एजेन्सीः ग्वाटेमालाका एक जना प्रभावशाली नेताको दिनदहाडै श्रीमतीसहित हत्या भएको छ । राष्ट्रपति निर्वाचित पार्टीका राजनीतिज्ञ अनिबल रामिरेजलाई बिहीबार मेक्सिकोको सीमा नजिकै गोली हानेर हत्या गरिएको उनको पार्टी र स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रपति निर्वाचित बर्नार्डो अरेभालोको सेमिल्ला (सीड) पार्टीका लागि पश्चिमी शहर सान पेड्रो नेक्टाका पूर्वउम्मेद्वार रामिरेज र उनकी पत्नी मर्सी मोरालेसलाई कामको सिलसिलामा पिकअप भ्यानमा गइरहेका बोल गोली हानेर मारिएको सीडले जनाएको छ ।
नेता रामिरेज आफ्नो समुदायलाई रूपान्तरण गर्न प्रतिबद्ध रहेका तथा सधैं भ्रष्टाचारको निन्दामा उत्रिएकाले उनीसहित उनकी श्रीमती मर्सीको हत्या भएको सीडले बताएको छ । उक्त पार्टीले हत्याका दोषीलाई कारबाही गर्न माग गरेको छ । सीडका नेता अरेभालोले गत महिना अप्रत्याशित रूपमा राष्ट्रपति पदको चुनाव जितेपछि ग्वाटेमालाका अधिकारीहरूले बारम्बार उनी र उनको पार्टीविरुद्ध कारबाही गर्न कानुनी माध्यम प्रयोग गर्दै आएका छन् भन विपक्षी तथा माफियाले हिंसाको बाटोसमेत अँगालेका छन् ।
एजेन्सीः लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।
डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार वेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।
यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् । डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।
एजेन्सीः लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् ।
दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ ।
प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् ।
करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये इन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन् ।
एजेन्सीः लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशङ्का गरिएको छ ।
पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् ।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । बाढीमा पाँच हजार तीन सयभन्दा बढीको मृत्यु भइसकेको र कम्तीमा दश हजारभन्दा धेरै हराइरहेका अन्तरराष्ट्रिय सहायता निकायहरूले पुष्टि गरेका छन् ।
बाढीले भत्काएका सडकका चेप र खोच तथा समुद्र किनारमा पुर्याएका शव निकाल्ने काम भइरहेको छ । लिबियाका दुवै प्रतिद्वन्द्वी सरकारले बाढी पीडितहरूको लागि राहत सामग्री परिचालनमा समन्वय गरिरहेका छन्भने इजिप्ट, ट्युनिसिया, इटाली, स्पेन र टर्कीलगायत देशबाट उद्धार टोली त्रिपोली आइपुगेका छन् ।
एजेन्सी : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेसमा नै भएको छ ।
शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार १२ जनाको मृत्यु भएको तथा दुई हजार ५९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा सबैभन्दा बढी एक हजार दुई सय ९३ जनाको मृत्यु भएको छ भने ४५२ को साथमा ताराउदान्ट प्रान्तमा चार सय ५२ जनाले ज्यान गुमाएका छन् । मौले ब्राहिम गाउँमा कलिला केटाकेटीका शव देखेर भक्कानिएका ७० वर्षका बौचारा उद्धारकर्मीले घर नजिकै ५० जनाको शव गाडेको बताएका छन् ।
निरन्तरको पराकम्पले भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । उनीहरूले दुई रात घरबाहिर सडमा बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । सार्वजनिक स्थान, चौरस्ता एवं डबलीमा उनीहरूले आश्रय लिएका छन् ।
पहाडी क्षेत्रमा भएको क्षति एवम् हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट अति प्रभावित दुर्गम पहाडी गाउँमा पुग्न सेना र आपतकालीन सेवाका अधिकारी खटिएका छन् । उद्धार टोलीहरू आवासीय भवनलाई भूकम्पले भग्नावशेषमा परिणत गरेका स्थानमा कोही जीवित भेटिन्छन् कि भन्ने आशमा दौडिएका छन् । उद्धारकर्मी र टोलीको संख्या बढाइएको गृह मन्त्रालयले जनाएको छ ।
“मैले सबै गुमाएँ,” श्रीमती र चार छोराछोरी गुमाएका मौले ब्राहिमको पहाडी गाउँका बासिन्दा लाहसेन बर्बरी आसुँ झार्दै भन्छन् । उद्धारकर्मीहरूले लाहसेनका तीन छोरीको शव घरको भग्नावशेषबाट निकालेका छन् तर अहिलेसम्म उनकी श्रीमती र छोराको शव फेला परेको छैन । “म अब केही गर्न सक्दिन, म संसारबाट टाढा जान चाहन्छु,” विलाप गर्दै उनको मुखबाट अवर्णनीय पीडा अभिव्यक्त हुन्छ ।
भूकम्प प्रभावित एउटा गाउँको एक स्थानमा भग्नावशेष पन्छाउँदा १८ जनाको शव निकालिएपछि एक जना ज्येष्ठ महिला नागरिकले डाको छोडेर रोयको दृश्यले उद्धारकर्मी तथा सञ्चारकर्मीलाई पनि भावुक बनाएको थियो । केन्द्रविन्दुभन्दा करिब ५० किलोमिटर पर अवस्थित ताफेघते गाउँमा केही भवनमात्र ठडिएका छन्भने अधिकांश ध्वस्त भएका छन् । बहत्तर वर्षीय ओमर बेन्हाना आफ्ना तीन जना नातिनातिनी र बुहारी एकै चिहान भएको बताउँछन् । शनिबार नै उक्त गाउँका स्थानीयले ७० जनाको शव व्यवस्थापन गरेका थिए ।
तीन दिन राष्ट्रिय शोक
मोरक्कोका राजा मोहम्मद छैटौंले तीनदिने राष्ट्रिय शोक घोषणा गर्दै पीडित परिवारलाई खाना आवासको व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् भने उद्धार टोलीहरूलाई सघाउन देशको राष्ट्रिय सेनालाई आग्रह गरेका छन् । राष्ट्रिय शोकको यो घडीमा सार्वजनिक स्थल र सरकारी भवनहरूमा फहराईएका राष्ट्रिय झण्डा आधा झुकाइने सरकारी समाचार समितिले जनाएको छ ।
यसअघि सन् १९६० को भूकम्पमा परी मोरक्कोमा १५ हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट अगादिर शहर तहसनहस भएको थियो ।
एजेन्सी : मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था गम्भीर छ ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ । शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।
शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।
यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी २० शिखर सम्मेलनमा भागलिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसंभव सहयोग गर्ने बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा भएको ‘भयंकर’ भूकम्पमा परी छ सयभन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गरेका छन् । उनले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताएका छन् । मोयुक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि मोरक्कोलीप्रति ऐक्यबद्धता व्यक्त गर्दै मोरक्को नरेश मोहम्मद छैटौंलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन् ।
एजेन्सीः सन्दिग्ध विद्रोहीले थापेको विद्युतीय धरापमा परी फिलिपिन्समा पाँच जना सैनिकको मृत्यु भएको छ । योसँगै अन्य तीन जना घाइते भएका छन् ।
राजधानी मनिलाको दक्षिणपूर्वमा रहेको क्वेजोन प्रान्तमा शुक्रबार बिहान संदिग्ध न्यू पिपुल्स आर्मी (एनपीए) विद्रोहीले थापेको विद्युतीय धरापमा परी सरकारी सेनाका पाँच जवानको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको फिलीपिनी सेनाको दक्षिणी लुजोन कमाण्डका प्रवक्ता डेनिस कानाले बताएका छन् ।
देशका ग्रामीण क्षेत्रमा आक्रमण गर्दै आएका विद्रोहीविरुद्ध कारवाही गर्न ट्यागकावायन सहरमा गइरहेका बेला उक्त दुर्घटना भएको जनाउँदै प्रवक्ता कानाले उक्त क्षेत्रमा विद्रोहीविरुद्धको कारवाहीलाई अझ सशक्त बनाउन थप सैन्यबल परिचालन गरिएको बताएका छन् ।
सन् १९६९ देखि एनपीए विद्रोहीहरू जनसाधारण, सशस्त्र बललगायत सुरक्षा निकायका सदस्यलाई आक्रमण गर्दै आएका छन् । सैन्य तथ्याङ्कअनुसार एनपीएमा दुई हजारको हाराहारीमा सदस्यहरू छन् । सन् ८० को दशकमा यो समूहसँग २० हजार सदस्य आबद्ध थिए । क्रान्तिकारी विद्रोहको माध्यमबाट सत्ता हासिल गर्न सकिन्छ भन्ने कम्युनिष्ट पार्टी एनपीएले ५४ वर्षदेखि सञ्चालन गरेको छापामार युद्धमा ४० हजारभन्दा बढीको मृत्युभएको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतार ट्राफिक महानिर्देशनालयले आगामी आइतबारबाट लागू हुने गरी केही ट्राफिक नियममा परिवर्तन गर्ने भएको छ l विभागले परिवर्तन गर्न लागेको नियम ड्राइभिङको समयमा मोबाइल फोनको प्रयोग र सिट बेल्टसम्बन्धी रहेको छ l
ट्राफिक विभागका अधिकारी माजित अल खुलेफीले गाडी चलाउँदा सिट बेल्ट र मोबाइल प्रयोग गरेमा स्वचालित राडार (क्यामेरा)ले पक्रने र जरिवाना पर्ने बताए l सवारी साधन चलाउँदा एयरफोन वा एयरपोडको प्रयोग गरेर फोनमा कुरा गर्न सकिने, मोबाइललाई गाडी/बाइकमा राखेर नक्सा हेरेर चलाउन सकिने बताउँदै उनले एक हातमा फोन समातेर अर्को हातले सवारी साधन चलाउन नपाइने स्पस्ट पारे l
उनले सिट बेल्टको प्रयोगलाई अनिवार्य रहेको बताएका छन् l सडक दुर्घटना न्यूनीकरणका लागि महानिर्देशनालयले समय सापेक्षरुपमा ट्राफिक नियममा परिवर्तन गर्दै आएको छ l
एजेन्सी : अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् ।
जेलका अधिकारीले लागुऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औंठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ । यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् ।
कानून कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निक्कै रिसाको देखिन्छन् । हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन् । उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ । सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन् । यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ ।
उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् । राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन् ।
अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुटा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ ।
यसअघि उनीमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियललाईसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलर्या भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ ।
सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ ।
एजेन्सी : चन्द्रयान–३ को ‘ल्याण्डर मोड्युल’ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको छ । चार वर्षअघि चन्द्रयान–२ को दुर्घटनाग्रस्त अवतरणको निराशाको अन्त्य गर्दै चन्द्रयान–३ लाई चन्द्रमाको दक्षिणध्रुबमा अवतरण गराएर ऐतिहासिक सफलता रच्न सफल भएको छ ।
यो ध्रुबमा पुग्ने भारत पहिलो देश बनेको छ । चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने अमेरिका, चीन र रूसपछि भारत चौथो देश बनेको छ ।भारतीय अन्तरिक्ष एजेन्सी इसरोको बेङ्गलोरस्थित मुख्यालयका अधिकारीहरूले चन्द्रयान–३ मार्फत पठाइएको ल्याण्डर मोड्युल विक्रमले आफ्नो अवतरण स्थलतर्फ आफ्नो ठाडो अवतरण सुरु गरेपछि ताली बजाएर खुशी मनाएका थिए ।
“भारत चन्द्रमामा पुगेको छ !” जोहानेसबर्गमा आयोजित १५औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स (ट्वीटर) मार्फत् उक्त जानकारी दिएका छन् । विक्रमको चन्द्रमाको कक्षबाट अवतरणको यात्रा १५० मिटर, त्यसपछि १३० मिटर, ५० मिटरमा रहेको थियो र चन्द्रमाको सतहमा पुग्नुअघि चन्द्रमानजिक आइपुग्दा यसको गति घट्दै गएको थियो । विक्रम ल्यान्डरले प्रज्ञान रोभरलाई लिएर चन्द्रमाको सतहमा अवतरण गरेको हो । यो भारतका लागि अन्तरिक्ष यात्राको ठूलो फड्को हो ।
भारतले पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहको दक्षिणतर्फ अवतरण गर्ने पहिलो देशको रूपमा रेकर्ड बनाएको छ । भारत र विश्वभरका अरबौं मानिसहरूले बहुप्रतिक्षित कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन् ।
स्कुल र विज्ञान केन्द्रहरू र सार्वजनिक संस्थानहरू सहित देशभर अवतरणलाई विशेष स्क्रिनिङहरू जडान गरी हरिएको थियो । इसरोले आफ्नो वेबसाइट, यसको युट्युब च्यानल, फेसबुक र सार्वजनिक प्रसारक डीडी नेशनल टिभीमा लाइभ कार्यहरू उपलब्ध गराएको थियो ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को अवतरण (सफ्ट ल्यान्डिङ)का लागि २३ अगस्ट २०२३ (बुधबार) भारतीय समय १८ः०४ बजेलाई निर्धारण गरेको थियो । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्याएको थियो । भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पुर्याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies