सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको उत्तरी भेगका चन्द्रनिगाहपुरमा रहेको लागुपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्रमा १० जना दुर्व्यसनी रहेका छन् । उज्वल भविष्य फाउण्डेसन आवासीय : लागूपदार्थ तथा मद्यपान पुनःस्थापन केन्द्र खोलेको हो ।
अहिले केन्द्रमा दुर्व्यसनमा फसेका १० जना दुर्व्यसनमुक्त हुने प्रक्रियामा रहेका छन् । जसमध्ये ५ जना २० वर्षमुनिको रहेको पाइएको छ । पुनःस्थापन केन्द्रका अभिशेष खड्काले चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री गर्न नपाइने मनोद्दीपक औषधिहरू बढी मुनाफाको लोभमा औषधि पसलेले बिक्री गर्दा दुर्व्यसनी बढेको बताए । नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउने भएकाले दुर्व्यसनीमा यूवाहरु नै बढी संलग्न रहने गरेको पाइएको उनको भनाइ छ ।
कुनै समय आफैँ पनि लागुऔषध दुर्व्यसनमा फसेको उल्लेख गर्दै उनीहरुलाई मनोसामाजिक परामर्श आवश्यक पर्ने धारणा व्यक्त गरे । सानै उमेरका किशोरहरू लागुऔषधको दुर्व्यसनमा फस्नुका कारण उनीहरूको संगत मात्रै नरहेको पाइन्छ । कतिपय अवस्थामा अभिभावकको कमजोरीका कारण पनि उनीहरू लहैलहैमा दुर्व्यसनको फसिरहेको देखिन्छ । पारिवारिक समस्या, खराब संगत र डिप्रेसनका कारण कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको नागरिक समाजका अगुवा केदार थापाले बताए ।
छोराछोरी लागुऔषधको कुलतमा लागेको थाहा पाएपनि डरले अभिभावक चुप बस्ने गरेकाले समस्या जटिल हुने गरेको उनको भनाइ छ । बालबालिकाको हरेक क्रियाकलापमा अभिभावकले ध्यान दिनुपर्ने उनले औँल्याए । चन्द्रपुर अस्पतालका फिजिसियन डा.सुभाष चौधरी लागुऔषध सेवनमा लागेकाहरूमा धेरै समय आफन्तको सम्पर्कभन्दा टाढा बस्न चाहने स्वभाव विकास भइरहेको बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९÷०८० मा लागूऔषध सम्बन्धी ३६ मुद्दा दर्ता भएको थियो ।
लागुऔषध सम्बन्धी दर्ता भएको मुद्दामा ३५ वटा फछ्र्योट भइसकेको प्रहरीले जानकारी दिएको छ । यस अवधीमा लागुऔषध सम्बन्धी कसुरमा ४८ जनालाई पक्राउ गरिएकोमा उनीहरुको साथबाट ४ सय ८७ केजी ४ सय ग्राम गाँजा, १५ सय ७२ पिस डाइजेपाम इन्जेक्सन, १५ सय ७९ पिस फेनारगन इन्जेक्सन र १५ सय ८० पिस ब्रुफिन ईन्जेक्सन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । प्रदेशका ८ जिल्लामा संञ्चालित १८ सुधार केन्द्रमा अहिले ४ सय ८१ जना छन् । जसमा ७३ जना दुर्व्यसनी २० वर्षमुनिका देखिन्छन् ।
काठमाडौं : हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भइ काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भइ काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।
काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाडौं महाबौद्धबाट पक्राउ गरेको हो ।
भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहट प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक जना तथा नक्कली नोटसहित एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरिएको हो ।
देवाही गोनाही नगरपालिका वडा नं. ८ पटेल चोक नजिकबाट प्रहरीको टोलीले १८ लाख ४३ हजार रुपैयाँ नक्कली नोटसहित गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई पक्राउ गरेको छ । नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम कार्ड ५ थान, १६ लाख ६५ हजार उल्लेख भएको चेक ३ थान र मोबाइल एक थान बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसअघि गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोटसहित ४ जना, गत कात्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गत मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थानसहित १ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध कानूनी कारबाही अघि बढाइएको छ । पटक–पटक विभिन्न स्थानबाट नक्कली नोट बरामद भएकाले यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि उनले उल्लेख गरिन् । अझै पनि नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ ।
यस्तै प्रहरीले धाकधम्की दिइ फिरौती रकम माग्ने एक व्यतिलाई पनि प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । फतुवा विजयपुर नगरपालिका वडा नं. ८ का ३४ वर्षीय श्रीभगवान साहलाई धाकधम्की दिइ फिरौती रकम मागेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पुस १० गतेदेखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक–पटक फोन गरी ज्यान मार्ने धम्कीसहित ५ लाखदेखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका साहविरुद्ध आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं : भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा गल्याङ नगरपिलका-७ ठेगाना भएका ३५ वर्षीय टिकाराम भण्डारी र उनकै श्रीमती ३१ वर्षीया अस्मीता भण्डारी,रिया वली भन्ने टिका कुमारी वली रहेका छन् ।
विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ समेत राम्रो हुने प्रलोभन देखाएर नेपालबाट भारतको दिल्ली पुर्याइ वेश्यावृत्तिको लागि आफैंले भाडामा लिएको अपार्टमेन्टमा राखी यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
धर्मेन्द्र दाहाल/मध्यान्ह
हेटौँडा : अपहरण गरेर फिरौती माग्ने थुप्रै घटनाहरु नेपालमा सार्वजनिक हुने गरेका छन् । तर बागमती प्रदेशको राजधानी हेटौँडामा भने नयाँ घटना सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का एक युवाले आफ्ना साथिहरुसँग मिलेर आफ्नै सहोदार ठूलोबुबाको घरमा गोली प्रहार गर्दै एक करोड रुपैयाँ मागेपछि प्रहरीको फन्दामा परेका छन् ।
घटना गत १९ मंसिरको हो । हेटौँडा ९ का ३३ वर्षीय निश्चल पौडेल आफ्ना दुईजना साथिहरु ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीसहित आफ्ना ठूलोबुबा सूर्यप्रसाद पौडेलको घर आसपास पुग्छन् ।
हातमा स्वचालित पेस्तोल लिएर पुगेका उनले ठूलोबुबाको घरको भित्तामा एकाएक गोली वर्षाउँछन् र मोबाइलमार्फत हिन्दी भाषामा एक करोडको माग गर्छन् । आफुलाई एक करोड नदिए अर्को पटक भित्तामा मात्र गोली नपड्कने चेतावनी दिँदै उनीहरुको टोली त्यहाँबाट हिँड्छन् । उनीहरुले हिन्दी फिल्ममा प्रयोग हुने ‘डाईलग’को प्रयोग गरी फिल्मी शैलीमा फिरौती रकम मागेका थिए । यो ‘ट्रेलर’ मात्र भएको र आफुले भनेको रकम नदिए पूरा फिल्म देखाउने भन्दै उनीहरुले सूर्यप्रसादलाई आतंकित बनाएका थिए ।
एकाएक घरमा गोली प्रहार भएपछि आत्तिएका सूर्यप्रसादले उक्त कुरा तुरुन्त प्रहरीलाई भन्छन् । घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटना मकवानपुरको पहिलो घटना भएको र निकै संवेदनशिल विषय भएको भन्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल आफैं घटनाको अनुसन्धानमा खटिए । तीन दिनको अनुसन्धानपछि प्रहरीले गोली प्रहार गरेर फिरौती माग्ने व्यक्तिलाई पक्राउ गर्न सफल भयो । प्रहरीले घटना भएको घरको वरपरको सीसीटीभीको सहायताले अपराधमा संलग्नहरुको खोजीकार्य गरेपछि सफलता हात पारेको हो । घटनाका योजनाकार सूर्यप्रसादका आफ्नै भतिज रहेको थाहा पाएपछि प्रहरी पनि चकित परेको थियो ।
प्रहरीले घटनाको मुख्य योजनाकार निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली समेत बरामद गरेको छ । हेटौँडा ९ घर भएपनि निश्चल हेटौँडा ४ मा डेरागरी बस्थे । प्रहरीले उनीहरु बस्ने कोठामा छापा मार्दा २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट आधुनिक स्वचालित पेस्तोल कहाँबाट आयो भन्ने विषयमा गहन अनुसन्धान गरिरहेको जनाएको छ । मकवानपुरको सन्दर्भमा घरमा गोली प्रहार गरेर फिरौती रकम मागेको घटना पहिलो र निकै गम्भीर किसिमको रहेको भन्दै प्रहरीले तीनैजनाको म्याद थप गरेर थप अनुसन्धानको कामलाई अघि बढाएको छ ।
काठमाडौं : प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेको भुम्लु घर भइ काठमाडौंको लाजिम्पाट बस्ने २७ वर्षीय सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्कालाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यसअघि आइतबार पनि प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट यही आरोपमा ५ जनालाई पक्राउ गरेको थियो ।
बाँकेः कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई पक्राउ गरेको हो । उनीहरुबाट प्रहरीले अफिम र चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक डाँगीका अनुसार प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो सात सय चार ग्राम चरेस, दुई किलो एक सय १६ ग्राम अफिम बरामद गरेको हो ।
रेवन्त यसअघि पनि विस २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागूऔषध कसुरमा पक्राउ परेका थिए । तत्कालीन समयमा रेवन्तविरुद्ध बाँके प्रहरीले २०७२ साल असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर समेत गरेको थियो । साथै इलाका प्रहरी कार्यालय, कोहलपुरले २०७३ साल असार ३ गते लागूऔषध मुद्दामा उनलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दम्पतीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐनअनुसार उनीहरुलाई १४ देखि १५ वर्ष वा जन्मकैद र पाँच लाखदेखि रु. २५ लाखसम्म जरिवाना हुनसक्नेछ ।
रसुवाः उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काइ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।
निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शव रसुवा अस्पताल पुर्याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लुम्बिनीः अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।
सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा. बस्यालमाथि हातपात भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए ।
उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।
विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । लुम्बिनी चिकित्सक सङ्घका सचिव डा. सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए । उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे ।
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।
आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो ।
आयोगले साउदलाई रु. ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो । आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies