कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : सरकारले वैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनमा ३६ देशका ४ सय ६५ जनाको सहभागिता हुने भएका छन् । बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायका अनुसार नेपालले सम्मेलनमा सहभागी हुनेको लागि १३ सय ५५ जनालाई औपचारिक पत्र पठाएको छ । त्यसमध्ये ४ सय ६५ जना आउने निश्चित भएको हो ।
सहभागिताका लागि कुटनीतिज्ञ, संस्थाका प्रतिनिधि र लगानीकर्ताले सहभागिताको लागि कन्फर्मेसन पठाएका छन् । लगानी बोर्डकाअनुसार अहिलेसम्म लगानी सम्मेलनमा सबैभन्दा धेरै चीनबाट ६४ जनालाई कन्फर्मेसन पठाएको छ । यसैगरी भारतबाट ५७, जर्मनीबाट १२, बेलायतबाट ११, अमेरिका र बंगलादेश १०-१० जना, युएई र जापानबाट ८-८ जना, दक्षिण कोरियाबाट ७ जना, पाकिस्तान र अस्ट्रेलियाबाट ६–६ जनाले सहभागिता हुने र सोको लागि कन्फर्मेसन पठाएको छ ।
सिंगापुर, मलेसिया, रसिया, फिनल्यान्ड, कोलम्बिया, क्यानडा, कतार, बेल्जियम, बहराइन, अस्ट्रिया, भियतनाम, थाइल्यान्ड, स्विट्जरल्यान्ड, साउदी अरेबिया, श्रीलंका लगायतका मुलुकबाट पनि लगानी सम्मेलनमा सहभागिताको लागि कन्फर्मेसन आएको लगानी बोर्डले जनाएको छ । बोर्डका अनुसार सम्मेलनमा अहिलेसम्मको कन्फर्मेसन अनुसार सबैभन्दा धेरै नेपाली लगानीकर्ता सहभागी हुनेछन् भने इयू र विश्वका विभिन्न अन्तर्राष्ट्रिय कम्पनी तथा संस्थाका ६० भन्दा धेरै प्रतिनिधिको पनि सहभागीताको लागि कन्फर्मेसन पठाएका छन् ।
लगानी सम्मेलन शुरु हुन अझै १० दिन बाँकी रहेकोले कन्फर्मेसनको संख्या बढ्दै जाने लगानी बोर्डका प्रवक्ता उपाध्यायले बताए । बोर्डको तथ्यांक अनुसार यस अघि सन् २०१७ मा भएको पहिलो लगानी सम्मेलनमा २१ देशका २ सय ५७ जना विदेशी र पाँच सय जना नेपाली लगानी कर्ताको सहभागिता भएको थियो । यसैगरी सन् २०१९ मा भएको दोस्रो लगानी सम्मेलनमा ४० देशका ७ सय ३५ जना विदेशी र ६ सय जना नेपाली लगानी कर्ताको सहभागिता रहेको थियो ।
काठमाडौं : स्वास्थ्य उपचार सामग्रीमध्ये महत्वपूर्ण र अनिवार्य मानिने सिरिन्ज नेपालमै पहिलो पटक उत्पादन शुरु भएको छ । ललितपुरको चुनिखेलमा ६ वर्ष अगाडि स्थापित फरच्युना हेल्थ केयर प्रा.लि.ले फरच्युना सिरिन्ज उत्पादन शुरु गरेको हो ।
सो प्रा.लि.ले आफ्नो उत्पादन फरच्युना सिरिन्ज विश्व गुणस्तरीय भएको दाबी गरेको छ । नेपाललाई सिरिन्ज उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य कम्पनीले राखेको छ । मुलुकको औद्योगिक विकास, आयात प्रतिस्थापन तथा गुणस्तरीय उत्पादनको प्रतिबद्धतासहित फरच्युना हेल्थकेयरले स्वदेशी अस्पताल, क्लिनिक तथा निजी प्रयोजनका लागि आवश्यक सिरिन्जहरुको उत्पादन थालेको छ ।
फरच्युना सिरिन्ज एक एमएलदेखि ५० एमएलसम्म र इन्सुलिन सिरिन्ज समेत उत्पादन हुनेछ । कम्पनीले चाँडै नै आईभी क्यानुला, हाइ क्वालिटी ग्लभ्स, ब्लड कलेक्सन ट्युव, आईभी क्यानुला फिक्सटर, एब्जर्बेन्ट कटन उल आईपी, गज, आईभी सेट, यूरीन ब्याग, क्रेप एन्ड रोल ब्यान्डेजलगायतका उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको छ ।
‘स्वस्थ जीवन समृद्ध नेपाल’ भन्ने लक्षका साथ करिब ८० करोडको लगानीमा सञ्चालित फरच्युना हेल्थकेयर प्रा.लि.को उद्योगमा सय जनाभन्दा बढीलाई रोजगारी दिइएको छ । नेपालमा १५ भन्दा बढी मुलुकबाट सिरिन्ज आउने गरेको भएपनि विदेशी कम्पनीलाई विस्थापित गर्ने उद्देश्यको साथ कम्पनीले उत्पादन थालेको हो । कम्पनीले आफ्ना उत्पादन विश्व स्वास्थ्य संगठनले औषधि उद्योगका लागि तोकेको मापदण्ड जीएमपीमा आधारित रही आईएसओ मापदण्डको स्ट्यान्डर्ड पूरा गरिसकेको र नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ ।
उद्योगबाट दैनिक ३ देखि ५ लाख सिरिन्ज उत्पादन गर्ने लक्ष्य राखिएको छ । उद्योगको अध्यक्षमा भवानी राणा, प्रबन्ध सञ्चालकमा ईश्वर जिसी र सञ्चालकमा भरत आचार्य र बाबुकाजी कार्की रहेका छन् । फरच्युना सिरिन्जको उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार एक विशेष समारोहबीच उद्घाटन गरे ।
यस्तै कार्यक्रम उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललगायतले नेपालमै सिरिन्ज उत्पादन भएकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा स्वागत मन्तव्य राख्दै फरच्युना हेल्थकेयर प्रा.लि.की अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रमा उत्पन्न निराशाहरुका बीच नयाँ वर्षको आगमनसँगै आफूहरुले स्वास्थ्य सामग्रीमध्ये महत्वपूर्ण सिरिन्ज नेपालमै उत्पादन गरेर बजारमा ल्याएको बताइन् ।
यस्तै सो प्रा.लि.का प्रबन्ध सञ्चालक डा. ईश्वर जिसीले धन्यवाद ज्ञापन गर्दै उद्योगलाई अगाडि बढाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रको पूर्ण सहयोगको आवश्यकता रहेको बताए ।
पूर्वमिस नेपाल सुगारिका केसीले सञ्चालन गरेको कार्यक्रममा उद्योग मन्त्रालय र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु, वरिष्ठ डाक्टर, मेडिकल व्यवसायीहरु, उद्योगका शेयर धनी तथा कर्मचारीहरुका साथै लव्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं : शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्सले भारतीय वेरेबल ब्राण्डबोल्टसँग सहकार्य गरेको छ । यो सँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ ।
सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स्जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँ आयाम दिने विश्वास कम्पनीले लिएको छ । सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस (ट्रूवायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन्।
बोल्टका स्मार्टवाच अन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन भने टिडब्लुएस्, इयरबड्स अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७० र एक्स ४५ मोडलहरु रहेका छन् । जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भने, “भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।”
बोल्टका सह–संस्थापक वरुण गुप्ताले भने “जगदम्बा मोबाइल्स प्रा.लि.सँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । जगदम्बा मोबाइलको व्यापक सञ्जालले अत्याधुनिक प्रविधिलाई सबैका लागि थप पहुँचयोग्य बनाउने छ भन्ने हाम्रो विश्वास रहेको छ । साथै यसले हाम्रो विश्वव्यापी बजार विस्तार गर्न पनि सघाउ पुर्याउनेछ भन्ने हामीले आशा राखेका छौँ ।”
काठमाडौ : सिटिजन्स बैंक इन्टरनेशनलले १७ सय जनालाई भोजन गराएको छ । बैंकको सत्रौं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका १७ सय व्यक्तिहरुलाई १७ दिन भोजनको व्यवस्था गरेको हो । बैंकले आफ्नो सत्रौं वार्षिक उत्सव शुक्रबार मनाउँदै छ ।
भोटुस इन्दिरा समाज कल्याण संस्थासंगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदीकिनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरुलाई बैंकले भोजन वितरण गरेको हो ।
काठमाडौ : नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बितरकको रुपमा चाईनाको स्काईवेल प्रिमियम लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ प्राप्त रियल इभी यसयुभि जी मोटर्सले भक्तपुरको राधेराधेमा स्थित स्काईवेल शोरुमबाट सार्वजनिक गरेको हो सार्वजनिक गरेसंगै ९ थान गाडी ग्राहक डेलिभरी समेत गरेको छ ।
नेपालस्थित चिनियाँ दूतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्सका अध्यक्ष दुर्गा प्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुदघाटन गर्दे नयाँ गाडिको सार्वजनिक गरेका हुन् । नाडाबाट औपचारिक बुकिङ एबम ब्रान्डको बिक्री शुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपालमै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंङल चार्जमा तय गर्ने र १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राह्कलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीको दाबी छ ।
गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ बर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए । विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ।
स्काईवेल ईभी ५ को नेपाली बजार मुल्य रु. १ करोड ९ लाख रहेको कम्पनीले जनएको छ । २०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ । पछिल्लो समय विद्युतीय सवारी प्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी ईभीमार्फत स्वाइवेल ब्रान्ड आधिकारिक रूपमा ल्याएको हो ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो राष्ट्रिय लेखाव्यवसायी सम्मेलनको उद्घाटन समारोहमा उनले अर्थतन्त्रका केही परिसूचक सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग धन्दा विकासको माध्यमबाट अर्थतन्त्रलाई अझ चलायमान बनाउन आवश्यक देखिएको बताए ।
मन्त्री भण्डारीले भने, “सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरको सिर्जना गर्न आवश्यक देखिएको छ, यसले एकातिर अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्छ भने अर्कोतिर देशभित्रै रोजगारीका अवसर सिर्जना हुन्छ, यस कार्यमा लेखा व्यवसायी त्यसमा पनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका अझ महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।”
उनले विश्वमा कतिपय सफल मानिएका व्यवसाय गलत लेखाङ्कन र लेखाका सर्वमान्य सिद्धान्तको प्रयोग नगरिनाले सदाका लागि व्यवसाय बन्द गर्नुपरेको उदाहरण दिँदै गलत लेखाङ्कनले देशको अर्थतन्त्रलाई प्रत्यक्ष नकारात्मक असर पर्ने उल्लेख गरे ।
आर्थिक क्षेत्रको विकास विना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “आर्थिक क्षेत्रको विकासमा लेखा व्यवसायीको अहम् एवं प्रत्यक्ष भूमिका रहने कुरा सर्वविदितै छ, लेखा राख्नु नियमित काम भए पनि त्यसको विश्वसनीयता र पारदर्शिता समग्र आर्थिक विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ ।”
काठमाडौं : मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्ड प्रा.लि.बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेन्डसँग समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ ।
एक कार्यक्रम बीच यस समझदारी पत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको पनि जनाएको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङलगायतका सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको पनि बैंकले जनाएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा.लि.बीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन प्रा.लि.का संस्थापक तथा अध्यक्ष उद्धव बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकले हब इन्टरनेशनल एजुकेशन प्रा.लि.ले सिफारिस गरेका विद्यार्थीहरुलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ ।
हब इन्टरनेशनल एजुकेशनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकहरुले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात छिटो, सरल तथा सहजरुपमा यो कर्जा प्रवाह गरिनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : सरकारले चालु आर्थिक वर्षको ९ महिनाभित्रै २ खर्ब ३८ अर्ब ९३ करोड रुपैयाँ ऋण लिइसकेको छ । चैत मसान्तसम्म ऋणको साँवा र ब्याजका लागि २ खर्ब ९ अर्ब भुक्तानी गरेको छ ।
यो अवधिमा १ खर्ब ७६ अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ भने ६२ अर्ब ९३ करोड रुपैयाँ बाह्य ऋण लिएको छ । सो अवधिमा आन्तरिक ऋण बापतको साँवा १ खर्ब २५ अर्ब रुपैयाँ भुक्तानी हुँदा ब्याजमा ४९ अर्ब ७८ करोड भुक्तानी गरिएको छ । यस्तै बाह्य ऋणको साँवा भुक्तानीमा २६ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ भने ब्याज भुक्तानीमा ६ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
लिएको ऋण ब्याजमै खर्च !
आर्थिक वर्षको चैतसम्म सरकारले लिएको जम्मा ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड रूपैयाँ पुगिसकेको छ । वर्षेनि ल्याउने सरकारी बजेटले विनियोजन गर्ने विकास खर्च र वित्तीय खर्चका लागि ऋण लिने गरेको हो । नेपालको पछिल्लो जनसंख्याअनुसार प्रति नेपालीको टाउकोमा ८१ हजार ८ सय रूपैयाँ ऋणको भारी छ ।
पछिल्लो दशकको तथ्यांक हेर्दा वर्षेनि औसतमा ३ खर्ब ऋण थपिदै गएको छ । तर लिएकाृ ऋणको अधिकांश हिस्सा ऋणको साँवा र ब्याज तिर्नमै खर्च हुने गरेको छ । सरकारले विकास खर्चको स्रोतका रूपमा पनि ऋण नै राखे पनि लिएको ऋण तिर्नमै ठिक्क भएपछि विकासका कामहरू ठप्पप्राय छन् ।
एक दशकमा १८ खर्ब ऋण थप
तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५ खर्ब ४४ अर्ब २१ करोड मात्र ऋणको दायित्व थियो । तर २०८०/०८१ सम्म आइपुग्दा २३ खर्ब नाघिसकेको छ । यो तथ्यांकले एक दशकमा पाँच गुणले ऋण थपिएको स्पष्ट हुन्छ । तथ्यांकअनुसार २ दशक अघिसम्म नेपाललै लिने ऋण रकम अत्यन्तै कम थियो । तर पछिल्लो एक दशकमा हरेक वर्ष लिएर तिर्न नसक्दा सार्वजनिक ऋणको आकार निकै ठूलो बनेको हो ।
जसका कारण ब्याजमै ठूलो रकम खर्च गर्नु परेको छ । तथ्यांकअनुसार एक दशकअघि आर्थिक वर्ष २०७१/०७२ को मात्रै तथ्यांक हेर्दा नेपालले भुक्तानी गरेको कूल रकमको १२ प्रतिशत मात्रै व्याज थियो । अर्थात् सो आर्थिक वर्षमा भुक्तानी गरेको ७३ अर्ब ७६ करोडमध्ये ९ अर्ब २९ करोड मात्रै ब्याज थियो ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले आन्तरिक र बाह्य गरी ३ खर्ब ७७ अर्ब १४ करोड रूपैयाँ कूल ऋण लिँदा १ खर्ब ४९ अर्ब ७१ करोड रूपैयाँ सावाँ फिर्ता गरेको छ भने ७२ अर्ब ७८ करोड ब्याज भुक्तानी भएको छ । यो रकम कूल भुक्तानीको ३२ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७८/०७९को तथ्यांअनुसार ४५ अर्ब १२ करोड ब्याज भुक्तानी भएको छ भने ७६ अर्ब ७४ करोड रूपैयाँ साँवा तिरिएको छ ।
यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा सरकारको ऋण भुक्तानीको तथ्यांक हेर्दा कूल ९५ अर्ब १ करोड मध्ये ३४ अर्ब ६३ करोड रुपैयाँ व्याज मात्रै तिरेको छ । सो आर्थिक वर्षमा कूल भुक्तानीको ३६.४४ प्रतिशत रकम व्याज मात्रै हुन आउँछ ।
उसोत विश्वका अधिकांश देशहरूले बजेटको मुख्य स्रोतका रुपमा आन्तरिक राजश्वपछि ऋणलाई नै लिने गरेको पाइन्छ । तर नेपालको सन्दर्भमा जुन प्रयोजनका लागि लिएको हो त्यो पुरा नगरी ऋण मात्रै थपिने प्रवृत्ति निकै दुःखद भएको अर्थशास्त्रीहरू बताउँछन् ।
अर्थशास्त्री गोविन्द नेपालको बुझाइमा ऋण बढ्दै जाने र ब्याज तिर्नै सकस हुने स्थिति निकै संकटपूर्ण हो । उनी भन्छन्, ‘ऋण थपिरहेको छ । त्यसले उपलब्धी केही गरेको छैन । यसले संकट मात्रै बढाइरहेको छ ।’
उनले लिएको ऋण एक लाभ प्राप्त गर्ने क्षेत्रमा खर्च नहुने प्रवृत्तिले समस्या बढिरहेको बताए । ‘यस्तो अवस्थाले भोलि साँवा ब्याज तिर्न नै सकिन्छ । ठूला आयोजनाहरू निर्माणमा ढिलाइ गर्दा झन समस्या थपिन्छ’ उनले भने, ‘ऋणले निर्माण हुने आयोजनाको लाभ लागत विश्लेषण गर्नैपर्छ । कहिलेदेखि लाभ आउँछ भन्ने कुरा ख्याल गरेर त्यसैको आम्दानीबाट साँवा ब्याज तिर्ने गरी योजना बनाउनुपर्छ ।’
नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय ऋणमा विभिन्न कसिमको सहुलियत पाउने गरेको थियो भने अनुदान पनि पाउने गरेको थियो । नेपाललाई अति कम विकसित मुलुकको सूचीबाट नेपाल विकासशील मुलुकको सूचीमा जानका लागि सिफारिस गरिएको छ । यदि नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लिएमा त्यस्तो सहुलियत ऋण, अनुदान र बजार सहुलियतबाट अधिकतम रूपमा बञ्चित हुनुपर्नेछ । यसले ऋणको ब्याजदर पनि बढ्नेछ ।
काठमाडौं : केडिया ग्रुपद्वारा सञ्चालित खाद्यान्न बेच्ने दुई कम्पनीले चार अर्बको व्यापार गरेका छन् । ग्रुपको महावीर होल्डिङ प्रालिको महावीर आधुनिक दाल उद्योग र महावीर एग्रो प्रोडक्ट प्रालिले सन् २०२३ मा तीन अर्ब ९५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हुन् । महावीर एग्रो प्रोडक्टले सन् २०२३ मा दुई अर्ब २ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ भने महावीर आधुनिक दाल उद्योगले एक अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
सन् २०२१ मा स्थापना भएको महावीर एग्रोले धान प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारतबाट धान आयात गरेर प्रशोधन गर्दै राजन्स, नेपाली चुलो र गुड लक ब्राण्डमा चामल बेच्दै आएको छ । वार्षिक ८४ हजार मेट्रिक टन प्रशोधन गर्ने क्षमता भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब ७८ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि एक अर्ब पाँच करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७३ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा चार जनाको स्वामित्व छ । जसमा मुक्तिकुमार अग्रवालको ४५ प्रतिशत, रतनलाल केडियाको ३७ प्रतिशत, सन्जयकुमार अग्रवालको ११ प्रतिशत र दिप्ती अग्रवालको आठ प्रतिशत स्वामित्व छ । त्यसैगरी महावीर आधुनिक उद्योगले सन् २०२३ मा एक अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा एक अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२१ मा एक अर्ब ६५ करोड २० लाख रुपैयाँ, सन् २०२० मा एक अर्ब २१ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा एक अर्ब १३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले विभिन्न प्रकारका दाल प्रशोधन गरी यसोदा र उत्तम ब्राण्डमा बिक्री वितरण गर्दै आएको छ । सम्पूर्ण स्वामित्व रतनलाल केडिया रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब २ करोड रुपैयाँको रेटिङ गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies