एजेन्सी : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।
हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको संगत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतिकी चार छोरीमध्ये जेठी उनले १५ दिनअघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ ।
केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् । औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन् ।
४८ वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथता उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशंका प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रुपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन् ।
हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ । निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ ।
एजेन्सी : मध्य तथा दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासीको भीड लाग्ने गरेको छ । अमेरिका सरकारले भने आप्रवासीलाई आफ्नो भूमिमा गैरकानुनीरूपमा प्रवेश गर्न नदिन कठोर नियम अवलम्बन गर्नाका साथै निष्कासनसमेत गर्दै आएको छ ।
आप्रवासीहरूले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर त्यसको विरोध गर्दा उक्त हताहती भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बताएका छन् । उनीहरूको विरोधको तरिकाले यति भयानक परिस्थिति निम्त्याउने उनीहरूले नसोचेका उनले बताएका छन् ।
सामाजिक सञ्जाजलमा सार्वजनिक भएका दृश्यमा केन्द्र बाहिरको फुटपाथमा लाशहरू प्लाष्टिकले बेरेर लाइनमा राखिएको देखिन्छ । सुरक्षाका लागि राखिएका सिसिटिभी क्यामरामा केन्द्रको हिरासतमा रहेका आप्रवासीले गद्दामा आगो लगाएपछि धुँवाको मुस्लो छुट्दो सुरक्षाकर्मीहरू त्यसलाई बेवास्ता गर्दै भवनबाट बाहिरिएका देखिन्छन् । भिडियोमा उनीहरूले आप्रवासीलाई हिरासत मुक्त नगरेको देखिन्छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आप्रवासीहरूलाई मेक्सिको र अमेरिकालाई जोड्ने स्ट्यान्टन–लेर्डो पुल नजिक रहेका केन्द्रको भवनभित्र लगेका थिए जहाँ उनीहरूले विरोधस्वरुप गद्दामा आगो लगाएका थिए ।
आगलागीमा परी २९ जना घाइते समेत भएका छन् । मेक्सिकोको नेशनल माइग्रेसन इन्स्टिच्युट (आईएनएम)द्वारा सञ्चालित उक्त केन्द्रमा आगलागीका बेला मध्य र दक्षिण अमेरिकाका ६८ जना पुरुष थिए ।
अमेरिकी भन्सार र सीमा सुरक्षा अधिकारीले आगलागीमा परी घाइते भएकाहरूलाई आप्रवासीलाई स्वीकार गर्ने प्रक्रिया प्रारम्भ गर्न आफूहरू तयार रहेको जनाएका छन् । घाइतेहरूलाई मेक्सिकोबाट एम्बुलेन्समार्फत उपचारका लागि अमेरिकी उपचार केन्द्रहरूमा पुर्याइएको छ ।
मेक्सिकोका अधिकारीहरूले आगलागीमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक घाइते भएका तथा ज्यान गुमाएका बताएका छन् । विदेशमन्त्री मारियो बुकारोले आगलागीमा आफ्नो देशका २८ जनाको मृत्यु भएको पत्रकारहरूलाई बताएका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले उक्त घटनाको गम्भीर छानबिन गर्न आग्रह गरेका छन् । महासचिवका प्रवक्ताले सुरक्षित एवम् संगठित आप्रवासन मार्गहरू स्थापनाका लागि आवागमन हुने सम्बद्ध देशका अधिकारीहरूसँग काम राष्ट्रसंघले सहकार्य गर्ने प्रतिबद्धता महासचिवले व्यक्त गरेको बताएका छन् ।
मेक्सिकोका लागि अमेरिकी राजदूत केन सालाजारले अनियमित आप्रवासनका जोखिमहरू समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो देशको सरकार सचेत रहेको बताएका छन् । कोभिड महामारीको शुरुमा लागू गरिएको नियमका कारण उनीहरूले अमेरिका प्रवेशको अनुमति नपाएका उनको भनाइ छ ।
बाइडेन प्रशासनले तत्कालीन राष्ट्रपति ट्रम्पको नीतिको प्रयोग अन्त्य गर्ने आफ्नो चाहना घोषणा गरेको भए पनि अहिलेसम्म त्यो खारेज भएको छैन । राष्ट्रपतिको उक्त घोषणापछि प्रतिबन्धहरू हट्ने आशमा सिउडाड जुआरेजमा आप्रवासीहरूको आगमन निरन्तर बढिरहेको छ ।
हालै भेनेजुएलाका सयौँ आप्रवासीले मेक्सिकोको यो शहरबाट एल पासोस्थित अन्तर्राष्ट्रिय पुल पार गरेर जबरजस्ती अमेरिका प्रवेशको प्रयास गरेका थिए । अमेरिकी अधिकारीहरूले भने भौतिक अवरोध खडा गरेर उनीहरूको अमेरिका पुग्ने सपनालाई चक्नाचुर पारेका थिए ।
मेक्सिकोका अध्यागमन हिरासतमा बेलाबेलामा आप्रवासीको भीडभाड, दङ्गा र विरोध प्रदर्शन हुने गरेका छन् । गत अक्टोबरमा भेनेजुएलाका आप्रवासीको एउटा समूहका कारण टिजुअनास्थित आप्रवासी केन्द्रमा दङ्गा भएको थियो भने नोभेम्बरमा ग्वाटेमालाको सीमा नजिकको मेक्सीकाको दक्षिणी शहर तपाचुलाको अर्को केन्द्रमा त्यस्तै दङ्गा भएको थियो ।
अमेरिका र जर्मनीपछि मेक्सिको शरणार्थीका लागि लोकप्रिय गन्तव्य बनेको छ । मेक्सिको भएर अमेरिका प्रवेश गर्न चाहने धेरै आप्रवासी संसारका विभिन्न भागबाट मेक्सिको पुग्ने गरेका छन् ।
शरण खोज्न चाहनेले जहाँ आवेदन गरेको हो त्यहीँ बस्नुपर्ने प्रावधान भए पनि ग्वाटेमालालगायत दक्षिण अमेरिकी मुलुकका नागरिक मेक्सीको छाडेर अमेरिका नै जान चाहन्छन् । अहिले पनि ग्वाटेमालाका साथै मेक्सिकोका दक्षिणी सिमानामा दशौँ हजार आप्रवासीको भीड लागेको छ ।
यसैबीच, मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले आगलागीको घटना मेक्सिको र संयुक्त राज्य अमेरिकाको प्रतिबन्धात्मक एवम् क्रुर आप्रवास नीतिको परिणाम भएको टिप्पणी गरेको छ । उक्त घटनाले अध्यागमनसम्बन्धी अमानवीय प्रणालीलाई उजागर गरेको जनाउँदै एम्नेष्टीले बन्दीहरूलाई आगोमा नै छाडेर हिँड्नु अमानवीयताको परकाष्ठा हो भनेको छ ।
एजेन्सी : देशको दक्षिणी राज्य मिसिसिपी र अल्बामा आएको भीषण आँधीमा परी २६ जनाले ज्यान गुमाएका छन्भने सयौँ घाइते भएका छन् । खोज तथा उद्धार प्रयास जारी छ भने राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।
आँधीबाट रोलिङफार्क अति प्रभावित भएको छ । कुच्चिएका मोटरकार, इँटा र शिशाले सडक हेरिनसक्नु छ भने पुरै शहर प्रायः भग्नावशेषमा परिणत भएको छ । यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन् ।
पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ । सबैतिर तहस–नहस । वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ । वोटविरुवा सोत्तर भएका छन् ।
घरहरू भत्केका छन्, तिनका भग्नावशेष यत्रतत्र फैलिएका छन् । रुख जरैदेखि उखेलिएका छन् । मोटरकार उत्तानो परेका छन् । घरका पर्खाल र छाना देखिदैनन् । भग्नावशेषको उरुङबाहेक केही देखिँदैन । अकल्पनीय क्षति । आँधीका कारण विद्युत् आपूर्ति नहुँदा शनिबार सबैतिर अन्धकार भयो । दुई सय ६५ देखि तीन सय २० किलोमिटरको बेगमा पाँचदेखि १० मिनेटसम्म आएको आँधीले केही राखेको छैन– सबैतिर विनाशै विनाश, क्षति नै क्षति । अकल्पनीय क्षति ।
निरपेक्ष गरिबीको रेखामुनि रहेका यहाँका करिब दुई हजार जनतालाई तत्काल सहायता परिचालन गर्न राष्ट्रपति जो बाइडेनले संघीय सरकारलाई आदेश दिएका छन् । अस्थायी आवास, घरमर्मत, बीमा नगरिएको सम्पत्तिको नोक्सानी क्षतिपूर्तिस्वरुप ऋण अनुदानलगायत सुविधा उपलब्ध गराउन उनले आदेश दिएका हुन् ।
एजेन्सी : भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । तर उनले तत्काल जमानत पनि पाएका छन् ।
सन् २०१९ मा उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध दिएको एक अभिव्यक्तिलाई लिएर उनीमाथि मानहानीको मुद्दा दायर भएको थियो ।
एक भाषणमा गान्धीले ‘सबै चोरको थर मोदी किन हुन्छ ?’ भनेर बोलेका थिए । गान्धीले कर्नाटकमा आयोजित चुनावी सभामा सो अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिका विरुद्ध भारतीय जनता पार्टीका विधायक पूर्णेश मोदीले गुजरातको सुरत अदालतमा मुद्दा दायर गरेका थिए ।
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय दिएको छ ।
गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका हुन् । वर्तमान सांसद भएकाले गान्धीको सांसद अहिले खतरामा छैन ।
गान्धीविरुद्ध भारतीय दण्डसंहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । भारतीय दण्डसंहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।
सजायको घोषणापछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, 'हामी यो निर्णयलाई हृदयदेखि स्वागत गर्छौं । दुई वर्षको सजायको घोषणामा तपाईं सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो ।'
राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै, समाचार एजेन्सी पीटीआईले भनेको छ, 'मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो र २३ मार्चको मिति दिएको थियो ।'
गान्धी आफ्नो बयान रेकर्ड गर्न अक्टोबर २०२१ मा सुरत अदालतमा हाजिर भएका थिए ।
एजेन्सी : अफ्रिकी मुलुक युगान्डाको संसदले समलिङ्गी वा यौन अल्पसंख्यकको रूपमा पहिचान गर्ने व्यक्तिहरूलाई अपराधीकरण गर्ने विधेयक पारित गरेको छ । उक्त विधेयकमा हस्ताक्षर गरेर राष्ट्रपतिले कानूनको रूप दिएमा दोषी ठहर भएकाले वर्षौं जेल सजाय भोग्नुपर्ने हुन्छ ।
प्रस्तावित कानूनमा समलिङ्गी सम्बन्धमा बस्ने व्यक्तिको समुदायका साथीभाइ, परिवार र अन्य सदस्यले अनिवार्यरुपमा उजुरी गर्नुपर्ने दायित्व रहेको उल्लेख गरिएको छ । यस पूर्वी अफ्रिकी देशमा समलिङ्गी गतिविधि पहिलेदेखि नै गैरकानूनी छ तर युगान्डाले बनाएको नयाँ कानूनले लैंगिक पहिचानकै आधारमा यौन अल्पसंख्यकहरुलाई अपराधी मानेर वर्षौंसम्म जेल हाल्न सकिने छ ।
यो विधेयक यस महिनाको शुरुमा पहिलो पटक पेस गरिएको थियो र मंगलबार संसदमा भारी मतले पारित भएको हो । अब यो विधेयक युगान्डाका राष्ट्रपति मुसेभेनीलाई पठाइनेछ । त्यसपछि उनले भिटो अथवा हस्ताक्षर गरेर यसलाई कानूनको रुप दिनसक्ने छन् । ३० वटा अफ्रिकी देशमा समलिङ्गी सम्बन्ध प्रतिबन्धित छ ।
विधेयकमा समलिङ्गी गतिविधिमा संलग्न गराउने उद्देश्यले बालबालिकाको हेरचाह वा ओसारपसार गर्ने व्यक्तिलाई आजीवन कारावासको सजाय हुने पनि व्यवस्था छ ।
समलिङ्गी अधिकारसम्बन्धी गतिविधि वा संस्थाहरूलाई समर्थन गर्ने, सहयोग गर्ने व्यक्ति वा संस्थाहरू तथा समलिङ्गी समर्थक मिडिया सामग्री र साहित्य प्रकाशन, प्रसारण र वितरण गर्नेहरूलाई पनि अभियोग र कारावास हुने विधेयकमा व्यवस्था गरिएको छ ।
युगान्डाका सांसदहरूको सानो समूहले विधेयकको आधारमा छानबिन गर्ने समितिसँग असहमति जनाएका छन् । यसले अपराधीकरण गर्न खोजेका कसुरहरू देशको दण्डसंहिता ऐनमा समेटिएको उनीहरूको तर्क छ ।
एजेन्सी : अल–शबाबविरुद्ध सोमाली राष्ट्रिय सेनाले देशको दक्षिणी भागमा गरेको कारबाहीमा ३० जना लढाकु मारिएका छन् भने अन्य धेरै जना घाइते भएका छन् ।
राष्ट्रिय सेनाका कमाण्डर मोहम्मद तहलिल बिहीका अनुसार आतंकवादी समूह अल–शबाबले सैनिक आधार क्षेत्रमा आक्रमणको प्रयास गरेपछि भएको दोहोरो भिडन्तमा उनीहरू मारिएका हुन् । सरकार समर्थक समूहले सैनिकलाई सघाएको थियो । झडपमा सैनिक तथा समर्थक समूहमा भएको हताहतीबारे कुनै जानकारी दिइएको छैन ।
अल–शबाब चरमपन्थी समूहले भिडन्तको क्रममा २० जना सैनिक मारिएका, अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।
गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोही विरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाब विरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । राष्ट्रपतिले अल–शबाब लडाकूहरूलाई परास्त गर्न सैन्य कारबाहीलाई अझ व्यापक बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एजेन्सी : अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् ।
अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।
उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।
भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा दुई सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको थियो अस्पताल प्रशासनले बताएको छ । उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये दुई सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।
एजेन्सी : रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । साथै वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिएका छन् ।
दुई राष्ट्रपतिबीच चीन र रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनाका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो ।
राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि आफू पहिले रुसको भ्रमणमा आएको तथा उक्त भ्रमणको सम्झना आफ्नो स्मृतिमा आज पनि ताजा रहेका बताए ।
राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को २०औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकोमा धन्यवाद व्यक्त गरे । साथै उनले आफू केही दिनअघि मात्र चीनकाो राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पनि तत्काल बधाई ज्ञापन गर्नुभएकामा राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गरे ।
चिनियाँ राष्ट्रपतिले आगामी वर्ष रुसमा राष्ट्रपतीय निर्वाचन हुने र नेता पुटिनको सबल नेतृत्वमा रुसले देशको विकासका साथै कायाकल्प गर्ने उल्लेख गर्दै राष्ट्रपति पुटिनप्रति रुसी जनताको दृढ समर्थन रहनेमा आफू विश्वस्त रहेको बताए । चीनले जहिले पनि स्वतन्त्र परराष्ट्र नीतिलाई समर्थन गर्दै आएको, चीन– रुस सम्बन्धलाई अझ सुदृढ बनाउन बेइजिङले आफ्नो मौलिक हित र विश्वको प्रचलित प्रवृत्तिका आधारमा रणनीतिक छनोट गरेको उनले स्पष्ट गरे ।
चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूलो छिमेकी एवम् रणनीतिक साझेदार भएका दोहोर्याए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका चिनियाँ राष्ट्रपतिले उल्लेख गरे ।
चीन रुससँगको रणनीतिक सम्बन्ध सुदृढ गर्न दृढ रहेको बताउँदै राष्ट्रपति सीले चीन र रुस दुवै राष्ट्र राष्ट्रिय विकास, विश्व बहुध्रुवतालाई समर्थन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा बृहत्तर लोकतन्त्रका लागि काम गर्न प्रतिबद्ध रहेका उल्लेख गरे ।
चिनियाँ राष्ट्रपतिले दवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनका साथै संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्व शान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए ।
रुसको राजकीय भ्रमण गरेकोमा राष्ट्रपति पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गरे । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो संभव भएको भन्दै त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए ।
राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस् प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गरे । उनले द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तरराष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधै प्रतिबद्ध रहेको बताए ।
वार्ताका क्रममा युक्रेन मुद्दामा पनि दुवै पक्षबीच गहन विचार आदानप्रदान भएको थियो । राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । उनले विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका बताउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।
यसैबीच संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाब दिनुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता जोन किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने पनि बताएका छन् ।
प्रवक्ता किर्बीले भनेका छन्, ‘राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ भन्नेमा अमेरिका विश्वस्त छ ।’
जापानका प्रधानमन्त्री फुमियो किशिदा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको अप्रत्यासित भ्रमण गर्दै छन् । उनले रुसको युक्रेनप्रति ऐक्यबद्धता र समर्थन जनाउने अपेक्षा गरिएको छ । जापान र चीनले एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेरेपनि युक्रेनमा रुसी आक्रमण भएदेखि टोकियोले किएभलाई मानवीय, आर्थिक र गैर–घातक सैन्य सहायताको प्रदान गर्दै आएको छ ।
एजेन्सी : बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मंगलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ ।
पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ ।
खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताएका छन् ।
परिणामस्वरूप गाडीमा आगो लाग्यो र, यसमा सवार सबै जिउँदै जलेका छन् । जलेका शवहरू अहिले पहिचान बाहिर भएको उनले बताएका छन् । खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिएका छन् ।
यसै पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ । अर्को स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गरेका छन् । खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीआईआई) पार्टीका सदस्य थिए ।
एजेन्सी : नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य संक्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो संख्याका नागरिक यसबाट संक्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।
बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।
देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies