मोरङ : बेलबारी साहित्य विकास समितिको ५८औं शृंखला भर्चुअल कविगोष्ठीको रूपमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको उक्त शृंखलामा अतिथि कविहरू मुक्ति पोखरेल, दुर्गाप्रसाद सिग्देल, शकुन्तला मञ्जरी, शारदा कार्की, बिनुबाबा कार्की, टीका मिलन घिमिरे, निर्मला बराल, विष्णु भण्डारी आचार्य, गङ्गा पौडेल, रश्मी रिमाल र उत्तम भेटवालले आ–आफ्नो कविता वाचन गरेका थिए ।
गोष्ठीमा संक्षिप्त मन्तब्य राख्दै प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार, पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्ने बताए । ‘फतफत नारा लेखेर कवि हुन सकिँदैन’, उनले भने, ‘कवि हुन त कवितामा कला र विचारको सन्तुलन हुनुपर्छ ।’
भर्चुअल कविगोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकालीले गरेकी थिइन् । उनले आफ्नो गजल वाचन पनि गरेकी थिइन् ।
–विश्वराज अधिकारी
पिसाब बगिरहने रोग लागेकी सुखलीलाई उसैको गाउँबाट निष्कासन गरे । उसलाई ओलारको छेउमा एउटा झुपडी बनाई दिए । जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्णरूपमा प्रतिबन्ध गरिएको थियो । पहिलो सन्तानलाई जन्म दिँदा नै त्यस्तो भएको हुनाले परिवार मात्र होइन, लोग्नेसमेतको पनि रिस पोखिएको थियो सुखलीमाथि । सुत्केरी बेला एक पटक लोग्नेले भेट्न आएकोसम्म याद छ, त्यसपछि आफू छेउ त के टाढाबाट मात्र पनि हेरेको थाहा छैन सुखलीलाई । केही वर्षपछि सुखलीको लोग्नेको सर्पले टोकेर मृत्यु भएपछि गाउँभरिकै घृणा र क्रोध पोखिएको थियो उमाथि । गाउँलेहरूले यी सबै दुर्घटनाहरूका लागि सुखलीलाई दोषी बनाएर उसको नाम नै परिवर्तन गरिदिएका थिए । उसको नयाँ नामाकारण भएको थियो – ‘उजरी’ । अर्थात् सबै थोक उजाड भएको । यो हो उजरीको संक्षिप्त इतिहास ।
आमाले उजरी भएको ठाउँमा आएर भेट्ने गरेतापनि उजरीले भने आमाको घरमा जानु पर्दा राती लुकी छिपी जानु पर्दथ्यो । राती रक्सीले मात्तिएका एक/दुई जना अधबैंसे लाग्ने मान्छेहरू उजरीको झुपडीमा प्रवेश गर्दा बाध्यता वा स्वेच्छामा उसले तिनीहरूसँग कहिले काहीँ रात बिताउनु पर्ने बाहेक अन्य कुनै पुरुष वा स्त्री उजरीको झोपडीमा प्रवेश गरेको कहिले देखिएन । उजरीको जनसम्पर्कको विवरण पनि यत्ति नै हो ।
उजरीलाई आज किन हो, एकदमै छटपटी भइरहेको छ । छाति पोलेको छ । टाउको भारी भएको थियो । केही गर्न पटक्कै मन लागेको थिएन । जिलेविया, सिलेविया, सुनरी र अरु थुप्रै उसका साथीहरू लोग्नेको घरमा मज्जासँग बसेको देख्दा उसको छाती पोल्छ । भिजेको तिघ्रा पुछी । केही बेर आमालाई पनि गाली गरी – निर्दयीको घरमा बिहे गरेर पठाई दिएको भनेर । ‘घरका मानिस त निर्दयी छन् नै गाउँलेहरू पनि उस्तै’ फेरि फतफताई । गाउँमा लागेको एक दिने मेलामा जान नपाएर छटपटी भएको थियो ।
झुपडीदेखि केही पर ओलारको दक्षिण पट्टिको छेउमा बडो धुमधामको मेला लागेको थियो । केही महिना पहिलेदेखि नै त्यो गाउँमा मेला लाग्दैछ भनी मुखिया साहेबले गाउँ–गाउँमा डंका पिटाएका थिए । उजरी त्यो मेला हेर्न जाने पनि कसरी ? कतै गयो कि नाक थुनेर लखेट्न थाल्छन् । टाढैबाट मेलाको दृश्य अवलोकन गरिरहेकोमा उसको ध्यान एक्कासी गाउँबाट मरेको बैल ल्याउँदै गरेको दृश्यतिर केन्द्रित भयो ।
मरेको एउटा बुढो बैलालाई ठूलो बाँसमा तीन जनाले एकतिर तथा बाँकी तीन जनाले अर्कोतिरबाट काँधमा झुन्ड्याएका थिए र स्याँ स्याँ गर्दै लम्कदै थिए ओलारको उत्तरपट्टिको छेउतिर, सिमलको रुख नजिक ।
बैल बोक्ने मध्येको एक युवकले मुखको पसिना गम्छाले पुछ्दै क्रोधित मुद्रामा बोल्यो ‘साले मुखिया, जवान हुनञ्जेलसम्म जोत्नु जोत्यो यो बैललाई, बूढो भएर थला परेपछि घाँस पानी दिन छाड्यो । खान नपाएपछि बुढो बैल मर्दैन’ ।
प्रस्तुत मन्तव्यप्रति सबै सहमत भए । एउटाले थप्यो पनि ‘जवान बैललाई सबैले पाल्छन्, बूढो भएपछि भगवान भरोसे ! जवानीमा यो बैल कम बलियो थियो ? जंगलबाट कति मोटा–मोटा काठ ओसारेको छ यसले बैलगडीमा’ । यो संवादपछि मरेको बैल भूइँमा राख्ने कार्य सम्पन्न भयो । उजरीले त्यो दृश्य सुरुदेखि समाप्तिसम्म हेरि रही ।
त्यो मरेको बैल नजीक केही पुरुष तथा केही महिलाहरू आए । दुई पुरुषहरूले बडो कुशलतापूर्वक त्यो बैलको छाला झिके । दुबैको बीचमा संवाद भएको सुनियो । ‘यो छालाको खुब बलियो नारन होला जस्तो छ, है ? पहिलो व्यक्तिले बोल्यो । ‘हो’ दोस्रो व्यक्तिले बोल्यो । पहिलो व्यक्तिले पुन बोल्यो ‘चारबटा नारन बनाएर समनपुर बजारमा लगी बेच्नु पर्छ । फगुआको खर्च पनि त झिक्नु पर्यो नि ?’
केही बेरपछि आएका दुई महिलाहरूले त्यो बैलको शरीरबाट केही मासु झिके । त्यो दृश्यले गर्दा बैलको अन्तेष्टि हेर्ने उजरीको इच्छा पहिलेभन्दा झनै तिब्र भयो । त्यो बैलको आँखा फोड्ने कार्यमा केही कागहरू व्यस्त देखिए । गाउँका कुकुरहरूले मासुको गन्ध पाएता पनि कुन दिशाबाट त्यो गन्ध आएको हो पत्ता लगाउन नसकेको हुनाले गन्ध कताबाट आएको हो भनी थाहा पाउन ती कुकुरहरू कहिले यो कहिले त्यो दिशामा कुद्न थाले । कुकुरहरूको आगमन नभएकोले कागहरूले निर्धकतापूर्वका बैलको जीउबाट आफूलाई मन पर्ने मासु झिक्दै थिए तर, शान्तिपूर्वक भने होइन । युद्ध उनीहरूको बीचमा पनि चल्दै थियो, बढीभन्दा बढी मन परेको ठाउँको मासु झिक्न । युद्ध गर्न सक्ने क्षमताअनुसार नै मासु हात पार्दै थिए, कागहरूले ।
कुकुरहरूले एकै साथ धावा बोले, बैलको मासुमाथि । अघिदेखि आकाशमाथि भौतारीरहेका गिद्धहरू पनि तल झरे । मासु तान्न कुकुर र गिद्धहरूको बीचमा द्वन्द्व चल्न थाल्यो, भयानकसँग । पूर्वतिरबाट कुकुरहरूले र पश्मिततिरबाट गिद्धहरूले मोर्चाबन्दी गरेका थिए । मासु तान्न गरिएको खिचातानीको क्रममा बैलको शरीर कहिले कुकुरहरूको कहिले गिद्धहरूको शिविरमा जाने दृश्य घृणा र मनोरञ्जन मिश्रित थियो । कुनै बेला गिद्धहरूले कुकुरहरूलाई भने कुनै बेला कुकुरहरूले गिद्धहरूलाई लखेटेर धेरै टाढासम्म पुर्याउँदथे । केही गिद्धहरू रुखमाथि बसेका थिए । उजरी त्यो दृश्य कौतुहलतापूर्वक हेर्दै थिई । कुकुर वा गिद्धले जित्ने हो भन्नेमा उसको उत्सुकता केन्द्रित भयो । लामो समयसम्म दुबै पक्षहरू बीच भएको युद्धपछि बैलको शरीरबाट मासु नै रित्तियो । बाँकी थियो भने केवल हाड र सिङ्ग । कुकुरहरू भुक्दै गाउँतिर कुदे अनि गिद्धहरू आकाशतिर उडे । उजरीको दृष्टि कहिले कुकुर, कहिले गिद्धतिर केन्द्रित भएको थियो ।
गाउँमा लागेको एक दिने मेला समाप्त भइसकेको थियो । सूर्य उदाउनुभन्दा पहिले नै पसलेहरू अर्को मेलामा जाने यात्र आरम्भको तयारीमा जुटे । मेलाको अवशेष अवलोकनभन्दा किन हो, त्यो बैलको अन्तेष्टि हेर्न नै उजरी उत्सुक भई । उसको आँखा त्यो सिमलको रुख नजिक रहेको त्यो बैलको हाडतिर केन्द्रित भयो । उजरीले हेर्दा हेर्दै एउटा बैलगडी त्यहाँ आइपुग्यो । बहलियाले आफ्नो सहायकलाई आदेश दियो ‘हाल, त्यो बैलको हाड गडीमा । छिटै गर, अरु गाउँहरूमा पनि जानुपर्छ । ठेकेदारलाई पूरा गडी हाड बुझाउन पाए आजै पैसा पाइन्थ्यो’ ।
बहलियाको व्यग्रता मिश्रित आदेश सकिएपछि सहायकले सोध्यो ‘यो हाडको के हुन्छ, भैया ?’
‘ए ससुर, यति पनि थाहा छैन, यसको खाद बन्छ । खेतमा हाल्ने खाद । त्यो खाद खेतमा छरेपछि धान खुब फल्छ’ बहलियाले उत्तर दियो । पशुको हाड निकै काम लाग्ने तथ्य सहायकले थाहा पाएर आफ्नो मुहारमा सन्तुष्टि अनि प्रसन्नता पनि प्रदर्शित गर्यो ।
मेला सकिएको तेस्रो दिनको रातमा उजरीलाई निद्रा आइरहेको थिएन । कहिले आफ्नो लोग्ने, कहिले गाउँका मानिसमा ध्यान केन्द्रित हुन पुगिरहेको थियो, उसको । कहिले भने आमामा कहिले भने जिलेबिया, सिलेबियामा । कहिले भने मेला हेर्न पाएको भए त्यसबाट पाउन सकिने अकल्पनीय अति आन्नदमा । कहिले मरेको त्यो बैल ल्याउँदै गरेको तथा कहिले त्यसको मासु झिक्दै गरेको अतीतको दृश्यतिर । बैलालाई गाउँबाट ल्याउँदै गरेको दृश्य उजरीको मानसपटलमा धेरै बेरसम्म रह्यो । कुन बेला निद्रा पर्यो उसले थाहा पाउन सकिन । आँखा खुलेपछि बिहान भइसकेको थाहा पाई र राती राम्रो गरी निद्रा नपरेको पनि महसूस गरी ।
मेला सकिएको चौथो दिनको रातमा चटाईमा ढल्किने वित्तिकै आँखा लोलाउन थालेको उजरीले चाल पाइन । उजरीको मन पूर्णतया स्थिर भइसकेको थियो । कोठीमाथि राखिएको डिबिया पनि निभाउन भ्याइन उसले छिटै निद्रा परेको हुनाले । धेरै बेरसम्म डिबिया बलेको हुनाले तेल सकियो र बत्तिहर मात्रै बल्यो केही बेरसम्म । धुआँ छरियो यत्र तत्र । उजरी मस्त निद्रा मै थिई । राती ढिलोसम्म उजरीको झुपडीमा बत्ति बलेको हुनाले भठ्ठीबाट दारु पिएर फर्किने अधबैँसे दरुआहाहरूले उजरी तिनको प्रतीक्षा बसेको अनुमान गरे । – कथा समूहबाट
–मधुसूदन अधिकारी
घरका अरु सबै परिवार भावुक भएर रुन्छन् । तर, छोरीको बाउ बाल्यकालदेखि छोरी अन्माएपछि बितेका पल सम्झेर रुन्छन् । आमा र छोरीको सम्बन्धको चर्चा हुन्छ तर, बाबु छोरीको सम्बन्ध समुद्रभन्दा पनि गहिरो हुन्छ । हरेक बुबाले घरको छोरालाई गाली गर्छन् तर, त्यही बुबाले छोरीको हरेक गल्तीलाई झुटो देखाएर बेवास्ता गर्छन् । छोराले केही मागेमा एक पटक गाली गर्छन् तर, छोरीले नम्रभाव गरी केही माग्यो भने बुवाले सुन्छन् र खल्तीमा पैसा भए पनि नहोस्, छोरीको इच्छा पूरा गर्छन् । छोरीको निम्ती आफ्नो संसार सबै लुटिएता पनि बाउले हार कहिल्यै मान्दैनन् । तर, छोरीको आँखामा आँसु देखेर “बाबा तिमी नरौं”, भन्छन् । जब छोरी घरमा बस्छिन्, सबै कुरामा बुवाप्रति गर्व गर्छिन् । छोरी घरमा बस्छे भने आमाको काखमा हुन्छे तर, छोरीको हिम्मत उसको बाबुसँगै रहन्छ ।
छोरी बिहेपछि बिदाइ गर्दा सबैसँग मिलेर स्त्री जति सबै एकजुट भई डल्लो परी एकैछिन् रुन्छन् तर, त्यो समय बाबु चाहिँ अलिक परै हुन्छन् । बेहुलाले जब बेहुलीको हात समाती गाडीको तर्फ दुई पाइलो अघि सार्छन्, त्यो बेला छोरीले बाबुको आँगन फर्किएर हेर्दा देख्छिन् कि बुवाले कुर्सी जम्मा गर्दै गरेको, देख्ने बित्तिकै उनी बेहुलाको हात छोडी रुँदै बाबुलाई अँगालो हाल्छिन् । किनकी छोरीलाई थाहा छ कि जसको बलमा मैले मेरो हरेक इच्छा पूरा गरेको थिएँ, त्यो बेला बाबु आफै पनि रुन्छन्, छोरीको पिठ्युँमा हातले थप् थपाई बाबुले हिम्मत दिन्छन् ।
“जाउ छोरी अब राम्रो गरी आफ्नो घर गरी खानु ल, म पछि तिमीलाई लिन आउँछु । ज्वाईलाई भनेको छु कि सोह्र दिने साइत पारी आउनु । त्यो समय हामी बाउ छोरी बसि बदम खाँदै बात मारौला ।” यसरी बाबुले सजल नयनले छोरीलाई बुझाई बेहुलाको गाडीमा चढाई दिन्छन् । छोरी अन्माएपछि त्यो बाउभित्र भित्रै कति रुन्छ, त्यो त केवल छोरीको बाउलाई नै थाहा हुन्छ ।
बाबु जिउँदो छउञ्जेल छोरी दायाँ–बायाँ आमा–बुवाको घरमा आइपुग्छिन् र घरमै बस्न आग्रह गर्छिन् र कसैले केही भन्यो भने त्यो मेरो बुवाको घर हो भनी दृढतापूर्वक भन्छिन् । तर, बाबुको मृत्यु र छोरी आउने बित्तिकै यति ठूलो स्वरले रुन्छिन् कि सबै आफन्तले छोरी आइपुगेको बुझ्छन् । अनि त्यो छोरीले त्यो दिन आफ्नो हिम्मत हार्छिन्, किनकी त्यो दिन उसको बुबा मात्र होइन, उसको हिम्मत पनि मर्छ । बाबुको मृत्युपछि छोरीले दाजुको घरमा कहिल्यै जिद्दी गर्दिनन्, जे पायो त्यही खान्छिन् । जबसम्म बुवा हुनुहुन्थ्यो, सबै कुरा उनको थियो, यो कुरा उनलाई राम्ररी थाहा छ ।
अझै लेख्ने हिम्मत छैन म, यति मात्र भन्न चाहन्छु कि बाबुको लागि छोरी नै उसको जीवन हो तर, बिहेपछि छोरीले कहिल्यै बाबुसँग केही माग्ने काम गर्दिनन् । छोरीको लागि बाबु नै संसारको सबैभन्दा ठूलो हिम्मत र गौरव हो तर, छोरीले पनि यही भन्छिन् । कहिल्यै कसैसँग यो कुरो भन्दिनन् ।
छोरी हुने घरको रौनक हुन् । बाउ छोरीको माया सागरभन्दा पनि गहिरो हुन्छ ।
-रमिता चन्द ‘रितु’
१.
कति आँखा यी आँखालाई मन पराएर जान्छन्
मुटु पोल्ने घाउहरू भुलाएर जान्छन्
मन परेका आँखाले नै सपना बुन्न थालेपछि,
कति सपना आँखाबाटै हराएर जान्छन् ।।
२.
केही सपना पूरा गर्न विदेश आउनुपर्छ
परिवारलाई खुशी पार्न विदेश आउनुपर्छ
स्नातकको प्रमाणपत्र ट्याङ्काभित्र राखी
संघर्ष र दुःख गर्न विदेश आउनुपर्छ ।।
३.
प्रेम गरे प्रीतको हकदार बनिन्छ,
भलो गरे हितको हकदार बनिन्छ
कराएर विजय बनेको इतिहास भेटिँदैन
लडी रहे जितको हकदार बनिन्छ ।।
–रविन्द्र चौलागाईं
रोगहरूमा औषधि बनोस् प्रेम
भोकहरूका लागि खाना बनोस् प्रेम
शोकमा रहेकाहरूका लागि शक्ति बनोस् प्रेम
नाङ्गाहरूका लागि लुगा बनोस् प्रेम
गरिबको लागि आश्रय बनोस् प्रेम
तब पो प्रेम प्रेम जस्तो हुन्छ
तब पो प्रेममा शक्ति हुन्छ ।।
अतीत र इतिहासको फड्के तरेर
म गरिरहेछु त्यो प्रेम युगको कुरा
जुन युगमा प्रेम
माया गर्नेहरूका लागि सधैँ रह्यो खुल्ला किताब झैं
आत्मियताको बुलन्द स्वर बनेर गुन्जिरह्यो
सम्बन्धहरूको आभासमा अगाडि बढ्यो
र सुमधुरताको स्वरमा सधैँ सुर बन्यो प्रेम ।।
दुई मन एक बनाई बाँच्न सिकायो प्रेमले
दुई तन एकै बनाई नाँच्न सिकायो प्रेमले
दुई धड्कन एक बनाई धड्किन सिकायो प्रेमले
दुई आत्मा एकै बनाई हिँडायो प्रेमले ।।
इतिहासको फड्के तर्दै
इतिहासको देउराली झर्दै
आइपुग्यो प्रेम
तपाईंको हृदय छालहरूसम्म ।।
इतिहासले हारे पनि जिते पनि
कहिले हारेन दोसाँधहरूमा प्रेमले
बरू हारिरह्यो घृणाले
कहिल्यै पराजित भएन प्रेम
त्यसैले प्रेम अमर भयो
प्रेम अजर रह्यो ।।
म हुँ एक सिकारु प्रेमी
मनभरी गाइरहेछु प्रेम गीत
भनिरहेछु, रोगहरूमा औषधि बनोस् प्रेम
भोकाहरूका लागि खाना बनोस् प्रेम
शोकमा रहेकाहरूका लागि शक्ति बनोस् प्रेम
नाङ्गाहरूका लागि लुगा बनोस् प्रेम
गरिबको लागि आश्रय बनोस् प्रेम ।।
वासिङ्टन डिसी : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई र प्राज्ञ बाबा बस्नेतलाई अमेरिकाको मेरिल्याण्डमा सम्मान गरिएको छ । मेरिल्याण्ड जनरल एसेम्बलीको तर्फबाट मेरिल्याण्डका डेलिगेट ह्यारी भण्डारीले राई र बस्नेतलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
अन्तर्राष्ट्रिय साहित्य समाजले आयोजना आफूलाई गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले सम्मानबाट आफूलाई नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा समर्पित हुन प्रेरणा मिलेको बताए ।
प्राज्ञ बस्नेतले प्रज्ञा प्रतिष्ठानबाट साहित्यका हरेक विधाको उन्नयनका निम्ति कार्ययोजना तर्जुमा भएको बताए । मेरिल्याण्ड राज्यका डेलिगेट भण्डारीले नेपाली भाषा संस्कृतिको जगेर्नाको लागि सबै प्रवासी नेपालीको प्रयास हुनुपर्नेमा जोड दिए ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : शाश्वत आचार्य स्मृति प्रतिष्ठानले तीन जना श्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ । एक विशेष कार्यक्रम तथा कवि गोष्ठीको आयोजना गरी ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार वितरण गरिएको हो । पुरस्कृत तथा सम्मानित हुने स्रष्टाहरू आख्यानकार कल्पना खरेल, कथाकार गणेश जिसी र लोक गायक तथा कवि भीमबहादुर शाही रहेका छन् । सुर्खेतका प्राज्ञिक व्यक्तित्व डा.महेन्द्र कुमार मल्लले ‘शाश्वत स्मृति पुरस्कार’ को नगद धनराशी सहित सम्मानपत्र प्रदान गरेका थिए ।
शाश्वत आचार्य स्मृति प्रतिष्ठान प्रा.डा.जनार्दन आचार्य र वरिष्ठ साहित्यकार किरण आचार्यले आफ्ना कान्छा सुपुत्र स्व.शाश्वतको स्मृतिमा स्थापना गरिएको संस्था हो । उक्त संस्थाले स्थापना कालदेखि राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती, विभिन्न अवसरमा राष्ट्रियताको सवाल र समसामयिक विषयमा बेला–बेलामा विचार गोष्ठीको आयोजना गर्दै आएको छ । कार्यक्रममा शाश्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.जनार्जन आचार्यले मन्तव्यका क्रममा भने, ‘शाश्वत आचार्यको सम्झनामा मोफसलमै लुकेका प्रतिभा र उहाँहरुको योगदानलाई प्रोत्साहन गर्नका निमित्त यो ‘शाश्वत स्रष्टा सम्मान, पुरस्कार स्थापना गरेर हरेक वर्ष श्रष्टालाई प्रदान गर्ने उद्देश्य रहेको बताउनु भयो । ‘आफ्नै ठाउँमा केही गरौँ’ भन्ने सोंचले यस संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।’
यसवर्ष शाश्वत आचार्य स्मृति प्रतिष्ठानद्वारा पुरस्कृत तथा सम्मानित बाँके जिल्लामा रहेर कलम चलाउने कल्पना खरेल साहित्य साधनारत चर्चित तथा स्थापित नारी स्रष्टा हुन् ।
उपन्यासकार खरेलले कृतिहरूमा विवेक र नैतिकतालाई हतियार बनाएकी छिन् । उनले उपन्यास मार्फत् समाजमा परिवर्तनको नयाँ ढोका खोल्न चाहेको स्पष्ट देखिन्छ । सामाजिक अन्तर्विरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टि लगाएर उपन्यासको विषयवस्तु बुनिएको पाइन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा खरेलको ‘रानी तलाउ’ उपन्यासले सर्वोत्कृट पुस्तक पुरस्कार–२०८० प्राप्त गर्न सफल भएको थियो । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘पुरुष उपन्यास, ‘रागिनी’ कथा संग्रह, ‘क्षितिज पारीका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् ।
खरेलका दुई सयभन्दा बढी लेख रचना पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने उनको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी हुँदैन’ लगायत दुई दर्जन गीतहरू रेकर्ड समेत भइसकेका छन् । खरेल जी. नेपाल फोर के टेलिभिजनको ‘भावसरोवर साहित्यिक कार्यक्रम’को प्रस्तोताका रुपमा पनि साहित्यिक कार्यक्रम सञ्चालन गर्छिन् । त्यस्तै सम्मानित अर्का व्यक्तित्व नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा बसोबास गर्दै आएका मोफसलमा रहेर साहित्य एवं पत्रकारिताका क्षेत्रमा कलम चलाउने गणेश जिसीका कथा, नाटक, निबन्ध, कविता, उपन्यास, गणेश जिसीका क्रन्दन कथा सङ्ग्रह, सम्झौता तथा अज्ञात अनाथिनी गरी दुई वटा उपन्यास, मंगलचा खण्डकाव्य, शहरभित्र हराएको मान्छे कविता संग्रह र गणेश जिसीका हाइकु कथाहरुसहित ६ वटा कृतिहरू प्रकाशित भएका छन् । कुचवदिया जाति, राउटे जाति र राजी जातिको परिचयात्मक अध्ययन समेत गरेका जिसीले शान्ति यात्रा मासिकको सम्पादन गरी सम्पादकीय अनुभव समेत हाँसिल गरेका जिसी नेपाल पत्रकार महासंघका सदस्य, भेरी साहित्य समाजका सल्लाहकार, वि.विकास स्मृति साहित्यिक पुरस्कार गुठी, सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । वि.सं. २०३८ मा ‘सिपाही’ शीर्षकको कविता लेखेर राष्ट्रिय स्तरको कविता प्रतियोगितामा जिसीले प्रथम स्थान प्राप्त गरेका थिए ।
पुरस्कृत अर्का स्रष्टा भीमबहादुर शाही पेशाले अधिवक्ता हुन् । लोकगायक र लोकसंस्कृति अन्वेषकको परिचय पनि बनाएका ७१ वर्षीय कवि लेखक शाहीका ‘हजारी फूल’, ‘मेरो जीवनको पाइला’, ‘अभागिनी आमा’, ‘विजया र कान्तावती’, ‘डोल्पा दर्पण’, ‘शान्ति क्षेत्रभित्रको ज्वालाक्षेत्र’, ‘वेदना मनभित्रमा’, ‘स्वप्नावली’, ‘झ्यालबाट बाहिर हेर्दा’, ‘योगी र भोगीको संवाद’ लगायत विभिन्न विधाका २६ वटा पुस्तक प्रकाशित भइसकेका छन् ।
सिलगढी, दार्जिलिङ : युगेन्द्र-लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले चार जना सर्जकहरुलाई सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष एवम् साहित्यिक पत्रकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको हो ।
सम्मानित हुने सर्जक प्रधानले साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आएका छन् । पेशाले अध्यापन गर्ने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यंग्य निबन्ध र समालोचनाका ४० कृतिहरु प्रकाशित रहेका छन् । आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेन्टेटर पनि रहेका सर्जक प्रधानले विभिन्न संस्थाबाट ११२ भन्दा बढी सम्मान र पुरस्कार पाइसकेका छन् ।
यसैगरी सम्मानित हुने अर्का पत्रकार एवम् सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आएका छन् । भण्डारी गीत सिर्जनामात्र गर्दैनन् आफैं गाउँछन् पनि । वि.सं. २०२४ देखि साहित्य सिर्जनामा लागेका भण्डारीका ४ सय बढी कविता, ३ सय बढी गीत, २५ कथा, ३ वटा गीति एल्बम रहेका छन् । भण्डारीका जेल संस्मरणलगायतका कृतिहरु प्रकाशोन्मुख छन् । भण्डारीले आँखो, देवानछाप, स्मारक, मेचीनगर, साराँश, प्रकाश, युगज्ञान, सुगन्धजस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गरेका छन् । विगत ३० वर्षदेखि पत्रकारितामा र २० वर्षअघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आएका भण्डारी विभिन्न एक दर्जन बढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।
सम्मानित हुने अर्का विश्वकीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय उपन्यास, कविता, गीत, कथा तथा विभिन्न विषयमा लेख रचना लेख्छन् । डा. उपाध्यायले १४ उपन्यास, २ सय बढी गीत सिर्जना, संगीत र गायन पनि गरेका छन् । ३३ बढी म्युजिक एल्बम निकालेका डा. उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान र पुरस्कार पाएका छन् । अमेरिका बुक अफ रेकर्ड्स यूएसए, यूरोपिएन रेकर्ड बुक्स हंगेरी र द ब्रिटिश वर्ल्ड रेकर्डस् लण्डनको ब्राण्ड एम्बेसेडरसमेत रहेका डा. उपाध्यायका तीन वटा गीति संग्रह पनि प्रकाशित रहेका छन् ।
यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आएकी छन् । उनका ब्ल्यक एण्ड ह्नाइट, सिक्किममा संगीतभित्रकाहरु र साहित्यकार सानुभाइ शर्माको मोनोग्राफ कृतिहरु प्रकाशित रहेका छन् । विगत ४५ वर्षदेखि आकाशवाणीलगायतमार्फत पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा 'वाणी'को सञ्चालन गरेकी निरौलले वृत्तचित्रहरु पनि निर्माण गरेकी छन् । उनका हिन्दी कविता र लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । शिक्षण पेशामा समेत रहेकी निरौलाले नेपाली सांगीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान पुर्याएकी छन् ।
इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र डब्लू फ्याक्टरबाट वुमन एचिभरको सम्मानलगायतका सम्मान र पुरस्कार पाएकी छन् ।
अमेरिका : कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन सम्पन्न भएको छ । ‘सांस्कृतिक सत्ता र समता’ अभियान अन्तर्गत नर्थ क्यारोलाइनामा उनले ९ वटा कविता वाचन गरेका थिए । राईको यो तेस्रो एकल कविता वाचन शृंखला हो । यसअघि चितवनबाट शुरु भएको उनको दोस्रो शृंखला अन्तर्गतको कार्यक्रम पनि अमेरिकाको बोस्टनमा आयोजना भएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टर, नर्थ क्यारोलाइना नेपाली साहित्य समाज र नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाले कार्यक्रम संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत मन्त्रमुग्ध माहोला बनाएका राईले आफू अमेरिकी नेपाली समाज र संस्कृतिको अध्ययन गर्न आएको बताएका थिए ।
बाजुरा : बाजुराका मध्यान्हकर्मी नहकुल जोशीको पहिलो उपन्यास ‘नाजवाफ’ सार्वजनिक गरिएको छ । आइतबार सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित एक समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उक्त पुस्तकको विमोचन गरे । विगत लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति सार्वजनिक भएको हो ।
उपन्यासमा मुख्यरुपमा राज्यव्यवस्था परिवर्तनका निम्ति तत्कालीन खस साम्राज्यको योगदान र उपलब्धिमा आधारित रही यहाँका समस्या, कुप्रथा, विकास निर्माण र जनजीवनका बारेमा चित्रण गरिएको छ ।
जनताको जीवनस्तर र व्यवस्था परिवर्तनका निम्ति खस साम्राज्यको योगदान प्रशस्तै भए पनि विकास निर्माण र मानिसको जीवनस्तर फेरिने कुरामा राज्यको ध्यान नगएको तर्फ उपन्यासले इङ्गित गरेको छ । युद्धको समयलाई देखेको, भोगेको र अनुभव गरेको अलग–अलग पुस्ताले दुई दशकसम्म पनि परिवर्तनको महसुस नगर्नुले व्यवस्था फेरिँदैमा जनताको अवस्था फेरिँदैन भन्नेतर्फ आज आममानिसमा प्रश्न उठिरहेका बेला त्यस्तै प्रश्नको घोचपेच रहेको उपन्यास बजारमा आएको पत्रकार तथा समीक्षक अर्जुन शाहले बताए ।
मायाप्रेमसँगै विद्यमान मौसमी बसाइँसराइ, छुवाछुत, छाउपडी, बहुपति प्रथालगायतका दर्जनौं प्रथा र समस्याहरुलाई मुख्य प्रश्नका रुपमा उठान गर्दै सुदूरकर्णालीका समृद्धिका दिन कहिले आउँछन भन्ने कुरा उपन्यासमा गहनरुपमा आएको शाहको भनाइ छ । युद्ध साहित्यभित्र सामाजकि जनजीवनको तार्किक चित्रणले उपन्यास पठनीय रहेको उनले बताए ।
२१औं शताब्दीमा पनि हामी सबै एकै मानव हौं भन्ने भावनाको विकाससमेत नभएकोतर्फ उपन्यासले मुख्यरुपमा प्रश्न उठाएको लेखक जोशीले बताए । अन्तरजात भएकै कारण प्रेम सफल नभएको, लेकाली भेगमा बस्ने मानिसहरुले भोग्ने समस्या, अपहेलित खस भाषा र संस्कृतिको सम्मान हराउँदै गएको, बहुपतिजस्ता विध्यमान प्रथा अन्त्य गर्न मानिसमा चेतनाको सञ्चार हुन आवश्यक रहेको उनको भनाइ छ ।
आइतबार सुननन्दा मिडिया हाउसका निर्देशक अनिल शाहीको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी रहेका थिए । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही विशेष अतिथि रहेको कार्यक्रममा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया, पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, प्रदेश प्रमुखको कार्यालयका सचिव पुष्कर खड्कालगायत पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies