काठमाडौं : गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए ।
उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायतका गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय छन् ।
बनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट अवकाश भएका थिए ।
वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पुर्याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : निकै पुरानो भाकालाई पछिल्लो समय प्रत्यक्ष दोहोरीमा प्रयोग गर्न थालेपछि चर्चामा आएको हो ‘रेलै सलल’ । यही भाकामा आएको नयाँ गीत अहिले सामाजिक सञ्जालमा निकै हिट भइरहेको छ । अमेरिकामा बसोबास गर्दै आएका बागलुङका राजन क्षेत्रीले सञ्चालन गर्ने ई–नेपाल रोधी घरको युट्युबबाट उक्त गीत बुधवार राति बजारमा आएको हो ।
द्वन्द्वकाल माया प्रेम र लाहुरेको कथा बोलेको मौलिक गीतका शब्द संकलन बालकुमार श्रेष्ठले गरेका हुन् भने रामेश्वर ढकालले संगीत संकलन गरेका छन् । माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र स्वयं श्रेष्ठले स्वर दिएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । केसीले सिर्जना गरेको संगीत अहिले टिकटकमा सर्वाधिक रुचाइएको छ । घुम्ती घुम्ती रोड गीतमा जँडियाको आवाजमा गीत गाउँदै अभिनय गरेर ह्वात चर्चामा आएका म्याग्देली कमेडीयन तथा गायक कार्कीले यस गीतमा आवाजसहित डबल रोलमा अभिनय गरेका छन् । उनको अभिनयले यस गीतमा पनि विशेष आकर्षण पाएको छ ।
सुरेश श्रेष्ठ र सञ्जीव खनालले खिचेको भिडियोमा दर्जनौं स्थानीयहरूलाई समेत देख्न सकिन्छ । गीतको भिडियोको कथाले गाउँ छोडेर कहीँ जान नसक्ने र लाहुरे पनी गाउँमै बस्नुपर्ने सन्देश दिएको छ । विष्णु शर्माको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको कोरीयोग्राफी प्रवीन थापाले गरेका हुन् । गायक गायिकाका अलावा भिडियोमा सुमन परियार विशेष आकर्षणको रूपमा फिचर्ड छन् ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : नेपाल मगर संघ शाखा कतारको आयोजनामा आगामी शुक्रबार माघ्या सकराटी-२०२४ बृहत् वनभोज तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ l उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट चार जना कलाकार कतार आउने क्रम शुरु भइसकेको छ l जसमध्ये लोक दोहोरी गायक तथा हास्य कलाकार अर्जुन कुँवर केही दिन पहिले नै कतार आइपुगेका छन् भने बुधबार बिहान लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर (रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर कतार आइपुगेका छन् ।
आमन्त्रित कलाकारहरूलाई स्वागत गर्न संघका अध्यक्ष, महासचिव सहित कार्यसमितिका पदाधिकारीहरू हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । शुक्रबार बिहान १० बजेबाट अल अरबी स्पोर्ट्स क्लबमा सञ्चालन हुने कार्यक्रममा मगरहरूको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई निरन्तरता दिइने भएको छ l महिलाहरूका लागि म्युजिकल चेयर र पुरुषहरूका लागि डोरी तान्ने खेल समेत खेलाइने भएको छ l कार्यक्रममा मगर समुदायको मौलिक नाच सालै जो, कौराह, झ्याउरे, हुर्रा, भुम्या तथा लोकदोहोरी मगर फिल्मी र आधुनिक गीतहरूमा नृत्य तथा गायन प्रस्तुत गर्ने आयोजक संघले जनाएको छ l कार्यक्रममा आउन जानको लागी कतारको दोहा, सनैया, अल्खोर, सहानिया तथा अन्य स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ l
नेपालबाट आमन्त्रित अर्का चर्चित गायक सर्जक तथा संगीतकार डोलराज बार्हघरे नेपाल मगर संघ शाखा यूएईले आयोजना गरेको माघ्या सकराटी मेला तथा सांस्कृतिक साँझ २०८० मा सांगीतिक प्रस्तुति दिएर यूएईबाट बुधबार राति दोहा आइपुग्ने जानकारी कार्यक्रम संयोजक देवी कुमारी मगरले मध्यान्ह दैनिकलाई जानकारी दिइन् l बाह्रघरे कतार आएसँगै कार्यक्रमको तयारी पनि पूरा हुने उनको भनाइ छ l
काठमाडौं : ‘आइसी डिजाइनर रनवे’ सिजन–१३ का लागि २४ मोडल छानिएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजित अडिसनबाट १८ महिला र ६ पुरुष गरेर २४ मोडल छानिएका हुन् ।
अडिसनमा ३५० भन्दा बढी मोडलको सहभागिता रहेको थियो । अभिनेत्री प्रियंका कार्की, सविता कार्की, नेक्स्ट मोडल्स नेपालका सीईओ रवि धमला, कमर्सियल फोटोग्राफर राजभाइ सुवाल, मिष्टर नेपाल विजेता समर्पण कार्की, आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी र राजश्री थापालगायतका निर्णायकले मोडल छानेका हुन् । छानिएका मोडल आगामी चैत १६ (मार्च २९) गते होटल याक एण्ड यतिमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा ¥याम्पमा प्रस्तुत हुनेछन् ।
शोमा विभिन्न फरक फरक देशका १२ जना अन्तर्राष्ट्रिय मोडलको पनि सहभागिता रहनेछ । फेसन शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले बहन गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसन शोको रुपमा ‘आइससी डिजाइनर रनवे’को आगामी सिजन आफूले प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सीईओ धमलाले जानकारी दिए ।
‘आइसी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अबको सिजमा आइसी कलेजका २०२१ ब्याजका विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक–फरक पहिरन १५ सिक्वेलमा प्रदर्शन हुनेछ ।
‘आइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिइन् ।
काठमाडौं : नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकमर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ ।
महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनोट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको बताए ।
‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ,’ उनले भने, ‘तर निरन्तरता दिने हिसाबले आर्थिकरुपमा यसले चुनौतीको सामना गरिरहनु परिरहेको छ । यो पक्षका लागि सबैसँग सहयोगको अपेक्षा राखेका छौं ।’ निफमा यो पटक छनोटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको जानकारी गराइएको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पुँजी र बजार एवम् पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए । उनले राष्ट्रिय चलचित्र उद्योग पुँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष यही अवस्थामा रहिरहने र निफ जस्ता कार्यक्रमले यस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए । यसैगरी उनले पश्चिमा चलचित्रकर्मी कथाको खोजीमा रहेका पूर्वीय दर्शन र ज्ञान बाँड्नमा पनि महोत्सव सक्रिय हुन सुझाव दिएका थिए ।
अघिल्लो साल ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीप खड्काले आफू चलचित्रको सिकारु भए पनि चलचित्रलाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो लागि जिज्ञासाको विषय रहेको धारणा राखेका थिए । ‘म आकस्मिक कलाकार हुँ । जीवनमा धेरै कुरा कोसिस गर्ने क्रममा कलाकार बनेको हुँ । चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामर्थ्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसैलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पथ्र्यो कि,’ प्रदीपको भनाइ थियो ।
यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका थिए । ‘पञ्चायतकालीन कानूनको भरमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौं । अहिले हामी कानुन निर्माणका लागि लागि परेका छौँ । योपछि विश्व बजारमा जाने फिल्मको निर्माणमा बल्ल सघाउन सक्छौँ,’ उनको भनाइ थियो ।
निफको यो संस्करण पनि अघिल्लो संस्करणझैं राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु चलचित्र र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।
प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ । प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका अन्य फिल्म प्रदर्शन गरिनेछन् । आयोजकले महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिने जनाएको थियो ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।
महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।
सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।
यो सालबाट दर्शक रुचीका चलचित्रलाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको जानकारी गराउन चाहान्छौँ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको मतका आधारमा चयन गरिनेछ ।
काठमाडौं : 'मिसेस नोबेल नेपाल–२०२४' को ताज काठमाडौंकी सिरोसा सापकोटाले पहिरिन सफल भएकी छिन् । ताजसँगै उनले यही चैतमा इजिप्टमा हुने एनएफईए अवार्ड–२०२४ मा इन्ट्री टिकटसमेत प्राप्त गरेकी छिन् । हिमायलन मुभिज प्रोडक्सन हाउसद्वारा आइतबार अपराह्न राजधानीको म्युजिक सिटी स्टुडियोमा आयोजित कार्यक्रममा शिला श्रेष्ठ फस्ट रनरअप र जुना भण्डारी सेकेन्ड रनरअप घोषित भए ।
चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा 'जति हेर्यो उति राम्रो' बोलको गीतमा ओपनिङ नृत्य गरेका प्रतियोगीहरूले सुब्बाकै कोरियोग्राफीमा दुई साताको प्रशिक्षणपश्चात स्टेजमा आफूलाई पारङ्गतरुपमा परिचय चरण, प्रश्नोत्तर र क्राउनिङ चरणमा उतारेका थिए । कार्यक्रममा विविध सब–टाइटलहरूसमेत वितरण गरिएको थियो । जसमा सिरोसा सापकोटा मोस्ट इन्टिलिजेन्ट, शिला श्रेष्ठ मोस्ट करिज्म्याटिक, जुना भण्डारी मोस्ट एट्राक्टीभ, रोशनी श्रेष्ठ मोस्ट स्मार्ट, निशा दुवाल मोस्ट डिलिजेन्ट, बुद्धिसरा अर्याल मोस्ट अनेस्ट, सिता राउत मोस्ट प्यासोनेट र रिया दाहाल बेस्ट फोटोजेनिक एवम् पब्लिक भिडियो च्वाइस अवार्ड प्राप्त गर्न सफल भए ।
कार्यक्रमको निर्णायकमण्डलमा अभिनेता तथा चलचित्रकर्मी विशाल विष्ट, मोडल नायक मनिष राउत, मिसेस हिमालयन नेपाल–२०२० माया लामा, व्युटिसियन नेपाल–२०२१ तथा मोडल मन्जु थापा र मिसेस हिमालयन नेपाल–२०२३ अनुषा केसी रहेका थिए । कार्यक्रममा कलाकारहरूले आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए । विवाहित महिलाहरूले आफूलाई आफ्नो घरपरिवार, व्यवसाय सम्हाल्दै स्टेजसम्मको यात्रा तय गरी आफूलाई प्रमाणित गर्न सक्छन् भन्ने कुरा दर्शाउन र महिलाहरूमा निहित प्रतिभाको प्रस्फुटन गराउन कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
काठमाडौं : गीतकार प्रकाश पण्डितको देशभक्ति र राष्ट्रिय भावनाले भरिएको गीत ‘मुटुभित्र नेपाल’ सार्वजनिक भएको छ । जिल्ला अदालतका न्यायाधीशसमेत रहेका गीतकार पण्डितको उक्त गीतका हरेक शब्दमा देशको माया व्यक्त गरिएको छ । पण्डितको शब्द रहेको गीतमा गायक थानेश्वर गौतमको स्वर तथा संगीत रहेको छ ।
देशप्रतिको माया, आस्था र विश्वासलाई मिठो तरिकाले गीतमा वर्णन गरिएको छ । गीतमा रहेको ‘मर्दा पनि मुटुभित्र नेपाल भनेर लेख्न पाइयोस्’ भन्ने लयले सबैको मन छुन्छ । गीतमा वीरताको गाथा, नेपालीको खुसी, पुर्खाको योगदान सबै भेट्न सकिन्छ ।
लक्ष्मी पण्डितको प्रस्तुति रहेको गीतको भिडियोमा अभिनेता राजेश हमालले अभिनय गरेका छन् । सुव्रत आचार्यको निर्देशनमा तयार पारिएको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् ।
१२ मिनेट ३० सेकेन्डको गीतको भिडियोमा अभिनेता हमालका साथै बाल कलाकार सायरा आचार्य, दियान गौतम, सन्देश पौडेललगायतले अभिनय गरेका छन् ।
काठमाडौं : चर्चित लोकदोहोरी गायिका गीता भट्टराई सम्मानित भएकी छिन् । सांस्कृतिक समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान वितरण तथा धन्यवाद ज्ञापन कार्यक्रममा गायिका भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका सचिव, प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री छविलाल विश्वकर्मा र समाजका अध्यक्ष रामप्रसाद अवस्थीले गायिका भट्टराईलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
लामो समयदेखि नेपाली मौलिक गीत, संगीत, कला, साहित्य, पर्यटन र संस्कृतिको क्षेत्रमा आवद्ध भइ आफ्नो सिर्जना, कला र गलाको माध्यमबाट सांगीतिक क्षेत्रलाई बृहत्तर र समृद्ध बनाउन गरेको महत्वपूर्ण योगदानको कदर कर्दै गायिका भट्टराईलाई सम्मान गरिएको समाजले जनाएको छ ।
गायिका भट्टराई यसअघि पनि विभिन्न अवार्डबाट सम्मानित भइसकेकी छिन् । गायिका भट्टराईले लोक दोहोरी, लोक पप, तीज, रक, आधुनिकलगायतका विभिन्न विधाका गीतमा आफ्नो सुमधुर स्वरको जादु देखाउँदै आएकी छिन् ।
गत भदौ ४ गते सम्पन्न स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक साँझ–२०८० को सम्मान पत्र वितरणका लागि शनिबार कोटेश्वरमा समाजले उक्त कार्यक्रम आयोजना गरेको हो ।
सुदूरपश्चिमको लोक संस्कृतिको जगेर्ना गर्न उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहयोग गर्ने व्यक्ति र संस्थालाई शनिबार सम्मान गरिएको समाजका अध्यक्ष रामप्रसाद अवस्थीले जानकारी दिए ।
कार्यक्रममा वरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी, यज्ञराज उपाध्याय, गायिका टीका पुनलगायतका कलाकार एवम् स्रष्टाहरूको सहभागिता रहेको थियो ।
–श्याम रिमाल
कुनै कालखण्डमा कुनै व्यक्तित्वप्रति राखिएको दृष्टिकोण सधैँ एउटै हुँदैन । नेपाली इतिहासका ऐतिहासिक व्यक्तित्वहरूको पुनर्मूल्यांकन हुनुपर्छ भन्नेमा बिद्वानहरूले मत जाहेर गरिरहेका छन् । पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा, बिपी कोइराला, महेन्द्र शाहलगायत व्यक्तिमाथि कुनै समय राखिएको विचार समयका दौरानमा परिवर्तन हुँदै, थोरै मात्र आलोच्य हुँदै गइरहेको पढ्न पाइन्छ । हरेक वर्ष खासगरी पुस २७ का वरिपरि उनका पक्ष तथा विपक्षमा पत्रपत्रिकामा लेखरचनाको जुहारी चल्ने तथा अन्तक्र्रिया–बहस हुने गरेको छ । राणाकालमा नाम नै उच्चारण नै गर्न नहुने भनिएका पृथ्वीनारायणलाई पञ्चायतकालभरी नेपाल एकीकरणकर्ता र राष्ट्रिय एकताका प्रतीकका रूपमा मानिरहेका अवस्थामा पछिल्लो समय खासगरी माओवादी सशस्त्र द्वन्द्वकाल र त्यसयता जातीय राज्यको मागसँगै उनलाई विस्तारवादी, राज्य केन्द्रीयतावादी र क्रूरताका नायक मान्नेहरू पनि जन्मँदै गरेको अवस्था छ ।
उनको जन्मदिनमा बिदा दिने–नदिने, राज्यस्तरबाट सभासमारोह गर्ने–नगर्ने चलन पनि चल्दै हाल सरकारी तवरबाट सार्वजनिक बिदा दिने निर्णय पनि हुन थालेको स्थिति छ । पृथ्वीनारायणको आलोचना नेपाली व्यापक राष्ट्रिय एकता वृद्धि गर्ने सोचाइबाट नै आएको छ भने त्यसलाई मान्नु बेस हुनेछ । “देवत्वकरण इतिहास लेखनको मर्म र धर्म विपरीत पक्ष हो । ढाकछोप गरिएका सत्यलाई उजागर गर्ने समय आयो”, लेखकले भूमिकामा लेखेर प्रस्तुत कृति लेखनको आफ्नो अभीष्ट स्पष्ट पारेका छन्, जुन स्वाभाविक पनि हो ।
साहित्यकार–पत्रकार हुँदै प्रवास बसाइका क्रममा इतिहास अनुसन्धाताको परिचय बनाएका राजकुमार दिक्पालले ‘जङ्गबहादुरको युग : ऐतिहासिक अध्ययन’ (साङ्ग्रिला पुस्तक प्रा. लि., २०७९) र तामाङलगायत अन्य सीमान्तकृतहरूले गरेको विद्रोह समेटिएको ‘आदिवासी विद्रोहको इतिहास’ (मञ्जरी पब्लिकेशन, २०७९–किरात एकेडेमी पुरस्कार प्राप्त), ‘मगर इतिहास’ (मनोज घर्तीसँग संयुक्त) र हाल ‘पृथ्वीनारायण शाह : आलोचनात्मक इतिहास’ (मञ्जरी पब्लिकेशन, २०८०) प्रकाशनसँगै बेलाबखत पत्रपत्रिकामा नेपाली इतिहासका विविध पक्षलाई उधिन्दै पनि आएका छन् ।
धनकुटादेखि राजधानीको बसाइ हुँदै हाल प्रवासमा रहेका लेखकले आफ्नो सीमित समयमा पनि इतिहासजस्तो प्रामाणिकता खोज्ने विषयमाथि सदैव घोत्लिएर कृतिहरू प्रकाशन गर्दै जानु सराहनीय छ र गहन विषय समातिएको उनको पछिल्लो कृति उनको अनुसन्धानको भोकबाट सिर्जना गरिएकाले पठनीय नै हुनसक्छ ।
बाइस अध्यायमा लिखित समीक्षा कृतिमा पृथ्वीनारायणको मूल कार्यमा आलोचना गर्ने वा उनलाई विस्तारवादी–केन्द्रवादी भन्नेतिर नगई उनले बाल्यावस्था, युवराज काल र राजा भएपछि एकीकरणलगायत विभिन्न व्यवहारका क्रममा नकारात्मक काम, अमानवीयता र क्रूरताका पक्ष तथा केही जनमानसमा फैलन नसकेका घटना, व्यापारिक काम आदिबारे उधिन्ने प्रयास गरिएको छ ।
पृथ्वीनारायणको जन्म नै भूटानी लामा लोपाबाट भएको बौद्धपूजा र तान्त्रिक अनुष्ठानबाट भएको रोचक विवरण उल्लेख गर्दै गोरखा फौजलाई भोटका फौजले घेरिरहेका बखत भोटसँग सन्धि गरिदिएबापत उनी र अन्य लामालाई ताम्रपत्र जारी गरेर गुम्बा दान गरेको जनाइएको छ । उनले जनताका बारीका उखुबारीमा उखु चोर्नेदेखि लिएर अर्काको गहना र हात्तीमाथि आँखा गाडेका घटना तथा बेलाबखत भाइभारदार र शत्रु राज्यका मानिसहरूलाई कुनै न कुनै दोष देखाएर कटाउने–मराउने कुरामा आदेश दिएको भनी लेखकले जिकिर गरेका छन् । राजा हुनेबित्तिकै बनारस गई हातहतियारसहित फर्कंदा सीमा भन्सारमा जाँचका क्रममा त्यहाँका कर्मचारीलाई कटाएको र आफ्नो ज्यान जोगाउन नै मुस्किल परेको, कीर्तिपुर युद्धमा पनि आफ्नै हठले युद्ध गर्न पुग्दा आफैँ झन्डै मारिएकोजस्ता घटना पनि उनीसँग सम्बन्धित छन् । उनका मकवानपुर र गोरखपुरका गरी दुई रानी इतिहासमा सर्वत्र लेखिए पनि भक्तपुर बसाइका क्रममा एक नेवार कन्या पनि प्राप्त गरेको कुरा चाहिँ धेरैलाई थाहा नहोला, जुन यस कृतिमा उल्लेख गरिएको छ ।
नुवाकोटबाट लखेटिएर कान्तिपुरका उमराव बनेका जयन्त रानालाई बेलकोट विजयपछि छाला काढेर मारिएको, तनहुँका राजा त्रिविक्रमले डोलीमा बोकिएर गएकी आफ्नी बिरामी रानीमाथि नजर लगाएको आरोपमा उनलाई पनि पक्राउ गरेको पनि उल्लेख छ जुन अन्यत्र पनि आएकै कुरा हो । भादगाउँ विजयपछि राजा तथा मितबा रणजित मल्ल र भागेर त्यहाँ पुगेका जयप्रकाश मल्लका हकमा सम्मान नै गरेका पृथ्वीनारायणले त्यहीँ शरण लिन आएका अर्का राजा तेजनरसिंह मल्ल्ललाई भने कोर्रा हान्न लगाएको प्रसङ्ग पनि यहाँ आएको छ । कीर्तिपुरमा लडाइँ गर्ने परिस्थिति नभएको भनी काजी कालु पाँडेले सल्लाह दिँदादिँदै पनि आक्रमण गर्दा पाँडेको निधन राजहठले भएको कृतिमा स्पष्ट गरिएको छ । बन्दुकका बलमा निर्दाेषको नरसंहार, तिमालकोटको युद्धमा छलकपट, कीर्तिपुरेको नाक–कान कटाइ, कमारा–कमारी राख्न दिने चलन, नगरकोटीको संहार र माझकिरातमा अत्याचार जस्ता आलोचनात्मक पक्षको पनि चर्चा गरिएको छ ।
कृतिका सबै अध्यायमा पृथ्वीनारायणको मात्र नभएर भाइ, भारदार, छोरा, नातिहरूका नकारात्मक पक्षमाथि पनि कलम चलाएर यसलाई सामान्य विस्तार गर्ने प्रयास भएको छ । भूटानसँगको सम्बन्ध र ‘दिव्योपदेश’ को उत्पत्तिबारे कृतिमा चर्चा गरिए पनि त्यसमा खासै आलोचना गरिएको छैन ।
पृथ्वीनारायणले एकीकरणको अभियान चलाएर नेपालको सिमाना विस्तार गरेको वा पुनःस्थापना गरेको कुरा प्रायः सबै कृतिमा पाइने भए पनि प्रस्तुत कृतिमा त्यस कर्मलाई गोरखा ‘राज्य विस्तारको योजना’ भनी प्रसङ्गवश कतै कतै मत बुझाइएको छ ।
लेखक दिक्पालले यी सबै लेखनमा बाबुराम आचार्य, नयराज–महेशराज–दिनेशराज पन्त, धनबज्र बज्राचार्य, योगी नरहरिनाथ, डा राजेश गौतम, मोहनप्रसाद खनाल, चित्तरञ्जन नेपाली, सूर्यविक्रम ज्ञवाली, इमानसिंह चेम्जोङजस्ता इतिहासकार, विद्वान् एवम् लेखकका कृति तथा लेखरचनाबाट उद्धृत गर्दै आफ्नो विश्लेषण पनि दिएका छन् ।
कृतिमा तथ्यतथ्यांक र वाक्यमा निकै पुनरुक्ति छन् । पत्रकारको पनि परिचय बनाएका युवा लेखक दिक्पालले एकै विषयमा ठाउँठाउँमा दोहोर्याई तेहर्याई लेख्दा पाठकलाई झिँजो लाग्नु स्वाभाविक छ । सामान्य वाक्य संरचना र वर्णविन्यासमा त्रुटि छन् । कोलम्बसले अमेरिका पत्ता लगाएको सन् १४९२ हुनुपर्नेमा १५४९ भएको छ ।
प्रस्तुत कृतिमा लेखकले पीडितका पक्षलाई पनि अध्ययनअनुसन्धानबाट उजागर गर्ने प्रयास गरेका छन् । यसमा प्राप्त तथ्यतथ्यांकमा विश्लेषण गरी आफ्नो धेरथोर राय दिनेसम्मको काम भएको छ । यसर्थ प्रस्तुत कृतिलाई मौलिक मान्न नसकिए पनि राष्ट्रिय विभूतिको आलोचनात्मक पक्षलाई पनि उजागर गरिदिएर लेखकले इतिहासका विद्यार्थी र पाठकहरूलाई गुन लगाएका छन् । साहित्यकार–इतिहासकार वैरागी काइँलालाई समर्पण गरिएको कृतिमा प्रस्तुत गरिएका उनका कमीकमजोरीले उनको राष्ट्रनिर्माताको छवि भने धुमिल नहुने स्पष्ट छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ । शुक्रबार प्लाजामलमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा सम्पन्न प्रतियोगिताबाट गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट चुनिएका छन् ।
फाइनलिष्ट पाँचमा गायन विधाबाट दीपक कुमार घले (भोटिङ नं. १), इशान रेग्मी (भोटिङ नं. २), सुजन गुरुङ (भोटिङ नं. ३), मानसिङ परियार (भोटिङ नं. ४) र रुस्तम तामाङ (भोटिङ नं. ५) रहेका छन् । त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ नं. १), सरोज लामा (भोटिङ नं. २), निरु श्रेष्ठ (भोटिङ नं. ३), झरना राई (भोटिङ नं. ४) र सौजन चहार (भोटिङ नं. ५) रहेका छन् । ‘नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं’ भन्ने नाराका साथ राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन र उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको तेस्रो चरणमा अतिथि निर्णायकको भूमिकामा गायक तथा संगीतकार प्रभात त्रिपाठी रहेका थिए ।
त्रिपाठीले सहभागीहरूले प्रवासमा रहेर पनि नेपाली कला संस्कृतिको प्रवद्र्धनका लागि गरेको सराहनीय कार्यको प्रशंसा गरेका थिए । उनले गीतसंगीत सागर रहेको बताउँदै सबैमा सरस्वतीको बास नहुने बताए । कसैले गीतसंगीत सिकेर अगाडि बढ्न चाहेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले संगीत कक्षाहरू सञ्चालन गरेको बताउँदै उनले सिक्नका लागि अवसर खुला रहेको बताए । उनले सहभागीहरूलाई सांगीतिक तथा व्यक्तिगत जीवनमा प्रगतिको कामना गरेका थिए ।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन् । निर्णायकहरुले प्रतियोगीलाई संगीत सिक्दै र फरक–फरक जनरामा रहेर अभ्यास गर्दै अगाडि बढ्न सुझाव दिएका थिए । पर्यवेक्षकद्वय बुधबल गुरुङ र क्रान्ति सिंहले कार्यक्रम अवधिभर निरीक्षण तथा सहभागीलाई सुझाव राखेका थिए ।
एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन)ले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा बोल्दै एनसीसी कतारका अध्यक्ष रमेश भट्टले प्रतिस्पर्धामा सहभागी सबैप्रति शुभकामना व्यक्त गरे । उनले फिनालेमा पुग्ने प्रतिस्पर्धीहरुलाई शुभकामना दिँदै जो प्रतियोगिताबाट बाहिरिए पनि नतिजालाई सकारात्मक रूपमा लिँदै थप मेहनत गरेर संगीत क्षेत्रमा निरन्तर बग्न शुभेच्छा प्रकट गरेका थिए । आयोजक संस्था तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङसहित एनआरएनए आईसीसीका विभिन्न तहका व्यक्तित्वको विशेष आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको गायन विधाका विजेताले १ लाख ८१ हजार र नृत्य विधाका विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फेब्रुअरी २, २०२४ मा हुने ग्राण्ड फिनालेका लागि अतिथि निर्णायकसहित आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई नेपालबाट कतार ल्याउन पहल भइरहेको आयोजकले जनाएका छन् । कार्यक्रमबाट भएको मुनाफाको ६५ प्रतिशत रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने भएको छ । मध्यान्ह राष्ट्रिय दैनिक उक्त आइडलको मुख्य सञ्चार सहयोगीका रूपमा रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies