काठमाडौं : अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा मात्र सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोड बराबरको कार्यक्रम संशोधन गरिएको छ भने विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।
बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा रकमान्तर, स्रोतान्तर र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था राखिएको छ । ऐनको उक्त व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
पछिल्लो एक महिना अवधिमा कुल रकमान्तर भएको एक अर्ब ६३ करोडमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले ६४ करोड ४१ लाख बराबर रकमान्तर गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ । विभिन्न २८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा ‘मोबिलाइजेसन’ भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार खर्च भएको जनाइएको छ ।
छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रकमान्तर भएको छ । यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरुदण्ड पक्षघातका विरामीका लागि औषधि उपचार खर्चबापत मासिक पाँच हजारका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही (दाङ) लाई नौ करोड चार लाख रकम निकासा दिइएको छ । उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम रहेको दुई लाख ९६ हजार बराबर रकम पठाइएको छ ।
रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरुमा २५ करोड नौ लाख रकमान्तर भएको छ । तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट (सुनसरी) का लागि १४ करोड निकासा गरिएको छ । मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न दुई करोड २४ लाख दिइएको छ ।
रक्षा मन्त्रालयमातहत जङ्गी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् । स्थानीय तहहरुबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको ५५ करोड ७२ लाखको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको पेशु सेवा विभागको आग्रहमा ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतका ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी एक अर्ब ६३ करोड १७ लाख निकासा गरिएको जनाइएको छ ।
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहरदास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । इन्स्योरेन्सको चैत्र २७ गते मंगलबार सम्पन्न साधारण सभाबाट निर्वाचित सञ्चालक समितिको सोही मितिमा सम्पन्न बैठकले कम्पनीको अध्यक्षमा मुललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
आइतबार नवनियुक्त अध्यक्ष मुलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरे । शपथ ग्रहण समारोहमा प्राधिकरणका तर्फबाट निर्देशक पुजन ढुंगेल अधिकारी एवं कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं : महालक्ष्मी विकास बैंकले शेयर लगानीकर्ता लक्षित नयाँ खाता सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको अवसरमा बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खातामार्फत् प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ खाता सञ्चालनमा ल्याएको हो । यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि–आस्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत् लिन सक्नेछन् ।
शुन्य मौज्दातमै खोल्न सकिने सो खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो शेयर तथा सि–आस्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टिएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरुसँग आवश्यक सहकार्य समेत बैंक स्वयम्ले नै गर्नेछ । यसबाट शेयर लगानीकर्ताहरुको स्टक ब्रोकर कम्पनीहरुसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।
काठमाडौ : सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंस्थित बेक एण्ड सेल्सबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
सो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
नारायण अर्याल/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्ष (आव) को मंसिर महिनाबाट केही सुधार देखिएको घरजग्गा कारोबार चैत महिनामा भने सुस्त बन्न पुगेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनाको तुलनामा चैत महिनामा देशैभरीको घरजग्गाको कारोबारमा केही सुस्तता देखिएको हो । विभागका अनुसार चैत महिनामा ५० हजार दुई सय ५२ कित्ता जग्गा र १८ वटा अपार्टमेन्टको मात्रै लिखत पारित भएको छ । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार नौ सय ९८ वटा जग्गा र २९ वटा अपार्टमेन्टको लिखत पारित भएको थियो ।
कारोबारमा भएको सुस्तता देखिए पनि चैत महिनामा सरकारले घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरको भने आम्दानीमा केही वृद्धि गरेको छ । विभागको तथ्यांकअनुसार सरकारले चैत महिनामा पुँजीगत लाभकरबापत एक अर्ब ४६ करोड ९१ लाख सात हजार एक सय ४२ रुपैयाँ आम्दानी गरेको छ । सरकारले यस्तो आम्दानी फागुन महिनामा एक अर्ब २८ करोड ५० लाख ५८ हजार एक सय ७७ रुपैयाँमा सीमित थियो ।
गत आवको तुलनामा बैंकिङ ब्याजदरमा कमि आएको र बैंकिङ प्रणालीमा पाँच खर्ब भन्दा धेरै लगानी योग्य तरलता रहेको अवस्थामा पनि घरजग्गा कारोबारमा सुधार आउन नसकेको देखिन्छ । साथै सरकारले चालु आवको पहिलो त्रैमासमा भू–उपयोग नियमावली संशोधनमार्फत् जग्गाको कित्ताकाटमा समेत सहजीकरण गरेको थियो ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले आवासीय घर कर्जाको सीमामा वृद्धि गरेर जोखिम भारमा समेत कटौती गर्दापनि घरजग्गाको कारोबारा सुधार हुन नसकेको विभागको तथ्यांकले देखाएको छ । अर्थतन्त्रको बाह्य पक्षमा सुधार देखिएपनि आन्तरिक अवस्था सुधारोन्मुख नभएको घरजग्गा कारोबारको तथ्यांकले पुनःपुष्टि गरेको छ । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सबै उपायहरुको अवलम्बन गर्ने बताईरहँदा घरजग्गा कारोबारले भने सरकारको तर्फबाट अर्थतन्त्र चलायमान बनाउन अझै धेरै काम गर्नुपर्ने देखाएको छ ।
काठमाडौ : होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उदेश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ ।
उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकी द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय पुरस्कार प्राप्त गरे ।
नगद पुरस्कारको राशी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार साथै सबै सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो ।
स्याकार ट्रेडिङ कम्पनिले विगत केहि वर्ष देखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निसियनहरुको कार्य दक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्य कुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाइ छ ।
टेक्निसियनहरुको शिप तथा ज्ञानको उचित प्रयोग गरी आगामी दिनमा नेपाली ग्राहकलाई अझ उच्च स्तरको सेवा पुर्याउन यस किसिमको प्रतियोगिता कोशेढुंगा हुने भन्दै स्याकार ट्रेडिङ कम्पनि का सर्भिस् जेनेरल मेजेर सिताराम न्यौपानेले आफ्नो भनाइ राखेका थिए ।
काठमाडौं : ग्लोबल आइएमई बैंकले बैंकिंक प्रणाली माफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५ सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५ सय रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।
यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा सय रुपैयाँ, ५० हजार १ देखि एक लाख रुपैयाँसम्म पैसा पठाउँदा २ सय ५० रुपैयाँ र १ लाख रुपैयाँभन्दा बढी पैसा पठाउँदा ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना १० जुन २०२४ सम्म लागू रहनेछ । ग्लोबल आइएमई बैंकमा भएको कुनै पनि खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा ५ सय रुपैयाँ सम्म थप गरिदिनेछ ।
काठमाडौं : कोका–कोलाले गर्मीे महिनाको आगमन सँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एण्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।
‘ड्रिंक एण्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका)बोतलहरूको बिर्को मुनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजना मार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सिमित समयको लागि मात्र उपलब्ध हुनेछ ।
‘ड्रिंक एण्ड विन’क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १ सय ७५ एमएल र २ सय ५० एमएलका आरजीबी बोतलहरू मास्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।
मनीषा अवस्थी/मध्यान्ह
चालू आर्थिक वर्ष २०८०/८१ को ‘क्लोजिङ’ अर्थात् अन्तिम त्रैमासमा चलिरहेको छ । आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी हुँदा आगामी आर्थिक वर्ष वार्षिक बजेट निर्माणको काम धमाधम भइरहेको छ । चालू आर्थिक वर्षको बजेटको अधिकांश हिस्सा खर्च हुन नसक्दा यतिबेला विकासे अड्डाहरुमा बजेट सक्ने चटारो बढिसकेको छ । अर्थात विकास बजारमा ‘असारे विकास’को मौसम सुरु भइसकेको छ । यतिबेला केन्द्रदेखि स्थानीय तहसम्मका निकाय विनियोजित बजेटको बढी भन्दा बढी हिस्सा खर्च गर्ने ध्याउन्नमा लागेको छन् ।
६७ प्रतिशत विकास बजेट बाँकी
आर्थिकवर्षको तेस्रो त्रैमासिक अन्त्यसम्म अर्थात् चैत मसान्तसम्ममा कून विनियोजित बजेटको ५२ प्रतिशत मात्रै खर्च भएको छ । खर्च भएको बजेटको अधिकांश हिस्सा चालू खर्चमा भएको छ भने विकासका लागि विनियोजित बजेटको एक तिहाइ मात्रै खर्च भएको छ ।
आर्थि वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा विकास लागि विनियोजित बजेट फ्रिज हुन नदिनका लागि धमाधम बजेट खर्च हुन थालेको छ । चालू आर्थिक वर्षमा विकास निर्माणका नाममा (पूँजीगत खर्च) सरकारले ३ खर्ब २ अर्ब ७ करोड ४४लाख रुपैयाँ विनियोजन गरेकोमा चैत मसान्तसम्ममा ३२.२४ प्रतिशत मात्रै अर्थात् ९७ अर्ब ३७ करोड ७४ लाख खर्च भएको छ । अबको तीन महिनामा सरकारले २ खर्ब ४ अर्ब ६९ करोड ७० लाख रूपैयाँ विकासको नाममा खर्च गर्न बाँकी छ । अर्थात् खर्च गर्न बाँकी ६७ प्रतिशत विकास खर्च पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।
अन्तिम समयमा ५० प्रतिशत बढी खर्च
यो नयाँ विषय भने होइन । वर्षैदेखि नेपाली बजेट खर्च गर्न असार मसान्त नजिकिनैपर्छ । असार मसान्तमा बजेट सक्नका लागि जबर्जस्तरुपमा हुने गुणस्तरहीन विकासलाई गाउँदेखि शहरले नजिकैबाट हेर्न पाउँछ ।
पछिल्ला केही आर्थिक वर्षको तथ्यांक हेर्दा आर्थिक वर्षको अन्तिम त्रैमासमा ६० प्रतिशत बढी रकम खर्च गर्न बाँकी रहन्छ । यी तीन महिनामा मात्रै अघिल्ला ९ महिनामा भएको खर्चभन्दा पनि बढी खर्च हुने गरेको तथ्यांकले देखाउँछ ।
गत आर्थिक वर्ष २०७९/०८० का पछिल्लो तीन महिनामा मात्रै कूल विकास खर्चको ५५ प्रतिशत रकम खर्च गरेको थियो । अघिल्लो आर्थिको वर्षमा पनि पछिल्ल तीन महिनामा५३ प्रतिशत रकम विकासमा खर्च भएको देखिन्छ ।
नेपालमा आर्थिक वर्षको अन्तिम महिनाका रुपमा रहेको असार शुरु भएपछि मात्रै कूल विनियोजित वार्षिक बजेटको ३५ प्रतिशतदेखि ५० प्रतिशतसम्म खर्च हुने गरेको तथ्याङ्कहरुले देखाउँछ ।
महालेखा परीक्षकको कार्यालयको कार्यालयले पनि असारे विकास खर्चमा पटक पटक प्रश्न उठाउँदै आएको छ । तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७३÷७४ विनियोजित पूँजीगत खर्च ३ खर्ब ११ अर्ब ९४ करोडमध्ये वास्तविक खर्च २ खर्ब ८७ अर्ब ४ करोड ८३ लाख मात्रै खर्च भएको देखिन्छ । यसमध्ये जेठ मसान्तसम्म १ खर्ब २० अर्ब अर्थात वास्तविक खर्चको ४९ प्रतिशत मात्रै खर्च भएको तथ्यांकले देखाउँछ ।
त्यस्तै आर्थिक वर्ष २०७२/०७३ मा सरकारले पूँजीगत खर्चबापत २ खर्ब ८ अर्ब ८७ करोड रुपियाँ विनियोजन गरेको थियो । विनियोजित पूँजीगत खर्चमध्ये १ खर्ब २३ अर्ब २५ करोड १४ लाख मात्रै वास्तविक खर्च भएको थियो । यसमध्ये असार महिनामा मात्रै ९५ अर्ब ९४ करोड १३ लाख अर्थात् विनियोजित बजेटको ७७ प्रतिशत रकम खर्च भएको महालेखाको प्रतिवेदनहरुले देखाउँछ ।
काठमाडौंको पर्यटकीय र व्यवसायिक क्षेत्र ठमेल र दरबारमार्ग अब कहिल्यै बन्द हुनेछैनन् । नयाँ वर्ष २०८१ को सुरुवातसँगै यी दुई स्थान कहिल्यै ननिदाउने भएका हुन् । ठमेल खुला हुदाँ पर्यटन व्यवसायमा कति सहज बनाउछ । पर्यटन गतिविधि धेरै हुने ठमेल दिन रात खुल्दा व्यापार व्यवसायले कसरी फाइदा लिन सक्छन् ? प्रस्तुत छ, यिनै समसामयिक सन्दर्भमा ठमेल विकास परिषद्का अध्यक्ष भविश्वर शर्मासँग मध्यान्हका छबि सापकोटाले गरेको संक्षिप्त कुराकानी ।
ठमेल क्षेत्र चौविसै घण्टा खुलेको छ । यसले व्यवसायीलाई कस्तो फाइदा पुर्याउँछ ?
ठमेलमा व्यवसाय गर्ने र घरधनीले लामो समयदेखि नै ठमेल खोल्नका लागि धेरै मेहनत गर्दै आएका थिए । करिब १० वर्ष अघिदेखिको चाहना अहिले पूरा भएको छ । विदेशबाट नेपाल घुम्न आउने पर्यटकहरु दिनभरी घुमेर आएपछि रातीमा किनमेल गर्नेदेखि खानेकुरा पाउन समेत समस्या हुँदै आएको थियो । होटलमा बसेकाहरु समेत रातीमा किचन बन्द हुने र पसल बन्द हुँदा समस्या परेको भन्दै पर्यटकहरुबाट गुनासो धेरै आउने गरेको थियो । ठमेलका व्यवसायीहरुले समेत १० बजे नै पसल बन्द गर्ने गरेका थिए । नेपालकै धेरै पर्यटकीय गतिविधि हुने स्थान बन्द हुँदा पर्यटकले पैसा खर्च गर्न सक्ने स्थान नै थिएन । अब बजार खुला हुँदा व्यवसायीलाई त फाइदा हुन्छ नै, छोटो छुट्टीमा नेपाल आउने पर्यटकहरुका लागि समेत यसले फाइदा गर्छ ।
तपाईँले भनेजस्तो ठमेल खुल्ला हुँदा पर्यटकहरु किनमेलको लागि आउलान् त ?
नेपालको चर्चित स्थान ठमेल २४ सै घण्टा खुलेको छ भन्ने सन्देश अब विश्वभरी नै जान्छ । यसभन्दा अघि नेपाल आएका पर्यटकहरुको लागि समेत यो चासोको विषय बन्न सक्छ । हामीले अहिले शुरु नगर्ने हो भने ठमेलका व्यवसायी विस्तारै पलायन हुने अवस्था समेत आउन सक्थ्यो । कोरोनापछि कति व्यवसायी त पलायन पनि भएका छन् । देशकै महत्वपूर्ण स्थानमै व्यापार नहुने हो भने अरु स्थानमा झनै कस्तो असर पर्ला ? ठमेलमा रात्रिकालीन व्यवसाय खुल्ला हुँदा नेपाल आउने पर्यटकको पहिलो रोजाई ठमेल बाहेक अरु हुन सक्दैन । ठमेल केन्द्रबिन्दु हुँदा आजको भोलि व्यापार ह्वात्तै नबढेपनि बिस्तारै रात्रिकालीन किनमेलको हब अवश्य बन्नेछ ।
पर्यटकको लागि सुरक्षा पहिलो प्रथामिकता हो । रात्रिकालीन व्यवसायी र पर्यटकलाई समेत कसरी सुरक्षित महसुस गराउन सकिन्छ ?
यतिबेला ठमेलको हरेक स्थानमा सीसीटिभीको व्यवस्था छ । सडकहरु पनि राम्रा भएका छन् । तारको व्यवस्थापन गरेका छौं । बिगत २ वर्ष यता ठमेलको मुहार परिवर्तन हुँदै गएको छ । सुरक्षाको लागि गृहमन्त्री रवि लामिछानेले हामीलाई दिनुभएको आश्वासनले हामी विश्वस्त छौं । जिल्ला प्रशासन कार्यालयको समेत धेरै सहयोग छ । रातीमा दिउँसो भन्दा केही सुरक्षा चुनौती अवश्य छ तर, सुरक्षा निकायको साथ र सहयोगले हामी उत्साहित भएको छौं । सुरक्षाको लागि हामी गम्भीर समेत छौं । तीनै तहका सरकारसँग समन्वय भएको छ । कुनै घटना हुँदा बित्तिकै प्रहरीले पुग्नेगरी सुरक्षा निकाय परिचालन गर्नसक्छ । ठमेल २४ सै घण्टा खुल्दा रात र दिनमा केही फरक नपर्नेगरी सडक बत्ति पनि लगाइएको छ । दिनमा भन्दा रातमा सुरक्षाकर्मीको संख्या समेत झण्डै दोब्बर हुने हुँदा ठमेल आउने पर्यटकले असुरक्षित महसुस गर्नै पर्र्दैन् । हामीले व्यवसायी आचारसंहिता र सुरक्षा मापदण्ड समेत बनाएका छौं, जसले सुरक्षित ठमेल बनाउने छ ।
तर, ठमेलकै महत्वपूर्ण स्थान भगवान बहाल क्षेत्रका घरधनीको असन्तुष्टि छ नी ?
भगवानबहाल क्षेत्रमा लामो समयदेखि बसोबास गर्नु भएको स्थानीय हुनुहुन्छ । उहाँहरुले ठमेल २४ सै घण्टा खुल्ला हुनुहुँदैन भन्नु भएको छैन । तर, ४० वर्षयता ठमेल व्यवसायको केन्द्र भएको छ । ठमेलमा सानो स्थानको समेत महँगो भाडा लिन सक्ने अवस्था छ । कति घरधनीहरु ठमेलको घर पूरै भाडामा दिएर ठमेल बाहिर सिफ्ट हुनुभएको छ । यसले उहाँहरुलाई समेत धेरै नै फाइदा भएको छ । अहिले ठमेलका अधिकांश क्षेत्रका घरधनीहरु समेत सबै खुल्ला गर्ने विषयमा सहमत हुनुभएको छ । भगवानबहाल क्षेत्रका स्थानीय बासिन्दाको अहिलेको मुख्य सरोकारको विषय भनेको शान्तिसुरक्षा र ध्वनी प्रदुषणको कुरा हो । तर, ठमेल खुल्ला हुँदा खुशी नै हुुनुहुन्छ । उहाँहरुको साथ र सहयोगले नै ठमेल खुल्ला गर्न सकिएको हो ।
अन्त्यमा, पयर्टकहरु आउने र व्यापार बढ्नेमा व्यवसायीहरु कत्तिको ढुक्क छन् ?
ठमेलमा अन्य स्थानमा भन्दा व्यापार बढी नै हुन्छ । ठमेल सानो भएपनि यस क्षेत्रमा नपाइने वस्तु भन्ने केही छैन । २४ सै घण्टा खुल्दा अझै नयाँ व्यवसाय गर्नेको रोजाई ठमेल बन्न सक्छ । पर्यटकहरुले समेत सकेसम्म ठमेल नै बस्ने र रात्रिकालीन मनोरञ्जन गर्ने मनस्थिति बनाउने छन् । ठमेलमा अझै धेरै गर्न बाँकी छ, यो सुरुवात मात्र हो । पर्यटन गतिविधि बढाउने पहिलो पाइला हो हाम्रो । ठमेल र दरबारमार्गले पहिलो पाइला चालेको छ । यसको सफलताले देशका अन्य पर्यटकीय र व्यावसायिक केन्द्रलाई समेत सन्देश दिन सक्नेछ । नेपाल सानो मुलुक, प्राकृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदैपनि हामीले लाभ दिन सकेका छैनौं । हामी दुई छिमेकी मुलुक चीन र भारतको बिचमा छांै । दुवै देशमा अर्बौंको जनसंख्या छ । चीन र भारतबाट घुम्न निस्कने करोडौंलाई नेपाल भित्र्याउने रणनीति नेपालले बनाउनु पर्छ । ठमेल दिन रात खुल्ला हुँदा पक्कैपनि पर्यटकीय गतिविधि र व्यवसायमा वृद्धि हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies