काठमाडौं : आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ । फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रुपमा रहने जानकारी गराएका छन् ।
आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ । तर निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको प्राप्तिको खोजको रुपमा पनि प्रस्तुत गर्ने प्रयास रहेको बताएकी छिन् ।
हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन् । सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वाताहरुमा बताएकी छिन् ।
७ वर्ष लगाएर बनाएको डकुमेन्ट्री अहिले विश्वका फिल्म फेस्टिभलमा आकर्षणको केन्द्र रहँदै आएको छ । डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेसनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो ।
डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ । यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन् । विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन् ।
चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
काठमाडौं : संगीतकार संघ नेपालको १२औं साधारण सभाले केन्द्रीय सचिव पदमा चर्चित संगीतकार शंकर थापा ‘स्माइल’लाई मनोनीत गरेको छ । राजधानीमा सम्पन्न कार्यक्रममा थापा सर्वसम्मत निर्णयबाट सचिव पदमा मनोनीत भएका हुन् ।
सचिव पदमा मनोनीत भएलगत्तै थापाले संगीतकार संघको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिनुका साथै कार्यभार ग्रहण गरेका छन् । उनलाई संघका अध्यक्ष चेतन सापकोटा, महासचिव बसन्त सापकोटा, कोषध्यक्ष राजेश थापालगायतका पदाधीकारीहरुले स्वागत गरेका थिए ।
गत वर्ष सम्पन्न निर्वाचनमा थापा कार्यसमिति सदस्य पदमा निर्वाचित भएका थिए । सदस्य पदमा रहेर थापाले संस्थाको बृहत्तर हितका लागि विभिन्न कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई सचिव पदमा सर्वसम्मतीले मनोनयन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । सोही सभाले संगीतकार योगेन्द्र उपाध्याय निरौलालाई सदस्य पदमा मनोनयन गरेको छ ।
काठमाडौं : ‘१२औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षबारे जानकारी दिएको हो ।
फागुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौं, दाङ, पोखरा र ललितपुरमा आयोजना हुने आयोजक संस्था एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
‘ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आवद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र सम्वर्द्धनमा प्रत्यक्ष तथा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौं,’ कोइरालाले भने, ‘यसबाट देशको विविध सांस्कृतिक, पुरातत्विक र अन्य पर्यटकीय स्थलको मात्र नभइ नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अष्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्याण्ड, साउथ अफ्रिका र नेपालसहित विभिन्न राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरुले भाग लिनेछन् ।
नेपाल जस्तो बहुजातीय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरु रहँदै आएको बताउँदै ग्रुपले नेपाली संस्कृतिप्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवद्र्धनका दृष्टिकोणले राम्रै मान्न सकिने बताएको छ । आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृतिप्रति स्वयं नेपाली उदासिन हुनु दुःख लाग्दो पक्ष भएको र आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिढीलाई पनि यसतर्फ आकर्षित गर्न यस्तो मेला महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।
मेला २०५८ देखि प्रत्येका २ वर्षमा नियमित आयोजना हुँदै आएको छ । शुरुवातदेखि एघारौं संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८ हजार ५ सय भन्दा बढी कलाकारहरुले घर आँगनमा आ–आफनो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोकसांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक प्रर्यटन प्रवद्र्धनको आफनो अभियानलाई निरन्तता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुका साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ ।
‘यस पटकको महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाइ सांस्कृतिक झाँकी गर्ने र आफ्नो लोकगीत, संगीत र लोक नृत्य प्रस्तुत गर्नेछन्’, आयोजक संस्थाका अध्यक्ष कोइरालाले भने, ‘काठमाडौं आसपासका विद्यालयमा गइ विदेशी कलाकारहरुले आफ्ना सांस्कृतिक प्रस्तुति दिने र विद्यालयका विद्यार्थीहरुले समेत सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।’ यस किसिमको सांस्कृतिक आदान प्रदानले विद्यार्थीहरुमा आफ्नो लोक संस्कृतिप्रति अभिरुची बढ्ने विश्वास अध्यक्ष कोइरालाको छ । मेलाको उद्घाटन फागुन १९ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।
काठमाडौं : प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ । मंगलबार ओएसआर डिजिटलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । एक मिनेट १२ सेकेण्डको टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । फिल्म ‘महाजात्रा’ ‘जात्रा’को तेस्रो शृंखला हो ।
टिजरमा अभिनेता राजाराम पौडेलको पात्रले एक गाडी पैसा लुकाउन प्रस्ताव गरेपछि तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले गर्ने संघर्ष र व्यहोर्नुपर्ने हैरानीलाई देखाइएको छ । टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । ‘महाजात्रा’ भने सत्ता र पैसामा आधारित रहेको टिजरले प्रष्ट पारेको छ ।
फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ ।
षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । पुरुषोत्तम प्रधानले छायाँकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन् ।
आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्ममा प्रेम, मित्रता, परिवार र राष्ट्रियताको विषयलाई उठाएको निर्देशक भट्टराईले बताएका छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : ‘राई ईज किङ’ अर्थात राजेश पायल राईले खोटाङ जिल्लाको अति न्यून वर्गको परिवारमा जन्मेको मान्छे काठमाडौं आउनु, गीत संगीतमा प्रवेश गर्नु फलामे गेट जस्तो गाह्रो रहेको स्मरण गर्दै विगत ३५ वर्षदेखि नेपाली गीत संगीतमा दर्शकको मायाले टिकेको बताएका छन् । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा उनले दर्शकहरूको आशीर्वाद नै आफ्नो सम्पत्ति रहेको, दर्शकको साथले आफू नेपाली गीत संगीतमा बिकिरहेको र आफू मारेर जाँदा पनि माया लिएर जाने बताएका हुन् ।
आफ्नो बिचार राख्ने क्रममा राईले ‘पहिचान कहिल्यै दोस्रो नहुने’ बताए । उनले आफू किराती भए पनि तामाङको कार्यक्रममा आउन पाउँदा खुसी लागेको बताए । शुक्रबारको ‘ल्होछार कन्सर्ट– २०२४’ आफ्नो पपुलारीटिले नभइ घेदुङको मेहनत र दर्शकको मायाले सफल भएको उनको भनाइ थियो । राईले आफूले सकारात्मक सोच राख्न सके जीवनमा धेरै सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । आफ्नो धर्म र संस्कृति, रीतिरिवाज जहाँ रहे पनि जोगाउन लाग्नुपर्ने र त्यसका लागि घेदुङ धन्यवादको पात्र बनेको उनले बताए ।
उक्त कार्यक्रममार्फत राईका अलावा तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङ, म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबा र गायक उमङ्ग लामा सम्मानित भएका थिए । मायाको चिनोसहित सम्मान गरिएको कार्यक्रममा कलाकारलाई पारिश्रमिक पनि बन्द खाममा उपलब्ध गराइएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै गायक तामाङले कार्यक्रममा निमन्त्रणा गरेर कतारसम्म ल्याउन सहयोग गर्ने घेदुङलाई धन्यवाद प्रकट गरे भने म्हेन्दोमाया गायिका वाइबाले गत सालको कार्यक्रममा आउन नसके पनि यो पटकको प्रयास सफल भएको भन्दै घेदुङ कतारले दिएको माया, सम्मान, सद्भाव सदैव मनमा राखिरहने बताइन् । दोस्रो पटक कतार आएकी मनमायाले पनि आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।
ल्होछार कार्यक्रमका लागि संगीतको दुनियाको बादशाहलगायत अन्य कलाकारहरूले संस्थागत निम्तोलाई सहर्ष स्वीकार गर्दै कतारसम्म आएर कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विशेष साथ दिने कलाकारसहित कतारमा स्थापित विभिन्न संघ–संस्था, समाजसेवी, बुद्धिजीवी, पत्रकार, स्थानीय कलाकारलाई घेदुङ कतार कार्यसमितिका अध्यक्ष विकास स्याङ्तानले धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौं : लोकप्रिय गायक स्वरुपराज आचार्यको नयाँ गीत 'सताएर जाउ' सार्वजनिक भएको छ । अविदित फाउन्डेसनको प्रस्तुति रहेको गीतमा लोकप्रिय मोडल अनुपजंग थापा बिचित्र र ऋचा थापाको अभिनय रहेको छ । डिआर अटुको संगीत, राज थेगीम आसरुतको शब्द, राजु कार्कीको एरेन्ज रहेको गीतलाई ओम प्रकाश अगस्तीले भिडियो निर्देशन र सम्पादन गरेका छन् ।
लामो समय विदेशमा बसेर नेपाली गीत संगीतमा केही गर्ने उद्देश्यका साथ नेपाल आएका अनुपजंग थापाले अविदित फाउन्डेसन नामक संस्था सञ्चालनमा ल्याएका छन् । नायिका बेनिसा हमाल अध्यक्ष रहेको उक्त संस्थामार्फत नेपाली कला, साहित्य, गीत संगीत र सामाजिक कार्यमा काम गर्ने उद्देश्य रहेको उनले बताए ।
निकै मर्मस्पर्शी गीत 'सताएर जाउ' हालसालै बजारमा आएको गीत हो । रक कौशलको क्यामेरामा रमणीयस्थानमा छायाँकन गरिएको गीतबाट आफू आशावादी रहेको मोडल अनुपजंग बताउँछन् । नायिका बेनिशा हमालसँग उनको 'सुनिदिने कोही भए' बोलको गीत केही समयअघि सार्वजनिक भएको थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले शुक्रबार ल्होछार भव्यरूपमा मनाएको छ । नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछारका अवसरमा ‘ल्होछार कन्सर्ट २०२४’ आयोजना गर्दै मनाइएको हो । कन्सर्ट नेपालबाट कतारसम्म आएका र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिसँगै सम्पन्न भएको हो ।
तामाङ जागरण गीत, झाँकी, नृत्यसहित उद्घाटन गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारले उद्युम मच्चाएका थिए । सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच, लामा नाच, म्हेन्दोमायालगायत विभिन्न नेपाली तथा तामाङ सांस्कृतिक प्रस्तुति रहेको कन्सर्टमा नेपालबाट आमन्त्रित गायक उमङ्ग लामाले केही नयाँ तथा पुराना गीतहरू सुनाए । लामाले काटदिउँला जुँगा जम्मै, हाम्रो जुगको पानी राम्रो, वारी जमुना पारी जमुनालगायतका आधा दर्जन गीत गाए । लगत्तै स्टेजमा चढेकी तामाङ सेलो गायिका रेश्मा बोम्जन तामाङले म्हेन्दोमायालगायतका आफ्ना केही हिट गीतहरू गाइन् ।
जापानको सांगीतिक कार्यक्रम सकेर शुक्रवार मात्र कतार आइपुगेकी चर्चित म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबाले म्हेन्दोमाया गीतमा नचाइन् । उनले कतारमा दोहोरीमा आफूलाई जितेर यतै राख्न युवाहरूलाई ठट्यौली पारामा जिस्काउँदै नेपाली गीतहरू समेत गाइन् ।
घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास स्याङ्तानको सभापतित्व तथा कतारका लागि नेपाली सहायक राजदूत तथा मिसन उपप्रमुख कुमार राईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले ऐतिहासिक कार्यक्रममा प्रत्यक्ष सहभागी भएर कार्यक्रमको अवलोकन गर्न पाउँदै खुसी लागेको बताए । उनले भव्य कार्यक्रम आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेकोमा घेदुङ प्रवास समिति धन्यवादको पात्र बनेको बताउँदै ल्होछारको शुभकामना दिए ।
कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा शुक्रबार अल अरबी स्पोर्ट्स क्लबको हलमा सम्पन्न भएको हो । सांगीतिक प्रस्तुति अन्तर्गत अन्तिम प्रस्तुति राजेश पायल राईको रहेको थियो । साँझको करिब सवा ६ बजे स्टेज चढेका राईले स्टेजबाट आइ लभ यु कतार भन्दा उनलाई हलको हुटिङ र मायाले भावुकसमेत बनायो । ‘जीवनमा धन सम्पत्ति, जग्गा जमिन जति जोडे पनि छोडेर जाने हो, तर यो माया आफैंले लगेर जाने हो,’ उनले भने ।
राईले दर्शकले दिएको माया र साथ नै आफ्नो साथमा लिएर जान सकिने हुँदा माया नै बाँड्नु र बढाउनु राम्रो हो भन्दै सिमल छाँयाले बोलको गीतमार्फत प्रस्तुति राख्न शुरु गरेका थिए । राईले दर्शन नमस्ते, तिमी सँगै जिउने मर्ने चाहना, म त मर्छु कि क्या हो ठूली, बसमा छैन यो मनलगायत एक दर्जन गीत गाए । राईलाई दर्शकले वान्स मोर गरी नै रहे ।
कार्यक्रम संयोजक एक्का प्रसाद तामाङले कार्यक्रमको बारेमा जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई तामाङहरूको पोसाक (तागी) टोपी लगाइ सम्मान गरिएको थियो ।
महासचिव भीम राज स्याङबो तामाङ र उपमहासचिव कमला दोङ तामाङले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति लामाले कार्यक्रमको व्यवस्थापन, सुरक्षा तथा स्वयंसेवकका रूपमा खट्ने, सहयोगी, प्रायोजक र उपस्थित सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिएका थिए ।
लोभलाग्दो कार्यक्रम र व्यवस्थापन
अल अरबी स्पोर्ट्स क्लबको हलमा घेदुङ प्रवास कार्यसमितिलाई साँझ ७ बजेभित्र कार्यक्रमको समापन गर्न दबाब थियो । कतार सरकारबाट अनुमति लिएर आयोजना गरिएको कार्यक्रमको भव्य हललाई तामाङहरूले आफ्नो संस्कार अनुसार धज्र्युले शुद्धीकरण गरेका थिए ।
कार्यक्रममा आमन्त्रित अतिथिसहित प्रत्येक व्यक्तिलाई प्रवेशद्वारमा नै खादा लगाएर स्वागत गरिएको थियो । हलको पोडियमबाहेक ग्राउन्डमा राखिएका सयौं कुर्सी अतिथि र दर्शकले भरीभराउ भएको थियो । करिब २ हजार जना उपस्थित रहेको कार्यक्रममा खाना पानीको समेत व्यवस्था चुस्तरूपमा गरिएको थियो ।
निकै व्यवस्थितरुपमा लोभ लाग्दो उपस्थितिबीच घेदुङ प्रवास कार्यसमितिले सोनाम ल्होछार भव्यरुपमा मनाएको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछार मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरी मनाउने गरिन्छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
काठमाडौं : चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार, संस्कृति सम्वद्र्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘सुगुप’ फागनु १२ गते शनिबार र फागुन १७ गते बिहीबार विशेष प्रदर्शन हुने भएको छ ।
किरात याक्थुङ चुम्लुङ उपत्यका समिति काठमाडौं, ललितपुर, भक्तपुर याक्थुङ युथ एशोसिएशन, लिम्बू विद्यार्थी मञ्च, फक्ताङलुङ सयङ, ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ समाजको सहआयोजनामा बिग मुभिज सिनेमाज सिटी सेन्टर, कमलपोखरीमा चलचित्रको विशेष प्रदर्शन हुने बिहीबार पत्रकार भेटघाट कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ ।
चलचित्रमा लिम्बू जातिमा प्रश्रव पीडा अर्थात सुत्केरी व्यथाका कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा तथा सुत्केरी हुँदा रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा अलग हुन्छ । चलचित्रमा सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा)हरुको के कस्तो भूमिका रहन्छ भन्ने देखाउन खोजिएको निर्देशक लोकेन साँवा लिम्बूले जानकारी दिए ।
चलचित्र ‘सुगुप’मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेलालगायतका कालाकारहरुको अभिनय रहेको छ ।
शब्द यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ, पाश्र्व÷संगीत अशोक लोहरुङ राई, स्वर राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बू, मनु नेम्वाङ, सुमन लिम्बू, पटकथा देवेन्द्र खापुङ (सुरकेली), छायाँकन युवराज राई (वीरबहादुर), सम्पादन विपिन्न मल्ल, कलरिष्ट रेनिस फागो, प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बू, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बू, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द निर्देशन किशोर सम्बाहाङ्फे, कला निर्देशन निश्चल कुलुङ राई, मेकअप विजय लामा, सञ्जु थलङ, भेषभुषाः बबिता नयोङहाङ, लिम्बू–नेपाली सबटाईटल डि.बि.आङबुङ, अंग्रेजी सबटाईटल गौतमराज खड्का तथा निर्देशन लोकन साँवा लिम्बूको रहेको छ ।
भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रको कथा, निर्माण तथा निर्देशन लोकेन साँबा लिम्बूको रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : 'ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो सांगीतिक प्रस्तुति दिन भर्षटायल गायक राजेश पायल राई 'राई इज किङ' कतार आइपुगेका छन् । नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको 'मञ्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्ट'का २०२४ का लागि गायक राई कतार आएका हुन् ।
तामाङहरूको महान पर्व सोनाम ल्होछारको शुभ अवसरमा कन्सर्टमा आफ्नो प्रस्तुति दिन गायक उमङ्ग लामा र गायिका रेश्मा बम्जन बुधबार नै दोहा आइपुगेका छन् l म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाइबा तामाङ बिहीबार राति दोहा आएपुग्ने आयोजकले जनाएको छ । गायक राईसहितका कलाकारको स्वागतका लागि घेदुङका अध्यक्ष विकास स्याङ्तानलगायतका अन्य पदाधिकारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
शुक्रबार अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियाल गरी ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ । बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । टिकटका लागि आयोजकले अनलाइन http://www.q-tickets.com मार्फत खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ l टिकट होल्डरहरूका लागि कतारका विभिन्न स्थानबाट यातायातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मध्यान्ह दैनिक उक्त कन्सर्टका लागि सञ्चार सहयोगीका रूपमा रहेको छ l
नेपालीहरूको राष्ट्रिय पर्व, तामाङ जातिको नयाँ वर्ष मञ्जुश्री २८६० (डुक ल्हो/मु पुख्री वर्ष) अर्थात सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने गर्दछन् l मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशु पन्छीको नामबाट गणना गरिएकाले यस समुदायलाई प्रकृति पूजक मानिन्छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल आइडलको तेस्रो सिजनका सेकेन्ड रनर अप किरण भुजेल र उत्कृष्ट ९ मा परेका चर्चित गायिका ममता गुरुङले कतारमा उधुम मच्चाएका छन् । गायक भुजेल र गायिका गुरुङले बुघबार राति अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको "भ्यालेन्टाइन नाइट" मा उधुम मच्चाएका हुन् ।
रातको करिब १२ बजे स्टेज चढेकी गायिका गुरुङले फेरी भेट नहोला, मत डुब्दै डुब्दै गए, सुन मरी रानी, नशालु तिम्रो आँखाले, रेलीमै रेलीमै, सेल्फी हानौंला सहित दर्जन गीत पेस गरिन् । लगत्तै स्टेज चढेका भुजेलले तालको माछी, पिउँदिन भन्दा भन्दै, आधा दु:ख घटाएर, तिमि बिना चल्दैन मेरो सास आँखामा बसाउलगायतका दर्जन गीत गाए ।
उनीहरूले आज साँझ पनि सोही क्लबमा पुन: सांगीतिक प्रस्तुति दिने कार्यक्रम संयोजक रोशन अर्यालले मध्यान्ह दैनिकलाई जानकारी दिए । आज प्रवेश निःशुल्क रहेको कार्यक्रमको ढोका दिउसो दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक कार्यक्रम सुचारु हुनेछ ।
बुधबार रातिको कार्यक्रममा संयोजक अर्याल, क्लब सञ्चालक सन्दीप भट्टराईले समेत भर्षटायल गायिका साना महर्जनसँग जोडी बाँधेर युगल गीत गाए । कार्यक्रमको अन्तिम प्रहरमा भुजेल र गुरुङले युगल गीत मार्फत नाइटको बिट मारेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies