पर्साः पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ । छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो ।
छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए । उनले नातिलाई ‘तिमी छाडिदेऊ म चुट्छु’ भन्दा आवेगमा आएका कृष्णबहादुरले हजुरबुबामाथि लाठी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।
लाठी प्रहारबाट लक्ष्मण बेहोस भएर ढलेका थिए । टाउकामा गम्भीर चोट लागेर अचेत भएपछि उनलाई उपचारका लागि ठोरी गापा–२ स्थित स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । कृष्णबहादुरलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । लक्ष्मणको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाः झापाको कमल गाउँपालिकामा छोराले बुवाको हत्या गरेका छन् । कमल–४ का ५० वर्षीय भोलाकुमार तामाङलाई उनकै छोरा आशिष तामाङले दाउले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार छोराले सोमबार बिहान ६ः३० बजे दाउले हिर्काउँदा बुवाको घटनास्थलमै मृत्यु भएको थियो । आशिषले बुवाको टाउको र दाँहिने खुट्टामा दाउ र कराईले प्रहार गरेको प्रहरीले जनाएको छ । हत्या गरेर भागेका आशिषलाई प्रहरीले पक्राउ गरेको छ ।
कमल–४ कै दूधडेरी भन्ने स्थानमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रनाउ रिजालले जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको उनले बताए ।
पर्साः जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फर्छ्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट चार सय ३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये आठ सय ४५ उजुरीको छानबिन गर्दा चार सय ३८ वटामा दुवै पक्षबीच सहमति भएर फर्छ्यौट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात ८४ कित्ताको १६ बिघा छ कठ्ठा आठ धुर जग्गा र दुवै पक्षको सहमतिमा आठ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको छ ।
मिटरब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटरब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको उनले बताए । परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम् प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।
‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ, त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्छ्यौट भइरहेको छ, यो राम्रो पक्ष हो’, उनले भने । रासस
कास्कीः पोखरा महागनरपालिका–२२ खाल्सेस्थित चिसाखोलाबाट छ जना जुवाडे पक्राउ परेका छन् । ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेका गुरुङसमेत गरी ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थान बरामद गरिएको हो । ।
साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान समेत बरामद गरेको छ ।
कैलालीः अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानरपालिका–५ तारानगरबाट ५ जना नेपाली र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कन्चनपुर पुर्नवास नगरपालिका–६ का २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका–२ घर भएका ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारतको उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार र दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
धनगढी उपमहानरपालिका–५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा उनीहरुलेले अवैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बीमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बनियानीः झापाको भद्रपुर नगरपालिका–१ स्थित पृथ्वीनगरमा श्रीमतीको हत्या गरी श्रीमानले झुण्डिएर आत्महत्या गरेका छन् ।
भद्रपुर–१ का ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती जुनिता लिम्बूबीच घरायसी विवादका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको र उनको मृत्युपछि सुवासलेसमेत झुण्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
बिहीबार बिहान स्थानीयवासीले उनीहरु मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । ‘दिनहुँ मादक पदार्थ सेवन गरेर श्रीमान्–श्रीमतीले झगडा गर्ने गरेको आफन्त र छिमेकीबाट बुझिएको छ’, उनले भने, ‘सोही विषयमा हिजो राति झगडाका क्रममा कुटपिट हुँदा जुनिताको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
प्रनाउ रिजालका अनुसार श्रीमतीको मृत्यु भएपछि सुवासले घरदेखि करिब २० मिटर पर रुखमा झुण्डिएर आत्महत्या गरेको अनुसन्धानका क्रममा देखिएको छ । उनले भने, ‘शव परीक्षणका लागि पठाएका छौंँ । रिपोर्ट आएपछिपछि थप जानकारी आउँछ ।’
सुवासको चप्पलमा श्रीमतीको फोटोसमेत भेटिएको प्रनाउ रिजालले बताए । उनका अनुसार श्रीमान्–श्रीमती दुवैले मादकपदार्थ सेवन गर्ने गरेका बुझिएको छ । उनीहरुका तीन छोराछोरी छन् । परीक्षणपछि मृतका दाजुले शव बुझ्ने प्रनाउ रिजालले जानकारी दिए ।
कन्चनपुरः कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरकी ६५ वर्षीया नारुदेवी जोशीको हत्या भएको छ । जोशीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत कात्तिक १९ मा घर नजिकै मृत भेटिएका जोशीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बिहीबार स्थानीय महेश डगौरालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी जोशीको हत्यामा संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएपछि डगौरालाई सार्वजनिक गरिएको बताए ।
‘डगौरा लागुऔषध प्रयोगकर्ता समेत रहेछन् उनले नारुदेवी एक्लै घाँस काटन जङ्गल जाने क्रममा देखेपछि पिछा गर्दै गएको पुष्टि भएको छ’ प्रहरी उपरीक्षक थापाले भने, ‘डगौराले घाँस काटिदिन्छु भन्दै घाँटी च्यापेर हत्या गरेको स्वीकार गरेका छन् ।’
वृद्धाको हत्यापछि सुन लुटपाट गरेको र सुन बिक्रीका लागि धनगढी पुगुेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘यसअघि डगौराले साइकल चोर्ने र लुटपाट गर्ने गरेको देखियो’, उनले भने, ‘वृद्धाको हत्या गरी कान, नाकमा लगायतका तीन थान गहना तीन पसलमा बिक्री गरेको देखियो ।’
उनले हत्या गरेकै दिन डगौराले सुन बिक्री गरेर धनगढीदेखि नेपालगञ्ज हुँदै मुम्बई बैङ्गलोर भागेको बताए । धनगढीका तीन पसलमा ४६ हजारको सुन बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । वृद्धाको हत्यापछि एक दशमलव ५० आनाको फुली, एक दशमलव ६९को मुन्द्रा र दुई दशमलव ७०० आनाको अर्को मुन्द्रा लुटपाट भएको थियो ।
नारुदेवीको हत्यामा संलग्न महेश डगौरा, सुन बिक्री गर्न सहयोग पुगाउने लक्ष्मण चौधरी, नीरज भट्ट र सुन खरिद गर्ने इन्द्रबहादुर बराल, खगेन्द्र सोब र दीपेन्द्र सिजापतिलाई आज कन्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । सुनचाँदी पसलधनीले लक्ष्मण चौधरी र नीरज भट्टले आफूहरुसँग श्रीमती बिरामी भएकाले आफतमा सुन बिक्री गर्नुपरेको बताएका थिए ।
प्रहरी उपरीक्षक थापाले पाँच जनाविरुद्ध फरक–फरक मुद्दा लाग्ने बताए । महेश डगौराका नाममा कर्तव्य ज्यान र लुटपाट, अन्य मतियार, सुन पसलधनी विरुद्धमा गैर कानुनी सुन खरिद बिक्रीको मुद्दा लगाउने तयारी गरेको प्रहरीले छ ।
चितवनः भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा आज एक पुरुष र एक महिलाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार अन्दाजी ३०–३२ वर्षको उमेरका उनीहरुको शव भेटिएको हो । शव दुईवटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको उनले बताए ।
हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटनाको अनुसन्धान शुरु गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।
झापाः झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ स्थाई घर भएका २० वर्षीय दिपेश प्रधान रहेका छन् । प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दोलखाः दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए । सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए । तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्का बताउँछन् ।
दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ । सो युनिट युएसडिटीको नेपाली कारोबार मूल्य करिब तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी युएसडिटीको कारोबार प्रतियुनिट मूल्य एक सय ३३ देखि रु एक सय ३८ सम्म अवैधरूपमा कारोबार हुँदै आएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानमा सिआइबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो । यसरी भुक्तानी गरिएको रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए ।
तिब्बतबाट अवैधरूपमा सुन नेपाल भित्र्याई काठमाडौं लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए ।
सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् रु. १० करोड ११ लाख १८ हजार डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ । विसं २०७९ मङ्सिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले छपटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ । दोलखाका प्रहरी प्रमुख खड्का भन्छन्, ‘बाह्र जना अझै फरार छन् । उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्छन् । उनीहरूलाई पूरक अभियोग लगाइने छ ।’
प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुनमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा पाँच सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो । सो सुनको मूल्य रु. १० करोड ६८ लाख ६८ हजार सात सय ६१ बराबर रहेको छ । प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट रु. १८ लाख ३३ हजार पाँच सय नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैंकमा रहेको रु. ३१ लाख ७४ हजार छ सय ६५ रोक्का राखेको छ ।
दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ र आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । तीमध्ये एकजना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो । बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो । दोलखा प्रहरी र सिआइबीको टोलीले सुन तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदनसहित पक्राउ परेकालाई जिल्ला सरकारी वकिल कार्यालय दोलखामा बुझाएको छ ।
उनीहरुउपर भन्सार ऐन, २०६४, सङ्गठित अपराध निवारण ऐन, २०७०, नेपाल राष्ट्र बैंक ऐन, २०५८, बालबालिकासम्बन्धी ऐन, २०७५ र मुलुकी अपराधसंहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
सुन तस्करीमा संलग्न भई फरार रहेका अन्य १२ जनाको खोजी भइरहेको र उनीहरू पक्राउ परेपछि पूरक अभियोग लिएर जाने प्रहरीका अनुसन्धान अधिकारीले बताएका छन् । सुन तस्करीको अनुसन्धानमा संलग्न सिआइबीका प्रहरी निरीक्षक पाठकका अनुसार क्रिप्टोमार्फत १२ डिजिटल वालेट प्रयोग गरी भएको भुक्तानी सम्भवतः अहिलेसम्मकै ठूलो रकम हो । यो विषय पक्राउ परेकाहरूको डिजिटल इक्विपमेन्टको फरेन्सी ल्याब परीक्षणबाट खुलेको हो । क्रिप्टोकरेन्सीको ब्रोकरका रूपमा काम गरेकी महिमा माझीको डिजिटल फरेन्सी ल्याबको रिर्पोट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies