काठमाडौं : इटालियन ब्रान्डका बेनेली बाइकले नयाँ वर्ष अफर ल्याएको छ ।
नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात तथा बिक्री वितरण गर्दै आएको छ । केटिएम इन्टरनेशनलले नयाँ बर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याएको हो । अफर योजनाअन्तर्गत १८० सिसि बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्यजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने जनाइएको छ । साथै, अरु मोडलहरूका बाइकमा विशेष छुटको व्यवस्था रहेको कम्पानीको भनाई छ । कम्पनीले मोडल अनुसार १५ हजारदेखि एक लाखसम्मको छुट दिने भएको हो ।
कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली इन्जन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसिदेखि ७५० सिसि सम्मका बेनेली बाइक तथा स्कुटरहरू नेपालमा बिक्रीवितरण गर्दै आएको जनाएको छ । तेस्रो मुलुकबाट आयात भएता पनि सधैं गुणस्तरिय सर्भिस तथा सजिलै बाइकका पाट्र्सपुर्जा गुणस्तरीय सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले शासनका हरेक पक्षमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले आर्थिक क्षेत्रमा संलग्न निकायमा पारदर्शिता र व्यावसायिकता विकास गरी सुशासन कायम गरिने बताएका हुन् ।
बजेट प्रणाली र आर्थिक सुधारका लागि चालिएका कदमलाई तीव्रताका साथ कार्यान्वयन गरिने जानकारी दिँदै अर्थमन्त्री पुनले अन्तरराष्ट्रिय प्रतिबद्धताअनुसार दिगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक ऋणलाई उत्पादनमूलक र बढी प्रतिफल दिने क्षेत्रमा परिचालन गरिने बताए ।
“सत्ता साझेदार पाँच राजनीतिक दलका तर्फबाट जारी न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पलाई मूल आधार मानेर जनताको तीव्र विकासको चाहना पूरा गर्न र समृद्धिको यात्रालाई गति दिन सरकार दत्तचित्त भएर काम गर्न प्रतिबद्ध छ”, अर्थमन्त्री पुनले भने ।
छललफलमा उठेका विषयप्रति सरकार संवदेनशील रहेको उल्लेख गर्दै उनले सांसदबाट व्यक्त भएका सुझावलाई नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे । वर्तमान आर्थिक शिथिलतालाई अन्त्य गर्न सरकारले ठूला तथा निर्माणाधीन आयोजनालाई अगाडि बढाउने र विकास वित्तका लागि आन्तरिक र बाह्य स्रोतको अधिकतम परिचाल गर्ने नीति लिइने मन्त्री पुनको भनाइ छ ।
स्वदेशी र बाह्य पूँजी परिचालनका लागि अनुकूल वातावरण निर्माणका साथै आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उहाँले सरकारको वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरी अर्थतन्त्र चलायमन गराउन थप प्रयत्न गरिने बताए ।
सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहायताका नवीन स्रोतको पहिचान तथा परिचालन गरिने मन्त्री पुनको भनाइ छ ।
पूँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानुन र प्रक्रिया सुधार अघि बढाइने उल्लेख गर्र्दै उनले निर्माणाधीन पूर्वाधार आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, आयोजना प्रमुखसँग कार्यसम्पादन करार गर्ने र अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजना सुरु गरिने बताए ।
“सहुलियतपूर्ण हरित वित्त परिचालनको सम्भावनालाई अधिकतम उपयोग गरिनेछ, यसका लागि उपयुक्त आयोजना र कार्यक्रम विकास गरिनेछ । जलवायु परिवर्तनबाट देखिएका नकारात्मक प्रभाव कम गर्न जोड दिइनेछ”, मन्त्री पुनले भने, “अन्तरराष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रविन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गरिनेछ ।”
स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पूँजीको विकास गर्न जोड दिइने उल्लेख गर्दै मन्त्री पुनले स्वदेशमा नै रोजगारी सृजना गरी युवा पलायन रोक्ने गरी बजेटमा कार्यक्रम तर्जुमा गरिने बताए । कृषिलाई आर्थिक वृद्धि, रोजगारी सृजना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने उनको भनाइ छ ।
छबि सापकोटा/मध्यान्ह
काठमाडौं : काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेल र व्यापारिक केन्द्र दरबारमार्ग चौबिसै घण्टा सञ्चालन हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउन र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएका छन् । लामो समयदेखि व्यवसायीहरूले २४ सै घण्टा खुल्ला गर्न सरकारलाई माग गरेका थिए । यसअघि शान्ति सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले खुल्ला गर्न मानेको थिएन ।
गृहकै निर्देशनपछि ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी, होटल तथा रेस्टुराँ सञ्चालक, ट्रेकिङ्ग व्यवसायीहरू उत्साहित भएका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले गृहमन्त्रीले निर्देशनले उत्साह छाएको बताए ।
“ठमेल चौबिसै घण्टा खुलाउने भन्ने एक वर्षअघिदेखि नै हामीले पहल गरेका हौं । पहिलो त्यति सुनुवाई भएको थिएन । गृहमन्त्री लामिछाने आइसकेपछि उहाँसँगको छलफलमा हामीले २४ सै घण्टा ठमेल खेल्नका लागि आग्रह गर्यौ”, उनले भनेका छन्, “अहिले चौबिसै घण्टा खोल्नको लागि हामीले आचारसंहितालाई अन्तिम रूप दिनका लागि छलफल गरिरहेका छौं । सिडियो कार्यलयमा बसेर आचारसंहिताको ड्राफ्टमा छलफल भएको छ, के गर्ने के नगर्ने भन्नेमा व्यवसायी र प्रशासनबिच छलफल अन्तिम चरण छ । गृहको निर्देशनसँगै अब समस्या हट्ने आशा जागेको छ ।”
केही दिनभित्र आचारसंहिता फाइलनगरी जिल्ला समन्वय समितिमा छलफल गरेर ठमेललाई ढिलोमा आउँदो नयाँ वर्षबाट चौबिसै घण्टा सञ्चालन गर्ने सहमति भएको शर्माले बताए । शर्माले अगाडि भने, “तयारी तिव्र छ, आचारसंहिता परिषद्ले बनाएर समेत दिएको छ । अहिले होटल व्यवसायीमा रातभर खेल्दा ध्वनी प्रदुषण बढ्छ की भन्ने चासो छ । तर, आचारसंहिताले यसलाई सम्बोधन गर्छ ।”
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चौबिसै घण्टा दुई स्थान खुलाउनेको लागि आन्तरिक तयारी अन्तिम चरणमा पुगेको बताए । “पहिला खेल्ने वातावरण बनाउँदै छौं । खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा व्यवसायी र प्रशासन अगाडि बढ्न सकिन्छ भन्ने लागेको छ”, उनले भनेका छन् ।
रात्रिकालिन मनोरञ्जन व्यापारीका हकमा आन्तरिक सुरक्षा प्रबन्ध मिलाउन सबै गतिविधि देखिने गरी सिसीटिभी राख्ने, डिस्को र डान्सबार पूर्ण साउन्ड प्रुफ हुनुपर्नेजस्ता आचारसंहितामा राखिने बताइएको छ । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल पुग्ने भएकोले पर्यटकीय गतिविधी बढ््ने अपेक्षा व्यवसायीहरुको छ ।
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अंकले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो ।
विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
लघुवित्त समूह दुई दशमलव ५१, म्युचुअल फण्ड शून्य दशमलव ७५ र व्यापार समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४५ र अन्य समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ ।
गुर्खाज फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्य नौ दशमलव ३२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ०८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु १९ करोड ५२ लाख ९७ हजार एक सय ५१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी इक्विटी फण्डको सात लाख ५२ हजार तीन सय २१ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले ठूला जलविद्युत आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका छन् । नवनियुक्त अर्थमन्त्री पुनलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालय पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभसँग अर्थमन्त्री पुनले यस्तो आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
“हामीले विद्युत खपतका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गरिसकेका छौं । अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपालमा जलविद्युत उपयुक्त क्षेत्र हो”, अर्थमन्त्री पुनले भने, “सरकारले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने नीति लिएको छ । यसमा लगानी गर्न रुस इच्छुक भएमा त्यसको वातावरण मनाउन हामी तयार छौं ।” नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा बढीभन्दा बढी रुसी लगानीकर्ता आउने वातावरण बनाउन पनि अर्थमन्त्री पुनले राजदूत नोभिकोभलाई आग्रह गरे ।
जवाफमा राजदूत नोभिकोभले अर्थमन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको बताउँदै रुसी लगानीकर्तासँग कुरा गर्ने प्रतिबद्धता जनाए । भू–राजनीतिक कारणले पनि नेपालमा रुसी लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको उनको भनाइ थियो । नेपालका दुवै छिमेकीमूलुक चीन र भारतसँग रुसको राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सीमा क्षेत्रमा दुवै मुलुकलाई लक्षित गरी मल कारखाना खोल्ने वा उत्पादित सामग्री ल्याएर बेच्न सकिने सम्भावना औंल्याए ।
राजदूत नोभिकोभका अनुसार रुसको उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी सम्मेलनमार्फत् लगानी गर्न सकिने क्षेत्रको पहिचानका लागि बिहीबार एक प्रतिनिधिमण्डल नेपाल आउँदैछ । प्रतिनिधि मण्डलले सरकारी अधिकारी, लगानी बोर्ड र निजी क्षेत्रसँग साक्षात्कार गर्ने उनको भनाइ छ ।
द्विपक्षीय सम्झौताबिनै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा पनि अर्थमन्त्री पुनले चासो राखेका छन् । रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउनसमेत उहाँले रादजूत नोभिकोभलाई आग्रह गरे । रुस–युक्रेन युद्धमा परी मृत्यु भएका नेपालीको शव फर्काउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत एवम् क्षतिपूर्तिको व्यवस्था गर्न पनि अर्थमन्त्री पुनले रुसको ध्यानाकर्षण गराए ।
“रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेको छ । तर पनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्”, उनले भने, “यसमा नेपाल सरकारसँगै आम जनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत् रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु ।”
जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको स्पष्ट पार्दै रुसले पनि नेपालीलाई बोलाएर सेनामा भर्ती नगरेको तर्क गरे । भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रुपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको उनले उल्लेख गरे ।
रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको खबर आफूले पाएको दाबी पनि उनले गरे । “नेपालले पठाएर वा हामीले आह्वान गरेर उनीहरु सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्कभन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौंं”, राजदूत नोभिकोभले भने ।
युक्रेनी सेनाले बन्धक बनाएका नेपालीलाई युद्धबन्दी साटासाट गरेर मुक्त गराउने तयारी भइरहेको जानकारी पनि राजदूत नोभिकोभले अर्थमन्त्री पुनलाई दिए । “हाम्रो सेनाको नियन्त्रणमा रहेका युक्रेनी फौजका सदस्यसँग साटेर भए पनि नेपालीहरुलाई युक्रेनबाट मुक्त गर्ने तयारी छ”, उनले भने ।
काठमाडौं - अर्थमन्त्री वर्षमान पुनले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभामा यही चैत १ गतेदेखि सुरु भएको छलफल आज पनि जारी छ ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि संसदले सांसदहरुको सुझाव समेटेर प्रतिवेदन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
बुधबारको सम्भावित कार्यसूचीमा ऊर्जा तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : २०३० को दशकतिर नेपाल दैनिक उपभोग्य वस्तुमा धेरै हदसम्म आत्मनिर्भर थियो । त्यो समयमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५४ प्रतिशत थियो । तर २०४६ सालपछि अर्थात् नेपालमा आर्थिक उदारीकरण तथा खुल्ला बजार अर्थ नीति अबलम्बन भएपछि आयात दर बढ्दै गयो । यो क्रम गणतन्त्र स्थापनापछिका अवधिमा अत्याधिक बढेको छ ।
चालु आर्थिक वर्षका दुई चौमासिक अर्थात् फागुनसम्मको आयातको तथ्यांक हेर्दा कुल गार्हस्थ्य उत्पादनको तुलनामा झण्डै २५ प्रतिशत पुगिसकेको छ । तथ्यांकहरू केलाउँदा आर्थिक वर्ष २०५६/५७ मा कुल गार्हस्थ्य उत्पादनको तुलना १३.९ प्रतिशत आयात हुँदा १३.१ प्रतिशत निर्यातको हिस्सा थियो ।
आर्थिक वर्ष २०३९/४० मा कुल गार्हस्थ्य उत्पादनको १८.७ प्रतिशत थियो भने आर्थिक वर्ष २०५३/५४ मा आयात कुल गार्हस्थ्य उत्पादनको ३३.४ प्रतिशत पुग्यो । आर्थिक वर्ष २०७८/०७९ आइपुग्दा भने नेपालको आयातमा ह्वात्तै वृद्धि भएर कुल ग्राहस्थ्य उत्पादनको ४५ प्रतिशत नाघेको थियो । यद्यपि यो वर्ष गत वर्षको तुलनामा आयातमा केही कमी भने आएको देखिन्छ ।
झण्डै दश गुणाको घाटा
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष फागुनसम्ममा १० खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँको माल वस्तु आयात भएको छ । सो अवधिमा निर्यात भने एक खर्ब ६१ करोड रुपैयाँ बराबरको मात्रै भएको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड पुगेको छ ।
तथ्यांकअनुसार फागुन महिनामा मात्र एक खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । समीक्षा अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा बढी हिस्सा भारतले नै ओगटेको छ । सो अवधिमा भारतबाट मात्रै छ खर्ब ३८ अर्ब बराबरको मालवस्तु आयात भएको तथ्यांक छ । सो अवधिमा नेपालले ६८ अर्ब बराबरको मालवस्तु मात्रै भारत पठाएको देखिन्छ ।
यसैगरी अर्को छिमेकी मुलुक चीनबाट समीक्षा अवधिमा एक करोड ८७ लाख बराबरको मालवस्तु आयात गर्दा ६२ हजार बराबरको मालवस्तु मात्रै निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा चीनसँगको व्यापारमा नेपालले एक खर्ब ९४ अर्ब बराबरको आयात गरेको छ । चीनमा नेपालले एक अर्ब ९५ लाख बराबरको मात्रै निर्यात व्यापार गरेको छ । चालु आर्थिक वर्षको आठ महिनामा नेपालले भन्सार बिन्दुबाट दुई खर्ब ७० अबै रूपैयाँ राजस्व संकलन गरेको छ ।
उपभोग्य सामग्री बढी आयात
नेपालले आयत गर्ने वस्तुमा सबैभन्दा बढी दैनिक उपभोग्य वस्तुहरू पर्छन् । चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांक हेर्दा तरकारी मात्रै २० अर्ब भन्दा बढी रकमको आयात भएको देखिन्छ ।
यो बाहेक मर्दापर्दा उपभोग हुने फूल, दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, तेल, नुन, चिनी लगायतका वस्तु आयात भएको देखिन्छ । कोरोना महामारीको पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा मात्रै नेपालमा २५ अर्ब २२ लाख रुपैयाँको तरकारी तथा फलफूल आयात गरिएको थियो । पछिल्लो दशकका वार्षिक तथ्यांक केलाउँदा करिब ४५ अर्ब रुपैयाँभन्दा बढीको खाद्य सामग्री वर्षेनी आयात भइरहेको छ ।
कृषि आत्मनिर्भर हुँदै निर्यात समेत भइरहेको नेपालमा अहिले आठ लाख हेक्टर जग्गा खेतीयोग्य जमिन बाँझै रहेको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । सरकारले कृषिलाई व्यवसायिक र आधुनिक बनाउन नसक्दा युवाहरू विदेश पलायन हुने क्रम बढिरहेको सन्दर्भमा कृसषि उपज र खाद्य सामग्रीको आयात वर्षेनि बढिरहेको छ ।
सरकारले युवाहरूलार्ई कृषिमा प्रेरित गर्न नसक्दा अवस्था दयनीय भएको खाद्यका लागि कृषि अभियन्ता उद्धब अधिकारी बताउँछन् । उनी भन्छन्, ‘बाँझो जमिन हरेक वर्ष बढिरहेको छ । सरकारको कुरा गफमै सीमित भयो । युवाहरू त्यही कृषिको काममा विदेशतिर गइरहेका छन् । नेपालमै आधुनिक कृषि औजार, सिँचाई, उच्च कृषि प्रविधि र लागतअनुसारको बजार व्यवस्थापन गर्न नसक्नु निकै दुःखद् छ ।’
काठमाडौं : कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुढानीलकण्ठको प्रहरी प्रमागलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरिक्षक योगराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको गोप्रो हस्तान्तरणले अपराध नियन्त्रण तथा प्रमाण संकलनको लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा बोल्दै बैंकका सिएसआर विभाग प्रमुख पौडेलले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
काठमाडौं : नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले सो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बैंकले जनाएको छ ।
काठमाडौं : सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । सो बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा उक्त बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनामा परेका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।
सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies