काठमाडौं : प्रहरीले बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारीका लागि विभित्र युरोपियन मुलुक पठाउने भनि नेपाल ल्याइ बन्धक बनाइ राख्ने कार्यमा संलग्न चार बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
बंगलादेशी नागरीकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशहरूमा पठाइदिने विश्वास दिलाइ बंगलादेशबाट नेपाल ल्याएर काठमाडौंको पनकनाजोलस्थित निभाना ग्रिन पिस होम होटलमा राखी पासपोर्ट नियन्त्रणमा लिइ ठगी गरिरहेको अवस्थामा चार बंगलादेशी नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले बंगलादेशको ढाका निवासी नुरूल हुडा, शमिम अहमीद, मोहम्म मशुल विल्लाह र पोर्नाय कुमार देलाई पक्राउ गरिएको बताएको छ । उनीहरूले विभिन्न प्रलोभनमा नेपाल ल्याएका बंगलादेशीहरूलाई अनेकौं धाकधम्की दिइ कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिइ साथमा रहेको नगदसमेत लिइ जबरजस्ती बन्धक बनाइ राखेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका बंगलादेशीहरूलाई अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको बताएको छ ।
यता बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाउने भनि रकम उठाएर सम्पर्कविहीन भएका थप पाँच नेपालीलाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
जितमाया बललाई वैदेशिक रोजगारीमा न्युजिल्याण्ड पठाउने आश्वासन दिएर ९० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा सिन्धुपाल्चोकको मेलम्ची घर भइ हाल बौद्ध बस्ने युवराज सापकोटा, कुमार खड्कालाई मकाउ पठाउने आश्वासन दिएर ३ लाख ९३ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा काठमाडौंको बुढानिलकण्ठकी १९ वर्षीय श्रुती शाही र ३५ वर्षीय मन्दिरा बोम्जन गुरुङ, कृष्ण चन्दसमेत ३ जनालाई दक्षिण कोरिया पठाउने भन्दै ५ लाख ७१ हजार रुपैयाँ लिएको उजुरीका आधारमा कैलालीको टिकापुरकी अस्मिता बम र राम माया तामाङलाई कतार पठाइदिने आश्वासनमा ५० हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा सुनसरी भोक्राहाकी अनिता कुमारी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
विगतमा हप्ताको दुई–चार वटा व्यक्तिगत ठगीको उजुरी दर्ता हुने वैदेशिक रोजगार विभागमा हाल एकैदिन करोड बढी बिगो उल्लेख भएर डेढ दर्जन उजुरी दर्ता हुने गरेका छन् । शैक्षिक कन्सल्ट्यान्सीबाट ठगीको धन्दा व्यापकरूपमा बढेको प्रहरीले बताएको छ ।
राजधानीमा सञ्चालित दर्जनौं शैक्षिक कन्सल्ट्यान्सीलाई प्रहरीले पटक–पटक कारबाही चलाउँदै आएको भएपनि कन्सल्ट्यान्सीबाट वैदेशिक रोजगारको नाममा ठग्ने धन्दा नरोकिएको वैदेशिक रोजगार विभागमा खटिएको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीका लागि जापान, युरोपेली मुलुक, अमेरिका र क्यानडा पठाइदिने भन्दै तेस्रो व्यक्ति खडा गरेर करोड रुपैयाँसम्म ठगी गरिएको उजुरी आएको प्रहरीको भनाइ छ । ठगीको उजुरी आउने, तर शैक्षिक कन्सल्ट्यान्सीका मुख्य व्यक्ति फरार भइ उनीहरूका कर्मचारी मात्र पक्राउ पर्ने गर्दा ठगिएको रकम असुली गर्न पनि त्यतिकै समस्या रहेको बताइएको छ ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले वैदेशिक रोजगारको क्रममा अलपत्र भइ उद्धार गरिएका महिलाहरूलाई आश्रय दिएको अमृतसार सामाजिक सस्थालाई आर्थिक सहयोग गरेको छ ।
राजधानीको महाराजगञ्ज चक्रपथमा रहेको उक्त सामाजिक सस्थामा बिहीबार आयोजित एक सक्षिप्त कार्यक्रममा समाजका अध्यक्ष किशन प्रधान तथा महासचिव देवेन्द्र नारायण श्रेष्ठले उक्त संस्थाकी अध्यक्ष मूना गौतमलाई ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरे ।
उक्त संस्थामा भिजिट भिसा लगायतका भिसामा बिदेश लगेर जवरजस्ती घरेलु कामदारको रूपमा लगाई अलपत्र पारिएको अवस्थामा उद्वार गरि नेपाल फर्काईएका महिलाहरूलाई आश्रयका अतिरिक्त मनोसामाजिक परामर्श दिने गरिएको छ। गैर नाफामुलक सामाजिक कार्यगर्ने उदेश्यले दर्ता भएको उक्त संस्थाले अघिल्ला दुई बर्षमा गरि विदेशबाट खालीहात अलपत्र अवस्थामा फर्काईएका ६ सय ८ जनालाई सेल्टर दिएको बताएको छ ।
उक्त संस्थाले नेपाल सरकारले घरेलु कामदारको रूपमा जान श्रम स्वीकृति प्रतिवन्ध लगाएको खाडी मुलुकमध्ये कुवेत, ओमान, यूएई, साउदी अरेबिया,कतार इराक, बंगलादेश, साईप्रस, लेवनान, मलेसिया आदि मुलुकबाट अलपत्र परेर फर्काइएका पीडित महिलाहरुलाई सेल्टर दिइरहेको अध्यक्ष गौतमले जानकारी दिइन् । त्यसमध्ये उक्त संस्थामा कुवेतबाट अलपत्र अवस्थामा फर्केका धेरै रहेका छन् । आर्थिक रूपमा कठिनाईको अवस्थामा रहेको आफ्नो संस्थालाई सहयोग गरेर सह्रानीय कार्य रहेको भन्दै अध्यक्ष गौतमले नेवाः समाजप्रति धन्यवाद साथ आभार प्रकट गरिन् ।
समाजका अध्यक्ष प्रधानले उक्त संस्थामा अलपत्र अवस्थामा उद्धार गरिएकी आस्था परियारलगायत आर्थिक समस्यामा रहेको जानकारी पाएपछि व्यवसायी संस्थाका सामाजिक उत्तरदायित्वको जिम्मेवारी अन्तरगत सहयोग प्रदान गरिएको बताए । जसलाई अति जरुरी छ, त्यस्ता व्यक्ति वा संस्थालाई आफ्नो समाजको क्षमताले भ्याएसम्म सहयोग गर्ने संस्थाको उदेश्य रहेको पनि अध्यक्ष प्रधानले जानकारी दिए ।
यस्तै महासचिव श्रेष्ठले पनि सामाजिक उत्तरदायित्वका भावनाले अमृतसार संस्थालाई सहयोग गरेको जानकारी दिए । मर्दा पर्दा नेवाः समाज भन्ने सामाजिक सेवाको उद्देश्य राखेर समाज क्रियाशील रहेको भन्दै महासचिव श्रेष्ठले आगामी दिनमा पनि क्षमता अनुसार गर्ने कामलाई निरन्तरता दिने बताए ।
त्यस अवसरमा अमृतसार सामाजिक संस्थाका तर्फबाट अभियन्ता आशा लामा, सुमित्रा बस्नेत, कल्पना थापा, कला गुरूङ, मनमाया राई, सपना गुरूङ, आशाप्यारी लक्ष्मी गन्दर्व, निरकुमार बुढाथोकी, मिनराज गौतम, कौशिला पुन र तारा श्रेष्ठ समाजका सल्लाहकार तथा मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठसहित समाजको कार्यसमिति सदस्यहरू चन्द्र कुमार श्रेष्ठ, अमित कुमार श्रेष्ठ, कृष्ण भक्त श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । नेवा समाजले यसअघि बालुवाटारमा रहेको शिवपुरी माध्यमिक (प्राविधिक ) विद्यालयमा अध्ययनरत एक छात्रालाई एक बर्षको शैक्षिक शुल्कसहित पाठ्यपुस्तक र शैक्षिक सामग्री प्रदान गरेको थियो ।
काठमाडौं : नेपाली कांग्रेस निकट वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको नयाँ नेतृत्वका लागि चहलपहल शुरू भएको छ । एशोसिएसनको २०७८ साल वैशाख ७ गते भएको साधारण सभाले निर्वाचित गरेको नेतृत्वको दुई वर्षे कार्यकाल अर्को निर्णय नभएको अवस्थामा आगामी वैशाख ६ गते सकिँदै छ ।
एशोसिएसनको कार्यसमितिको बैठकले निर्वाचनका लागि निर्णय गरिसकेको छैन । तर भित्र–भित्रै आ–आफ्ना गुटमा छलफल र तयारी भइरहेको बताएइको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको एशोसिएसनबाट पार्टीको महाधिवेशनमा तीन जना व्यवसायीको प्रतिनिधित्व हुने भएकाले कार्यसमिति र नेतृत्वमा जान चाहनेको चासो बढेको बताइन्छ ।
एशोसिएसनको विधानअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित २१ सदस्यीय कार्यसमिति रहने भएपनि १७ जनाको निर्वाचन हुनेछ । ४ जना कार्यसमिति सदस्य निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
साधारण सभाको समय नजिकिएसँगै एशोसिएसनमा नेतृत्वका आकांक्षीहरु सक्रिय भएका छन् । अध्यक्षका लागि तारानाथ अर्याल, भवानी निरौला, कमल काफ्ले र भुवनसिंह गुरूङले इच्छा व्यक्त गरेको बताइएको छ । कार्यसमितिको बैठक बसेर साधारण सभा र निर्वाचनको मिति तोकिएपछि यसपटक अध्यक्ष तथा पदाधिकारीका लागि भित्री तयारी गरेर बसेका केही नयाँ अनुहार पनि चुनावी मैदानमा आउने एशोसिएसनमा आवद्ध एक वरिष्ठ व्यवसायी बताउँछन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत निर्वाचनमा पराजित भएपनि एशोसिएसनले आफूलाई सबैभन्दा धेरै व्यवसायी सदस्य रहेको संस्था भएको दाबी गर्दै आएको छ । अघिल्लो पटक ३ सय २६ जनाले सदस्यता नवीकरण गराएकामध्ये नेतृत्वको निर्वाचनमा २ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । अघिल्लो निर्वाचनमा अध्यक्षमा कुमुद खनालसहित वरिष्ठ उपाध्यक्षमा भगीरथ राई, द्वितीय उपाध्यक्षमा विनोदजंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह–सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सहकोषाध्यक्षमा जफरूद्दिन मियाँ विजयी भएका थिए ।
यस्तै कार्यसमिति सदस्यमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यमकुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका थिए । उनीहरूमध्ये धेरैले स्वतः माथिल्लो पदमा जान चाहेको समाचार स्रोतको भनाइ छ ।
यसअघि एशोसिएसन नेतृत्वमा प्रतिस्पर्धा गरेका कतिपय व्यवसायी नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत निर्वाचनमा उम्मेदवार भएकाले उनीहरूले अर्को कार्यकालसम्म पर्खिनु पर्ने मापदण्ड बनाउनुपर्ने तर्क कतिपय व्यवसायीको छ भने कतिपय व्यवसायीले एशोसिएसन व्यावसायिकसँगै पार्टीको शुभेच्छुक संस्था भएकाले पार्टीमा क्रियाशील सदस्यको ज्येष्ठताका आधारमा एशोसिएसनको आगामी निर्वाचनका लागि उम्मेदवारको मापदण्ड बनाउनुपर्ने धारणा राख्ने गरेको बताइन्छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृतिको प्रक्रियालाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । बिहीबार साँझ वैदेशिक रोजगार विभाग ताहाचलको अनुगमन गर्न पुगेका मन्त्री अर्यालले श्रम स्वीकृतिको प्रक्रियाका विषयमा कर्मचारीसँग जानकारी लिइ विभिन्न निर्देशन दिएको मन्त्री अर्यालको निजी सचिवालयले बताएको छ ।
श्रममन्त्री अर्यालले श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाइ सेवाग्राहीलाई झन्झटमुक्त बनाउनुपर्ने बताए । मन्त्री अर्यालको निर्देशनपछि २० वटा कम्प्युटर अपडेट गरी कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको छ ।
त्यस्तै श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउने मन्त्रालयले तयारी गरेको छ । हालको व्यवस्थाअनुसार संस्थागत श्रम स्वीकृतिका लागि १५ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । तर अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ ।
त्यस्तै प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकिने, बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृतिका लागि तोकिएको कोटा हटाइने मन्त्रालयको तयारी रहेको मन्त्री अर्यालले बताएका छन् ।
बिहान ९ बजेदेखि १ बजेको समयमा धेरै जनाले फेमिसको प्रयोग गर्ने हुँदा सर्भर सुस्त हुने भएकाले केही दिनका लागि सो अवधिमा टोकन वितरण नगरी दिउँसो १ बजेदेखि मात्रै टोकन वितरण गर्ने व्यवस्था गर्ने तयारी रहेको मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
पुनः श्रम स्वीकृतिका लागि हाल दैनिक एक हजार ५ सयदेखि दुई हजार र एक हजार जनाले नयाँ श्रम स्वीकृतिका लागि आवेदन दिने गरेका छन् । कार्यालयले पनि सोही अनुपातमा दैनिक श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
कागजपत्र नपुगेका श्रमिकको हकमा भने तीन दिनभित्र थप कागजपत्र बुझाएको अवस्थामा सोही टोकनलाई मान्यता दिइँदै आएको छ भने तीन दिनभित्र कागजपत्र नबुझाएकाले नयाँ टोकन लिनुपर्ने व्यवस्था गरिएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारीले स्वेच्छिक अवकाशका लागि दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । चैत ११ गते ५८ वर्षे उमेर हदको अनिवार्य अवकाश लिन थालेका सचिव भण्डारीले त्यसअघि नै स्वच्छिक अवकाशका लागि राजीनामा दिएका हुन् ।
निजामती ऐनमा सचिवले स्वच्छिक राजीनामा गरेको अवस्थामा नियमित सेवा भन्दा दुई पर्ष बढी सेवा गरेको मानि निवृत्तिभरण (पेन्सन) दिइने प्रावधान छ । उक्त सुविधाका लागि सचिवहरूले तोकिएको मिति अगाडि नै स्वच्छिक अवकाशका लागि राजीनामा दिने चलन नै भएको जानकारहरु बताउँछन् । सचिव भण्डारीको स्वच्छिक राजीनामा दिएपनि मन्त्रिपरिषद्ले मन्त्रालयमा नयाँ सचिव खटाउने निर्णय गरिसकेको छैन ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकहरुका लागि सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवाको अवलोकन गरेका छन् । मन्त्री अर्यालको निजी सचिवालयका अनुसार बुधबार वीर अस्पताल पुगेर मन्त्री अर्यालले टेलिमेडिसिन सेवाको विषयमा जानकारी लिएका हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डको आर्थिक सहयोगमा २०७९ चैत १० गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो । हालसम्म १८ वटा मुलुकबाट वैदेशिक रोजगारमा रहेका श्रमिकले फेसबुक, ह्वाट्सएप, भाइबर, ईमोलगायतका सामाजिक सञ्जालमार्फत स्वास्थ्य समस्या राख्ने गरेका छन् । अस्पतालले विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको बताइएको छ ।
वीर अस्पतालले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्दे आएको टेलिमेडिसिन सेवाका लागि मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट नियमित खटाएको छ । प्रत्येक साताको शुक्रबार र आइतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सकसमेत उपलब्ध गराइने गरेको बोर्डले बताएको छ । हाल दैनिक २५ देखि ३० जना श्रमिकले टेलिमेडिसिन सेवा लिइरहेको बताइएको छ ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा एक हजार ६३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएको जानकारी मन्त्री अर्याललाई दिइएको छ । मलेसियामा रहेका नेपालीले बढी मात्रामा टेलिमेडिसिन सेवा लिने गरेका छन् । मलेसियाबाट ३९४ जना, साउदी अरबबाट ३१० जना, यूएईबाट १९२ जना, कतारबाट १७५ जना, कुवेतबाट १७१ जना, दक्षिण कोरियाबाट १५७ जना, ओमानबाट ५७ जना, साइप्रसबाट ५३ जना, जापानबाट ४० जना, रोमानियाबाट ३५ जना, बहराइनबाट १२ जना, जाम्बियाबाट १० जना, जर्मनीबाट ९ जना, माल्दिभ्सबाट ७ जना, इराकबाट ४ जना, माल्टाबाट ३ जना, युकेबाट १० र अफ्रिकाबाट एक जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।
टेलिमेडिसिन सेवामार्फत ४ सय जना श्रमिकलाई स्वास्थ्य तथा औषधिसम्बन्धी परामर्श उपलब्ध गराइएको बताइएको छ । टेलिमेडिसिन सेवासम्बन्धी जानकारी लिँदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाइने बताएको पनि मन्त्री अर्यालको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारमा कामदार पठाउने निजी क्षेत्रका व्यवसायीको अधिकार संकुचित हुने कुनैपनि कदम नचाल्न आग्रह गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने क्रममा संघले उक्त आग्रह गरेको हो ।
नवनियुक्त मन्त्री अर्याललाई बधाई ज्ञापन गर्न बुधबार संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघ कार्यसमिति, सल्लाहकारहरु, शुभेच्छुक घटक संघ संस्थाका अध्यक्षहरुसहित वैदेशिक रोजगार व्यवसायीको एक प्रतिनिधिमण्डल मन्त्रालय पुगेको थियो । मन्त्रालयको सभाहलमा भएको कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रमा देखिएका तत्काल सम्बोधन गरिनुपर्ने समस्याका सन्दर्भमा संघका अध्यक्ष भण्डारीले मन्त्री अर्यालको ध्यानाकर्षण गरेको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
मन्त्री अर्यालले मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा दक्षिण कोरियाको ई–७ भिसासहित जापान र इजरायलमा म्यानपावर कम्पनीले कामदार पठाउन खुला गरिएको भन्ने समाचार निराधार रहेको बताएका थिए । महासचिव भुर्तेलले यी विषयका अतिरिक्त वैदेशिक रोजगारका क्षेत्रमा रहेका सबै समस्याहरूका विषयमा मन्त्री अर्याललाई जानकारी गराइएको बताए ।
जवाफमा मन्त्री अर्यालले पेशा व्यवसाय निजी क्षेत्रले गर्ने र यसको सुपरिवेक्षण तथा अनुगमन सरकारले गर्ने भन्दै वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि संघसँग सहकार्य गरी मन्त्रालय अगाडि बढ्ने र मन्त्रालयले गर्ने नीतिगत निर्णयहरुमा सरोकारवालासँग समन्वय गर्ने आश्वासन दिएको पनि महासचिव भुर्तेलले बताए ।
जापान, कोरिया र इजरायलका सम्बन्धमा नेपाल सरकारले सरकारीस्तरमा नेपाली कामदार पठाउने निर्णय गरी सम्झौता र समझदारी गरेकाले त्यसलाई कार्यान्वयनमा नलगी परिवर्तन गर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा नै प्रश्न उठ्ने भन्दै मन्त्री अर्यालले सरकारले नै कामदार पठाउन उचित हुने धारणा राखेका थिए । मंगलबार मन्त्री अर्यालले मन्त्रालयले विज्ञसहितको कार्यदलले अध्ययन गरिरहेकाले उक्त कार्यदलको प्रतिवेदनपछि धेरै विषयमा पुनर्विचार गरिने बताएका थिए ।
त्यसैगरी मन्त्री अर्याललाई नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले पनि भेट गरी बधाई तथा शुभकामना दिएको छ । महासंघका अध्यक्ष राजाराम गौतमले श्रमिकका लागि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिमको शुल्कका विषयमा मन्त्री अर्यालका तर्फबाट मंगलबार सार्वजनिक धारणाबारे महासघंको भनाइ राखेका थिए ।
जवाफमा मन्त्री अर्यालले मन्त्रालयले त्यस विषयमा पनि मन्त्रालयले अध्ययन गरिरहेकाले प्रतिवेदन आइ अर्को निर्देशन नहुँदासम्मका लागि अभिमुखीकरण तालिमको शुल्क ७ सय नै तोकिएको, तर बढ्ने शुल्कअनुसार वैदेशिक रोजगारमा जाने कामदार अभिमुखीकरण तालिमबाट लाभान्वित हुने सुनिश्चितता भए शुल्क बढाउने विषयमा मन्त्रालयलाई आपत्ति नरहेको बताएको अध्यक्ष गौतमले जानकारी दिए ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएकी एक नेपाली महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । पोर्चुगलको मदेइरा बस्दै आएकी पाँचथर फाल्गुनन्द गाँउपालिका–५ की २७ वर्षीया झरना चेम्जोङले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
चेम्जोङले गत शनिबार बेलुका आफू बस्ने कोठाको डबलडेकर बेडमा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेको गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वमहासचिव निराजन सुवेदीले जानकारी दिए ।
बिदाको दिन एक्लै कोठामा रहेकी उनले ढोका बन्द गरेर आत्महत्या गरेको उनले बताए । सँगै बस्ने साथीहरु कामबाट आएर राति ढोका खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेको र प्रहरी आएर ढोका खोल्दा चेम्जोङ झुण्डिएको अवस्थामा फेला परेको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।
रोजगारीका सिलसिलामा साइप्रस हुँदै १५ महिनाअघि पोर्चुगल आएकी चेम्जोङ मदेइरास्थित एक होटलमा कार्यरत थिइन् । उनी होटलले उपलब्ध गराएको कोठामा अन्य साथीहरुसँगै बस्दै आएकी थिइन् ।
चेम्जोङले के कारणले आत्महत्या गरेको हो भन्ने विषय भने खुलिनसकेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनको शव परीक्षणका लागि मदेइरास्थित एक अस्पतालको शवगृहमा राखिएको महावाणिज्यदूत हमालले बताए ।
घटनाको विषयमा परिवारलाई जानकारी गराइसकिएको र उनको शव नेपाल पठाउने वा यहीँ अन्त्यष्टि गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । चेम्जोङकी ८ वर्षीया छोरी र श्रीमान नेपालमा रहेका छन् ।
काठमाडौं : फागुन महिनामा नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । ७ सय ५९ जना कामदारको श्रम स्वीकृति लिँदै नीलकमल शीर्ष स्थानमा रहँदा एसओएस म्यानपावर सर्भिस प्रा.लि. ६ सय ५० जना कामदारको श्रम स्वीकृति लिँदै दोस्रो स्थानमा रहेको छ ।
सयभन्दा बढी कामदार पठाउने म्यानपावरहरु :
नीलकमल ह्युमन रिसोर्स प्रा.लि.– ७५९
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– ६५०
अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– ४९७
शिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– ४२५
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ४१४
आकर्षण इन्टरनेशनल प्रा.लि.– ३८६
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट प्रा.लि.– ३७९
एयर किङ्स प्लेसमेन्ट प्रा.लि.– ३७९
अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.– ३६४
इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– ३२०
अल अयुनी ओभरसिज सर्भिस प्रा.लि.– ३२०
साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– ३१४
शिखर इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.– ३०५
लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि.– २८१
अञ्जली ओभरसिज सर्भिस प्रा.लि.– २६५
सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.– २६३
दि रिभर ओभरसिज प्रा.लि.– २५४
गल्फ म्यानेजमेन्ट इन्टरनेशनल प्रा.लि.– २५४
ग्रेस ओभरसिज प्रा.लि.– २५१
एशिया लिंक सर्भिस प्रा.लि.– २४६
अमिटी जग्लोबल इम्प्लोइमेन्ट प्रा.लि.– २४४
प्याराडाइज इन्टरनेशनल प्रा.लि.– २३९
नाइस रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– २३६
जब सिकर म्यानपावर प्रा.लि.– २२८
वाहा म्यानपावर सर्भिस प्रा.लि.– २२७
अल जारफा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रा.लि.– २१८
एमबि ह्युमन रिसोर्स प्रा.लि.– २०६
स्टाइरिस एचआर सर्भिस प्रा.लि.– १९१
अल स्किल इन्टरनेशनल ह्युमन रिसोर्स प्रा.लि.– १९०
योङ म्यानपावर प्रा.लि.– १८८
अञ्जुलिमा इन्टरनेशनल प्रा.लि.– १८०
ब्रोदर इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १७७
लगइन इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रा.लि.– १७६
ट्रष्ट नेपाल प्रा.लि.– १७२
मास ह्युमन रिसोर्स प्रा.लि.– १७१
डिके रिभर ओभरसिज प्रा.लि.– १६७
अल समिट म्यानपावर प्रा.लि.– १६१
कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.– १६०
गोर्खा ह्युमन रिसोर्स सोलुसन प्रा.लि.– १५८
एचएमटी ओभरसिज प्रा.लि.– १५४
बेबी एन्जल इन्टरनेशनल प्रा.लि.– १५१
ब्लु ओसियन रिक्रुटमेन्ट प्रा.लि.– १५१
अल सेक्योर म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १५०
वर्ल्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट प्रा.लि.– १४७
फ्रन्टलाइन रिक्रुटमेन्ट प्रा.लि.– १४३
कतार इन्टरनेशनल म्यानपावर प्रा.लि.– १३९
मोन्टेज ओभरसिज प्रा.लि.– १३८
कन्फिडेन्ट इन्टरनेशनल म्यानपावर प्रा.लि.– १३८
पास इन्टरनेशनल प्रा.लि.– १३७
भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.– १३५
डाइनेष्टी प्लेसमेन्ट सर्भिस प्रा.लि.– १३१
ब्रदर्श ह्युमन रिसोर्स प्रा.लि.– १३१
त्रिवेणी ओभरसिज कन्सर्न प्रा.लि.– १३०
मदरल्याण्ड ओभरसिज सर्भिस प्रा.लि.– १२४
बिएस ओभरसिज प्रा.लि.– १२३
सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि.– १२३
कान्तिपुर म्यानपावर सर्भिस प्रा.लि.– १२१
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रा.लि.– १२०
एमकोन ओभरसिज प्रा.लि.– ११९
सिडी ह्युमन रिसोर्स प्रा.लि.– ११९
सेन्टर क्यापिटल सर्भिस प्रा.लि.– ११७
लिंक अन इन्टरनेशनल प्रा.लि.– ११६
विन रिक्रुटमेन्ट प्रा.लि.– ११४
हामदान ग्लोबल प्रा.लि.– ११३
न्यु गोर्खा इन्टरनेशनल प्रा.लि.– ११३
इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– ११३
एसपीएम ओभरसिज प्रा.लि.– ११०
गोल्डेन एचिभर्स इन्टरनेशनल प्रा.लि.– १०८
नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १०७
नासेर आउटसोर्सिङ कन्सल्ट्यान्ट प्रा.लि.– १०६
वर्षा म्यानपावर प्रा.लि.– १०४
शुभहारती म्यानपावर प्रा.लि.– १०३
ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.– १०१
लक्की एचआर सोलुसन प्रा.लि.– १०१
मेरिडियन ओभरसिज प्रा.लि.– १०१
स्काई वे म्यानेजमेन्ट प्रा.लि.– १०१
अल शाहिद ओभरसिज प्रा.लि.– १००
रोयल इन्टरनेशनल ओभरसिज प्रा.लि.– १००
काठमाडौं : माघ महिनाको तुलनामा फागुन महिनामा वैदेशिक रोजगारमा जानेको संख्या बढेको छ । माघ महिनामा ६२ हजार १ सय ४७ जना सबै प्रकारका श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा गएकोमा फागुनमा उक्त संख्या ६५ हजार ६ सय ५८ रहेको छ ।
वैदेशिक रोजगार विभागको फागुन महिनाको तथ्यांकअनुसार म्यानपावर कम्पनीबाट फागुनमा ३१ हजार ८ सय ९८ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका छन् । फागुनमा अघिल्लो महिना माघमा जस्तै यूएईमा धेरै नेपाली गएका छन् । म्यानपावर कम्पनीबाट ११ हजार ८७ जना यूएई गएका छन् । समग्रमा फागुनमा यूएई जानेको संख्या १८ हजार ७ सय ७ रहेकोे छ ।
आठ महिनाको अवधिमा एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएको विभागले बताएको छ । फागुनमा साउदी अरेबिया दोस्रो स्थानमा रहेको छ । साउदीमा म्यानपावर कम्पनीबाट ६ हजार २ सय २६ जना र सबै प्रक्रियाबाट १३ हजार २ सय ६७ जना गएका छन् ।
चालु आर्थिक वर्षका अघिल्ला महिनामा जस्तै तेस्रो स्थानमा कतार छ । फागुनमा ११ हजार ३ सय ९० जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत २ हजार ८ सय ६१ जना गएका छन् । संस्थागतरूपमा मलेसिया जाने कामदारको संख्या कतारको भन्दा बढी रहेपनि मलेसिया सूचीको चौथो स्थानमा रहेको छ । फागुनमा समग्रमा ८ हजार ४ सय १७ जना कामदार गएको मलेसियामा म्यानपावर कम्पनीमार्फत भने ६ हजार ७ सय ३५ जना गएका छन् । माघमा उक्त संख्या ५ हजार ४ सय ७७ रहेकोे थियोे ।
फागुनमा बहराइनमा म्यानपावर कम्पनीमार्फत ४ सय ४८ जना, क्रोएसियामा ४८ जना, साइप्रसमा ४ सय ४३ जना, जापानमा ७० जना, जोर्डनमा १ सय २९ जना, कुवेतमा एक हजार ९ सय ७२ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा मकाउमा ३५ जना तथा हङकङमा ४ जनाको श्रम स्वीकृति भएको छ । हङकङमा व्यक्तिगतरूपमा ३ जनाको श्रम स्वीकृति भएको छ । मरिससका लागि म्यानपावर कम्पनीबाट ६ सय ६० जना, ओमानमा १ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।
पछिल्ला महिना रोजगारीका लागि युरोप जाने बढेका छन् । फागुनमा मात्र रोमानियामा म्यानपावरमार्फत ४ सय ७८ र व्यक्तिगतरूपमा ९ सय ६६ जना, क्रोएसियामा म्यानपावरमार्फत ४८ र व्यक्तिगतरूपमा ७ सय ३४ जनाको श्रम स्वीकृति भएको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको संख्या चार लाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले कम हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies