काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको १८८औं बैठकले चौलागाईंलाई मार्केटिङ अफिसरमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
चौलागाईंसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्यानुभव छ । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रुपमा आवद्ध थिए ।
काठमाडौ : चाइनाहाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स)को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगाबिजनेस ग्रुप नियुक्त भएको छ । दुई कम्पनीहरुले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ ।
व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने भ्यानहरु वातारणमैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । साथै, अप्रिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन् । छ वर्ष वा तीन लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुलचार्जमा), लिथिएम आएन ब्याट्री प्याक, २०५ एमएम ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि गाडीका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।
भ्यानहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित रहेको साथै ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ । चीनको सरकारद्वारा सञ्चालित सीएचटिसी मोटर्स विश्वमा पाँच सय सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलले आउँदै गरेको १७औं वार्षिकोत्सवलाई मध्यनजर गर्दै शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले सुदुरपश्चिम प्रदेश अन्तर्गत सुख्खड शाखा र बागमती प्रदेश अन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले घोडाघोडी नगरपालिका, ८ आमफाँटा कैलालीमा अवस्थित सीएस अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको थियो । यसैगरी काठमाडौं कपन शाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा शिविर संचालन गरेको हो ।
कार्यक्रममा विरामीहरुको रक्तचाप, मधुमेह परीक्षण लगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको थियोे । उक्त स्वास्थ्य शिविरहरुमा करिब तीन सय ५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेको बैंकले जनाएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता स्वास्थ्य शिविर प्रदेशका अन्य शाखाहरुमार्फत् पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।
काठमाडौं : एनआईसी एशिया बैंकले कर्जाका ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्ने भएको छ । बैंकले छुट सम्बन्धी योजना सार्वजनिक गर्दै कर्जाका ग्राहकहरुलाई छुटको व्यवस्था गरेको हो ।
बैंककाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता २०८० चैत्र मसान्तसम्म लाग्ने जरिबाना तथा हर्जानामा शतप्रतिशत छुट र ब्याजमा समेत छुट हुने जनाएको छ । यस्तै मासिक तथा त्रैमासिक किस्ताबन्दी भुक्तानी हुने वा चालु पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरुका ऋणी समेत सो योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले जनाएको छ ।
विराटनगर : नेपाल एसबिआई बैंक र विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल (न्युरो अस्पताल) मा उपचार सेवामा छुट हुने भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।
बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।
काठमाडौं : आधुनिकताको विकाससँगै नोटको कारबार घट्ने र डिजिटल कारोबारमा वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष (आव)को आठ महिनामा मोबाइल बैंकिङ कारोबार ७८ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् कुल दुई खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।
पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि डिजिटल कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा जोड दिएपछि सो नतिजा आएको देखिन्छ । पछिल्लो समय नगदसहित विद्युतीय भुक्तानीको कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग र प्रयोगकर्ता बढेको राष्ट्र बैंककोे तथ्यांकले देखाएको छ ।
२०७९ असार मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् एक खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा एक खर्ब २८ अर्ब ६९ करोड रुपैयाँले कारोबार बढेको छ । समीक्षा अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या पनि दुई करोड ३७ लाख ८३ हजार पुगेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ८३ लाख सात हजार मात्रै थियो ।
यस्तै, कनेक्ट आइपीएसमार्फत् चार खर्ब ८३ अर्ब बढीको कारोबार भएको छ । सो अवधिमा कनेक्ट आईपीएसमार्फत् ५९ लाख ७१ हजार एक सय १५ पटक कारोबार भएको छ । कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्या भने १२ लाख २८ हजार एक सय ४० रहेको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा एक करोड ८७ लाख ४९ हजार बराबरका इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुमार्फत् १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत असार मसान्तसम्म यस्ता प्रयोगकर्ता एक करोड ६८ लाख ४३ हजार मात्रै थिए भने कारोबार १५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ बराबर भएको थियो । तुलनात्मक रुपमा यो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै घट्न पुगेको तथ्यांकले देखाएको छ ।
डिजिटल कारोबारमार्फत् आफूलाई आवश्यक टेलिफोन, विद्युत, खानेपानीलगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने, एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने, वस्तुहरुको किनमेल लगायतका काम गर्न सकिन्छ । त्यसैले पनि पछिल्लो समयमा मानिसहरुको डिजिटल कारोबारतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।
काठमाडौं - एन आई सी एशिया बैंकले निष्क्रिय कर्जा ग्राहकलाई छुट दिने भएको छ । छुटयोजना अन्तर्गत ऋणीले २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट सहित ब्याजमा छुट दिने भएको हो । ब्याज छुटका लागि बैंकले कमसल कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत गरी बर्गीकरण गरेको छ ।
मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा ग्राहकका लागि सो योजना ल्याएको बैंकले जनाएको छ । एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
काठमाडौं- आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। यो हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार २५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ६९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३२ रुपैयाँ तोकेको छ।
गोदावरी - धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।
विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको गौशालामा अहिले एक सय ११ गाई छन् । गौ संरक्षण सेवा समिति गठन गरेर छाडा छाडिएका गाई पाल्न सुरु गरिएको गौशाला सुदूरपश्चिम सरकार, धनगढी उपमहानगरपालिका र स्थानीय चन्दादाताबाट रकम सङ्कलन गरेर स्थापना गरिएको हो । धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ । सुरुमा चन्दाबाट चलाइएको गौशालाले अहिले दूध र गोबरबाट आम्दानी लिन थालेको गौशालाकी प्रबन्ध निर्देशक रीता अवस्थीले बताए । निर्देशक अवस्थीका अनुसार गौशालामा दैनिक २५ लिटर दूध बिक्रीबाट मासिक रु ६७ हजार पाँच सय गोबर बिक्रीबाट मासिक रु ५० हजार र गौदानबाट रु २५ हजार आम्दानी भइरहेको छ । सो आम्दानीबाट सात कर्मचारीलाई वर्षभरि रोजगारी दिन सफल भएको उनले बताए ।
सडकमा छाडिएका गाईको दयनीय अवस्था देखेर स्थानीय भोजराज पाठकको अध्यक्षतामा गौ संरक्षण सेवा समिति गठन गरी गौशाला निर्माण र गाईको आहाराको व्यवस्था गर्न धनगढीका विभिन्न ७० जनाले दानस्वरुप रकम उपलब्ध गराएका थिए । चन्दादाताबाट प्राप्त रकमले गाईको आहार व्यवस्थापन हुँदै आएको छ । गौशालामा भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारबाट रु ४० लाख, धनगढी उपमहानगरपालिकाबाट रु १० लाख र तत्कालीन प्रदेशसभा सदस्य डिल्लीराज पन्तबाट रु आठ लाख बजेट उपलब्ध भएको जनाइएको छ ।
पछिल्लो समय पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह देखिएको छ । यससँगै काठमाडौंको दरबारमार्ग र ठमेल २४ सैं घण्टा खुलाउने योजना र पोखरालाई पर्यटनको राजधानी घोषणासँगै पर्यटन उद्यमीमा थप उर्जा थपिएको छ । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आए भने २०२४ मा दोब्बर ल्याउने सरकारले घोषणा गरेको छ । पर्यटनमा सम्भावना देखेर पाँच तारे चेन होटलदेखि पर्यटकीय स्तरको होटलहरु धमाधम सञ्चालनमा आइरहेका छन् । अब पर्यटन उद्योगलाई थप विकास गर्न सरकार र निजी क्षेत्र कसरी अगाडि बढ्नु पर्छ भनेर होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहसँग मध्यान्हका छबि सापकोटाले कुराकानी गरेका छन् ।
पर्यटकको आगमन बढ्दा पर्यटन क्षेत्र तङग्रिएको हो ?
पर्यटन क्षेत्र बहु–आयामिक क्षेत्र हो । एक जना पर्यटक आउँदा बित्तिकै सबै क्षेत्रमा फाइदा भइरहेको हुन्छ । होटल, रेष्टुरेण्ट, ट्राभल्स, टे«किङदेखि स–सानो व्यवसायलाई समेत लाभ हुन्छ । कोभिड–१९ अघि कै अवस्थामा नेपालमा पर्यटकको आगमन भएको छ । पर्यटन क्षेत्रले लय समाएको देखिन्छ । पर्यटक त आएका छन् तर, उनीहरुले गर्ने खर्च भने बढ्न सकेको छैन । नेपालमा चीन र भारतबाट आउने पर्यटकको संख्यामा वृद्धि भएको छ, यसले आगामी दिनमा पर्यटन क्षेत्रको उज्वल भविष्य देखाएको छ । जसले गर्दा पछिल्ला दिनमा पर्यटन व्यवसायको क्षेत्रमा उत्साह थपेको छ ।
पर्यटन व्यवसायको उत्साहलाई थप अगाडि बढाउन अब गर्नु पर्ने काम के देख्नुहुन्छ ?
पर्यटन क्षेत्रको विकास गर्ने हो भने सबैभन्दा पहिलो योजना नै चाहिन्छ । योजनाबद्ध तरिकाले सरकार र निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्छ । आगामी दिनमा हाम्रो गन्तव्य स्पष्ट भयो भने काम गर्न सहज हुन्छ । कोभिड पछाडि संसारभरी नै टुरिजम क्षेत्रलाई असर गरेकै हो । पर्यटकीय गन्तव्य भएका मुलुकहरुले पर्यटक भित्र्याउन नयाँ–नयाँ योजना, रणनीति, अफर र योजना बनाइरहेका छन् । अझैपनि सिमित मात्रामा मात्रै पर्यटकहरु घुम्नको लागि निस्किएका छन् । उनीहरुलाई आफनो देशमा कसरी आकर्षण गर्ने भन्ने नै प्रमुख कुरा हो । जुन देशले पर्यटकको लागि योजना, कार्यक्रम, रणनीति बनाउन सक्छन् पर्यटक त्यतै जान्छन् । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आए । २०२४ को शुरुदेखि नै नेपालमा पर्यटकको आगमन राम्रै छ । यहि मार्चमा पनि एक लाख २८ हजार पर्यटक नेपाल आएका छन् । यो अहिलेसम्म कै रेकर्ड हो । अब आगामी दिनहरुको अवस्था हेर्दा अहिलेसम्म होटल क्षेत्रको बुकिङ समेत राम्रो छ । यसलाई कसरी संस्थागत गर्ने, कसरी बढाउने भन्ने प्रश्न छ । घुम्न निस्कने पर्यटकहरुले कुन देशमा पर्यटकलाई कस्तो सेवा सुविधा छ भनेर हेरिरहेका हुन्छन् ।
सरकार र निजी क्षेत्रको भूमिका के हुनुपर्छ ?
निजी क्षेत्रले एक पछि अर्काे पाँच तारे होटलदेखि पर्यटनमैत्री होटलमा लगानी बढाइरहेका छन् । २०२३ मा १० लाख पर्यटक नेपाल आएका छन् त्यो भन्दा तीन गुणा ३० लाख पर्यटकलाई सेवा, सुविधा दिन सक्ने क्षमता निजी क्षेत्रको होटलमा छ । नेपाल आएको पर्यटकलाई खाने, पिउने, बस्ने, मनोरञ्जन गर्न, सभा सम्मेलन गर्न समेत स्थान तथा सुविधा उपलब्ध गराउन निजी क्षेत्र सक्षम छ । हामी निजीले क्षेत्रले गर्ने लगानी र तयारी धेरै गरिसकेका छौं । अब सरकारको भूमिका धेरै नै देखिन्छ ।
पूर्वाधार, कनेक्टिभिटी, सडक सञ्जाल, एयरपोर्ट सञ्जाललाई व्यवस्थित बनाउन आवश्यक छ । पोखरा र भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्ट तयार भयो, तर सञ्चालनको लागि गृहकार्य देखिएको छैन । अन्तर्राष्ट्रिय उडान छैन । पर्यटकको मुख्य डेस्टिनेसन पोखरा, चितवन, लुम्बिनी जाने बाटो हेर्दा बिजोक छ । अहिले स्तरउन्नतको काम भइरहेको देखिन्छ । बाटो ठूलो बन्दै छ, राम्रो हो तर, यति ढिलो काम भएको छ की काम सकिने बेलामा ३० प्रतिशत मात्र प्रगति छ । यसले के देखाउँछ भने सरकारले पूर्वाधार निर्माणमा थप जोड दिनुपर्छ ।
सरकारी संयन्त्र कमजोर हुँदा पर्यटन क्षेत्रले गति लिन सकेको छैन । अहिले पर्यटनबाट जति प्रतिफल प्राप्त छ त्यसलाई दोब्बर बनाउनेतर्फ ध्यान दिन जरुरी छ । सरकारले समेत यस वर्ष १० लाख पर्यटक आए अर्काे वर्ष २० लाख पर्यटक भित्र्याउने सार्वजनिक रुपमा घोषणा गरेको छ । सरकारले लिएको लक्ष्यलाई साथ दिन होटल व्यवसाय क्षेत्र तत्पर छांै । सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम बजेटमा २०२३–२०३२ सम्मलाई पर्यटन दशक भनेर समेत घोषणा गरेको छ । त्यसमा एक वर्ष समय बितिसकेको छ तर, सरकारको तयारी देखिँदैन । निजी क्षेत्र उत्साहित हुँदा सरकारका तीनै तहको एक अर्कामा समन्वयकारी भूमिका हुन सकेको छैन । अब आउँदो बजेटले पर्यटन क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो बनेमात्रै पर्यटनबाट पाउने प्रतिफल अहिलेको भन्दा दोब्बर हुन्छ ।
चीन र भारतबाट पर्यटक बढी आएका छन् । अझै बढी भन्दा बढी पर्यटक भित्र्याउन के गर्नुपर्छ ?
हामी चीन र भारतको बिचमा छौं । कोभिड भन्दा अघि चीनबाट मात्रै २० करोड पर्यटक घुम्न निस्केका थिए भने भारतबाट समेत १० करोड पर्यटक विभिन्न मुलुक घुम्न निस्केका थिए । यसरी हेर्दा हामी ३० करोड घुम्ने पर्यटकको बिचमा छांै । ३० करोड मध्ये एक प्रतिशत मात्र नेपालमा पर्यटक आउने हो भने नेपालले केही गर्नै पर्दैन । त्यो सम्भव पनि छ । दुवै देशसँग नजिक हामी छौं । नयाँ बनेको भैरहवा र पोखरा विमानस्थलबाट दुवै देशमा उडान विस्तार गर्ने बित्तिकै पर्यटकको आगमन ह्वात्तै बढ्छ । यसमा सरकारको गृहकार्य पुग्न सकेन । आजदेखि शुरु गर्नसकेमा छ महिनामा नतिजा आउन सक्छ । तर, खै त तयारी ?
पछिल्लो समयमा पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटल थपिएका छन्, यसले के संकेत गर्छ ?
निजी क्षेत्र, विशेषगरी होटल क्षेत्रका लगानीकर्ता धेरै नै आशावादी छौं । अहिले जसरी होटल बनेका छन्, सानो लगानी होइन । पाँचतारे होटलमा अर्बौंको लगानी भएको छ । अर्बौं लगानी गर्ने लगानीकर्ताले भविष्य देखेर नै लगानी गरेका हुन् । चीन र भारतको बीचमा हामी छौं । दुवै देश तीव्र आर्थिक विकासमा अग्रसर छन् । दुवै देशमा घुम्न जाने र खर्च गर्न सक्ने ठूलो संख्या छ । त्यहाँबाट ठूलो संख्यामा पर्यटक ल्याउने योजना मात्र बनाउन सक्ने हो भने देशैभरको पर्यटन व्यवसाय फस्टाउन सक्छ । पूर्वाधार निर्माण हुने बित्तिकै हामीलाई पर्यटक ल्याउन कठिन छैन । नेपालमा आएर सगरमाथा चढ्ने, हिमाल हेर्ने, ¥याफ्टिङ गर्ने जमात धेरै नै छ । यस्तै आन्तरिक पर्यटकको संख्या समेत अहिले बढ्दै गएको देखिन्छ । समस्या हाम्रो देश राजनीतिमा बढी तर, अर्थनीतिमा ध्यान निकै कम छ । एक रथको दुई पाङ्ग्रा राजनीति र अर्थनीति हुन् । अहिले राजनीति मात्र अगाडि बढेको छ अर्थनीति चल्न सकेको छैन ।
होटल क्षेत्रमा लक्जरीको कर हटाउने माग गर्दै आउनु भएको छ, सो करले पर्यटन क्षेत्रलाई के असर गर्छ ?
होटल क्षेत्रमा १३ प्रतिशत कर त थियो नै, थप दुई प्रतिशत लक्जरी कर थपिएको छ । लक्जरी करले देशलाई नै बदनाम गराएको छ । अरु देशहरुले छुट दिइरहेका छन् । नेपालले थप दुई प्रतिशत लक्जरी कर किन लगाएको होला ? नेपाल आउने पर्यटकलाई समेत बुझाउन नसक्ने अवस्था छ । कोभिडबाट ग्रसित होटल व्यवसायलाई लक्जरी करको कारण झनै मार परिरहेको छ । सरकारलाई राजस्व चाहिन्छ तर, के मा कर लगाउँदा के हुन्छ भन्ने समेत अध्ययन छैन । कर थप्ने भन्दा पनि बढी भन्दा बढी पर्यटक ल्याउनेतर्फ हामी जुट्नु पर्ने हो । थप करले पर्यटक आगमनको ढोका लगाउने काम भएको देखिन्छ । थप कर पर्यटनमैत्री छैन । आगामी बजेटले होटल क्षेत्रको लक्जरी कर हटाउनु नै पर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies