काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अपेक्षित परिणाम आउन नसकेको बताउँदै उक्त कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि राजधानीमा आयोजित चार दिने तालिमको समापन कार्यक्रममा शुक्रबार मन्त्री अर्यालले परिणाम आउने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्न अति जरुरी रहेको बताए ।
श्रम मन्त्रालयले स्वदेशमा नै रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारको विकल्प दिने उद्देश्यले तत्कालीन सरकारले २०७५ साल माघ २५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका २०७५ जारी गरेको थियो । सोही वर्ष चैत १ गतेदेखि तामझामका साथ उक्त कार्यक्रमको औपचारिक शुरुवात भएको थियो । तर सोही वर्षदेखि नै कार्यकर्तालाई झारपात उखेल्ने जस्ता अनुत्पादक काममा जागिर खुवाउने कार्यक्रम भन्दै व्यापक आलोचना भएको थियो ।
मन्त्री अर्यालले जुन उद्देश्यका साथ कार्यक्रमको घोषणा भयो, त्यो उद्देश्यअनुसार आम नागरिकले महसुस गर्न पाउने गरी कार्यक्रमले लक्षित वर्गलाई छुन नसकेकाले कार्यक्रमको ढाँचा परिवर्तन गर्न आवश्यक भएको उल्लेख गरे ।
कार्यक्रममा श्रम सचिव घनश्याम उपाध्यायले श्रम डेस्कमा बसेर जनअपेक्षाअनुसार काम गर्न आग्रह गरे । समापन कार्यक्रममा मरिन गाउँपालिका सिन्धुलीका रोजगार संयोजक पञ्चमाया योञ्जन, थाहा नगरपालिका मकवानपुरका रोजगार संयोजक कुमार नेगीले तालिमले काम गर्न नयाँ उर्जा मिलेको बताए । क्षमता अभिवृद्धि तालिममा ९ जिल्लाका रोजगार संयोजक र रोजगार सहायक गरी १ सय ४२ जनाको उपस्थिति रहेकोे मन्त्रालयले जनाएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने धारणा राखेका हुन् ।
यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी दिएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिए । अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरुले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरु लाग्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति पौडेलले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपाली भाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए ।
त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराए । उनले विश्वका विभिन्न देशमा रहेका नेपाली भाषीहरु एक पटक त्यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्नेमा जोड दिए ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रुपमा संसारमा रहेका नेपालीमाझ पु¥याउने अठोट व्यक्त गरे । उनले यस संस्थाले प्रवासमा बस्ने नेपाली लगानीकर्ताहरुलाई नेपालमै आइ लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताए ।
सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरु केबी कार्की, ओम गुरुङ, डा दामोदर पौडेलसहित सहभागी थिए । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली भाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपालीलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एएनओ गठन गरेको थियो ।
विश्वका २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो । रासस
काठमाडौं : क्यानडासहित विभिन्न युरोपेली मुलुकमा बढेको रोजगारीको सम्भावनासँगै उक्त सम्भावना भजाएर ठगी हुने क्रम तीव्र देखिएको छ । खाडी तथा मलेसियाको रोजगारीका नाममा एक–दुई लाख रुपैयाँ ठगी हुने गरेकोेमा क्यानडासहित विभिन्न युरोपेली मुलुकको रोजगारीको नाममा करोडौं ठगी हुने प्रवृत्ति देखिएको छ ।
ठगी रकमको अंक अस्वभाविकरुपमा ठूलो भएपनि त्यसलाई नियन्त्रण गर्ने सरकारी क्षमता र पर्याप्त इच्छाशक्ति नदेखिएको नेपालको श्रम आप्रवासनमा चासो राख्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि टिप्पणी गर्न थालेका छन् ।
वैदेशिक रोजगार विभागमा हाल शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल्स एजेन्सी र व्यक्तिगतरुपमा युरोपेली मुलुकमा पठाउने भन्दै ठूलो परिणामको रकम ठगी भएको भन्दै दैनिकरुपमा लाखौं असुल उपर र दोषीलाई कारबाहीको माग गर्दै जाहेरी पर्ने गरेका छन् ।
बीबीसी नेपाली सेवालगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा युरोपेली देशहरु पठाइदिने भन्दै ठगी गर्ने र विभिन्न ठाउँमा पु¥याएर अलपत्र पार्ने क्रम तीव्ररुपमा बढ्न थालेको उल्लेख गरेका छन् ।
खाडी र मलेसिया निर्भर नेपालीको श्रम गन्तव्य पछिल्ला दिनमा क्यानडा, अष्ट्रेलियालगायत युरोपेली देशहरु हुन थालेपछि ती देशमा पठाइदिने भन्दै ठगी गर्ने क्रम पनि उत्तिकै तीव्र देखिएको हो ।
वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनि ३५ जना व्यक्तिको ६ करोड रुपैयाँ ठगी गरेको उजुरीका आधारमा केही दिनअघि प्रहरीले झापाको कमल गाउँपालिका–७ घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने केदार चौधरीलाई पक्राउ गरेको थियोे ।
चौधरीेले सुमन राईसमेत ३५ जनालाई वैदेशिक रोजगारका लागि बेलायत पठाइदिन्छु भनि प्रतिव्यक्ति ९ लाखदेखि २० लाख रुपैयाँ उठाएर भारतका विभिन्न स्थानमा पु¥याउने र नेपाल फर्काउने गरेको प्रहरीले बताएको छ ।
उनले एक्सपर्ट कन्सल्ट्यान्सी खोलेर कतिपयलाई अजरबैजानसम्म पुर्याइ रकम असुली गरेको पाइएको पनि प्रहरीको भनाइ छ । यसको केही दिनअघि यस्तै ठूलो अंकको वैदेशिक रोजगार ठगीमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पक्राउ परेका थिए ।
उनीहरुले पनि युरोपेली मुलुकको वैदेशिक रोजगारीको नाममा तीन सय ३७ जनाको ५ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएको थियो । तामाङद्वयले पनि युरो विइङ्स एजुकेसन कन्सल्ट्यान्सी नामको संस्थाको आडमा वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याण्डलगायत देशमा पठाइदिन्छौं भन्दै झुटो प्रलोभन दिएर उक्त रकम ठगी गरेको प्रहरीले बताएको छ ।
सार्वजनिक विवरणले परम्परागत श्रम गन्तव्य मुलुक खाडी र मलेसिया भन्दा युरोप र क्यानडाको रोजगारीको नाममा भइरहेको ठगी गम्भीर रहेकोे, तर नियन्त्रण गर्न सरकार असफल भएको कतिपयको भनाइ छ ।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा क्यानडा पठाइदिने भनेर मात्रै ठगी गरेको दाबीसहित विभागमा १ सय १३ वटा उजुरी दर्ता भएको सार्वजनिक गरेका छन् । उजुरीकर्तामध्ये अधिकांशले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै आफूहरुबाट रकम लिएको दाबी गरेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल युरोप, अमेरिका र क्यानडाका नाममा ठगी सँगसँगै मानव तस्करी पनि बढेको बताउँछन् ।
मानव तस्करीमा पीडितको पनि संलग्नता हुने गरेकोे छ । ठूलो रकमको ठगीका घटना बढ्नुमा अनुसन्धान वा मुद्दा दर्ता भएपनि मुद्दा विचाराधीन रहेकोे अवस्थामा पीडित र पीडकबीच मेलमिलाप हुने कानूनी व्यवस्था पनि सहयोगी बनेको कतिपय बताउँछन् । शुरुमा थुनामा परेपनि मुद्दा चल्दाचल्दैको अवस्थामा रकम फर्काए छुट्न पाइने भएपछि ठगी बढेको उनीहरुको भनाइ छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सीपयुक्त वैदेशिक रोजगारी र सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । डेमोक्रेसी मिडिया नेटवर्कले बुधबार काठमाडौंमा आयोजना गरेको श्रम बजार, आप्रवास र चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले देश बन्नका लागि युवाहरूको वैदेशिक रोजगारमा निर्भरता रोकेर मुलुकभित्रै रोजगारी सिर्जना हुनुपर्ने बताए ।
रोजगारी सिर्जना गर्नका लागि सरकारले निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुने भएकाले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय तयार रहेको बताए ।
आन्तरिक रोजगारीका लागि तालिमलाई जोड दिइएको र त्यसका लागि मन्त्रालयअन्तर्गत ललितपुरको भैंसेपाटीमा रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा ६ महिनाभन्दा कम अवधिको सीपमूलक तालिम सञ्चालन गर्ने योजना बनाइएको मन्त्री अर्यालले बताए । तालिमका लागि सिटिईभिटीसँग पनि समन्वय गरिने उनले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जान चाहने युवायुवतीलाई सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने भन्दै मन्त्री अर्यालले त्यसका लागि सञ्चारमाध्यमबाट बहस चलाउन जरुरी रहेको बताए ।
काठमाडौं : वैदेशिक रोजगारका लागि पोर्चुगल र पोल्याण्ड पठाइदिने भन्दै १२ लाख ५० हजार रुपैयाँभन्दा बढी ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सुरेश लामिछानेलाई पोर्चुगल पठाइदिन्छु भनि ११ लाख ५० हजार रुपैयाँ ठगी गर्ने गरेको उजुरीका आधारमा स्याङ्जा हरिनास घर भइ हाल गोंगबु बस्ने कृष्ण बहादुर चन्द र सुरेश स्याङ्तानलाई पोल्याण्ड पठाइदिन्छु भनि १ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा धादिङ गंगाजमुना घर भइ हाल ललितपुरको सैपुमा बस्दै आएकी एलिजर तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको बताएको छ । प्रहरीले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीमा पठाउने भनि प्रलोभनमा पारी रकम लिएपश्चात विदेश नपठाइ सम्पर्कविहीन हुने क्रम बढेको भन्दै सचेत हुन पनि आग्रह गरेको छ ।
काठमाडौं : उत्पादनमूलकतर्फको पहिलो चरणको ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागीमध्ये ६ हजार ३ सय २१ जना परीक्षार्थी उत्तीर्ण भएको ईपीएस शाखा ग्वार्को ललितपुरले जनाएको छ । गत फागुन ७ गतेबाट चैत २४ गतेसम्म भएको परीक्षामा सहभागी ४० हजार ५ सय ८० जनामध्ये ६ हजार ३ सय २१ जनामात्र उत्तीर्ण भएका हुन् ।
उत्तीर्ण परीक्षार्थीले अब ‘स्किल र कम्पिटेन्सी टेस्ट’ नामका सीप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । ती दुवै परीक्षाामा पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने नेपाली कामदारको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् । उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा २०८१ वैशाख ३१ देखि साउन १६ गतेसम्म र तेस्रो चरणको परीक्षा २०८१ कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुने ईपीएस ग्वार्काेले जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगारका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ५ जनालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । श्याम लामासमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स र मलेसिया पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले धनुषाको बडहरी नगरपालिका वडा नं. २ बस्ने मोहन प्रसाद तिमल्सिनालाई पक्राउ गरेको हो ।
उनले प्रतिव्यक्ति ३ लाखदेखि ५ लाख रुपैयाँसम्म लाग्ने बताएर माल्दिभ्स र मलेसिया पुगेपछि एक लाख रुपैयाँ तलब हुने होटलमा काम लगाइदिन्छु भनि प्रलोभनमा पारेर पटक–पटक गरी २० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले तिमल्सिनालाई उदयपुरको उदयपुरगढी तेलतेलेबाट पक्राउ गरेको हो । उनलाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।
हाल वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारमा युरोपेली मुलुकसहित क्यानडा र अमेरिका पठाइदिने भन्दै व्यक्ति र शैक्षिक कन्सल्ट्यान्सीले अस्वभाविकरुपमा रकम उठाएका उजुरी पर्ने गरेका छन् । विगतमा वैदेशिक रोजगार व्यवसायीले पठाएका कामदार ठगिएको, करार अनुसारको काम, तलब र सेवासुविधा नपाएको जस्ता उजुरीलाई ठूलठूला उजुरी ठान्ने गरिएको परिवेशमा विभागमा हाल व्यक्ति र शैक्षिक कन्सल्ट्यान्सीले वैदेशिक रोजगारीका नाममा उठाएको रकमको परिमाणले म्यानपावर कम्पनीविरुद्धका उजुरी रकमका हिसाबले मामुली देखिन थालेको टिप्पणी हुने गरेको छ ।
गलकोट : पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन् ।
वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिइ, सीप नसिक्दै विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सुरक्षित आप्रवासन (सामी) परियोजना प्रभावकारी बन्दै आएको छ । विसं २०७६ मा स्थापना भएको सामी परियोजनाले जिल्लामा वैदेशिक रोजगारीका कारण आउने समस्या घटाउन, सीप सिकाउन र समस्या समाधानका लागि काम गर्दै आएको छ ।
दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सीप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताइन् । उनका अनुसार सामी शुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको ९ करोड बढी रकम फिर्ता गरिएको छ । सामीको सहजीकरणमा ९ करोड २४ लाख ६७ हजार ७ सय ८९ रुपैयाँ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिइन् ।
उनका अनुसार सामीमा दर्ता भएका ३ सय १४ निवेदनमध्ये १ सय ६८ वटाको समाधान भइसकेको छ । ‘२०७६ सालबाट बागलुङमा सामी परियोजना शुरु गरेका छौं । अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३ सय १४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १ सय ६८ को समाधान गर्न सफल भएका छौं । दलालले प्रलोभनमा पारेर ठगेको ९ करोड बढी रकम फिर्ता गराएका छौं,’ शर्माले भनिन्, ‘पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन् ।’
स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उनले विदेश जानै परे सुरक्षितरुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताइन् । ‘रकमको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ,’ उनले भनिन् । वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेको शर्माको भनाइ छ ।
नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन् । नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्यांकमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताइन् ।
युवा वैदेशिक रोजगारीमा जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएरमात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताए ।
‘कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन । बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन,’ उपाध्यायले भने, ‘राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन् । वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ । त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ, केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ ।’
अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ । ‘अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्,’ उनले भने, ‘जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको संख्या कम छ । यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ ।’
उनका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ । जिल्लाका बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका साथै काठेखोला गाउँपालिकामा परियोजना सञ्चालित छ । परियोजनाले सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिरहेको संयोजक उपाध्यायले जानकारी दिए ।
परियोजनाले जिल्ला प्रशासन कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर परामर्शसँगै ठगीलगायतका समस्यामा सहजीकरण गर्ने गरेको छ । वैदेशिक रोजगारीले नेपालमा ठूलो रेमिट्यान्स भित्रिए पनि त्यसको असरले समाजमा परेको सामाजिक मूल्य भने देशले चुकाउन नसक्ने अवस्थाको रहेको उनको भनाइ छ ।
अभिभावकको रेखदेखमा नरहेका बालबालिका, किशोर र युवावस्थामा प्रवेश गर्दा लागुऔषधलगायतका अन्य दुव्र्यसनमा जाने गरेको देखिएको छ । बागलुङबाट चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । परियोजनाले बागलुङका ३ सय ९ जनालाई सीपमूलक तालिम दिएको जनाएको छ । रासस
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठन गरेको विज्ञहरुको कार्यदलले आफ्मो अध्ययन प्रतिवेदन बुझाउन अझै समय लगाउने भएको छ । शुरुमा दुई महिनामा प्रतिवेदन तयार पार्ने कार्यादेश पाएको कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाउन अन्य परिस्थिति यथावत रहेमा अझै कम्तिमा एक महिनाभन्दा बढी समय लगाउने छ ।
तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले गत कात्तिकमा श्रम तथा आप्रवासन विज्ञ डा. गुरुङको संयोजकत्वमा राष्ट्रिय प्रवासन नीति र लेवर माइग्रेसनका बारेमा अधययन प्रतिवेदन दिन कार्यादेश दिएका थिए । वर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले पनि पुरानै कार्यादेशअनुसार काम गर्न सहमति जनाएर कार्यदल, कार्यदलका संयोजकसहित सदस्यहरुलाई काम जारी राख्न आग्रह गरेका छन् । समितिमा डा. केशव बस्याल, मञ्जु गुरुङ, प्रतिमा शर्मा र जुना माथेमा सदस्य रहेका छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उपसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
समिति संयोजक गुरुङले कार्यादेशअनुसार लेवर माइग्रेसनसम्बन्धी अध्ययन प्रतिवेदन आगामी २०८१ वैशाख ३० गते बुझाउने गरी तीव्रताका साथ काम भइरहेको जानकारी दिए । तर राष्ट्रिय आप्रवासनसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदललाई अझै लामो समय लाग्न सक्ने उनले बताए ।
मन्त्रालयले श्रम आप्रवासनका विभिन्न चरणमा गर्नुपर्ने सुधारका लागि प्रतिवेदन दिन लिखित कार्यादेश दिएको थियो । सोहीअनुसार हालसम्म कोशी प्रदेश र मधेश प्रदेशमा कन्सल्टेशन प्रोससका छलफल भएका छन् । कार्यदलले शुरुमा मन्त्रालयले तर्जुमा गरेको हालको वैदेशिक रोजगार नीतिमाथि पुनरावलोकन गरेको छ । काठमाडौंमा पनि एक चरणको मात्रै छलफल भएको छ । कार्यदलले गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, सुदूरपश्चिम प्रदेशको धनगढी तथा कर्णाली प्रदेशमा छलफल गर्न बाँकी रहेको संयोजक गुरुङले मध्यान्हलाई जानकारी दिए ।
संयोजक गुरुङले नेपालको वैदेशिक रोजगार नीतिमा रहेका कमी कमजोरी पहिल्याएपछि त्यसलाई हटाएर रेमिट्यान्सको आप्रवाह साथसाथै नेपाली कामदारको सीपलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने विषयमा अध्ययनलाई केन्द्रित गरिरहेको जानकारी पनि दिए । छलफलमा नेपाली महिला तथा पुरुष दुवै कामदारलाई विश्वको श्रम बजारमा प्रतिस्पर्धी, मर्यादित र सक्षम बनाउन अवलम्बन गर्नुपर्ने नीति र तालिमका साथै अन्य व्यवहारिक पक्षको सुझाव आएका छन् ।
कार्यदलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), रिटर्नी कामदारको नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाहरुसँग अन्तरक्रिया गरिरहेको बताइएको छ ।
निवर्तमान मन्त्री भण्डारीको कार्यकालमा जारी भएका जापान, इजरायल र कोरियामा निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कामदार पठाउने कार्यविधिसहित पूर्वप्रस्थान अभिमुखीकरण तालिमको बढाइएको शुल्कप्रति असहमति जनाएका मन्त्री अर्यालले कार्यदलले दिने प्रतिवेदनमा आउने सुझावपछि मात्रै नयाँ निर्णय गर्ने अडान राखेका छन् ।
प्रतिवेदन आएपछि मात्रै महत्वपूर्ण विषयमा निर्णय गर्ने अडानले तत्कालै परिणाममुखी काम गर्ने मन्त्री अर्यालको हुटहुटी र रापतापसमेत सेलाउने कतिपयले टिप्पणी गरेका छन् । सरकारले नभइ निजी क्षेत्रले मात्रै कामदार पठाउन पाउनुपर्ने मान्यता राख्ने निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरु मन्त्रालयले व्यवसायीको भूमिका खुम्च्याउने गरी गरेका निर्णय तत्कालै परिवर्तन नगरे हालको बेचैनी र छटपटी तनावमा परिणत हुनसक्ने बताउन थालेका छन् ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक (जीव) खाना खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।
दुवै जना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर भने हालसम्म बेपत्ता रहेको योञ्जनले बताए ।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक (जीव) खाना खोज्न समुद्रमा गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको उनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।
धनबहादुर र टेकबहादुर सँगै समुद्रमा गएका साथीले दुवै जना समुद्रमा बेपत्ता भएको बताएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए । उद्धार टोलीले शनिबार देखि नै विभिन्न माध्यम मार्फत् उनीहरुको खोजी गरेको थियो । बेपत्ता भएका टेकबहादुरको खोजीकार्य जारी रहेको भट्टराईले बताए ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । भने चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना मोन्तिजो बस्दै आएका थिए । घटनाको विषयमा नेपालमा रहेका उनीहरुका परिवारलाई जानकारी गराइसकिएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies