काठमाडौं : साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा साहित्यकार पगेनीको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
शिवको वास्तविक नाम ‘शिवराज पंगेनी हो । उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’लगायतका कृति प्रकाशित छन् । उनका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन् । २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।
झण्डै १५ सय गीत रचना गरेका प्रकटका ५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । शिवका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमारदेखि मदनकृष्ण श्रेष्ठले समेत स्वर भरेका छन् ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : “साहित्यको सिर्जना समाजमा भद्रता पर्यटन प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता’’ भन्ने मूल मर्मका साथ कल्पना फाउन्डेशन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा आयोजित उक्त पाँचदिने भ्रमणमा समुद्री सतहदेखि ३०८४ मिटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेशनको विभाग विस्तार र रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिकास्थित मानवीय सेवा र समाज सेवाका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने र भाषा साहित्यको विकास तथा साहित्यिक उन्नयनका लागि २०७० सालमा स्थापित कल्पना फाउन्डेशन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेशनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरिएको छ । उक्त विभागका अन्य सदस्यहरूमा साहित्यकारहरु चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् ।
फाउन्डेशनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवम् योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उपाध्यक्ष ऋषिराम सापकोटाले फाउन्डेशनले आगामी दिनमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना बनाएको जानकारी दिए ।
साहित्य विभागका संयोजक चयन भएपश्चात लेकप्रसाद प्याकुरेलले फाउन्डेशनले २०८१ को वैशाख महिनाभित्रै साहित्यसम्बन्धी प्रशिक्षण कार्यक्रमा आयोजना गर्ने बताए ।
भ्रमण टोलीमा सहभागी व्यक्तित्वहरूलाई सम्बोधन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष समेत रहेकी फाउन्डेशनकी अध्यक्ष पौडेलले छिट्टै नै फाउन्डेशनमा ५ लाख रुपैयाँको अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषबाट साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै जाने भावी योजना रहेको बताइन् ।
सोही कार्यक्रमको दोस्रो चरणमा सुप्रसिद्ध सन्त तपश्वी खप्तड बाबाको शालिक अगाडि रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो । भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेका बोधराज प्याकुरेलले लघुकथा वाचन गरेपश्चात निरन्तरता पाएको उक्त रचना वाचन कार्यक्रममा साहित्यकारहरु इन्दिरा गौतम, गीता अर्याललगायत बाँकेका भ्रमण टोलीका स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
सोही कार्यक्रममा उपस्थित सबैले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर नृत्यसहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो । बाँकेका साहित्यकारहरुको उक्त भ्रमण टोलीमा ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरू निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटालगायत करिब दुई दर्जन साहित्यकार एवम् योग साधकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण कल्पना फाउन्डेशनका सचिव लेक प्रसाद प्याकुरेलले गरेका थिए ।
उक्त फाउन्डेशनले यसअघि चितवन चेपाङ बस्तीका बालबालिकाहरुका लागि खाध्यान्न वितरण तथा छात्रवृत्ति प्रदान गरेको थियो भने जाजरकोटका भूकम्प पीडितहरुलाई पनि खाध्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो । त्यसैगरी फाउन्डेशनले नवलपरासी, बागलुङ र बाँकेमा एक दर्जनभन्दा बढी असहाय र अनाथ बालिकाहरुलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको थियो । यस्तै फाउन्डेशनले अक्षय कोषको स्थापना गरी समाजिक क्षेत्रमा काम गर्ने क्रममा गत वर्ष निलसागर सेवा आश्रम र मानव सेवा आश्रमलाई पुरस्कार तथा सम्मान पनि गरेको थियो ।
त्यस्तै भाषा साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने डा. इन्द्र बहादुर भण्डारी र वरिष्ठ कथाकार सनत रेग्मीलाई पुरस्कार तथा सम्मान गरिएको थियो भने पुस्तक प्रकाशन, कृति विमोचन, रचना वाचन तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको फाउन्डेशन नेपालकी अध्यक्ष पौडेलले जानकारी दिइन् ।
काठमाडौं : नेपाल मुक्तक मञ्च काठमाडौं शाखाको आयोजनामा नयाँ वर्षको अवसरमा पोखरेली रेस्टुरेन्ट गंगबुमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल मुक्तक मञ्च काठमाडौं शाखाका अध्यक्ष राजेन्द्र घिमिरे सागरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर, विशिष्ट अतिथि संसाक मासिकका सम्पादक उमेश पाण्डे र कल्पलता द्वैमासिकका प्रकाशक रेणु अधिकारी मौनता रहेकी थिइन् ।
नेपाल मुक्तक मञ्च काठमाडौं शाखाका सचिव तारा के.सी.ले सञ्चालन गरेको कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदानसहित मुक्तककारहरु ज्ञान्धारी कैनी, भवानीमैया पन्त, पार्वती पुडासैनी, उत्तम भेटुवाल, माधव बिडारी चेतनपथ, हरिकृष्ण धिताल (एच.के.धिताल) र यशोदा अधिकारीले आ–आफ्नो मुक्तक वाचन गरेका थिए । यस्तै डा.दामोदर पुडासैनी,उमेश पाण्डे र रेणु अधिकारी मौनताले पनि आफ्नो सृजना प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोरले साहित्यको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने, साहित्यकारहरु बीचको नियमित जमघटले साहित्यमा निखारता आइ उत्कृष्ट साहित्य सृजना हुने धारणा व्यक्त गरेका थिए । साथै सो कार्यक्रममा प्रमुख अतिथि डा.पुडासैनीले यो वा त्यो नभनी सबै एकजुटभइ साहित्यको शिर उचो बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि संसाक मासिकको सम्पादक उमेश पाण्डेले कार्यक्रममा नयाँ वर्षको शुभकामनासहित साहित्यकारहरुको हितको बारेमा मन्तव्य राखेका थिए । कल्पलता द्वैमासिकका प्रकाशक तथा विशिष्ट अतिथि रेणु अधिकारी मौनताले साहित्य र साहित्यकारको उन्नयनको लागि आफू सदा लागि पर्ने बताइन् ।
–रसुवाली कवि
पूर्वीय दर्शन र नेपाली साहित्यकी उल्लेखनीय प्रतिभा हुन्, प्रीति आत्रेय ज्ञवाली । काव्यका उपविधाहरूमा पनि कलम चलाइरहेकी प्रीतिको लेखनमा युगीन पीडाबोधको स्वर मुखारित भएका हुन्छन् । प्रीति आत्रेयले मुक्तकलगायत काव्यका उपविधाहरूमा संकटमय समयका दुखाइहरूलाई व्यक्त गरेकी छिन् ।
आज हामी बाँचिरहेको परिवेशका जटिलताहरूमा पनि प्रीतिका कलम चलेका छन् । पछिल्लो समय काव्यकै उपविधा मानिने मुक्तकमा पनि प्रीतिले कलम चलाएकी छिन् । हालसालै उनको मुक्तक संग्रह चुटुक्क प्रकाशनमा आएको छ । म यस मुक्तक संग्रहको भाव पक्षमा केही टिप्पणी गर्न गइरहेको छु ।
शक्ति वल्लभ अर्यालको तनहुँ भकुण्डोदेखि प्रीति आत्रेय ज्ञवालीको चुटुक्कसम्म आइपुग्दा नेपाली साहित्यमा मुक्तक विधा स्थापित भइसकेको छ । मुक्तक आजको साहित्यको प्रिय विधाको रूपमा प्रचलित छ । मुक्तक अहिले संरचनाको बहसमा अल्झेको छ । बहसहरू भइरहेका छन् । मुक्तकलाई संरचना र भावको कसिलो जुइँनोमा बाध्न जरुरी पनि छ । तर, संरचना जस्तै भावपक्षमा देखिनुपर्ने गहनताको कोणलाई छोड्न सकिँदैन, यो मुक्तकको मुख्य पक्ष नै हो । यतातिर कम बहस भएको छ ।
मुक्तक बाँच्ने शैलीमा हो । भावमा हो । मुक्तकमार्फत सम्प्रेषण हुने विचारमा मुक्तकको लामो आयु कायम हुन सक्छ । प्रीति आत्रेय ज्ञवालीका मुक्तकहरू संरचना, भाव, विचार र चतुष्पदीय विधानमा उभिएका छन् । चार हरफभित्र हुर्काउन सकिने काव्यलाई पनि प्रीतिले ध्यान दिएको प्रतीत हुन्छ ।
मनको अगाडि न जोड्दा हुन्छ नमन
मनको पछाडि न जोड्दा हुन्छ मनन
नमन गरे पनि मनन गर्ने हुन्नन सबै
किन होला यस्तो कुराको छैन जतन ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज २२)
आजको सामाजिक परम्पराहरूमा बदलावहरू आइरहेका छन् । मानिसहरूले आफू हिँड्नुपर्ने पथ भुलेका छन् । गन्तव्यलाई पहिल्याउन कठिन परेको छ । मुक्तककारले आफ्नो मुक्तकमा नमन गरिरहेकाहरू भेटेपनि मनन गर्नेहरू भेटेकी छैनन् । आजको सामाजिक यथार्थको गहिरो पीडालाई बोध गर्दै लेखिएका मुक्तकले पाठक मनलाई छुन्छन् ।
मुक्तककार ज्ञवाली अहिले देशभन्दा बाहिर छिन् । नेपाली डायस्पोरा साहित्यमा विदेश बस्ने नेपालीहरूले थुप्रै लेखेका छन् । जब मानिस आफू जन्मेको माटोलाई चटक्क छोडेर सात समुद्रपारी पुग्छ, मानिसको भावुक मन उसै दुख्छ । देश सम्झिँदै प्रवासी नेपालीहरूले पीडा र दर्दलाई लेखेका छन् । प्रीतिका मुक्तकहरू विछोड बोध यिनै भावमा पनि लेखिएका छन् । उनका धेरै जस्ता मुक्तकहरू समय पीडाकै उपज हुन् ।
चाडपर्व त रमाइलो सधैँ बालापनमा हुन्थ्यो
बाबा–आमाको काखमा र आँगनमा हुन्थ्यो
आमा भइयो छोरा–छोरीको बढ्यो जिम्मेवारी
केटाकेटीले तिहार मनाउँदा माइती मनमा हुन्थ्यो ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज ३७)
विवाहपछि एउटी नारीले बहन गर्नुपर्ने जिम्मेवारी र सामाजिक संरचनाले बहन गराउने जिम्मेवारभित्र गहिरो संवेदनशीलता लुकेको हुन्छ । प्रीतिले यस मुक्तकमा विवाहित नारीको त्यहीँ संवेदनशीलतालाई अभिव्यक्त गर्न खोजेकी छिन् । बाल्यकालको रमाइलो, भावुकता र निर्दोषपनाबाट जब मानिस उम्किदै जान्छ, मानिसभित्र बोझिलो संवेदना दुख्छ । भावुकतामा मुक्तककारले बाल्यकाल र बाआमालाई सम्झेकी छिन् । यो मुक्तक चोटिलो र मिठो छ ।
एउटै चित्रमा पनि यहाँ धेरै थरी कुरा कोरिएको हुन्छ
एउटै कवितामा पनि बहुअर्थी भाव पोखिएको हुन्छ
कुन कोणबाट कुन कुरालाई बुझेको कसले कसरी
प्रतिक्रिया व्यक्ति विशेषको भोगाइले बोलिएको हुन्छ ।।
(प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तकसंग्रह, पेज ६५ )
काव्यलाई मनन गर्न सक्ने मुक्तककारको यस मुक्तकमा कविता तत्वको गहन उपस्थिति छ । जिन्दगी पनि कहिलेकाँही अमूर्त चित्र जस्तो बनिदिन्छ । जिन्दगी कहिले संकटको भुमरीमा फस्छ, जिन्दगी कहिले सम्भावनाको उकालो चढ्छ । व्यक्तिका यिनै भोगाइहरूलाई बिम्बमार्फत भन्न खोजिएको छ । मुक्तककारले चित्र र कवितालाई उदाहरण दिएकी छन् । भनिन्छ, साहित्य र कला समाज र व्यक्तिको अन्तरमनको उपज हो । जिन्दगी र कला साहित्यको मर्मलाई जोडेर मुक्तककारले अरू पनि मुक्तक लेखेकी छन् । जुन मुक्तकहरू चोटिला छन् ।
प्रीति आत्रेयका मुक्तकहरूमा प्रेम, राजनीति, सांसारिक मायामोह, विछोड, संकट, स्वदेशप्रेमको भाव मुखारित छन् । मुक्तकहरूमा अभिव्यक्त भावको दृष्टिकोणबाट हेर्दा प्रीतिले बनाउन खोजेको चित्र मूर्त छ । जसरी आजको समाजमा विश्वासको संकट छ, त्यो संकटलाई मुक्तककारले आफ्नो मुक्तकमा समेटेकी छिन् । जसरी मानिसहरूले आफ्नो संस्कृतिलाई भुलेका छन्, त्योप्रति मुक्तककारको असहमति मुक्तकहरूमा पोखिएका छन् । भावले बेरिएर प्रीतिका मुक्तकहरू बतास लोकमा डुल्दैन । बरू यी मुक्तकहरूले टेकेको जमिन यथार्थको भूगोल बनिदिन्छ ।
आज मुक्तकको फेसन नै चलेको छ । मुक्तकमा आइरहेको बाढीले धेरै मुक्तकहरूलाई जन्माएको छ । कतिपय मुक्तक र मुक्तककारहरू फेसबुकको ‘योर स्टोरी’मा राखिएको तस्वीर जस्ता भएका छन् । उनीहरूले पाउनुपर्ने लाइक र कमेन्ट चौबीस घण्टामा आइसक्नुपर्ने हुन्छ । नत्र तस्वीर आफैं नै हट्छ । मुक्तककारहरू यसरी नै विस्तारै जन्मिरहेका छन्, तत्काल नै साहित्य वृत्तबाट हराइरहेका छन् । यस्तो हुँदैन थियो भने हामी पुराना हरिभक्त कटुवाललाई सम्झिदै आजको मुक्तकको टिप्पणी गर्ने थिएनौ ।
मलाई लाग्छ, प्रीति आत्रेयका केही जोडदार मुक्तकहरूले नेपाली मुक्तक साहित्यमा अवश्य पनि लामो समय उपस्थिति जनाउनेछन् । भाविला मुक्तकहरूको कारण नेपाली साहित्य आकाशमा मुक्तककार प्रीति आत्रेय ज्ञवालीको चर्चा हुनेछ । उनका मुक्तकले साहित्यमा हुनुपर्ने गुणलाई आत्मसात गरेका छन् । उनलाई बेग्लै पहिचान पनि दिएका छन् ।
आफैं लेख्ने आफै पढ्ने सुन्ने छैनन् कोही
के छ खबर कसो भनी बुझ्ने छैनन् कोही
बिना आश, सास चलुन्जेल काम गर्नुपर्छ
मर्दा सबै रुन्छन् जिउँदा पुछ्ने छैनन् कोही ।।
प्रीति आत्रेय ज्ञवाली, चुटक्क मुक्तक संग्रह, पेज २८ )
मुक्तककार प्रीति आत्रेय ज्ञवालीले चुटुक्क मुक्तक संग्रहमार्फत देश समाज र परिवेशलाई मुर्तरूपमा उतारेकी छिन् । मुक्तकमा रूचि राख्नेहरूका निम्ति यो पठनीय कृति हो । साहित्यका अरू विधा पढिरहेकाहरूले पनि अवश्य यो मुक्तक संग्रह पढ्दा बोर मान्दैनन् भन्ने लाग्छन् । म मुक्तककार ज्ञवालीलाई आगामी यात्राका निम्ति हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु ।
– अच्युतमान सिंह प्रधान ‘उत्सुक’
आऊ नववर्ष
नयाँ साल २०८१ को क्यालेण्डर लिएर ।
देशमा सुख र शान्तिको कामना लिएर ।
सबै नेपालीको मनमा हर्ष र उमङ्ग लिएर ।
सबै नेपालीको सु–स्वास्थ्यको कामना लिएर ।
सबै नेपालीबिच भाइचाराको सन्देश लिएर ।
सबै नेपालीको घरमा लक्ष्मीको बास होस् भन्ने आशिष लिएर ।
सबै नेपालीको मुखमा सरस्वतीको बास होस् भन्ने आशिष लिएर ।
सबै नेपालीको आधारभूत आवश्यकता परिपूर्ति होस् भन्ने कामना लिएर ।
सबै नेपालीबिचमा सदैव सुमधुर सम्बन्ध होस् भन्ने कामना लिएर ।
सबै नेपालीबिचमा निःस्वार्थको भावना होस् भन्ने कामना लिएर ।
सबै नेपालीमा आफ्नो देशप्रति माया र मोह सदैव होस् भन्ने कामना लिएर ।
सबै नेताहरूमा सदबुद्धी आओस् भन्ने कामना लिएर ।
सबै नेताहरूबिचको वैमनस्यता सधैँको लागि अन्त होस् भन्ने कामना लिएर ।
देशमा सधैँको लागि राजनैतिक स्थिरता होस् भन्ने कामना लिएर ।
सबै नेपालीलाई नयाँ वर्ष २०८१ को छ, हार्दिक मङ्गलमय शुभ कामना !
– हरिकुमार श्रेष्ठ
उफ !
कस्तो सन्नाटाले छाएको रात
चल्दैछ अन्धकारको राज यहाँ
ढाकेर घर, आँगन
गाऊँ बस्ति र सहरलाई
विशाल सुन्दर प्रकृति र नभलाई
अनि हाम्रा इच्छा, चाहना र रहरलाई ।
यो सहरबाट
जोस–जाँगरका बत्तीहरू बिलाइरहेका छन् आज
राँकेजुलुसहरू अस्ताइरहेका छन् आज
कोणसभाहरू रित्तिइरहेका छन् आज
बाध्यता !
उदीप्त छन् आज तिनीहरू
मरूभूमिमा बालुवा चम्काउन
सुन्दर बस्ति र बगैँचा मस्काउन ।
देखिँदैन आज
यी चकमन्न सहरहरूमा
असारे र गलैँचीका रूपहरू
पारिजात र जयन्तीका मुजुराहरू
सिर्जना रमाउँदै डुलिरहेको
विकास फक्रँदै फुलिरहेको ।
तर
प्रकाशमा जोश जाँगरको
भकारी रित्तिएको छैन
उ रन्थनिँदै हिँड्दैछ निरन्तर
स्वयम्भू बनी यो गाऊँ सहरमा
होस्तेमा हैंसेको आशा बोकी
अँध्यारो चिर्दै उज्यालो छर्नतिर ।
काठमाडौं : हेम सरिता पाठक फाउन्डेशनले आयोजना गरेको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताका उत्कृष्ट २५ सार्वजनिक गरिएको छ । समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)ले स्थापना गरेको सो पुरस्कारमा एक लाख राशीसहित सम्मानपत्र रहेको छ ।
प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट २५ कविताहरु सार्वजनिक गरिएको हो । उत्कृष्ट २५ कविताहरुको जुम माध्यमबाट प्रत्यक्ष वाचन पनि गराइनेछ । सो प्रतियोगिताका लागि साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको हेम सरिता पाठक फाउन्डेशन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।
उत्कृष्ट २५ कवितामा भ्रष्ट भरिया (महेश चौलागाईं), बढ्न थाल्यो भ्रष्टाचार (विजय थापा), आस्थाको पहाडबाट झरिरहेको अस्तित्व (विवेक दुलाल क्षेत्री), भ्रष्टाचार निवारण चूर्ण (गम्भीर दुवाडी), पुनः एकपल्ट जमिनले बोलाउने छ (मन्दिप बाँस्कोटा), ऊ फेरि सिद्धिने छ (नवचन्द्र ओली), सावधान (रूपा थापा), भ्रष्ट–आचारी (रुद्र अधिकारी), मेरो देशको अनुहार (शङ्कर शर्मा), देशका शत्रु (मदन घिमिरे), उम्रिऊन् बोधिवृक्ष विवेकका (विन्दा पराजुली बराल), भ्रष्टचारीको अन्तिम इच्छा (तोया भट्ट), एक याचना (विश्व कुइकेल), धुर्तलाई समात (संयोग बस्याल), भ्रष्टाचार विरुद्ध (इन्द्रनारायण सुवेदी), कत्ति छुट छैन (प्रज्वल अधिकार), प्रतिक्षा (मणिकुमार श्रेष्ठ सिजन), भ्रष्टाचारविरुद्ध युवाको अपिल (शरद्शोभा), निष्ठाको कर्मयुद्द (मधुर भट्टराई -गिरिराज भट्टराई ), आह्वान (सुन्दर शिरीष), धर्ती सेतो रहोस् (दीपिन सिजापति), झुपडीका मुठीहरू (निशान निष्कर्ष), बतासको बह (विकल त्यागी), भ्रष्टाचार प्रताडित मातृभूमि (सुमन भट्टराई) र दुस्स्वप्न (वासु पन्थी 'देवस्म') रहेका छन् ।
उत्कृष्ट २५ कविताहरुको वाचन कार्यक्रमकै दिन पुरस्कृत कविको नाम घोषणा गरिनेछ । त्यसपछि काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट २५ कविताको पुस्तक प्रकाशन पनि गरिने अध्यक्ष लेकालीले जानकारी दिए ।
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित एक समारोहबीच ११ जना विशिष्ट स्रष्टाहरूलाई जनही एक लाख रुपैयाँ राशिको ‘प्रज्ञा पुरस्कार– २०८०’ अर्पण गरिएको छ ।
कुलपति राईले खगेन्द्र संग्रौलालाई प्रज्ञा अनुवाद पुरस्कार, मोहनविक्रम सिंहलाई प्रज्ञा दर्शन पुरस्कार, शान्ता श्रेष्ठलाई प्रज्ञा सामाजिकशास्त्र पुरस्कार, घनश्याम शर्मा पौडेललाई प्रज्ञा संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास पुरस्कार, कृष्ण गौतमलाई प्रज्ञा समालोचना तथा साहित्येतिहास पुरस्कार, प्रा.डा.देवीप्रसाद गौतमलाई प्रज्ञा भाषा पुरस्कार, बम देवानलाई प्रज्ञा साहित्य पुरस्कार (पद्य), राजवलाई प्रज्ञा साहित्य पुरस्कार (गद्य),गंगा कर्माचार्यलाई प्रज्ञा बाल पुरस्कार, प्रज्ञा मातृभाषा साहित्य (हिमाली/पहाडी) पुरस्कार डा.योगेन्द्र प्रधान र पदम विश्वकर्मालाई प्रज्ञा अन्तर्देशीय पुरस्कार अर्पण गरेका थिए ।
प्रज्ञा मातृभाषा पुरस्कार (तराई/मधेस) बाट बेचन उराँव अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा गत महिना धरानमा आयोजित कार्यक्रममा पुरस्कृत भइसकेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले विशिष्ट स्रष्टाहरूलाई पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित रहेको चर्चा गर्दै प्रज्ञा–प्रतिष्ठानलाई सबैको साझा थलोको रूपमा आफूले अघि बढाउने बताए । यसै क्रममा उनले समाजले उत्पादन गरेको ज्ञानबारे बहस गर्दै प्रतिष्ठानले प्रतिपक्ष र विरोधी चेतनालाई समेत समेट्ने बताए ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले स्वागत मनतव्य र सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा व्यक्तित्वहरूले समेत आ–आफ्नो मन्तव्य राखेका थिए ।
काठमाडौं : चर्चित कवि जगन्नाथ पौडेलको कृति ‘बग्दैबग्दै’ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा एक समारोहका बीच विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि एवम् अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका पूर्वकेन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार एवम् समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका केन्द्रीय उपाध्यक्षहरु राजेन्द्र श्रेष्ठ र डा. रेणु थापा सोलु, समालोचक महेश पौडेल, अश्विनी कोइलाला, गणेश कुमार जी.सी., बालाकृष्ण अधिकारीलगायतले उक्त कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि विश्वकर्मा, पूर्वअध्यक्ष लेकाली, पूर्वसल्लाहकार डा. गौतम, कवि पौडेललगायतले मन्तव्य राखेका थिए । यसैगरी समालोचक महेश पौडेल र डा. बालाकृष्ण अधिकारीले लोकार्पित कृतिको बारे समीक्षात्मक मन्तव्य राखेका थिए । प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मन्तव्यका क्रममा ‘बग्दैबग्दै’भित्र सौन्दर्यचेतनाले भरिएका शक्तिशाली कविताहरू रहेको भन्दै कवि पौडेलले कवितामा आफ्नो शिखर निर्माण गरेको बताए ।
समीक्षक महेश पौड्यालले ‘बग्दैबग्दै’ कविताकृति वर्तमान कविता परम्परामा एउटा शक्तिको रूपमा स्थापित हुने कुरामा विश्वश्त हुन सकिने अभिव्यक्ति राखे । डा. बालाकृष्ण अधिकारीले पाँच पटक सोचेर यो कृति डायस्पोरा साहित्यको बेजोड नमुनाको रूपमा आएको छ भनि दाबा गर्न सकिने बताए ।
कार्यक्रममा साहित्यकार सुमन वर्षा, तैँतैँ धिताल, मोहराज शर्मालगायतले लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए । कविता वाचनको बेला वसन्त चामलिङ राईले बाँसुरीमा धुन दिएका थिए । अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष कमला रिसालले स्वागत गीत, उपाध्यक्ष निर्मल पराजुलीले स्वागत मन्तव्य र सञ्चालन उपाध्यक्ष मन्जिला अनिलले गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, दिव्य गिरी, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रञ्जना निरौला (महासचिव), शान्ति रिसाल, सिर्जना शर्मा, रमेश दहाल, ममता मृदुल, यादेवी ढकाल, राज रजक, रिसव घिमिरे, हरिश कल्पितलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
–रूप नारायण तिम्सिना
रिना आमाको स्वास्थ्य दिनदिनै बिग्रँदै थियो त,र उनले छोरा बुहारीलाई सुनाएर चिन्ता बढाउन चाहिनन् । छोरा रमेश र बुहारी रश्मि दुवै सरकारी जागीरे थिए ।
प्रायः सधैँ आमाले नै खाना तैयार गर्नुहुन्थ्यो दुवै छोरा बुहारी खाइपिइ आ–आफ्नो कार्यालयतिर जान्थे । समय व्यतीत हुँदै गयो । घर गाउँ बस्तीमा भएकोले गाउँलेहरूको आवागमन सदैव हुनेगथ्र्याे । एकदिन छिमेकी रविन काकाले रीना आमालाई आँगनमा बसेर आँसु पुछ्दै गरेको देखेर नजीकै गएर सोधे, “हैन ए रीना के भो तिमीलाई किन रोएकी ?”
रीना आमाले आँसु पुछ्दै भनिन्, “केही होइन काका ! आफ्नो भाग्य सम्झेर रून मन लाग्छ के गर्नु र ?” गुनासोपूर्ण शैलीमा काकालाई बस्न मुडा दिइन् । मुडामा बसेर रवीन काकाले फेरि प्रश्न तेस्र्याए, “हन किन रुनुपर्यो र ? छोरा बुहारी दुवै जागीरे छन् । धन सम्पत्ति टन्न घरमा आउँछ । खान लाउन दुःख छैन घरवार राम्रै चलेको छ होइन र ?”
“सम्पत्तिले सुख हुँदो रहेनछ काका ! यो मनले त माया खोज्दो रहेछ, त्यो माया मबाट टाढा भागिसकेको छ । पतिको मृत्युपछि छोराको मुख हेरेर बाँचे । सुख होला भनेर छोराको विवाह पनि गरियो । तर, खै छोराले बुहारी पाएपछि त झन् मतलब नै राख्न छोडेको छ काका ! त्यस्तै के–के सोचाइ आउँदो रछ अनि मन थाम्न नसकेपछि आँसु झर्दो रहेछ नि काका ! अनि कतासम्म हिँड्नु भएको हो ? चिया पानी केही लिनुहुन्थ्यो कि ?”
रीना आमाका दुःख लाग्दा कुराले रवीन काकाको हृदय छोयो । उनले केही जवाफ दिन सकेनन् र भने, “होइन आमा मलाई केही खाऊँ छैन, म एकछिन पल्लो गाउँतिर लागेको, आफ्नो ख्याल राख्नु है, म गएँ”, भन्दै जुरुक्क उठेर हिँडे ।
रीनाले बेलुकाको खाना तैयार पारेर छोरा बुहारी पर्खेर बसिन् । साँझ पनि टर्यो । सधैँ उज्यालैमा आउने छोरा बुहारी आज साँझ टर्दासम्म पनि न आएपछि आमाले दैलो लगाएर ओछ्यानमै गएर ढल्किन् । रात धेरै बितेपछि उनीहरू आए । आमाले दैलो खोलिन् र भनिन्, “नानी हो ! लु हात गोडा धोएर आओ म खाना पस्किन्छु ल ।”
आमाका कुरा सुनेर छोरा रमेशले भन्यो, “आमा ! तपाईं खाएर सुत्नोस्, हामीले त बाहिरै खाएर आयौं ।”
आमाको मन चिसो भयो र अनुरोध गरिन्, “होइन छोरा आज तँलाई मन पर्ने खाना बनाएकी छु, अलिकति भए पनि खा न छोरा !” रमेश रिसाए झैं गर्दै, “भन्यो आमा हामीले खाना खाएर आयौं अब फेरि कसरी खानु ? तपाईं खाएर सुत्नोस् न भनेको !”
रीना आमाको मन चस्स पोल्यो केही बोलिनन् । छोरा बुहारी आफ्नो कक्षतिर लागे र दैलो बन्द गरे । आमाले विस्तारै भोजनालयमा गएर आफूले मेहनत गरेर बनाएका भोजनका परिकारहरू हेरिन् । केही खान मन परेन र त्यत्तिकै गएर आफ्नो ओछ्यानमा पल्टेर धेरै बेर के के सोचिरहिन् ।
भोलिपल्ट बिहान सधैँ छिट्टै उठ्ने आमा आज किन उठ्दिनन् भनेर रमेश आमाको कक्षमा प्रवेश गर्छ यसो हेर्छ आमालाई सुतिरहेको देख्छ । सम्झिन्छ सायद गल्नु थाक्नु भएकोले होला भनेर उठाउन चाहेन । ऊ आमाको कक्षबाट फर्किन खोज्यो । अचानक उस्का आँखा नजिकैको टेबलमा रहेको कागजमा पुगे । हतार–हतार कागज उठाएर पढ्न थाल्यो । त्यस कागजको पन्नामा लेखिएको थियो, “छोरा रमेश ! आज तेरो जन्मदिन थियो, मैले बिहान त केही गर्न भन्न भ्याइन किनकी तिमीहरूलाई हतार थियो र बेलुकाको भोजनमा तँलाई मन पर्ने खाना बनाएकी थिएँ र तिमेरु आएपछि सँगै खाउँला भनेर मैले पनि नखाई पर्खेर बसेकी थिएँ । तर, तैँले खान मानिनस् र मलाई पनि खाउँ लागेन सायद हामी आमा छोराको बोलचाल पनि यतिनै होला । नानी ! मैले तँलाई एक साताअघि एउटा पर्ची दिएर भनेकी थिएँ, कुनै पसलमा पाइस् भने यो औषधि ल्याइदे ल भनेर त्यो पनि ल्याइनस् । अब त औषधिको पनि आवश्यकता पर्दैन होला । तँ खुशी रहनु आफ्नो स्वाथ्यको ख्याल राख्नु, समयमा खानु, समयमा घर आउनु ल छोरा !”
उसले पर्ची सम्झ्यो गोजी छाम्यो र पर्ची गोजिमै रहेछ । निकालेर हे¥यो । पर्चीमा लेखिएको थियो, “बाबू छोरा ! कतै तेरो याद न आउने औषधि पाइस भने लिएर आइज ल !” यो पर्ची पढेर उसले आमालाई उठाउन खोज्यो तर, आमा अब कहिल्यै नउठ्ने गरी सुतिसक्नु भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies