–शाम्भवी बासिष्ठ
मौनतालाई चिर्दै
जबर्जस्ती बोल्ने बनायौ
अहिले म बोलिरहन खोज्दा ढाड फर्कायौ
पहिले माया प्रेमको झमेलामा पर्दिन भन्दा पनि
माया गर्न सिकायौ
जब मैले गहिरो प्रेम गर्न थालेँ,
तिमी तर्केर पो हिँड्न थाल्यौं ।।
आफ्नो कर्म र धर्मबाहेक केही नसोच्ने म
तिमीबारे सोच्न थालिरहे
तिमीमै समर्पित हुन सिकिरहे
तिमीले माने पनि झिझो र झर्को
मैले सुम्पिरहे तन र मन अन्तर्मनका भावनाहरू
तिमीले बुझ्नौ मेरो भावनाहरू ।।
सधैँ झक्झकाइरहेका तिमीलाई
खोजिरहे तिमीलाई आफैमा
मेरा भावनाहरू नबुझेपनि
तिमीलाई बुझाउन चाहिरहेँ ।।
तर तिमीले नबुझेको नसुनेको जस्तो गरिरह्यौ
नजानेको जस्तो गरिरह्यौ
मैले बुझेर पनि नबुझेको जस्तो गरिरहेँ
पत्याएर पनि नपत्याए जस्तो गरिरहेँ
तिमीले फकाउँछौ कि भनेर
म रिसाए जस्तो गरिरहेँ
तिमीले परिवर्तन गरिरह्यांै बाटो
तिमीले बेग्लै बनाइरह्यौ गन्तव्य
मैले तिमीलाई बुझ्नै सकिन ।।
पर्खँदा पर्खदैँ मेरो समयलाई पनि दिक्क भइरह्यो
मलाई पनि दिक्क हुन दिएन तिम्रो यादले
समयले नै झक्झकायो
अनि बल्ल थाहा पाएँ
तिम्रो सतही मायाको धरातल
कति कमजोर रहेछ भनेर
कुनै दिन तिमीलाई रोज्नु र पाउनुमा
आफूलाई सबैभन्दा भाग्यमानी ठान्ने म
आज पुरै परिवर्तन भएको छु
म आफ्नै गलत निर्णयको
विरुद्ध उभिएको छु
आफ्नो गन्तव्य आफैलाई ठानिरहेको छु
र पनि तिमीलाई सपनाहरूबाट
बिच्छेद गर्न सकेको छैन मैले ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल-चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा आयोजना गरेको "चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल-चीन साहित्यिक अन्तरक्रिया" कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा 'चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्था'का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियो । यस अन्तरक्रिया कार्यक्रमको अध्यक्षता प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए ।उनले चिनियाँ साहित्यकारहरूलाई खादा लगाएर आतिथ्य सत्कार गरेका थिए ।
कुलपति राईले समापनका क्रममा अन्तरक्रियालाई सम्बोधन गर्दै अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताए । चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विश्वव्यापी प्रभावबाट नेपाली साहित्य जस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको देखिएको बताउँदै नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ "विमल निभा"ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताए । उनले तत्कालीन चिनियाँ समाजको विकृति र विसंगतिबारे व्यंग्यात्मक ढंगले चीनका महान साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कविताबाट नेपाली साहित्यको शुरुवात भएयता २५० वर्ष लामो इतिहास रहेको चर्चा गरे । उनले नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको बताए । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको स्वत्वलाई आत्मसात गरेर नवीनतम साहित्य सिर्जना हुने गरेको उनले बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली "अगिव", हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारीले उक्त अन्तरक्रियामा आ-आफ्नो धारणा राखेका थिए ।
यस कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह अरनिको समाजका प्रथम उपाध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले गरेका थिए । यस क्रममा उनले अनुवाद कार्य आफैंमा गाह्रो काम भएको बताउँदै कुनै पनि भाषाको अनुवादलाई कुशलतापूर्वक गर्न सक्नुपर्ने र त्यसले मात्रै सम्बन्धित भाषासँग जोडिएको देश,साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताए । उनले चिनियाँ र नेपाली भाषालाई एकआपसमा अनुवाद गरेर कार्यक्रमलाई फलदायी बनाएका थिए ।
यसै क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन आइपुगेको र यसैक्रममा चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकन सँगसँगै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए । उनले कतिपय साहित्यकारहरू साहित्य सिर्जनाको माध्यमबाट चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको संकेत गरे । उनले चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकआपसमा तत्पर रहनुपर्ने बताए ।
उनले नेपाल र चीन जोड्ने सिल्करोड अर्थात रेसमी मार्ग अंकित मायाको चिनो कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो "रेसमी साहित्यिक यात्रा" पहिलोपटक नेपालबाट शुरु भएको बताए ।
यसैगरी उक्त प्रतिनिधिमण्डलमा सहभागी चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक संघका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक संघका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए । यसैगरी अरू सहभागी चिनियाँ साहित्यकारले आ-आफ्नो लेखन अनुभव सुनाउँदै विभिन्न कलाकारका पेन्टिङ र आ-आफ्ना कृतिहरू प्रज्ञा प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गरेका थिए ।
–टेकेन्द्र देउवा
सुदूरपश्चिमको धनगढीबाट २०५६ सालमा पत्रकारिता शुरू गरेका दीर्घराज उपाध्यायका शुरूवाती दिन सहज थिएनन् । तिनै उपाध्यायले दुई दशक लामो अविचलित संघर्षले मोफसलबाट पत्रकारितामा अलग पहिचान बनाएका छन् ।
खाँचा भरेर अखबार छाप्ने गिद्दे प्रेसबाट शुरू भएको पत्रकारिता यो दुई दशकमा डिजिटल युगमा प्रवेश गरेको देख्दा उनलाई शुरूवाती दिनहरू सपना जस्तै लाग्छन्, अचेल । कहाँ त्यो यासिका क्यामेराको युग । कहाँ यो डिजिटल युग ?
सेती समाचारबाट पत्रकारिता शुरू गरेका उनले एक वर्षपछि नयाँ सडक दैनिकको संवाददाताका रूपमा काम गरे । २०५८ जेठ १९ गते राजधानी दैनिकमा जोडिएका उनले एक दशक बढी समय सुदूरपश्चिम ब्यूरोका रूपमा काम गरे । उनी राजनीति, अर्थ, पर्यटन, खेलकुद, शिक्षा, समाज सबै विषयमा कलम चलाउँथे ।
पानामा लेखेर काठमाडौं फ्याक्स गर्थे । प्रति पानाको फ्याक्स शुल्क २५ रूपैयाँ थियो । यासिका क्यामेरा, कोडाकको रिल, साइकलको यात्रा, एउटा फोटो पठाउन कहिल्यै काहीँ पूरै रिल बिग्रिन्थ्यो । आम्दानीभन्दा खर्च बढी । ६० को दशकमा धनगढीमा इन्टरनेट सेवा शुरू भयो । मेल गरेको प्रति मिनेटको १५ देखि २० रूपैयाँ शुल्क लाग्थ्यो । डिजिटल क्यामेरा र कम्प्युटर र ल्यापटप भित्रिसकेको थियो । सँगै अफसेट प्रेस भित्रियो । पत्रकारिताले गिद्दे प्रेसबाट अफसेटमा फड्को मार्यो ।
उता माओवादीले २०५२ सालमा शुरू गरेको सशस्त्र विद्रोह चरमोत्कर्षमा थियो । गाउँबाट सल्किएको माओवादी विद्रोह शहरभित्र पनि फैलिसकेको थियो । धनगढीमा दिउँसै गोली चल्थ्यो । माओवादीले छापामार शैलीमा प्रहरी र राजनीतिकर्मीलाई निशाना बनाउँथे ।
लठ्ठीबाट विद्रोह शुरू गरेका माओवादीका हातमा भरुवा बन्दुक हुँदै एम १६ आइसकेको थियो । त्योसँगै माओवादीले थुप्रै जिल्लाका सदरमुकाम, सेना, सशस्त्र प्रहरी र प्रहरीका गण तथा चौकीहरू कब्जा गरी ठूलो मात्रामा हतियार कब्जा गरेका थिए । पत्रकारहरू माओवादी विद्रोही र सरकारको दोहोरो चेपुवामा थिए । ‘सेल्फ सेन्सरसीप’ थियो । तर, उनले माओवादी र राज्य पक्षका ज्यादती लेख्न छोडेनन् । माओवादी र सुरक्षा फौजबीच भिडन्तको नजिकबाट रिपोर्टिङ्ग गरेका उनले दुवै पक्षको क्षति आँखै अगाडि देखेका छन् । उनी रिपोर्टिङ्गका लागि रोल्पादेखि बाजुरासम्म पुगे । उनी माओवादी सशस्त्र संघर्ष र द्वन्द्व पत्रकारिताका एक साक्षी हुन् ।
सिंहदरबार र काठमाडौं खाल्डोलाई सबैथोक मान्ने र त्यही सेरोफेरोलाई मात्र महत्व दिने समय र सोचमा उपाध्याय अपवाद थिए । उनले जहिल्यै सिमान्तकृत र भूँई मान्छेका कुरा उठाए । उनी रेडियो बहस कार्यक्रम लिएर कैलालीको पण्डौन, सुगरखाल, पवेराको हौसलपुर र मोहन्याल पुगे । जनताका मुद्दा र माग सम्बोधनका लागि निरन्तर राज्यलाई दबाब दिइरहे ।
धनगढीबाट इमेज टेलिभिजन, कम्युनिकेशन कर्नर, हिमाल खबर पत्रिका, नेपाली टाइम्स र नेपाल म्यागिजनका लागि काम गरेका उनले सञ्चारिका समूहको क्षेत्रीय सम्पादकका रूपमा समेत जिम्मेवारी निर्वाह गरे । रिपोर्टरबाट शुरू भएको उनको पत्रकारिताको क्यारियर, संघर्ष र सफलता पत्रकारिता गर्न चाहनेहरूका लागि प्रेरणादायी कथा हो ।
२०६६ सालदेखि सुदूरपश्चिमको अग्रणी सञ्चार गृह पश्चिम टुडे मिडिया हाउस सञ्चालन गर्दै आएका उपाध्यायकै नेतृत्वमा ब्रोडसिट दैनिक, १००० वाट क्षमताको एफएम रेडियो र पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टल सञ्चालनमा छन् । जसको उनी अध्यक्ष तथा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
उनी सन् २०१३ देखि २०२३ सम्म संसारका विभिन्न देशमा रिपोर्टिङ र कार्यक्रमका सिलसिलामा पुगे । बंगलादेश र चीन गए । त्यहाँको स्टोरीहरू गरे । चारैतिर द्वन्द्व हँुदा पनि जोर्डन कसरी जोगिएको छ, त्यस सम्बन्धमा लेखे । अनमीन मिसनमा द्वन्द्वग्रस्त मुलुक सुडान पुगे । शान्ति सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका, जातीय द्वन्द्वले छियाछिया भएको सुडानको बारेमा लेखे । इथोपियाले विकासमा मारेको फड्को लेखे । पहिलो आम निर्वाचनका क्रममा उनी सन् २०१६ मा म्यानमार पुगे । निर्वाचनको परिणामपछि सुकीका चुनौती र त्यहाँका नेपालीहरूको समग्र अवस्थाका बारेमा लेखे ।
२० भन्दा बढी मुलुकको भ्रमण गरिसकेका उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पनि पाएका छन् । उनले सन् २०२२ मा अमेरिकी सरकारको विदेश मन्त्रालयले निमन्त्रणमा तीन हप्ता लामो आईभिएलपी कार्यक्रममा सहभागी हुने अवसर पाए ।
पत्रकारको सुरक्षाका लागि अविचलित संघर्ष
१७ हजार जनाले ज्यान गुमाएको १० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी र सरकार पक्षबाट थुप्रै पत्रकारहरू मारिए । विस्थापित भए । उनले द्वन्द्वको रिपोर्टिङ मात्र गरेनन्, नेपाल पत्रकार महासंघको नेतृत्वमा रहँदा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि दुवै पक्षलाई दबाब दिए । २०६५ जेठ १३ गते माओवादी अपहरणबाट मुक्त गरी उर्माबाट ल्याएका पत्रकार लक्की चौधरीलाई दुई दिनपछि जिल्ला प्रशासन कार्यालयमा माओवादी आक्रमणबाट पुनः जोगाए । सोही समय भएको झडपमा प्रहरीले गोली चलाउँदा तीन जना प्रदशर्नकारीको घटनास्थलमै मृत्यु भयो । उपाध्यायको कुशल नेतृत्वका कारण सबै पत्रकारहरू जोगिए । त्यसपछि तीन दिनसम्म लागेको कफ्र्युकै बीच उनले चौधरीलाई काठमाडौं पुर्याए । बन्द पत्रिकाहरू उपाध्यायकै पहलमा पुनः सञ्चालनमा आए । र, पत्रकारहरू काममा फर्किए ।
नेपाली सेनाले नियन्त्रणमा लिएका पत्रकार नगेन्द्र उपाध्यायलाई उनले हिरासतबाट मुक्त गरे । टीकापुरमा तत्कालिन रेडियोकर्मी (हाल नागरिक उन्मुक्ति पार्टीका प्रमुख) रेशम चौधरीमाथि दुव्र्यवहार गर्नेलाई माफी मगाए । कानुनी दायरामा ल्याएका पत्रकार कर्ण कुँवरमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरूलाई लिखित माफी मगाई छाडे ।
कैलालीको अत्तरीयाबाट वेपत्ता पारिएका जनदिशा दैनिकमा कार्यरत पत्रकार जगतप्रसाद (जेपी) जोशीका परिवारलाई न्याय दिलाउन उनले निकै संघर्ष गरे । उपाध्यायकै अगुवाइमा थालिएको आन्दोलनका कारण जोशीको परिवारलाई राज्यले १० लाख रूपैयाँ क्षतिपूर्ति दियो । र, घटनामा संलग्न व्यक्तिहरू पक्राउ परे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारहरूको हकहीत, अधिकार र सुरक्षाका लागि निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेपाल पत्रकार महासंघका ७५ जिल्ला र एशोसियट गरी एक सयभन्दा शाखा अध्यक्षमध्ये उपाध्यायलाई महासंघको ५४औं स्थापना दिवसका अवसरमा २९ मार्च २००९ मा काठमाडौंमा आयोजित समारोहमा प्रमुख अतिथि सभामुख सुवास नेम्वाङको हातबाट उत्कृष्ट शाखा अध्यक्षको अवार्ड प्रदान गरेको थियो ।
सन् २०१८ देखि ०२२ सम्म सामुदायिक रेडियो प्रसारक संघको प्रदेश अध्यक्ष समेत रहेर काम गरेका उनले आफ्नो कार्यकालमा रेडियो र रेडियोकर्मीहरूको समेत हकहीत, अधिकार र सुरक्षाका लागि बहस, पैरवी र संघर्ष गरेका थिए ।
समाजसेवामा पनि सधैँ अगाडि
सामाजिक क्षेत्रमा सक्रिय उपाध्यायकै अगुवाईमा सन् २०१३ मा धनगढीमा रोटरी क्लबको स्थापना भएको हो । उपाध्यायको संयोजनमा धनगढीबाट एक करोड रूपैयाँभन्दा बढीको राहत सामग्री २०७० सालको महाभुकम्पबाट प्रभावित जिल्लाहरूमा वितरण गरिएको थियो । चिकित्सकको टोलीले गोरखा पुगेर घाइतेहरूको उपचार गरेको थियो ।
करिब दुई करोड रूपैयाँको लागतमा कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा उनकै अगुवाईमा निर्माण भएको खानेपानी आयोजनाबाट एक हजार बढी घरधुरीले शुद्ध खानेपानी पिउन पाएका छन् ।
कोभिड–१९ को महामारीमा उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसनले भारतबाट आएका ३० हजारभन्दा बढी नेपालीलाई निःशुल्क खाना र पानी वितरण गरेको थियो । पहिलो चरणमा पीसीआर परीक्षण नभएर मृत्यु भएका मान्छेहरूको जव लाश उठ्न सकेन । उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाका तर्फबाट विश्वव्यापीरूपमा थालिएको आर्थिक संकलन अभियानबाट एक करोड रूपैयाँभन्दा बढी संकलन गरी डडेल्धुरामा पीसीआर मेसिनको स्थापना भयो । र, सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको पीसीआर परिक्षण सहज भयो ।
अक्सिजनको अभावमा कोभिडको दोस्रो चरणमा मान्छेहरूको धमाधम मृत्यु हुन थालेपछि उनको टीमले अक्सिजन बैंकको स्थापना गर्यो । र, सरकारी अस्पतालहरूसँगै सर्वसाधारणहरूलाई निःशुल्क अक्सिजन वितरण गरे ।
कोभिडमा आममान्छे मृत्युको भयले घर बाहिर निस्किएनन् । उनी कोभिडको पहिलो र दोस्रो लहरमा कैयौं रात सुतेनन् । उनी संक्रमितहरूको जीवन रक्षाका लागि अक्सिजनको जोहो गरिरहेका हुन्थे । उनको संस्थाले त्यो अबधिमा बेड नभएका अस्पतालमा बेड उपलब्ध गराए । चिकित्सकहरूलाई पीपीई सेट र मास्क उपलब्ध गराए । आम सर्वसाधारणहरूलाई मास्क र सेनिटाइजर बाँडे ।
पत्रकार कर्ण बोहराकी मृगौला पीडित पत्नीको उपचारका लागि उनकै अगुवाइमा थालिएको आर्थिक संकलन अभियानमा १२ लाख रूपैयाँ संकलन भएको थियो । जुन रकम उनले बोहराकी पत्नीलाई हस्तान्तरण गरेका थिए ।
उनले उपचारमा सहयोग गरेर थुप्रै विपन्न व्यक्तिहरूको जीवन जोगाएका छन् । अन्यायमा परेकाहरूलाई न्याय दिलाउन पहल गरेका छन् । र त, उनी न्याय नपाएकाहरूसँगै उपचारबाट बञ्चितहरूको आशाको केन्द्र भएका छन्, उनी । भन्छन्, “आफू मात्र बाँच्नु के बाँच्नु ? अरुलाई बचाए पो जीवन सार्थक हुन्छ ।”
–प्रेम न्यौपाने ‘प्रहर’
पारी घरे काइँला मरणासन्न अवस्थामा अस्पतालको पलङ्गमा लम्पसार रहेछ । बिहान घाँस काट्न गएको मान्छे कताबाट लडेर ढाड भाँचेछ, खुट्टा भाँचेछ, टाउको फुुटाएछ ? घरमा पुग्न अबेर भएपछि खोजी गर्दा जङ्गलमा बेहोश भेटिएको रहेछ ।
अबेर राती खबर सुनेँ । बिहानै हेर्न जाने विचार श्रीमतीलाई सुनाएँ । उनले बिहानै चौंसुर र अरु के–के ताजा र तगड़ा खानेकुरा बनाएर पोको पारिदिइन् । म बोकेर हिड़ेँ ।
जिम्बलबाको आँगन निस्केर जाने बाटो हुनाले जिम्बलबाले प्रश्न तेस्र्याई हाले, “कता हिँड्यौ हौ साइँला भाई ?”
“नमस्कार जिम्बल बा । पारी काइँला अस्पताल परेछ नी त, यसो के कसो हो हेर्न हिँडेको”, मेरो सोझो उत्तर ।
“ए काँइलो हेर्न गाको हो । अब त्यसको काल आएको होला । बाँच्दैन होला । भीर भीर किन मुन्ट्या हो, बिहान बिहानै । त्यो घाँस निहुँ मात्र भो त्यसलाई ।”
“तपाईं जानुभो हेर्न ?” मैले जिज्ञासा राखें ।
“गइनँ । अब कोही लडेर मर्छन्, कोही के भएर मर्छन्, कहाँ सबै दुनियाँ हेर्न भ्याइन्छ र । मरिहाल्यो भने बरू मलामी जानुपर्ला ।” जिम्बल बाभित्र पसे । जिम्बल बाका कुराले चित्त बुझेन मेरो । “होस्, म त जानुपर्छ बिचरा सोझो मान्छे” भन्ने सोचेर म अगाडि बढेँ ।
एकघण्टा जतिको यात्रा पछि अस्पताल पुगेँ । सानी छोरी छेउमा रहिछ ।
“नानी के भयो यस्तो बालाई । कस्तो छ अहिले ? डाक्टरले के भन्दैछन् ?”
सानो रुमालले आशुँ र सिँगान पुछ्दै “खोई केही भन्या छैनन् डाक्टरले । दाजु दवाई लिन गाको छ । दाजुलाई थाह छ डाक्टरको रिपोर्ट” भनी ।
म छेउमा गएँ । काइँला निदाएको रहेछ । शिरमा पट्टी बाँधेको थियो । हलुका कम्बल उठाएँ, खुट्टामा पनि पट्टी बाँधेको रहेछ । “केही हुँदैन नानी । कैले काँही आपद आईपर्छ । अत्तालिनु हुँदैन, सबै ठिक भैहाल्छ” भन्दै शान्तवना दिएँ ।
रुपेश एउटा थैलीमा केही दवाई र एक कप चिया लिएर आइपुग्यो । “सरु ला, चिया खा” भन्दै सानीलाई चिया दियो र बाउको लुगाहरू मिलाए जस्तो गर्यो । “रुपेश ! डाक्टरले केही भने ? एक्सरे भयो ?” मैले सोधें ।
“एक्सरे भयो बडा । कुहिनाको हड्डी चाँही फुटेको छ अरे । टाउकोमा अलिलि चोट छ, खुट्टा मर्केको मात्र छ अरे । नअत्तालिनु भनेको छ । दवाई पुर्याउन सके हप्तादिनसम्म राख्छ अरे”, रुपेशले उसले जानेजति भन्यो ।
काइँला थोरै चल्मलायो । आँखा खोलेछ । “आइ या..या..या..या...” भन्दै यता उता गर्न थाल्यो । मैले झोला दिँदै सानीलाई “यो बाबुलाई ख्वाइदेउ त । विचरा भोक लाग्यो होला ।” भनें ।
दुधमा हालेर पकाएको चौंसुर, मेथी, ज्वानो काइँलाले सबै खायो । अर्को टिफिनमा भुटेको साग र भात थियो, दाजु बहिनीले बाँडेर खाए ।
“दवाई किन्ने पैसा छ के बोकेको ?” सोधेँ ।
“छ बडा दुई हजार जति ।” मैले थप पाँच हजार हातमा राखिदिएँ, “यो राख पुग अपुग काम लाग्छ । म अहिले निस्केँ । बेलुका फेरि म खाना लिएर आउँला । दिउँसो पालो गर्दै खाजा खानु दुई जनाले ।” भन्दै म निस्केँ ।
जिम्बल बाले अब के भन्ने हुन् भन्ने सोच्दै उनको आँगनमा पुगेँ । धन्न छैन रहेछन्, ढुक्क लाग्यो ।
आफ्नो घरको तानतुन काम सकेँ हतार–हतार । श्रीमतीले बेलुकाको लागि बिरामीले खाने लायकको खाना तयार पारिन् । म बोकेर हिँडे । धन्न जिम्बल बा आइपुग्या थिएनन् क्यार, म सरासर अस्पताल पुगेँ ।
दाजुबहिनी बसिरहेका थिए । छेउमा भएको सानो टेबलमा बिस्कुट, ब्रेड, कर्नफ्लेक्स इत्यादि अटी नअटी थियो । बिरामी हेर्न आउने शुभचिन्तकहरूको सोचाई र बुझाई देखेर आफैलाई भित्रबाट कुतकुती लागेर आयो । हातको झोला दिँदै “लौ, पहिला बाबुलाई खुवाउ, अनि रुपेश खानु । सरु घरै जाने होला । घरै गएर खानु ल”, भनेँ ।
सरिताले बाबुलाई खाना खुवाउन थाली, यता रुपेशले पनि खायो ।
“डाक्टर आए रुपेश आज ?” सोधेँ ।
“शायद भोली छुट्टी दिन्छ होला ।”
मलाई ढुक्क लाग्यो । अस्पतालको तौर तरिका र रातभरको व्यवस्था रुपेशलाई सिकाएर सरू र म निस्कियौं । गाउँको चिनेको एउटा गाडीलाई आउँदै भनीराखेको थिएँ । बिचरा पर्खीराखेको रहेछ । दुवै चढ्यौं ।
रेसी पारी नै सरू र म छुट्टियौं । भारा दिन खोज्दैथी, “पर्दैन म दिन्छु” भनें । उ गई ।
घरमा श्रीमतीलाई हालत सुनाएँ अस्पतालको । उनले पनि लामो सास फेरिन् । “जिम्बल बाले भोलि पार्टी मिटिङमा आउनु भन्दैथे माथि स्कूलमा । खै के गर्नु गर्नु ।” गाउँको खबर उनले मलाई सुनाइन् ।
“काइँलालाई भोलि नै छुट्टी दिने रहेछ । म त त्यतै जान्छु । बरु वस्तुलाई पराल लाएर तिमी जाउ न त । के भन्छन् मिटिङमा बुझेर आउ ।” सल्लाह मिल्यो बुढा बुढीको । म गाई गोठ धन्दा सकेर अस्पताल पुगेँ । सरिता अघि पुगेकी रहिछ । अस्पतालको सबै प्रक्रिया पूूरा गरेर काइँलालाई घर ल्याइयो । बिचरी काइँलीको बेहाल भैराथ्यो, अलिक ढुक्क भो । पलङ्गमा काइँलालाई सुताई राखेर म निस्केँ । यसबेला जिम्बल बा आँगन मै रहेछन् । काइँलाको खबर सोधे । मैले पनि यथार्थ सुनाएँ छोटकरीमा ।
“ए बाँचेछ त । म त बाँच्छ जस्तो लाग्या थिएन, बजियाको ज्यान दह्रै रहेछ” भन्दैथिए जिम्बल बा । मलाई असह्य भैरहेथ्यो त्यो कुराले । तर पनि चुपचाप घरतिर लागेँ उनकै आँगन कुल्चँदै । घरमा पुग्न साथ श्रीमतीले भन्न थालिन्, “जिम्बल बाले टिकट पाएछन्, भोलिदेखि प्रचार प्रसारमा घरदैलो अभियान शुरु गर्ने रे !”
कोही धनले गरिब, कोही मनले गरिब, दैवको खेलै अनौठो, सबैको आफ्नो–आफ्नै नसिब ।
–यमप्रसाद अधिकारी
गाउँमा त केही छैन भन्दै
हुलका हुल मानिसहरू शहर झरे
गाउँहरू सुनसान बन्न पुगे
त्यही हुलमा हामी पनि मिसियौं
सहर पस्यौं तराई झर्यौं
हामीले गरे जस्तै अहिले पनि
यो क्रम निरन्तरनै चलिरहेको छ
सहर भनेपछि मानिस
कति खुसी हुन्थ्यौं
सहरका सुख, सहरका सपना
मनैभरी सजाउथ्यो
सहरको सुगन्ध त्यसै मगमगाउथ्यो
तर फेरि आजकाल समय फेरिएको छ
गाउँमा केही छैन भन्दै शहर पसेकाहरू
सहरमा पनि केही भेटिएन
भन्दै हिँडेका छन्
पहाडमा दुःखै दुःख भो भन्नेहरू
तराईमा पनि सुख भटिएन
भन्न थालेका छन्
शहरमा राम्रै जीवन जीउनेहरू पनि
अब यो सहरको केही काम छैन
भन्न थालेका छन्
सबैको एउटै सोंच देखिन्छ विदेश ?
विदेश ? विदेश ?
नसक्नेहरूको त कुरै नगरौं
सक्नेहरूलाई झन् बढी हतार छ
देशका गाउँ, सहरभन्दा त विदेश नै
अपरम्पार छ
खै यो सोचको फरक हो कि
समयको फरक हो
आमाको माया, माटोको
माया र देशको माया त एउटै हुन्छ भन्थे
खै यसको पनि परिभाषा
अनि अर्थ फेरिएको पो हो कि ?
यसैलाई अंगालेर केही गर्छु
भन्नेहरू हतोस्साहित हुने ।
भएभरको सबैलाई त्यागेर लाग्नेहरू
प्रोत्साहित हुने
जीवनपनि रोटेपिड जस्तै हो भन्थे
गाउँ काम छैन
सहर काम छैन भन्दै उडेकाहरू
कुनै दिन फेरि घुमेर
विदेश पनि काम छैन भन्दै
फर्किएर आउलान् त ?
यो मेरो झिनो आशा
के त्यो दिन कहिले आउला ?
साँच्चै आउला नआउला ?
–निष्णु थिङ
धेरै वर्षपछि विश्वेश्वरप्रसाद कोइरालाको आन्तवृत्तान्त पुनः सरसर्ती पढ्न मनलाग्यो । कोइरालाको आत्मवृत्तान्त नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण कालखण्ड बुझ्नलाई साह्रै उपयोगी छ । उनको जीवनी पढ्नलाई भर्खरै सार्वजनिक भएको भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म’ पुस्तकले कर लगायो । थापाको आत्मकथाले पनि नेपाली राजनीतिक र कूटनीतिक इतिहासलाई अर्को आँखीझ्यालबाट हेर्न मद्दत गर्छ । कोइरालाको वृत्तान्तले राजनीतिको आँखाबाट त्यो बेलाको समय बुझाउँछ भने थापाको जीवनीले प्रशासनिक र कूटनीतिक आँखाबाट । आ–आफूले बाँचेको युगलाई प्रतिनिधित्व यस्ता आत्मवृत्तान्तहरूले गरेका हुन्छन् ।
थापाको वृत्तान्त नौं वटा उपशीर्षकहरूमा बाँडिएर प्रस्तुत गरेको छ । प्रारम्भ नै राजा महेन्द्रको टेलिग्रामबाट हुन्छ । त्यतिबेला उनी अमेरिकामा आफ्नो अध्ययनको अन्तिम चरणमा हुन्छन्, जतिबेला यता महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ताको बागडोर आफैले लिन्छन् । त्यत्रो लोकप्रिय मत ल्याएको सरकारलाई त्यसरी ‘कू’ गरेपछि उनलाई योग्य मानिसहरूको खोजी हुन्छ । आफ्नो नयाँ पञ्चायती सरकार सञ्चालन गर्न सक्ने जनशक्तिको खोजीको क्रममा उनले थापालाई निम्त्याउँछन् । राजा महेन्द्रलाई आफ्नो सत्ता हाँक्ने चालकहरूमा तुलसी गिरी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्टलगायतका प्रतिभाहरू फेला पर्छन् । यिनै व्यक्तिहरूको सहयोगमा निर्दलीय पञ्चायतको सूत्रपात महेन्द्रले गरेका थिए । थापाको पुस्तक पढेपछि महेन्द्रको प्रतिभा चिन्ने, प्रतिभाअनुसार जिम्मेवारी दिने र परिणाम निकाल्न सक्ने उनको खुबीको बारेमा थाहा पाइन्छ ।
कूटनीतिमा स–सानो गतिविधि र हाउभाउले समेत विशेष अर्थ र महत्व राख्दछ । सामान्य शिष्टाचारले पनि दुई देशबीचको सम्बन्धमा विशेष न्यानोपन र चिसोपन निम्तिन सक्छ भन्ने थापाले उल्लेख गरेको संस्मरणमा छ । इन्दिरा गान्धीको नेपाल भ्रमणक्रममा दरबारको अतिथि कक्षमा राजा महेन्द्र दश मिनेट विलम्ब हुँदा त्यसले नमिठो वातावरण सिर्जना गरेको प्रसगंले कूटनीतिमा स–साना विषयको महत्व र प्रभाव दर्शाउँछ । थापाले त्यस्तै अर्को प्रसगंको चर्चा गरेको छन्, २०२७ सालमा जाम्बियाको राजधानी लुकासमा असंलग्न राष्ट्रहरूको सम्मेलनमा इन्दिरा गान्धीले राजा महेन्द्रलाई हिज म्याजेष्टी भनेर हात मिलाउँदा राजा नउठेकोले गान्धी रिसाएकी थिइन् । राजा उठेर शिष्टाचार व्यक्त नगरेको कारणले गर्दा नेपाल र भारतबीच तनावको स्थिति सिर्जना भएको रहेछ । शासकहरूले सामान्य शिष्टाचार पालना नगर्दा इन्दिरा गान्धीले नेपालमाथि नाकाबन्दी लगाइन् र यहाँका जनताले त्यसबाट सिर्जित कष्ट सहन पर्यो । यस्ता घटनाहरूबाट पाठ नसिकेको कारणले गर्दा राजीव गान्धीसित राजा वीरेन्द्रले पनि त्यस्तै व्यवहार प्रदर्शन गरेको यस पुस्तकमा उल्लेख छ । फलस्वरुप पुनः भारत नाकाबन्दीकै तहमा ओर्लेका थिए ।
भारतको नेपालमाथि नाकाबन्दी गर्ने प्रवृत्ति नयाँ होइन । जतिबेला नेपाल भूकम्पले थिलोथिलो भएको थियो, नेपालको संविधान, २०७२ जारी गरेपछि भारतले आठ वर्ष अगाडि नाकाबन्दी गरेको हाम्रो स्मृतिमा ताजै छ । नेपालमाथि भारत निर्मम भएर प्रस्तुत भएको पटक–पटकको नाकाबन्दीले पुष्टि हुन्छ । भारतको परनिर्भरताबाट पाठ सिकेर आत्मनिर्भरतातर्फ अगाडि बढ्नु पर्नेमा झन् परनिर्भर बन्दै गइरहेको परिप्रेक्ष्यमा यस पुस्तकले प्रकाश पारेको छ । पञ्चायत सरकारले नेपालको उत्तरी क्षेत्रमा रहेको भारतीय सुरक्षा पोष्ट कसरी हटायो र भारतीय परनिर्भरताबाट आत्मनिर्भरताको लागि के–के प्रयास राजा महेन्द्रको पालामा भएका थिए ? त्यसको सजीव चित्रण यस पुस्तकमा पाइन्छ ।
नेपाल यतिबेला भूराजनीतिक तानातान र हानथापमा परेको छ । शीतयुद्धकालमा सोभियत संघ हाम्रो आकाशे छिमेकी मात्रै थियो । विश्वमा वर्चश्व स्थापित गर्न अमेरिका र सोभियत संघको दुई ध्रुवीय कडा संघर्ष भएको थियो । अहिले सोभियत संघको स्थानमा चीन पुगेको छ । चीन र अमेरिकाको शीत युद्ध शुरु हुन थालेको छ । चीन हाम्रो सीमाना जोडिएको पुरानो छिमेकी भएको नाताले दोस्रो शीतयुद्धको प्रत्यक्ष असर हामीलाई पर्नेवाला देखिन्छ । नेपाललाई आफ्नो विकास र समुन्नतिको बाटोमा बढ्नैछ, त्यसमा आफ्नो स्रोतसाधनले मात्रै नभ्याउने भएकोले बाह्य सहयोग र अनुदानको पनि उतिकै खाँचो छ । अहिले हामीलाई छिमेकीले प्रदान गर्ने आर्थिक सहयोग व्यवस्थापन गर्न हम्मेहम्मे हुन थालेको छ । त्यसमा दाताहरूले आफ्नो स्वार्थ नभई सहयोग त गर्दैनन् नै । पेचिलो कुरा चाँहि के हो भने हाम्रा छिमेकीहरूलाई आँच पुग्ने किसिमको सहयोगहरू आउन थालेका छन् ।
त्यसरी अन्तर्राष्ट्रियस्तरबाट प्राप्त सहयोग कसैलाई प्रतिकुल असर नपर्नेगरी नेपालको विकासलाई तीव्र बनाउने क्षमताको अभाव देखिन थालेको छ । विभिन्न स्वार्थबाट निर्देशित सहयोगहरूलाई व्यवस्थापन गर्न अक्षमता प्रदर्शन गरिरहेको बेला विगतमा कसरी सन्तुलन कायम गरेर व्यवस्थापन गरेको थियो भन्ने प्रशस्त उदाहरणहरू यस पुस्तकमा पाइन्छ । राजा र पञ्चायतले गरेका भनेर त्यसलाई नकार्न हुन्न । अहिलेको भूराजनीतिक खिचातानीलाई सन्तुलन मिलाएर अगाडि बढाउन इतिहासबाट पाठ लिन कुनै कन्जुस्याँइ, लघुताभाषा र लाज मान्नै पर्दैन ।
थापाले पूर्व भारतीय राष्ट्रपति केआर नारायणनका नेपालसित सम्बन्धित दुई वटा संस्मरणका सन्दर्भहरू उठाएका छन् । नारायणन उनका अमेरिका हँुदाका साथी रहेको प्रष्ट्याएका छन् । उनी भारतका राजदूत र थापा नेपालका । राष्ट्रपतिसित व्यक्तिगत तवरमा सम्बन्ध स्थापित भएकोले उनलाई भारतमा उच्च सम्मान र काम गर्न सहज भएका थिए । केआर नारायणन नेहरूको सचिवालयमा काम गर्दा, एफ्रो–एसियन सम्मेलनको आयोजना गरेको बेला उनी राजा त्रिभुवनसित आर्थिक सहयोग(चन्दा) माग्न नेहरूको प्रतिनिधि भएर आएको रहेछन् । त्यतिबेला राजाले दश हजार रुपैयाँ सहयोग गरेको जुन सबैभन्दा ठूलो रहेको पनि संस्मरण खुलाएका छन् । नेहरू त्यतिबेला भारतीय स्वतन्त्रताको तयारीमा भएकोले त्यो सहयोग भारतको स्वाधिनताको पक्षमा नेपालबाट प्रदर्शित उच्च ऐक्यबद्धता थियो नै । थापाले यो पहिलो संस्मरणचाहिँ उल्लेख गरे तर, दोस्रो संस्मरण बारेमा केही चर्चा नै छैन । त्यो छुटेको संस्मरण के थियो होला भन्ने उत्सुकता हुने नै भयो । पुस्तकको दोस्रो संस्करणमा यो समेट्न आवश्यक छ ।
उनले राजा महेन्द्रले आफ्नो शासनकालमा विभिन्न क्षेत्र, भूगोल र जातजातिका मानिसलाई खोजी खोजी जिम्मेवारी दिइएको प्रसङ्ग उप्काएका छन् । उनले राजा महेन्द्रका भनाईलाई जस्ताको तस्तै उतारेका छन्, “हेर, म त राजा । राजा हुन त यही परिवारमा जन्मनुपर्यो । यहाँ अरुलाई राख्न सकिन्न । तर, त्यसपछिका चार पद प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायत अध्यक्ष र राजसभा स्थायी समितिका अध्यक्षमध्ये एकमा जनजातिकै हुनुपर्छ र एउटा तराईको हुनुपर्छ ।”(पृष्ठ, २४१) यहीँ वाक्यलाई पुष्टि गर्न, ‘मन्त्रिपरिषद् गठनका बेला पनि सन्तुलन मिलाउन मानिसहरूको खोजी गरिन्थ्यो– वेदानन्द झा, नागेश्वरप्रसाद सिंह, समशेरबहादुर तुम्बाहाम्फे मन्त्रिपरिषद्मा सामेल गरिएका थिए । तराई र जनजातिहरूमा नेतृत्व क्षमता भएकाहरू खोजी गरिन्थ्यो । हरेकजसो नियुक्तिमा सन्तुलन मिलाउने प्रयत्न गरिन्थ्यो ।’ लेखेका छन् । (पृष्ठ, २४२)
तर लेख्दै जादा उनले, ‘जाति, वर्ग, धर्म, क्षेत्रीयता आदिका आधारमा पहिचान खोज्दा मध्ययुगतिर धकेलिन लाग्यौं कि भन्ने चिन्ता बढेको छ ।’ भन्न भ्याए । (पृष्ठ, २४१) त्यसले उनको हिन्दू आर्यन पहाडे पुरुषवादी अहंकार झल्केको देखिन्छ । उनले पुस्तकका कैयौं सन्दर्भमा तराईवासी शब्दहरू पटक–पटक चलाएका छन् । उनले खुलेर मधेशी भन्न नसकेको देखिन्छ । त्यसले उनमा महेन्द्रीय राष्ट्रवादी अहंकारको गहिरो प्रभाव रहेको देखाउँछ ।
भारतसितको सम्बन्ध
भर्खरै भारतीय विदेशमन्त्री एस. जयशंकर आएर विद्युत व्यापारमा मूख्य सम्झौता भए । तर, कतिपय नेपाल र भारतकाबीच रहेका सीमा विवाद र झमेलाबारे त्यस्तो केही उल्लेखनीय भएन । भारतसितको अहिलेको संवाद जे विषयमा भारत सरकारको रुचि छ, त्यसमा मात्रै हुने र नेपालको रुचिलाई पूरै वेवास्ता गर्दै आएको छ । भारतसितको सम्बन्ध यतिबेला पहेली बन्दै जान थालेको होकि भन्ने चिन्ता बढ्न थालेको छ । दुई पक्षीय सम्बन्ध झन् अविश्वास, संवादहीनता र तनावतिर उन्मुख भएको देखिन्छ । खुल्ला सीमानाको जति बखान गरेपनि सीमानामा नेपालका नागरिकहरूलाई आवतजावत कठिनाइ बढ्दै गइरहेको छ । सीमानामा परिचय–पत्र, नागरिकता अनिवार्य खोजिन्छ । भारतको अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीको राहदानी चाहिन्छ । कालापानीको समस्या सुल्झिनको साटो बल्झिदै पो गएको छ । कालापानीमा सीमित विवाद लिपुलेकसम्म विस्तारित भएको छ ।
प्रबुद्ध व्यक्ति समूह गठन गर्न सहमत भएर दुवै सरकारद्धारा गठित समूहले प्रतिवेदन तयार पारेको यतिका वर्ष बितिसके भारतले त्यो बुझ्ने कुनै रुचि देखाएको छैन । भारतीय संस्थापनको हेपाहा प्रवृत्तिबाट स्वयम् राजा भुक्तभोगी भएका थिए । अहिले हाम्रो दलहरू र तिनका नेताहरू त भारतको एउटा गुप्तचरको ठाडो आदेशमा परिचालित हुने परिस्थितिमा हामीले नै पुर्यायो । थापाले इंगित गरे झैं, ‘भारतसँग धेरै लाचार बन्नुमा छात्रवृत्ति पनि एउटा कारण हो । राजनीतिक नेताहरूले आफन्त या कार्यकर्ताका निम्ति छात्रवृत्ति दिलाउने क्रममा आफूलाई धेरै गिराएका छन् । छात्रवृत्तिका लागि न्यूनतम नम्बर ल्याउन नसकेका व्यक्तिलाई सिफारिस गरेर पठाएपछि विश्वविद्यालयले अस्वीकार गर्दा त्यसमा हाम्रा प्रधानमन्त्रीकै तहबाट उपकुलपतिलाई पत्र लेखी यो एउटा अपवाद स्वीकार गर्न आग्रह गर्ने अवस्थासम्म पुर्याएका छन् ।’(पृष्ठ, २४०) उनले सविस्तार गर्दै, ‘भारतीयहरूले मसँग यस्ता विषय उठान गर्दा मैले एकदमै ग्लानि महसुस गर्नु परेको थियो ।’(पृष्ठ, २४०) उनले नेपाली नेताहरूको द्धैध चरित्रलाई उदाङ्गो पारेका छन्, ‘भाषणमा भारत विरोधी अभिव्यक्ति दिने तर व्यवहारमा ठीकविपरीत कार्यशैली प्रदर्शन गर्ने काम दलहरूबाट भएको हो ।’(पृष्ठ, २०६)
‘यता नेपालका प्रधानमन्त्रीहरू भने भारत भ्रमणमा जान हानाथाप गरेको देखिन्छ । ...तर कताकता हाम्रो मानसिकतामा त्यहाँ गएर धाप नपाएसम्म वैध हुन्नौं कि भन्ने भ्रम रहेको देखिन्छ ।’(पृष्ठ, २१६) यस्ता परनिर्भर मानसिकताबाट नेपाल झन हेपिन परेको उनले बताउँछन् । ‘उच्च पदमा रहेकाहरू आफ्नो तह र मर्यादामा नबसेसम्म मुलुकलाई अपहेलित हुनबाट रोक्न सकिन्न ।’(२१७)
विपिको आत्मवृत्तान्त होस् या थापाको आत्मकथा, दुवैले चीनले जहिलेपनि नेपाललाई भारतसित राम्रो सम्बन्ध राख्न उत्प्रेरित गरेको बताइन्छ । चीनलाई नेपाल मामिला त्यति रुचिको विषय थिएन । तर, अहिले चीनको त्यो नेपाल नीति बद्लिएको देखिन्छ । उनीहरू नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापनको तहमै ओर्लेको स्थिति छ । विपि भारतमा रहँदा भारतीय संस्थापनको साथ नपाएको, दुःख दिएको उनको आत्मवृत्तान्तमा उल्लेख छ । उनले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फिर्ता हुनुमा सिक्किमको विलयले झस्केको हुनु पर्छ । राष्ट्रियताका मामलामा विपि र राजा महेन्द्रले समान प्रकारको सम्झौताहीन निष्ठा अवलम्बन गरेको देखिन्छ ।
अहिले बजारमा आएका आत्मवृत्तान्तहरू आत्मप्रशंसाले ओतप्रोत छन् । आफूलाई नायक देखाउने उद्देश्यले आत्मकथाहरू लेखिएका सन्दर्भमा थापाका पुस्तक केहीहदसम्म बच्ने प्रयत्नका बावजुद पनि जोगिएका भने छैन । तैपनि उनले आफ्नो जीवनको उत्तरार्धमा यो कोसेली पस्केर अहिलेका नयाँ पुस्तालाई त्यो समय बुझ्न सहयोग गरेकोमा उनलाई धन्यवाद दिनैपर्छ । सार्वजनिक पदधारण गरेका व्यक्तिहरूका जीवन वैयक्तिक भएपनि राष्ट्रको जीवनलाई देखाउने ऐना हुन् । यस्ता आत्मकथा वा जीवनी स्वयम राजा महेन्द्र, वीरेन्द्र, मदन भण्डारी(यद्यपि उनको हत्या), गिरिजा प्रसाद कोइराला, सुशील कोइरालालगायत राज्यको राजनीतिक, कूटनीतिक र प्रशासनिक उच्च पदमा बसेकाहरूले लेखेर छाडे, अहिलेका पुस्ताले विगत सजिलै थाहा पाउन सकिन्थ्यो । साथमा, राज्यको संस्थागत स्मृति पनि बलियो हुने थियो । बलियो संस्थागत स्मृतिको जगमा बलियो राज्यसञ्चालन गर्न आवश्यक छ । यतिबेला नेपालमा अमेरिका, भारत र चीनको त्रिपक्षीय प्रतिस्पर्धा चर्केर गएको बेलामा थापाको आत्मकथाले उपलब्ध गराएको साहित्यले राज्यसञ्चालनमा कहिँ न कहिँ उपयोगी हुने नै छ ।
–लुईस भोटिया ‘सरू’
भोलि आमासँग गान्तोक जानुछ खुशीले आँखामा निन्द्रा छैन छट्पटी भैराछ कहिले उज्यालो हुने हो ? हाम्रो गाउँमा जम्मा दुई वटा बाहन छ ‘जोङ्गा’ नाउँ गरेको अरु बाहनको त नाम पनि थाहा छैन । हामी बेसि जस्तो टि.टि. अंकलको बाहनमा चड्ने गरछौं, सायद राशन–पानी पनि उनैको पसलबाट खाने गरेको हुनाले । जोर्थाङ्ग, सोरेङ जानू छ भने केही दिनअघि नै निधो गर्नुपर्छ, नत्र सिट पाइँदैन ।
जोर्थाङ्ग झरेर गान्तोक जाने बाहनको टिकट काट्नु पर्छ, त्यसैले हामी जोर्थाङ्ग चाँडै झर्नुपर्ने हुन्छ । बिहान चाँडै हामी जोर्थाङ्ग झ¥यौं र गान्तोक जाने स्ट्यान्ड्मा गएर आमाले हामी दुई जनाको टिकट काट्यौं । गाडीमा चढ्दा म अलिक बिसन्चो जस्तो थिएँ, जोर्थाङ्ग झरिसक्दा म त परै लाट्टेको जस्तो भएँ । केही क्षणमा नचिनेको एक व्यक्तिले म र मेरी आमालाई कोल्ड ड्रिंक्स हात–हातमा थमाई दियो । जिन्दगीमा मैले त कहिल्यै नपिएको अलिकति चाख्ने इच्छा भयो । अमुई... घाँटी चराएको कि जिब्रो पो पोलेको हो कि ? रिस पो उठ्यो । वास्तवमा त्यो कोल्ड ड्रिंक्स किनिदिने व्यक्ति नै वाहनको चालक रहेछ । खोइ मेरो आमासँग कतिखेर चिनापर्ची भो त्यो पनि थाहै पाइन ।
गाडीमा निदाई पठाएछु, कत्ति बेला गान्तोक पुगियो पत्तो भएन । आमाले झक–झकाएर उठाउँदा पो झसङ्ग ब्यूँझेछु । चिल्ड्रेन पार्कमा उत्रियौं, पोका–पतेरो थुप्रै थियो । त्यो सबै मैले उठाउनु पर्ने । सकि नसकी बोकें र आमा र त्यही चालकको पछि–पछि लागेँ । म चै ‘नाम्ले’ जस्तो ।
हामी सिधै एउटा होटलको रुमतिर गयौं । म पनि उनिहरुसँगै रुमभित्र छिर्न लागेकी थिएँ तर, हत्तपत्त गर्दै मलाई बाहिर बस्ने आदेश दिइयो । म चाहिँ कुनै आदिवासी काम गर्ने केटी जस्तो । धेरै समयपश्चात् दुवैजना रुमभित्रबाट निस्किए र फेरि म उनीहरूको पिछे लागें । त्यही गाडीमा बस्यौं र हामी छ माइल तादोङ्ममा आफ्नो साइनो लाग्नेको घरमा झर्यौं ।
वास्तवमा उनी मेरि जन्म दिने आमा होइनन्, सौतेनी आमा हुन् । तर, मैले उनलाई कहिले पनि सौतेनी आमा सम्झिन । भनौ यो कलिलो दिमागमा कहिले पनि जान्ने इच्छा भएन कि उनी मेरी सौतेनी आमा रहिछन् भनेर ।
उनी कहीँ पनि जाँदा मलाई साथमा लिएर जान्थिन्, किनकि उनको काला कर्तुत म कसैलाई सुनाउँदिन । फेरि म ‘भरिया’ पनि त हुँ । मेरो आँखाको सामुन्ने धेरै चर्तिकला देखाएकी छन् उनले । म सोंच्छु घरमा यो कुरा सुनाए भने अशान्ति फैलिन्छ, मेरो बाउ र उनीबीच झगडा हुन्छ ।
अझै पनि त्यो दिनको घटनालाई सम्झिदाँ मनमा अनेकौं प्रश्न उठ्ने गर्छ, आखिरमा “होटलको कोठामा दुई मात्र किन पसे ? न त क्यै खानु–पिउनु थियो ? फेरि एक डेढ घन्टा मात्रै बसे, दिनै भरी पनि होइन आखिर किन ?”
–शाम्भवी बाशिष्ठ
कहिले उमङ्गका साथ रमाउँदै
कहिले दुःखी हुँदै
कहिले आफ्नैसँग रिसाउँदै
कहिले उनैलाई फकाउँदै
कहिले घुम्दै/डुल्दै
कहिले लखतरान परेर आराम गर्दै
लामो र घुमाउरो बाटो हुँदै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
कहिले आफैँसँग लहडिँदै
कहिले आफ्नासँग लड्दै
कहिले कुनै काम नबनेर निराश हुँदै
कहिले आशाका किरणहरू खोज्दै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
बिहानीको सूर्यको किरणले
धर्तीलाई स्पर्श गरे जस्तो
धर्तीले साना विरुवाहरूलाई माया गरे जस्तो
मिठास र मित्रता संगाल्दै
बित्दै बित्दै जाने न हो यो जीवन ।।
धर्ती मुस्कुराए जस्तै मुस्कुराउँदै
आकाशमा बादल झै मुलायम हुँदै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
कहिले साथीभाइसँग रमाउँदै
कहिले उनै साथीहरूसँग झगडा गर्दै
कहिले अरूलाई देखाउँनकै लागि
मुसुक्क मुस्कुराउँदै
कहिले प्रसन्नता छाएर पनि
खिसिक्क पर्दै
पार गर्नै पर्दोरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
आँसु लुकाउने ठाउँ खोज्दै
कहिले आँसु बगाउन मिल्ने साथ खोज्दै
कहिले पीडा लुकाउने बहानामा आफूलाई लुकाउँदै
पार गर्नै पर्नेरहेछ
यो छोटो जिन्दगीको लामो यात्रा ।।
आफ्ना शब्द र भावनालाई प्रस्तुत गर्दै
नबुझ्नेलाई बुझाउन खोज्दै
कहिले बोल्दै बोल्दै
भावना बुझिदिने मान्छे खोज्दै
ती मान्छेसँग मनका भावनाहरू साँट्दै
पार गर्नै पर्दोरहेछ
छोटो जिन्दगीको लामो यात्रा ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलोपटक विस्थापित प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार २०८० एक कार्यक्रमबीच वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रक्मिणी श्रेष्ठलाई प्रदान गरिएको छ ।
घिमिरे २०१८ सालदेखि रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रा आरम्भ गरेका थिए । प्रतिष्ठानले उनलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो ।
यस्तै, नेपालभाषाको साहित्यक मासिक पत्रिका ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठ २०४५ सालदेखि साहित्यिक पत्रकारितामा आबद्ध छिन् । प्रतिष्ठानले उनलाई नेपालभाषाको साहित्यिक पत्रकारितामा पुर्याउँदै आएको योगदानको सम्मान गर्दै ‘प्रज्ञा नेपाली मातृभाष साहित्यिक पत्रकारिता पुरस्कार, २०८०’ बाट सम्मानित गरेको हो । पुरस्कृत दुवै जनालाई कदरपत्रसहित प्रतिव्यक्ति नगद रु ५० हजार सम्मानस्वरुप उपलब्ध गराइएको छ ।
सो अवसरमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारिताको महत्वलाई सरकारले बिर्सन नहुने भन्दै पुरस्कारलाई निरन्तरता दिने बताए । ‘साहित्यिक पत्रकारिता पुरस्कार साहित्य क्षेत्रमा कमल चलाउने पत्रकारको सम्मानस्वरुप शुरु गरेका छौँ, यसले निरन्तरता पाउनुपर्छ’, कुलपति राईले भने ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै साहित्यिक पत्रकारितामा उनीहरुको निरन्तरताका लागि शुभकामना व्यक्त गरे ।
भाषा आयोगका अध्यक्ष मातृका पोखरेलले साहित्यिक पत्रकारितालाई सम्मान पुरस्कारलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न सुझाव दिए । उनले साहित्य क्षेत्रप्रति नै राज्यले हेर्ने नजर सकारात्मक बनाउन जरुरी भएको बताए ।
सो अवसरमा साहित्यक पत्रकार संघका केन्द्रीय अध्यक्ष मोहन दुवाल, मधेश आयोगका सदस्य आभाकुमारी सिंहलगायत साहित्यकाहरुको उपस्थिति थियो ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : साहित्य अनुरागी एवम् कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तक संग्रह ‘शस्यमञ्जरी’ लोकार्पण गरिएको छ । हामी र हाम्रो कृति समूहको पहलमा ‘शस्यमञ्जरी’ लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार एवम् पत्रकार तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आथित्यमा कृतिको सामूहिक लोकार्पण गरिएको हो ।
प्रा.डा. गोविन्द मानसिंह कार्की, वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृति मञ्चकी अध्यक्ष तारा केसीलगायतले ‘शस्यमञ्जरी’ मुक्तक संग्रहको समीक्षा गरेका थिए ।
यसैगरी कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल, बद्री उप्रेती, हरि अधिकारीलगायतले कृतिबारे आ–आफ्नो धारणा राखेका थिए । कृति लोकार्पण समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, साहित्य अनुरागी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
लोकार्पण समारोहको सञ्चालन गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव बिमला दाहालले गरेकी थिइन् । कार्यक्रममा वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा केसी, सुनिल अधिकारी, रूद्र अधिकारी, लब खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल, पूर्ण बहादुर श्रेष्ठ, सरिता थापामगर, दुर्गा किरण तिवारी, मिना चौलागाईं, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम बिचार, रूद्र अधिकारी, गणेश बाबु अधिकारी, उषा केसी, शान्ति शर्मा, निलाञ्जला भारद्वाज, बिनोद खत्री, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे, मानन्धर अभागी तथा कृतिकार नम्रता उप्रेतीले लोकार्पित कृतिमा समवेश गरिएका मुक्तकहरु वाचन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies