–धनराज गिरी
“के छ चितवनमा साहित्यिक गतिबिधि ?” चितवनेतर साहित्य प्रेमीहरूको यो अस्थायी प्रश्न हो, जसरी, ‘प्रश्न’बाटै हाम्रो साहित्यिक अवैतनिक राजदूत भएका मुक्तिनन्दन, मानक पाठक, उदय अधिकारीको भूमण्डलीकृत प्रश्न हुने गर्दछ, “अहिले के पढ्दै हुनुहुन्छ ?” उत्तर सत्य हुन पनि सक्छ, नहुन पनि सक्छ, किन कि किताब पढ्ने काम पनि एउटा ‘सकस’ हो, ‘अन्तरमनको यात्रा’ मात्र होइन । मलाई बारम्बार आउने यो प्रश्नको उत्तर के दिने ?
चितवन आफैंमा एउटा रहस्यमयी जिल्ला हो । त्यसो त हरेक जिल्लाको कहानी उस्तै होला । “चितवनमा साहित्यिक गतिविधि राम्रो छ” यो उत्तर सकारात्मक हो, अपेक्षित हो र केही मात्रामा सत्य पनि हो । यतिखेर म यी शब्दहरू लेख्दा तनावमा छैन । मन शान्त छ । मेरो स्थायी स्वभाव हो, “त्यहाँ राम्रो के छ ?” नकारात्मकता मेरो गन्तव्य होइन । ‘अतिवाद’ अति नै हुन्छ, एक्लो भइन्छ । म एक्लो हुन जन्मिएकै होइन । सत्यतथ्य र धरातलीय यथार्थ अलि असजिलो नै हुन्छ ।
अब चितवनबाट अलिकता बाहिर गएर हेरौं, ‘घनेन्द्र ओझा’को अनुहार र शैलीले सुरु सुरुमा म पनि ‘घनेन्द्र ओझा’ बनेर ‘अलग धारतिर’ लागेको हुँ । अकडो, अरर्रोे, छिद्रान्वेषी अनेक नाम पायो, यो पूर्व अनाम अनेक नाम पायो, यो पूर्व अनाम मण्डलीले, पञ्चायती व्यवस्था रहिरहेको भए र ‘केटी’कै माया पाइरहेको भए म पनि ‘बदनाम मण्डले’ हुने थिएँ । ‘केटी मनपर्छ’ प्रोफेसर जगमोहन आजादलाई, मकवानपुरे हो नि त । यो ‘राधिकाकान्त’ अशान्तले मेरो ध्यान तान्यो । मलाई ५१ प्रतिशत ठीक लाग्यो यो मान्छे । यस्तो ‘अकडो’ चाहिन्छ । अनि उसले वास्ता गर्ने नगर्ने, उसको कुरा, ऊ एक प्रतिभा हो, म प्रतिभालाई सम्मान गर्छु, यो कुरो प्रतीक ढकाल र भवानी खतिवडालाई मात्र होइन ‘रमाकान्त’ महेश पौडेललाई पनि थाहा छ ।
‘सन्तापको धून’ जहाँ पनि हुन्छ । पक्षधरता जहाँ पनि हुन्छ । ‘आत्मीय’ दुर्लभ कुरा हो । चितवनको साहित्यिक माहौल अति ‘आत्मीय” छ भनेमा भद्दा मजाक हुन्छ । म त्यस्तो स्तरको मजाक गर्दिन । हो, चितवनको साहित्यिक माहौलमा ‘काम चलाउ एकता’ छ । आँटेपछि कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक ‘सत्यनारायण पूजा’ र ‘राजसुय यज्ञ’ सम्पन्न गर्ने ‘बादशाह’हरू पनि छन् । एकाहा, रुद्री, पुटिक, खुजुरे कारोबार ‘लक्ष्मीकान्त’ सम्पूर्णले धानेको छ । समग्रमा, चितवनको साहित्यिक माहौल त्यति निराशाजनक छैन, रमाइलो, यहाँ सत्य बोल्नसक्ने, सार्वजनिकरूपमा, को–को ? यो चाहिँ ‘कपिल कमेडी’ है, यसलाई मजाककै रूपमा लिनुहोला, कुरा गम्भीर भए पनि, सम्पूर्ण किताबमा एक दिन भनियो, चितवनमा, आमले बोल्न असजिलो मान्ने सत्य उदय अधिकारी भाइले बोल्छ, उदयले नसके रमेश प्रभात आउँछ, आफैं अराजक बनेर, उदय र रमेशको पनि हिम्मत नभएमा ‘लेखरामजनक’ प्रोफेसर जगमोहन आजाद बोल्छ, मज्जाले बोल्छ, साथीहरूलाई थाहा छ । परिणामको चिन्ता गर्दैन ‘शेर’ लेख्ने ‘आरजूको बा’, ‘साझा बा’ र... प्रोफेसर जगमोहन आजादले पनि शहीदहरू सम्झिएर मौन धारणा गर्न विवश भएमा एउटा खास ‘शेर’ बोल्छ, गर्जिन्छ, उसको नाम हो ‘प्रेमराज रिमाल’ शारदाकान्त, भित्री सागर प्रशान्त, अनुभूत तथ्य ।
घरभित्र एकजोडी ‘पति’ र ‘पत्नी’, ‘पतिपत्नी’ हुन नसकेको अनन्त कथाहरू छन् । म आफै पनि ‘मित्रजालमा’ परेको रहेछु, अति भ्रममा बाँचेको रहेछु । हामी ‘९९.९९%’ ले गर्ने अभिनय नै हो । ‘काम चलाउ मेलमिलाप’ भए काम चल्नेरहेछ । ‘आत्मीय’ मित्र उही भानुप्रसाद उपाध्यायले खुल्लारूपमा घोषणा गरेजस्तै ‘प्रोफेसर जगमोहन आजाद’, मित्र भानुको विश्वासलाई सलाम गर्दछु । तर म भानु होइन । म अझै पनि ‘केही’ पात्र र पात्राहरूलाई आत्मीय मान्दछु मानिरहेछु, आखिर मान्न त पाइन्छ नि ?
‘घायल लक्ष्मण बोकेर आज यो सीतापति हृदयको इन्द्रप्रस्थ आएको छ । त्यसो त हामी चितवनको सम्पूर्ण साहित्यिक माहौललाई ‘हस्तिनापुर’ बनाउन सक्दछौं । पितामहको अनिकाल छैन । केदारनाथ खनाल गुरु बा, गोविन्दराज विनोदी छन्दाशुतोष, रामबाबु घिमिरे सर, डी.आर. पोखरेल मितवा आदि आदि । साहित्यिक ‘शिशुपाल र जरासन्धहरू’ आफैं कुकर्मको फल पाएर पतेराले चुसेको धानजस्तो हुनेछन् । घायलजी, तपाईंमाथि लक्ष्मण अर्यालजीको सर्जरी अत्यन्त आत्मीय लाग्यो । ‘राजेन्द्र घायल’ वास्तवमा चितवनको साहित्यिक माहौलको एक अलग पहिचान, म पनि स्वयम् ‘घायल’ घायल र म घायल, हामी ‘सीतापति’ हाम्रो भावना मिल्छ, मन मिल्छ, हामीलाई माया भए पुग्छ ।
हाम्रो ‘इन्द्रप्रस्थ’ बन्न आयो, ‘रत्ननगर वाङ्मय प्रतिष्ठान’ पूर्वी चितवन, आफैंमा केन्द्र पनि परिधि पनि । हामीसित ‘बहरोपाध्याय’ केशवराज आमोदी, मेरी प्रेयसी ‘सुखौरी’ हुनुहुन्छ । तिलकराज शर्मा दाजी, अब छुट्टै माहौल सिर्जना गर्नु छ हामीले । मेरा बालसखा गोकर्ण मल्ल झलमल्ल भए, अब कोही पनि अलमल्ल हुनुपर्दैन । लीला र यमुना मात्र विज्ञानपुत्री नातिनी ‘सर्वज्ञा’ भोलि नामानुसार ‘सर्वज्ञा’ ‘स्वयम्प्रभा’ हुनेछिन् । हाम्रो आर्शिवाद छ । चितवनमा केही गर्न सकिन्छ । केही गर्ने भनेको केही गर्ने हो । सबैले सबैको अस्तित्व स्वीकार्ने हो । राजेन्द्र हमालको कमाल हेर्ने छ । कमल अर्याल पनि हाम्रो सम्भावना हो । सुमनहरू हामीसित चार, रूप र सार अनुरूप बनाउन हातेमालो गर्नैपर्दछ ।
उता पर मेरी मायालु ‘पातली’ कोपिलाको स्याहारसुसारमा लागेकी छन्, यो साहित्यिक ‘राप्रपा’ सत्तामा कहिले पुग्ने हो, थाहा छैन । आज म राजनीति नगरिकन राजनीति गर्नेछु । भतिजा दीपकराज गिरी, महानायकको पनि नायक, काकाले भनिदिएपछि भयो, दीपकराज गिरीलाई भनियो, “‘दीपू’, अभिनय नगरीकन अभिनय गर्नू, अब्बल अभिनय हुन्छ, कादर खानलाई हेर, काकालाई हेर ।”
प्राकृतिक हुनुपर्दछ माया, प्राकृतिक हुनुपर्दछ सम्बन्ध । अर्यालजीले, शिवनन्दनले, जसरी चरित्र चित्रण गर्नुभयो, त्यो प्राकृतिक हो । यही भएर मैले आजको लेखको शीर्षक पनि प्राकृतिक नै राखेँ । ‘घायल लक्ष्मण’ हो त, हरेक रामायणमा लक्ष्मणहरू घायल हुन्छन् । कर्मयोगीहरू घायल पारिन्छन् । धेरै ‘रामहरू’ घायल भएको अयोध्यामा छौं हामी । आज स्वयम् ‘नेपाली भाषा घायल’ भएको छ । हामीले छन्दको सगरमाथा मानेको छन्देश्वर आशुतोषको मनको पीडा कसले बुझ्ने ?
इन्द्र रेग्मीज्यू, हजुरको पीडा म बुझ्दछु । अरुको पीडामा साथ दिने संस्कार छैन । केही नलागेपछि साथीहरू बीस हजार तालतिर लाग्छन् । लाग्छ यो संपूर्ण भूगोल नै ‘घायल लक्ष्मण’ हो । जय नेपाल ! घनेन्द्र ओझा, यो धनेन्द्र सोझा स्वीकार्छ,गजल लेख्ने छन्दमा नै हो, र आउनेले लेख्ने हो ।
– कमला पौडेल
१.
सकेसम्म गहिरो विश्वास कसैलाई पनि गर्नुहुन्न
धोका हुन्छ आफैलाई मायाको भ्रममा पर्नुहुन्न
बल्ल बल्ल पाएको जीवनमा केही गरेर देखाउनु,
बिछोड भयो भन्दैमा यत्तिकै बिचैमा मर्नुहुन्न ।।
२.
देखाउँदैनन् बाहिर कसैलाई भित्र भित्रै रुन्छन्
सम्झाउँदा नि समालिन्नन् न कसैको कुरा सुन्छन्
यो संसारको रित नै हो कसै कसैलाई टेर्दैनन्
कोही मस्त सुख सयलमा कोही पिरमा हुन्छन् ।
३.
दुःखै दुःखको मुरी हुँदा सुखको मानो भएको भए
झरी पर्दा ओत लाग्ने घरको छानो भएको भए
हरियो पासपोर्ट लिएर देशै छोड्ने थिइन मैले पनि
बिहान बेलुका खाने अन्नको दानो भएको भए ।।
४.
आफ्नो सम्झेर कसैमा अपनत्व जताउनु बेकार भयो
सुखमा रमाइ दुःखमा सँगै आँसु बगाउनु बेकार भयो
मलाई दुःख पर्दाखेरी जानीजानी टाढा हुन खोज्नेलाई,
अप्ठ्यारोमा हात दिएर उल्टो बचाउनु बेकार भयो ।।
५.
धन, सम्पत्तिभन्दा सधैँ इमान इज्जत कमाउनु छ
आफू मात्रै एक्लै होइन सबैको खुसीमा रमाउनु छ
विश्वास गरिसकेपछि घात गर्नेहरूको घुइँचोमा मैले,
हजारौंको साटोमा एउटा सच्चा हात समाउनु छ ।।
– शिशिर बुढाथोकी
पानी बिना पनि माछो बाँच्छ रे अचेल, दुनियाँ उल्टो भो
धर्म हैन मान्छे अधर्म बाँडछ रे अचेल, दुनियाँ उल्टो भो ।।
सृष्टिमा प्रलय नआउने हैन आउँछ पक्कै एकदिन
धर्मको हेक्का नराखी नाँच्छ रे अचेल, दुनियाँ उल्टो भो ।।
जो ज्ञानी छ तपस्वी छ जो भक्तिमा रमाउँछ निरन्तर
उसैलाई पो पाप लाग्छ रे अचेल, दुनियाँ उल्टो भो ।।
पापको घैलो भरिन्छ जब पोखिँदैन कसै गरे नि
अज्ञानी मनुष्य पापै साँच्छ रे अचेल, दुनियाँ उल्टो भो ।।
नर्क जो भरियो स्वर्ग त्यो खाली खाली भो
स्वर्गदेखि इन्द्र पनि हाँस्छ रे अचेल, दुनियाँ उल्टो भो ।।
–ओम बस्नेत
बिर्तामोड आँखा अस्पतालको कोरिडोरमा अचानक अनमोल खातीलाई देखेँ । मेरो साथीको छोरो हो अनमोल । केटा मिलनसार, आज्ञाकारी र संस्कारी पनि छ, सानैदेखि साई भक्त । पढाई लेखाई पुट्टापर्तीबाट गरेको हो । गीत, संगीत, किर्तन आदि उसले आफ्नै बाबाबाट सिकेको ।
मैले बोलाएँ अनमोललाई । नयाँ ठाउँमा एक्कासी नाम काडेर बोलाउदा उ झस्केर म पट्टी हेर्यो । आयो र मलाई ढोग्यो मैले पनि टाउकोमा हात राखेर आशिर्वाद दिएँ ।
“अंकल पनि आँखा देखाउन आउनु भाको होला ?”
“हो नी छोरा ।”
“अन्त कसलाई लिएर आको तिमी ?”
“आमालाई लिएर आको ।” म छक्क परें ।
उसकी आमा स्वर्गबास भएको लगभग दश वर्ष जति भएको मलाई थाहा थियो । उसको बाबा यानी कि मेरो अतिनै प्रिय साथी बिरेन सर र म एउटै स्कूलमा पढाउने काम गथ्यांै तर, बिरेन खाती खसेको पनि चार–पाँच वर्ष भयो ।
छक्क परेर सोधे “को आमा, सासु आमा ?”
“होइन तपाईले नै ल्याइदिनु भएको आमा ।”
“खोई कहाँ हुनुहुन्छ ?” उसले आँखा अस्पतालको छेउको लजमा लग्यो ।
भित्र कोठामा कालो चस्मा लगाएकी महिला पलङ्गमा ढल्किरहेकी देखेँ । टेबलभरी आँखामा हाल्ने दबाईका शिशिहरू जसलाई एक घण्ट, आधा घण्टा पन्ध्र मिनटको अन्तरालमा हाल्नुपर्ने रहेछ । अनमोलबाट बुझेँ । आँखाको अपेरशन सजिलो तर, दबाई हाल्ने काम साह्रो हो ।
“कस्तो हौ दबाई आधाकल्चो दिएको दबाईवालाले पनि” भन्दै चस्मा खोलिन र “लु हाल त दबाई” भनेर आँखा च्याति रहिन । छोराले दबाई हाल्यो ।
आँखा चिमचिम गर्दै उनले म पट्टि हेरिन् म छेउको पलङ्गमा बसेको थिएँ चुपचाप । किन कि मेरो होश पनि आधा उडिसकेको थियो ।
“को पो हो वहाँ त ?” भनिन् । म के भन्नु भन्नु भएर हतार हतार “नमस्ते भाउजु” भने ।
“नमस्ते नानी तर चिन्नू पो सकिन” भन्दा भन्दै अनमोलले बतायो “ओम अंकल हौ मम्मी ।”
“ए...ओम भाई” भन्दा नभन्दै उनको आँखा रसायो ।
अनमोलले स्थिति सम्हालेर “मम्मी चस्मा लाउँनुस् त दबाई पोखिन्छ, उत्तानो सुत्नुस” भन्यो ।
“जाऊँ होगी अंकल बाहिरतिर” भन्यो ।
“भाउजु आराम गर्नुस् है” भने तर, उनको जवाफको प्रतिक्षा गरिन । हामी निस्कियौँ ।
तल एउटा चिया पसलतिर गयौँ । मैले अनमोलबाट धेरै कुरा सुन्नुपर्ने छ आज ।
मैले चाहिँ अघि नै डाक्टरलाई देखाउने काम सकेको थिएँ । चस्माको अर्डर दिएको छु । एक दुइ घण्टा पर्खनु नै छ ।
उसलाई के सोध्नु, कसरी सोध्नु भयो र पनि “अन्त भाई खोई यो जिन्दगीले पनि मानिसलाई के–के गराउँछ, कहाँ कहाँ पुर्याउँछ होगी ? बिरेन सर बितेको चैँ सुने त्यति बेला म आउन सकिन । तर आज कमला भाउजुलाई देखेँ खुशी लाग्यो । भाईले कान्छी आमालाई बेसहारा छोडेन छौ यो कुरामा चै म धेरै भावुक भएँ । छोरा तिम्रो, परिवारमा घटेको घटनाले मलाई साँच्चै विचलित पारेको थियो त्यति बेला ।”
“होइन अंकल त्यसो नभन्नुस् न हामी जस्तो टुहरा–टुहुरीलाई मात्र थाहा हुन्छ आमा–बाबा नहुँदाको पीडा । तपार्इंकी बुहारी पनि टुहुरी हो । उसले पनि आमाको रूपमा कमला आन्टी पाई । कमला आन्टी नै हाम्रो सबकुछ हो । तपाईंहरुले जे गर्नु भयो राम्रै गर्नु भयो । अंकल तपाईंको नम्बर दिनुस म सिलगडी पुगेर कल गर्छु भोलि ।”
धेरै बर्षअघिको कुरा हो म सरुवा भएर सोरेंग जाँदा भेटेको थिएँ बिरेन खाती सरलाई । मैले पढाउनु पर्ने स्कूलको हेडमास्टर हुनुहुन्थ्यो । मैले जोइनिंग रिपोर्ट बुजाउँदा नै उहाँको व्यक्तित्वलाई बुझिसकेको थिएँ । “सर सरुवा भएर आउनु हुँदैछ भनेर सुनेको नि” भन्नु भयो । धेरै गफ भयो । कोठा नपाउञ्जेल उनकैमा बास पाउने भएँ ।
बिरेन सर र गुरुआमा एउटै स्कूलमा रहेछन् । सबैसँग चिना–जाना गराउनु भयो । उहाँहरुको आफ्नै घर रहेछ स्कूलदेखि अलिक माथि । कोटेज घर सुन्दर लाग्यो ।
बिरेन सरकोमा हारमोनियम, तबेला, मादल इत्यादि बाजा–गाजा देखेँ, उनको बैठक कोठामा । सरले बेलुकी दुई पैग जस्तो पिउनु हूँदो रहेछ, गीत–सङ्गीतको मुड बनाउन । मलाई पनि अफर गर्नु भयो । एकछिन पछि गुरु आमा पनि आउनु भयो किचनको काम सकेर । कति छिटो फ्रेन्च फ्राई बनाउनु भएछ ।
“सर गाउनु हुन्छ ?” भनेर उनले मलाई सोधे, “म सुन्छु मात्र सर । तपाईं गाउनुस् न”, भने । हल्का तबला चैँ बजाउँछु भने ।
घाँटी सफा गर्दै थिए कुन गाउँनु भनेर गुरुआमालाई सोधे त्यो गाउनुस् फेवरेट.. भनिन् ।
“अलझेछ क्यारे पछेउरी तिम्रो चियाको बोटैमा...”
मैले ताली नबजाई बस्नु सकिन् । मिठो गाउनु भयो सरले भनेर प्रसंशा गरें । मिठो स्वरको धनी । हारमोनियममा हात त्यस्तै राम्रो चल्दो रहेछ ।
बिरेन सरले एक दिन अंजु गुरुमा र उहाँको प्रेम कहानी भन्नु भाको थियो । गैरीबाँस हो बिरेन सरको घर । गुरुआमा झोलुंगको हुनुहुन्छ । बिरेन ‘खाती’ हुन् अनि अन्जु ‘भट्टराई’की छोरी । दुबैमा प्रेम थियो । सांस्कृतिक कार्यक्रममा बिरेनले गीत गाएर मन्त्रमुग्ध पार्थे । अन्जुलाई बिरेनको स्वर र रूपको अघि जात–पातको तगारोले रोकेन । भागेर सिक्किम पसे । दुबै पढालेखा थिए । बिरेनको काका शिक्षा विभागमा डेप्युटी डायरेक्टर थिए । भतिजो र भतिजो बुहारीले काम पाएछन् । त्यति बेला अहिलेको जस्तो कागज–पत्रको त्यति जरूरत पनि पर्दैन थियो गुरुबाऊ र गुरुआमा हुनलाई ।
उनले कहिले पनि जाल साज गरेर सिक्किम सब्जेक्ट बनाउने र सिक्किममा सेटल हुने कहिले सोचेनन् । बरु एक दुइजना सिक्किमकै साथी भाईले अफर दिएका थिए अरे !
उनको घर कहाँ हो भनेर सोधेँ कसैले भने गैरिबाँस हो भन्थे गर्वसँग । सरकारी नोकरीबाट सेवा निर्वित भएपछि आफ्नै ठाउँ फर्किने मन बनाइसकेका थिए । मसँग धेरै आत्मियता बढ्यो बिरेन सरको । म अर्को कोठा पाएर एक्लै बस्न थालेको थिएँ ।
अलिक दिनपछि एकै रातको बिमारले अन्जु गुरुमा बित्नु भयो । बुझ्दा हार्टअटेक भएछ । सम्पूर्ण गाउँ नै उर्लेर आयो । कस्तो बज्रपात भयो त्यो घरमा । घटनापछि बिरेन सर धेरै पिउनु थालेको जस्तो लाग्यो । कमजोर पनि भएछन् । छोरा पुट्टापर्तिबाट आएर सबै समालेछ । पछि छोराको पनि बिहे भयो । बिरेन सर बाजे पनि भए । मेरो सरुवा भएर गान्तोक फर्केँ ।
एक दिन लैन्ड लाइनमा फोन आयो बिरेन सरको ।
मलाई सोरेंग बोलाए कारण सोधे अर्जेंट काम छ भने । म पुगें । खानपिना पछि साधें, “मैले किन बोलाको ?” उनले अनमोललाई पनि छेउमा बोलाएर बस भने ।
“सुन्नुस न ओम भाई । अब म फेरि बिहे गर्नुपर्यो भनेको अनमोलले साथ दिएन मलाई । मैले बिहे गर्दा उसलाई सरम हुन्छ अरे । बुहारीको माइतमा धरी इज्जत जान्छ अरे । गाउँ घरमा उसको मेरो सबको नाक काटिन्छ अरे । मेरो श्रीमति खसेपछि म झन् एक्लो भएँ । मेरो गीत कसैले सुन्दैन । बिहान हारमोनियममा रियाज गर्दा नातिनीको निन्द्रा बिग्रन्छ अरे । मसँग कोही बस्दैन छेउमा । मेरो कुरा सुन्ने कसैको फुर्सद छैन । स्कूलमा हुँदा टाइम पास भइ हाल्थ्यो । रिटायर भएपछि मेरो जिन्दगी त नर्क नै भयो ।”
अनमोलले शुरू गर्यो “हो नि अंकल आफ्नो मात्र सजिलो हेरेर हुन्छ र ? बाबालाई सम्झाई दिनोस् न बरु । बुहारीले ठीक समयमा खाना पिना, चिसो तातो हेरेकै छ । लुगा कपडा धोइदिएकै छ । बुहारीले सबै काम गरेकै छ । लु भन्नुस् त बाबा कुनै दिन अमित्ये बचन बोलेको छ र ?”
अनमोलको कुरामा दम थियो ।
फेरि तर्क अघि बढाउछन् बिरेन सर “यसको बुहारीले सबै गर्छिन् नी त ठीकै छ । मलाई फिल्म हेर्नु जानु मन परेको छ बुहारी लिएर जानु ? कतै टाढा जानु मनपर्छ, बुहारी लिएर जानु भएन होला । मलाई धेरै रातीसम्म निन्द्रा लाग्दैन बुहारीसँग गफ गर्नु मिल्छ र ?”
म छक्क परें । फेरि यो अर्को नयाँ कुरा थपियो । यो झन् खतरान लाग्यो । कसको कुरा ठीक हो भनेर मैले निर्णय दिनुपर्ने भयो ।
मलाई त दुबैजना आफ्नो ठाउँमा ठीकै हो जस्तो लाग्यो । म बिरेन सर पट्टी बायस्ड हुनु नै पर्ने देखेँ । “अन्त सरले हेर्नु भाको छ र ?”
“छ र त भनेको” भने बिरेनले । अनमोल तस्र्याे । “लु अब मेरो भन्नु केही छैन अंकल । बाबाको इच्छा त्यस्तो छ भने मेरो भन्नु केही छैन”, भनेर हिँड्यो ।
बुढोले क्या छिट्टो दैलो बन्द गर्यो र “यस मेरो काम भयो भनेर हात मिलायो तर, यतिको लामो हात मिलाई मेरो पहिलो पल्ट हो । मेरो हात थरथर कमाऊँदै हात मिलाकोले घडीको चैन फुस्क्यो र मात्र हात छोडे सरले ।
कमला राईको पनि यो संसारमा कोही छैन । राँगामाटी चिया कमानमा कम्पनीले दिएको सानो घरमा बस्थिन अरे । सानो मै आमा बाऊ बितेको अरे । पछि कालेबुङ्ग मंगल धाममा मन्दिरको सेवामा लागिन् अरे ।
बिरेन सर पनि कालेबुंग घुम्न जाँदा भेट भएछ र गफ गरेछन् । दुई दिन जति गफ सफ भएपछि बिरेन सरले बिहेको प्रस्ताव राखेछन् । घरमा कुरा मिलाएर लिनु आउँछु भनेका थिएछन् ।
जनवरी १ तारिकको दिन थियो । सबै पिकनिक खान जाने तर्खरमा थिए । हामी दुइ भाईको मनमा भने अर्कै खिच्चडी पाकिरहेको थियो । सुटुक्कै हिँड्ने भयौ कालेबुंग । अनमोललाई भने “मैले लु है भाई हामी आमा लिनु गाको है ।” अनमोल खिस्स हाँस्यो ।
चेतक स्कूटर लिएर पुग्यौ पो मंगलधाम । उमेर पचपनको हुनुपर्छ । राम्री नै हो । गोरी हाईटमा बिरेन सरभन्दा धेरै कम्ति । मैले हेर्दा त जोडी राम्रै लाग्यो ।
“नमस्कार भाउजु” भन्देको लाजले रातै भइन् ।
मन्दिरमा हल्का सिन्दुर पोतेको कार्यक्रम पनि सकियो ।
मारुती कार रिजर्व गरे । उनीहरु अघिअघि म स्कूटरमा पछि–पछि ।
मल्लीबाट बिरेन सर र म छुटेको त्यो दिन उनको र मेरो अन्तिम भेट थिएछ । दुई वर्षपछि बिरेन सरको पनि चोला उठेछ । सुने दुःख लाग्यो, कमला एक्लै भइछन् । सोरेंगको घर जमिनको मालिकलाई नै जिम्मा लगाएर परिवार नै गैरिबासँ सरेछन् । मलाई भने अनमोलको उदारतालाई सलाम गर्न मन लाग्यो । उनी साँच्चै अनमोल नै रहेछन् ।
आज जनवरी १ तारिकको दिन बिरेन सरलाई मिस गर्दै छु ।
–प्रदीप सेवा
म लगभग आठ वर्षकी थिएँ होला, जब मेरो जन्म दिने आमाको देहान्त भयो । त्यसको केही सालको अन्तरालमा बाबाले अर्की आमा भित्र्याउनु भयो । भनौ ‘सौतेनी आमा’ ।
म सानै थिए सायद धेरै बुझ्न सक्ने सामथ्र्य थिएन, तर प्रायजसो मानिसले भनेको सुन्ने गर्थे कि, “बिचरी सानै उमेरमा टुहुरी भई, बाबाले पनि अर्की बिहे गरे अब त सारै हेला हुने भो ।” त्यसबेला त्यो सब कुराको ममा कुनै असर नै पर्दैन थियो ।
त्यतिकै मा मेरो उमेर पनि लगभग १२÷१३ वर्ष पुगेछ । मेरो पहिलो मासिक धर्म सुरु भएको थियो ।
त्यसबेला मा त्यो सबकुरादेखि अनविज्ञ थिएँ, मनमा डर र त्रासले सताको, म स्कुलदेखि आउँदा मेरो कपडाबाट बाहिरिएर रगतको थोपाले पिँडुलामा धारा बनाएको, हताश हुँदै घरभित्र छिरेर कपडा बदलिएपछि आमालाई देखाउँदै भने, आमा हेर्नु त के भयो रगत लागेको छ ।
आमाले मलाई हेर्दै नडराउने इशारा गर्नु भयो, तराई पनि मनमा शंका थियो ? के होला भन्ने ।
त्यसपश्चात आमाले मेरो खुट्टाहरु पखाली दिएर, मलाई त्यसबारे सम्झाउँदै जानकारी दिनु भयो, अनि भन्नुभयो,, “जाऊ नानी भित्र गएर आराम गर ।”
“हवस् !” मैले भने ।
अनि केही छिनमा मलाई गरम दूध दिँदै पिउने संकेत गर्नु भयो ।
त्यसपछि भनेको मैले हप्ता दिनसम्म केही काम गर्नु परेन । सबै आमाले नै गर्नुहुन्थ्यो, अनि मलाई आराम गर्नु खेलकुद नगर्नु बेसी भन्दै सम्झाउनु हुन्थ्यो । भनौ, हाम्रो सम्बन्धमा घनिष्ठता थियो । तर पनि कुन्नि किन बाहिरको मान्छेले कुरा भने अनेकौं गर्थे ।
त्यसैबीच आमा पनि दुई जिउको हुनु भएछ । मलाई त पछिमा थाहा लाग्यो अनि मैले पनि सकेसम्म आफ्नु कर्तव्य निभाए । किस्मतले साथ दियो, मेरो अब खेल्ने साथी मेरो सानु भाई थियो, हामी सबैको प्यारो ।
एकदिन म त्यसै बजारतर्फ जाँदै गर्दा बाटामा केही गाउँका महिलाहरु देखेँ, अनि उनीहरूले पनि मलाई देख्न साथ कुरा गर्दै गरेको सुने, कोहीले भन्दै थिए, “अब त यो केटीको कान्छी आमाको पनि छोरा भयो । यसलाई कहाँ हेर्छ होली, आखिर सौतेनी त हो ?”
मनमा त्यो कुराले धेरै नराम्रो लाग्यो तर, पनि नसुने झैं गरी आफ्नै बाटो लागे । अहिले मेरो पनि बिहे भएको छ, नानी छ साथमा । अझै पनि आमाले सोधी रहनुहुन्छ, के खायो, खाएन भन्ने ।
हाम्रो दिनहुँ जसो बात भइरहन्छ । म सोच्नेगर्छु, आखिर किन कुनै एउटा स्त्री जातिलाई सौतेनीको संज्ञाले कलंकित गरेको होला ? किन यो समाजले नारित्वको परिभाषालाई विभाजन गरेको होला ?
जहाँसम्म मलाई लाग्छ, मेरी आमाले कहिले पनि मलाई अवहेलना गरिनन्, पराई ठानिनन्, सधैँ माया, प्रेम, अनि स्नेह दिएर मलाई यत्रो बनाइन् ।
म खुसी छु मैले दुईवटी आमाको प्रेम पाएँ । जन्म दिएर आफ्नु दायित्व पूरा गरेर भाग्यअनुरूप स्वर्गारोहन भइन् भने कर्म दिएर आफ्नु कर्तव्य पालन गरेकी छिन् मेरी यिनी आमाले । तर, पनि खोइ ! यो समाज अनि यो रुढीवादीको चपेटमा एउटी नारी किन बद्नाम छे, सौतेनीको संज्ञा पाएर ।
–शाम्भवी बासिष्ठ
मौनतालाई चिर्दै
जबर्जस्ती बोल्ने बनायौ
अहिले म बोलिरहन खोज्दा ढाड फर्कायौ
पहिले माया प्रेमको झमेलामा पर्दिन भन्दा पनि
माया गर्न सिकायौ
जब मैले गहिरो प्रेम गर्न थालेँ,
तिमी तर्केर पो हिँड्न थाल्यौं ।।
आफ्नो कर्म र धर्मबाहेक केही नसोच्ने म
तिमीबारे सोच्न थालिरहे
तिमीमै समर्पित हुन सिकिरहे
तिमीले माने पनि झिझो र झर्को
मैले सुम्पिरहे तन र मन अन्तर्मनका भावनाहरू
तिमीले बुझ्नौ मेरो भावनाहरू ।।
सधैँ झक्झकाइरहेका तिमीलाई
खोजिरहे तिमीलाई आफैमा
मेरा भावनाहरू नबुझेपनि
तिमीलाई बुझाउन चाहिरहेँ ।।
तर तिमीले नबुझेको नसुनेको जस्तो गरिरह्यौ
नजानेको जस्तो गरिरह्यौ
मैले बुझेर पनि नबुझेको जस्तो गरिरहेँ
पत्याएर पनि नपत्याए जस्तो गरिरहेँ
तिमीले फकाउँछौ कि भनेर
म रिसाए जस्तो गरिरहेँ
तिमीले परिवर्तन गरिरह्यांै बाटो
तिमीले बेग्लै बनाइरह्यौ गन्तव्य
मैले तिमीलाई बुझ्नै सकिन ।।
पर्खँदा पर्खदैँ मेरो समयलाई पनि दिक्क भइरह्यो
मलाई पनि दिक्क हुन दिएन तिम्रो यादले
समयले नै झक्झकायो
अनि बल्ल थाहा पाएँ
तिम्रो सतही मायाको धरातल
कति कमजोर रहेछ भनेर
कुनै दिन तिमीलाई रोज्नु र पाउनुमा
आफूलाई सबैभन्दा भाग्यमानी ठान्ने म
आज पुरै परिवर्तन भएको छु
म आफ्नै गलत निर्णयको
विरुद्ध उभिएको छु
आफ्नो गन्तव्य आफैलाई ठानिरहेको छु
र पनि तिमीलाई सपनाहरूबाट
बिच्छेद गर्न सकेको छैन मैले ।।
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल-चीन साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान,अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले संयुक्तरूपमा आयोजना गरेको "चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल-चीन साहित्यिक अन्तरक्रिया" कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा 'चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्था'का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियो । यस अन्तरक्रिया कार्यक्रमको अध्यक्षता प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले गरेका थिए ।उनले चिनियाँ साहित्यकारहरूलाई खादा लगाएर आतिथ्य सत्कार गरेका थिए ।
कुलपति राईले समापनका क्रममा अन्तरक्रियालाई सम्बोधन गर्दै अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने बताए । चिनियाँ साहित्यलाई नेपाली भाषामा र नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले विश्वव्यापी प्रभावबाट नेपाली साहित्य जस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको देखिएको बताउँदै नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ "विमल निभा"ले आफू चिनियाँ साहित्यबारे परिचित भएको बताए । उनले तत्कालीन चिनियाँ समाजको विकृति र विसंगतिबारे व्यंग्यात्मक ढंगले चीनका महान साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा कविताबाट नेपाली साहित्यको शुरुवात भएयता २५० वर्ष लामो इतिहास रहेको चर्चा गरे । उनले नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको बताए । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको स्वत्वलाई आत्मसात गरेर नवीनतम साहित्य सिर्जना हुने गरेको उनले बताए ।
यसैगरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली "अगिव", हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा.बालाकृष्ण अधिकारीले उक्त अन्तरक्रियामा आ-आफ्नो धारणा राखेका थिए ।
यस कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह अरनिको समाजका प्रथम उपाध्यक्ष डा.सर्वोत्तम श्रेष्ठले गरेका थिए । यस क्रममा उनले अनुवाद कार्य आफैंमा गाह्रो काम भएको बताउँदै कुनै पनि भाषाको अनुवादलाई कुशलतापूर्वक गर्न सक्नुपर्ने र त्यसले मात्रै सम्बन्धित भाषासँग जोडिएको देश,साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताए । उनले चिनियाँ र नेपाली भाषालाई एकआपसमा अनुवाद गरेर कार्यक्रमलाई फलदायी बनाएका थिए ।
यसै क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले कार्यक्रमलाई सम्बोधन गर्दै हिमालय चाइना फोरमको कार्यक्रममा भाग लिन आइपुगेको र यसैक्रममा चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकन सँगसँगै नेपाली भाषा, साहित्य र संस्कृतिका बारेमा बुझ्ने अवसर प्राप्त भएकोमा आफूलाई गौरवको अनुभूति भएको बताए । उनले कतिपय साहित्यकारहरू साहित्य सिर्जनाको माध्यमबाट चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको संकेत गरे । उनले चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकआपसमा तत्पर रहनुपर्ने बताए ।
उनले नेपाल र चीन जोड्ने सिल्करोड अर्थात रेसमी मार्ग अंकित मायाको चिनो कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो "रेसमी साहित्यिक यात्रा" पहिलोपटक नेपालबाट शुरु भएको बताए ।
यसैगरी उक्त प्रतिनिधिमण्डलमा सहभागी चीन अल्पसंख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक संघका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक संघका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए । यसैगरी अरू सहभागी चिनियाँ साहित्यकारले आ-आफ्नो लेखन अनुभव सुनाउँदै विभिन्न कलाकारका पेन्टिङ र आ-आफ्ना कृतिहरू प्रज्ञा प्रतिष्ठानलाई उपहारस्वरूप प्रदान गरेका थिए ।
–टेकेन्द्र देउवा
सुदूरपश्चिमको धनगढीबाट २०५६ सालमा पत्रकारिता शुरू गरेका दीर्घराज उपाध्यायका शुरूवाती दिन सहज थिएनन् । तिनै उपाध्यायले दुई दशक लामो अविचलित संघर्षले मोफसलबाट पत्रकारितामा अलग पहिचान बनाएका छन् ।
खाँचा भरेर अखबार छाप्ने गिद्दे प्रेसबाट शुरू भएको पत्रकारिता यो दुई दशकमा डिजिटल युगमा प्रवेश गरेको देख्दा उनलाई शुरूवाती दिनहरू सपना जस्तै लाग्छन्, अचेल । कहाँ त्यो यासिका क्यामेराको युग । कहाँ यो डिजिटल युग ?
सेती समाचारबाट पत्रकारिता शुरू गरेका उनले एक वर्षपछि नयाँ सडक दैनिकको संवाददाताका रूपमा काम गरे । २०५८ जेठ १९ गते राजधानी दैनिकमा जोडिएका उनले एक दशक बढी समय सुदूरपश्चिम ब्यूरोका रूपमा काम गरे । उनी राजनीति, अर्थ, पर्यटन, खेलकुद, शिक्षा, समाज सबै विषयमा कलम चलाउँथे ।
पानामा लेखेर काठमाडौं फ्याक्स गर्थे । प्रति पानाको फ्याक्स शुल्क २५ रूपैयाँ थियो । यासिका क्यामेरा, कोडाकको रिल, साइकलको यात्रा, एउटा फोटो पठाउन कहिल्यै काहीँ पूरै रिल बिग्रिन्थ्यो । आम्दानीभन्दा खर्च बढी । ६० को दशकमा धनगढीमा इन्टरनेट सेवा शुरू भयो । मेल गरेको प्रति मिनेटको १५ देखि २० रूपैयाँ शुल्क लाग्थ्यो । डिजिटल क्यामेरा र कम्प्युटर र ल्यापटप भित्रिसकेको थियो । सँगै अफसेट प्रेस भित्रियो । पत्रकारिताले गिद्दे प्रेसबाट अफसेटमा फड्को मार्यो ।
उता माओवादीले २०५२ सालमा शुरू गरेको सशस्त्र विद्रोह चरमोत्कर्षमा थियो । गाउँबाट सल्किएको माओवादी विद्रोह शहरभित्र पनि फैलिसकेको थियो । धनगढीमा दिउँसै गोली चल्थ्यो । माओवादीले छापामार शैलीमा प्रहरी र राजनीतिकर्मीलाई निशाना बनाउँथे ।
लठ्ठीबाट विद्रोह शुरू गरेका माओवादीका हातमा भरुवा बन्दुक हुँदै एम १६ आइसकेको थियो । त्योसँगै माओवादीले थुप्रै जिल्लाका सदरमुकाम, सेना, सशस्त्र प्रहरी र प्रहरीका गण तथा चौकीहरू कब्जा गरी ठूलो मात्रामा हतियार कब्जा गरेका थिए । पत्रकारहरू माओवादी विद्रोही र सरकारको दोहोरो चेपुवामा थिए । ‘सेल्फ सेन्सरसीप’ थियो । तर, उनले माओवादी र राज्य पक्षका ज्यादती लेख्न छोडेनन् । माओवादी र सुरक्षा फौजबीच भिडन्तको नजिकबाट रिपोर्टिङ्ग गरेका उनले दुवै पक्षको क्षति आँखै अगाडि देखेका छन् । उनी रिपोर्टिङ्गका लागि रोल्पादेखि बाजुरासम्म पुगे । उनी माओवादी सशस्त्र संघर्ष र द्वन्द्व पत्रकारिताका एक साक्षी हुन् ।
सिंहदरबार र काठमाडौं खाल्डोलाई सबैथोक मान्ने र त्यही सेरोफेरोलाई मात्र महत्व दिने समय र सोचमा उपाध्याय अपवाद थिए । उनले जहिल्यै सिमान्तकृत र भूँई मान्छेका कुरा उठाए । उनी रेडियो बहस कार्यक्रम लिएर कैलालीको पण्डौन, सुगरखाल, पवेराको हौसलपुर र मोहन्याल पुगे । जनताका मुद्दा र माग सम्बोधनका लागि निरन्तर राज्यलाई दबाब दिइरहे ।
धनगढीबाट इमेज टेलिभिजन, कम्युनिकेशन कर्नर, हिमाल खबर पत्रिका, नेपाली टाइम्स र नेपाल म्यागिजनका लागि काम गरेका उनले सञ्चारिका समूहको क्षेत्रीय सम्पादकका रूपमा समेत जिम्मेवारी निर्वाह गरे । रिपोर्टरबाट शुरू भएको उनको पत्रकारिताको क्यारियर, संघर्ष र सफलता पत्रकारिता गर्न चाहनेहरूका लागि प्रेरणादायी कथा हो ।
२०६६ सालदेखि सुदूरपश्चिमको अग्रणी सञ्चार गृह पश्चिम टुडे मिडिया हाउस सञ्चालन गर्दै आएका उपाध्यायकै नेतृत्वमा ब्रोडसिट दैनिक, १००० वाट क्षमताको एफएम रेडियो र पश्चिम टुडे डटकम अनलाइन न्यूज पोर्टल सञ्चालनमा छन् । जसको उनी अध्यक्ष तथा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
उनी सन् २०१३ देखि २०२३ सम्म संसारका विभिन्न देशमा रिपोर्टिङ र कार्यक्रमका सिलसिलामा पुगे । बंगलादेश र चीन गए । त्यहाँको स्टोरीहरू गरे । चारैतिर द्वन्द्व हँुदा पनि जोर्डन कसरी जोगिएको छ, त्यस सम्बन्धमा लेखे । अनमीन मिसनमा द्वन्द्वग्रस्त मुलुक सुडान पुगे । शान्ति सेनाले शान्ति स्थापनार्थ खेलेको भूमिका, जातीय द्वन्द्वले छियाछिया भएको सुडानको बारेमा लेखे । इथोपियाले विकासमा मारेको फड्को लेखे । पहिलो आम निर्वाचनका क्रममा उनी सन् २०१६ मा म्यानमार पुगे । निर्वाचनको परिणामपछि सुकीका चुनौती र त्यहाँका नेपालीहरूको समग्र अवस्थाका बारेमा लेखे ।
२० भन्दा बढी मुलुकको भ्रमण गरिसकेका उनले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पनि पाएका छन् । उनले सन् २०२२ मा अमेरिकी सरकारको विदेश मन्त्रालयले निमन्त्रणमा तीन हप्ता लामो आईभिएलपी कार्यक्रममा सहभागी हुने अवसर पाए ।
पत्रकारको सुरक्षाका लागि अविचलित संघर्ष
१७ हजार जनाले ज्यान गुमाएको १० वर्षे सशस्त्र द्वन्द्वमा माओवादी र सरकार पक्षबाट थुप्रै पत्रकारहरू मारिए । विस्थापित भए । उनले द्वन्द्वको रिपोर्टिङ मात्र गरेनन्, नेपाल पत्रकार महासंघको नेतृत्वमा रहँदा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टीका लागि दुवै पक्षलाई दबाब दिए । २०६५ जेठ १३ गते माओवादी अपहरणबाट मुक्त गरी उर्माबाट ल्याएका पत्रकार लक्की चौधरीलाई दुई दिनपछि जिल्ला प्रशासन कार्यालयमा माओवादी आक्रमणबाट पुनः जोगाए । सोही समय भएको झडपमा प्रहरीले गोली चलाउँदा तीन जना प्रदशर्नकारीको घटनास्थलमै मृत्यु भयो । उपाध्यायको कुशल नेतृत्वका कारण सबै पत्रकारहरू जोगिए । त्यसपछि तीन दिनसम्म लागेको कफ्र्युकै बीच उनले चौधरीलाई काठमाडौं पुर्याए । बन्द पत्रिकाहरू उपाध्यायकै पहलमा पुनः सञ्चालनमा आए । र, पत्रकारहरू काममा फर्किए ।
नेपाली सेनाले नियन्त्रणमा लिएका पत्रकार नगेन्द्र उपाध्यायलाई उनले हिरासतबाट मुक्त गरे । टीकापुरमा तत्कालिन रेडियोकर्मी (हाल नागरिक उन्मुक्ति पार्टीका प्रमुख) रेशम चौधरीमाथि दुव्र्यवहार गर्नेलाई माफी मगाए । कानुनी दायरामा ल्याएका पत्रकार कर्ण कुँवरमाथि आक्रमण गर्ने माओवादी कार्यकर्ताहरूलाई लिखित माफी मगाई छाडे ।
कैलालीको अत्तरीयाबाट वेपत्ता पारिएका जनदिशा दैनिकमा कार्यरत पत्रकार जगतप्रसाद (जेपी) जोशीका परिवारलाई न्याय दिलाउन उनले निकै संघर्ष गरे । उपाध्यायकै अगुवाइमा थालिएको आन्दोलनका कारण जोशीको परिवारलाई राज्यले १० लाख रूपैयाँ क्षतिपूर्ति दियो । र, घटनामा संलग्न व्यक्तिहरू पक्राउ परे ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारहरूको हकहीत, अधिकार र सुरक्षाका लागि निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नेपाल पत्रकार महासंघका ७५ जिल्ला र एशोसियट गरी एक सयभन्दा शाखा अध्यक्षमध्ये उपाध्यायलाई महासंघको ५४औं स्थापना दिवसका अवसरमा २९ मार्च २००९ मा काठमाडौंमा आयोजित समारोहमा प्रमुख अतिथि सभामुख सुवास नेम्वाङको हातबाट उत्कृष्ट शाखा अध्यक्षको अवार्ड प्रदान गरेको थियो ।
सन् २०१८ देखि ०२२ सम्म सामुदायिक रेडियो प्रसारक संघको प्रदेश अध्यक्ष समेत रहेर काम गरेका उनले आफ्नो कार्यकालमा रेडियो र रेडियोकर्मीहरूको समेत हकहीत, अधिकार र सुरक्षाका लागि बहस, पैरवी र संघर्ष गरेका थिए ।
समाजसेवामा पनि सधैँ अगाडि
सामाजिक क्षेत्रमा सक्रिय उपाध्यायकै अगुवाईमा सन् २०१३ मा धनगढीमा रोटरी क्लबको स्थापना भएको हो । उपाध्यायको संयोजनमा धनगढीबाट एक करोड रूपैयाँभन्दा बढीको राहत सामग्री २०७० सालको महाभुकम्पबाट प्रभावित जिल्लाहरूमा वितरण गरिएको थियो । चिकित्सकको टोलीले गोरखा पुगेर घाइतेहरूको उपचार गरेको थियो ।
करिब दुई करोड रूपैयाँको लागतमा कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा उनकै अगुवाईमा निर्माण भएको खानेपानी आयोजनाबाट एक हजार बढी घरधुरीले शुद्ध खानेपानी पिउन पाएका छन् ।
कोभिड–१९ को महामारीमा उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसनले भारतबाट आएका ३० हजारभन्दा बढी नेपालीलाई निःशुल्क खाना र पानी वितरण गरेको थियो । पहिलो चरणमा पीसीआर परीक्षण नभएर मृत्यु भएका मान्छेहरूको जव लाश उठ्न सकेन । उनकै अगुवाईमा ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाका तर्फबाट विश्वव्यापीरूपमा थालिएको आर्थिक संकलन अभियानबाट एक करोड रूपैयाँभन्दा बढी संकलन गरी डडेल्धुरामा पीसीआर मेसिनको स्थापना भयो । र, सुदूरपश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको पीसीआर परिक्षण सहज भयो ।
अक्सिजनको अभावमा कोभिडको दोस्रो चरणमा मान्छेहरूको धमाधम मृत्यु हुन थालेपछि उनको टीमले अक्सिजन बैंकको स्थापना गर्यो । र, सरकारी अस्पतालहरूसँगै सर्वसाधारणहरूलाई निःशुल्क अक्सिजन वितरण गरे ।
कोभिडमा आममान्छे मृत्युको भयले घर बाहिर निस्किएनन् । उनी कोभिडको पहिलो र दोस्रो लहरमा कैयौं रात सुतेनन् । उनी संक्रमितहरूको जीवन रक्षाका लागि अक्सिजनको जोहो गरिरहेका हुन्थे । उनको संस्थाले त्यो अबधिमा बेड नभएका अस्पतालमा बेड उपलब्ध गराए । चिकित्सकहरूलाई पीपीई सेट र मास्क उपलब्ध गराए । आम सर्वसाधारणहरूलाई मास्क र सेनिटाइजर बाँडे ।
पत्रकार कर्ण बोहराकी मृगौला पीडित पत्नीको उपचारका लागि उनकै अगुवाइमा थालिएको आर्थिक संकलन अभियानमा १२ लाख रूपैयाँ संकलन भएको थियो । जुन रकम उनले बोहराकी पत्नीलाई हस्तान्तरण गरेका थिए ।
उनले उपचारमा सहयोग गरेर थुप्रै विपन्न व्यक्तिहरूको जीवन जोगाएका छन् । अन्यायमा परेकाहरूलाई न्याय दिलाउन पहल गरेका छन् । र त, उनी न्याय नपाएकाहरूसँगै उपचारबाट बञ्चितहरूको आशाको केन्द्र भएका छन्, उनी । भन्छन्, “आफू मात्र बाँच्नु के बाँच्नु ? अरुलाई बचाए पो जीवन सार्थक हुन्छ ।”
–प्रेम न्यौपाने ‘प्रहर’
पारी घरे काइँला मरणासन्न अवस्थामा अस्पतालको पलङ्गमा लम्पसार रहेछ । बिहान घाँस काट्न गएको मान्छे कताबाट लडेर ढाड भाँचेछ, खुट्टा भाँचेछ, टाउको फुुटाएछ ? घरमा पुग्न अबेर भएपछि खोजी गर्दा जङ्गलमा बेहोश भेटिएको रहेछ ।
अबेर राती खबर सुनेँ । बिहानै हेर्न जाने विचार श्रीमतीलाई सुनाएँ । उनले बिहानै चौंसुर र अरु के–के ताजा र तगड़ा खानेकुरा बनाएर पोको पारिदिइन् । म बोकेर हिड़ेँ ।
जिम्बलबाको आँगन निस्केर जाने बाटो हुनाले जिम्बलबाले प्रश्न तेस्र्याई हाले, “कता हिँड्यौ हौ साइँला भाई ?”
“नमस्कार जिम्बल बा । पारी काइँला अस्पताल परेछ नी त, यसो के कसो हो हेर्न हिँडेको”, मेरो सोझो उत्तर ।
“ए काँइलो हेर्न गाको हो । अब त्यसको काल आएको होला । बाँच्दैन होला । भीर भीर किन मुन्ट्या हो, बिहान बिहानै । त्यो घाँस निहुँ मात्र भो त्यसलाई ।”
“तपाईं जानुभो हेर्न ?” मैले जिज्ञासा राखें ।
“गइनँ । अब कोही लडेर मर्छन्, कोही के भएर मर्छन्, कहाँ सबै दुनियाँ हेर्न भ्याइन्छ र । मरिहाल्यो भने बरू मलामी जानुपर्ला ।” जिम्बल बाभित्र पसे । जिम्बल बाका कुराले चित्त बुझेन मेरो । “होस्, म त जानुपर्छ बिचरा सोझो मान्छे” भन्ने सोचेर म अगाडि बढेँ ।
एकघण्टा जतिको यात्रा पछि अस्पताल पुगेँ । सानी छोरी छेउमा रहिछ ।
“नानी के भयो यस्तो बालाई । कस्तो छ अहिले ? डाक्टरले के भन्दैछन् ?”
सानो रुमालले आशुँ र सिँगान पुछ्दै “खोई केही भन्या छैनन् डाक्टरले । दाजु दवाई लिन गाको छ । दाजुलाई थाह छ डाक्टरको रिपोर्ट” भनी ।
म छेउमा गएँ । काइँला निदाएको रहेछ । शिरमा पट्टी बाँधेको थियो । हलुका कम्बल उठाएँ, खुट्टामा पनि पट्टी बाँधेको रहेछ । “केही हुँदैन नानी । कैले काँही आपद आईपर्छ । अत्तालिनु हुँदैन, सबै ठिक भैहाल्छ” भन्दै शान्तवना दिएँ ।
रुपेश एउटा थैलीमा केही दवाई र एक कप चिया लिएर आइपुग्यो । “सरु ला, चिया खा” भन्दै सानीलाई चिया दियो र बाउको लुगाहरू मिलाए जस्तो गर्यो । “रुपेश ! डाक्टरले केही भने ? एक्सरे भयो ?” मैले सोधें ।
“एक्सरे भयो बडा । कुहिनाको हड्डी चाँही फुटेको छ अरे । टाउकोमा अलिलि चोट छ, खुट्टा मर्केको मात्र छ अरे । नअत्तालिनु भनेको छ । दवाई पुर्याउन सके हप्तादिनसम्म राख्छ अरे”, रुपेशले उसले जानेजति भन्यो ।
काइँला थोरै चल्मलायो । आँखा खोलेछ । “आइ या..या..या..या...” भन्दै यता उता गर्न थाल्यो । मैले झोला दिँदै सानीलाई “यो बाबुलाई ख्वाइदेउ त । विचरा भोक लाग्यो होला ।” भनें ।
दुधमा हालेर पकाएको चौंसुर, मेथी, ज्वानो काइँलाले सबै खायो । अर्को टिफिनमा भुटेको साग र भात थियो, दाजु बहिनीले बाँडेर खाए ।
“दवाई किन्ने पैसा छ के बोकेको ?” सोधेँ ।
“छ बडा दुई हजार जति ।” मैले थप पाँच हजार हातमा राखिदिएँ, “यो राख पुग अपुग काम लाग्छ । म अहिले निस्केँ । बेलुका फेरि म खाना लिएर आउँला । दिउँसो पालो गर्दै खाजा खानु दुई जनाले ।” भन्दै म निस्केँ ।
जिम्बल बाले अब के भन्ने हुन् भन्ने सोच्दै उनको आँगनमा पुगेँ । धन्न छैन रहेछन्, ढुक्क लाग्यो ।
आफ्नो घरको तानतुन काम सकेँ हतार–हतार । श्रीमतीले बेलुकाको लागि बिरामीले खाने लायकको खाना तयार पारिन् । म बोकेर हिँडे । धन्न जिम्बल बा आइपुग्या थिएनन् क्यार, म सरासर अस्पताल पुगेँ ।
दाजुबहिनी बसिरहेका थिए । छेउमा भएको सानो टेबलमा बिस्कुट, ब्रेड, कर्नफ्लेक्स इत्यादि अटी नअटी थियो । बिरामी हेर्न आउने शुभचिन्तकहरूको सोचाई र बुझाई देखेर आफैलाई भित्रबाट कुतकुती लागेर आयो । हातको झोला दिँदै “लौ, पहिला बाबुलाई खुवाउ, अनि रुपेश खानु । सरु घरै जाने होला । घरै गएर खानु ल”, भनेँ ।
सरिताले बाबुलाई खाना खुवाउन थाली, यता रुपेशले पनि खायो ।
“डाक्टर आए रुपेश आज ?” सोधेँ ।
“शायद भोली छुट्टी दिन्छ होला ।”
मलाई ढुक्क लाग्यो । अस्पतालको तौर तरिका र रातभरको व्यवस्था रुपेशलाई सिकाएर सरू र म निस्कियौं । गाउँको चिनेको एउटा गाडीलाई आउँदै भनीराखेको थिएँ । बिचरा पर्खीराखेको रहेछ । दुवै चढ्यौं ।
रेसी पारी नै सरू र म छुट्टियौं । भारा दिन खोज्दैथी, “पर्दैन म दिन्छु” भनें । उ गई ।
घरमा श्रीमतीलाई हालत सुनाएँ अस्पतालको । उनले पनि लामो सास फेरिन् । “जिम्बल बाले भोलि पार्टी मिटिङमा आउनु भन्दैथे माथि स्कूलमा । खै के गर्नु गर्नु ।” गाउँको खबर उनले मलाई सुनाइन् ।
“काइँलालाई भोलि नै छुट्टी दिने रहेछ । म त त्यतै जान्छु । बरु वस्तुलाई पराल लाएर तिमी जाउ न त । के भन्छन् मिटिङमा बुझेर आउ ।” सल्लाह मिल्यो बुढा बुढीको । म गाई गोठ धन्दा सकेर अस्पताल पुगेँ । सरिता अघि पुगेकी रहिछ । अस्पतालको सबै प्रक्रिया पूूरा गरेर काइँलालाई घर ल्याइयो । बिचरी काइँलीको बेहाल भैराथ्यो, अलिक ढुक्क भो । पलङ्गमा काइँलालाई सुताई राखेर म निस्केँ । यसबेला जिम्बल बा आँगन मै रहेछन् । काइँलाको खबर सोधे । मैले पनि यथार्थ सुनाएँ छोटकरीमा ।
“ए बाँचेछ त । म त बाँच्छ जस्तो लाग्या थिएन, बजियाको ज्यान दह्रै रहेछ” भन्दैथिए जिम्बल बा । मलाई असह्य भैरहेथ्यो त्यो कुराले । तर पनि चुपचाप घरतिर लागेँ उनकै आँगन कुल्चँदै । घरमा पुग्न साथ श्रीमतीले भन्न थालिन्, “जिम्बल बाले टिकट पाएछन्, भोलिदेखि प्रचार प्रसारमा घरदैलो अभियान शुरु गर्ने रे !”
कोही धनले गरिब, कोही मनले गरिब, दैवको खेलै अनौठो, सबैको आफ्नो–आफ्नै नसिब ।
–यमप्रसाद अधिकारी
गाउँमा त केही छैन भन्दै
हुलका हुल मानिसहरू शहर झरे
गाउँहरू सुनसान बन्न पुगे
त्यही हुलमा हामी पनि मिसियौं
सहर पस्यौं तराई झर्यौं
हामीले गरे जस्तै अहिले पनि
यो क्रम निरन्तरनै चलिरहेको छ
सहर भनेपछि मानिस
कति खुसी हुन्थ्यौं
सहरका सुख, सहरका सपना
मनैभरी सजाउथ्यो
सहरको सुगन्ध त्यसै मगमगाउथ्यो
तर फेरि आजकाल समय फेरिएको छ
गाउँमा केही छैन भन्दै शहर पसेकाहरू
सहरमा पनि केही भेटिएन
भन्दै हिँडेका छन्
पहाडमा दुःखै दुःख भो भन्नेहरू
तराईमा पनि सुख भटिएन
भन्न थालेका छन्
शहरमा राम्रै जीवन जीउनेहरू पनि
अब यो सहरको केही काम छैन
भन्न थालेका छन्
सबैको एउटै सोंच देखिन्छ विदेश ?
विदेश ? विदेश ?
नसक्नेहरूको त कुरै नगरौं
सक्नेहरूलाई झन् बढी हतार छ
देशका गाउँ, सहरभन्दा त विदेश नै
अपरम्पार छ
खै यो सोचको फरक हो कि
समयको फरक हो
आमाको माया, माटोको
माया र देशको माया त एउटै हुन्छ भन्थे
खै यसको पनि परिभाषा
अनि अर्थ फेरिएको पो हो कि ?
यसैलाई अंगालेर केही गर्छु
भन्नेहरू हतोस्साहित हुने ।
भएभरको सबैलाई त्यागेर लाग्नेहरू
प्रोत्साहित हुने
जीवनपनि रोटेपिड जस्तै हो भन्थे
गाउँ काम छैन
सहर काम छैन भन्दै उडेकाहरू
कुनै दिन फेरि घुमेर
विदेश पनि काम छैन भन्दै
फर्किएर आउलान् त ?
यो मेरो झिनो आशा
के त्यो दिन कहिले आउला ?
साँच्चै आउला नआउला ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies