही भए त राजसँगै बिहे गर्थे होलानी म”, उसको बुढीले स्पष्टीकरण दिने गर्थी ।
उ अर्थात् सुरज गाउँमा अलि हुने खाने वर्गकै छोरो थियो । उसको बुवाले उसलाई गाउँको राम्रो स्कूलमा पढाएको पनि हो तर, उसले पढ्न सकेन । धेरै लाडप्यारमा हुर्केर नै होला अलि साथी सँगती राम्रो थिएन र जिद्धी स्वभावको पनि थियो । उमेर पुगेपछि उसको बुवाले नै सुशील राम्री स्वभावकी केटी खोजेर उसको विवाह गराइदिएका थिए । विवाह भको पनि सात वर्ष बितिसकेको थियो र उसको एउटा चार वर्षको छोरा पनि थियो । “तँ आफै त पढ्न सकिनस्, अब नातीलाई शहरमा राम्रो स्कूलमा पढाउनुपर्छ” भनेर उसको बुवाले नै उसलाई शहरमा कोठा भाडा व्यवस्था गरी राखिदिएका थिए । शहरमा बस्दा उसको सबै खर्च बुवाबाट नै आउने गथ्र्याे । यसरी आफ्नोलगायत आफ्नो जहान बच्चाको सम्पूर्ण खर्चको लागि समेत बुवामाथि निर्भर रहनु पर्दा पछि–पछि उसलाई अलि अप्ठ्यारो लाग्न थालेको थियो । यस विषयमा उसको बुढीले पनि बेला–बेला कुरा उप्काउने गर्थी । उसको स्वाभीमानी मनले पनि यो कुरालाई मनन गरेको थियो । यसैले उ आज खाडी मुलुकमा पसिना बगाइरहेको थियो ।
विदेशको बसाई उसको लागि उ आफैले रोजेको बाटो थियो । उसको बुढी र उसको बुवाले उसलाई व्यापार व्यवसाय गरेर बस्नु, विदेश नजानु भनेर रोक्न खोजेका त हुन तर, उसको जिद्धीको अगाडि उनीहरुको केही लागेन । विदेशमा एउटै कोठामा दुई/चार साथीहरुसँग कोठा शेयरिङ्ग गरेर बस्ने गथ्र्याे उ । छुट्टी भएपछि कोठामा साथीहरु भेला हुने अनि आफ्ना गर्लफ्रेण्ड, बुढी, अरु केटी साथीहरुसँग उत्ताउला गफ गर्नु, छिल्लिनु ईत्यादी एउटा सामान्य प्रक्रिया जस्तै थियो । उ पनि बेलाबखत बुढीसँग रमाईला गफ गथ्र्यो । कहिलेकाहीँ बुढीलाई फोन गर्दा बुढीको फोन निकै लामो समयसम्म व्यस्त रहन्थ्यो र उसको मनमा चस्स चिसो पस्थ्यो । यत्ति भए उसको मनको अन्तर कुन्तर हाल्लिन काफि हुन्थ्यो र मनको कुण्ठा बुढीलाई ओकली हाल्थ्यो । पछि फोन लाग्दा “व्यस्त थियो त अघि, कोसँग गफिदै थिइस् ?” भनेर शंका व्यक्त गथ्र्याे । “हैन क्या गाउँबाट राजको फोन आएको थियो, अनि उसैसँग बोलेको” बुढीले सहज उत्तर दिन्थी र भन्थी “कति सहयोगी छ राज ।”
“अनि त्यति लामो एक/डेढ घण्टासम्म हुन्छ त गफ ? के कुराकानी गर्छस् ओई ? मसँग बोल्दा त फोन राख्न हतार परिहाल्छ तँलाई !” बुढीलाई टोकस्न शुरु गरिहाल्थ्यो उ । “हेर है मलाई त्यो राजसाज मन पर्दैन, पर्दैन भने पछि दिनरात त्यहीसँग फोनमा लठारिएर बस्छस् ?” एकै सासमा भनिपठाउथ्यो उ । विचरा उसको बुढी मनमा कुनै पाप अधर्म थिएन, बुढालाई कुनै कुरा ढाँट्न छल्न आउँदैन थियो । भन्ने गर्थी “के भन्न खोजेको हजुर, अनि मान्छे सँग बोल्न हाँस्न हुँदैन त ? फेरि बोल्दैमा, हाँस्दैमा उसैको भैहाल्छ ? यसरी त कसरी व्यवहार चल्छ । हेर्नुस् सबै .भन्दा ठूलो कुरा विश्वास हो । सम्बन्धहरु विश्वासमै अडिएका हुन्छन् । रुखो बोलेर, कसैको दिल भाँचेर विश्वासको जग हल्लाउने काम नगर्नुहोला । विश्वासको जग हल्लियो भने आफ्नाहरु पनि बिरानो बन्न कत्ति बेर लाग्दैन । जहिले गिदी खाने कुरा झिकेर अनावश्यक विवाद गर्नुहुन्छ, मनमा कुण्ठा बोकेर पनि हुन्छ ?”
बुढीको कुराले उसलाई कतिको असर गर्छ, भगवान जानोस् तर उ पनि बुढीलाई माया त गथ्र्याे । बुढीको हरेक आवश्यकता पूरा गथ्र्यो । सन्चो बिसन्चो ख्याल गथ्र्याे, आफ्नो छोरा, बुवा आमा, घर परिवार सबैको ख्याल गथ्र्याे, यहाँसम्मकी बुढीको माइतीतिरका नातागोता सासू ससुरा सबैको पनि ख्याल राख्थ्यो । सबै राम्रो थियो तर, यत्ति हो कि आफ्नो बुढी कुनै पुरुषसँग बोलेको, हाँसेको मन पर्दैन थियो । झन राजसँग बोलेको हाँसेको त फिटिक्कै मन पर्दैन थियो ।
मरुभूमीको तातो उष्ण हावापानी, बाहिरको तापक्रम ४५/४६ डिग्री सेल्सियस भएता पनि उ बस्ने कोठा वाताणुकुलित थियो । तर उभित्रको कुण्ठाले वाताणुकुलित कोठालाई पनि तताएर उसको मथिंगल गरम बनाई दिन्थ्यो । बुढीसँग उसलाई किन रीस उठ्छ अक्सर मोबाइल स्विचअफ गरेर बस्थ्यो । उसलाई थाहा थियो घर फोन नगरेको पनि धेरै लामो समय भएको थयो । एक/डेढ हप्ता अगाडि घर फोन गर्दा बुढीसँग कुरै हुन पाएन । अरु केही कुरै नगरी एक्कासी उस्ले “तेरो राजको खबर के छ त ?” भनेर सोधेको थियो । “ए राज त दुई/चार दिनदेखि यतै छ त” भनेर अरु केही जरुरी कुरा भन्न हतास पूर्वक बुढी बोल्न खोज्दै थिइ तर, अरु कुरा बोल्नै नपाई “तँलाई खुँडी !” भन्दै रिसले फोन काटेर फेरि स्विचअफ गरेर बसेको थियो उ र अनाप सनाप बकेको पनि थियो ।
“ए राज त दुई/चार दिनदेखि एतै छ त” बस ! बुढीको यहि कुराले नै उस्को मनमा भूँइचालो गइरहेको थियो । “लु ! अब त सक्किगो नि, दुई चार दिनदेखि राज घरमै छ” उसको मनमा भुसको आगो सल्किन थाल्यो, पापी मन उर्लेर आयो र उभित्रको कुण्ठा ज्वाला बनी दन्किन थाल्यो । बिगत सम्झदै भए/नभएका कुराहरु गुडुल्कि बन्दै आउन थाले । भो अब त घर गए भने त्यही राजसँग जा भन्दिन्छु सिधै । यिनै यस्तै यस्तै कुराहरु मन मथिङ्गलमा खेलेर उ एक किसिमले ‘साईको’ जस्तै भएको थियो । सायद मनोचिकित्सकको जरुरत थियो कि ?
मनमा बुढीप्रति कुण्ठा पालेर बसेको उ, यो कुण्ठा हो हैट मैले यस्तो सोच गर्नु हुन्न भन्ने चेत पनि थियो उसलाई । विचरा बुढी भनेर हुलुक्क माया जागेर पनि आउन्थ्यो घरिघरि । सायद गल्तीको एहसास हुन्थ्यो उसलाई । यही परिवेशमा एकदिन उसले मोबाइलको स्विच अन गर्या र बुढीलाई फोन लगायो । निकै बेरसम्म रिङ्ग गइरह्यो तर, फोन उठेन । पटक–पटक गर्यो तर, उठेन । उसको मनमा फेरि चिसो पस्यो । रीसले फेरि स्विचअफ गर्यो र पुनः केही बेर पछि स्विचअन गर्यो र कल लगायो । धेरै बेरको रिङ्गपछि बल्ल फोन उठ्यो “हेलो !”
बुढीको मोवाइलमा पुरुष आवाज सुनेपछि खंग्रङ भयो एकछिन । मुटुको गति बढे जस्तै पनि भयो तर सम्हालिँदै केही रुखो स्वरमा भन्यो
“अँ को हो, को बोलेको ?”
“म तेरो बुवा बोलेको चिनिनस् ? बुहारी अहिले सागसब्जी किन्न बाहिर गाकी छिन, यहाँ मोबाइलमा तेरो फोटो देखे र उठाको । के छ तेरो खबर ठीक त छस् ? मोबाइल पनि स्विचअफ राख्छस् ।”
“ए ! ए ! बुवा ? कहिले आउनु भयो बुवा ? ढोग गरे ।”
“ल भाग्यमानी भएस ।”
“अनि बुवा किन आउनु भयो ?”
“म आएको त्यस्तै दुई हप्ता भयो होला । एपेन्डिक्स फुटेर झन्दै मरेको । त्यो राज बाबु नभएको भए त सायद अहिले ‘बाउ’ भन्न पनि पाउने थिइनस् होला । अपरेशन नै गर्नु पर्यो । लकडाउनको बेला अस्पताल जान पनि धेरै गाह्रो थियो, त्यो बावुले धेरै तिर सम्पर्क गरेर बेलैमा एम्बुलेन्स बोलाएर मलाई अस्पतालसम्म ल्याइपुर्याए । साह्रै सहयोगी मनकारी रहेछन् ति बावु । तीन दिन, तीन रात त अस्पतालमै बसेर छोराले झैँ स्याहार गरे, एकछिन छोडेनन् राज बावुले । बाहिर होटल सबै बन्द थिए, बिस्कुट चिउराको भरमा अस्पतालमै गुजारे राजले । डिस्चार्ज भएपछि गाउँ फर्किने कुनै साधन थिएन, बिचरा म हिँडेरै घर पुग्छु बुवा भनेर गए बरा । कति मुश्किल भयो होला । चार दिन जति अस्पताल बसेर डिस्चार्ज भयो, अब दुई हप्तापछि टाँका काट्न बोलाएको छ । तँ अब छिटो घर आइज, भो पर्दैन परदेशमा पसिना बगाउन ।”
बुवाको कुरा सुन्दै गर्दा उ मैन बत्ती पग्ले झैँ पग्लिदै थियो तप्प तप्प, अब प्रकाश निभ्न मात्र बाँकी थियो । आफू उभेको जमिन पनि भाँसिदै गए जस्तो भान भइरहेको थियो सायद उसलाई । आफ्नो धरातल थाहा भयो होला कति निच सोचाई रहेछ उसको राज र आफ्नै बुढीप्रति । अब कुन मुख लिएर बुढीको अगाडी देखा पर्ने ? आफैप्रति लाज र ग्लानी भएर भक्कानिन खोज्दै थियो त्यहीबेला उसको मोवाइलको रिङ्ग बज्यो । बुढीको रहेछ ‘रिसिभ’ गर्यो दबेको स्वरमा बोल्यो “हेलो ।”
“तपाईं घर आउनुहोस् प्लिज !” बुढीको स्नेहमयी आवाज ।
“मलाई माफ गर बुढी ! मलाई माफ गर !” सास अड्काई अड्काई बस यत्ति बोल्न सक्यो । केही गर्न सक्ने अवस्थामा थिएन, मनभरी कुण्ठा पालेर बसेको उ आत्मग्लानी र पश्चातापको भुँग्रोमा जलेर उसको कुण्ठा खरानी भै सकेको थियो ।
–बाबुराम न्यौपाने ‘उत्स’
कलेजको दैनिकी पूरा गरेर साँझ घर आउनासाथ सधैँ भान्साकोठामा पसेर आफ्नै हातले चिया बनाएर पिउने समाजशास्त्र विभागकी प्रमुख प्रो.डा. जानुकालाई त्यसदिन फिटिक्कै चिया बनाउने जाँगर चलेन । बिहानैदेखि मनभित्र एक किसिमको उराठीलो हुरी चलिरहेको थियो । उनी आफ्नो सयनकक्षमा गइन् । पलङ्गमा बिछ्याइएको रातो गुलाफको फूलबुट्टे सुकिलो तन्नामाथि अर्धनग्न अवस्थामा डङरङ्ग ढलिन् ।
उनलाई घरको काममा सघाउने रमिलाको पनि एक महिना अगाडी विवाह भएकाले त्यस समयदेखि घरको माथिल्लो तेस्रो तल्लामा एक्लै बस्थिन् । तल भाडामा बस्नेहरु पनि आ–आफ्नै दैनिकीमा व्यस्त थिए । सम्पन्न, सुशील, शिक्षित भएर पनि केही दिनदेखि अनौठो निराशा र छट्पटीले जानुकालाई नराम्ररी तर्साउन थालेको थियो । जब उनी कलेजको हाताभित्र प्रवेश गर्थिन्, उनको सुन्दरता र सौम्यतामा रमाउँदै वरीपरीको वातावरण गमक्क भएर फुल्थ्यो ।
तर जानुकाको मन भने बेचैन भएर बिथोलिएको थियो । उनी विवाह भएको दशौं वर्षगाँठमा पहिलोपटक यति शून्य शून्य, उराठीलो र एकाङ्की जीवन महसुस गर्न पुगेकी थिइन् । सारा भौतिक सुखसुविधाहरु व्यर्थ र निरर्थक लाग्न थालेका थिए ।
केहीबेर विस्मिर्तिको भावमा टोलाइरहिन् । अनि शून्य कोठामा लामो उच्छवास छाड्दै ल्याप्टपको स्वीच अन गरिन् र स्क्रिनमा सुरक्षीत गरेर राखेको शिशुको फोटो चुमिन् । केही क्षण भावुक बनिन् र तपक्क आँसु खसालिन् । आज बिहान विदुरलाई नेपाल आउन गरेको अनुरोध त्यतिकै औपचारिक गफमै सिमित बनेकोमा निकै मन दुःखाइन् ।
तीन महिना अगाडी आफ्नो पैँतिसौँ जन्म दिनमा नेपाल आउन गरेको अनुरोधलाई पनि विदुरले सामान्य गफमै टारिदिएका थिए । काखको सुन्यता, जीवन साथीको दूरता र बढ्दो उमेरको अनुभूतिले जानुकाको मनलाई नराम्ररी डसिरहेको थियो ।
यस घटनापछि उनमा एक किसिमको बिरसिलो भाव उत्पन्न भएर हुनसम्मको खिन्नता जाग्न थालेको थियो । उनका पति विदुर संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली कुटनीतिक नियोगमा प्रशासकीय प्रमुखमा कार्यरत कर्मचारी थिए । उनको जागिरे जीवन बढी विदेश तिरै बित्थ्यो । वर्षको एक पटक छोटो समयको लागि मात्र नेपाल आउँथे । धेरै करगरेमा बरु जानुकालाई नै कहिलेकाहीँ उतै बोलाउँने गर्थे ।
जानुकाले पढाउने कलेजमा केही महिना पहिले राजीव नामका एक आकर्षक र व्यक्तित्वशाली अविवाहित लेक्चरर आएका थिए । केही दिनदेखि जानुकाप्रति उनको गहन झुकाव र आकर्षण बढ्दैथियो । यसको भनक जानुकालाई पनि थियो । तर, उनले नजानिदो मौनतामै बस्न मन गरेकी थिइन् ।
नचाँहदा नचाँहदै जानुकाको मन राजीवप्रति लहसिँदै थियो । जैविक आवश्यकता र सामाजिक मर्यादाको घेराबन्दीमा परेर प्रेमका अनेकौं निर्दोष पात्रहरूको कारुणीक दुर्दशा भएको यथार्थप्रति उनी अनभिज्ञ थिइनन् ।
उता विदुरप्रति उनको अगाध प्रेम र स्नेह थियो । विदुर पनि कम व्यक्तित्वशाली पुरुष थिएनन् । उनमा पनि जादुयी आकर्षण थियो । त्यही भएर उनका केटी साथीहरू धेरै थिए । एकान्तमा कहिलेकाहीँ अन्तर मनको शंका मौन बनेर जानुकाको धैर्यलाई बिस्तारै चिमटी रहन्थ्यो ।
जब उनीहरूको भेट पातलिन्थ्यो अनि जानुकाको हृदयमा अनेक आशंकाहरु पीडा भएर जन्मिन्थे । विश्वास मनको किर्किरी बन्न पुग्थ्यो । विदुरलाई हिजोआज नाइट क्लब र डान्स बार चाहार्दैमा फुर्सद थिएन, बजारमा हल्ला थियो । उनी नेपाल नआएको करिब एक वर्ष बितिसकेको थियो ।
विदुरले जानुकालाई भएभरको आधुनिक सुखसुविधा र पैसा त उपलब्ध गराएका थिए तर, जब जानुका भेटघाटको अनुकुलता खोज्थिन् कुनै बहना बनाएर टार्थे । जानुका आफैँ पनि हर क्षेत्रमा सक्षम थिइन् । यही बिन्दुबाट जानुकाको असन्तुष्टि सुरु हुन्थ्यो । उनको सचेत बौद्धिक मस्तिष्क यहाँनेर कुहिराको काग बन्थ्यो ।
विदुरमाथिको शंका उपशंका घनीभूत भएर आउँथ्यो । कहिलेकाहीँ हल्ला सुन्थिन् जागिर छाडेर विदुर अमेरिकामै बस्ने सोचाइमा छन् रे ! तर जानुकासँगको संचार सम्पर्कमा उनी भद्र र मायालु पतिकोरुपमा प्रस्तुत हुन्थे र चाँडै नेपाल आएर सधैँका लागि बस्ने भन्दै राष्ट्र प्रेमका कुरा सुनाउँथे ।
यसपटक निकै आग्रह गर्दा पनि अनेक बहना गरेर विदुर नेपाल आएनन् । जानुकाको एकांकी जीवनलाई एक्लोपन र निराशाले छोप्तै गयो । राजीवलाई परराख्न खोज्दाखोज्दै पनि सुटुक्क आँखा छलेर उनको मनमा पसिसकेको थियो ।
एकरात जानुकाले सहकर्मी राजीव अन्तरंग साथीबनेर आफ्नो नग्नशरीरसँग जथाभावी उन्मत्त खेलिरहेको सपना देखिन् । उनको स्वप्निल अश्लिलतामा कति पनि प्रतिरोध थिएन ।
कुनै परपुरुषले सपनामा पहिलो पटक मधुरचुम्बन गरेको उनको सर्वाङ्ग शरीर पसिनाले छपक्क भिजेको थियो । प्रसव वेदनामा छट्पटीँदै गरेको अधुरो सपना पछि..., जब उनी ब्यूँझिइन् । लाजले पानीपानी मात्र भइनन्; उदात्त खुशीले मनमनै झुमिन् पनि ।
रातको सन्नाटामा नयाँ अनुभूतिले अनायास उनलाई हृदयको गर्भसम्मै रोमाञ्चित स्पर्श गरेर गएको थियो । राजीव उनको मनमा यति सजिलै यति गहिराइसम्म कसरी बस्न पुग्यो उनलाई पत्तै भएन । पाप पुण्य केही नसोची अन्तर मनमा अमूर्त आनन्दको लहर निर्बाध रुपमा छचल्किन दिइन् । मनमा ग्लानीका भावहरु ढिम्किनसम्म दिइनन् ।
जीवनमा पहिलोपटक आफूभित्र विदुरको उपस्थितिलाई पलभरका लागि पूरैबिर्सन मनगरिन् ।
यतिसम्म सोच्न भ्याइन्...!
“अहो ! यो पल विपना नै भएर स्थिर भइदिएको भए.... ।”
–धनराज गिरी
आयो एक भएर लाल नगरी हल्ला भयो लोकमा
कोही ढुक्क भए यहाँ नगरमा कोही परे शोकमा
छिर्के दाउ कतै थियो मुलुकमा ब्वाँसा थिए घातमा
गाँठो कस्सिन गो भयो गजब यो आहा भयो रातमा ।।
धेरै घाउ बने कठै विगतमा रोयो चरी बेस्सरी
धेरै साहु बने अहो मुलुकमा राजा बने के गरी ?
राजा एक गए बने अझ बढी श्रीपेचधारी यहाँ
सत्ता खेल कठै बिचित्र हुन गो सारै गनायो यहाँ ।।
जे जे भो पहिले भयो अब गयो मौरी बनौं देशमा
गोठालो सब हौँ यहाँ अब सके लौरी बनौं देशमा
ढीक्का एक भए रहे सुपथमा होला उज्यालो सधैँ
यो जापान बने यतै मुलुकमा बस्लान् बचेरा सधैँ ।।
सारा भ्रष्ट यहाँ पतीत जन ती देखेँ सधैँ मोजमा
चम्चा धेर लिई सधैँ शहरमा मस्ती गरे भोजमा
यस्तो झूर कथा थियो भुवनमा कालो थियो नाम नै
सारा मेट्न सखे मिली सब मिली आयो नयाँ वाम नै ।।
आशा एक यही भयो रहर भो यो जाम जाला उता
नेपाली जनता खुशी सब खुशी यो माम खाला यता
नेपाली मनमा पवित्रपनमा नेपाल नेपाल होस्
सारा शुद्ध बनी धनी हृदयले नेपाल मात्रै जपोस् ।।
काठमाडौं : लेखक तथा साहित्यकार नारायण थापा 'कल्पित'द्वारा लिखित दुई कृति शनिबार विमोचन गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी कृतिहरु विमोचन गरिएको हो ।
शनिबार थापाका दुई कृति 'चाँदनी' उपन्यास तथा कथा संग्रह 'उल्टो म' को विमोचना गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए ।
उक्त कमर्यक्रममा थापाद्वारा रचित दुई गीतसमेत सार्वजनिक गरिएको थियो । 'कौसिमा हेरेर' र 'मूल्य त पाइन्छ' बोलका दुई गीत सार्वजनिक गरिएको हो । ग्रिन भ्याली समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा वरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
–टीकाराम रेग्मी
आज पनि उनी यही बाटो आउँदै छिन् । सोमराजले उनीतिर पुर्लक्क हेर्यो । पुसको कठाङ्ग्रिदो जाडोमा भर्खर देखापरेको घामको रापमा बसेर एकाग्रतापूर्वक लेख्दै गरेको सोमराजलाई उनको आगमनले विद्युतीय झड्का दियो । उसको हातको कलमले सुइय गर्दै थकाइ मार्यो । के सोंच्दै थियो उसले ? तर किन उसको एकाग्रता खण्डित भयो ? उसलाई हेक्का भएन ।
उसले फेरि हेर्यो, उनलाई । दुई/चार रौंहरू लत्रिएर छोपेको लाम्चो सफा हँसिलो उज्यालो अनुहार । गुलाबी गाला । चञ्चल ठूला आँखा । राम्ररी कोरिएको लामो र कालो रेशमी कपाल । पुष्ट बक्षस्थल । स्वस्थ नितम्ब । उनी सरासर उसैतिर आउँदै छिन् । “अहँ, मैले उनीसँग बोलि पनि त मिसाएको छैन । तर, किन यति सशक्त आक्रमण गर्यो उनको अनुहारले मलाई आज ? होइन, उनको अनुहारले मात्र होइन, उनको अग्लो पातलो शरीर, छिनेको कम्मर, लचकदार गति, शीलले झुकाएको शीर ।” सोमराजको मन रमायो ।
उसले सँगै बसेको अधबैंसे प्रभातलाई पुलुक्क हेर्यो । उसलाई प्रष्टै भयो । प्रभातले पनि त उनैलाई हेर्दै छ । उसलाई लाग्यो प्रभातका नजरहरू ती दुईका बीच पर्खाल बनेर उभिँदैछन् । उसले नजर अन्तै घुमाए झैं गर्यो । तर, प्रभातले नजर हटाएन । उसलाई सम्झना भयो अस्ति मात्रै उनी यही बाटो भएर हिँड्दा पनि प्रभातसमेत अन्य दुई साथीले पनि उनैलाई हेर्दै थिए । तर, किन सरिता त्यो देख्नै नसके झै फनक्क फर्केर कोठाभित्र पसिन् ? आखिर सरिताको पनि त हामीसँग कुनै लेनदेन छैन । फेरि, यी को हुन् ? कहाँबाट आएकी हुन् ? कता जाँदै छिन् ? कहाँ बस्छिन् ? यो बाटो भएर प्रायः किन हिँड्छिन् ?
अस्तिको जम्का भेटपछि प्रभातले भन्दै थियो, “किन कुनै नारीलाई यति धेरै सुन्दरता दिन्छ प्रकृतिले ? किन लाग्छ एउटा मान्छेलाई यति धेरै नशा सुन्दरीको उपस्थितिले ? किन हुन्छ योरूपमा यति धेरै मादकता ?”
के ऊ साँच्चै प्रभावित छ यो महिलाप्रति ? आज उसलाई प्रभात आफ्नै अर्धाङ्गिनीबाट तृप्त हुन सकेको छैन भन्ने रहस्योद्घाटन भएको आभाष भयो । तर, के हुनसक्छ यसको कारण ? के सौन्दर्य मात्रै होला ? या के हुन्छ र यी महिलाहरूमा बुढा शेरहरू पनि पछि लाग्दछन् ? के साच्चै ऊ आफ्नी अर्धाङ्गिनीसँग सन्तुष्ट नभएकै हो ? त्यसो भए कारण त होला नि ? के हुनसक्छ त्यो ? वा, ऊ सन्तुष्ट हुँदाहुँदै पनि आँखा डुलाई बस्छ यो ? ऊ मात्रै ? कि सबै पुरुषहरू ? त्यसो हो भने भोलि ऊ आफै पनि यस्तै हुन्छ ? के ठेगान ! सोमराज चिन्तामग्न भयो ।
सोमराजले उनीतिर छड्के नजर लगायो । ऊ सतर्क थियो, कतै उसको दृष्टिमा कसैको नजर नपरोस् । राम्रो मौकामा उसले नजर लगाएको थियो । उ दंग पर्यो । उसका आँखाको तिर उनका खुला आँखामा परे । मृग नयनी । उसले झट्ट मूल्यांकन गर्यो । के उनले पनि मलाई नै हेर्दै थिइन् ? हुन पनि सक्छ । सोमराज दंग पर्यो । के कसैले मेरै लागि पठाएको हो यिनलाई ?
उ सराङ्कोटको डाँडामा उनैलाई अङ्गालोमा बाँधेर उभियो । टावरको गार्डलाई तस्बीर खिच्न लगायो । “दाई, अलिक त्यो माछापुच्छ्रेलाई पनि मेरो सिरानीमा राखी दिनोस् न । फेवालाई पनि नबिर्सनोस् नि । यो त काखैमा आएर बसोस् है थपक्क ।” गार्डले घुमी घुमी उनीहरूको इच्छानुसारका तस्बिर लिइदियो । ऊ एकाएक डुङ्गामा सवार भयो । कसरी जानेको नि सोमराजले डुङ्गा चलाउन पनि । उनी मस्किइन्, उसको चुट्किलासँगै । मुस्कान भरिएको लजालु नजरले उसलाई हेरिन् । चोर औंला टोकिन, कर्के आँखाका तिर फाल्दै गर्दा उनी लहसिइन् । लत्रिन् कर्कलो झैँ । ढलिन् गलेको माटोको डल्लो झैं, निसहाय । निसहाय ? होइन । परीक्षण होला सायद । आफूलाई भाग्यवानी ठान्यो । उसले सम्हाल्यो । डुङ्गा ढल्पलायो । उसलाई लाग्यो, होइन उनको मुटुको धड्कन् हो । ऊ उनैसँग लीन भयो । एकाकार भयो । पुरुष र प्रकृति भनेको यही हो ?
“सोमसर, कता टोलाइ राख्नु भाको ?” सरिताले व्यग्यांत्मक मुस्कान दिइन् उसलाई । उसले मान्यो, कसैले उसको भाग्य खोस्दै छ । यो सरितालाई मैलै कसलाई हेर्छु भन्ने चियो चर्चो गर्न किन परेको ? होइन, प्रभात त ल भइगयो, ऊ त पुरुष हो नि । उसले आँखा तर्यो । मन लोभियो होला । तर, यो सरितालाई के भाको होला ? यो दुई/दुई बच्चाकी आमालाई मेरो चियो चर्चो किन गर्नु ? अनि त्यो सुन्दरीसँग यसको के लिनु दिनु छ ? के यिनले यो सुन्दरीलाई सौता ठान्छिन् ? किन ? कि महिलाहरू एक–आपसमा जन्मजात सौता हुन् ? के यिनीहरू सौता हुनैको लागि जन्मेका हुन् ? भनिदिऊँ कि – जता टोलाए पनि के न टोलाए पनि के ? यी आँखाले खुइलिएको पाखो हेर्ने चलन छैन क्यार । उसको जिऊले जिरिङ्ग गर्यो । यसो हेर्यो – पाखुराका रौं पनि जुरुक्क उठेछन् ।
भोलिपल्ट पनि सोमराजले बाटोभरि उनैलाई खोज्यो । आज घाम पनि लागेको छैन । बादल पनि छैन । चिसो बतासले कसैको सन्देश ल्याइरहे झैं मन्द सुसेलो हाल्दैछ । चौर भरी शीतका थोपाहरू लटरम्म सुतेका छन् अङ्गुर सुकाए झैं । उ आजपनि खुला चौरमै एउटा कुर्ची राखेर बस्यो । उसले जाडो अनुभव गरेन । उसको पातलो स्वीटरले धानेर होला ? आँखाहरू बाटोभरी छिचलेर उ पर्खिरह्यो । तर के भयो आज ? के उनी आउँदिनन् ? उसले मनमनै सोच्यो । होइन, आउँछिन् । पक्कै आउँछिन् । मान्छेले प्रतिक्षा गर्न पनि त सिक्नैपर्छ । उसले आफैंलाई सम्झायो ।
“सोमराजजी, के छ आज त्यो चौरमा ? तपाईंलाई चिसो हावाले छोएको छैन ?” प्रभातले उसलाई बोलायो । उसले सुन्यो । तर, उसले अभिनय गर्यो, उसले सुनेको छैन । बरु बोल्यो मनमनै, “तपाईंलाई चिसो हुँदैमा मलाई पनि चिसो हुनुपर्छ ? मेरो लागि त तातै हो नि ।”
उसका हप्तौं प्रतिक्षामा बिते । उनी आइनन् । कसैले पहिल्यै लेखेको एउटा प्रेम पत्रको एक लाइन सम्झ्यो उसले, “कुनै एक दिन मेरो अनुपस्थितिमा थाहा पाउने छौ मेरो उपस्थितिमा म तिम्रो निम्ति के थिएँ !” तर उस बेला यो प्रेम पत्रको भाषा पढेर उ हाँसेको थियो एक्लै गल...ल‘ल‘ल‘ल ।“
के म साँच्चै निराश छु ? अँह । म निराश हुन्न । उनी आउँछिन् । उसले आफैलाई सान्त्वना दियो । प्रतिक्षाको घडी लामो हुन्छ भन्छन् अनुभवीहरू, साच्चै रहेछ । आज उसलाई एउटा अपरिचित मान्छेको एक हप्ता मात्रैको प्रतिक्षाले तड्पाइ रहेको छ । छटपटी ल्याइदिएको छ । दिनचर्या लै फेरिदिएको छ ।
आज एक हप्तापछि यही बाटो भएर जाँदै गरेको देख्यो उसले उनलाई । उ झल्यास्स भयो । हो त, मेरो विश्वास त कहाँ मरेको थियो र ? मान्छे आशाले बाँच्छ भनेर त्यसै त कहाँ भनेका हुन् र जानिफकारहरूले ? सत्यता छ नि यो भनाइमा । उ गजक्क पर्यो । दौडेर गई बोलाउँ कि । उसलाई लाग्यो । तर, के भनेर बोलाउने ? के काम पर्यो भनेर बोलाउने ? साथीहरूले के भन्लान् ? सरितालाई त छट्पटी नै लाग्नसक्छ । सोमराजको आँट पुगेन । दाँया बाँयाका नजरहरू छल्दै झल्याक झुलुक हेर्यो मात्र । आज पनि उस्तै राम्ररी मिलेको कपडामा थिइन् उनी । गुलाबी साडी र ब्लाउज्, उस्तै रंगको स्यान्डल, ओठ पनि उस्तै । राम्ररी खुलेको थियो उनका सौन्दर्य । आज केही बेसी नै तृप्ति लियो सोमराजले । नदेखेकै हप्ता दिनपछि देखेकोले यो कम खुसीको दिन रहेन उसलाई । उ मुस्कुरायो यो आनन्दमा । तर यो तृप्तिले उसको तृष्णा झन बढाइ दियो । कसरी प्राप्त गर्न सकिन्छ यी परीलाई ? तर यसको जवाफ उसँग थिएन ।
गोँधुलीको समय थियो । पसल जानुपर्ने । पठाउने मान्छे पनि त छैन सोमराजको कोही । उ आफै पसल गयो । तर ग्राहकको भीड । उसलाई पनि भीडमाथि भीडमा पस्नै पर्ने भयो । केही क्षण प्रतिक्षा गरूँ ? तर, के निश्चित छ र यो भीड कम हुन्छ भन्ने ? भोलिदेखि अनिश्चितकाल बन्दको हल्ला छ । बितेका यस प्रकारका बन्दहरू हप्तौं लम्बिएको उसलाई थाहा थियो । र, थाहा थियो एम्बुलेन्सहरूलाई समेत निर्धक्क चल्न नदिइरहेको समयमा समेत कुखुराको दाना बोकिरहेका गाडीहरुमा अत्यन्त संवेदनशील दुई दिने चल्ला तथा दाना लेखिएका ब्यानर झुण्ड्याएर निर्धक्क चलिरहेका पाइने अवस्था थियो । अब यो बन्द पनि कति दिन जाने हो, के ठेगान थियो र ? पन्ध्रौं दिन पनि त जान सक्छ । सबैलाई केही न केही सामल जुटाइ राख्ने सोच छ । खोइ के कम होला र ?
होइन, सोमराजले निश्चय गर्यो । भीडमा मिसिनै पर्छ । उ पनि साहुजीलाई देख्ने र सामानको नाम टिपाउन मिल्ने स्थानमा पुग्न भीडमा मिसियो । ऊ पनि सकेसम्म अरूलाई उछिन्ने कोशिस गर्यो, जस्तो अरूहरूले गर्दैथिए ।
“को–हो हँ यो ?” उसको आडैबाट आवाज आयो । तर, उसले स्वर चिनेन । उ आफ्नो अघि जाने अभियानमा लागि रह्यो । साहुजीको नजिकको डेस्कमा पुगेको मात्र के थियो उसले एउटा धक्का महसुस् गर्यो । “को हँ, धकेल्दै अघि अघि बढ्ने ?” एउटा कर्कस स्वर गुञ्जियो सोमराजको कानै नजिक । लोडसेडिङ्ग बरदान प्राप्तहरूलाई धमिलो टुकीको उज्यालोमा कसैको अनुहार डम्याउन कठीन भइसकेको यियो ।
“साहुजी, मलाई बेर भयो, छिटो/छिटो दिने भए दिनोस्, नत्र !” सोही आवाज फेरि पनि दोहोरियो । यस पटक भने सोमराजलाई नजिकबाट आएको गन्धले हिरिक्क पार्यो । सौन्दर्य प्रशाधनका वस्तुकोे सुगन्ध (?) होला । कतै जाउँ फेरि छिट्टै पालो नआउन पनि सक्थ्यो । भीड थपिँदो छ । “किन चाम्रीस मरीच आफ्नै रागले” सम्झ्यो, खुम्चिई रह्यो ।
“साहु जी, मेरो कुरा सुन्नु भएन ? मलाई बेर भयो भन्या ।” स्वर त पहिलेकै हो तर, झन् झन् कर्कस हुँदैछ ।
“तपाईंले देखिराख्नुभएकै छ, सबैलाई हतार छ, अब तपाईंको पालो पनि त आउला नि । नआत्तिनोस् न । पसलेले नम्रतापूर्वक भन्यो ।”
“भो भो पर्दैन, यति बेलासम्म मलाई उभ्याएर राख्ने ?”
“के खालका ग्राहक आउँछन् है पसलमा पनि ! धन्य हो यी व्यापारीहरू पनि । कस्ता–कस्ता मानिससँग व्यवहार गर्नुपर्छ”, सोमराजले मनमनै सोच्यो ।
उसको आडैमा उभिएकी महिला छटपटाउन थालिन्, कचकच गर्दै, पसलेलाई गाली गर्दै । सोमराजलाई पनि बोलुँ बोलुँँ लागेछ, बोल्यो, “म्याडम्, उहाँ पनि त बसेर तपाईंलाई सामान नदिएको त होइन नि । देख्नु भएकै छ, उहाँले भ्याउनु भएकै छैन । उहाँको दृष्टिमा सबै ग्राहक बराबरी नै त हुन्, होइन र ? एक छिन पर्खौ न ।”
“म तपाईंसँग त बोलेकी छैन नि, को हो हँ तपाईं, मलाई अर्ति दिने ? ए तपाईं नै हो मलाई धकेल्दै अघि अघि लाग्ने ?”, उनी चर्कंदै भनिन् । यो प्रकृतिले कसैलाई कस्तो मधुर स्वर बानी व्यहोरा दिएको छ, तर कसैलाई भने यस्तो कर्कस, किन होला ? यो मान्छे एक्लै बस्दो हो कि अरू कसैसँग ? कस्तो होला यो मान्छेको उसको मित्रसँगको व्यवहार ? उसले तिनै सुन्दरीलाई सम्झ्यो । “अँह, ती महिला !”
ऊ पुनः तिनै सुन्दरीलाई अँगालोमा च्यापेर सराङ्कोट चढ्यो, फेवामा पुग्यो, डुङ्गा सयर गर्यो । बिस्तारै आफूलाई उनमा एकाकार गर्यो । उज्यालो रसिलो भरिलो जीवनको रङ्गिन बगैँचा बनायो, आफू त्यसैमा बिचरण गर्यो । दुःखका साथ पट्याट्र लाग्दो पालो पर्खने समयलाई स्वर्णिम कालखण्डमा रूपान्तरित गर्दै चरमानन्द भोग गर्दै थियो ।
अचानक बिजुली आयो । झलल भए बत्ती । उज्यालो भयो चारैतिर । सबैले सबैलाई राम्ररी देखे । सोमराजले देख्यो ऊ त उनै सुन्दरीको आडैमा एकाकार छ, उनैको संगीतमय प्रवचनले कान तताइरहेको छ । ऊ रमाउँदै सयर गरिरहेको डुङ्गा ढल्पलायो, डुब्यो । उ पानीमा फुत्त खस्यो । असहाय ...!
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies