एजेन्सी : सुडानको राजधानी खार्तुममा शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन् । आइतबार पनि बिहानैदेखि झडप भइरहेको प्रतयक्षदर्शीहरूले बताएका छन् ।
विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ । सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ । सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ ।
प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौं सुरक्षाकर्मीको मृत्यु भएको तथा छ सय जना घाइते भएका बताएको छ । दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पुर्याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको संख्या बढ्नसक्ने बताएको छ ।
कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन् । पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।
खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्यूझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन् ।
राष्ट्रसंघीय सुरक्षा परिषद्ले सुडानमा द्वन्द्व भड्किएकामा गहिरो चिन्ता व्यक्त गर्दै त्यहाँ भएको मानवीय क्षतिप्रति दुःख प्रकट गरेको छ । सुरक्षा परिषद्का सदस्यहरूले द्वन्द्वरत पक्षलाई तत्काल झडप त्यागेर शान्ति स्थापना गर्न तथा सुडानको वर्तमान संकट समाधानका निम्ति वार्तामा फर्कन आह्वान गरेको छ ।
परिषद्ले आइतबार एक विज्ञप्ति निकालेर सुडानमा मानवीय पहुँच कायम राख्न तथा राष्ट्रसंघीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ । विज्ञप्तिमा सुडानको एकता, सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताप्रति परिषद्को दृढ प्रतिबद्धता दोहोर्याइएको छ ।
एजेन्सी : दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कारण आगलागी भएको सिभिल डिफेन्स फोर्सको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुबई संयुक्त अरब इमिरेट्सका सात इमिरेट्स मध्येको एक हो । यहाँ करिब ३३ लाख जनसंख्याको बसोबास छ भने त्यसमा झण्डै ९० प्रतिशत विदेशी छन् । आगालागीमा ज्यान गुमाएका तथा घाइते भएकाको राष्ट्रियता भने खुलाइएको छैन ।
सन् २०१७ देखि दुबईका अधिकारीहरूले आगोको जोखिम कम गर्न भवन नियममा कठोर प्रावधानको व्यवस्था घोषणा गरेका छन् । मुख्यतया भवनको बाहिरी आवरणमा प्रयोग हुने ज्वलनशील सामग्रीहरूलाई लिएर कडा नियम ल्याइएको हो ।
काठमाडौंः अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३औं वार्षिकोत्सव मनाइँदै छ ।
आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको बललाई जित्दै अन्तरिक्षमा नियन्त्रित उडान भर्ने महान् लक्ष्य पूरा गरेका थिए । यसरी पृथ्वी नजिकको कक्षमा मानवसहितको योग्य उडानको एक भव्य प्रक्रियाको प्रारम्भ भई हाम्रा पुर्खाको सपनाले एउटा साकार रुप प्राप्त भएको थियो ।
गागरिनका अतिरिक्त अन्तरिक्ष अन्वेषणका क्षेत्रमा पहिलो नाम दर्ज गराउनेमा रुसी कस्मोनाट एलेक्सी लियोनोभ (जसले पहिलो स्पेसवाक सम्पन्न गरेका थिए), भ्यालेन्टिना तेरेस्कोभा (पहिलो महिला अन्तरिक्ष यात्री) र अन्य सोभियत र रुसी अन्तरिक्ष अन्वेषकले पृथ्वी नजिकको कक्षमा उडानको अवधि र जटिलताका लागि विश्व अभिलेख कायम गरेका छन् ।
अहिलेसम्म ३८ देशका करिब छ सय व्यक्ति अन्तरिक्षमा पुगिसकेको यहाँस्थित रुसी महासङ्घको राजदूतावासले जनाएको छ । हजारौँ वैज्ञानिक प्रयोग सम्पन्न गरिसकिएको छ, अन्तरिक्ष स्टेसन र टेलिस्कोप पृथ्वी नजिकको कक्षमा राखिएको छ । लगभग पाँच हजार कृत्रिम पृथ्वी उपग्रह ग्रहको सतहबाट विभिन्न दूरीमा अन्तरिक्षमा काम गर्छन् । अन्तरिक्ष उडानको तयारी र क्रममा दुई सय २८ जनाको मृत्यु भएको बताइएको छ ।
तत्कालीन सोभियत सङ्घ र त्यसपछि रुसी सङ्घ, धेरै अन्तरिक्ष कार्यक्रमको प्रारम्भकर्ता बन्यो र सधैँ त्यस्ता कार्यक्रमको विशेष शान्तिपूर्ण प्रकृतिको वकालत गर्दै आएको छ । विश्वका धेरै देशले विभिन्न अन्तरिक्ष अन्वेषणमा भाग लिइरहेका छन् र यस क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सहयोगले साँच्चै ब्रह्माण्डीयस्तर हासिल गरेको राजदूतावासको विज्ञप्तिमा जनाइएको छ ।
एजेन्सी : अमेरिकाका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।
अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरमा एक व्यक्तिले आफू कार्यरत बैंकमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको हो । ती कर्मचारीले सो घटनालाई इन्स्टाग्राममा लाइभसमेत गरेको प्रहरीले जानकारी दिएको छ ।
गोलीबारी स्थानीय समयअनुसार बिहान साढे ८ बजे शहरको केन्द्रमा रहेको ओल्ड नेशनल बैंकमा भएको थियो ।
मृतकहरुको उमेर ४० देखि ६४ वर्षको बीचमा रहेको छ । उक्त घटनामा अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जना प्रहरी अधिकारी रहेका छन् । २६ वर्षीय निकोलास विल्ट दुई साता अघिमात्र प्रहरी सेवामा आवद्ध भएका थिए ।
विल्टको टाउकोमा गोली लागेको र मस्तिष्कको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटना भएको तीन मिनेटभित्रमै जवाफी कारबाही गरेको र गोली हानाहानमा आक्रमणकारी मारिएको बताइएको छ ।
काठमाडौं : आफ्नो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामाले माफी मागेका छन् ।
दलाई लामा तिब्बतबाट निर्वासित भएदेखि नै भारतमा बस्दै आएका छन् । भाइरल भइरहेको दलाई लामासँग सम्बन्धित भिडियोमा उनी एक नाबालकको ओठमा चुम्बन गरिरहेको देखिन्छ । बच्चाको ओठमा चुम्बन गरेपछि उनले जिब्रो चुस्न भनिरहेका हुन्छन् ।
आइतबार उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा दलाई लामाको चौतर्फी आलोचना भइरहेको छ ।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई असहज भनिरहेका छन् । उक्त भिडियोमा जनताको आक्रोश देखेर दलाई लामाले एक विज्ञप्ति जारी गर्दै बच्चा र उनको परिवारसँग माफी मागेका छन् ।
यसअघि पनि दलाई लामाले विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका थिए । बीबीसीसँगको अन्तर्वार्तामा उनले एउटी महिला दलाई लामा बन्ने हो भने उनी आकर्षक हुनुपर्छ भनेका थिए ।
तर पछि उनको कार्यालयले माफी माग्दै दलाई लामाले मजाक गरेको बताएको थियो ।
एजेन्सी : बेलायती ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले ट्विटरले आफूलाई सरकारी अनुदानबाट चलाएको मिडिया भनेकोमा आपत्ति जनाएको छ ।
ट्विटरले बिबिसीको भेरिफाइड खातालाई सरकारले पैसा दिने मिडिया भनेर लेबल गरेको छ ।
एक वक्तव्य जारी गर्दै बीबीसीले आफू एक स्वतन्त्र संस्था भएकाले सरकारले पैसा दिने भनी ट्विटरले लगाइदिएको लेबल हटाउनु पर्ने बताएको छ ।
बीबीसीले आफ्नो वक्तव्यमा भनेको छ, ‘बीबीसी सधैं स्वतन्त्र रहेको छ । हामीलाई बेलायती जनताले तिरेको इजाजतपत्र शुल्कबाट आर्थिक सहयोग मिल्छ ।'
बीबीसी भन्दा पहिले ट्विटरले अमेरिकी समाचार समूह एनपीआरलाई पनि सरकारी अनुदान प्राप्त मिडियाको रूपमा लेबल गरेको थियो ।
यस विषयमा बयानका लागि ट्विटरलाई सम्पर्क गरिएको बीबीसीले जनाएको छ ।
एजेन्सी : चिनियाँ सेनाले ताइवानलाई घेरा हाल्ने अभ्यास शुरु गरेको छ । चीनको यो तीन दिने सैन्य अभ्यास ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिका भ्रमणबाट फर्केको केही घण्टापछि शुरु भएको हो । त्यसैले चीनले यो अभियानलाई ताइवान सरकारका लागि ‘कडा चेतावनी’ भनेको छ ।
ताइवानका रक्षामन्त्रीले चिनियाँ सेनाका ४२ विमान र ८ जहाजले ‘ताइवान स्ट्रेट मेडियन लाइन’ पार गरेको जानकारी दिएका छन् । समुद्रको बीचमा बनेको यो गैर–आधिकारिक लाइनले ताइवानलाई चीनबाट अलग गर्छ । चीनको सरकारी मिडियाका अनुसार यो सैन्य अभ्यास ताइवानको टापु वरिपरि हुनेछ । ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ‘युनाइटेड शार्प स्वर्ड’ भनिएको छ । यो अभियान सोमबारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ ।
यस अभ्यासमा चिनियाँ सेनाले लामो दुरीका रकेट, नौसेना विध्वंसक, मिसाइल डुंगा, वायुसेनाका लडाकु, बमवर्षक, ज्यामर र इन्धन भर्ने सवारी साधनहरू तैनाथ गरेको छ ।
ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न देश ठान्दछ । यद्यपि चीनले ताइवान आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानसँगको ‘पुनः एकीकरण’ पूरा गर्नुपर्ने बताएका छन् ।
चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ । तर यसपटक ताइवानकी राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ ।
ताइवानी राष्ट्रपति शनिबार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन् । उक्त टापुले चीनबाट निरन्तर अधिनायकवादी विस्तारवादको सामना गरिरहेको उनको भनाइ छ ।
काठमाडौं : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् ।
उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको बीबीसीले जनाएको छ । उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ ।
गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै ट्रम्पले अवैध तरिकाले पैसा दिएको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात लगेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएकोलगायत ट्रम्पमाथि आरोप रहेका छन् ।
काठमाडौं : सीईओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । ट्वीटरमा निलो चराकाे ठाउँमा कुकुरको चित्र ल्याइएको छ ।
यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । अब ट्वीटरमा लगअन गर्दा कुकुरको चित्र देखिने छ ।
साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि साेहि कुकुरको चित्र देखिन थालेको छ ।
एजेन्सी : अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन् ।
पोर्नस्टार मुद्दामा ट्रम्पलाई कारबाही गरिने भएको हो । यो मुद्दा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावअघि पोर्नस्टार स्टर्मी डेनियललाई पैसा दिएको विषयसँग सम्बन्धित छ ।
यस मामिलामा ट्रम्पले कस्तो आरोपको सामना गर्नेछन् भन्ने बारे जानकारी हाल दिइएको छैन । निर्णायकको भोटिङपछि ट्रम्पमाथि मुद्दा चलाउने बाटो सम्भव भएको छ ।
७६ वर्षीय ट्रम्पले यस मामिलामा आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
म्यानहटनस्थित सरकारी वकिलको कार्यालयले ट्रम्पको आत्मसमर्पणका लागि सहजीकरण गर्न समन्वयका लागि उनका वकिललाई सम्पर्क गरिएको बताएका छन् ।
अदालतमा ट्रम्पको औँलाका छाप, अभियोजन प्रक्रियाका लागि तस्बिर र डीएनएको नमूना लिइनेछ ।
त्यसपछि उनले न्यायाधीशहरूसामु ती अभियोगलाई लिएर अपिल गर्न सक्नेछन् । जुन अवस्थामा सम्भवतः ट्रम्पलाई जमानत दिइनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies