मध्यान्ह संवाददाता
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार नगरे विकल्प खोज्ने चेतावनी दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र मन्त्रालयको सूचना प्रविधि परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी सुधार गर्न निर्देशन दिए । हाल अत्याधिक प्रयोगकर्ताका कारणले कार्यालय समयमा चाप बढेको भन्दै कर्मचारीले राति दश बजेसम्म श्रम स्वीकृति जारी गर्दा वैदेशिक रोजगारमा जाने कामदार र म्यानपावर व्यवसायी तनावमा रहने गरेका छन् ।
वैदेशिक रोजगारीको काम कारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले एक दशक अघिदेखि फेमिस प्रणाली प्रयोगमा ल्याएको छ । तर प्रणालीमा समय–समयमा समस्या आउने गरेपछि वैदेशिक रोजगारमा जाने श्रमिकदेखि म्यानपावर कम्पनी समस्यामा पर्ने गरेका छन् । समयमा श्रम स्वीकृति नपाउँदा कतिपय श्रमिकको रोजगारदाताले उपलब्ध गराएको जहाज टिकट खेर जाने गरेको छ ।
मन्त्री अर्यालले संसारको कुनैपनि कुनाबाट श्रम स्वीकृतिको लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ । फेमिस प्रणालीको सफ्टवेयरको आपूर्तिकर्ता इ–बीमा कम्पनी हो भने हार्डवेयर आपूर्तिकर्ता दृष्टि टेक कम्पनी हो । सेवा आपूर्तिकर्तासँग छलफल गर्दै मन्त्री अर्यालले भने, ‘तपाईहरुले काम गर्न सक्नुहुन्छ भने गर्नुहोस् अन्यथा अन्य विकल्प खोजेर भएपनि एक महिना भित्र एक घण्टामा श्रम स्वीकृति दिन सक्नेगरी फेमिस प्रणालीको सुधार गर्नेछु ।’
मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक सातादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको बताएको छ । सन् २०१६ मा विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकको तथ्यांक राख्न, अनलाइन टोकन र श्रम स्वीकृति प्रदान गर्न सफ्टवेयर खरीद गरेको थियो । पटक–पटक समस्या आएपछि फेमिसको सुधार गर्न मन्त्रालयले यसअघि कार्यदल नै गठन गरेको थियो भने तत्कालीन महानिर्देशक मदन दहाल विभागबाट सरूवा हुनुमा अन्य कारणका अतिरिक्त फेमिसमा देखिएका समस्या समाधानमा उदासीन रहनुपनि एउटा कारण रहेको थियो । फेमिसमा देखिने समस्याका लागि प्राविधिकसँगै कर्मचारीको नियतमाथि पनि समाधान खोजिनुपर्ने कतिपयको माग रहेको छ ।
मध्यान्ह संवाददाता
काठमाडौं : मलेसियाको बहुराष्ट्रिय कम्पनीमा आर बी ए अन्तर्गत फ्रि भिसा फ्रि टिकटमा क्षमता नभएकाहरूलाई पास गराउन एजेन्टहरूले छनोटको प्रारम्भिक चरणबाट नै खेताला लगाउने गरेको खुलेको छ । कामदार भर्ना तथा छनोटका लागि आएका रोजगारदाता कम्पनीका विदेशी प्रतिनिधिलाई प्रभावित पारेर आफुले रकम असुली गर्ने योजना बनाएको कामदार छनोट गराउन नसकेपछि एजेन्टहरूले खेताला परीक्षार्थी लगाउन थालेका हुन् ।
मलेसियाबाट आउने शून्य लागतको डिमाण्ड सार्वजनिक भएपछि एजेन्टहरूले चलाख अनुहार, कद र जिउडाल मिल्ने व्यक्ति खोजेर अन्तरवार्तामा सहभागी गराइ छनोट गराउने गरिएको समाचार श्रोतले बताएको छ । पहाडबाट भन्दा तराईका जिल्लाबाट मलेसिया जान खोज्ने युवालाई छनोट गराइदिएर उड्ने बेलामा विमानस्थलमा एजेन्टका गिरोहले तीन लाख रूपैयाँसम्म असुलेको श्रोतको भनाइ छ । खेतालालाई परीक्षार्थीको धन्दामा कति जना संलग्न छन् भन्ने आधिकारिक रूपमा बताउन नसकेपनि समूहले गिरोह नै परिचालन गरेर मलेसियामा शुन्य लागतमा कामदार पठाउने व्यवसायीहरूको भनाइ छ ।
यसअघि कोरियाको ईपीएस प्रणालीको भाषा परीक्षा र लोकसेवाको परीक्षामा पनि व्यापक रूपमा खेताला परीक्षार्थी देखिने गरेका थिए । कोरियाका लागि खेताला परीक्षार्थीले एक लाख र लोकसेवाका लागि सात लाखसम्म रेट कायम गरिएको बताइएको छ । दक्षिण कोरिया जाने भाषा परीक्षामा खेताला देखिएपछि छनोटदेखि रोजगार प्रक्रियाका सबै चरण बायोमेट्रिक लागू गरिएको छ ।
हाल मलेसियाको शून्य लागतको रोजगारीमा कामदार छनोट प्रक्रियामा पनि कोरियाको जस्तै बायोमेट्रिक गराउनु आवश्यक भएको कतिपयले बताएका छन् । वैदेशिक रोजगारीमा जानेका लागि ’फ्रि भिसा र फ्रि टिकट’को सरकारी नीति अव्यवहारिक रहेको र श्रमिकको हितमा कार्यान्वयन नभएको सार्वजनिक टिप्पणी हुने गरेको छ ।
तैपनि मलेसियाका रोजगारदाताले योग्य तथा दक्ष कामदारको सबै खर्च आफैँले उपलब्ध गराउन थालेपछि मलेसियामा कामदार पठाउने डेढ दर्जन बढी म्यानपावर कम्पनी रेस्पोन्सिवल विजनेश एलायन्स (आरबीए) खडा गरि इम्लाइमेन्ट पे मोडलको सरकारी नीति अनुसार कामदार पठाउन प्रतिबद्व देखिएका छन् । उनीहरूको सक्रियताका कारणले पछिल्ला केही वर्षमा नेपालबाट फ्रि भिसा फ्रि टिकटमा जाने कामदारको संख्यामा उल्लेख वृद्धि भएको छ ।
तर छद्म रूपमा खेताला परिचालन गर्ने संगठित एजेन्टहरूलाई श्रमिकहरूले गोप्य रूपमा ठूलो रकम बुझाउनु परेको घटनाले मलेसिया वा अन्य मुलुकबाट आउने फ्रि भिसा फ्रि टिकटमा कामदार छनोट गरि पठाउने काम पेचिलो र अविश्वसनीय बन्न सक्ने चिन्ता बढेको छ ।
रोजगारदाताले गर्ने छड्के परीक्षण वा तेस्रो पक्ष अडिटमा एकै जना कामदारबाट छनोटको चरणमा रकम उठाएको देखिएमा म्यानपावर कम्पनीको पुरै भुक्तानी रोकिने हुँदा एजेन्टहरूले चलाएको खेताला धन्दा नियन्त्रण नभए शून्य लागतको रोजगारी नै धरापमा परककने धेरैको चिन्ता छ ।
काठमाडौं : इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि नयाँ स्वरुपमा आएको छ । सिनामंगलस्थित पञ्च कुमारीस्थित इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले युएईमा रहेको हन्टर एचलाई समावेश गरी इम्पावर हन्टर एचआर शोलुशन प्रालि नयाँ नाममा परिवर्तन भइ सिनामंगलमै रहेको होप अस्पतालको उत्तरपट्टी नयाँ भवनमा सरेको छ ।
कम्पनीका सञ्चालक युवा व्यबसायी केदानाथ अधिकारीले युएईमा रहेको हन्टर एचआर कम्पनीलाई समावेश गरेर इम्पावर हन्टर एच.आर.शोलुशन प्रालि बनाएको मध्यान्हलाई बताए ।
शनिबार एक संक्षिप्त कार्यक्रम गरी पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं नेकपा माओवादी केन्द्र पोलिटव्यूरो सदस्य तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका इन्चार्ज रामेश्वर राय यादवले इम्पावरको नयाँ कार्यालयको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, सचिव राजेन्द्र अधिकारी, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च कार्यवाहक अध्यक्ष परमेश्वर अधिकारी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र प्रसाद ढकाल, उपाध्यक्ष विनोदजंग केसी, मञ्चका सल्लाहकार ओम न्यौपाने, संघका पूर्व तृतीय उपाध्यक्ष मुक्तिनाथ अधिकारी, मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ, स्थानीय समाजसेवीहरु लगायत व्यवसायीको उपस्थिति रहेको थियो ।
तिलु शर्मा पौडेल/ मध्यान्ह
दोहा कतार : मधेश प्रदेश समन्वय परिषद कतारले इस्लाम धर्मावलम्वीहरुको पवित्र महिना रमजानको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।
परिषदका अध्यक्ष नियाज शेखको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा फूलबारी रेस्टुरेन्टमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले जुनसुकै धर्मको उद्देश्य मानव कल्याण रहेको बताए । परापूर्व कालमा लिखित कानून नहँुदा मानिसले धर्मले निर्देशित गरेको नै कानून मान्ने गरेको बताए । उनले ‘सबै धर्मले सकेको सहयोग गर, अरूको हितमा काम गर, अहित नगर’ भन्ने सन्देश दिएको बताए ।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट लगायत विभिन्न जिल्ला, प्रदेश तथा सामुदायिक संस्थाका प्रमुख र तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै रमदानको महिना र महिमाका बारेमा चर्चा गरेका थिए ।
मौलाना सलामत अलीले इस्लाम धर्म र रोजाको बारेमा प्रष्ट पार्दै रोजा उपवास र व्रतको बारेमा जानकारी गराएका थिए । यस्तै मौलानाहरूले पैगम्बर हजरत मोहम्मदको प्रशंसामा महिमा स्वरूप नाअत गाएका थिए ।
परिषदका वरिष्ठ उपाध्यक्ष दुर्गा नन्द पासवानले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव तेजीलाल मण्डलले गरेका थिए । कार्यक्रमको समापन गर्दै सभापति शेखले इफ्तार कार्यक्रमले भाइचारा कायम रहने बताए ।
काठमाडौं : नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहनेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तो तालिम नि:शुल्करुपमा दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायत सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने आचार्यले बताए । विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंक मार्फत् ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘वैदेशिक रोजगारमा जान चाहनेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ’ आचार्यले भने, ‘तालिम प्राप्त कामदारहरुको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ ।’
सांसद आचार्यले थपे, ‘६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफुले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् ।’
यस्तो अव्यवस्थालाई अन्त्य गर्न सरकार लाग्नुपर्ने उनले बताए । ‘यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरुलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंक मार्फत् रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरु ठगिने सम्भावना कम हुन्छ’, आचार्यले भने ।
मध्यान्ह संवाददाता
काठमाडौं : कोरिया रिटर्नीले ईपीएस कोरिया शाखाले गरेको बदमासी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष राखेका छन् । मन्त्रालयमा शुक्रबार भएको छलफलमा कोरिया रिटर्नीहरूले ईपीएस कोरिया शाखाले भ्रष्टाचार गरेको शिकायत गरेपछि मन्त्री अर्यालले प्रमाण ल्याए २४ घण्टाभित्रै कारबाही गरिने आश्वासन दिएका छन् ।
मन्त्री अर्यालले कोरिया रिटर्नीको समस्या सम्बोधन फास्ट ट्रयाकमा गरिने बताए । आवश्यक परे कारिया रिटर्नीको समस्या सम्बन्धित सरोकारवाला सबैलाई राखेर छलफल गर्न तयार रहेको मन्त्री अर्यालले बताएका छन् ।
कोरिया रिटर्नीले कोरिया जाने श्रमिक ईपीएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए । उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाइल कोरियाको रोजगारदातासम्म पुर्याउनुपर्ने, गत असार १० गते ईपीएस नेपालले रिटर्नीसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपीएस नेपाल र रिटर्नीबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, ईपीएस नेपालको ज्यादती र लुटतन्त्रलाई सुधार गराउनुपर्ने माग राखेका थिए ।
रिटर्नीहरूको गुनासो सुनेपछि मन्त्री अर्यालले कुनै पनि बहानामा श्रमिकलाई कसैले ठगी गरे तत्काल कारबाही गरिने बताए ।
काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले राजधानीको चोभारमा बृहत बनभोज गरेको छ । बनभोज कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरे, निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेती, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुषाललगायत अधिकारीहरू सहभागी थिए ।
त्यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसहितका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, पूर्वअध्यक्ष बलबहादुर तामाङसहित वैदेशिक रोजगार व्यवसायीका विभिन्न जातीय तथा भेगिए घटक संस्थाका वर्तमान तथा पूर्वअध्यक्ष तथा प्रतिनिधिहरू, बरिष्ठ अधिवक्ता शम्भु निरौला, अधिवक्ता देवराज कटुवाल, बैदेशिक रोजगार क्षेत्रका बारेमा कलम चलाउने केहि पत्रकारहरु र व्यवसायीहरूको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, बरिष्ठ लोक दोहोरी गायक बद्री पंगेनी, नायिकाहरु जुना कार्की र पबित्रा काफ्ले , गायिका चन्दा अर्याल, हास्य कलाकार सुवोध गौतम, दिपेन्द्र प्रसाई लगायत कलाकारहरुको सांगितिक एवं मनोरन्जनात्मक प्रस्तुति थियो ।
साँस्कृतिक कार्यक्रम अघि भएको संक्षिप्त औपचारिक कार्यक्रममा मञ्चका अध्यक्ष जनक रावलले व्यवसायीबीच आपसी एकता तथा भाइचाराको सम्बन्ध र भावना बलियो बनाउने उद्देश्यले नयाँ प्रक्रियाको थालनीकारूपमा बनभोज कार्यक्रम राखिएको बताए ।
उनले बनभोज कार्यक्रमले कला संस्कृतिको संरक्षण र व्यवसायीलाई तनावमुक्त भई रचनात्मक एवं सिर्जनात्मक कार्यमा अग्रसर हुने प्रेरणा मिल्ने भन्दै निमन्त्रणा स्वीकार गरी सहभागी भएकोमा सबैप्रति आभार प्रकट गरे ।
यस्तै संघका अध्यक्ष भण्डारीले बनभोज कार्यक्रमले व्यवसायीबीच एकता र भाइचाराको सम्बन्धलाई बलियो बनाएको भन्दै बनभोज राखेकोमा आयोजक मञ्चलाई धन्यवाद दिए । कार्यक्रम सञ्चालन गरेका मञ्चका महासचिव मिलन कट्टेलले पनि व्यवसायी एकता तथा भाइचारा सम्बन्धलाई पुनर्ताजगी प्रदान गरी थप कसिलो बनाउन मञ्चले बनभोज कार्यक्रम आयोजना गरेको बताए ।
बनभोज कार्यक्रमका संयोजक व्यवसायी मदन पौडेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित सबैलाई प्रमुख अतिथिको आसन ग्रहण गराइएको थियो । मनोरन्जनात्मक कार्यक्रमको संचालन र संयोजन भने कलाकार तथा युवा वैदेशिक रोजगार ब्यबसायी ब्लू ओशिएन रिक्रुटमेण्टका संचालक हरि डॉगीले गरेका थिए ।
काठमाडौं : नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तो तालिम निःशुल्क रुपमा दिने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने उनले बताए । विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘वैदेशिक रोजगारमा जान चाहानेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ । तालिमप्राप्त कामदारहरुको आय दुई गुणा बढी हुन्छ । संघीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ ।’
सांसद आचार्यले थपे, ‘६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफुले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् । यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ । यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहाने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरुलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंकमार्फत रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरु ठगिने सम्भावना कम हुन्छ ।’
काठमाडौं : दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत यसै सन् २०२४ देखि थप ३ वटा क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । हालसम्म कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै नेपाली लैजाने गरेको कोरियाले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इण्डष्ट्री क्षेत्रमा पनि कामदार लैजाने भएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले परीक्षा उत्तीर्ण भएकाहरुलाई लैजान अनावश्यक विलम्ब हुँदा असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इण्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिकरुपमा पत्रमार्फत नै जानकारी दिएको बताए ।
दक्षिण कोरियाले मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङ, सर्फेस र हिट ट्रिटमेन्ट जस्ता प्रक्रिया प्रविधिहरू प्रयोग गरी व्यापार क्षेत्रको कामलाई ‘रुट इण्डस्ट्री’ भनि परिभाषित गरेको छ ।
ईपीएस भाषा परीक्षामा पास भएका र भाषा परीक्षा पास गरेका कोरिया रिटर्नीले थप भएका ३ क्षेत्रमा अवसर पाउने बताइएको छ ।
काठमाडौं : इजरायलले आफ्नो भूमिमा हमासको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरुको आश्रित परिवारलाई आजीवन भत्ता दिने निर्णय गरेको छ ।
अक्टोबर ७ मा हमासका लडाकुको आक्रमणमा परी लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको मृत्यु भएको थियो ।
त्यसैगरी उक्त आक्रमणमा घोडाघोडी–४ बर्दियाका नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरीको पनि ज्यान गएको थियो ।
उनीहरुको परिवारले आजीवन भत्ता पाउने इजरायलले बताएको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिइने इजरायल सरकारले निर्णय गरेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies