–जनक बराल
घटना १
मेरो एक जना आफन्तको घर स्याङ्जा जिल्लाको अलिक बिकट गाउँमा छ, कहिले काहीँ भेटघाट गर्न म उहाँहरूको घरमा जाने गर्दछु । नेपालमा संकटकाल लागेको समय आसपास तिरको घटना हो यो । म पुष महिनाको समयमा उहाँहरूको घरमा पुगेको थिएँ । त्यो बेला मोबाइल, टेलिफोन केही पनि थिएन । यसको मतलब घरमा जो कोही पाहुना आउँदा ‘सरप्राइज’ नै हुन्थ्यो ।
म त्यहाँ पुगे । हात गोडा धोएर चिया पिउँदै थिए । एक जना अपरिचित व्यक्ति निकै हतार मा हस्याङफस्याङ गर्दै दौडिँदै आएर मेरो अगाडि उभियो । म बाहिर आँगनमा एक्लै थिएँ । मलाई अलिक असहज लाग्यो, उसले मतर्फ हात तेर्साएर केही माग्यो । उ को हो र म सँग के माग्दै छ मैले बुझ्न सकिन ।
एकछिन पछि घरभेटी बाहिर निस्कनु भयो, उसलाई देखेर गाली गर्नु भयो र भन्नु भयो, “यसलाई कोही पाहुना, नयाँ मान्छे देख्नै हुँदैन, दुःख दिइहाल्छ, पैसा मागिहाल्छ ।” पछि थाहा भयो त्यो त त्यही गाउँको छिमेकी रहेछ, उ जन्मजात बोल्न नसक्ने अपाङ्गता भएको व्यक्ति रहेछ । जब गाउँमा कोही पाहुना वा नयाँ कपडा लगाएका मान्छे आउँदछन् उ उनीहरूसँग पैसा माग्दो रहेछ । यदि पैसा दिएनन् भने गाली गर्दो रहेछ अनि टाढा गएर ढुंगाले हान्दो रहेछ ।
मैले उसलाई दुुई रूपैयाँको नोट दिएँ । उ खुशी भयो । मलाई नमस्कार गर्यो, एक फन्को नाच्यो अनि कुलेलाम ठोक्यो । त्यो घरका भाईले मलाई फेरि भने, “यसलाई पैसा नदिनु होला । यो पल्किन्छ र सधैँभरी दुःख दिन्छ । उसले अरूसँग पैसा मागेर चुरोट किन्दो रहेछ ।”
म अर्को साल पनि ती आफन्तको घरमा गएँ । त्यो व्यक्ति मलाई देखेर फेरि दौडिदैँ आयो । मैले यसपाली उसलाई पाँच रूपैयाँको नोट हातमा थमाइदिएँ अनि उसलाई शीरबाट पाउसम्म नियाले । करिब ४० वर्ष आसपासको एउटा अर्धबैंशे पुरूष, फाटेको टोपी, जिंग्रिङ्ग दारी, ताछिएका गाला, खिया लागेका दाँत, मैला कपडा, टालेको कट्टु अनि फाटेका जुत्ता, हेर्दै तीन महिनादेखि ननुहाएको जस्तो लाग्ने एउटा टिठ लाग्दो मान्छे ।
उ खासमा को हो, मलाई जान्न मनमा कौतुहलता जाग्यो अनि खोजी सुरू गरेँ । उ करिब ४० वर्ष अगाडी त्यही गाउँमा जन्मिएको व्यक्ति रहेछ । उ जन्मजात बोल्न नसक्ने रहेछ । उसका बा–आमा उ सानै हुँदा बितेका रहेछन् । एक जना दयालु छिमेकीले उसलाई पालन पोषण गरेर हुर्काएछन् । उ पढ्नलाई स्कुल पनि गएको रहेनछ न त उसको आजसम्म बिहे भएको रहेछ ।
गाउँमा उ सबैको तिरस्कार र हाँसोको पात्र रहेछ । ठूला मान्छेका कुरा छाडौँ, बच्चाहरू समेत उसलाई कमजोरी केलाएर बोलाउँदा रहेछन्, थुक्दा रहेछन्, हेप्दा रहेछन्, गाली गर्दा रहेछन् । मानौं उ एउटा सर्कसको फगत जोकर थियो ।
केही वर्ष पछाडि म फेरि त्यो गाउँ गएँ तर, परिस्थिति बिल्कुल फरक भैसकेको थियो । उ आजकल अलिक अराजक भएछ, नयाँ मान्छे देखे झम्टिन गैहाल्ने, ढुंगा टिपेर हान्ने गर्न थालेको रहेछ । यो पाली उसले झन्डै मलाई नै ढुंगा हानेन । सायद मलाई बिर्सिसकेछ कि ?
उसको त्यो हविगत देख्दा म झन दुःखी भएँ । अनि आफूलाई उसको ठाउँमा राखेर सोच्न थाले । उ जन्मिदै आवाज बिहीन, बाबु–आमा बेलैमा स्वर्गबास भए, उसको लालन पालन राम्रो भएन, उसले शिक्षा दिक्षा पाएन, उसलाई कसैले माया गरेनन्, न जीवनमा कुनै दिन राम्रो खायो, न कुनै दिन राम्रो लगायो, न कतै घुम्न गयो, न बिहे नै भयो ।
जता गयो उ घृणाको पात्र मात्र बन्यो, जता गयो छिछि र दुरदुरको पात्र बन्यो । बच्चाका लागि मनोरन्जनको पात्र त ठूलाका लागि रिस पोख्ने भाँडो बन्यो । कुनै दिन कसैले उससँग एक बचन मिठो बोलेन, न त कसैले सन्चो बिसन्चो सोध्यो, न त कसैले उ के चाहन्छ जान्न चाह्यो । न माया गर्ने बाबु–आमा छन् न त माया साट्ने जीवन संगिनी छ ।
उसका पनि मनमा भाव होलान्, उसका पनि रहर र चाहना होलान्, उ पनि कसैको माया र साथ चाहँदो हो । न उ कसैलाई आफ्ना कुरा भन्न सक्छ, न उसका कुरा सुनिदिन चाहने यो सिंगो संसारमा कोही छ ।
कहिले काँही सोच्ने गर्छु कास, भगवानले उसलाई एक घण्टाको लागि बोल्न सक्ने क्षमता दिने हो भने उसले चालिसौं वर्षदेखि मनमा दबाएर राखेका भावना कसरी छताछुल्ल पोख्थ्यो होला ? उसका मनका रहेका व्यथा कसरी शब्दमा व्यक्त गथ्र्यो होला ? दुनियाँले उसलाई गरेका अपमान, तिरस्कार र घृणालाई शब्दमा कसरी पस्किन्थ्यो होला ? आफ्नो जिन्दगी सम्झेर कसरी चिच्यायर रून्थ्यो होला ? दुनियाँप्रतिको उसको गुनासो कसरी भन्थ्यो होला ?
यदि भगवानले उसलाई एकदिनलाई मात्र लेख्न सक्ने बनाइदिने भए आँसुले कसरी लेख्थ्यो होला उसको जीवन कथा ? शब्दमा कसरी कोर्थो होला उसले भोगेको जिन्दगीका ति अकल्पनीय र पीडादायी पलहरू ? कसरी आक्रोश पोख्थ्यो होला उसलाई मान्छे भएर पनि मानिस भएर बाँच्न नदिने समाजप्रति ?
तर, अफसोच न उ बोल्न सक्छ, न उ लेख्न सक्छ । न उसलाई सुनिदिने कोही छ, न उसलाई बुझ्न चाहने कोही छ । उसलाई माया गर्ने, उसको पीडा बुझ्ने अनि मुसुक्क हाँसेर, उसँग हात मिलाएर उसलाई दुुई रूपैयाँको नोट दिने यो संसारमै सायद म एक्लो पात्र हुँ । अझै पनि उ म कतै आइहाल्छु कि भनेर मेरो बाटो कुर्दो हो । सोंच्दो हो कोही त छ जो मलाई हेरेर मुस्कुराउँछ, कोही त छ जो मसँग हात मिलाउछुु अनि सोच्दो हो उ फेरि आउनेछ अनि मलाई पैसा दिनेछ । थाहा छैन साँच्चै भगवान हुन्छन् कि हुँदैनन् । मेरो विचारमा साँचो भगवान त्यो हो जसले अरूलाई निःस्वार्थ सहयोग गर्दछ, यदि उसको नजरमा कोही भगवान छ भने उसको नजरमा भगवान को होला ?
घटना २
तिहारको लगत्तै हामी साथीभाई मिलेर एकदिन होमस्टेमा बस्न जाने निर्णय गर्यौं । कोही कता, कोही कता भएकोले शुक्रबार बेलुकी सबै आ–आफ्ना साधनमा जाने र त्यही गाउँमा भेट हुने सल्लाहबमोजिम म र एक जना साथी जिप चढेर त्यता लाग्यौँ ।
जिपबाट ओर्लेर करिब आधा घण्टा उकालो बाटो हिँडेपछि त्यो ठाउँमा पुगिँदो रहेछ । हामी उकालो लाग्यौं । सानो खोलामा काठको साघुुँ तरेर हामी अगाडी बढ्यौं । खोलाको किनारमा बयरका रूख थिए । त्यहाँ केही केटाकेटी बयरको झाङ्गभित्र छिरेर बयर टिप्दै थिए । हामी उकालो लाग्यौँ । एकछिन पछि एकजना सानो छ सात वर्ष जतिको बच्चा हाम्रो पछि आउँदै थियो । उकालो बाटो, नयाँ ठाउँ, मैले त्यो बच्चासँग गफिदै उकाली चढ्ने सोंच बनाए ।
त्यो बच्चाले हामीलाई भेट्टायो । मैले उसको बारेमा केही कुरा सोंधे । उसको नाम कमल रहेछ । उसको घर पनि हामी जान लागेतर्फ डाँडाको टुप्पामा रहेछ । उ त्यहाँबाट पारी पाखामा देखिने विद्यालयमा कक्षा दुईमा पढ्दो रहेछ । उसको रोल नम्बर पाँच रहेछ ।
उसलाई पढ्न धेरै मन लाग्ने तर, कपी किताबको अभावले पढाई राम्रो हुन नसकेको रहेछ । कक्षामा सबैका राम्रा झोला, ड्रेस भएका तर, आफूसँग नभएकोले पढाईमा पछि परेको, आफूसँग सिसाकलम र इरेजर पनि नभएको अनि साथीभाईले बबल गम खाँदा उसलाई नदिएको र आफूलाई पनि बबल गम खान इच्छा लाग्ने कुरा उ बताउँदै थियो ।
उसका निर्दोष कुरा सुन्दा मलाई अचम्म लाग्यो र उसका परिवार अनि बाबु–आमाबारे पनि सोधेँ । उसको घर डाँडाको टुप्पामा रहेछ । घर स्याउलाले बारेको छ अरे । उसका बाबु साहुको घरमा हलो जोत्न जाँदा रहेछन्, आमा मेला पात गर्दी रहेछिन् । बाबु हरेक दिन रक्सी पिएर घर आउँदा रहेछन् र आमालाई कुट्दा रहेछन् । उ बाबुसँग डराउँदो रहेछ ।
केही दिन अगाडि उसको कपी सकिएछ र गृहकार्य गर्न नपाएपछि सरले उसलाई कक्षामा कुखुरो बनाएछन् । उसले घरमा गएर बाबुलाई कपी कलम किनिदिन भनेछ । उसका बाबुले उसलाई आफूसँग कपी, कलम किन्न पैसा नभएको र अबदेखि स्कुल पढ्न जान पर्दैन भनेछन् । स्कुल गए खुुट्टा भाचिदिन्छु पनि भनेछन् । एक÷दुई दिन त स्कुल पनि गएनछ, पछि आमाले एउटा कपी र सिसाकलम ल्याइदिए पछि उ फेरि स्कुल जान थालेको रहेछ । अब त्यो कपी सकियो भने के गर्ने उ पिरोलिएको रहेछ ।
उसका कुरा सुनेर म निःशब्द भएँ । बाटो काट्न गरेको गफले मेरो अन्तस्करणमा कता–कता घोंचे जस्तो लाग्यो । म एकोहोरो उसका आँखामा हेरिरहेँ । एउटा बालक निर्दोष हुन्छ, बच्चा भगवानको रूप हो भन्थे साँच्चै नै हो रहेछ । म एउटा अन्जान बटुवा । उसलाई यो पनि थाहा छैन कि एक जना अन्जान व्यक्तिलाई आफ्ना र आफ्ना घरका समस्या भन्नु हुँदैन र अर्को कुरा उसका समस्या मलाई भनेर ती समस्याको समाधान हुने पनि होइन । उसले मैले केही सहयोग गर्छु भनेर पनि भनेको होइन । त्यो उसको निःस्वार्थ बालापनको कारण उसले मसँग ती सब कुरा भन्दैछ ।
मैले उसलाई सोधें, “एउटा कपी र सिसाकलमलाई कति रूपैयाँ पर्ला ?” उसले भन्यो, “१० रूपैयाँको कपी एक हप्तामै सकिन्छ, त्यो भएर २० को कपी र पाँचको सिसाकलम गरेर पच्चिस जति पर्छ ।” मैले पर्सबाट ३० रूपैयाँ निकालेर उसलाई दिँदै भने, “यो पैसाले कपी, कलम र एउटा बबल गम किनेर खानु ल ।” उ डरायो, पैसा लिन मानेन । मैले लिउ, डराउनु पर्दैन भने । उसले यताउती हेर्यो, मेरो हातबाट पैसा थुत्यो अनि जान्छु पनि नभनी बतासको गतिमा जोडसँग दौडिएर अलप भयो ।
उ यति निर्दोष थियो कि उसलाई कसैले सहयोग गरेपछि धन्यवाद भन्नुपर्छ भन्ने पनि थाहा थिएन, न त म जान्छु भनेर भन्नुपर्छ भन्ने नै थाहा थियो । आज दोबाटोमा भेटिएको एउटा अपरिचित बटुवाले उसलाई कापी कलम किन्न पैसा दिएको छ । भोलि उसले पनि बबल गम पनि किनेर साथीभाईका अगाडी ठूलो फुलो पार्नेछ । आजको दिन उसको कसरी बित्ला ? उसको मन कति हर्षित भयो होला ? उसले आमालाई के भनेर त्यो तीस रूपैयाँ राख्न देला ? भोलि साथीभाईलाई यो घटना कसरी बताउला ?
भविष्यमा जब उ ठूलो भएर कुरा बुझ्ने बन्नेछ, त्यो बेला उसले यो घटना सम्झिएछ भने सायद उसले सोंच्ला, त्यो दिन बाटोमा मैले भगवान भेटेको थिएँ ।
–राजनारायण राई
चारैतिर हिल्लैहिल्लो छ । सिकसिक लाग्दो पैतालाले घर बाहिर निस्कने आँट नै गरेन, पर–पर जहाँसम्म देखिन्थे त्यहाँसम्म नै हिल्लै पानी–पानी थियो । कस्तो उदेक लाग्दो वातावरण फागुन चैतको बेमौसम मुसलधारे झरी झरर... वर्षी रहेको छ वर्षा निरन्तर ।
नमजा लाग्दो सुनौलो घामले सम्पूर्ण दृष्टिहरूलाई लतपत पारिराखेको छ । झन् मध्य दिनमा कुखराको भाले बासेर विरक्त दिनको समावेश बन्छ । कुकुरहरू भुकीरहेको थियो, भुकीरहन्छ धेरै बेरसम्म ।
साँझ भइसकेछ, घडीको काँटाले पाँच बजेको संकेत गरिरहेको थियो । कोही चुल्हा चौका तिर व्यस्त देखिन्थे । गाउँले सबै आ–आफ्नो कामधन्दातिर । साँझको काम पशु पंक्षीहरूको आहार हाल्न हतारिरहेका थिए ।
त्यस दिन ज्ञानलालको घरमा भने चकमन्न देखेर उदेक लाग्यो । उसको गाई भोकले कराइरह्यो कराइरह्यो । कहाँ गएछ मोरा मुसलधारे पानी परेको बेला ?
अरूबेला उसको घरभरी साथीभाईहरू आउजाउ चलिरहन्थ्यो । संगीतको सुमधुर धुनहरू बज्न थालेपछि सानो भुराहरू उसको घरको खिड्कीबाट नचिहाउने को पो थिएन होला र ? वरिपरिका मान्छे नभ्याउनेरूले पनि एकक्षण चै कामधन्दा पर सारेर खिड्की छेव उभि सुनिराखेकै हुन्थे केही धुनहरू । त्यस बेला उन्को घरमा भेला हुनेहरू स्व. ज्ञानलाल राई, आर पी राई, स्व धनबीर राई, स्व अजुककन चामलीङ्ग अनि कुन्ती मोक्तान (सुनदास) अन्यहरू हुने गथ्र्यो, अनि विशेष संगीत अभ्यास हरेक साँझ भएरसम्म चलिरहन्थ्यो । ज्ञ्यानलाल अविवाहित त थियो नै तर, एक्लो थिएन । गरीब भएपनि संगीतको धनी नै भन्नुपर्छ । मागेर खाएनन् पौरखी बने, यति हो उनलाई भाग्यले धोका दिइनै रह्यो दिइनै रह्यो ।
नामानुसारकै संगीतका ज्ञानी हरेक साँझ साथीहरूसँग भेट भएपछि शून्यतालाई चिर्दै संगीत धुनहरूले रमाइलो बनाउने गथ्र्यो ।
अहँ तर त्यस साँझ उसको घरबाट कुनै धुनहरू गुन्जीएन । न त कुनै साथीभाइहरू नै उसको घरमा आए । त्यसबेलासम्म पानी रोकिएकै थिएन, झररर पानी परिरह्यो । उसको घरमा चहलपहल नहुनुको मूल दोष पानी पर्नु नै होला भनी सोच्यौं । भन्दा नभन्दै झ्याप्प रातले छोपिहाल्यो । हरेक घर धिब्री बत्तीको मधुरो उज्यालोले रमाइरह्यो घर घरको कोठाहरू त्यतिबेला बिजुली बत्ति नै गाउँले देखेको थिएनन् ।
रात निकै बितिसक्दा पनि ज्ञानलालको घरमा भने अँध्यारो नै थियो । हन यतिबेलासम्म कहाँ गए त ज्ञानलाल ? कुनै अत्तोपत्तो नहुँदा जिज्ञासा स्वभाविकरूपले नै उत्पन्न हुन्छ नै । तर पानी परेर परेर झट्टै कहाँ निस्कनु सकियो त ? आउला पानी रहेपछि भन्ने ठानी सबैजना खान पान गरी आ–आफ्नो बास पसियो । त्यो रात उ घर पस्यो पसेन थाहा नै भएन । कोही कोही बेला तिनी साथीभाईहरूको घरतिर गइबस्ने मान्छे त्यसैले उसलाई वास्तै गरिएन ।
भोलिपल्ट झिसमिसेमा भाले कुकुरी क्वाँ गरी सुरिलो ध्वानीले बासेर सबैलाई शुभबिहानीको संकेत गरीरहेको थियो । भन्दा नभन्दै सूर्यले उज्यालो रस्मी लिएर ओछ्यानमै आइपुगिसकेछ । हिजोको जस्तो दिन थिएन आकाश सफा थियो, घमैलो बन्ने संकेतमा सूर्यको प्रकाश बिस्तारै फैलिँदै थियो । आफू झटपट उठी दाँत माझ्दै हिजो भिजेको आँगन टेके र एक पटक हरिया परियालाई आँखा घुमाई सकेमात्र त्यतिबेला वल्लो घर पल्लो घर हल्ला चल्छ– ज्ञानलाल घरतिर फकेककन रहेछ नि ? मसम्म हल्ला आइपुग्दा गाउँले सबै भेला भइसकेछ ज्ञानलालको घरमा । शंका उपशंका बन्छनै उ घर त नफर्केपछि । बेलुकी र बिहानीको खुराक नपाएको गाई बेस्सरी कराईरह्यो.... ।
केही समयपश्चात सरसल्लाह हुन्छ । आफन्ततिर साथीभाईतिर सोधी खोजी हुन्छ पत्तो लागेन । अब कहाँ गए त मोरा गाईवस्तु ढुक्कै छोडेर । सबैजना सल्लाहानुसार कोही तलतिर जंगलमा कोइ पर पर पाखातिर खोजी गरियो खै त भेटिएन, शंका उपशंका बढ्दै जानु त्यो स्वभाविक नै थियो ।
सबै ठाउँ जानेको बुझेको सबैतिर खोजी गरियो तर, ज्ञानलाल भेटिएन । हुलमा कसैले भन्दै थियो–तल्लो गाउँको रनपालले देखेको रे हिजो । तल जंगलतिर पो घाँस काट्दै थियो रेन्त ! कुरा सुनेपश्चात सबै एकअर्को माझ हेराहेर हुन्छ । मनमा चिसो पस्छ । हन हिजोको त्यो मुसलधारे पानी परेको बेला घाँस काट्नु र घाँसको भारी मान्छे नै घर नआईपुग्नुको घटना सन्देहपूर्ण बन्छ के भयो ? त कता गए त ?
भेला भएका गाउँले सबै हुल हुल छुट्टिएर खोज्ने काम गरिन्छ अनि प्रायः दिनभरीको खोजी पछि बल्ल भेटियो घाँसको भारी तर फेरि मान्छे छैन । फेरि खोजियो माथिबाट तल तलसम्म र पो भोटियो ज्ञानलाल तर, खोल्सामा रगताम्मे अवस्थामा । भिरबाट सोह्रीएर बज्रिएछ नि ढुंङ्गामा त्यतिबेला उ मुर्दा भइसकेको थियो ।
हल्ला फैलिन्छ झुत्ता झुत्ता मान्छेहरू थुप्रिन थाल्छन् । म पनि त्यहाँ पुग्छु । भिडबिचबाट चिहाउँछु हो रहेछ ज्ञानलाल नै रहेछ । उ मरेकै त रहेछ । हिजोको लोदरे पानी पर्नु र आजको घटना बन्नु पीडादायी बन्यो यो गाउँमा ।
सरकारी मान्छे खबरनुसार घटनास्थल आइपुग्छन् र निरक्षण गरी लास पोस्टमार्टमको निम्ति अस्पताल पठाउँछन् । केही घण्टा पछि निर्जिव शरीर कफानमा लपटिएर घर आइपुग्छ । भोलिपल्ट अन्तिम संस्कार गरिन्छ । त्यतिबेला मलामीको ताँती भीडबीचमा कसैले भन्दैथियो ज्ञानलाल खुबै असल मान्छे थियो । संगीतको त राजा नै भन्दा पनि भयो । थुप्रैलाई संगीतको चेला बनाई गुण गरिराखेर आफू बितेछ । कसैले भन्दै थियो, तिनी खुबै मिलनसार मान्छे विचरा... ।
कति विश्वास मान्छे जब जिवीत रहन्छ कसैले केही वास्तै हुँदैन । जीवित रहँदा नै किन गुण गान खुलस्त गर्न नसेका होला । जब मरिन्छ तब मात्र गुण गान हुन्छ यस्तै भयो मलामीको भीडमा । हिजसम्म मन नपराउने र साथ नरूचाउनेहरू पनि एक मुठ्ठी मट्टी दिनु हिचकिचाउँदैनन् रहेछ नि । यति रहेछ मान्छे हुनुको मूल्य पनि ।
ज्ञनलाल बितेर गएपछि त अँघ्यारोमा डुब्यो उसको घर पनि । शून्यतामा उजाडियो कोठाहरू बाध्य वादन आदि । बिस्तारै साथी संगीहरू छुटिन्दै छर प्रष्ट बनियो । आ–आफ्नै व्यस्तताले यतिमा वर्ष बितिसक्यो । कतिले संगीत यात्रामा ख्याति प्राप्त गरिसकेका छन् । अझै पनि कतिले त्यो दिनहरूको सम्झना लिएर बृद्ध अवस्था तिर लम्किरहेकै छन् । सम्झानाभित्र बाँचेको मान्छे हो ज्ञानलाल । उसले उचाई छुन सकेनन् तर, उचाई तिर हिँड्नु सिकाए । धेरै नभए पनि अलिाकति छाप छोडी राख्यो नै । मान्छे त मर्दो रहेछ, मरेर गुण नमर्दो रहेछ ।
– गणेश लोहनी
१.
आँखा चिम्लौं माना पाथीतिर नहेर्नु रे
जस्तो परोस् केटी साथीतिर नहेर्नु रे
सुन्दरताका निर्णायकले कता हेर्नेहोला
अघि पछि तल माथितिर नहेर्नु रे ।
२.
पलाउने फुल्ने फल्ने समयका कुरा गरौं
बैंशको सिउर ढल्काउने वयका कुरा गरौं
गुलाबको थुङ्गासँग बैंस साट्न हिँड्नेहरू
मर्यादाको सीमाभित्र प्रणयका कुरा गरौं ।
३.
हामी ठानिरहेका छौं असल चलेको छ
नियमसंगत ढंगले नै पसल चलेको छ
राजनीतिमा व्यापारमा सबै दुई नम्बरी
टिकाउन मनी अनि मश्सल चलेको छ ।
४.
लाक्षागृह निर्माणमा कौरवहरू लागेका छन्
इन्द्रप्रस्त निर्माताले पाँच गाउँ मात्र मागेका छन्
बिदुर झैं चतुर चाल चल महारथी पाण्डवहरू
हस्तिनापुर हत्याउन कौरव फेरी जागेका छन् ।
–कुञ्ज देवी उपाध्याय
एउटा गुलाब दिँदा साँचो माया पाए
म संसारका सबै छोराहरूलाई दिन्थे
ताकि कहिल्यै उनीहरू आमा बुबालाई
माया गर्नु छोड्दैनथ्ये
एउटा गुलाब दिँदा साँचो माया पाए
सबै दम्पतीलाई दिने थिएँ
ताकि उनीहरू डिभोर्स माग्न
कोर्ट कचहरी जाने कारण आउँदैथ्यो
हातमा गुलाबको थैली लिएर
शहरको बाटोमा हिँड्दै बोलाउने थिएँ
आऊ
एक थुँगा लिएर प्रतिज्ञा गर
कसैका छोरीको इज्जतसँग अब
कहिल्यै खेलवाड गर्ने छैनौँ
तर...
एकदिन प्रेम दिवस मनाएर
गुलाबको हत्या गरेझैँ
प्रत्येक दिन हत्या हुन्छन्
हजारौं नारीका आकांक्षा हरू
हजारौं माता पिताका सुनौला सपनाहरु
यहाँ पश्चिमी सभ्यतासँग आफूलाई मुछेर
न यताको न उताको भएको छ प्रेम
त्यसैले म रोप्दीन गुलाब
वर्ष भरिको माया हत्या गर्नको निम्ति ।
–रीता ताम्राकार
जब विगतमा सुनेका कुरा भोग्ने दिनहरू मेरो सामुन्ने आइपुग्यो । वर्षाैंदेखि मनमा जरा गाडेर बसेको विश्वास धरमराउन थाल्यो । धमिराले जरा खोक्रो पारेको रुख जस्तै । मेरो श्रीमानले सामाजिक प्रतिष्ठासँगै करोडौंको सम्पति आफ्नै बुतामा कमाउनु भएको थियो । उहाँको मृत्युपश्चात् छुट्टिदाँ दुई छोराहरू र मेरो भागमा पचासौं लाखको सम्पत्ति परेको छ । छोरीहरूलाई पनि मन नदुख्ने गरी दिएका छौं । म जीवनको उत्तरार्धमा पुगेकी महिला । पश्चिम क्षितिजमा अस्ताउन लागेको घाम जस्तै । एक्लै बसेर छोरा बुहारीलाई समाजमा नराम्रो बनाउन मनले मानेन । एकजनासँग त बस्नै पर्यो नि ! तर, कत्रो आपत् मलाई ! छोराहरू मेरो मायाले भन्दा पनि मेरो भागमा परेको सम्पत्तिको जोड, घटाउ, गुणा, भागा गर्दै मलाई पाल्न हानाथाप गर्दैछन् । “म जेठो छोरो ! म कसरी आमालाई छोड्न सक्छु । उहाँलाई आफूसँग राखिन भने बुवाको आत्माले पनि मलाई धिक्कार्छ । त्यसैले आमा मसँगै बस्नु हुन्छ ?” सधैँ तुवाँलोले छोपिएर बस्ने जेठी पनि घामको किरण सापटी मागेर मुहारमा पोत्दै लोग्नेको कुरामा सही थाप्दैछ ।
कान्छो पनि मनमा शब्दजाल बुन्दै होला । एक्कासी कान्छाको मुहारको तुवाँलो चिरिएर एक झिल्को घामले चिहाए जस्तो झिलिक्क उज्यालो नाँच्यो । “होइन दाइ ! आमा त मसँग नै बस्नुहुन्छ । मेरोमा जति सुविस्ता आमालाई तपाइँसँग बस्दा हुँदैन । भाउजू दिनभरी सामाजिक सघं संस्थामा कुद्नु हुन्छ । यिनि घरमै बसेर घर व्यवहार गर्दछिन् ।” कान्छाले शाब्दिक पासा थाप्यो ।
“भाउजु कुदे पनि घर व्यवहारको व्यवस्था मिलाएर कुद्छे । त्यसै अलपत्र पारेर कुद्दिन बुझिस् !” जेठो रिसायो । जेठीले देवरलाई आँखातरी ।
“जे भन्नुस् ! दिनभरि घरमा बसेर सिहारे जस्तो कहाँ हुन्छ र ?” कान्छो अड्डि कस्छ आफ्नो कुरामा ।
मेरा छोराबुहारी मुहारभरी लालच पोतेर एक अर्कामा दोषारोण गरिरहन्छन् । बिना निष्कर्ष । मैले एउटा निर्णय गर्नैपर्ने भयो अन्ततः ।
“तिमीहरू चुप लाग एकछिन् । बुवाको मृत्युपछि पनि सबैजना संगोलमा नै रहे मलाई शान्ति हुन्थ्यो । तर, त्यसो हुन सकेन छुट्टियौं । चित्त बुझाउनै पर्यो । मेरो निम्ति दुवै बराबर । कसैको मन दुखाउन चाहन्न । म छ/छ महिना गरि दुवैकोमा बस्छु ।” मेरो निर्णयले खुशी त भएनन् । तर पनि चित्त बुझाए । आमाको सम्पत्ति आधा/आधा भाग लाग्ने जो भयो ।
म पहिला जेठोसँग बसेँ । मंसिरदेखि चैतसम्म । छोराबुहारीले राम्रो गरे पनि मन दुःखी रह्यो । जुन घर संसारमा मैले वर्षौं रानी बनेर एकछत्र राज गरेकी थिएँ । अहिले कुबेलाको पाहुना जस्तै पाएँ आफूलाई । के गर्नु ? संसारको रित ! उदाउँदो बेलाको सूर्यलाई देवता भनेर पुजे जस्तो नहुँदो रहेछ अस्ताउँदो बेलाको सूर्य ।
म वैशाखदेखि कान्छासँग बस्न थालेँ कार्तिकसम्म । यसबिच थुप्रै चाँडहरू, तिज, दशैं, तिहार आदि परे । सबै सकेर फेरि जेठाकोमा गएँ । वल्लो घरको नरे पल्लो घरमा सरे उखानको चरितार्थ भएको छ । आज मैले बाँच्ने जीवनमा ।
“दिदी ! तपाईँहरूलाई कति आनन्द । हामीसँग आमा बस्दा सबै चाँडपर्व पर्छ । पाहुनापात, ईष्टमित्र, आफन्त सबै ओइरिने त्यही बेला । झन् आमाजू र भान्जाभान्जीको लामो बसाई त कुरा गरी साध्य छैन । कहाँ सक्नु हामीले मात्र । जिउनी त बराबर चिरेर लिनु हुन्छ नि पछि । म त सक्दिन यसरी ।”
मैले नसुन्दा हुने । दुर्भाग्यले सुने कान्छीको गुनासो । जेठी केही बोलिन् । सायद, कान्छीको कुरामा वास्तविकताको आभाष पाएर होला । भित्र कतै कुनै कुनामा केहीले घोँचे जस्तो चिमोटे जस्तो ! बिना धुँवा घुर्मैलो मन । पिरो भएर दुखि रह्यो ।
त्यो रात मलाई मिन्द्रा परेन राम्रोसँग । हामीले पनि सासु ससुरा बाँचुन्जेल पालेका । तर, कहिले दिक्क मानेनौं । अहिलेका पुस्ता के भएका ? कर्तव्य र दायित्व त बुझ्न र सम्झनै नचाहने । किन कसैमाथि बोझ बन्नु ? अब एकजनासँग एक वर्ष नै बस्नुपर्ला । मनमा फेरि आफू पालिनुको निर्णय लिएँ एक पटक ।
“दुई वर्ष भयो छ/छ महिना बाँडिएर बसेकी । सबै चाँडपर्व कान्छाकोमा बस्दा नै पर्ने । उसलाई अलि गाह्रो भो लगातार व्यवहार धान्न । अब एक एक वर्ष बस्छु । यसो गरेमा व्यवहारको भार दुबै जनालाई पर्छ ।” एकदिन सबैलाई राखेर घोषणा गरेँ ।
मेरो यो अभिव्यक्तिले कान्छी पारिलो घाम जस्तै उजेली भई भने, जेठी तुवाँलो लागे जस्तै अँध्यारो । छोराहरू मुहारमा केही नझल्काई निर्विकार रहे ।
मलाई समयसँगै विविध रोगहरूले च्याप्दै ल्यायो । डाक्टर र उपचार बढी नै चाहिँदै आयो । उसो त छोरा बुहारीले कुनै दिग्दारी नदेखाई उपचार गराई रहेका थिए । मेरो मनको दोष हो की छोराहरूको मुखको दोष । थाहा पाउन सकिन । एकदिन मलाई निक्कै बिसन्चो भयो । म ढल्किरहेको ठाउँमा दुवै छोराको उपस्थिति थियो । म उनीहरूतिर पिँठ्यू फर्काएर सुतेकी थिएँ । कान्छाले दुई/तीन पटक बोलायो । म बोलिँन । उनीहरूले म निदाएको सम्झे होलान् ।
“भाइ ! आमा निदाउनु भएछ । आइज बाहिर । तँसँग एउटा जरुरी कुरा गर्नुछ ।” बरण्डा मेरै कोठाबाट निस्कनु पर्ने नजिकै छ । मैले निदाएकै बहानामा कुरा सुन्न चाहेँ ।
“हेर कान्छा ! आमा हामीसँग एक÷एक वर्ष बस्नुहुन्छ । चाडपर्व र व्यवहारिक तालमेल त बराबरी भयो । तर, उहाँको वृद्धावस्था र उपचार ? अस्ति तेरोमा बस्दा त्यति बिरामी हुनु भएन । साधारण मात्रै हो ? त्यसैले तेरो खर्च पनि साधारण नै भयो । अहिले मेरोमा आउनु भएपछि कति धेरै बिरामी हुनु भएको छ । जात्रा भएको छ मेरो ! ठूलो रोग । महँगो उपचार । पोषिलो खान्की । पैसा त खोलासरी बगाउनु परेको छ । यस्तो हुँदा त ठहरै भइन्छ नि !” जेठोको कुराले मन घरघरी च्यातिएको छ सिउनै गाह्रो हुने गरी ।
“अनि के भन्न खोज्नु भएको दाई । पूरै खुलस्त कुरा गर्नु न ।” कान्छाको शुष्क स्वर ठोकियो कानमा ।
“आफूले पाउनेभन्दा बढी खर्च गर्नुपर्यो भने त के अर्थ रह्यो र झन्झट व्यहोरेको ? अब १५/२० हजारभन्दा माथिको उपचार गर्नुप¥यो भने बराबरी भाग लगाउने । आखिर आमाको शेखापछि सम्पत्ति पनि त बराबर खाने हो नी ।”
राम......राम.........!! मैले के सुन्नु परेको यस्तो ? आमाभन्दा सम्पति ठूलो भएको छ आज मेरो छोराहरूलाई । एक दाना अन्न, एक गोली औषधी र एकसरो कपडाको हिसाब लाउँछन् उनीहरू । आफ्नो कमाईमा होइन् । बाबुले छोडेको सम्पत्तिमा पाल्न पनि ! यो मेरो कत्रो गाईजात्रा । उनीहरूले चुसेर फितलो भएको छाती चसक्क नमिठोसँग चस्कन्छ ।
मैले छोराहरूको बामे सराई, ताते हिँडाई र तोतेबोलीमा वात्सल्यले सरोवर भई सजाएको सपनाहरू सबै भ्रम रहेछन् । उनीहरूको फराकिलो छाती र दरिलो काँधमा गरेको भरोसा मित्थ्या रहेछन् । उनीहरूको सुकुमार मुहारमा मलाई निःश्वार्थ मायाले निहार्ने आँखा खोजेको धिक्कार रहेछ ।
यदि मेरो लाखौंको सम्पत्ति नहुँदो हो त मलाई आमा भनेर चिन्दैन्थे होला । कुनै काम नलाग्ने रद्धि वस्तु नै पो ठान्थे कि कतै ? कि मलाई पनि ती अन्तरे बाजेलाई जस्तै मागेर खान छोडि दिन्थे ? जिउ नै सिरिङ्ग हुन्छ । बुरुरु काँडा उम्रन्छ पाखुराभरी । नानाभाँतिको कल्पनाले गर्दा मन नमिठोसँग निमोठियो । व्यथित मनस्थितिमाथि पर्दा लगाउन र बेदनाले व्याप्त मुहारमा खुशी पोत्न कहिले जानिन मैले । हृदय धरधरी रुवाएर ओँठले मुस्कुराउने क्षमता मैंले पटक्कै राख्न सकेकी छैन ।
खुईया..! व्याकुलताले भरिएको व्यथित सुस्केरा मेरो ओँठको बाटो भएर हिँड्यो । असमय नै क्षीण हुन लागेको मेरो आशा र अपेक्षामाथि भंगालो बनि आँशु बग्न थाल्यो । जसलाई मरुभूमिको रूप लिएर सिरानी आफ्नो छातिभित्र समेट्दैछ । मन धमिलो हुँदा त निलो आकाशमा मद्होष फैलिएका चन्द्र किरण पनि फिक्का लाग्दो रहेछ ।
छोराहरू आफु खुशी फैसला गरेर एकातिर लागे । म आफैंभित्र एउटा मार्मिक कथा बनिसकेकी ! निरीह जीवन भोग्न बाध्य एक लाचार वृद्धा । सम्झन बाध्य भएँ । ती दुई गरीब वृद्धाहरूलाई । जसको केही सम्पत्ति छैन र छोरा पनि छैनन् र पनि सन्तोष पूर्ण जीवन बिताइरहेका छन् ।
वृद्धावस्थामा सुख र सन्तोषपूर्ण बाँच्नुमा सम्पत्तिको भन्दा सन्तानमा निहित दायित्वबोध र कर्तव्यबोधको ठूलो भूमिका हुँदोरहेछ । के गर्नु आफ्नो त कर्मै खोटो रहेछ । पुनः मेरो सुस्केरा रोक्दा रोक्दै फुत्कन्छ ओँठबाट !
–ओम बस्नेत
‘वेलेन्टाइन्स डे’को दिन एघार बजी लव डाँडामा बोलाएकी छिन् सीताले ललितलाई । झन्डै तीन घण्टाको बाटो छ । एक हफ्ताको च्याटिङ्गमै प्रेम बसेको हो । गिफ्ट पनि महँगो छ, आखिर लाख रुपैयाँभन्दा माथि कमाउँछन् हर महिना ललितले । एउटा सरकारी अर्को निजी बाहन छ । आज निजी बाहन लिएर हिँडेका छन् । सबकुछ छ तर, बिहे भएकै छैन । आमा बुवा दुई जना नै बितिसकेका छन् । घर ठूलो छ स्याहार गर्ने कोही छैन । एक्लो छोरो हो । पहिला त बिहे नगरी जिन्दगी बिताउँछु भन्ने सोंचेका थिए तर, आखिरमा कोही न कोही साथी चाहिने रहेछ जस्तो लाग्यो र बिहे गर्न सोचेका हुन् ।
एक्लै गाडीमा एफएम सुन्दै जाँदै थिए एकजना गेरुवा वस्त्रधारीले लिफ्ट माग्यो । रोकेर सोधे, “कहा जाना है पण्डितजी ?”
पण्डितले “सर म अलिकमाथि जान्छौं” भन्यो । दक्षिण भारतीय ज्योतिषी रहेछ ।
गाडीभित्र पस्यो र उसको पेशाअन्तर्गत कुरा सुरु गरी हाल्यो ।
“तपाइँको यात्रा सफल हुन्छ, भाग्यरेखा खुब उत्तम छ । पैसा खुब कमाको लेकिन जमा करनु साकेना ।”
“लु भन त मेरो बिहे भाको छ की छैन ?”
“तपाइँको बिहा भाको छो”, भन्यो ।
ललितले भने, “मेरो बिहे भएको छैन हौ ।”
“यस्तो गाडीमा कुरा गर्दा जोखाना आउँदैन राम्रो बसेर कुरा गर्दा आउँछ ।” भनेर टार्यो ।
“खास म केटी भेटनु गएको हो बिहे गर्नु”, भन्यो ललितले ।
“कन्याको नाम बताउनु ।”
“सीता हो ।”
“राम र सीताको जस्तो जोडी छ, खूब राम्रो छ तर, अलिक उसको ठीक गर्नु गाह्रो पर्छ । दोष छ पतिलाई नोक्सान गर्छ । आर्को केटा पनि छ उसको । यो तावीज दिनु पर्छ खुब काम गार्छ । तपाइँको मात्र मन पराउँछ । पीछे पीछे आउछ ।“ यो सुनेर ललित अलिक गम्भीर भयो ।
ठूलो टनिङ्ग गाडी रोक्यो ललितले । तावीज किन्यो । साधु आफ्नो बाटो लाग्यो ।
साढे एघारमा लब डाडा पुग्यो । सीतासँग पहिलो भेट भयो । उसले भ्यालेन्टाइन गिफ्ट निकाल्यो बट्टाबाट । हिजो त्यसको पÞmोटो खिचेर पठाएको थियो वाट्स एपमा । सुनको चैन पाएर गदगद भइ सीता । ललितको छिप्पेको गालामा चवाकक म्वाई खाई । आफ्नो उमेर भन्दा आधा जति सानो उमेरको केटी पाउँदा ललितलाई त्यसै आकाशमा उडेको महसूस भयो ।
सीताको फोन आयो र “एकछिन् ल डार्लिङ्ग” भनेर अलिक पर गई । कुरा गर्दै फेरी उसले ललितलाई भनी “डार्लिंङ्ग दस मिनेट जति यहाँ बस्नु ल म आइ हाल्छु” भनेर अलिक पर सडकमा पुगी । एउटा बाइक आयो त्यसमा चडेर गई ।
ललित छक्क परे । फोन गरे सीतालाई अफ स्वीच अफ । वाट्सअपमा म्यासेज गर्नु खोज्दा त्यहाँ पनि लागेन । फेसबुक मेस्सनजर सबैमा ब्लक गरेको रहेछ ।
कुरा बुजे घरतिर लागे । निकै तल आएपछि चौबन्दी चोली ढाका साडी लगाएकी । सपक्क केश भएकी पातली ।यसो हेर्दा भानु जयन्तीको लागी मारूनी नाचने पहिरन लगाएकी जस्तो लाग्यो । गाडी पर्खेको नै हो जस्तो लाग्यो र छेउमा पुगेर सीसा डाउन गरेर सोधे ।
“जानु हुने ?” भनेर ।
उसको सेतो दाँत मिलेको कति राम्रो अनुहार ललित छक्क परेर हेरी बसे निकै बेरसम्म । फेरी सोधे “बहिनी जाने हो ?” भनेर ।
“पे पे पे पे पे पे हुप्पा पु पु पु पु पु ..” भन्दा ललित छक्क परे । यस्तो राम्रीलाई भगवानले किन चै ‘बोली’ दिनुमा कन्जूस गरे होलान् जस्तो लाग्यो ।
भित्र आएर बस्ने इशारा गरे ललितले । बसी फ्रन्ट सीटमा । ललितले मिरर मिलाए आफ्नो ठीक माथि रूफको । अनुहार हेरे । कत्ति राम्री छ रूप तर, किन बोली यस्तो यस्तो होला भनेर सोँच्दा सोँच्दै उसले प्रश्न गर्नु थाली । कहाँ गाको, घर कहा हो, बिहे भयो की भएन भनेर इशारामा । ललितले सबै बताए ।
फेरि त्यही प्रश्न उसलाई सोधे ।
बजार गएकी अरे । तर एउटा कुरा चै दुइ जनाको मिल्यो । दुवै अविवाहित रहेछन ।
शब्दहरू त्यही हो पे पे पे पे पे हुप्प पु पु पु पु पु... तर हातको इशारा र आँखाको इशाराले कुरा गर्दा सबै बुजिन्थ्यो ।
उसले डेस्क बोर्डमा राखेको ताबिज देखिछ र के हो भनेर सोधि । लाउने चीज हो । त्यो लगायो भने बीमार हुँदैन । मनपर्यो भने लानु भनी दिए । उसले खोलेर स्पोट मै लगाई । ललितलाई खुशी लाग्यो । आखिर कसैले त लगायो भनेर होला ।
बजार आइपुग्यो । उसले रोकी दिनु भनी । मिठो हाँसेर तावीजलाई देखाउँदै धन्यवाद नै भनेको होला त्यस्तै पे पे पे... गर्दै गई ।
ललित घर आइपुगे । यसो मोबाइल खोलेर हेरे फेसबुकमा एउटा फोटो देखे सीताको र एउटा हैन्डसम केटाको रहेछ । त्यो केटाले ‘यु आर मई भ्यालेन्टाइन’ भनेर पोस्ट हालेछ । सुनको चेन त्यही हो राम्रो सुहाएछ सीतालाई । ललित खिस्स हाँसे ।
सपनामा पे पे पे पे र पु पु पु देख्नु थाले । झसङ्ग भए । फेरि भोलीपल्ट पनि त्यस्तै भयो । उनको आँखामा त्यो चौबन्दी चोली, ढाका साडी, लामो केश, मिलेको अनुहारले आइरह्यो ।
“नाम धरी बताउनु नसक्ने अमुकसँग पो मेरो साँचो माया बस्यो की क्या हो” भन्दै सोचे ।
“जे होस् बाठीलाई गिफ्ट दिएर नोक्सान भएता पनि लाटीलाई लिफ्ट दिएर राम्रै गरेछु” भनेर सम्झे ललितले ।
केही वर्षपछि सधैँ झै ललित आफ्नो छोरा अनमोललाई स्कूलबाट घर लिएर पुग्छन् । बरान्डाहमा त्यही दक्षिण भारतीय जोतिषीसँग पो उसको श्रीमति त “पे पे पे पे हुप्प पु पु पु पु” को भाषामा गफ गर्दै ललितको लागि ताविज किन्दै रहिछन् । ललितले जोतिषीलाई चिने तर, त्यो मोराले चिनेंन । फेरि भिरायो अर्को ताविज ।
–लेखराज रेग्मी
अप्रिय छन् मानिसहरू
बोलिरहेछन् अशुभ शब्दहरू
तिमी पत्याउ नपत्याउ मेरो कुरा
मलाई त्यसले फरक पर्दैन ।
पालेर सडेको दिमागमा फोहोरी कुरा
जसरी मेरो देशबारे बोलिरहेका छन्
कुत्सित गोदी मिडियाहरू
उनीहरूको भारत महान्को नारा
कुण्ठा हिनता र छटपटि देख्छु
ठिक यस्तै छ युरोप
मुसलमानको राक्षसीकरण
गोरो छालाका राक्षसहरूको बढाई
दुई वर्ष पुग्दैछ न्यूक्लियर युद्धको कुरा
युक्रेनमा आगो झोसेर पुगेन
सल्काउन खोज्दैछन् प्रशान्त
र खेल्दैछन् लालसागरमा रगतको होली
कव्रिस्तान बनाउँदैछन् कुर्दिस्तान
र ढिगोरा पिट्दैछन् रुस युद्धपिपासु छ
चीन राक्षस हो लाल सैतान
किम सन्काहा छ, तर
उनीहरू ताइवान जलाएर खोज्दैछन्
अस्लाको व्यापार गर्न, मानवताका हत्याराहरू
युक्रेन जल्नुहँुदैन थियो जेलेन्स्की
इजरायल र फिलिस्तिान जल्नुहुँदैन
अफगान र इराक बन्नुहुँदैन अरब
ताइवान अस्लाको विज्ञापन बन्नुहुँदैन
तर, मेरो देशमा अर्को जेलेन्स्की खोजिदैछ
र मस्त छन् भारतीय मिडिया
नेपालको सर्वनाशको गीत गाउन
थाहा छैन युक्रेनमा युद्ध छ
र जलिरहेछ पेरिस, जर्मन
र त सडकमा छन् जनताहरू
योभन्दा खराब हुनेछ भारतमा डढेलो
पटक्कै हेक्का छैन उन्माद छ
मेरो देश त पीडामा छ र बढ्ने ठाऊँ छैन
यो उल्टामतीले छिमेक जल्दा
हामीले पनि सहनुपर्छ
नेपालको नियतीमा लेखिनेछ
पूरै दक्षिण एसियाको भाग्य
तर मेरो देशका लम्पटहरू
सुन हसिस र हिरोइन जस्तै मानिरहेका छन्
युद्ध–व्यापारको गर्दैछन् विज्ञापन
जुनी–दासहरूको गुम्ने एकमुठी सास हो
तर देश जल्दा जल्नेछ तिम्रो सबकुछ
जसको तिमीलाई निकै घमण्ड छ ।।
-विमल बिसी, बागलुङ, गलकोट
मुक्तक १
भन्दैनौँ अमेरिका युरोप खाडी,आफ्नै देशमा बस्छौँ
बेकार साहुको ऋण काढी,आफ्नै देशमा बस्छौँ
रोजगारको एउटा सानो आधार त देखाई दे सरकार
जाँदैनौँ घर परिवारलाई छाडी,आफ्नै देशमा बस्छौँ!
मुक्तक २
मुटुमै प्रहार गरे जस्तै हुन्छ भाला,हेर्न सक्दिनँ
देखाउँछन् सहनै नसक्ने खाले चाला,हेर्न सक्दिनँ
कसम मरौँ कि मारौँ जस्तै हुन्छ मलाइ के गरौँ ?
भष्ट्राचारीहरूले लगाएको देख्दा माला,हेर्न सक्दिनँ!
मुक्तक ३
वर्षौँ देखिको सम्बन्ध क्षणभरमै टाढिन्छ,अचम्म लाग्छ
खै कसरी यहाँ तन साटिन्छ मन साटिन्छ अचम्म लाग्छ
उता परिवारलाई सुख दिन श्रीमान् परदेशी भइरहेको बेला
यता श्रीमतीको प्रेम सम्बन्ध अर्कैसँग गाँसिन्छ,अचम्म लाग्छ।
काठमाडौं : नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा संगठन ‘नेपाल हाइकु संघ’को आयोजनामा राष्ट्रिय हाइकु महोत्सव–२०८० सम्पन्न भएको छ । महोत्सव नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो ।
कुलपति राईले निबन्धकार शंकर लामिछानेद्वारा रचित ‘माकुरा जाल, झोलिएको ओसले र तन्किँदै गयो’ हाइकु वाचन गरेर महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा. बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा अमात्य श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन (अमर), दिल पौडेल, रेणुका भट्टराई र मनोज न्यौपानेलगायत हाइकु सम्मान–२०८० द्वारा सम्मानित भएका छन् ।
यसै क्रममा कुलपति राईले नेपाली मौलिकतासहित हाइकु कवितालाई बचाउनुपर्नेमा जोड दिँदै हाइकु कविताबारे प्राज्ञिक बहस र विमर्श गर्दै लघुकविताको भिन्नतालाई पनि एकिन गर्न अनिवार्य रहेको बताए । यसबारेमा प्रज्ञा प्रतिष्ठानले पनि विमर्श गर्ने उनले बताए ।
महोत्सवका विशेष अतिथि हाइकुकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, अतिथि वक्ताहरू प्रा.डा. लेखप्रसाद निरौला, डा. यज्ञेश्वर निरौला, डा. विनोद मन्जन, डा. हरिप्रसाद सिलवालले हाइकु कविताको सैद्धान्तिक र सिर्जनात्मक पक्षमा आ–आफ्नो दृष्टिकोण राखेका थिए । यस्तै कवि सिर्जना सरोवरले पनि मनतव्य राखेकी थिइन् ।
विशेष अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले पनि हाइकु वाचन गरिन् । यसैअनुसार हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, धीरेन्द्र प्रेमर्षि, दिल पौडेल, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, जीवन सुवेदी र रेणुका भट्टराईलगायतले हाइकु वाचन गरे ।
यसैगरी हाइकुकार पुष्कर लोहनी, गोपालप्रसाद थपलिया, दिव्य गिरी, टेकबहादुर लौडारी, अरूणबहादुर खत्री नदी, होमशङ्कर बास्तोला, भुवन शिवाकोटी (चौघरे), सानु शर्मा, राजेन्द्रकुमार बज्राचार्य, उर्मिला डङ्गोल, अन्जना पौडेल, मङ्गला कङ्साकार तुलाधर, नरेन्द्रबहादुर श्रेष्ठ, गोधूलि दिनेश, कृष्ण बाउसे, सुवास जमरकट्टेल, रामेश्वर जलन, प्रीति आत्रेय, गङ्गा भेटवाल, चन्द्रकला शाह, सुरेश प्रधान, तुपु पुं र एन.बी जनकपुरी र कुन्दन पन्त लगायतले हाइकु वाचन गरे ।
यसैगरी सञ्चारकर्मी तथा साहित्यकार सरस्वती गौतम र रेणुका भट्टराईलगायत अन्य सञ्चारकर्मीले राष्ट्रिय हाइकु महोत्सवको छायाँकन गरी प्रचारप्रसारमा सहयोग पुर्याएका थिए । नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ चेतनाथ धमलाले प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठानका कुलपति राई र प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीलाई मायाको चिनो प्रदान गरे । यसैगरी राष्ट्रिय हाइकु महोत्सवका अरू अतिथि वक्तालाई कुलपति राईले मायाको चिनो प्रदान गरे ।
यसैगरी महोत्सवको समापन गर्दै नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ धमलाले हाइकु कविताको सिर्जना गर्दा सैद्धान्तिक विचलन हुन नहुने तर्क राखे । उनले हाइकु कवितालाई गतिशीलता दिन, हाइकुकारहरूबीच आपसी परिचित गराउन, हाइकु कस्तो हुनुपर्छ भन्ने यथार्थबोध गराउने उद्देश्यले राष्ट्रिय हाइकु महोत्सवको आयोजना गरिएको बताए ।
अब निकट भविष्यमा हाइकु वाचन शृंखला शुरु गर्ने, भर्चुअल राष्ट्रिय हाइकु महोत्सव गर्ने, हाइकु प्रशिक्षण सञ्चालन गर्ने, हाइकु सम्मानलाई निरन्तरता दिने, हाइकु पुरस्कार स्थापना गर्ने र प्रतिनिधिमूलक हाइकुसंग्रह प्रकाशनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल हाइकु संघका केन्द्रीय सदस्य कृष्णभक्त बोडेले स्वागत मनतव्य र साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
–हेमराज अधिकारी
टन्टलापुर घाम लागेको थियो । मण्डल माइलाको घरमा दुई बुढाहरू बसेर फिका चिया पिउँदै कुरा गरिरहेका थिए । रिजाल बुढाले ‘एक देश, एक रासन कार्ड’को विषयमा मण्डललाई सोध्दै थिए । मण्डलले जाने बुझेको कुरा भन्दै थिए । “केही फरक पर्दैन काहिँला, आखिर तैंले अम्लिसोको कुचो पुर्याउने भनेको त्यही बजारको सुरेशकुमारकैमा हो । तेरो रछेन घुरेनमा आएर टिन प्लास्टिक, लाबरका टुक्रा, बोतल, स्टिल, सिल्बरे, पित्तल, उठाउने उनीहरूले नै हो । तेरो अदुवा बारीमा आएर बगान किन्ने पनि उनीहरू नै हो । तँ खाईनखाई फापर, अलैंची, तोरी, अन्न पानी, तेल पिसाउने दाम तोक्ने उनीहरू । तँ जस्ता लाखौं किसानले यो देशका नेताको भाग्य र भविष्य बनाउँछन्, तर आखिरमा तेरै छोराछोरीको भविष्यसँग खेलवाढ गर्ने उनीहरू नै हुन् । अब कसको विश्वास गर्छस् त ? तेरो छोराले घर बनाउँदै छ अहिले । अहिले त त्यो मिस्त्रीको बुढी मात्रै छ यहाँ । अब रासन पनि यहीँ पाउने भएपछि त छोराछोरी नाता गोता आफन्त साफन्त सबै लाइनमा लाग्ने हुन् । आखिर यो देशमा जहाँ गएर बसे पनि भोट हाल्न पाउने अधिकार सबैकोमा छ । भोलि उनीहरू नै यो गाउँमा पञ्चायत बनाउँछन् । अनि पञ्चायत सञ्चायत मिलेर काउन्सिलर बनाउँछन् । अनि हँुदा हँुदै एमएलए पनि कुनै ठूूलो कुरा भएन । अनि त सरकार पनि उनीहरूकै हुन्छ । अनि तँ जस्ता लाटासिधा माथि शासन उनीहरूकै हुन्छ । अहिले बजारमा गएर तेरो बारीको फलफुलको भाउ उनीहरूलाई सोधपुछ गर्दैछस् भने भोलिको तेरो छोराको पालोमा के हुन्छ राम्रो सोच”, भनेर मण्डलले एकै श्वासमा रिजाललाई उचाल्यो ।
रिजालले मण्डलको कुरा सुनेर लामो सुस्केरा तान्दै बिँढि सल्कायो । रातो आगोको धुँवा स्वाट्ट मुखभित्र निल्दै मनिपुरे बटुकाको चिया पियो । मण्डलले रिजाललाई उचाल्नु थियो उचाले । अब यति भएपछि त्यो गाउँमा रिजालले यो कुरो फुकिहाल्थ्यो । रिजाललाई बस्दै गर है भनेर टाट्नामा भएको बनमारा सरिको घाँस मण्डलले पेटारी बाख्रालाई थपिदिएर आए । रिजालले सिकुवाको खाटमा अस्कोट खोल्दै सिरानी पट्टी पट्याउँदै त्यसमाथि लमतन्न भएर टाउको राख्दै अर्को बिँढि सल्काए । मण्डलनीले अर्को कित्लिमा सेलाएको चिया दुवै बुढाको बटुकोमा थप्दै भित्र पसिन् । रिजालले सोच्नु थाल्यो । आखिर आफ्ना लागि आफैंले केही नगरे कसैले त्यसै खान दिने होइन । तेल बेच्ने, कुकर बनाउने, भाँडाकुँडा बेच्ने, दाम्ला नाम्ला बेच्ने, सिरक तोषक बेच्ने, लुगाफाटो बेच्ने, हँसिया कचिया बेच्ने, भुष पिना बेच्ने, नुन मसला बेच्ने, उनीहरू नै त हुन् । हाम्राले त कुरै मात्र ठूलो गर्ने हुन् । बिपिएलको लाइनमा बसेर अनि एपिएल कुरा गर्ने । खेत खलियान जम्मै बाँजो राखेर गफले अमेरिका–अफ्रिका जान्ने । जान्नु तान्नु केही छैन अर्कालाई बाठो भयो भन्ने । मन परेको पार्टी हो भन्दैमा सुजो न बुजो काँध हालिहाल्ने । नेता करोडपति आफूू चाहिँ खुुरापती, गफाढीपति । घरमा तातोछारो केही छैन देखावटी जाति । मण्डलको कुरा ठिकै हो भनेर रिजाल सोच्दै थियो । यत्तिकैमा मण्डल आएर छेउको कुर्सीमा ढल्केर बसे । मण्डल धेरै जान्दैनथे । उनले भोलि हुने कुरा आजै भन्थे । उनले गरेको कुरा सबै पुग्थ्यो । गाउँलेले उनलाई खुबै मान्थे ।
रिजाललाई कुममा हिर्काउँदै भने, “हेर रिजाल, यो देशमा स्कुल, कलेज छुट्टी भएको सत्र महिना भैसक्यो । तर, कुनै पनि होस्टेलमा विद्यार्थीको फिसको छुट भएको छैन र हुने कुरा पनि छैन । यो अनलाइन शिक्षाले छोराछोरीको आँखा समाप्तितर्फ धकेल्दै छ । उज्यालो हुने बित्तिकै फोन आँखामाथि हुनुपर्ने । मान्छे सुतेर आकाश पट्टी फोन तेस्र्याएर तेस्का बाजेको च्याटिङ्ग । हामीले उहिले पात्रो हेरे जस्तो । यो फोनको तेज उज्यालोले नानीहरूको आँखा स्वाहा बनाइसक्यो । अनलाइन शिक्षा भन्छन्, कसले परीक्षा बस्दै छ गुरुबाउ गुरामालाई पत्तो छैन । ठूलाघरे अन्तरेकी छोरी आठ वर्षकै उमेरमा हिजो चस्मा टसाएर ल्याएछन् । थापा कान्छाको ठूलो केटालाई अस्ति तीन दिन अगाडि बिर्तामोड पुर्याएको अरे, आँखा जाँच गर्न । अब होशियार रहने समय आयो । के गर्नु हाम्रो पालोमा यस्तो थिएन”, भन्दै मण्डलले चिया स्वाट्ट पारे ।
मण्डलको घरमा दिनहुँ यस्तै गाउँका बुढापाका आउँथे । मण्डलनि भुटेको मकै र फिका चिया ओसार्थिन् । आज पनि दाहाल काहिँला, अधिकारी जेठा, नेउपाने साहिँलो, धुप्पी कान्छो लेप्चा, गोकुल भोटिया, माकृङ कान्छो थुप्रै भेला भए । तामाङ कान्छोले सबैलाई हसाउँथ्यो । आज पनि हँसायो । मण्डल र रिजालका कुरा सुनेर सबै दङ्ग परे । एकै श्वासमा रिजालले भए भरका कुरा सार्वजनिक गर्यो । अब हामी आफ्नो कागज पत्र दराजमा थन्क्याएर मात्रै बस्नेकी बाहिर निस्केर केही गर्ने भनेर मण्डलले लठ्ठी तेर्साए । गोकुल धेरै बाठो थियो, उसको छोरा नोकरी पनि गथ्र्यो । उसले भन्यो, “अब हामी बुढापाकाले नयाँ केही सोच्नुपर्छ । काचो कचिला केटाले मुलुकलाई सोचेनन् । कुरा एकापट्टि काम अर्कै पट्टी । अब यो पाराले त हामी हाम्रो कागज पत्र बलियो छ भनेर मात्रै गजक्क परेका छौं । काम जति तमाम अर्कैले बनाइसक्यो । होनहार दैव नटा ।”
मण्डलले आँगनमा उभिएर लठ्ठी तेर्साउँदै भन्न थाले, “हेर गाउँले हो । अब पनि जागेनौ भने हाम्रो अस्तित्व खतरामा पुगिसकेको छ । ठूला–ठूला विभागका सप्लायर को छन् ? सोचेका छौं ? पैसा कसले कमाउँदै छ ? तिम्रो हाम्रो माटोलाई माया गर्नेहरू सबै गलित र लज्जित भैसके । हामी त घरमै स्वास्नी र छोराछोरीको छेउमा भुक्ने मात्र हौं । हाम्रो अदुवा, अलैंची, कुचो, फापर, मकै, गहुँ, तोरी, गोरु –बाख्रा, थोत्रो टिन प्लास्टिक मात्र उनेरको हातमा होइन हाम्रो भाग्य र भविष्य पनि उतै गइसकेको छ । हाम्राले सानोतिनो काम कम्पनीमा गर्न पाए भइगयो तर, कम्पनीको बिस्तार गर्ने उनीहरू नै भए । अब जग्गा जमिन कम्पनीलाई धितो नगर । छोराछोरीलाई घर घडेरी राख । अब हामी बुढाहरू तात्तिनुपर्छ । मुलुकलाई सोच्ने काम गर्नुपर्छ । यो देशको कानुन कृषकले बनाउनुपर्छ । कृषिमा आधारित हाम्रो जिवनशैली हुनुपर्छ । तिमीहरूलाई थाहा छ ? यो सिलिगुडी शहर चलाउने, कैंया मोदीलाई करोडपति बनाउने हाम्रै पहाडका हाम्रै जाति हुन् । दार्जिलिङ्ग, सिक्किम, मनिपुर, आसाम, डुवर्स, भोटाङ, पूूर्वी नेपालका हाम्रै दाजुुभाईले रातारात यिनिहरूलाई अरब खरब कमाउने बनाए । हाम्रै इस्कूस, घिरौंला, डल्ले खुुर्सानी, फलफुलले यिनिहरू मात्तिनु थाले । अब देशको बाग्डोर बुढाहरूको काँधमा आउनुपर्छ के उल्लु जस्तो लाटाले पापा हेरे जस्तै हेर्छौ ?”
आँगनमा गडगडाहट् ताली बज्यो । “मण्डल माइलो जिन्दावाद जिन्दावाद !” नारा गुञ्जिन थाल्यो । गोकुलले गोजिबाट एउटा खदा झिकेर मण्डलको गलामा लगाइदियो । सबै ताली बजाउन थाले । मण्डलनिले भुटेका मकै, मुलाको साग र फिका चिया आँगनको टेबुलमा राखिन् । सबै जोशमा आएर मर्याङ मर्याङ चबाउनु थाले ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies