काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नाडा सदस्यबीच नेपालमै चार पांग्रे सवारी साधनको एसेम्बलिङ गर्ने सम्बन्धमा छलफल भएको छ । बिहीबार नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री भण्डारीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पांग्रे सवारी साधनहरुको एसेम्बलिङ उद्योगहरु खुल्दै गएको र चार पांग्रे एसेम्बलिङ उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी र व्यवसायीहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
यसकारण अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि सरकारले स्थायी नीति ल्याउन आवश्यक रहेको उनले बताए । सरकारले गत फागुन २५ गतेको राजपत्रमार्फत् एजेन्सी, संशोधन र एकीकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुदाँहरुमा द्विविधा उत्पन्न भएकाले आवश्यक प्रष्टताका लागि समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले मन्त्रीलाई अनुरोध गरेका थिए ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग र साथ दिने बताए । यसबाहेक उनले नेपालीहरुको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरुले रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै रोजगारी सिर्जना गर्न आग्रह गरे । मन्त्री भण्डारीले व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निराशालाई चिर्दै आशा जगाउने विश्वास व्यक्त गरे ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सह–कोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीबाट अभिमन्यू गोल्छा र एमए डब्लु इन्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठको उपस्थिति थियो ।
काठमाडौं : एनसेलले फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । सो अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट उपलब्ध गराएको हो । सो अफरमार्फत ग्राहकहरुले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्ने कम्पनीले बताएको छ ।
शुक्रबारबाट सञ्चालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित एक सय पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र ७५ रुपैयाँमा सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन् ।
यो प्याक सुचारु गरेपछि प्रतिदिन २५ रुपैयाँका दरले तीन दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाललगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।
यो प्याकमा आगमन कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ मा एसएमएस पठाउन सकिन्छ ।
काठमाडौं : ग्लोबल मनी वीक २०२४ को अवसरमा ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको छ । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) ले शुक्रबार विद्यार्थीहरुको लागि ब्रोकर भिजिट कार्यक्रम आयोजना गरेको हो । ग्लोबल मनी वीक २०२४ को उपलक्ष्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका एमबिए अध्ययनरत विद्यार्थीहरुलाई सन सेक्युरिटिज प्रालिले ब्रोकर अफिस भिजिट कार्यक्रम सञ्चालन गरेको हो ।
सो अवसरमा सन सेक्युरिटिजले प्रदान गर्ने कारोबार सेवा तथा डिम्याट खाता सेवाका साथै ब्रोकर अफिस अन्तरगत आन्तरिक रुपमा सञ्चालन हुने विभिन्न विभाग तथा सो अन्तर्गत सञ्चालन हुने विभिन्न कार्यहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । पुँजीबजार अन्तरगतको एक अभिन्न क्षेत्रको रुपमा रहेको ब्रोकर व्यवसाय विस्तारै थप व्यवसायिक तथा प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सन सेक्युरिटिज प्रालिको अत्याधुनिक कारोबार स्थलमा बसेर कारोबार गर्ने लगानीकर्ताहरुले सुरक्षित रुपमा लगानी गर्न सक्नेगरी भौतिक पूर्वाधार तयार गरेको छ ।
जसमा लगानीकर्ताहरुले चार घण्टाको समय कारोबार गर्न फराकिलो एवं सहज कारोबार स्थल, चिया कफिका लागि क्याफे सेवा तथा आफैँले कारोबार गर्न नजान्ने लगानीकर्ताहरुका लागि खरिदबिक्री गर्न अनुभवी ट्रेडिङ कर्मचारी लगायतको सुविधा प्रदान गर्नुका साथै आफैंले खरिदबिक्री गर्ने लगानीकर्तालाई निःशुल्क इन्टरनेट सेवा एवं पूँजीबजार तथा लगानी सम्बन्धमा अध्ययन गर्ने विभिन्न श्रोत सामाग्री तथा पुस्तकहरु समेत प्रदान गरिरहेको जानकारी सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले विद्यार्थीहरुलाई जानकारी गराए ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका एक सय ११ वटा शाखा कार्यालयमार्फत् एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकले ग्लोबल मनी वीक २०२४ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकले आफ्ना तीन सय ५४ वटै शाखाहरुमार्फत् वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरुसञ्चालन गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरु लगायतका सहभागितामा विभिन्न सन्देशमूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमसहित कम्पनीको वार्षिकोत्सव सम्पन्न भएको हो ।
उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घण्टाघर–भद्रकाली–जमल हुँदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो । साथै मानव जीवनको रक्षा गर्ने उद्देश्यले नेपाल रेड क्रस सोसाईटीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीहरुले रक्तदान गरेका थिए । साथै काठमाडौं शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरी विभिन्न शाखा कार्यालयहरुमार्फत् सामाजिक उत्तरदायित्व अन्तर्गत सोही किसिमका कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । सानिमा रिलायन्सको चुक्ता पुँजी ४.१८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२.६९ अर्ब रहेको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त–द मेडिसीटी अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ । अस्पतालमा सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बैंकले जनाएको छ ।
आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउने जनाइएको छ । बैंकले यस्तो किसिमको सुविधा विगत चार वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।
काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक अर्थ मन्त्रालयले गत सोमबार प्रतिनिधिसभामा दर्ता गराएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न आवश्यक रहेको भन्दै यो विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्न आवश्यक भएकाले बाफिया विधेयक ल्याइएको जनाइएको छ ।
त्यसैगरी नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको जनाइएको छ । बाफिया विधेयकमा डिजिटल मुद्रालाई परिभाषित गर्न खोजिएको छ । ‘डिजिटल मुद्रा भन्नाले नेपाल राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झिनुपर्छ’, विधेयकमा भनिएको छ । डिजिटल मुद्राबारे अहिले नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिसमेत सहभागी थिए । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए । बैठकमा नेपाल र विश्व बैंकबीचको आगामी पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत आयोजना र दुधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री पुनले ठूलोमध्येको एक अन्तर्राष्ट्रिय विकास साझेदारका रुपमा नेपालको आर्थिक विकासमा पुर्याउँदै आएको योगदानका लागि विश्व बैंकलाई धन्यवाद दिए । नेपालमा यातायात, सहरी विकास, कृषि, वन, वातावरण, रोजगारीलगायत पूर्वाधार क्षेत्रमा विश्व बैंकको लगानीमा विकास आयोजना अघि बढेको जानकारी दिँदै उनले विभिन्न कारणले ती आयोजनाको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । यद्यपि ती आयोजनाका कामलाई तीव्रता दिन आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पुनको भनाइ छ ।
नेपालले हरित उत्थानशील समावेशी विकासको मान्यता आत्मसात गरेको पनि अर्थमन्त्री पुनले बताए । उनले पूर्वाधारका आयोजनामा हरित वित्तको अभिवृद्धिका लागि विश्व बैंकसँग आग्रह गरे ।
विश्व बैंकका उपाध्यक्षसहितका पदाधिकारीले नेपालसँगको सहकार्य उत्साहजनक रहेको बताउँदै माथिल्लो अरुण जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका आयोजनाबारे धारणा राखेका थिए । अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)ले कार्यक्रम सञ्चालन गरेको अन्य मुलुकको तुलनामा नेपालको ऋण जोखिम कम रहेको भन्दै उहाँहरुले सहुलियतपूर्णबाहेकका ऋणसमेत उपभोग गर्न नेपाललाई आग्रह गरे ।
काठमाडौं : बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।
चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । एक्स्पोमा दुई वटा विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा छोटो वृत्तचित्र बनाउने प्रतिस्पर्धा हुने छ ।
सु–समृद्धिका लागि हरित ऊर्जा भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामग्री वा सेवासँग सम्बन्धित जलविद्युत उत्पादन र सेवा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको आवश्यकता र महत्वको दुई विधामा प्रतिस्पर्धा गराउन लागेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका बिजेताले ४४, ४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाउने छन् ।
९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्वसहितको भिडियोहरु आयोजक संस्था इप्पानको वेवसाइट र इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेवसाइट एवं हिमालयन हाइड्रो एक्स्पोको वेवसाइट तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक इन्स्टाग्राम, युट्युब, लिङ्देन लगायतमा समाजिक संजालमा पोस्ट गरिनेछ ।
सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम दितीय पुरस्कार दिइनेछ । प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । सो भिडियो चैत २७ गतेभित्र पठाइसक्नुपर्ने उल्लेख छ । २०८१ बैशाख ११ गतेसम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ भने हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीले आफ्ना रचनात्मक आइडियाहरु एक्स्पो अवधि २०८१ बैशाख १२ देखि १४ गते भित्र एक्स्पो स्थल भृकुटीमण्डपमा प्रदर्शन गरिनेछ ।
यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जनासम्मको समुहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकेको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ । प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने भने द्वितीय र तृत्तीय हुनेले क्रमश २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाई जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए ।
तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछ । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको इप्पानले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies