-कमला अवस्थी
दुई दशकअघिसम्म नेपाली समाजमा महिलाको पर्याय चुलोचौको नै थियो । समाजले महिलालाई बच्चा जन्माउने र घर धान्ने ‘जात’का रुपमा हेर्थे भने पुरुषले आम्दानी गर्न बाहिर जानुपथ्र्यो । अहिले समय फेरिएको छ । महिलाहरू पनि पढाइ, रोजगारीका सिलसिलामा घर छाडेर शहर र देश छोडेर संसार पुग्न थालिसकेका छन् ।
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा २९ हजार ७३६ जना महिला रोजगारीका सिलसिलामा विदेश गएका छन् । यी मध्ये अधिकांश महिला खाडी मुलुक कतार, साउदी अरब, मलेसिया साइप्रस ओमान लगायत पुगेका छन् । रोजगारीका सिलसिलामा विदेश पुगेका यी तथ्यले पछिल्लो समय महिलाहरू आत्मनिर्भर बन्दै आर्थिक रुपान्तरणको दिशामा लम्केको स्पष्ट हुन्छ ।
महिलाहरू रोजगारका लागि मात्रै होइन, पर्यटन, अध्ययन, स्थायी÷अस्थायी बसोबास, सेमिनार, स्वास्थ्य उपचार, ब्यापार, भ्रमण, खेलकुद लगायत अन्य १६ वटा शीर्षकमा देश विभिन्न देश गएको तथ्याङ्कले देखाउँछ । अध्यागमन विभागले सन् २०२३ मा सार्वजनिक गरेको तथ्यांअनुसार एक वर्षभित्र १६ लाख मानिस बाहिरिदा महिलाको संख्या ४ लाख ३२ हजार ५८४ छ ।
संसारका विभिन्न देशमा पुगेका महिलाहरूले समाज र आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेलिरहेका छन् । नेपालको अर्थतन्त्रमा विदेशमा काम गरेर नेपाल पठाएको रेमिट्यान्सको योगदान उच्च छ । यसरी नेपाल भित्रने कुल रेमिट्यान्समा मध्ये करिब ११ प्रतिशत महिलाको योगदान रहेको तथ्यांकले देखाउँछ । पुरुषसँगै महिलाहरूले पनि विदेशमा कमाएको रकमबाट परिवारको शिक्षा, स्वास्थ्य तथा आर्थिक स्तर बृद्धिमा समेत योगदान पुगेको छ । घरेलु उद्योग खोलेर आफ्नो परिवार तथा समाजमा केही योगदान दिने काममा समेत महिलाको वैदेशिक रोजगारीले सघाएको छ ।
सीप सिक्नमा जोड !
वैदेशिक रोजगारीका सिलसिलामा जाने क्रम बढे पनि सीप सिकेर जानेहरू भने अत्यन्तै कम देखिएका छन् । पछिल्लो तथ्यांकअनुसार रोजगारीका लागि विभिन्न देश जाने महिला कूल महिला श्रमिक मध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै सीप विनै विदेश गएका छन् ।
उच्च दक्षता भएका महिलाको संख्या ०.०६ प्रतिशत मात्र रहेको तथ्यांकले देखाउँछ । यसरी महिला श्रमिक तालिम प्राप्त, अनुभवी र सीपयुक्त नहुँदा एउटा कामका लागि स्वीकृति लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने अवस्थामा पनि रहेका छ । जसका कारण महिलाहरू बढी हिंसामा पर्ने गरेको पनि देखिन्छ ।
महिलाहरू वैदेशिक रोजगारीमा जाँदा प्रायः घरेलु कामदारका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । त्यसरी गएका महिलाहरूमध्ये कतियपयले घरेलु हिंसा र यौनहिंसाको सिकार हुनुपरेको पनि विभिन्न तथ्यांकले देखाउँछ । यति मात्रै होइन, वैदेशिक रोजगारीमा जाने महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएकाविषय पनि बेलाबेला सार्वजनिक भइरहन्छन् । उनीहरूले रातदिन काम गरेर पनि उनीहरूले तलब पनि सकेका छैनन् ।
वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बन्धित म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने दुःख कम हुने जानकारहरू बताउँछन् । लामो समयदेखि अप्ठेरोमा परेका महिलाहरूको उद्दार गर्दै आएकी अभियन्ता सुनिता दनुवार भन्छिन्, ‘महिलाले तालिम, भाषा लगायत अनिवार्य विषयमा दक्षता प्राप्त गनैपर्छ । नत्र विदेशमा गएर पनि महिलाहरूले पाउने दुःखका कथाहरू दोहोरिरहन्छन् ।’
दलालहरूको प्रलोभन परी गैह्र कानूुनी बाटोबाट विदेश भासिने महिलाहरूको संख्या पनि उस्तै छ । त्यस्ता बाटाहरू पनि रोक्नका लागिराज्य नै लाग्नुपर्ने अभियन्ता दनुवारको बुझाइ छ ।
-दिवाकर अधिकारी
होचो कद र सानो जिउडाल, तर खेल प्रदर्शन गतिशील र फिनिसिङ पनि उत्कृष्ट । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी सदस्य प्रिती राईको खासियत नै यही हो । २०६१ साल मंसिरमा काठमाडौंमै जन्मिएकी प्रितीको स्थायी घर भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल तुमाउ हो ।
सानै उमेरदेखि फुटबल खेलमा लगाव राख्ने प्रितीलाई फुटबल खेल्न घरपरिवारबाट पनि पूर्ण समर्थन थियो । त्यसैले त आज उनले फुटबल खेललाई व्यावसायिकरुपमा अगाडि बढाएकी छन् ।
आठ वर्षकै उमेरबाट प्रितीले फुटबल खेल्न शुरु गरेकी हुन् । बुबाले कराँते सिक्न पठाउँदा प्रितीले कराँतेको लुगासँग फुटबल बुट साटेर ल्याएकी थिइन् । त्यहाँबाट पनि फुटबलप्रति प्रितीको लगाव प्रष्ट बुझ्न सकिन्छ । गाउँमा साथीहरुसँग फुटबल खेल्दाखेल्दै प्रितीले नेपाल युथ प्रोग्राममा प्रशिक्षण गर्ने मौका पाएकी थिइन् । जहाँबाट उनले आफ्नो व्यावसायिक फुटबल यात्रा प्रारम्भ गरेकी थिइन् ।
उमेर समूहमा नेपाली टिमको कप्तानी गरेकी प्रिती सानै उमेरमा नेपाल एपीएफ क्लबमा आबद्ध भएकी थिइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेको भएरै एपीएफले प्रितीलाई क्लबमा अनुबन्ध गरेको थियो । जसबाट उनलाई राष्ट्रिय टिममा प्रवेश गर्न ढोका खुल्यो ।
२०७८ भदौमा १६ वर्षकै उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी प्रिती अहिले १९ वर्षकी भइन् । डेब्यू खेलमै बंगलादेशविरुद्ध गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेकी प्रिती सबैको ध्यान आफूतिर खिच्न सफल भइन् ।
प्रितीलाई नेपाली महिला टिमको भविष्यको रुपमा हेरिएको छ । उनको खेलले नै यसलाई प्रमाणित गरिसकेको छ । मिडफिल्डर र फरवार्ड जुनसुकै पोजिसनमा खेल्न सक्ने प्रितीले अफ्नो खेललाई निरन्तर निखार्दै लगेकी छन् ।
प्रितीले भारतीय महिला आई–लिगबाट पनि व्यावसायिक फुटबल खेल खेल्दै आएकी छन् । उनी भारतीय आई–लिगमा किक स्टार्समा अनुबन्धित छिन् । तर साउदी अरबमा भएको वाफ वुमेन्स च्याम्पियनसिपमा घाइते भएपछि प्रितीको स्थानमा नेपाली राष्ट्रिय फुटबल टिमकी अर्की सदस्य अनिता केसीले आई–लिगमा आवद्ध भइन् । राष्ट्रिय टिममा गरेको उत्कृष्ट प्रदर्शन गरेकै कारण प्रितीलाई भारतीय आई–लिग खेल्न प्रस्ताव आएको थियो ।
यस सिजन आई–लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रितीसँगै दीपा शाही, राष्ट्रिय महिला टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले आई–लिग खेलेका छन् ।
साउदीमा भएको वाफ वुमेन्स च्याम्पियनसिपबाट प्रितीको लोकप्रियता झनै आकाशिएको छ । उपाधि जित्न नसके पनि नेपाललाई फाइनलसम्म पुर्याउन प्रितीले उत्कृष्ट प्रदर्शन गरिन् । सेमिफाइनल खेलमा इन्ज्युरी समयमा प्रितीले गरेको गोलबाटै नेपाल विजयी हुँदै फाइनलमा पुगेको थियो । डी–बक्स बाहिरबाट लङ सट हान्दै प्रितीले गरेको त्यो गोलको निकै चर्चा भएको थियो । वाफ च्याम्पियनसिपमा गरेको उत्कृष्ट प्रदर्शनस्वरुप प्रितीलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले नगदसहित सम्मान पनि गरेका छन् ।
शुरुमा नेपाली टिममा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्ने प्रिती अहिले पहिलो रोजाइको महत्वपूर्ण खेलाडी बनिसकेकी छन् । १९ वर्षको कलिलो उमेरमै राष्ट्रका लागि ठूलो जिम्मेवारी काँधमा बोकेर मैदानमा उत्रिएकी प्रितीलाई चुनौतीपूर्ण सफलताका खुड्किला अझै पार गर्न बाँकी नै छ ।
नेपालमा पुरुष फुटबल टिमकै घरेलु प्रतियोगिता कमैमात्र हुने गरेको छ । यस्तोमा महिला फुटबलका गतिविधि नगन्य मात्रामा हुन्छन् । सेवा सुविधादेखि खेल पूर्वाधारको अभावमै फुटबल खेलिरहेका नेपाली खेलाडीहरुलाई विदेशी खेलाडी सरह हुन त निकै समय लाग्ला ।
तर सेवा सुविधा र खेल पूर्वाधारको आधारमा हेर्दा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो देखिन्छ । घरेलु महिला फुटबलका गतिविधिमा बृद्धि गरेर खेलाडी उत्पादनमा राज्यले ध्यान दिने हो भने प्रितीजस्ता उम्दा खेलाडीले विश्वभर आफूसँगै देशलाई चिनाउने थिए ।
-भानु चन्द
कालिकोट जिल्ला रास्कोटको दुर्गम भेग, मेलापात गरी खाने बराल परिवारमा २०२५ सालमा जन्मिइन् लिला । बसन्त ऋतुको आगमनसँगै डाँडाकाँडा हरियाली हुँदा धर्ती टेकेकी लिलाको आगमनमा कयौं गाउँलेले जिब्रो टोके । लिलाकी आमालाई पनि सन्तान पाएकोमा खुशी लागेन । बरू आफ्नो सन्तानको रूपमा जन्मेकी लिलाको भविष्य सम्झेर उनी दुःखी भइन् ।
लिला जन्मिएपछि आमाले सुत्केरी स्याहारको सुविधा कहाँ पाउनु र ? छोरी पाएको भोलीपल्टैदेखि उनले मेला पात गरिरहिन् । खान लाउन अत्यन्तै दुःख थियो । बिहान खाए बेलुका खान नसक्ने अवस्था थियो । बनिबुतो गरेर अन्य पाँच सन्तानसँगै बराल दम्पत्तिले लिला पनि हुर्काए ।
लिला १५ वर्षकी हुँदा घरबाट ४ घण्टा टाढा पैदल दुरीमा रहेको रास्कोटको पाटडिलबाट बिहेको कुरा आयो । बराल दम्पत्तिले हुर्केकी छोरी लिलालाई सजिलै पराइको जिम्मा लगाए । लिला सुवेदी परिवारमा बुहारी भएर भित्रिइन् ।
खानलाउन दुःखै भएपनि आमाबुवाको लाड प्यारमा हुर्किएकी लिलाका लागि नयाँ घर असहज बन्यो । तर, २५ वर्षका लक्का जवान श्रीमानले भने उनलाई माया गरे । श्रीमानको मायाले लिलालाई ‘घर खान’ सजिलो भयो । श्रीमानले खेती किसानी गर्थे । उनी श्रीमानसँगै खेती किसानी र मेलापात गर्थिन् ।
विवाह गरेको तीन वर्षमा उनले पहिलो सन्तान जन्माइन् । १८ बर्षको उमेरमा छोरा जन्माएपछि परिवारमा खुशियाली छायो । छोरा नै जन्माएपछि श्रीमानको माया पनि बढ्यो ।
उनले डेढ/डेढ वर्षको फरकमा ७ सन्तान जन्माइन् । ‘सन्तान जन्माउँदा खेपेका पिडा महशुस गर्ने त्यो समय नै थिएन । अहिलेको जस्तो ख्याल कहाँ हुन्थ्यो र ? आइमाइको कामै बच्चा पाउने त थियो ।’ उनले त्यो समय सम्झिइन् । उनले पिडा खेपेर जन्माएका २ सन्तानले साथ छोडेर गए । अहिले पाँच सन्तानमा मात्रै उनको काखमा छन् । कमजोर आर्थिक अवस्थाका बाबजुद दुखजिलो गरेर छोराछोरी स्कूल पठाइन् लिलाले ।
आफ्नो जीवनकालमा कयौं दुःखका जंघार पार गरेकी लिला देशमा आएका कयौं राजनीतिक परिवर्तनकी पनि साक्षी हुन् । उनी जन्मेपछि नै पञ्चायती व्यवस्था, बहुदलीय ब्यवस्था हुँदै माओवादीको गृहयुद्ध चल्यो । सबैभन्दा बढी प्रभाव रहेको कर्णालीमा उनका छोराहरू पनि माओवादीका नारामा साथ दिन थाले । जताततै युद्ध र मृत्यु सामान्य बनिरहेको थियो । आफ्ना हुर्केका छोराहरूलाई पनि केही हुने हो कि भन्ने त्रासमा रहन्थे, लिला र उनका श्रीमान । ‘भाग्यले जितेको भनौं वा के भनौं । मेरा सन्तान चाहिँ सकुशल रहे ।’ लिला खुशी हुन्छिन् ।
माओवादी जनयुद्ध ताका नै लिलाका श्रीमानमा दमको रोग देखियो । उनलाई उकालो ओह्रालो गर्न असहज हुँदै गयो । गाउँघरमा गरिने उपचार लिलाले सकेजति गरिन् । अन्ततः उनी हारिन् । उनको सिँउदो पुछियो । २०६३ सालमा लिलाका श्रीमानले एक्लै छाडेर गए । ३५ वर्षको कलिलो उमेरमा पाँच सन्तानको जिम्मेवारी लिलाकै काँधमा आइपर्यो ।
एकल भएकी लिला हेर्दा राम्री थिइन् । बैशालु उमेरमै एक्ली भएकी लिलामाथि गाउँलेहरूकै गिद्दे नजर पर्न थाल्यो । त्यो बेला उनी एकदमै डराउथिन् । त्यो समय सम्झिदै लिला भन्छिन्, ‘म एक्ली हुँदा छोराछोरी हुर्काउन धेरै गाह्रो भयो । त्यो बेला खान लाउन त त्यति गाह्रो भएन । तर, दुनियाँले गिद्दे नजरले हेर्ने गर्थे । प्रतिवाद गर्दा कतिपयले गाउँ निकाला नै गर्नुपर्छ भन्थे । म धेरै डराउँथेँ ।’
अहिले लिलाका चार छोराले विवाह गरिसकेका छन् । दुइ नाती र चार नातीनी उनको काखमा लुटुपुटु खेल्दा उनी हर्षविभोर हुन्छिन् । दुःख गरी हुर्काएका सन्तानको खुशी देख्दा उनी आनन्द मान्छिन् । विवाह गर्न एक छोरी बाँकी छिन् । छोरीलाई भने धेरै पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउन मन छ लिलालाई ।
हजारौं हण्डर ठक्कर खाएकी लिलालाई अहिलेको समय निकै फरक लाग्छ । उनमा अहिले राजनीतिक चेत पनि बढ्न थालेको छ । अहिले उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी क्रियाशील सदस्य छिन् ।
जीवनमा धैर्यता नै सबैभन्दा ठूलो रहेको उनको बुझाइ छ । भन्छिन्, ‘धैर्यता नै ठूलो रहेछ । मलाई गाउँलेले गाउँ निकाला गर्न खोज्दा पनि म हारिन । छोराछोरीका लागि मर्न तयार भएँ ।’
-डा. उद्धव पुरी
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि लामो समयसम्म भिक्षुणी बनाउने र भिक्षुणी संघको व्यवस्थाको परम्परा थिएन । पुरुषहरू नै बुद्धका अनुयायी भएका थिए । बुद्धका दाजुभाइलगायत उनको शिक्षाबाट अनुग्रहित सबै भिक्षु भएका थिए र आफ्नो गृहस्थ जीवन त्यागेर अनागरिक भइ भिक्षु संघमा सामेल भइ बिहारमा बस्न थालेका थिए । तत्कालीन सामाजिक परिवेश र महिलाहरु पुरुषप्रति आत्मनिर्भर हुने प्रचलनले पनि स्त्रीजातिलाई भिक्षुणी हुन नदिन भूमिका निर्वाह गरेको हुन सक्छ । तर यी सबै परिबन्ध र व्यवधानलाई पार गर्दै ठूलो त्याग गरी गौतमी पहिलो भिक्षुणी बनिन् । उनी हालको नेपालको देवदहमा जन्मेकी राजकुमारी थिइन् । उनको विवाह हालको नेपालको कपिलवस्तुका राजा शुद्धोदनसँग भएको थियो । उनी शुद्धोदनकी कान्छी/दोस्रो श्रीमती थिइन् । प्रचलित भाषामा उनी बुद्धको सानीआमा पनि थिइन् । उनै प्रजापति गौतमी बुद्ध शासनमा पहिलो भिक्षुणी बनिन् ।
गौतम सिद्धार्थको जन्म आजभन्दा भण्डै २६ सय वर्षअगाडि लुम्बिनीमा भएको थियो । कपिलवस्तु गणराज्यको राजकुमार सिद्धार्थ राजधानी तिलौराकोटमा हुर्केका थिए । विवाह र पुत्र लाभपछि दरबार र आलशी जीवन त्यागेर उनले हालको भारतको बोधगयामा पुगेर बुद्धत्व प्राप्त गरेका थिए । विभिन्न कारणले उनी पटक-पटक कपिलवस्तु आवतजावत गरेको पुष्टि पनि भएको छ । जुन समयमा उनका पिता, माता, श्रीमतीलगायतले भिक्षु जीवन त्यागेर राजकाज सम्हाल्न अनुरोध गरेका छन् । तर बुद्धले ती कुराहरु अस्वीकार गर्दै आएका थिए । गौतम बुद्धकी आमा मायादेवी, गौतम बुद्ध जन्मेको सातौं दिनमा परलोक भएकाले उनको लालनपालनको सम्पूर्ण दायित्व तिनै सानीआमा प्रजापति गौतमीले गेरेकी थिइन् । उनका लागि बुद्ध नै पहिलो/जेष्ठ पुत्र थिए । बुद्ध र सानीआमाबीचको सम्बन्ध आफ्नै आमा छोराको जस्तो थियो । हरेक पटकको बुद्धसँगको भेटमा प्रजापति र बुद्धकी श्रीमती यशोधराले बुद्धलाई राजकाजमा फर्काउन धेरै प्रयास पनि गरेका थिए भने राजकाजमा नफर्किने भए आफूहरुलाई पनि भिक्षुणी बनाएर लैजान अनुरोध गरेका थिए । तर त्यो सम्भव भइरहेको थिएन । महिलाहरुलाई भिक्षुणी बन्ने अनुमति बुद्धले दिएका थिएनन् । जब शुद्धोदनको कपिलवस्तुमा देहावसन भयो त्यसपछि प्रजापति गौतमी एक्लो बनिन् । तत्कालीन सामाजिक परिवेशमा महिलाहरु पतिको मृत्युपछि साहराविहीन हुन्थ्ये । छोरा, छोरी र धन सम्पत्ति उनीहरुका लागि अर्थहीन मानिन्थ्यो । उनले पनि त्यही ठानिन् र बुद्धकै शरणमा बाँकी जीवन बिताउने सोच बनाइन् । तर त्यस अघि नै बुद्धले उनको अनुरोध तीन पटकसम्म अस्वीकार गरिसकेका थिए । जुन सम्भव बनाउनु उनका लागि कठिन विषय थियो ।
पति वियोग हुँदा प्रजापति गौतमीको उमेर ८० वर्षको थियो । उनमा बुद्धकै शरणमा जाने तीव्र इच्छा भएपछि उनले बुद्धसँग अन्तिम याचना गर्ने सोच बनाइन् । गौतम बुद्ध त्यस समयमा वैशालीमा थिए । कपिलवस्तुमा भएकी प्रजापति आफैंले केश छेवर गराइन् र कषाय—वस्त्र धारण गरिन् । जुन बुद्धको आदेश विपरीत थियो । तर वैशाली जाने र बुद्धको शरणमा पर्ने निधो गरिन् । उनको यो ढिपीका पछाडि कसैको केही लागेन । तत्कालीन दरबारले उनलाई रोक्न सकेन । मुमा महारानीको पछि कपिलवस्तुका अरु पाँच सयजति महिलाहरु पनि घर र परिवार छोडी उनकै पछि लागे । दरबारले पालकीसहित बाटोमा खानपान र सुरक्षाका लागि तयारी बन्दोबस्त गरिदियो । तर उनले ती कुनै सुविधाको उपभोग र उपयोग नगरी खाली खुट्टा बाटो लागिन् । अरु पनि उनकै पछि लागे । लामो वा धेरै दिनको यात्रापछि उनी वैशालीको बुद्ध बसेको बिहारमा पुगिन् । जहाँ पुग्दा उनको खुट्टा सुन्निएको थियो । उनका साथमा अरु पाँच सयजति महिलाहरु पनि पुगे । दृढ चाहनाले उनले बुढी भएर ८० वर्षको उमेरमा पनि धेरै दिन हिँडेर यात्रा पूरा गरेकी थिइन् । त्यतिखेरको नाप प्रणाली योेजनमा थियो । कपिलवस्तुबाट वैशाली ५१ योजन थियो । बुद्धको ढोका अगाडि पुग्दा उनको आँखा रसाइरहेका थिए । उनमा अर्को एउटा ठूलो डर पनि थियो । किनकि उनले तथागत बुद्धको स्वीकृति बिना नै कषाय—वस्त्र धारण गरेकी थिइन् । जुन कुरा सारा जम्बुद्वीपभर फैलिसकेको थियो । जब बुद्धले उनको अनुनयविनय सुनेन भने उनको समाजमा मुख देखाउन लायक हुने थिएन ।
गौतम बुद्धलाई भेट्न उभिएकी गौतमीको पहिलो भेट भिक्षु आनन्दसँग भयो । आफ्नी ठूलीआमा समेत पर्ने प्रजापतिको यो हालत देखेर आनन्द आश्चार्यमा पर्दै दुःखी भए । आनन्द र प्रजापतिबीच लामो संवाद भयो । प्रजापतिले आफूले नारी जातिको निमित्त पनि प्रव्रज्याको अनुमति मागेको अनुरोध गरिन् । जुन बुद्धले तीन पटकसम्म अस्वीकार गरिसकेका थिए । अन्तमा आनन्दले बुद्धसँग स्त्रीजातिका लागि पनि प्रव्रज्याको अनुमति माग्ने वचन दिए । तर पटक-पटक आनन्दले अनुरोध गर्दा पनि बुद्धले अनुमति दिएनन् । बुद्ध शास्त्रहरुले आनन्दले तीन पटकसम्म स्त्रीजातिलाई तथागतको धर्म विनयमा घर छोडी अनागरिक भइ प्रव्रजित हुने अनुमति दिए वेश हुने थियो भनेका थिए । स्वीकृति नपाएपछि आनन्दले बुद्ध शिक्षा र स्त्रीजातिलगायतको प्रसंगमा बुद्धसँग संवाद गर्न थाले । लामो संवादपछि बुद्धले प्रजापतिले आठ—गुरु—धर्म स्वीकार गर्छिन् भने अनुमति दिने बताए । बुद्ध शिक्षामा भिक्षुहरुका जस्तै तर केही फरक आठ वटा विनयका विषयहरु छन् । सोही कुरा आनन्दले प्रजापतिलाई सुनाए र त्यसलाई स्वीकारे उपसम्पदा हुने बताए । प्रजापतिले बुद्धका वचन स्वीकार गरिन् र आनन्दले बुद्धलाई सोको जानकारी गराएपछि बुद्धको अनुमतिमा उनी अनागरिक भइ प्रव्रजित भइ भिक्षुणी बनिन् । उनको साथमा आएका अरुले पनि त्यसै गरे । तिनै प्रजापति त्यसपछि ४० वर्षसम्म भिक्षुणी बनिन् र एक सय २० वर्षको उमेरमा आफैंले परिनिर्वाण हुने घोषणा गरिन् । बुद्धको अनुमतिमा उनी परिनिर्वाण भइन् । उनको शवयात्रामा छोरा बुद्ध आफैं पनि सामेल भए । यो शवयात्रा बुद्धको महापरिनिर्वाण पछिको सबैभन्दा ठूलो संख्यामा सहभागी भएको शवयात्रा थियो भनि बुद्धगाथाहरुमा उल्लेख छन् ।
यहाँ प्रजापति कसरी प्रथम भिक्षुणी भइन् भन्ने कुरा पनि उठ्न सक्छ । किनभने उनकै साथमा अरु पाँच सय महिला पनि कपिलवस्तुबाट गएका थिए भने उता भारतीय राज्यका विभिन्न स्थानका महिलाहरु पनि बुद्धको अनुयायी बनिरहेका थिए । तर बुद्धले भिक्षुणी बन्ने अनुमति नदिएको हुँदा उनीहरु भिक्षुहरुले झैं चिवर लगाउन पाउँदैन थिए । घर परिवार त्यागेर विहारमा बस्न पाउँदैन थिए । उनीहरु अनागरिक बन्न सकेका थिएनन् । स्त्रीजातिलाई भिक्षुणी बन्ने र बनाउने शुरुवात कर्ता प्रजापति थिइन् । स्त्रीहरुका लागि बुद्धले प्रतिपादन गरेको आष्ठ गुरु धर्म पालना गर्ने पहिलो महिला उनै थिइन् । उनीपछि नै अरुले अनुमति पाएका हुन् । यहाँ प्रजापति बुद्धलाई पालन पोषण गर्ने र दुध चुसाउने आमा भएका कारण होइन । किनकि बुद्धका लागि सबै प्राणि एकै थिए । बुद्ध तृष्णा र मोहविहीन थिए । सबै उनका लागि बराबर प्रिय थिए । बुद्ध आफैंले पनि श्रवस्तीमा रहँदा सबै भिक्षु भिक्षुणी र उपासक उपासिकाका सामुन्य महाप्रजापति गौतमी नै सबभन्दा पहिलो मेरी भिक्षुणी श्राविका हुन् भनेका छन् । बुद्धले उक्त सभामा महाप्रजापति गौतमीलाई रात्रज्ञाको अग्रस्थानमा राख्दै प्रथम भिक्षुणीको औपचारिक घोषणा गरेका थिए । यस विषयलाई विभिन्न मूलसुत्र र सुत्रहरुमा उल्लेख गरिएको पाइन्छ । यसरी प्रजापति गौतमी पहिलो भिक्षुणी हुन् र उनी नेपालको देवदहमा जन्मेकी र नेपालको कपिलवस्तु गणराज्यको महारानी थिइन् अर्थात उनी नेपाली थिइन् ।
-सन्दिप वि.क
२०५६/०५७ सालतिर सिरहा र सप्तरी जिल्लाहरूमा सिनो बहिष्कार आन्दोलनले खुब चर्चा पायो । गरिब दलित चमार समुदायलाई सिनो फाल्न बाध्य पारिदै आएको थियो । कसैको गोठमा गाइबस्तु मरे भने लगेर गाड्ने काममा चमार समुदायलाई बाध्य पारिन्थ्यो ।
उनीहरुलाई हेपाह प्रवृतिले हेरिन्थ्यो । त्यही बीच एकाएक एक विद्रोही अभियान चल्यो, सिनो बहिष्कार अभियान । चमारभित्र केही व्यक्तिहरु यस अभियानमा लागे ।
उक्त आन्दोलनमै थिइन्, रामरतीदेवी राम, सियावती राम, जानकी राम, चन्देश्वरी सदा, गुलावदेवी राम, मुर्नरदेवी राम, फुलकुमारी राम लगायत पनि । यस अभियानमा उनीहरुको भूमिका उल्लेखनीय रह्यो ।
यिनै मध्येकी रामरतीदेवीले सिरहामा सिनो बहिष्कार संघर्ष समितिमा रहेर आन्दोलनको नेतृत्व गरिन् । २०२३ सालमा सप्तरीमा रामरतीदेवीको जन्म भएको थियो । गरिब परिवारमा जन्मिएकी उनको जीवन बाल्यबालमा त्यति सुखमय भएन । दलित र विपन्न परिवार त्यसमाथि पनि ‘चमार’ समुदायमा जन्मिएकी उनको सानै उमेरमा सिरहा लहानमा विवाह भयो । त्यो बेला गरिब, दलितहरुको छोरीहरुको सानै उमेरमा विवाह हुने गथ्र्यो ।
सानै उमेरमा विवाह भएकाले उनी केही वर्ष माइतमै बसिन् । १८ वर्ष पुगेपछि उनी श्रीमान्को घर गइन् । त्यो समय दलितहरु राजनीतिमा आउनु सहज थिएन । अझ दलित महिलाको त कुरै छोडौं । उनीहरु घरको चुलोचौकामै सीमित थिए । तर पनि रामरतीदेवी भने घरको चुलोचौकाको कामलाई त्याग्दै राजनीतिमा होमिइन् । उनी कम्युनिष्ट विचार धाराकी थिइन् ।
विवाह गरेर आएको गाउँमा एक जना पनि कम्युनिष्ट थिएनन् । सबै गाउँ नै कांग्रेसको वर्चश्व थियो । रामरतीदेवीको विवाह गरेर आएको घरपरिवार किसान थियो । ज्याला मजदुर गरेर जीवन निर्वाह गर्दै आएका थिए । माइतीमा रहँदा रामरतीदेवीको दाजु हरिलाल राम राजनीतिमा होमिएका युवा थिए । उनीपनि कम्युनिष्ट विचार धाराका थिए । विद्यार्थी कालमा उनी विभिन्न राजनीतिक संगठनमा सक्रिय भएका लागेका थिए ।
कम्युनिष्ट भएकै कारण हरिलालले ९ महिना जेल बसेका थिए । रामरतीदेवीमा पनि दाजुकै प्रभाव परेको थियो । माइतीमा दाजु राजनीतिमा भएकाले राजनीति माहोल भएपनि श्रीमानको घरमा भने त्यो अवस्था थिएन । परिवारले उनलाई घरमै श्रीमान, सासुससुराको स्याहार गरेर बसोस भन्न चाहन्थे । त्यो बेला दलित चमार घरपरिवारले सिनो फालेर जीवन निर्वाह गर्दै आएका थिए ।
एक पटक कम्युनिष्ट विचारधारामा केही नेताहरु रामरतीदेवीको चमार बस्तीमा आए । उनीहरुले त्यहाँ पार्टी सदस्यता बनाउन थाले । त्यो बेला दुई रुपैयाँमा पार्टी सदस्यता दिइन्थ्यो । त्यही बेलामा रामरतीदेवीले पनि पार्टी सदस्यता लिइन् । पार्टी सदस्यता लिएपछि उनीहरुले लुकिछिपि गाउँमा बैठक राख्न थाले । त्यसको केही समयपछि बहुदल आयो । रामरतीदेवीले पार्टीमा संगठित सदस्यता पाइन् । २०५४ सालमा उनी मनोनित वडा सदस्य भइन् ।
चमारको छोरीलाई जनप्रतिनिधि बनाएको भन्दै उनीमाथि कुटपिट समेत भयो । रामरतीदेवीको गाउँमा दलित चमार जातले सिनो फाल्ने, सुत्केरी स्याहार गर्ने काम गर्थे ।
२०५६ सालतिर रामरतीदेवी लगायत केही चमार एकजुट भए । उनीहरु सिनो बहिष्कार गर्ने निधो गरे । त्यसलाई उनीहरुले आन्दोलनको रुप दिए । चमारहरु आफुले गर्दै आएको काम नगर्ने भन्दै संगठित हुन थालेपछि गाउँमा उनीहरुविरुद्ध सामाजिक बहिस्कार भयो । सिनो नफाले २५ हजार रुपैयाँ जरीवाना तिर्नुपर्ने भन्दै धम्की समेत आउन थाल्यो ।
चमारहरुको खेतबारी केही थिएन । साहुहरुले सिनो फाल्ने तपाईंहरुको काम हो । सिनो नफाल्ने भए हाम्रो खेतिबारीमा नआउनु भन्न थाले । उनीहरुलाई पसलहरुमा जान समेत रोक लगाइयो । धारामा पानी दिइएन । पछि एउटा एनजिओले दुई वटा कल बनाइदियो । त्यो धारोले चमारहरुको केही समस्याको समाधान भयो । उनीहरु पिडा मुक्त भए । स्वतन्त्र भएर जीउन थाले । मरेको गाइबस्तु फालेनन् । सुत्केरी हुँदा स्याहार सुसार गर्न जान छोडे । त्यो आन्दोलनमा रामरतीदेवीको महत्वपूर्ण स्थान छ ।
उनले अरु महिलाहरुलाई यसकोविरुद्धमा उठ्न आग्रह गरिन् । यस अभियानमा रामरतीदेवीले टोल टोलमा भाषाण गरेकी थिइन् । समाजमा अभियानप्रति जागरुक ल्याउन उनी कम्मर कसेर लागेकी थिइन् । उनी भन्छिन्, ‘त्यो बेला यस सिनो बहिष्कार अभियान लाग्नु सहज थिएन् । अझ हामी महिलाहरुलाई साह्रै गाह्रो थियो । यो अभियान, घरपरिवार, राजनीति, छोराछोरीको व्यवस्थापन ।’
दलित महिला भएपनि राजनीतिमा होमिएकी रामरतीदेवी दुई पटक एमालेको केन्द्रीय सदस्य भइन् । २०६४ मा एक पटक सभासद बनिन् । आफुले गरेको संघर्षले सिराह, सप्तरी, धनुषामा आफ्नो नाम कसैले नविर्षने उनी बताउँछिन् । उनी भन्छिन्, ‘हामीले गरेको यो संघर्षकै बाबजुँद आज यो अभियानले सार्थकर्ता पाएको छ । हामीले यो अभियान नचलाएको भए आज पनि हाम्रा छोराछोरी नातिनातिना त्यही सिनो फालेर बसिरहेका हुन्थे ।’
अभियानकै क्रममा रामरतीदेवी नेपालको इलाम, झापा, मोरङ, सप्तरीदेखि रुकुम रोल्पासम्म पुगेकी छिन् । उनी भारत भ्रमणमा समेत गएकी छिन् । महिला जनप्रतिनिधिलाई त्यो बेलाको जिल्ला विकास समितिले यूएनडिपिको सहयोगमा भारत लगिएको उनी बताउँछिन् ।
नेकपा एमालेको चितवनमा २०७८ साल मंसिरमा भएको १० औँ महाधिवेशनबाट दलित महिलामा केन्द्रीय सदस्यमा उनी निर्विरोध निर्वाचित भइन् । यसअघि पनि उनी केन्द्रीय सदस्य नै थिइन् ।
उनी भन्छिन्, ‘लामो संघर्षका कारण हामी यहाँसम्म आएका छौं । अझै पनि समाजमा छुवाछुत जस्तो कुप्रथा हट्न सकेको छैन । महिलाहरु अझै पनि थिचोमिचो सहज बाध्य छन् । महिलाहरु त्यसमा पनि दलित महिलाहरु अझै घरबाहिर आउन नसकेको अवस्था छ । अब फेरि जाग्नुपर्ने बेला आएको छ । अब दलितहरु फेरि जागौं ।’
-रेशमराज पौडेल
मुलुकको अन्य क्षेत्रमा जस्तै वैदेशिक रोजगार क्षेत्रमा पनि महिला व्यवसायीहरुको उपस्थिति बाक्लिएको छ । आर्थिक स्रोतहरुमा पुरुष प्राधन्यता रहेको तत्कालीन नेपाली समाजमा अपेक्षितरुपमा जोखिम र तनावको पेशा मानिने वैदेशिक रोजगार व्यवसायमा अघि बढ्नु शुरुवातका दिनमा महिला व्यवसायीहरुका लागि सहज थिएन । तर पुरुष प्रतिस्पर्धीसँग काँधमा काँध जोडेर व्यवसाय गरिरहेका महिला व्यवसायीहरु पेशागतरुपमा अब्बल र निडर हुँदै आएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम अध्यक्ष पुष्पलाल महर्जनका अनुसार शिला गुरुङ व्यवसायीले बुझेसम्मका वैधानिकरुपमा नेपालकी पहिलो महिला वैदेशिक रोजगार व्यवसायी हुन् । उनले राजधानीको मैतीदेवीमा एभरेष्ट फरेन इम्प्लोइमेन्ट इन्टरनेशनल मेनपावर प्रा.लि. सञ्चालन गरेकी थिइन् । इजाजत पत्र नं. २ रहेको उक्त म्यानपावर हाल सञ्चालनमा भने छैन । वैधानिकरुपमा नेपालको संस्थागत वैदेशिक रोजगारीको इतिहास ४ दशक पुरानो भइसकेको छ । र, महिला व्यवसायीको उपस्थितिलाई नियाल्ने हो भने उनीहरुको सक्रियतालाई मोटामोटीरुपमा तीन कालखण्डमा वर्गीकरण गर्न सकिन्छ ।
शिला गुरुङ, कमला शर्मा र विष्णुकुमारी गुरुङहरुबाट शुरु महिला वैदेशिक रोजगार व्यवसायीका रुपमा शुरुवाती प्रवेशलाई आधार मान्दा उनीहरलाई पछ्याउँदै व्यवसाय सञ्चालकका रुपमा दुर्गा राणा, पार्वती खड्का, प्रतिमा महर्जन, अम्बिका शर्मा, शुष्मा खत्रीहरुको प्रवेशले यस क्षेत्रमा महिला व्यवसायीहरुलाई अझ उत्साह थप्यो । त्यसपछि अप्रत्यक्षरुपमा वैदेशिक रोजगार क्षेत्रमा नै क्रियाशील सुवर्ण श्रेष्ठ, राधिका कटुवाल, शारदा न्यौपाने, माधुरी पौडेल, गंगाकुमारी पुनहरुको करिब करिब एकै समयमा सञ्चालकका रुपमा प्रवेश भयो । ७० को दशकपछि त यस व्यवसायमा उल्लेख्यरुपमा महिला व्यवसायीको प्रवेश भएको देखिन्छ । होप इन्टरनेशनल प्रा.लि.की सबिना श्रेष्ठ, सुपर्व फर अल्टिमेट प्रा.लि.की चन्द कमल श्रेष्ठ, अवसर म्यानपावर सर्भिस प्रा.लि.की अन्नपूर्ण राणा, एस एलडी इन्टरनेटशनल प्रा.लि.की सरस्वती गुरुङ, अलकर्निस म्यानपावर प्रा.लि.की हिरादेवी बुढाथोकीलगायत दर्जनौं महिला व्यवसायीलाई दोस्रो पुस्ताका व्यवसायीका रुपमा गणना गर्न सकिन्छ भने वीनर एचआर सोलुसन प्रा.लि.की हेमा गुरुङ, सगरमाथा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रा.लि.की तेजमाया लिम्बूलगायत थप दर्जनौं महिला व्यवसायी नयाँ पुस्ताका व्यवसायी महिला मानिन्छ ।
सार्वजनिक चर्चामा नआएका भएपनि व्यवसायमा कोरोना भाइरसको संक्रमणपछि नयाँ पुस्ता जोडिएको छ । यसले वैदेशिक रोजगार व्यवसायमा महिला व्यवसायीको संख्यात्मक वृद्धि बढाउँदै लगेको देखिएको छ । पछिल्लोपटक नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहित अन्य संघसंस्थाले महिला व्यवसायीको हकअधिकार रक्षाका लागि सशक्त भूमिका नखेलेको आरोप लगाउँदै वैदेशिक रोजगार क्षेत्रका महिला व्यवसायीहरुले गल्फ लिंक ओभरसिज प्रा.लि.की सञ्चालक सीतादेवी देवकोटाको अध्यक्षतामा नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन गरे । तत्कालीन अवस्थामा रहेका ८ सय ५४ व्यवसायीहरुमध्ये व्यवसायी महिला संघ स्थापना गर्दा ३२ जना महिला व्यवसायीहरुको सक्रिय उपस्थिति देखिएको थियो ।
महिला व्यवसायी व्यवसायमा मात्रै नभएर राजनीति र समाज सेवामा पनि देखिन्छन् । व्यवसायी स्व. कमला शर्मा संविधान सभा सदस्य र राज्यमन्त्री हुँदै शासकीय व्यवस्थाको माथिल्लो तहमै पुग्ने पहिलो महिला वैदेशिक रोजगार व्यवसायी थिइन् । गल्फ लिंक ओभरसिज प्रा.लि.की सञ्चालिका सीतादेवी देवकोटा पनि नेपाली कांग्रेसको केन्द्रीय सदस्यका रुपमा माथिल्लो हैसियतमा छिन् । पेशागत संगठनको रुपमा २०४९ सालमा स्थापित नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा माथिल्लो पदमा पुग्ने श्रेय भने शिला गुरुङलाई नै जान्छ । उनी सर्वसम्मतरुपमा संघको उपाध्यक्ष भएकी थिइन् । संघको निर्वाचनमा भने प्रतिस्पर्धाबाट महिला व्यवसायीले हासिल गरेको माथिल्लो पद सचिव हो । व्यवसायी सुवर्ण श्रेष्ठले सचिवमा निर्वाचित भइ इतिहास कायम गरेकी छन् भने संघको कोषाध्यक्षमा जुनसुकै प्यानलबाट आएको भएपनि केही वर्षयता महिला व्यवसायी नै चुनिएको अवस्था छ । सोही हैसियतमा वैदेशिक रोजगार बोर्ड सदस्यमा महिला व्यवसायीको सहज पहुँच पुगेको देखिन्छ । हालसम्म सीता देवकोटा, सुवर्ण श्रेष्ठ, तेजमाया लिम्बू र सरिता घलेले वैदेशिक रोजगार बोर्डमा बोर्ड सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।
करिब ४० वर्षअघि वैदेशिक रोजगार ऐन २०४२ जारी भएपछि तत्कालीन अवस्थामा इजाजतपत्रका लागि धरौटीस्वरुप ५० हजार रुपैयाँ राख्नुपर्ने प्रावधान थियो । त्यसको केही वर्षपछि उक्त धरौटीमा दश गुणा वृद्धि गरी पाँच लाख पुर्याइयो भने वैदेशिक रोजगार ऐन २०६४ ले ३० लाख नगदै वा ७ लाख नगद र २३ लाख बराबरको बैंक ग्यारेण्टीको प्रावधान राख्यो । त्यसमा न्यूनतम ५० लाखभन्दा बढी लगानी गरी म्यानपावर कम्पनी सञ्चालन गर्नु ठूलै चुनौतीको काम थियोे । वैदेशिक रोजगार व्यवसायमा यात्रा प्रारम्भ गरेका ती साहसिक महिलाको पदचाप पछ्याउँदै हाल सयौं महिला वैदेशिक रोजगार व्यवसायमा प्रवेश गरेका छन् । जबकि अहिले धरौटीमा सैयौं गुणा वृद्धि गरी २ करोड, ४ करोड र ६ करोड पुर्याइएको छ ।
केही महिला व्यवसायीले श्रीमान वा परिवारका अन्य सदस्यका लागि पेशा व्यवसाय गर्न इजाजतपत्र ल्याइदिएर सहयोगीको भूमिकामा मात्रै रहेका भएपनि अधिकांश महिला निरन्तर म्यानपावर कम्पनी सञ्चालन गरी अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिकामा देखिएका छन् । यसबाट प्रत्यक्षरुपमा आन्तरिक तथा वैदेशिक रोजगारी सिर्जना भइ राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुगेको छ भने अर्कोतिर महिला उद्यमशीलतामा उर्जा भरेर नयाँ पुस्ताका लागि व्यावसायिक प्रेरणा मिलिरहेको देखिन्छ । वैदेशिक रोजगार ऐनका कतिपय झन्झटिलो प्रक्रिया, नकारात्मक सामाजिक टिकाटिप्पणी जस्ता कारणले केही महिला व्यवसायी पेशाबाटै पलायन हुने र जोखिमलाई आत्मसात गर्दै व्यवसायमा नयाँ व्यवसायीको संख्या भने हाराहारीमा रहेकोे महिला व्यवसायी मात्रै नभएर पुरुष वैदेशिक रोजगार व्यवसायीहरु पनि बताउँछन् ।
एउटा म्यानपावर कम्पनी सञ्चालन गर्ने, बीचमा त्यसलाई छोड्ने र पुनः अर्को म्यानपावर कम्पनीमा जोडिने व्यावसायिक प्रवृत्तिका कारणले महिला व्यवसायीको अग्रताको समयवद्ध श्रृंखला निर्माणको कार्य झन्झटिलो मात्रै नभइ कतिपय अवस्थामा जोखिमपूर्ण मानिएको छ ।
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) र वैदेशिक रोजगार व्यवसायका विभिन्न अग्रज व्यवसायीबाट प्राप्त जानकारीअनुसार हालसम्म वैदेशिक रोजगार व्यवसायमा अल्पकालीन वा दीर्घकालीनरुपमा संलग्न सवा दुई सयभन्दा बढी महिला व्यवसायीको नाम वैदेशिक रोजगार व्यवसायसँग जोडिएको छ । यसले अन्य व्यवसायमा जस्तै वैदेशिक रोजगार क्षेत्रमा महिला व्यवसायीको आगमन र आकर्षण निरन्तर बढेको देखाउँछ ।
-सविना मुडभरी
छोरी मान्छेले एक्लै हिँड्नु हुँदैन, नचिनेको मान्छेसँग बोल्नुहुँदैन, निहुरिएर हिँड्नुपर्छ, सामाजिक मूल्य–मान्यतामा अडिग रहनुपर्छ भनेर अझै पनि घोकाइन्छ । यो सायद छोरीमान्छेलाई कमजोर देख्ने सोचको उपज हो ।
छोरीलाई पढाउनुपर्छ भन्ने सोच कतिपयमा अलि अगाडिबाटै विकास भएको भए पनि कतिपयमा अझै छोरीको पढाइमा खर्च गरेर फाइदा छैन भन्ने मानसिकता कायमै छ । छोरीलाई पढाइमा खर्च गरेमा उनीहरू छोराभन्दा कम हुन्नन् भन्ने मान्यता स्थापित गर्ने गतिलो उदाहरण हुन्, डा. रेणुका थापा ‘सोलु’ ।
वि.सं. २०२८ सालमा हिमाली जिल्ला सोलुखुम्बुको सोताङमा जन्मिएकी रेणुका थापाले डाक्टरको उपाधि पाउन कम्ती संघर्ष गर्नुपरेन । सहनै नसकिने खालका आरोप खेप्नुपर्यो ।
जब उनी आइए पढ्न सोलुखुम्बुबाट काठमाडौं आइन्, त्यतिबेला गाउँभरी उनका कुरा काट्थे । ‘राधा बिग्री’ भनिन्थ्यो (गाउँमा उनलाई राधा भनिन्थ्यो) । त्यति मात्रै होइन, दसैँको टीका लगाउँदा छोरीहरूलाई आशीर्वाद दिँदा ‘राधाजस्ती नभएस्’ भन्थे ।
जब अन्तिम सास जान बाँकी बुबालाई बचाएर सकुशल घर फर्काइन् । पढिन् लेखिन त्यसपछि भने सबैले गाउँका छोरीहरूलाई भन्न थाले– ‘राधाजस्तै भएस्’ । गाउँमा म रोलमोडल बनिन् । धेरैले उदाहरण दिँदा आजभोलि उनकै नाम नाम लिन थालेका छन् ।
उनको आत्मबल झन् उच्च भएको छ । उनी हुन् सोलुखुम्बु जिल्लाबाट पहिलोपटक पिएचडी गर्ने महिला हुन् रेनुका थापा ‘सोलु’ । रेणुका सोलुखुम्बु जिल्लाबाट पिएचडी गर्ने पहिलो महिला मात्रै होइनन्, एउटा कुशल प्रशासक र साहित्यकार पनि हुन् ।
गाउँभरिकाले कुरा काट्दा रेणुलाई पढ्ने र अघि बढ्ने प्रोत्साहन उनका बाबुले दिन्थे । बाबुकै रेखदेखमा उनले एसएलसी दिएकी थिइन् । उनी बाबुलाई साँच्चिकैको पहरेदार भनेर सम्झन्छिन् ।
“बुबा राजनीति गर्ने हुँदा मलाई पढ्न कुनै बाधा भएन । पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढेँ । जुन विद्यालय बुबाले नै स्थापना गर्नुभएको थियो । १० कक्षासम्म पढ्न शिवटार मावि जानुपर्यो । जब टेस्ट परीक्षा पास गरेँ । अनि केटा साथीहरू सदरमुकाम सल्लेरीमा कोठा लिएर ट्युसन पढ्न थाले । हामी छोरीजतिले घरमै काम गर्दै परीक्षाको तयारी गर्यौँ । एसएलसी दिने समय आयो । सेन्टर नेले भन्ने ठाउँमा थियो । सामान भरियालाई बोकाएर बुबा र म परीक्षा केन्द्र पुग्यौँ । परीक्षा दिन जाँदा बुबाले मलाई पूरै सुरक्षा दिनुभएको थियो । पुलिस देखेपछि छोरी सुरक्षित हुन्छे भनेर होला, उहाँ पनि निस्फिक्री देखिनुहुन्थ्यो । परीक्षा नसकिइन्जेल बुबा कुरेर बस्नुहुन्थ्यो । सुरक्षा दिएर डेरासम्म पु¥याउनु हुन्थ्यो । नतिजा आउँदा म गणित विषयमा फेल भएँ । फेरि दिएँ, फेरि फेल भएँ । भागेर झापास्थित दिदीको घरमा गएर ट्युसन पढेपछि तेस्रोपटक गणितमा ५६ नम्बर ल्याएर एसएलसी पास गरेँ”, आफ्नो एसएलसी परीक्षा दिँदै गर्दाको अनुभव रेणुले यसरी सुनाइन् ।
रेणुलाई पढ्न सकस थियो । आफन्तहरु १० कक्षामै पढ्दा उनलाई बुढी भइ भन्थे । आफन्तहरु विवाहको लागि एकपछि अर्को गर्दै केटा लिएर आइरहन्थे । तर, उनको सोच पढ्ने थियो । बुबालाई विवाह गर्दिनँ भनेपछि बुबाले आफन्तको कुरालाई टारिदिन्थे । सायद भावना बुझ्ने बुबा नभएको भए रेणुको बिहे सानैमा हुन्थ्यो । उनको पढ्ने इच्छा पूरा हुन्नथ्यो । “समयमै विवाह नगरेर अध्यक्षले छोरी बिगा¥यो भन्ने आरोप लगाउने धेरै थिए”, बाबुलाई परेको पीडाबारे रेणुले भनेकी छिन् ।
रेणुमा पढ्ने चाह यति थियो कि उनी जे पनि गर्न तयार भएकी थिइन् । एसएलसीपछि उनी एक्लै भागेर झापा गइन् । एसएलसी पास गरिन् । त्यो देखेर बुबालाई उनीप्रति निकै विश्वास बढेछ । छोरी बिग्रिन्न भन्ने परेछ । त्यसपछि आइए पढ्न काठमाडौं जाने उनको प्रस्ताव बुबाले स्वीकार गरे ।
धोबिधारामा ४ सय रुपैयाँमा कोठा भाडामा लिइन् । फुपुको छोरीको सहयोगमा काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसमा आइए भर्ना भइन् ।
एक दिन उनलाई बुबा बिरामी भएको खबर आयो । उनी घर पुग्दा बुबालाई तुलसीको मठमा निकालिएको रहेछ । अन्तिम सास कतिखेर जाला भनेर आफन्त कुरिरहेका थिए । गलाभरी सिँगानका टाटै टाटा लिएर भाइबहिनी उदास अनुहारमा देखिन् । बुबालाई बोकेर काठमाडौं लगे । त्यसपछि उपचार गरेर फर्काएँ ।
काठमाडौं छिरेपछि आर्थिक चिन्ताले उनलाई सताउन थाल्यो । ट्राभल एजेन्सी अफिसमा रिसेफ्सनको काम पाइन् । मासिक सात सय रुपैयाँ तलब दिइयो । सानैदेखि स्वीटर बुन्ने उनको रहर थियो । ठमेलको गार्मेन्टबाट अर्डरको स्वीटर ल्याएर बुन्न थालिन् । रातभरि स्वीटर बुनेर आफूलाई पुग्ने पैसा कमाउन थालिन् । त्यतिबेला उनी जम्मा दुई–तीन घन्टा मात्र सुत्थिन् ।
उनको गाउँकै एकजना बलबहादुर थापाबाट विवाहको प्रस्ताव आयो । माग्न आउने थापा त्रिविको जागिरे भएकाले उनी राजी भइन् । आफूले पढ्न पाउनुपर्ने सर्तमा बिहे गरिन् ।
“काठमाडौं जिल्ला प्रशासन उनी भन्छिन् कार्यालयमा विवाह दर्ता गयौं । अन्य तामझाममा लागेनौँ, दाइजो र अंश दुबै नलिइ आफ्नै परिश्रममा जीवन बाँच्न सिक्ने भन्दै”, विवाहको निर्णयबारे उनी भन्छिन् ।
विवाहपछि उनको दैनिकी फेरियो । गरिरहेको काम छोडिन् । सासूआमा दमको बिरामी भएकाले उनको स्याहार–सुसारमा कुनै कमी हुन दिइनन् । तर, पढाइ भने निरन्तर लगिन् ।
यही बीचमा छोरा जन्मियो । छोराको स्याहार गर्दा गर्दै उनी पुनः पढ्न थालिन् । केही समयभित्रै उनले त्रिविमै जागिर खाइन् ।
सासु, श्रीमान्, छोरा सबैको रेखदेखसँगै उनीमाथि जागिरको बोझ पनि उत्तिकै थियो । तर, पढाईप्रति उनको लगाव सामान्य थिएन । सबै कामको बीच उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइरहिन् । निकै व्यस्तताको बीच संस्कृत विश्वविद्यालयबाट ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका नारी पात्रमा नीति चेतना’ शीर्षकमा पिएचडी गरिन् । सोलुखुम्बुबाट पिएचडी गर्ने पहिलो महिला उनै बनिन् । जीवनमा पिएचडी गर्नेसम्मको अवस्थामा पुग्नुमा आत्मभित्रको साहससँगै परिवार अनि जीवनसाथीको पनि महत्वपूर्ण योगदान रहेको बताउँछिन् । उनी आफ्नो सफलतामा आफ्नाको भूमिका बिर्सन सक्दिनन् ।
-प्रदीप उप्रेती
लोकतन्त्रको स्थापना पश्चात सामाजिक संरचनाको हरेक विधामा नौलो परिर्वतन आएको तथ्यसँग आमजनमत अनभिज्ञ छैनन् । विशेषगरी पुरुष सम्प्रदायको बर्चश्व कायम रहँदै आएको समाजले छोरी÷चेलीलाई पृथक राख्ने परम्परा रहेको थियो । तर लैङ्खिक विभेद स्वरुप उत्पन्न हुन प्रस्तुत क्रियाकलापविरुद्ध आजका शिक्षित महिलाहरु स्वतः अग्रस्थानमा रहेको पाइयो ।
चुनौतीपूर्ण परिवर्तनको संघारमा नेपाली महिलागण पुरुष सरह काधमा काधराखी अगाडी बढन् आतुर रहेको संकेतको रुपमा यसलाई लिदा फरक नपर्ला । जसले प्रतिस्पर्धात्मक पृष्ठभूमिको आधारस्तम्भ तयार भएको तथ्यलाई मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने हुन्छ । कौतुहलतापूर्ण नौलो परिवेशमा सुक्ष्म रुपमा भए पनि नारी समुदायले अभिब्यक्त गरेका अदम्य साहसलाई प्रतिनिधी मूलक घटनाको रुपमा लिदै सामाजिक उत्तरदायीत्वको कार्यमा थप हौसला प्रदान गर्न सक्ने हो भने अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि नविनताको शङ्कघोष हुने कुरामा हामी कसैको पनि दुई मत हुन सक्दैन ।
प्रस्तुत साहसिक कार्यको थालनिले हालसम्म कायम रहदै आएको पुरात्तन पुरुष हैकमवादी प्रवृतिलाई समयानुकुल प्रस्तिथापन गर्न सहयोगीको भूमिका निर्वाह गर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । घटनाक्रमको विकासक्रमलाई क्रमबद्ध रुपमा अध्ययन गर्ने हो भने, नेपाली मृत्यू संस्कार सम्बन्धि कार्यमा पक्कै पनि पुन ः एक पटक गम्भिर भएर सोच्नु पर्ने अवस्था प्रारम्भ भई सकेको छ । अत्यन्त सम्बेदनशिल मानिएको प्रस्तुत विषयमा बृहत सामाजिक परिवेशको अनेकन प्रश्नहरुले जकडीएको वर्तमान अवस्था हो । यथार्थमा तत्सम्बन्धि सम्पूर्ण क्रियाकलापमा केवल पुरुष समुदायको एकाधिकार मात्र कायम रहने हो ? अथवा महिला समुदायलाई पनि क्रमश : सशक्तीकरण गर्दै समानताको प्रत्याभूती कायम रहनु पर्ने भन्ने द्धिविधाजन्य अवस्थाले आधुनिक नेपाली समाज बिलखबन्दमा परेको आभाष भएको छ ।
विशुद्ध धार्मिक परीवेशमा आधारित उक्त गतीविधीको आडमा हुने गरेको अन्याय–अत्याचारपूर्ण ब्यबहार सहन गर्न आजका शिक्षित महिलागण कतिसम्म सक्षम रहन्छन् भन्ने तथ्यले यस क्षेत्रको सुधारात्मक कार्यमा विशेष महत्व राख्ने गरेको पाईन्छ । किनकी, अपवाद बाहेक अन्य अवस्था कायम रहेसम्म धर्मभिरुहरुले जारी गरेको धार्मिक मूल्य मान्यतालाई चुपचाप सहन गर्दै पिल्सीदै जानु आजको बदलिदो सामाजिक परीवशेमा कतिसम्म जायज रहला भन्ने तथ्यलाई अवश्य पनि एक पटक खोतलेर हेर्नुपर्ने हुन्छ ।
अत: पुरुष सम्प्रदाय सरह आफ्नो कुलपरम्परा र धार्मिक आस्थाको आधारमा महिला वर्गले स्वईच्छा अनुसारको निर्णायक भूमिका निर्वाह गर्न सक्ने अवस्था तयार पार्नको लागि राज्यका तर्फवाट महिला शसक्तिकरण एवं सहजीकरणको वातावरण तयार गर्न विलम्व गर्न अवश्य पनि हुदैन ।
सर्वपक्षिय सहयोग र सहकार्यको विकास गर्दै यस क्षेत्रमा रहेको चरम कट्टरपन्थी ब्यवहारलाई समायोजन गर्न नरमपन्थी रणनीतिलाई आत्मसाथ गर्ने चेष्टा राख्ने हो भने, धेरैहदसम्म सकारात्मक भावनाको अभूर्दय हुने देखिन्छ । परिणामत: आज देखिएको छोरा–छोरीको लैङ्गिक विभेदमा पनि सहजीकरणको वातावरण तयार हुन गई छोराको अभावमा परलोकको मोक्ष्य प्राप्ति हुन सक्दैन भन्ने धार्मिक मूल्य मान्यतामा सुखद परिवर्तनको शङ्कघोष हुनेछ भनि ठोकुवा गर्न सकिनेछ । जसले गर्दा महिला हिंसाका साथै बालिका भ्रुणहत्या न्यूनीकरणको दरमा अप्रत्यासित सफलता प्राप्त गर्दै नेपाली जनमतलाई सुशिक्षित गराउन ठूलो अवसर प्राप्त हुने देखिन्छ । किनकी धार्मिक मान्यता अनुसार मृत्युपश्चात गरीने सुद्धाशुद्धिको कार्यका लागि छोरा नै रहनु पर्छ भन्ने सोचमा परीर्वतन ल्याउनु जरुरी भई सकेको छ । जसले निश्चित रुपमा महिला सम्प्रदायलाई पनि पुरुष सरह धार्मिक स्वतन्त्रता प्राप्ति हुने कुरामा सन्देह गर्नुपर्ने अवस्थाको अन्त्य भई सम्बद्ध समुहलाई आत्मसम्मानको अनुभूती कायम रहने देखिन्छ ।
जसको सफल परिणाम भन्नु नै राज्यले अङ्किकार गरेको धर्म निरपेक्षताको वास्तविक सुखानुभूती नेपालका अनेकन समुह, जातजाति एवं लैङ्गिक समाजले समानतापूर्वक अनुभती गर्न सक्ने अवस्थाको सुत्रपात हुने तथ्यहरुले औल्याएको पाईन्छ । पुरुष एकाधिकारवादी धार्मिक संरचनाको चौघेराबाट पृथकरही महिला सशक्तिकरणको प्रभावकारिताको ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत कदमलाई लिन सकिन्छ । नेपाली समाजमा प्रचलनमा रहेको लैङ्गिय एकाधिकारको अन्त्य गर्दै, हरेक क्षेत्रमा महिला समुहको शसक्त भूमिकालाई उच्च स्थानमा राख्ने दर्बिलो विश्वसनियतालाई कुनै पनि हालतमा कमजोर रहन दिनु हुदैन भन्ने मान्यतामा आधारित रहदै कार्य गर्नुपर्ने हुन्छ ।
नेपाल लगायत विश्वको कुनै पनि कुनामा विभेद नभएको अवस्था फेला पार्न निक्कै कठिन हुनेछ । आधुनिकता एवं सुधारको नाममा जतीसुकै उदार कानूनहरु तर्जुमा गरीएको भनीएता पनि कुनै न कुनै रुपमा प्राप्त हुन आउने कानूनी छिद्रलाई गलत अर्थ लगाउदै उपयोगमा ल्याउदा कहिले काहि विभेदपूर्ण ब्यवहारको सामना गर्नुुपर्ने अवस्था सिर्जना हुने देखिन्छ ।
जसको पूर्ण कार्यान्वयनका लागि निश्चित रुपमा लैङ्गिक समानताको आवश्यकता पर्दछ । तर जनचेतनाको अभावका साथै पुरुष अभिमानवादी चारित्रिक विषेशताका कारण नेपाल लगायत अन्य विकान्सोमुलुकमा महिला सशक्तिकरणका सन्दर्भमा विशेषगरी मौन रहने सस्कृतीको विकासले समानता प्राप्तिको क्षेत्रमा बिलम्ब हुन गएको मात्र हो । त्यसो भएको हुदा जती सुकै उदारताको वर्णन गरिएता पनि ब्यवहारमा उतार्न कठिन हुन गई कागजी दस्तावेजमा मात्र सिमीत रहेकोले सही रुपमा सामाजिक उत्तरदायीत्व निर्माणमा गतिरोध उत्पन्न गएको पाईयो ।
तसर्थ महिला भएकै कारणले हरेक क्षेत्रमा पश्वगमनको परिस्थिती निमार्ण हुने प्रवृति देखियो भने निश्चित रुपमा सम्बद्ध पक्ष लगायत राज्यलाई समेत घात हुने देखिन्छ । लैङ्घिक स्वतन्त्रता अन्र्तगत विशेषगरी नारी स्वतन्त्रताको रक्षा गर्दै मुलुकको हरेक कर्मक्षेत्रमा अग्रगामी परिवर्तनको साथै निकासको मार्ग प्रशस्त गर्ने हो भने, पुरुष सरह बरावरको हैशियतमा अगाडी बढ्न सक्ने बातावरणको विकासले सामाजिक उत्तरदायित्वको क्षेत्रमा लैङ्घिक विभेदको अन्त्य भए सरहको अवस्था प्रारम्भ भएको मानिनेछ भन्दा फरक नपर्ला ।
-पदमराज जोशी
संघर्ष र सफलता एकअर्काका पर्याय हुन् । यही दुःख र संघर्षको गतिलो बिम्ब भन्दा फरक नपर्ने नाम हो, प्रोफेसर डाक्टर चन्दा कार्की । उनको अहिलेको पहिचान डाक्टर, स्त्रीरोग विशेषज्ञ, मेडिकल कलेजकी प्रिन्सिपल हुँदै सांसद पनि हो ।
यो पहिचान बनाउनका लागि उनले गरेको कठोर संघर्ष निर्मम छ । निर्मम यसर्थमा कि, सन्तानका लागि सबै चिज त्याग्न सक्ने महिला चरित्र विपरित उनले ११ दिनको शिषु छोडेर पढाइका लागि विदेश गएको समय निकै कठोर थियो ।
महोत्तरीको औरही नैनीगौरीमा माता चन्द्रदेवी र पिता शिवमानसिंह भण्डारीको सन्तानका रूपमा सन् १९५८ अप्रिल २६ मा चन्दा जन्मिइन् । छोरीलाई स्कूल नपठाउने परिवेश भए पनि चन्दाकी आमा छोरी पढाउने कुरामा सधैं महत्व दिन्थिन् । छोरी पढाउनका लागि आमाले परिवारमा निकै हठ गरिन् । आमाको त्यही हठले चन्दाको औपचारिक पढाइ सहज बन्यो । फलस्वरुप आफ्नै हजुरबुवाले स्थापना गरेको प्रसादसिंह हाइस्कुलमा चन्दा सिधै कक्षा ४ मा भर्ना भइन् ।
सामान्य तरिकाले उनको पढाइ चल्दै थियो । जीवनमा दुःख आउन के बेर लाग्दो रहेछ र ? उनी कक्षा ७ मा पढ्दापढ्दै आमा सिकिस्त बिरामी भइन् । उपचारका लागि राजधानी ल्याइएकी आमाले एक वर्ष माइतीमा बसेर बेडरेस्ट गर्नुपर्यो । आमासँगै बसेकी चन्दाको पढाइ बिग्रनेमा मामा चिन्तित भए । तर, चन्दालाई काठमाडौंमै भर्ना गर्न खोज्दा ‘तराईमा पढेकी छात्राले पढ्न सक्दैन’ भन्दै धेरै विद्यालयले उनलाई भर्ना लिन मानेनन् । ‘राम्रो पढ्न नसकेमा विद्यार्थी फिर्ता लग्छु’ भन्ने सर्तमा पद्मकन्याले चन्दालाई भर्ना लिन मान्यो ।
राम्रो नगरेमा आफैं फिर्ता जाने सर्तमा भर्ना भएकी चन्दाले त्यही विद्यालयबाट एसएलसीमा कमला स्वर्ण पदक हात पारिन् । त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएससी गरेपछि उनमा डाक्टर बन्ने सपना पलायो । मामा डा. लोकविक्रम थापाको व्यक्तित्वले चन्दा प्रभावित थिइन् । डाक्टर बन्नका लागि भने उनले भारतको कलकत्तामा रहेको आरजीकर (राधा गोविन्द कर) मेडिकल कलेज रोजिन् । त्यहीँबाट उनले उत्कृष्ट अंक ल्याएर एमबीबीएस सकिन् ।
एमबीबीएस सकेर कलकत्ताबाट फर्केपछि २०४३ सालमा चन्दाले परिवारको सल्लाहमा डा. टेकेन्द्र कार्कीसँग मागी विवाह गरिन् । विवाहसँगै उनको पेशागत करियर पनि अघि बढ्यो । उनकै पालादेखि डाक्टर बन्न लिखित परीक्षा पास गर्नुपर्ने व्यवस्था सुरु भएको थियो । वैवाहिक बन्धनमा बाँधिएको केही दिनमै उनी सरकारी जागिरे बनिन् । भोजपुरबाट सुरु गरेको डाक्टरी पेशामा उनले करिब आठ वर्ष विभिन्न जिल्लामा बिताइन् ।
पञ्चायती व्यवस्थाको अन्त्यको समय थियो । त्यो बेला राजाका लागि जे पनि गरिन्थ्यो । डा. चन्दाको हकमा पनि त्यही भयो । डा. चन्दाको सरुवाको कारण सुन्दा पनि रमाइलो लाग्छ । ‘राजाको सवारी जहाँजहाँ हुन्थ्यो, मेरो सरुवा त्यहीँ त्यहीँ गरिन्थ्यो । राजाको सवारी हुने जिल्लामा डाक्टर देखाउनैका लागि मलाइ पठाउथ्यो ।’
आठ वर्ष विभिन्न जिल्लामा काम गरेपछि उनले पढाइलाई अगाडि बढाउने निर्णय गरिन् । सात महिनाकी गर्भवती चन्दाको उक्त निर्णयलाई श्रीमान्ले पनि साथ दिए । र म पढ्नका लागि बंगलादेशको ढाका गइन् । ‘महिलाले करियर बनाउन आफ्नो अठोटसँगै श्रीमान्को साथ चाहिँदो रहेछ’, डाक्टर चन्दाले श्रीमानको प्रशंसा गर्दै भनिन्, ‘श्रीमान्ले हौसला र साथ नदिएको भए सायद आजको अवस्था सहज थिएन ।’
ढाका युनिभर्सिटीमा डीजीओ (स्त्री तथा प्रशुती) पढ्दापढ्दै उनको बच्चा जन्माउने समय नजिक आयो । उनी १५ दिनको बिदामा नेपाल आइन् । छोरी जन्माइन् र न्वारन गरिन् । ११ दिनकी छोरीलाई आमा र दिदी मीनुको जिम्मा छोडेर पढाइका लागि ढाका नै फर्किइन् । त्यो समय सम्झिदा पनि चन्दालाई कहाली लाग्छ । उनलाई आफू निकै कठोर र निर्मम भएको झैँ लाग्छ । उनी भन्छिन्, ‘मेरो अगाडि दुईवटा विकल्प थियो । कि बच्चासँग बस्ने र पढाइ रोक्ने कि छोरी छोड्ने । मैले छोरी नै छोडेँ । दुधे बच्चा छोडेर जिन्दगीको जुवा खेलेको हो ।’
उनको यो जटिल निर्णय देखेर साथीहरूले नै छोरीको नाम ‘मिराकल’ अर्थात् करिश्मा राखिदिए । अहिले तिनै करिश्मा अस्ट्रेलियामा विशेषज्ञ चिकित्सक छिन् । कान्छी छोरी चन्द्रिका पाटन अस्पतालमा एमडी गरिरहेकी छिन् ।
ढाकाबाट डा. चन्दाले डीजीओमा युनिभर्सिटी टप गरिन् । उनी पुनः फर्केर नेपाल आइन् । त्यसपछि पाटन, टिचिङ, प्रसूति गृहहुँदै भक्तपुर अस्पतालमा सेवा दिइन् । निकै संघर्षले पढेकी डा. चन्दालाई सरकारी सेवामा बढुवा हुन भने गाह्रो भयो उनी सातौं तहबाट आठौंमा उक्लिनै सकिनन् । त्यसमाथि निकै कम मात्रै आम्दानी हुन्थ्यो । बचत गर्न निकै असहज बन्यो । अलीअली गरेको बचत छोरीलाई विद्यालय भर्ना गर्दा, ड्रेस, किताबलगायतका सामानमा सकियो । सहज आम्दानी थिएन । उनलाई लाग्यो, ‘यसरी जिन्दगी चल्दैन । डाक्टर बनेर सेवा त जहाँबाट पनि गर्न सकिन्छ ।’ उनले १५ वर्ष बिताएको सरकारी डाक्टरबाट राजीनामा दिइन् ।
सन् २००० मा केएमसीको व्यवस्थापन नेपालीले जिम्मा लिएपछि उनले प्राइभेट क्षेत्रमा जागिर त्यहीबाट सुरु गरिन् । सरकारी सेवा छोडेर प्राइभेट क्षेत्रमा जोगिरे बनेकी चन्दा लेक्चरर डाक्टरको रूपमा केएमसी प्रवेश गरिन् । १५ वर्षको अथक मिहेनेतले उनी केएमसीको प्रोफेसर बनिन् । अहिले उनी कलेजको प्रिन्सिपल छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदमा रूपमा बिगत डेढ वर्षदेखि संसदमा पनि आफ्ना आवाज उठाइरहेकी छिन् चन्दा । देशभरका २० वटा मेडिकल कलेजमध्ये पहिलो महिला प्रिन्सिपल डा. चन्दा भन्छिन्, ‘नआत्तिएर लागिरहँदा हुँदोरहेछ । असफलता नै सफलताको पिल्लर हो । मेहनतले रङ ल्याउँदो रहेछ ।’
-छबि सापकोटा
अभाव, साहस र आत्मविश्वासले मुना घिमिरे श्रेष्ठलाई नेपालकै पहिलो डोजर अप्रेटर भनेर चिनाउन सफल भएको छ । गोरखाको हर्मीमा जन्म र तनहुँमा आबुखैरनीमा बाल्यकाल बिताइन् । सामान्य परिवारमा जन्मएकी दुई दिदी बहिनी मध्ये मुना जेठी छोरी ।
घरको जेठो सन्तान भएको हुँदा मुनाले आफ्नो घरको समस्यामा नजिकबाट देख्नु पर्यो । घरमा छोराको जन्म नहुँदा आफन्त, छिमेकी र समाज हेर्ने दृष्टिकोणलाई जवाफ दिन केही नयाँ गरेर देखाउने दृढ इच्छा शक्ति मुनामा सानैदेखि थियो । घर छेउमा मध्य–मस्याङ्दी जलविद्युत आयोजनामा डोजरले काम गरेको बाल्यकालमा देखेकी मुनालाई लागेको थियो, डोजरले कसरी काम गर्छ ?
मानिसले दिनभरमा गर्ने काम एकै छिनमा कसरी गर्न सक्छ ? त्यस्तै कौतुहलताले मुनालाई डोजर चलाउने मोह थियो । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै एक कन्सट्रक्सन कम्पनीको रिसेप्सनिष्ट भइन् । काम गर्दै जाँदा अप्रेटरले डोजर चलाएको हेर्दाहेर्दै उनलाई समेत डोजर सिक्न मन लाग्यो । डोजर सिक्ने अवसर कम्पनीका सञ्चालकले दिएपछि उनले सानोमा देखेको सपना पुरा भयो । ६ महिनामै डोलर चलाउन सिकिन् ।
तनहुँबाट बाँकेको कोहलपुर पुगेर आफनो सपना २०५६ मा साकार भयोे । मुना १७ वर्षको उमेरमै डोजरको सिटमा बसेर काम सुरु गरिन् । बाँकेको चिसापानी सुर्खेत सडक ग्राबेल गर्दा डोजर चलाउने कामको थालनी भयो ।
एक महिलाका लागि हेभी इक्वीपमेन्ट चलाउन त्यति सहजता थिएन, आज भन्दा २५ वर्ष अघि कुनै पनि महिलाले नगरेको डोजर चलाउने काम कल्पना बाहिरको कुरा थियो । सुरुमा डोजरको सिटमा बस्दा उनलाई संसार जितेको अनुभव भएको थियो ।
महिलाले डोजर चलाएको समाचार गोरखापत्रमा छापिएपछि पहिलो महिला डोजर चालकको रुपमा स्थापित भइन् । देशभर पुरुष डोजर चालक भएको स्थानमा एक्लो महिला डोजर चालक आफैमा नौलो काम थियो ।
२०५६ सालदेखि २०६६ सालसम्म १० वर्ष विभिन्न निजी कन्सट्रक्सन कम्पनीमा काम गरेर आफुलाई अब्बल महिला डोजर चालकको रुपमा स्थापित भइन् । १० वर्षको बीचमा आएको दुःख कष्ट, महिलालाई हेर्ने दृष्टिकोणलाई चिर्दैै आफुलाई प्रमाणित गरेर देखाउन सफल भइन् । त्यसपछि २०६७ सालमा नेपाल सरकारको सडक विभागको हेभी इक्वीपमेन्टको कार्यलयमा करारमा डोजर चालकको रुपमा काम गर्न प्रवेश गरिन् ।
सरकारी सेवामा समेत सुरुमा अविश्वास धेरैले गरेको थिए, तर उनले आफैलाई प्रमाणित गर्दै ६ वर्ष अस्थायी रुपमा काम गरिन् । २०७२ मा लोकसेवा पास गरेर डोजर अप्रेटर हुदै अहिले सडक विभाग अन्र्तगत हेभी इक्वीपमेन्ट डिभिजन नयाँ बानेश्वरमा सिनियर डोजर अप्रेटरमा छन् । सरकारी जागिरे भएपछि वर्षाको समयमा कति बेला कहाँ पहिरो जान्छ त्यहि पुग्नु पर्ने हुन्छ । रातभर काम गरेको अनुभव समेत छ मुनासँग । नेपालको डाँडापाखा, साघुँरो सडक, भिरपाखामा डोजर लगेर चलाउने आट कमै महिलालाई मात्र होइन पुरुषलाई समेत हुदैन । तर त्यो साहस र आत्मबिश्वास मुनामा देखिन्छ ।
आत्मविश्वास र मेहनत
लामो समय डोजर चलाएर जान्ने भएपनि महिलाले गर्न सक्दैन भनेर काम नपाएको धेरै कथा उनी आफैले सुनेकी छन् । कामको लागि कन्सट्रक्सन कम्पनी धाएको अस्ति भर्खर जस्तो छ उनलाई । त्यति बेला कन्सट्रक्सन कम्पनी नगरेको विश्वास अहिले पनि उनलाई झस्काउने गरेको छ । उनको यो २५ वर्षे डोजर चालकको यात्रामा कति बाधा आए, कतिले कुरा काटे, तर उनलाई घरपरिवार र श्रीमानले साथ दिए ।
‘म पनि एक महिला हुँ । मैले गर्न सकेको छु भने अरुले किन गर्न सक्दैनन् ? दृढ अठोट लगाएर प्रयास गर्ने हो भने कुनै पनि क्षेत्रम सफल हुन सकिन्छ’ उनी भन्छिन्, ‘डोजर चलाउने मेसिनको काम भएकाले धेरै नै होस पु¥याउनु पर्ने हुन्छ ।’
देश घुम्ने अवसर
धेरै क्षेत्रमा महिलाले गर्न सक्छन भनेर प्रमाणीत भइरहेको छ । डोजर चलाउने सेक्टर फिल्ड वर्क हो । सहज स्थानमा भन्दा दुर्गमका डाडाँ पाखा पुगेर काम गर्नु पर्ने हुन्छ । अरु पेसा भन्दा ग्राहो त देखिन्छ, तर काम गर्ने हो भने यो क्षेत्रबाट राम्रो रोजगारीको अवसर छ ।
मुनालाई यही कामले देश घुमाएको छ । नेपालको अधिकांश जिल्ला पुर्याएको छ । २०५७ सालमा इटहारीमा काम गर्दा पुर्व–पश्चिम राजमार्ग जाम नै भएको थियो । उनले चलाएको डोजर हेर्नेको भीडले ।
महिलाले डोजर चलाएको भन्दै राजमार्गमा गुड्ने सवारी साधन चालकदेखि स्थानीय समेत आएर भिड लागेको सम्झदा उनलाई आफ्नो पेसा प्रति थप प्रोत्साहन मिलेको थियो । धेरै नै भीड लाग्न थालेपछि त्यो साइटमा अरुलाई जिम्मा लगाएर फर्कनुपरेको अनुभव समेत छ । अझै पनि डोजर चलाउदाँ महिलाले चलाएको भनेर हेर्ने धेरै नै छन ।
मुनाले नेपालमा मात्र होइन, भारतको गुजरातमा २००५ देखि २००८ सम्म ३ वर्ष डोजर चलाइन् । यति बेलामा भारतको गुजरातका उपलेटा नगरपालिकाबाट सम्मान पाउनु भएको थियो ।
चुनौतीका बाबजुद पनि नेपालकी पहिलो डोजर चलाउने महिला भनेर चिनिन् पाउँदा गर्व लागेको उनी बताउनुहुन्छ । यो क्षेत्रले अवसर कुरी रहेको छ । सरकारी कोटा हुन्छ तर आवेदन दिने कम छन महिला । महिला र पुरुषमा केही शारिरिक बनोट फरक होला । खाडी मुलुक गएर अर्काेको काम गर्नु भन्दा स्वदेशकै आफ्नै देशका काम गर्न सीप सिकेर पैसा र सम्मान दुबै कमाउन सकिने उनको भनाई छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies