काठमाडौं : डा. आरसी कोइराला "रामचन्द्र"को शब्द तथा निर्देशन रहेको गीत 'जादु छ कि त्यो नजरमा' सार्वजनिक भएको छ । लोकप्रिय गायक हेमन्त शर्माको सुमधुर आवाज रहेको गीतमा वरिष्ठ संगीतकार बिबि अनुरागीको संगीत रहेको छ ।
ग्रीसको विभिन्न ठाउँमा छायाँकन गरिएको यस गीतमा कलाकार तथा मोडेल सीतल आचार्य र कलाकार कृष्ण रेउलेको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोलाई दर्शक स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको केही दिनमै १ लाख ४० हजार भन्दा बढीले म्युजिक भिडियो हेरिसकेका छन् ।
केही अन्तर्राष्ट्रिय म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका डा. कोइरालाको यस म्युजिक भिडियोलाई आरएस फिल्मस म्युजिक अफ नेपालीले डिजिटल बजारमा ल्याएको हो ।
काठमाडौं : विभिन्न आकर्षक डिजाइनका फेसन प्रस्तुत गर्दै १३औं संस्करणको ‘आइइसी डिजाइनर रनवे’ सम्पन्न भएको छ ।
जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायतका सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका थिए । उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।
भारत, रसिया, सर्बियालगायतका १३ अन्तर्राष्ट्रिय मोडलको समेत सहभागिता रहेको शोमा नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरू प्रस्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत प्रत्यक्ष सहभागिता रहेको शाको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले वहन गरेको थियो । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा ‘आइससी डिजाइनर रनवे’ आयोजना भएको नेक्स्ट मोडल्स नेपालका सिईओ रवि धमलाले बताए । सहभागीले १३औं ‘आइससी डिजाइनर रनवे’ अहिलेसम्मकै उत्कृष्ट फेसन शोको रुपमा चर्चा गरेको उनको भनाइ छ ।
शोमा आइसी कलेजका २०२१ ब्याचका ७३ जना विद्यार्थीले डिजाइनरहरुले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेलमा मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।
आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : गाउँका डाँडापाखामा गुनगुनाउने गीत आज भोलि युट्युब तथा सामाजिक सञ्जाल फेसबुकमा देख्न पाइन्छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ मा जन्म भएका राजन अधिकारी वन जगंलमा घाँस दाउरा गर्दा होस् अथवा बस्तुभाउ चराउँदा र मेलापातमा गीत गाउँदा गाउँलेहरु अच्चमित हुने गरेका थिए ।
जब २ वर्षअघि इन्द्रणी कार्यक्रममा गीत गाउने स्थान पाएका उनको गीतसंगीत क्षेत्रमा चर्चा बढ्दै गयो र दर्शक स्रोताले पनि सोहीअनुसार उनको गीत रुचाउन थाले करिब १ दर्जन गीतमा स्वार दिएका छन् । उनका सुपा नरपानी पञ्चेबाजालगायतका गीत बजारमा आएका छन् । इन्द्रेणी कार्यक्रममा पनि उनको माग बढेको छ ।
१९ वर्षे युवा गायक राजन अधिकारीले नेपाली गीत संगीतमा आफ्नो विशेष छाप छोडेका छन् । अझै पनि आफू संगीत सिक्ने क्रममै रहेको उनले बताए । उनी अहिले संगीत सिक्नमा र सिकाउनमा व्यस्त छन् ।
काठमाडौं : संगीतकार लक्ष्मण पोखरेलको संगीतमा निकै नै मर्मस्पर्शी कर्णप्रीय गीत 'दिल रोएको बेला' सार्वजनिक भएको छ । प्रसिद्ध गायक गायिका स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वर, नारायण रेग्मीको शब्द रहेको उक्त गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापा विचित्रको अभिनय रहेको छ ।
चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ, किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । म्युजिक भिडियोमा मुकेश हुमागाईको छायाँकन, राहुल बराईलीको कोरियोग्राफ, बिनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ रहेको छ ।
लामो समय जर्मनीमा बसेर नेपाली गीत संगीतको क्षेत्रमा केही गर्ने उद्देश्यका साथ गीत संगीतमा लागेका अनुपजंग नेपाली कला क्षेत्रका लागि एउटा आशालाग्दो अनुहार हो । मोडल अनुपजंगको पहलमा स्थापना भएको अविदित फाउन्डेसनमार्फत उनले नेपाली गीत संगीतको साथसाथै सामाजिक कार्यमा पनि उक्तिकै सक्रियता देखाइरहेका छन् । गीत संगीतबाट आएको आम्दानीलाई उनले उक्त फाउन्डेसन मार्फत सामाजिक कार्यमा काम गर्दै आएका छन् । 'दिल रोएको बेला' गीतबाट आएको आम्दानीलाई पनि अनुपले सामाजिक कार्यमा लगानी गर्ने बताएका छन् ।
लामो समयपछि एउटा मिठो गीत दर्शक श्रोतामा ल्याउन पाएकोमा गायक स्वरुपराज आचार्य, गायिका अञ्जु पन्त, संगीतकार लक्ष्मण पोखरेल, गीतकार नारायण रेग्मी खुसी देखिएका छन् । साउथ इन्डियन लुक्स भएका अनुपसँग काम गर्न पाउँदा खुसी लागेको निर्देशक कृष्णदेव रुपाखेती बताए । नायिका शिल्ला पोखरेल पनि निकै मिठो गीतमा काम गर्न पाउदा खुसी छिन् । लामो समयको अन्तराल पछि नेपाली गीत संगीतले एउटा निकै नै मिठो गीत पाएकोमा गायक स्वरुप र गायिका अञ्जु पन्त पनि दंग छन् । गीतलाई दर्शक श्रोताहरुले मन पराउनेमा संगीतकार पोखरेल, गीतकार रेग्मी विश्वस्त छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : दैनिकरूपमा नेपालभित्र विभिन्न भाषाका गीत संगीतको बजार हेर्ने हो भने करोड रुपैयाँ बराबरको लगानी रहने गरेको छ । करोडौं लगानी रहने गीत संगीतमा नेपाली लोक तथा दोहोरी क्षेत्रमा पनि राम्रै रकम लगानी हुँदै आएको छ । बजारमा आएका अधिकतम गीतले लगानी उठाउँदैनन् । यद्यपि दैनिक नयाँ गीत बजारमा आउन रोकिएका भने छैनन् ।
बुधवार साँझबाट नेपाली सांगीतिक जगतमा नयाँ लोक तथा दोहोरी गीत आएको छ । ५३ टुक्कालाई २० जना गायक गायिकाले आवाज भरेको ‘कलधारा पानीको’ लोक दोहोरी गीत बजारमा आएको हो । प्रत्यक्ष दोहोरीमा बाहेक लोक दोहोरीमा पहिलो पटक ४१ मिनेट लामो अडियो र संवादसहित ५२ मिनेट लामो भिडियो अमेरिकामा बसोबास गर्दै आएका बागलुङका राजन क्षेत्रीले सञ्चालन गर्ने ई–नेपाल रोधी घरको युट्युबबाट आएको हो ।
माया प्रेमको जाल, देश विदेशका दुखसुख, मुखिया, लाहुरे गाउँलेदेखि भरिया, नारीका पीडा, सिन्दूर र जडियासहित खाडीबाट फर्केको युवाको बिहे गराउन गरिएको नाटकीय रूपदेखि विवाहसम्मलाई गीतले समेटेको छ । बालकुमार श्रेष्ठले कोरेका शब्दलाई माया गुरुङले भाका भरेकी हुन् भने कृष्ण केसीले संगीतबद्ध गरेका छन् ।
गीतमा श्रेष्ठ र गुरुङसहित शिला आले, रेजिना परियार, सुमन परियार, रबी कार्की, श्याम राना, रबिन लामिछाने, सागर बिसी, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, श्याम बुर्लाकोटी, इब्सल सन्ज्याल, बालिका तामाङ, सबिना बुढा मगर, निशा रणपाल, नवराज काप्री, कृष्ण भट्टराई र मनोज गिरीले आवाज भरेका छन् । गीतको भिडियोमा गायक गायिकासहित विजय शर्मा, रमेश चालिसे ‘सार्थक’, गीता परियार, देव नारायण भण्डारी, हुम भण्डारी, प्रेम पाठक, परशुराम आचार्य र तारा आचार्यले साथ दिएका छन् ।
गाउँमा नामी नाम चलेको ‘हुन्छ प्रसाद’ले समेत बिहे गराउन नसकेका पात्र भट्टराईको बिहे गाउँकै मुखियाले गराइदिएसँगै निर्देशक तथा सम्पादक विष्णु शर्माले भिडियोको कथालाई बिट मारेका छन् । गीत रिलिज भएको २४ घण्टामै साढे दुई लाख दर्शकको नजरमा परेको गीतलाई राजेश घिमिरे र सुरेश श्रेष्ठले मिलेर खिचेका हुन् ।
एक दशकभन्दा लामो समय सडक नाटक र आर.जे. भि.जे. हुँदै २०६९ बाट मोडलिङ तथा अभिनयमा प्रवेश गरेका अभिनेता तेज गिरी अब्बल अभिनेताको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् । आफूले अभिनय गरेको चलचित्रमार्फत उनले उत्कृष्ट अभिनेताको अवार्डसमेत हासिल गरिसकेका छन् । हालसम्म उनले डेढ दर्जन बढी म्युजिक भिडियो र एक दर्जन चलचित्रमा विभिन्न भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । गत वर्ष प्रदर्शनमा आएको उनी अभिनित चलचित्र ‘प्रेमगञ्ज’ले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शन भइरहेको छ । प्रस्तुत छ अभिनेता तेज गिरीसँग चलचित्र ‘उपहार’ र समसामयिक विषयमा मध्यान्ह दैनिकका लागि सानु श्रष्ठले गरेको कुराकानीको सम्पादित अंश :
तपाईं अभिनित चलचित्र उपहार प्रदर्शनमा छ, कस्तो आशा गर्नुभएको छ ?
यस चलचित्रमा आफूले पाएको भुमिकालाई न्याय दिन मैले अत्यन्तै मेहनत गरेको छु । बलियो टिमले निर्माण गर्नुभएको चलचित्र हो । समसामयिक विषयवस्तुलाई समेटेर निर्माण भएको हुँदा चलचित्र पनि राम्रो बनेको छ । त्यसैले पनि म यस चलचित्रबाट पूर्ण आशावादी छु । यस चलचित्रमा जोडिएर मैले धेरै कुराहरु सिक्ने अवसर पनि पाएको छु ।
उपहार सुटिङको समयमा बिर्सनै नसकिने त्यस्तो घटना केही छ कि ?
त्यस्तो बिर्सन नै नसकिने घट्नाहरु त केही छैनन्, तर म हरेक कामबाट केही न केही सिक्ने कोसिस गर्छु र यस चलचित्रको सुटिङका हरेक पलहरु मेरा लागि यादगार छन् ।
बैंकिङ क्षेत्रको मान्छे कला लाइनमा प्रवेश गर्नुको कारण ?
म बैंकिङ क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले नै सडक नाटकहरुमा सक्रिय थिएँ । स्कुले जीवनदेखि नै जीवनभर यही क्षेत्रमा सक्रियरुपमा लाग्छु भन्ने सपना बोकेको थिएँ । बैंकिङ क्षेत्रमा प्रवेश गरेपछि पनि मैले वित्तीय साक्षरता, व्यावसायिक साक्षरता र बैकिङ जागरणसम्बन्धी सयौं नाटकहरु र केही चलचित्रहरुमा विभिन्न भूमिकामा अभिनय गरें । यसै सिलसिलामा २०७१ सालमा मलाई नेपाली कथानक चलचित्र धौलीमा अभिनय गर्ने अवसर मिल्यो । यही चलचित्र मार्फत सिने जगतमा नायकको रुपमा प्रवेश गरें र अहिलेसम्म निरन्तर सक्रियरुपमा आफ्नो उपस्थिति जनाउँदै आएको छु । धौली चलचित्र भन्दा अघि २०६९ मा नेपाली कथानक चलचित्र कालेमा अभिनय गर्ने अवसर मिलेको थियो, तर दुर्भाग्य त्यो चलचित्र हालसम्म प्रदर्शन हुन सकेन ।
कला क्षेत्र र बैंकिङमा भिन्नता के छ ?
यो दुवै क्षेत्रले देश विकासमा समान योगदान दिएका हुन्छन् । कला क्षेत्रले कलामार्फत देशको कला, संस्कृति र पर्यटनलाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै धेरैलाई रोजगार सिर्जना गरेको हुन्छ भने बैंकिङ क्षेत्रले पनि उद्यमशिलता विकासमा ठूलो योगदान दिइ हजारौंको संख्यामा रोजगारी सिर्जना गरेर अर्थतन्त्रमा ठूलो सहयोग गरेको हुन्छ । व्यवस्थापनको हिसावले भने वित्तीय क्षेत्र अत्यन्तै पारदर्शी छ भने कला क्षेत्रमा पारदर्शिताको कमी देखिन्छ ।
तपाईंले अभिनय गरेका चलचित्रहरुमध्ये कुन चलचित्र चित्त बुझ्दो लाग्यो ?
हालसम्म दर्जन बढी चलचित्रमा भिन्न, भिन्न भूमिकामा अभिनय गरेको छु, त्यसमध्ये मलाई चित्त बुझेको चलचित्र भने प्रेमगञ्ज हो । यो चलचित्रमा मैले मनैदेखि काम गर्न पाएको थिएँ र यो चलचित्रले मेरो चर्चा चुलिएको थियो ।
प्रतिस्पर्धाको यो भिडमा आफू कहाँ छु जस्तो लाग्छ ?
पछिल्लो १२ वर्षदेखि कला क्षेत्रमा सक्रियरुपमा कार्य गर्दै आएको भएता पनि यस क्षेत्रका लागि म विद्यार्थी जस्तै हुँ । सिकाइ भनेको मृत्युपर्यन्त रहने कुरा हो । मैले सिक्नुपर्ने अझै धेरै कुराहरु छन् । यस क्षेत्रमा मैले अझै धेरै योगदान दिनुपर्नेछ । म काममा विश्वास गर्छु र चर्चाको पछि कहिल्यै लाग्दिनँ । मेरा लागि सबैभन्दा ठूलो प्रतिश्पर्धि भनेको नै म आफैं हुँ । आफैंलाई बलियो र मजबुद बनाउन र उत्कृष्ट नतिजा दिन निरन्तर लागि रहनेछु ।
चलचित्रमा आउन शुरुमा लगानी गर्नुपर्छ, तपाईंको सवालमा यो कुरा लागू भयो कि भएन ?
हो, मैले पनि त्यही भनेको सुन्दै आएको छु । तर मेरो सवालमा त्यो भएन किनकि म मिस्टर नेपाल २०१२ मा उत्कृष्ट ५ हुँदै अभिनयमार्फत मोस्ट ट्यालेन्टको आवर्ड जित्न सफल भएको थिएँ । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुभएका निर्देशक उद्धब अभिजितले नै पहिलो पटक मलाई काले चलचित्रमा अभिनय गराउनुभएको हो । त्यसपछि क्रमशः अन्य चलचित्रमा जोडिँदै आएको हुँ । केही चलचित्रमा पारिश्रमिक नलिएर शेयरमा बसें, तर आफूले भने आजसम्म एक रुपैंया पनि लगानी गर्नुपरेको छैन ।
म्युजिक भिडियोमा पनि देखिनु हुन्थ्यो, अहिले देखिनु हुन्न किन ?
हजुर, विगतमा लगभग डेढ दर्जन भन्दा बढी भिडियोहरुमा काम गरें, तर केही वर्षदेखि भने गरेको छैन । चलचित्रमा काम गर्दा तयारी र समय धेरै दिनुपर्ने भएकाले समय व्यवस्थापन गर्न केही कठिनाइ हुँदा नगरेको हुँ । त्यो भन्दैमा गर्दै नगर्ने भन्ने होइन राम्रो टिम र राम्रो काम भयो भने फेरि पनि गर्नेछु ।
नेपाली चलचित्रले दर्शक नपाउनुको कारण ?
हाम्रो देशको जनसंख्याको तुलनामा चलचित्र निर्माणको संख्या धेरै भएर हो । धेरै निर्माण हुँदा राम्रा चलचित्र कम बन्ने गर्दछन् । नराम्रा चलचित्रका कारण दर्शकहरु भड्किरहनुभएको छ । अर्को पाटो भनेको १ करोडमा बनेको चलचित्रले ४–५ सय करोडमा बनेको चलचित्रसँग प्रतिस्पर्धा गर्नु परेका कारण पनि असर परेको देखिन्छ । नेपाली माटो, नेपालीपन र नेपाली समाजको मुद्दा बोकेका मौलिक चलचित्रले नेपाली दर्शकलाई आकर्षण गर्न सफल भएको देखिन्छ ।
नेपाली चलचित्रलाई विश्व वजारमा पुर्याउन के गर्नुपर्ला ?
सर्वप्रथम प्राविधिकरुपमा सबल चलचित्र निर्माण हुनुपर्दछ । नेपाली दर्शकहरु विश्वभर फैलिएका छन् । उनीहरुलाई लक्षित गरी चलचित्र निर्माण हुनपर्छ । पछिल्लो समय चलचित्र हेर्ने दर्शकहरुको पनि रोजाइ र अपेक्षा परिवर्तन भएको छ । दर्शकको रुचीलाई बुझ्ने कोसिस गर्नुपर्छ । नेपालको धर्म, संस्कृति र प्राकृतिक सौन्दर्यतालाई उच्च प्राथमिकतामा राखेर चलचित्र निर्माण गर्नुपर्छ । विश्व बजारमा लैजान सरकारी तवरबाट समेत समन्वय आवश्यक छ ।
भावी योजना के छ ?
आफ्नो अभिनयमा अझै निखारता ल्याउनका लागि प्रशिक्षणहरु लिनेछु । शारीरिक र मानसिक रुपमा बलियो हुनका लागि व्यक्तित्व विकासमा समय खर्चनेछु । देशभक्ति भाव बोकेका चलचित्रहरुमा काम गर्ने योजना रहेको छ, जसका कारण देशमा भएका विकृतिहरुको अन्त्य गर्नमा ठूलो सहयोग पुगोस् । कलाकारिताको अलावा सामाजिक कार्यहरुमा पनि सक्रिय हुने योजना बनाएको छु ।
मनोज साह/मध्यान्ह
काठमाडौं : अष्ट्रेलियामा होली पर्वको अवसर पारेर हुन लागेको ‘होली हंगामा कन्सर्ट २०२४’का लागि ख्याती प्राप्त कलकारहरु मंगलबार त्यसतर्फ गएका छन् । सिड्नीमा मार्च २३ मा हुने होली हंगामा कार्यक्रमका लागि मैथिली गायक जागेश ठाकुर र गायिका अनु चौधरी त्यसतर्फ गएका हुन् ।
एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा)को आयोजनामा हुने सो कार्यक्रमको भिसा पार्टनर युनिकटर्न एजुकेशन एन्ड माइग्रेशन नेपाल हो । युनिकर्टन नेपालकी निर्देशक रेखा कुमारी गुप्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कलकारलाई शुभकामनासहित बिदाइ गरिन् ।
तराई मधेशमा होली पर्वको आफ्नो मौलिक विशेषता रहेकाले यसलाई जोगाउन र अष्ट्रेलियामा रहेका नेपालीहरुसँग मिलेर होली मनाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । अष्ट्रेलियाको सिड्नीस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रमका लागि उपस्थित हुनसमेत उनले सबै अष्ट्रेलियावासी नेपालीला२ अनुरोध गरेकी छन् ।
उक्त कार्यक्रममा गायिका अनु चौधरी, जागेश ठाकुरका साथै दीपक लिम्बू, भोजपुरी सुपरस्टार रितेश पाण्डे र जेनिशा गौतमको पनि प्रस्तुति रहने छ । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनका लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको हो ।
युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबाट सनत गुप्ताले यस्तो कार्यक्रममा सहयोग गर्न पाउनु आफ्ना लागि खुसीको विषय रहेको बताए । ‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सवको आयोजना गरेको उनले उल्लेख गरे । तराई–मधेशको होली संस्कृति अनुसारका परिकारसहित भोजपुरी र मैथिली खानाको स्वादसमेत लिन पाइने आयोजकले जनाएको छ ।
नेपालको तराई क्षेत्रबाट अष्ट्रेलिया आएर विभिन्न पेसा, व्यवसाय, अध्ययन एवम् अध्यापनमा रहेकाहरुबीच साथ सहयोग र भाइचारा बढाउने उद्देश्यले साझा चौतारीको रुपमा एन्टा स्थापना भएको अध्यक्ष रन्जित साहले बताए । एन्टाले सिड्नीमा नेपालको तराई–मधेश क्षेत्रमा विशेष मनाइने छठ, होलीलगायत चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ छ । एशोशिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेशी समुदायको पहिलो र सबैभन्दा पुरानो संस्था भएको उनले उल्लेख गरे । एन्टा सन् २००८ मा स्थापना भएको हो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गीत संगीतको मोह धेरैमा छ l रङ्गिन पर्दा हुँदै विशाल आकाशको उडान भर्न चाहनेको लर्को नेपाली सांगीतिक आकाशमा बाक्लो छ l यही सांगीतिक आकाशमार्फत सांगीतिक उडान भर्न २०७५ सालमा ओखलढुंगाबाट काठमाडौं आएकी हुन् कविता खत्री l
सात वर्षको उमेरमा जन्मदिने बुबा गुमाएकी घरकी माइली छोरी खत्रीको परिवारमा आमासहित एक दिदी, एक बहिनी र भाइ छन् । उनले अनेकौं दु:ख र उल्झनलाई जित्दै गीत संगीतमा निरन्तरता दिँदै आएकी छिन् l उनी आफ्नै एल्बम होस् या अरूका एल्बममा होस् रुचाइएकी गायिका हुन् l यिनै गायिका खत्रीले आफ्नै अफिसियल युट्युबमार्फत नयाँ लोक दोहोरी गीत 'देउ न त्यो मन' लिएर आएकी छिन् ।
माया र प्रेमको कथामा विक्रमबाबु विश्वकर्माले लेखेका शब्दमा खत्रीसँगै चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले आवाज भरेका छन् । नन्दु परियारले संगीतबद्ध गरेको गीतको भिडियोमा चर्चित मोडल तथा नायक पुष्प खड्का र कुशल नृत्यंगना कविता नेपालीले कम्मर मर्काएका छन् l अशोक विकले क्रोरियोग्राफी तथा निर्देशन, अजय रेग्मीले खिचेको भिडियोको सम्पादन मिल विश्वकर्माले गरेका छन् l
सांगीतीक क्षेत्रमा दैनिकरूपमा दर्जनौं गीत सार्वजनिक हुने र निकै महँगा मानिने 'प्रोजेक्ट'हरू दर्शकसामु पानी पनि भन्न नपाएको बुझेकी खत्रीले भने आफ्नो गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको मध्यान्ह दैनिकसँगको कुराकानीमा बताइन् l
काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।
आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।
‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।
काठमाडौं : ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित आयोजना भएको १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म देशका विभिन्न भागमा आयोजना गरिएको मेला फागुन १९ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन समारोहबाट शुरुवात भएको थियो । कार्यक्रममा ११ देशका ३५० भन्दा बढी कलाकारको सहभागिता रहेको थियो ।
काठमाडौंमा उद्घाटन कार्यक्रमपछि मेला दाङको घोराही, पोखराको लेकसाइड हुँदै काठमाडौं फर्किएको थियो । ११ देशका कलाकारले बसन्तपुर दरबारक्षेत्र तथा काठमाडौंको मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीमा आफ्नो प्रस्तुति दिएका थिए ।
दाङको घोराही बजार, काठमाडौंको असन इन्द्रचोक हुँदै बसन्तपुर दरबारक्षेत्र, पोखराको लेकसाइड तथा मनमैजु क्षेत्रमा अष्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, नेपाल, भारत, इन्डोनेसिया, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका सहभागी कलाकारहरूले आ–आफ्नो देशको संस्कृति झल्काउँदै संगीत र नृत्यप्रतिको साझा प्रेम झल्किने झाँकी प्रदर्शन गरेका थिए । उक्त मेला १० लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गरेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले जानकारी दिएको छ ।
विगत दुई दशकदेखि प्रत्येक दुई वर्षमा विश्वका विभिन्न देशलाई निमन्त्रन्णा गरी आयोजना गरिने यस मेला एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा सम्पन्न गरिएको हो ।
उद्घाटन सत्रमा ग्रुपका संस्थापक अध्यक्ष तथा १२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका साथमा नेपाल टेलिकमका संयोजक डा. आरसी कोइराला ‘रामचन्द्र’ले भने, ‘हामी सबै फरक पृष्ठभूमिबाट आएका छौं, तर नृत्य र संगीतमा हाम्रो साझा लगावले आज हामीलाई यहाँ जोडेको छ । यस्ता सांस्कृतिक आदानप्रदान कार्यक्रमले विभिन्न देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने हामीले विश्वास लिएका छौं ।’
१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको स्थानीय आयोजक दाङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेश, बज्र कला कुञ्ज, लालीगुराँस नेशनल एकेडेमी, नेपाल टेलिकम, बुढानीलकण्ठ नगरपालिका, पोखरा महानगरपालिक, ललितपुर महानगरपालिक, नेपाल संगीत नाट्य एकेडेमीका साथै विभिन्न अन्तर्राष्ट्रिय संघसस्थाहरु, विभिन्न सञ्चारगृह, सञ्चारमाध्यमलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई ग्रुपले धन्यवाद ज्ञापन गरेको छ । १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा पुनः भेट्ने गरी सम्पूर्ण कलाकारहरुलाई बिदा गरिएको ग्रुपले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies