–अनन्तप्रसाद घिमिरे
‘दर्शन’ शब्द संस्कृत तत्सम शब्द हो । यसको व्युत्पत्ति पाणिनीय व्याकरण अनुसार दृश्य धातुबाट भएको पाइन्छ । “दृश्यते अनेन इति दर्शन” भन्ने संस्कृत व्युत्पत्तिअनुसार दर्शनको अर्थ दृष्टिको माध्यम वा साधन भन्ने हुन्छ । यसलाई अङ्ग्रेजीमा ‘फिलोसोपी’ भनिन्छ । यस शब्दको व्युत्पत्तिअनुसार दर्शन शब्दको अर्थ ‘ज्ञानप्रतिको अनुराग’ भन्ने हुन्छ । दर्शनले संसारका सम्पूर्ण चिज वा वस्तुका बारेमा अध्ययन र मनन गर्दछ दर्शन हरेक विचार वा विषयको व्यवस्थित दृष्टिकोण वा सोचाइ हो ।
रहस्यमय मानव जीवनसँग दर्शन शास्त्रको अटुट सम्बन्ध अनादिकालदेखि गाँसिएको छ । हाम्रा धर्म शास्त्र र दर्शन शास्त्रहरूको एकमात्र उद्देश्य परम् पुरुष परमात्मासँग मानव जातिको सम्बन्ध गाँसी, ईश्वर र मानवबिचको सम्बन्ध र तारतम्यको अन्वेषण गर्नु हो । यस अर्थमा त्यस्तो अन्वेषणको व्यवहारिक पक्ष हाम्रो जीवन पद्धति हो भने त्यसैको सैद्धान्तिक पक्षलाई ‘दर्शन’ भनिएको छ । मानव जीवनको मीमांसा गर्नु अर्थात् त्यसप्रति जिज्ञासा राख्नु, हाम्रा दर्शन शास्त्रहरूको उद्देश्य हो । हामी को हौँ ? के हौँ ? कहाँबाट आयौं ? किन आयौं ? जस्ता यावत् सन्दर्भमा टेकेर दर्शन शास्त्रको उत्पत्ति भएको हो । दार्शनिक चिन्तकका चिन्तनहरू, दृष्टिकोणहरू समयको प्रवाहको कारण बेग्ला–बेग्लै हुन पुगेको कारणले गर्दा हाम्रा विचारहरूलाई विश्लेषण गर्ने थुप्रै पद्धतिहरू जन्मिन पुगे । जसले गर्दा सनातनी संसारमा थुप्रै दार्शनिक सिद्धान्तहरू र सोअनुरूपका सम्प्रदायहरूपनि जन्मिन पुगे । आजको दिनमा, सनातन हिन्दु परम्परामा दार्शनिक चिन्तन मनन गर्ने परम्पराको सुरुवात कहिलेदेखि, कसले र किन सुरु ग¥यो ? भन्न सकिने अवस्था नभए पनि यसको प्रचलन एवम् सुरुवात प्राग ऐतिहासिक कालदेखि भएको हो भन्ने कुरामा शंका गर्ने ठाउँ छैन । वैदिक संहिताहरूबाट निस्किएका दर्शनहरूको प्रमुख एवम् मूल तत्वहरू– ईश्वर, जीव, प्रकृति, सृष्टि,उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि हुन् । यिनै कुराहरूको चिन्तन अनि जिज्ञासा क्रमशः बढ्दै जाँदा पूर्वीय दर्शनको उत्पत्ति भएको मानिन्छ ।
पूर्वीय दर्शनको खास परम्परा हिन्दु धर्मसँग जोडिएको छ । संस्कृत भाषामा सनातन धर्म भनेर चिनिएको हिन्दू धर्मका अनुयायीहरूले ‘वैदिक सनातन वर्णाश्रम धर्म’ पनि भन्ने गरेको पाइन्छ । यसो भन्नुको पछाडिको तर्क यसको सुरुवात मानव उत्पत्तिभन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो । त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक, पौराणिक परम्परा र संस्कृतिहरूको सम्मिश्रण मानिएको हो । अन्य धर्म, जस्तो हिन्दु धर्मभित्र कोही संस्थापक रहेका छैनन् । यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा, उपासना पद्धति, मत, सम्प्रदाय, दर्शनहरू हुर्किएको पाइन्छ । यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवादमा पृष्ठपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म, हिन्दु धर्म, वैदिक धर्म, हिन्दु आगम आदिजस्ता अनेकौँ नामले चिनाउँदै आइएको छ। यसै सन्दर्भमा पूर्वीय दर्शनभित्र सांख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त गरी छवटा दर्शनहरूको विकास एवं सम्बन्ध रहेको छ ।
पूर्वीय दर्शन आर्य सभ्यतासँग सम्बन्धित छ । पूर्वमा जीवन जगत, ईश्वर, जीव, प्रकृति आदि विषयहरूमा गरिएका गहिरो चिन्तन र विचारहरूको सामूहिकरूपमा नै पूर्वीय दर्शनले प्रकृति, जीवन र जगत विषयमा वैदिक कालदेखि सुक्ष्म अध्ययन हुँदै आएको पाइन्छ । अन्तर तत्वको साक्षात्कार गर्नका लागि अलौकिक तत्वको आवश्यकता पर्दछ । पूर्वीय दर्शनको महत्वपूर्ण प्राप्ति भनेकै आस्तिक दर्शन हो । आस्तिक दर्शनको उचाइका आधारमा विश्वमा नै पूर्वीय दर्शनको स्थान उच्च हुन पुगेको छ । यसलाई वैदिक दर्शन पनि भनिन्छ । सम्पूर्ण धर्मको मूलभूत रूपमा रहेको वेदको केन्द्रीयतामा नै आस्तिक दर्शनले विचार विमर्श गर्ने भएकाले आस्तिक दर्शनलाई वैदिक दर्शन पनि मानिएको छ । आस्तिक दर्शनको आधारस्तम्भ नै वेद हो । यस दर्शनलाई सनातन दर्शन, नैतिक दर्शन वा आर्य दर्शन पनि भनिन्छ । पूर्वमा दर्शनको प्रारम्भ वैदिक वाङ्मयदेखि सुरु भई पुराण तथा विभिन्न दार्शनिक ग्रन्थहरूमा समेत यसको व्याप्ति देखिएको छ । पूर्वीय मान्यताअनुसार दर्शन भनेको आन्तरिक तत्वबोध अर्थात् आत्मबोध हो ।
पूर्वीय आस्तिक दर्शनका अनुसार जगतको कोही एउटा मूल अर्थात् नियामक तत्व रहेको र त्यसकै माध्यमले जगत् चलिरहेको छ । जगतको मूल तत्व एउटै हो भन्ने कुरामा षड्दर्शनमा विवाद नदेखिए तापनि जगतका समवायीकारण र निमित्त कारणमा भने विवाद देखिन्छ । दर्शनले हामीलाई यथार्थको द्वारसम्ममात्र पु¥याउँछ तर, प्रवेश भने गराउँदैन । भित्र प्रवेश गर्नका लागि अन्तरदृष्टि वा आत्मज्ञान चाहिन्छ । पूर्वीय दर्शन यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ । साथसाथै मानव जीवनलाई पुनर्जन्मको चक्रबाट जोगाई तिनलाई मोक्ष दिलाउनु पूर्वीय दर्शनको मुख्य उद्देश्य हो ।
नैतिक शिक्षाले हामीलाई यथार्थको द्वारसम्म पुर्याउँछ । नैतिक शिक्षाले यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ ।
–डा.सुमनकुमार रेग्मी
विश्व व्यापार संगठन र समसामयिक सबै पक्षलाई समेटेर नयाँ वाणिज्य नीति २०७२ आएको नौ वर्ष नाघेको छ । यसको कार्यान्वयन पक्ष पनि पूर्वाधार विकास नभएसम्म प्रभावकारी कार्यान्वयन गर्न नीतिगत, संस्थागत, संरचनागत र प्रणालीगत चुनौतीका रूपमा रहने छन् । पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, फलफूल, दैनिक उपभोग्य वस्तुहरू, विलासिताका वस्तुहरू आदि प्रत्येक वर्ष अन्धाधुन्ध बढेर गएका छन् । तुलनात्मक तथा प्रतिस्पर्धी समेटिएका २५ वस्तुहरूमा सूठोसहित अदुवा, अलैँची, गलैंचा, जडिबुटीसहित सुगन्धित बोट, कफी, च्याङ्ग्रा पश्मिना, चिनी, चिया, जुत्ताचप्पल, कपडा, चाउचाउ, तयारी पोशाक, तरकारी र तरकारी बिउ, दुग्ध पदार्थ, फुल, प्रशोधित छाला, फलाम तथा स्टिलका वस्तुहरू, फलफूल, मह, दाल, सिमेन्ट, सुनचाँदीको गहनाहरू र जेम्स र हाते कागत तथा वस्तुहरू परेका देखिन्छन् । कुनै बेला धेरै आशालाग्दो देखिएको धागो, सनफ्लावर तेल, फलाम पाता, भटमासको तेल, पाम आयल, गलैंचा, तयारी पोशाक, पश्मिना आदिको निर्यात एक चोटी उच्चतम् बिन्दुमा पुगेको परिमाणमा पुनः पुग्न सकेका छैनन् । विगत ४–५ वर्ष अघिदेखि फलाम तथा स्टिलका वस्तुहरू नेपालको पहिलो निकासी वस्तु हुँदै आएको छ । अझै पनि वस्तु तथा सेवामा आन्तरिक उत्पादनमा दिगो भएका निकासी क्षेत्र समेटिन सकेका देखिँदैनन् । निश्चित अवधि पछि पुनरावलोकन गरी ल्याउनु पर्ने वाणिज्य नीति २०६५ लाई रद्द गरी नयाँ वाणिज्य नीति २०७२ आएको छ । नयाँ नीतिले आन्तरिक उत्पादन बढाउन आपूर्ति पक्षका अवरोधहरू घटाउनेसहित सेवा र वस्तुगत निकासीमा मूल्य अभिवृद्धि वृद्धि गर्ने सोच केन्द्रित गरिएको छ । व्यापारमा अघिल्लो वाणिज्य नीति २०६५ भन्दा बढी प्रत्यक्ष असर गर्ने अन्तर–नीतिहरूसँग समन्वय गरी नयाँ नीति २०७२ आएको देखिन्छ । तर, वाणिज्य नीति २०७२ लाई एनटीआईएस २०८० (२०२३) सँग तालमेल गरी मिलाउन अबेर भएको छ ।
अतिकम विकसित देशलाई विकसित देशले प्रदान गरेको र सार्कको सतिश सेवा सम्झौतासहित अरु क्षेत्रीयस्तरबाट प्राप्त सहुलियतपूर्ण सुविधा उपयोग गर्ने गरी वाणिज्य नीति २०७२ आएको थियो । सेवा व्यापार विश्वमा जल्दो–बल्दो क्षेत्र रही आएको छ र वस्तु व्यापारमा भए जस्तै सेवा व्यापारमा पारवहन, भन्सार, क्वारेन्टाइनजस्ता समस्या नपर्ने भएकाले नेपाली सेवा बाह्य बजारमा प्रतिस्पर्धी हुन सक्दछन् । नयाँ वाणिज्य नीति २०१५ अर्थात् २०७२ ले इन्जिनियरिङ सेवा, जलशक्ति, पर्यटन, शिक्षा, सूचना प्रविधि, व्यवसाय प्रकृया बाह्य स्रोत अर्थात् बिजनेस प्रोसेस आउटसोर्सीङ, स्वास्थ सेवा, र दक्ष–अर्धदक्ष श्रमगरी नौ क्षेत्रका सेवा उत्थान गर्ने गरी केन्द्रित गरिएको छ ।
व्यापार नीति २०१५ एनटीआईएस २०१० सँग तालमेल गरी मिलाइएको भए पनि एनटीआईएस २०८० (२०२३) आएको बताइन्छ । एनटीआईएस २०१० मा बढी उच्च निकासी सम्भाव्य भएका वस्तुहरू तथा सेवामा केन्द्रित रहेको छ । एनटीआईएसमा संलग्न वस्तु तथा सेवाहरू मूल्य अभिवृद्धि सञ्जाल प्रकृयाबाट गरिबी निवारणमा असर गर्दछन् । सोही विचार अनुसरण गरी नयाँ वाणिज्य नीतिमा महिला तथा सीमान्तकृत जनसंख्यालाई समाविष्ट गरी तिनीहरूको जीवनस्तर उकास्न उत्पादन प्रकृयामा प्राथमिकतामा राखिएको छ । त्यस्तै गरी नयाँ वाणिज्य नीतिले आपूर्ति पक्षका अवरोधहरू कम गर्न व्यापारसँग सम्बन्धित पूर्वाधार र व्यापार सहजिकरणमा व्यापारका लागि सहयोग अर्थात् एड फर ट्रेडलाई प्राथमिकीकरणमा सम्बोधन गरिएको छ । अर्कोपक्षमा २०७२ को संशोधित नीतिले आयात गरिएको वस्तुहरूका गुण नियन्त्रणमा र प्रयोगशालाहरूका सुदृढीकरणमा सतर्कता गरिएको थियो । नीतिका अन्य परिवेशहरूमा मूल्य अभिवृद्धिका आधारमा निकासी प्रोत्साहन, बाह्य लगानी भित्राउन विकसित देशसँग थप बिपा सम्झौता, पूर्वपृष्ठमा विशिष्टीकरणमा जोड दिइएको देखिन्छ । तर, यस्ता नीतिसँग सहयोग गर्ने रणनीति २०१० मा समय र सबैतिरको समायोजन हुने तवरले रणनीति संशोधन हुने भनिएको पनि धेरै भइसक्यो ।
वाणिज्य नीति–रणनीतिलाई कार्यान्वयनमा लग्ने वाणिज्य तथा आपूर्तिसम्बन्धी पाँच वटा ऐन विशेषत वस्तु तथा सेवा नियमन गर्ने ऐन, एन्टिडम्पिङ–काउन्टरभेलीङ–सेफगार्ड ऐन, उपभोक्ता संरक्षण ऐनमा संशोधन, निकासी–पैठारी नियन्त्रण ऐन २०१३ लगायत व्यापारसँग सम्बन्धित एकीकृत गर्ने छाता ऐन र पेट्रोलियम कारोबार पदार्थ ऐनहरू मस्यौदामा नै सीमित थिए । यी मध्ये केही कानुन बनिसके । विश्व व्यापार संगठनको प्रावधान बमोजिम विदेशी वस्तु ठूलो परिमाणमा आयातले स्वदेशी उद्योग बन्द हुने स्थिति रोक्न सरकारले सेफगार्ड, एन्टिडम्पिङ र काउन्टरभेलिङ ऐनको व्यवस्था गर्न लागिएको हो । उक्त ऐनमा नेपालमा ठूलो परिमाणमा विदेशी वस्तु आयात भई स्वदेशी उद्योगमा हानी पुग्ने नेपालको आयातमा बन्देज लगाउने व्यवस्था छ । यस्तैगरि, खास उद्देश्य राखेर अरु विद्येयकहरू ऐन बन्दैछन् । यीमध्ये केही कानुन बनिसके ।
बितेका केही वर्षयताको तथ्यांक नियाल्दा देशको व्यापार घाटा बढ्दै गएको छ । चालु आ.ब. २०७२–७३ को अघिल्लो महिनामा भूकम्पका कारण चीन–तिब्बतसँगको नेपालको सतह व्यापार र २०७२ असोज महिनादेखि तराई आन्दोलन र भारतको एकतर्फी व्यापारिक सामानको ओसार–पसारमा रोकावटले यो वर्ष नेपालको वैदेशिक व्यापारको बनावट अथवा व्यापार घाटामा परिवर्तन ल्यायो । यस्तो अवस्थामा नयाँ २०७२ व्यापार नीति अझ चुनौतीपूर्ण भए । तसर्थ, पछि बन्ने नयाँ नीतिले व्यापार घाटालाई वाञ्छित घेरामा राख्न चुनौती हुनेछ । यसको लागि मूल्य अभिवृद्धि युक्त वस्तु निर्यात, तुलनात्मक लाभ भएका वस्तु र सेवाको प्रबद्र्धन, खाद्यान्न, तरकारी–फलफूललगायतका दैनिक उत्पादनका वस्तुका उत्पादन तथा उत्पादकत्वमा वृद्धि, सरकारी र निजी क्षेत्रका संस्थागत क्षमता विकास, समग्र पूर्वाधार विकास, सुहाउँदो लगानी वातावरण साथै, कृषि–औद्योगिक क्षेत्रमा आर्थिक वृद्धिमा विशेष दृष्टि राख्न जरुरी भएको देखिन्छ ।
नयाँ व्यापार नीति २०७२ मा विश्व व्यापार संगठनको ट्रिप्स सम्झौताअनुसारका बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रविधि हस्तान्तरणका कुरा, निर्यात वस्तुका भौगोलिक सांकेतिकरण, ट्रेड मार्क, सामूहिक व्यापार चिन्ह, डिजाइन पेटेन्ट, प्रतिलिपि अधिकारलगायतका क्षेत्रहरू, आनुवांशिक स्रोत, परम्परागत ज्ञान–सीपको संरक्षण–प्रबद्र्धन र संस्थागत क्षमता वृद्धि गर्नेलयायतका प्राबधान नयाँ व्यापार नीति २०७२ मा समेटिएको देखिन्छ । तर, व्यवहारमा कार्यान्वयन छैन् । बहुराष्ट्रिय कम्पनीहरूलाई नेपालका साना–घरेलु–मझौला उद्योगहरूमा लगानी गर्ने वातावरण बनाई निर्यात प्रवर्द्धनमा सहयोग हुने गरी त्यसै अनुकूलको वातावरण बनाउन नयाँ वाणिज्य नीति उन्मुख हुने देखिएको छ । नेपालको व्यापार सहजिकरणका लागि भन्सार कार्यालयमा चाहिने सुख्खा बन्दरगाहमा चाहिने सम्पूर्ण पूर्वाधारको विकासको लागि नयाँ नीतिले बोलेको देखिन्छ ।
तुलनात्मक लाभ भएका निर्यातजन्य वस्तु तथा सेवा क्षेत्रका क्षमता अभिवृद्धि गर्न मूल्य शृंखला, उत्पादन क्षमता, गुणस्तर, बजारको खोजी, नीतिगत–संस्थागत, प्रकृयागत, वार्ता–सम्झौता जस्ता प्रावधान नयाँ नीतिमा राखिएका छन् । डब्लुटिओको र सम्मेलनको प्रावधानसँग सामञ्जस्य हुने गरी अतिकम विकसित देशको लागि दिइएका सहुलियतपूर्ण सुविधालगायत थप प्रावधानहरू पनि नयाँ व्यापार नीतिमा समेटिएको देखिन्छ । व्यापार मूलप्रवाहिकरणमा लागि चाहिने आवश्यक कदमहरू पनि यस नीतिमा उल्लेख भएकाले मूल प्रवाहीकरणको सिद्धान्त कार्यान्वयन पक्षले नेपालको निकासी बढाउने नै छ । साथै, नीतिगत सामञ्जस्यको प्रावधान यस नीतिमा समेटिएको छ । व्यापार घाटा न्यूनीकरण र बजार पहुँच विस्तारको उद्देश्य पूरा गर्न नौ वटा रणनीतिहरूमा सरकारी क्षेत्रको समन्वयमा निजी क्षेत्र, प्रतिस्पर्धी लाभका वस्तुका निकासी, आपूर्तिमा आधारित व्यापारघाटा कम गर्ने, निर्यातजन्य सेवा क्षेत्रको अभिवृद्धि, सहजीकरण–संस्थागतमार्फत कारोबार लागत घटाउने, व्यापारलाई अर्थतन्त्रको मूलप्रवाहिकरणमा स्थापित गराउने, बहुक्षेत्रीय–द्विपक्षीय तथा कूटनीतिक माध्यमबाट व्यापार अभिवृद्धि, प्रतिस्पर्धी वस्तु तथा सेवाको क्षेत्रबाट विश्वस्तरमा आबद्ध गराउने, बौद्धिक सम्पत्ति संरक्षणमार्फत विश्व बजारमा नेपाली उत्पादनको पहुँच बढाउने क्षेत्र परेका छन् ।
नेपालको निकासी व्यापार उत्साहजनक नदेखिएकोले विश्व परिवेशमा व्यापार प्रणालीबाट अधिकतम फाइदा लिन समसामयिक विषयलाई समेटी अघिल्लो नीति खारेज भएको छ । नव वाणिज्य नीतिले निकासी प्रबद्र्धनमार्फत राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाइ आर्थिक वृद्धि गर्ने दूरदृष्टि राखेको छ । त्यस्तै, निकासी प्रबद्र्धन गरी दिगो आर्थिक वृद्धि हासिल गर्ने यो नीतिले लक्ष्य राखेको छ । यस नीतिका दुई वटा उप–उद्देश्यहरूमा आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्दै विश्व बजारमा मूल्य अभिवृद्धि युक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापारघाटा कम गर्ने र क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने रहेका थिए । देशलाई व्यापारको माध्यमबाट आर्थिक समृद्धि उन्मुख गराउने वस्तु तथा सेवा विशेषका एकीकृत आन्तरिक तथा बाह्य व्यापारका आयामहरूलाई समेट्ने र सहजीकरण गर्ने लक्ष्य राखेर एकीकृत वाणिज्य कानुन –नीतिमा भविष्यमा ध्यान जान आवश्यक रहेकै देखिन्छ ।
निर्यात व्यापारलाई विविधिकरण गरी प्रतिस्पर्धी बनाउन सरकारले सहजकर्ता र नियामककर्ताको भूमिकामा निर्वाह गरी निजी क्षेत्रको अगुवाइलाई २०७२ वाणिज्य नीतिले जोड दिएको थियो । बाह्य उपभोक्ताको मागबमोजिम नेपालका सबै जिल्ला र क्षेत्रमा उत्पादन हुने तुलनात्मक र प्रतिस्पर्धी वस्तुलाई जोड दिई मूल्य श्रृंखलामा सहयोग र संस्थागत क्षमतामा वृद्धि गर्ने प्रावधान राखेको देखिन्छ । देशमा आयात भइराखेका गुणस्तरहीन वस्तुहरूलाई कम–नियन्त्रण गर्न एवम् आयात व्यवस्थापन गर्न मानव, पशुपंक्षी तथा वनस्पति स्वास्थ्य र वातावरणमा प्रतिकुल असर गर्ने वस्तुहरूको क्वारेन्टाइन जाँचलगायत गैरभन्सार उपायहरूको प्रयोगको प्राबधान नीतिमा राखिएको छ । साथै, घरेलु उद्योगहरूको संरक्षण र विकास गरी नेपालमा सम्भावना भएका तर आयात गर्न परिरहेका औद्योगिक र खाद्यान्न–तरकारी–फलफूललगायत अरु कृषिजन्य वस्तुहरूका उत्पादकत्व बढाई उत्पादन वृद्धि गर्ने सोच राखिएको छ ।
हरेक पटकको वाणिज्य नीतिमा वैदेशिक व्यापारलाई सहज बनाउने, निजी क्षेत्रलाई व्यापारमा अघि बढाउने, व्यापार घाटा घटाउने भनिए पनि २०८० सालमा पनि अझ व्यापार घाटा घटेको छैन् । प्रति वर्ष नेपालको व्यापार घाटा बढ्दो छ । मूल्य अभिवृद्धि लाभ उच्च हुने वस्तु र सेवा निर्यातलाई बढाउने विषय पनि पर्दै गए पनि निर्यात वृद्धि बढ्न सकेको देखिँदैन् । तर, नीतिसँग त्यसको कार्यान्वयन प्रभावकारिता अर्को जटिल विषय हो । अबको दुई वर्षपछि यस वाणिज्य नीतिको मूल्यांकन गरी आवश्यक परिमार्जन गर्न आवश्यक छ ।
(रेग्मी, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका पूर्व नायव–कार्यकारी निर्देशक हुन् ।)
–खिमराज गिरी
नेपाली राजनीतिमा बेला–बेलामा व्यवस्था हस्तान्तरण त भयो तर, प्रतिक्रियावादी, सत्ता स्वार्थी, लम्पसारवादी, प्राकृतिक प्रकोप आदिले जनताको जीवन रूपान्तरण हुन सकेन । गरिबको घरमा चुला त बले तर, खाना पाकेन । किसानका पाखाबारीमा सिँचाइ गर्ने सम्बन्धमा कुरा र कुला त गए तर, पानी गएन । प्रजातन्त्रवादी त भए तर, उदारवादी भएनन् । म्यानेजरको भरमा सरकारी उद्योगहरू चलाउन त खोजियो तर, सबै कौडीको भाउमा दौडिए । गण्डकी, कोशी, कर्णालीको आत्माले कति सरापेको छ थाहा छैन ।
कुनै कुनै कम्युनिष्टहरू क्रान्तिकारी त भए तर, दिल्लीको मामलामा आज्ञाकारी नै भइरहे । २००७ सालमा राणा गए, राजासहितको प्रजातन्त्र आयो, पुरानो अवशेष र मालिकमा बिन्ती चढाउँदैमा २०१७ सालमा पञ्चायती व्यवस्था आयो अनि राजा महेन्द्रको शासन काल शुरु भयो । २०३६ सालको जनमत र ०४२ सालको बम काण्डले नेपालको राजनीतिमा केही हलचल मच्चायो र ०४६ सालको आन्दोलनलाई टेवा पुग्यो । तत्पश्चात राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात भयो ।
तत्काल बालुवाटारको करिब ११६ रोपनी जग्गा सुवर्ण शमशेरको परिवारलाई हस्तान्तरण गरियो र प्रजातन्त्रको धज्जी पनि त्यतिखेरदेखि नै उडाउन शुरु गरियो । प्रायः दलका केही नेताहरू एकातिर आधुनिक राज्य प्रणालीको कथा सुनाउँथे भने अर्कोतिर कुर्चीको लागि दरबार धाउने प्रचलन पनि कायमै राखे । ०५२ साल पछिको त्यो एक दशकले नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन टेवा पुग्यो र २०६२÷०६३ को आन्दोलनपश्चात राजा सत्ताच्युत हुन पुगे र दलहरू करिब आठ वर्षसम्म जम्बो सांसद लिएर संविधानसभाबाट संविधान बनाउने गृहकार्यमा जुटेपश्चात २०७२ सालमा नयाँ संविधान ल्याइयो र नेपाल गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गर्ने मुलुक बन्यो ।
देशमा तीन तहको चुनाव भयो र तीनै तहमा नेकपाको बहुमतको सरकार पनि बन्यो र देशले पहिलाभन्दा हरेक क्षेत्रमा काँचुली पनि फेर्न खोज्यो तर, केही व्यक्तिहरूको सत्तास्वार्थको कारण राजनीतिक अस्थिरताको सौदाबाजीमा मुलुक फेरि पनि फस्यो । र, अरु कयौं क्षेत्रमा परिवर्तन हुने अवस्था हुँदा हुँदै पनि कहिले प्राकृतिक विपत्ति त कहिले सरकार चलाउने पात्रहरूको प्रवृत्ति, त कहिले नेकपाभित्रको आन्तरिक द्वन्द्व, कहिले विपक्षी दलहरूको विरोधी स्वभावको कारण देशमा विकासको गति अगाडि बढ्न केही असहज भइरहँदा फेरि अर्को विपत्ति लाग्यो कोरोनाको । विश्वव्यापीरूपमा फैलिएको यो कोरोनाको कारणले ठूलै धनजनको क्षति भयो र आर्थिक क्षेत्र पनि जर्जर हुने अवस्थामा पुग्यो । नेपाललाई पनि आर्थिकरूपमा केही पछाडि धकेल्यो र त्यसको परिणामस्वरूप आजसम्म देशमा न त स्थायी सरकार बन्यो न त भ्रष्टाचारको अन्त्य नै भयो ।
झुपडीलाई देखाउँदै चप्पल लगाएर नेतृत्वमा पुगेकाको व्यक्तिगत जीवनमा ठूलो परिवर्तन त भयो तर, जनताको जीवनमा परिवर्तन आएन । हिजोका चप्पलधारी नै आज सुटेटबुटेट हुँदै राजनीतिको नेतृत्वमा छन् । उनीहरूलाई नै जनताले पटक–पटक नेतृत्वमा जिताउँदै आएका छन् । तर, अवस्था उस्तै रहिरहँदा पनि विकल्प नखोज्ने जनतालाई दोषी मान्ने कि नमान्ने भन्ने प्रश्न उब्जिएको छ । निष्कर्षमा भन्दा जबसम्म जनताले पनि आफ्नो मतको समीक्षा गर्दैनन् तबसम्म मुलुकले सही दिशा समात्न सक्दैन । सही नेतृत्व भेटाउन सक्दैन ।
दिपकराज भट्ट/डडेल्धुरा
डडेल्धुराको अजयमेरू गाउँपालिका–२, हाँटकोटमा सुदूूरपश्चिमको प्रसिद्ध स्थान अजयमेरूकोट रहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामको खलंगाबाट पश्चिमतिर आधा घण्टाको कच्ची सडकको यात्रा वा करिब दुई घण्टा पैदल बाटो हिँडेपछि अजयमेरूकोट पुग्न सकिन्छ । यसलाई हाँटकोटको नामले पनि चिनिन्छ ।
बाइसे राज्यकालीन डोटी राज्यको राजधानी अजयमेरूकोटमा प्राचीन कलाको उत्कृष्ट संयोजनबाट निर्मित दरबार छ । देवल, पानीका नाउला, घोडा तबेला, बैठक कक्ष, पोखरीलगायत वास्तुकलाको आकर्षणसमेत कोटमा देख्न सकिन्छ । यो स्थान नदीको किनारमा रहेको डाँडामा अवस्थित छ ।
अजयमेरूकोटको स्थापना कसले ग¥यो भन्ने आधिकारिक दस्तावेज भेटाउन सकिएको छैन । एकथरी भनाइअनुसार कत्युरी राजवंशका राजा अजयपाल देवले ११औँ शताब्दीको सुरुवाततिर यो दरबारको स्थापना गरेका थिए । अजयपालको नामबाट नै अजयमेरूकोटको नामकरण भएको हो ।
अजयमेरूकोटको नामकरणको तथ्यसँग डोटी खोलाको अभिलेख पनि मिल्न जान्छ । अर्कोतिर स्थानीय गोरख सेठीको डायरीमा अजयमेरूकोटका प्रथम राजा रञ्जना पालले कोटको स्थापना १३औँ शताब्दीमा गरेको उल्लेख छ । अजयमेरूकोटको स्थापना १३औँ शताब्दीको उत्तराद्र्धमा कत्युरी वंशका दुई भाइ राजकुमार सहस्त्रपाल र निरयपालदेवले वि.सं. १४१९ भन्दा पहिले नै सिञ्जा राज्यसँग लडाइँ गरी जितेर स्वतन्त्र राज्य घोषणा गरेर कोटको स्थापना गरेको उल्लेख छ ।
यस कोटलाई राजा नागी मल्लद्वारा निर्माण गरिएको कोट पनि भन्ने गरेको पाइन्छ । यद्यपि, यो कोट कत्युरी वंशजका पाल राजाले नै निर्माण गरेको प्रमाण भेटिन्छन् । रैका राजवंशका नागी मल्लले वि.सं. १४४१ मा अजयमेरूलाई कब्जा गरेपछि मात्रै अजयमेरूकोट नागी मल्लको कोटका रुपमा चिनिने गएको हो । यस ठाउँमा राजा निरयपालदेवका ताम्रपत्र र वि.सं. १४१९ सम्मका शिलालेखहरु पाइन्छन् ।
वि.सं. १४१९ सम्म अजयमेरूकोट कत्युरी राजवंशका पाल राजाको डोटी क्षेत्रको कोट (दरबार) मानिन्थ्यो । वि.सं. १४४१ को अभिलेख रैका राजवंशका नाग मल्लको भेटिएका कारण वि.सं. १४४१ पछि नागी (नाग) मल्लको कोट अजयमेरू भनियो । वि.सं. १४१९ देखि १४४१ को अवधि (२२ वर्षसम्म) यस कोट वरपर कुनै प्रमाण नभेटिएका कारण यसबीचको अवधिमा कत्युरी पाल र रैकाका बीचमा युद्ध भएको अवधि मान्न सकिन्छ ।
अजयमेरूकोटमा प्राचीन दरबारको भग्नावशेष, नाउला, देवल, वीरखम्ब, कलात्मक सिलिङ, राजाको बैठक स्थलसहितका ऐतिहासिक वस्तु छरिएर रहेका छन् । हाल अजयमेरूमा रहेका तीन नाउलामध्ये दुई नाउला भग्नावशेष अवस्थामा छन् । एक नाउला पानी खान प्रयोग भइरहेको छ । ढुङ्गे देवल र नाउलामा कुँदिएका कलात्मक मूर्तीले प्राचीन वास्तुकला झल्काउँछ ।
अजमेरूकोटको मुख्य दरबार भएको स्थानको डाँडालाई सर्पले बेरेजस्तै गरेर गाड (खोला)ले घेरेको छ । तल गाडदेखि माथि कोट भएको स्थानमा पुग्न १५–२० मिनेट उकालो उक्लनुपर्छ । यस कोट भएको डाँडामाथि दरबार र राजाका भाइभारदारको बस्ने हवेली भग्नावशेषका रुपमा देखिन्छन् ।
दरबारको संरचना सबै भत्केको अवस्थामा छ । बन्ने बेलामा मुख्य दरबार सात तलाको बनेको थियो । यसको सबैभन्दा माथिल्लो तलाबाट उत्तराखण्डमा कत्युरी राजाबाट निर्माण गरिएको कत्युरी राजवंशको कुलदेवी जगदम्बा भगवतीको मन्दिरको दर्शन गर्ने र जल चढाउने गरिन्थ्यो ।
यही छेउतिर राजाका घोडा बाँध्ने स्थान छ । यसलाई स्थानीयवासी ‘घोलिडाँस’ (घोडाको तबेला) भन्ने गर्छन् । यस दरबारस्थलको पूर्व–दक्षिणबाट तल गाड (खोला) भएको स्थानसम्म रानीले पानी भर्न र नुहाउन जाने जमिनभित्रबाट कोरेर ढुंगाले चिनेर माथिबाट बन्द भएको कोटदेखि गाडसम्म जाँदा अँध्यारो नहोस् भन्ने उद्देश्यले बनाएका २५ वटा झ्यालसहितको प्राचीन गुफा छन् ।
कोटस्थलदेखि तल गाडको किनारमा दरबारका मान्छेको बैठक स्थल छ । यसलाई स्थानीयवासी ‘ओखडेकी माँडौ’ भन्छन् । गाडको केहीमाथि चेतराम नाथको घरनजिक दुई वटा देवल छन् । चेतराम नाथको घर तल वैलवाटा भन्ने खेतको नाम करपुटार खेत हो । यसै करपुटार खेतको सिरानमा पानी खाने तीनवटा प्राचीन नाउला छन् ।
यो स्थल ऐतिहासिक मल्लकालको दरबार अवलोकनका लागि प्रसिद्ध छ । यहाँ पुरातात्विक उत्खनन र अध्ययनका लागि पनि विज्ञहरु आउँछन् । यस स्थलमा वार्षिक सरदर आठ–नौ हजार मानिसले भ्रमण गर्छन् । यस कोटको खास विशेषतामध्ये विशाल चट्टानमाथि करिब पाँच रोपनीको थुम्कोमा रहेको किल्लाको अवशेष तीन तिर मजारगाड (खोला)ले घेरिएको मध्यकालीन किल्ला र वास्तुकलाको महत्वपूर्ण रुप नै हो ।
अजयमेरूकोटबारे संवाद
‘अजयमेरूकोट संरक्षण र विकास गर्न योजनाबद्ध काम गर्दैछौं’
पालिकाले अजयमेरूकोटलाई कसरी हेरेको छ ?
अजयमेरूकोट हाम्रो पालिकाको प्रमुख ऐतिहासिक र पर्यटकीय क्षेत्र हो । हामीले पालिकाको नामाकरण पनि यही कोटको नामबाट राखेका छौं । हामीले यसलाई पालिकाको मुख्य क्षेत्रको रुपमा राखेका छौं । यहाँ सोही अनुसार विकास तथा सम्बद्र्धनका काम गर्दैछौं ।
कोट संरक्षणमा कसरी काम गरिरहनुभएको छ ?
हामीले कोट संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरेका छौं । अहिले यहाँ नागरिकले जनश्रमदान अभियान चलाएका छन् । नेपाली सेना डडेल्धुराले पनि यस क्षेत्रमा केही कामहरु गर्दै आएको छ ।
कोट संरक्षणका लागि पालिकाको बजेट त छँदैछ, हामीलाई आर्थिकरुपमा प्रदेश सरकार, केन्द्र सरकारले बजेट पारित गरेको छ । साथै, पर्यटन बार्डको पनि केही रकम विनियोजित भएको छ ।
यस क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने हामीले मानेका छौं । यो क्षेत्र अजयमेरूको मात्र नभई डडेल्धुराको सातै पालिका र देशको सम्पदा हो । यसमा सबैले चासो दिनुपर्छ भन्ने लाग्छ ।
यस क्षेत्रको प्रचार–प्रसारका लागि के–कस्ता कदमहरु चाल्नु भएको छ ?
एकातिर हामी आफ्नै संयन्त्रमार्फत् यसलाई प्रचार–प्रसार गरिरहेका छौं भने अर्कोतिर सामाजिक सञ्जालको पनि उपयोग गरेका छौं । विशेषत यस सम्पदासँग जोडिने निकायहरुले पनि यसको राम्रो प्रचार–प्रसार गरिदिनुभएको छ ।
संरक्षणका लागि हालसम्म के–के गर्नुभयो ?
कोट संरक्षणका लागि भित्री संरचनाहरुमा जान सकेका छैनौं र पनि हामीले यसको संरक्षणका लागि यस क्षेत्रभित्र ढुङ्गे दिवाल बनाएका छौं । नौलाहरुको सरसफाइ गरेका छौं भने बाहिरी भागमा सरसफाइ गर्ने कार्य गरेका छौं । यस्तै कोट नजिकै सेल्फी पोइन्ट बनाएका छौं ।
पछिल्लो समयमा भने अजयमेरूकोटमा कोरोना समय समाप्तपछि आन्तरिक पर्यटकहरुको संख्या भने केही हदसम्म बढेको देख्न सकिन्छ । यहाँ पुराना ढुङ्गाबाट बनेका देबलहरु, नाउला रहेका छन् भने रानीले पानी भर्न जाने गुफासमेत रहेको छ । सबैले यसको संरक्षणमा चासो दिने हो भने पर्यटकको रोजाईमा पर्ने थियो कि ?
–राजन तिमिल्सिना
धार्मिक अन्धविश्वासको पर्दाले मानव चेतनालाई बन्ध्याकरण गर्दछ । मिथ्या तर्कको साहाराद्वारा जीवन र जगतका आम नियमहरुमाथि धावा बोल्नु यसको मूल विशेषता हो । जन्म–पुर्नजन्म, पाप–धर्म, स्वर्ग–नर्क, छुत–अछुत, आत्मा–परआत्मा जस्ता काल्पनिक तर्कको सहारा लिई वैज्ञानिक प्रगतिलाई नकार्दछ । अन्धविश्वास र रुढीवादको जगमा उभिई मानव जातिलाई परनिर्भर, मगन्ते, ढोँगी, पाखण्डी र दास बनाउने कार्यका साथै जंगली युगतर्फ डोहोर्याउनु यसको मुख्य ध्येय हुन्छ ।
मूलतः धर्मको पक्षपोषण गर्नु भनेको सामन्तवाद र पुँजीवादको सेवा गर्नु हो । साथै, अलौकिक, मिथ्या, काल्पनिक र मनगणन्ते तर्कको साहारा लिँदै प्रगतिपथलाई निषेध गर्नु हो । उँचोे–निचो, सानो–ठूलो, छूत–अछूत, धनी–गरीब, भाग्यमानी–अभागी जस्ता भेदभावपूर्ण कुराको आडभरोसा लिई आज्ञापालक दासहरु जन्माउनु यसको प्रमुख लक्ष्य हो । यसले मानिस–मानिसबीचमा ठूलो विभेद खडा गर्दै मानिस भन्दा कुकुरलाई पवित्र मानी घरभित्र र मानिसलाई घर बाहिर राख्न बाध्य पार्दछ । साथै, कुनै ढुंगालाई देवता मान्दछ भने कुनै ढुंगालाई चर्पी मान्दछ । धर्मले दुःख पाउनु पूर्व जन्मको पाप भएकोले यो जन्ममा यज्ञ, तपस्या, हवन, दान दक्षिणा गरे मरेपछि सबैचिज पाइन्छ भन्ने खोक्रो आश्वासन बाँड्दछ । बाँचुन्जेल नारकीय जीवन विताउनु पर्ने र मरेपछि राजा महाराजा हुने सपना बाढ्नु ठूलो ठगीधन्दा हो ।
धर्मले नयाँ खोज अनुसन्धानलाई निषेध गर्दै पुरानै मिथकको आधारमा पुरानै कथा दोहो¥याएर नयाँ चीजको आविस्कारको ढोका बन्द गर्छ । आदिम समाजको कपोलकल्पित एवं काल्पनिक मिथकको आधारमा भौतिक जगत, मानव समाज र विज्ञानका वस्तुगत नियम नबुझी केवल धर्मको मात्रै आडभरोसा लिनु अज्ञानताको पराकाष्ठा हो । दान दक्षिणा गरेर ईश्वर पाउने होइन, पुजारी र भ्रष्टाचारी मोटाउँछन् । श्रम र उद्यमशीलता गर्नु भन्दा धर्मको नाममा ठगी खाने सबैभन्दा सजिलो व्यवसाय नै धर्म बनेको छ ।
धर्मशास्त्रले भनेजस्तो हुने भए विश्वमै नभएकी लक्ष्मी नेपाल÷भारतमा छिन्, किन यहाँका मानिसहरु सबैभन्दा बढी कंगाल छन् ? जहाँ लक्ष्मी नै छैनन् ती देश विश्वकै सबभन्दा धेरै किन सम्पन्न छन ? पशुपतिनाथ, स्वयम्भू, कृष्णमन्दिर, बंगलामुखी, बागेश्वरी, दक्षिणकाली, रामजानकी, चर्च, गुम्बा, स्तुपा, मस्जिद, गिर्जाघरहरु लाखौंको संख्यामा छन्, तर, देश र जनता विश्वकै गरिब छन् । यदि उनीहरुले दाबी गरेजस्तै भगवानको प्रार्थना वा मूर्ति पूजेर धर्म प्राप्त हुने र मनोकांक्षा पूरा हुने कोही पनि दुःखि गरिब हुने थिएनन् । धर्म केवल आस्था र विश्वास मात्रै हो, सत्य होइन ।
पृथ्वी र मानव जातिकै श्रृष्टी गरेको दाबी गर्ने ईश्वरले रेडियो, घडी, क्यामरा, कम्प्युटर, मोबाइल, फोन, मेशिन, ईन्टरनेट, यातायातका साधन, जहाज, रकेट, उच्चस्तरीय यान लगायतको किन श्रृष्टी गर्न नसकेको ? मानिसको अशिक्षा, अज्ञानता, डर र त्रासले पैदा गरेको ईश्वर मानिस भन्दा कदापि ठूलो हुन सक्दैन । यदि उनीहरुले दाबी गरे जस्तो भैदिएको भए धर्मै पिच्छे धेरै वटा पृथ्वी हुने थिए र मानव जातिलाई सहज हुने थियो । यदि विज्ञानले कुटो कोदालो, ढिकी, जातो, मेशिनदेखि विभिन्न उच्चस्तरीय यन्त्रको विकास नगरेको भए मानव जीवन अत्यन्तै कष्टकर र अन्धकारमय हुने थियो । समाजलाई अन्धकारमा राखेर जनतामाथि नारकीय राज गर्न नै सामन्तवाद र पुँजीवादले धर्मको विकास, पक्षपोषण र संरक्षण गर्दै आएको छ ।
विश्वमा विभिन्न धर्महरु छन् – हिन्दु, बौद्ध, इस्लाम, इसाई, शिख, कन्फुसीयस, फारसी, यहुदी, शिन्तो, टाओ, जैन, रास्ताफासीयन, बहाई आदि । यी धर्मका व्याख्याताका रुपमा पुरोहित, पण्डित, पादरी, लामा, भिक्षु, पोप, मुल्लाह, चिफ राबी, आयतोल्लाह, गुरु, सत्गुरु, आदीले आ–आफ्नै तर्क गर्दछन् । जुन भौतिक जगत, मानव समाज र विज्ञानका वस्तुगत मान्यता विपरीत छन् । यदि स्वर्ग र नर्क जाने टिकट यिनीहरुसँग भैदिएको भए सर्वप्रथम अरुलाई होइन उनीहरु आफैँ स्वर्ग जाने थिए । यिनीहरुले न स्वर्गको जनसंख्या भन्न सक्छन् न नर्ककै जनसंख्या भन्न सक्छन् । न जीवन र जगतका वस्तुगत नियमहरुको निरुपण गर्न नै सक्छन् । सबै धर्मका व्याख्याताहरु अन्धविश्वास र रुढीवादले ग्रसित छन् ।
त्यस्तै, वैज्ञानिक सोचाइ, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण हुनेहरु मात्रै सच्चा कम्युनिस्ट हुन् । आध्यात्मिक र अन्धविश्वासी मानसिकता बोक्नेहरु कोही पनि कम्युनिस्ट हुन सक्दैन । वैज्ञानिक सोच, भौतिकवादी दर्शन, द्वन्द्ववादी प्रणाली र सर्वहारावादी दृष्टिकोण नभई कम्युनिस्ट हुँ भन्नु रुपान्तरण नभएका पशुपतिका बाँदर जस्तै हो । कुनै पनि धार्मिक र आध्यात्मिक कार्यमा भाग लिनु कम्युनिस्ट नैतिकता बाहिरको कुरा हो । रुढीबादको पर्खाल नभत्काई सभ्य र सिर्जनशील समाजको निर्माण गर्न सकिँदैन । मूलतः सभ्य नागरिक बन्नका लागि भौतिक जगत, मानव समाज र वैज्ञानिक चेतना अनिवार्य सर्त हुन् । यसबारे सही र गलतको उचित सल्यक्रिया गर्न नसक्ने कोही पनि कम्युनिस्ट हुन सक्दैन ।
धर्मले मानिसलाई अन्धभक्त, पाखण्डी, गुलाम, निरीह, परजीवी र पराश्रृत बनाउँछ । यसले विद्यालय, स्वास्थ केन्द्र, उद्योग बनाउनुको साटो मन्दिर, चर्च, मस्जिद, गुम्बा, गिर्जाघर बनाउन प्रोत्साहन गर्छ , जसको कारण मानिसलाई मूर्ख बनाउन सकियोस् । मानव सभ्यताको हजारौं वर्षदेखि परमेश्वर, ईश्वर भगवान, देवता भनेर खोजी कार्य जारी छ तर, हालसम्म कसैले पत्ता लगाउन सकेको छैन । पण्डित, पादरी, लामा, गुरुदेव, पोप, मुल्लाहले ज–जे भन्यो अन्धभक्तहरु त्यतै दैडिरहेका छन् । धर्मले कुनै पनि प्रश्नहरुको उत्तर दिन सक्दैन भने विज्ञानले प्रश्नको उत्तरसहित त्यसको समाधानसमेत दिन्छ ।
भौतिकवाद र विज्ञानको विरोध गर्नेहरुले क्यामरा, मोबाइल, नेट, कम्प्युटर, रेडियो, घडी, चस्मा किन प्रयोग गर्नु ? बिरामी हुदा धामी–झाँक्री, चर्च, मस्जिद र गुम्बामा जानु पर्ने हो । धार्मिक पाखण्डीहरुले हस्पिटल गएर औषधी प्रयोग गर्नु र मानव अंग प्रत्यारोपण गर्नु धर्म विरुद्धको काम होइन र ? उनीहरु आफ्ना छोराछोरीलाई गुरुकुल, मदरसा, चर्च, बौद्धविहार आदिमा नपढाएर किन आधुनिक स्कूूलमा पढाइरहेका छन् ? यदि धर्म ठूलो हो भने स्कूल नपठाउनु पर्ने हो । जबसम्म शिक्षाको राम्रो विकास हुँदैन, तबसम्म धर्मसत्ताले राज गरिरहने छ ।
करिब २५ सय वर्ष अघि जन्मेका दार्शनिक ‘लुसियस अन्नस सेनेका’ ले भनेका थिए – ‘धर्मलाई सामान्य मानिसले पत्याउँछ, शिक्षित र चेतना विकास भएको मानिसले बहिस्कार गर्छ, राजनीतिज्ञले उपयोग गर्छ ।’ गौतम बुद्धका समकक्षी इटालीयान दार्शनिक ‘जुलियस अन्नस सेनेका’ को यो भनाई अहिले पनि त्यतिकै सान्दर्भिक र मनन्योग्य छ ।
–रत्नप्रसाद अनामणि श्रेष्ठ
उहिले म्हेपी एक सुन्दर, शितल र हराभरा जंगल थियो । म्हेपीको जंगलमा योगाम्बर ज्ञानेश्वरी बस्दथे । ज्ञानेश्वरीले दिनहुँ भक्तिभाव गरी पूूजा गर्दथे , त्यसैगरी शान्तिकर आचार्यले पूजा गर्दथे । अहिले पनि शान्तिकर बाँसबाट बनेको विशेष पूजा थाली (जसलाई नेवारी भाषामा कलः भनिन्छ) उनी त्यो बोकी पूजा गर्न जान्थे । एक दिनको कुरा हो । सधैं जसरी पूजा गर्न जाने क्रममा शान्तिकर आचार्यले आफ्नै सुरमा कलः लिई एकोहोरो दायाँ बायाँ कहीँपनि नहेरी पूजा गरिरहेका थिए । त्यसै बेला उसको छोरा मेरो बुबा कहाँ जानु हुन्छ, म पनि थाहा नै नपाउनेगरी जान्छु भनेर गएछन् ।
सधैँ त्यसरी नै पूजा गरिरहेको देखेर देवता खुशी भई म तिमीसँग भएको एक वस्तु माग्छु तिमी दिन्छौ कि दिँदैनौ ? भनेर सोधेछन् । देवता प्रसन्न भई सोधेका कारण शान्तिकरले खुशी हुँदै भने, ‘मसँग भएको जे मागे पनि हजुरलाई दिन्छु भन्नुहोस्’ भने । देवताले बाचा गराई मागे ‘मलाई दिने हो भने तिम्रो पछि–पछि आउनेलाई दिनु’ भन्नुभयो । पछाडि फर्केर हेर्दा आफ्नै छोरा पो रहेछ । तर, दिन्छु भनि बाचा गरेको हुनाले देवतालाई आफ्नो प्राण भन्दा प्यारो छोरा दिए ।
त्यही छोरो अर्को जन्ममा करुणामय भई भारतको कामरुप कामाक्षको यक्षकुलमा जन्म हुन्छ भनेर योगम्बर ज्ञानेश्वरीको शरीरमा लिन भए । त्यसबेलादेखि म्हेपी जंगलको पीठको नाम म्हस पीठ भनियो । योगम्बर ज्ञानेश्वरी बोधिसत्वको शरीरमा लिन भएकाले नेवारी भाषामा ञम्हय च्वना विज्यातझ भनिन्छ । वास्तवमा नेवारी भाषामा ‘म्हये’ को अर्थ शरीर भन्ने हुन्छ । यसरी शरीरमा प्रवेश भएको वा लिन भएको हुनाले कालान्तरमा उक्त स्थानको नाम ‘म्हेपी’ रहन गएको हो । वास्तवमा म्हपीलाई किराँत कालमा ‘म्हप्रिङ’ भनिन्थ्यो । लिच्छविकालका राजा मानदेवको समयमा पशुपति देउपाटनको रत्न संघमा राखेको शाक सम्वत् ३८८ को शिलालेखमा ‘म्हस्प्रिङ ग्राम’ उल्लेख गरिएको छ । त्यसैगरी नक्साल नारायणचौरमा रहेको हाल राष्ट्रिय संग्रहालयमा राखेको राजा बसन्तदेवको अभिलेखमा पनि ‘म्हस्प्रिङ’ उल्लेख भएको छ । यसरी किराँतकालीन शब्द ‘म्हप्रिङ’बाट आज म्हेपी बनेको हो भन्न सकिन्छ ।
‘म्हेपी’ हिजो आजको शब्द भएतापनि यसलाई खासमा यसरी ‘म्हयपी’ लेख्ने गरिन्छ । ‘म्हयपी’ स्थानमा रहेको मातृकालाई ‘म्हयपी अजिमा’ भनेको पाइन्छ । म्हयपी जोगाम्बर अजिमाबारे स्वयम्भू पुराणमा उल्लेख गरेको पाइन्छ । यो रातो मच्छिन्द्रनाथको ऐतिहासिक कथामा पनि उल्लेख गरिएको पाइन्छ । स्वयम्भूको शान्तिपुरमा सिद्धी प्राप्त गरेका शान्तिकर आचार्य (गुभाजु) म्हयपी पीठको निवासी भएको उल्लेख गरेको देखिन्छ । इतिहासलाई केलाएर हेर्ने हो भने ‘योगम्बर’लाई आरधना गर्ने शान्तिकर आचार्यको कथाअनुसार स्वयम्भू भन्दा पनि म्हपी प्राचिन देखिन्छ ।
म्हयपी बौद्ध धर्मावलम्बीहरूको लागि पनि प्राचीन केन्द्रको रुपमा रहेको छ । बौद्ध धर्ममा मुख्य तथा चार पीठहरु आत्म, पर, योगिनी र गुह्य पीठमध्ये म्हयपीलाई आत्म पीठको रुपमा राखेको देखिन्छ । ‘म्हय’को अर्थ नै आत्मा वा शरीर हो ।
यी चार पीठहरुको चतुष्कायको क्रममा धर्मकाय, सम्भोयकाय, निर्माणकाय र महासुखायको रुपमा लिइन्छ । धर्मकाय भनेको मर्नुपर्ने शरीरको अवस्था हो, त्यस्तै सम्भोय काय भनेको जन्मदेखि मृत्युसम्मको भोग्नु पर्ने अवस्था हो । निर्माण काय भनेको मरेपछि पुनः जन्म लिनु पर्ने अवस्था हो । त्यसैगरी महासुखाय भनेको प्राणीमात्रले जन्मपछि चाहने सुखको अवस्था हो यही कुरा बौद्ध दर्शनको चतुष्कायमा व्याख्या गरिएको हुन्छ ।
हाम्रो शरीरअनुसार काय, वाक र चित्र भनि चक्र मण्डल स्वरुपमा बनाएको हुन्छ । यसमा म्हयपी वाक चक्रमण्डल भित्र राखिएको पाइन्छ । म्हेपी अथवा योगम्बर ज्ञानेश्वरी बज्रयानी बौद्ध दर्शनअनुसार ‘प्राज्ञयोपय’को प्रतिक मानिन्छ । ‘प्राज्ञयोपय’को अर्थ ‘स्त्रीत्व र पुरुषत्व’को संयुक्त अवस्था हो । जसलाई शूून्यता धर्मको रुपमा व्याख्या गरेको पाइन्छ ।
योग भन्नाले धर्ति हो भने अम्बर भन्नाले आकाश हो । यी दुईको मिलन नै योगम्बर हो, जसको अर्थ एकै समान शूून्यता ज्ञान प्राप्ति भन्ने बुझिन्छ । यस पवित्र भूमिमा योग साधना र ध्यान सिद्धी प्राप्त गर्न विभिन्न ठूला–ठूला योगीहरु, ध्यानाचार्यहरुले साधना गरेको इतिहास पाइन्छ । यहाँ समय–समयमा तान्त्रिक गुरु, बज्राचार्यहरूले विशेष विधिबाट साधना गरिरहेका हुन्छन् ।
बज्रयान सम्प्रदायहरुको लागि यो पवित्र भूमि हो । हाम्रो देशमा धर्मको नाममा कहिल्यै हिंसा भएको छैन । सबै धर्म मान्ने मानिसहरुमा सहिष्णुता छ । यसको एउटा ज्वलन्त उदाहरण म्हयपी हो । किनभने यस क्षेत्रमा शाक्त, हिन्दु, बौद्ध, र शिख धर्मावलम्बीहरुले शक्ति पीठको रुपमा समान रुपले मान्दै आएको देखिन्छ ।
बौद्ध परम्पराअनुसार ८४ सिद्ध पुरुषहरुले जहाँ–जहाँ र जुन–जुन स्थानमा सिद्धी अथवा ज्ञान प्राप्त गरे, ती ठाउँहरुलाई पीठ मानेको पाइन्छ । हिन्दु धर्मअनुसार पीठहरु सत्यदेवीको अंग पतन भएको स्थानको नामबाट बनेको हुन्छ भने यो म्हेपी पीठ त्यसरी बनेको होइन । नेवारी समुदायमा निकै प्रचलनमा रहेको अजिमा पीठहरु पनि भिन्न प्रकारले बनेका देखिन्छन् ।
नेपालमा यी र यस्ता पवित्र भूमि प्रचार–प्रसारको कमिले ओझेलमा रहेका छन् । यस्ता पुण्य भूमिहरुको संरक्षण र विकासका लागि स्थानीय तहहरुले पनि छुट्टै परियोजना ल्याउनु पर्ने देखिन्छ । यस क्षेत्रलाई नेपालमा मात्र नभइ विश्वमा चिनाउनु पर्ने आजको आवश्यकता हो ।
–निष्णु थिङ
केही महिना अगाडि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वजनिक कार्यक्रममा आफू ‘लास्ट बेन्चर’ भएपनि मुख्यमन्त्री बनेको र फस्ट बेन्चर उही खरिदार र सुब्बा भएको बद्ख्वाँइँ गरे । उनले थप्दै राम्रो अंक ल्याएर मात्रै केही नहुने ठोकुवा गरे । उनी त्यतिमा मात्रै रोकिएन, चाणक्यले कहाँ पढेका थिए ? के उनले पिएचडी गरेका थिए ? तर, कौटिल्यको अर्थशास्त्र नपढीकन अर्थशास्त्रमा स्नातकोत्तर हुँदैन समेत भने । लास्ट बेन्चरले मुलुकको बागडोर चलाएको आत्ममुग्धता प्रदर्शन गरे ।
शिक्षाप्रति समग्र हाम्रा राजनीतिक दलका नेतृत्व, पूर्व प्रधानमन्त्री र राजनीतिक समाज नै सकारात्मक धारणा राख्दैनन् । केपी ओलीले पनि पिएचडी केही होइन भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । बिबिसीको साझा सवाल कार्यक्रममा नेपालले उत्कृष्ट विश्वविद्यालय अक्सफोर्ड, हावर्ड विश्वविद्यालयबाट उत्पादित जनशक्तिको नेतृत्व कहिले पाउने ? यो सवाल शेरबहादुर देउवालाई सोध्दा उनले त्यो प्रश्न गर्ने युवालाई झपारेका थिए, ‘बढ्ता बोल्छस्’ समेत भने । बढ्ता बोलेको भनेर धम्कीको भाषा प्रयोग गरे । देउवा, ओली र केदार कार्कीसम्म आउँदा राजनीतिक समाजमा मुलुकको स्टेरिङ लास्ट बेन्चरले हाँकिरहेको र त्यसमा उनीहरूका अहंकार झल्किन्छ । व्यक्त वा अव्यक्त रूपमा राजनीति गर्ने प्राणीहरूले अरूलाई हेयको दृष्टिले हेर्ने र विश्वको सर्वज्ञानी आफैलाई ठान्दै आएका छन् । संसारमा मैले जति कसैले जानेको र बुझेको छैन भन्ने विभ्रममा बाँचिरहेका छन् ।
लास्ट बेन्चरले कस्तो बनाए देश ?
गुगलका अनुसार नेपाल संसारको १६५ औं गरिब देशको सूचीमा पर्छ । त्यसैगरी, भोकमरीको विश्व सूचीमा ६९औं स्थानमा पर्दछ । (ग्लोबल हगंर इन्डेक्स, २०२३) नेपाल विश्वका विभिन्न सूचकांकहरूमा निकै पुछारमा देखिन्छ । चाहे त्यो मानव विकास सूचकांक होस् या विकास पूर्वाधारको सूचीमा । हाम्रा विश्वविद्यालयहरू विश्व सूचीको पुछारमा पर्छन् । यहाँका अन्य संघसंस्थाहरूका पनि उस्तै हविगत छ । हामीसित भएका संस्थाहरू विश्वस्तरका छैनन् । सुशासनको दृष्टिकोणले पनि साह्रै पछाडि छन् । विश्व प्रदुषणको मापनले काठमाडौं विश्वकै प्रदुषित शहरमा पर्दछ ।
हाम्रो राजस्व संकलन घाटामा छ । अर्धवार्षिक बजेट समीक्षामा व्यक्त भएको तथ्यांकअनुसार आम्दानीको तुलनामा साधारण खर्च बढी छ । पुँजीगत खर्चको स्थिति अति कमजोर अवस्थामा छ । हाम्रो राज्यको विकास बजेट खर्च गर्न सक्ने क्षमतामै प्रश्न उठ्ने स्थिति छ । कुनै गतिला संस्थाहरू छैनन् । सबै संस्थाहरू दलीयकरणको कुशासनको चक्रमा उठ्नै नसक्ने गरी फसेका छन् । सार्वजनिक ऋण २३ खर्बबाट उकालो चढ्दो छ ।
प्रतिदिन हजारौं युवाहरू देश छाडेर गइरहेका छन् । हाम्रा युवाहरूले यो माटोमा सपना देख्नै छाडिसके । यहाँ केही हुन्छ, गर्न सकिन्छ भन्ने विश्वास नै छैन । कसले चाँडो यो मुलुक छाड्ने प्रतिस्पर्धा चलिरहेको छ । विदेश जानुलाई सामाजिक र सांस्कृतिक प्रतिष्ठाको विषय ठान्न थालेका छन् । लास्ट बेन्चरहरूले यो देशलाई मरूभूमि (डेथभ्याली) बनाए । यो डेथभ्यालीमा कुनै युवाले जीवनको सम्भावना देख्दैनन् । युवाहरूका सपना यो माटोमा अंकुराउन सकेन । केही गर्छु भन्ने युवाहरू, प्रेम आचार्य बन्छन् र बनाउँछन् । आचार्यले मृत्युको घोषणापत्र लेखेर आत्मदाह गरेको यति महिना भइसके उनले उठान गरेका मुद्दाहरूप्रति सरकारले कानमा तेल हालेर बसेको छ । लास्ट बेन्चरवालाले यो देशलाई यस्तो बनाएछ कि म राज्यलाई राजश्व तिर्छु भन्नेले पनि घुस ख्वाउनै पर्ने बनायो । जुन देशमा राजस्व तिर्नलाई पनि घुस नदिई हुन्न, त्यस्तो देश कसरी उँभो लाग्छ ?
हाम्रा राज्यका निकायहरू यस्ता छन् कि यही माटोमै केही गरौं भन्ने सोच राख्नेलाई अनावश्यक दुःख दिइन्छ । यसरी पाइला पाइलामा ह्यार्यासमेन्ट गर्छ कि उ केही उद्यम वा व्यवसाय गर्न चाहँदैन । उत्पादनमूलक केही व्यवसाय गर्नु भन्दा ब्याज खाने सोच बनाउन बाध्य पार्छन् । सानोतिनो केही उद्यम गर्न चाह्यो भने वडाबाटै झन्झट शुरू हुन्छ । यता उद्यम शुरु भएको छैन, तर सानोतिनो सिफारिसकै चाहिनेभन्दा बढी कर तिर्न पर्छ । उद्यम गर्नुभन्दा कागजी प्रक्रिया पु¥याउन कष्टकर छ । सरकारी कार्यालयहरू यही देशमै केही गर्न चाहना राख्नेहरूलाई सहजीकरण गर्ने भन्दा जटिल बनाउने र ह्यार्यासमेन्ट गर्ने नियतका छन् । सबै सरकारी झमेला र व्यावहारिक उल्झन व्यहोर्दै कुनै उद्यमीले वस्तु उत्पादन ग¥यो भने उसले राज्यको संरक्षण पाउँदैन । बिचौलिया बजार व्यवस्थामा उत्पादकभन्दा बिचौलिया मोटाउने तर उद्यमी पीडित हुने थितिबाट उ पिल्सिन थाल्छ । वस्तु उत्पादनको पहिलो चरणदेखि अन्तिमसम्मका सबै प्रक्रियाहरू पार गर्दा एउटा उद्यमीको समय, पैसा र सीपको धेरै लगानी भइसक्छ । तर केही लगानी नभएको बिचौलियाले सजिलै नाफा कुम्ल्याउँछन् र उत्पादक भने बजार व्यवस्थाको शोषणमा पर्छ ।
हाम्रा सबैजसो सरकारी कार्यालयहरूमा सेवा प्रवाह सास्ती दिने खालका छन् । एकै दिनमा कुनै सरकारी कार्यालयमा सेवा पाउन मुस्किल छ । करदाताले सामान्य सेवा लिनलाई पनि कुनै दल र नेताको सिफारिस लिन पर्ने परिस्थिति छ । राज्यका संयन्त्रहरूले निष्पक्ष र पारदर्शी ढगंले कामै गर्दैनन् । मालपोत कार्यालय, यातायात कार्यालय वा अन्य सरकारी निकायमा सानो काम गराउनलाई पनि सेटिङमार्फत् जानु पर्ने अन्यथा काम नहुने वा अनावश्यक विलम्ब गरिदिने प्रवृत्ति मौलाएको छ । न्याय दिने अदालतसमेत सेटिङमा चल्ने बनायो ।
युवाहरू यो देशमा केही सपनै देख्दैनन् । रूस र युक्रेनको युद्ध जारी भएको थाहा भएर पनि रूसी सेनामा भर्ती हुन जान्छन् । मृत्युलाई हत्केलामा राखेर आफ्नो परिवार चलाउन युवाहरू युद्ध क्षेत्रमा जाने जोखिम समेत लिन्छन् । नेपाली राज्यले युवाहरूलाई बेचेरै सरकार चलाउने, सरकारी सत्तामा बसेर स्रोतसाधनको फुर्मास गर्ने, मोजमस्ती गर्ने पुरानै संस्कार हो । रणबहादुर शाहले बनारसमा बसेर मोजमस्ती गरेको ऋण सरकारी खजानाबाट तिर्ने शासनव्यवस्थामा अहिले पनि तात्त्विक भिन्नता आएको छैन ।
लास्ट बेन्चरले नेपाली राज्यलाई धेरै कमजोर र कंगाल बनाए । मुठ्ठीभर नेताहरूलाई मात्रै स्वर्ग हुने देश बनाए । राजनीतिक नेता कार्यकर्ताको रजगज चल्ने हुने देश बनाए । बाँकी आम नागरिकलाई उकुसमुकुस हुने देश बनाए । यहाँ आम नागरिकलाई सास फेर्न पनि मुस्किल छ । हरेक क्षेत्रमा दलतन्त्रको नंग्रा गाड्यो, दलविनाको मान्छे बाँच्न नसक्ने गरी समाजलाई दलीयकरण गरे ।
लास्ट बेन्चरले यस्तो देश बनाए कि पूर्व गृहमन्त्री आफ्नो बुहारीको प्रसुती गराउन अमेरिका जान्छ । स्थापित कलाकारहरू बच्चा जन्माउनै उतै जान्छन् । जेएनयुबाट विद्यावारिधि गरेका उत्कृष्ट प्रतिभाहरू अमेरिकामा डिभी भरेर जान्छन् । बहालवाला मुख्यसचिव एडीबीको जागिर खान राजीनामा दिएर जान्छन् । देश त गज्जबै बनाएको हो, हाम्रा लास्ट बेन्चरहरूले जहाँ उनका आफ्नै सन्तति बस्न चाहदैनन् । कुनै सपना यहाँ फुल्न र फक्रिन सक्छन् भन्ने अलिकति विश्वास राख्दैनन् । यहाँका नागरिकहरूमा जतिसक्दो यो देश छाड्न तयार हुने मानसिकता निर्माण गरायो ।
आत्म–स्वीकृति
लास्ट बेन्चरहरू नै यो देशको अहिलेसम्मको हर्ताकर्ता हुन् । राजनीतिक दल, सरकारदेखि विभिन्न संघसंस्थाहरू सबै यिनैका हातमा छन् । यिनीहरू सबैतिर छन् र शक्तिशाली छन् । यिनको अनुमति र मतिबिना यहाँ केही हुँदैन । यिनको कृपाबिना त यहाँ सास फेर्न पनि गाह्रो छ । केदार कार्कीले बोलिरहँदा उनमा केही खेद थिएन, बरू आत्मुग्धताले भरिपूर्ण थिए । ती कलिला नानीहरूका माझमा शिक्षाको धज्जी उडाएर कार्कीले शिक्षाप्रति ती नानीहरूको वितृष्णा नै हुनेगरी बोले । अव ती नानीहरूले शिक्षालाई कति महत्व देलान् ? मुख्यमन्त्रीले नै निरूत्साहित र शिक्षाको मानमर्दन गरेपछि । अहिलेको नेताहरूले यस्तो बोल्नुमा उनीहरूले आफू पढ्न नसकेकोमा कुण्ठा पालेको देखिन्छ । राजनीतिमा पढेलेखेका शिक्षित युवाहरूले चासो राखेर हस्तक्षेप गर्न थालेदेखि आफ्नो स्वर्ग गुम्ने त्रासले पनि शिक्षित जमातप्रति नकारात्मक भाष्य सृजना गर्न थालेका छन् । चाणक्यले आजभन्दा तेइस सय वर्ष अगाडि तक्षशिला विश्वविद्यालयबाट राजनीतिशास्त्रमा आचार्य गरेका थिए । उनी सोही विश्वविद्यालयमै राजनीतिशास्त्रको प्राचार्य भएका थिए ।
तक्षशीला यस्तो विश्वविद्यालय जहाँ संसारभरिबाट उत्कृष्ट विद्यार्थीहरू पढ्न आउँथे । अहिलेका हार्भार्ड, क्याम्ब्रिज, अक्सफोर्डजस्तै उतिबेला तक्षशिला, नालन्दा र विक्रमशिला विश्वविद्यालयहरू थिए । तक्षशिलामा विश्वका उत्कृष्ट विद्यार्थीहरू पढ्न आउँथे । पश्चिमा दार्शनिकहरू पनि तक्षशिलाबाटै दीक्षित भएका थिए । तक्षशीलामा पश्चिमा दार्शनिक एरिस्टोटल पढ्न आएका थिए । व्याकरणविद् पाणिनी, चन्द्रगुप्त मौर्य पनि त्यहीँबाटै शिक्षित र दीक्षित भएका थिए । चिनियाँ तीर्थयात्री फासियनले इशाको ४०० तिर तक्षशिला भ्रमण गरेका थिए । चाणक्यको शिक्षाबारेमा सामान्य जानकारी नराख्ने कार्कीले भीडको उत्पादन गर्ने सार्वजनिक सम्बोधन गर्नु नेपाली राजनीतिकै दुःखद अवस्था हो । लास्ट बेन्चरहरूले देश अहिलेसम्म चलाएको हुनाले हाम्रो देश यस्तो बन्यो । अन्यथा, फस्ट बेन्चर वा उत्कृष्ट प्रतिभाले चलाउन पाएको भए, हाम्रो देश यो भन्दा कैयन् राम्रो, सबल र विकसित हुने थियो । अहिले देशको हालत लास्ट बेन्चरले जितेर देशले हारेको अवस्था हो । लास्ट बेन्चरले आफूजस्तै देशलाई पनि लास्ट नै बनाइ सक्यो । अब त लास्ट बेन्चरले मेरो अक्षमताको कारणले यो देशले दुःख पायो भनेर कहिले स्वीकार गर्ने हो ?
–नारायण गाउँले
देशैभरि हरियो जङ्गल छ, राम्रो गुणस्तरको मानिने साल र सिसौका रूखहरू छन् । तर, आम जनताका लागि काठ सुनभन्दा महँगो छ । बरु मलेशिया या ब्राजिलबाट महँगो ढुवानी गरेर ल्याइएको काठ सस्तो होला, देशको काठ महँगो छ । फलतः कुनै बेला सिङ्गो संरचना नै काठको हुने हाम्रा घरहरूमा स्थानीय काठको अंश शून्यजस्तो बन्दै छ ।
उच्च पहाड़ी क्षेत्रमा एक दिन पैदल हिँड्नुहोस्, हामीसँग सिङ्गो देश छाउन पुग्ने ढुंगाखानी छ । न्यूनतम प्रशोधन र खर्च गरे पुग्ने चिल्ला स्लेटहरूको भण्डार छ । तर हाम्रा छानाहरू लाखौंको छड़ र सिमेन्टका भारीले थिचिएका छन् । त्यसमाथि नीला र राता जस्तापाताको साम्राज्य छ । दिनदिनै शहरमात्रै होइन, गाउँभरि सिमेन्टका अग्ला–अग्ला भवनहरू ठडिएका छन् । ३ आना, ४ आना या दश धुरमा बनेका ती घरहरूबीच न खाली ठाउँ छ, न हरियाली छ ।
आवासीय प्रयोजनका घरबारे वैज्ञानिक राष्ट्रिय नीति पनि छैन । एक तले होस् या पाँच तले, उत्ति नै पिलर, उत्ति नै छड़ र उत्ति नै हात्तीपाइले फाउन्डेशन चाहिने रहेछ । एउटा घर बनाउन पुग्ने पैसा र साधन माटोमुनि गाडि़एको छ । हाल बनेका घरहरू भत्काउनु पर्दा पुनःप्रयोग हुन सक्ने वस्तुहरू नगण्य छन् । यो साधनस्रोत खरबौं खरब रुपियाँको छ । अझ दुःखद त हिमालीदेखि तराईसम्मका शहरमा यति थोरै जग्गामा यति अग्ला र भद्दा संरचना बनेका छन् कि कतिपय ठाउँमा दुई–तीन तलासम्म त स्वस्थ हावा र सूर्यको प्रकाश पनि पुग्दैन ।
हाम्रो जस्तो चर्को घाम र पानी पर्ने क्षेत्रमा सिमेन्टको आयु सरदर ५० वर्ष जति मानिन्छ । २० वर्ष पुरानो घर अहिलेको पुस्तालाई नै अनुपयोगी देखिन्छ भने पचास वर्षपछि अहिलेका संरचना कसरी हटाउने होला ? यत्रो भयंकर कंक्रीटको जङ्गल कहाँ लगेर फाल्ने होला ? त्यो भीमकाय हात्तीपाइले फाउन्डेशनको के होला ? निर्माणको यही क्रम चल्ने हो भने अबको पचास वर्षपछि हामीले फेस गर्ने वातावरणीय संकट कति गहिरो होला ?
युरोपमा प्रायः आवासीय घरहरू एक तले हुन्छन् । भूइँ तलामाथि एउटा तला । तिनको संरचना काठ र न्यूनतम फलाम प्रयोगबाट बन्छ । भित्ता ईंटा र छानो चाहिँ ढुंगा, माटो र सिमेन्टका झिँगटी या टाइलको हुन्छ । भूकम्पको जोखिम कम हुने भएकाले तिनको फाउन्डेसन पनि ठूलो हुँदैन । प्रायः घरको अगाडि र पछाडि घरले ओगटेको भन्दा बढी जग्गा हुन्छ । त्यो जग्गा बार्ने पर्खाल काठको हुन्छ । घर सय वर्ष बढी टिक्छन् । भत्काएको दिन धेरैजसो सामग्री पुनःप्रयोग गर्न मिल्छ । सार्वजनिक पार्क या उद्यानका बार र पर्खाल त काठकै हुन्छन् ।
युरोपमा घर हेरेर घरमूलीको वर्ग छुट्याउन असहज हुन्छ । आम्दानीको तुलनामा त नेपालभन्दा कयौं गुणा सस्ता छन् घरहरू, फेसमूल्यमै पनि हामीले युरोपलाई उछिन्न लागिसक्यौं । अब जीवनभरको कमाइ जोड्दा पनि एउटा घर नउभ्याउने अवस्थातिर छौं हामी । सदुपयोगको व्यावहारिक नीति हुने हो भने हामीलाई घर बनाउन चाहिने धुरीदेखि दलिन र झ्याल–ढोकाको काठ पनि सहजै उपलब्ध हुनसक्छ । सिमेन्टमा लगभग देश आत्मनिर्भर छ । ढुंगाखानी देशमै छ ।
स्थानीय पद्धति, परम्परालाई प्रविधिसँग मिश्रण गरेर घर निर्माणको एउटा वैज्ञानिक, व्यावहारिक र सुपथ ढाँचा तयार गर्ने र कार्यान्वयन गर्ने सोच कुनै नेतामा होला कि नहोला ? बनी सकेका घरलाई केही गर्न नसकिएला तर अब बन्ने घरमा अनिवार्य गार्डेन, पार्किङ र खुला स्पेस हुनुपर्ने नीति तय गर्न सकिँदो हो । मलिला खेतलाई प्लटिङ हुनबाट रोक्ने या फुटपाथ पुग्ने गरी २० फिटको बाटो अनिवार्य गर्न पनि सकिएला ।
अस्ट्रेलियामा तपाईं कार चलाउँदै हुनुहुन्छ, र पाँच जना अटाउने कारमा तपाईं एक्लै ड्राइभ गर्दै हुनुहुन्छ भने तपाईंले बाटोमा छिटो चल्ने लेन प्रयोग गर्न पाउनुहुन्न । तर तपाईंको कारमा दुई या बढी व्यक्ति छन् भने तपाईंलाई फास्ट लेन प्रयोग गर्न दिइन्छ । हामीले हाम्रो सहरमा यो उदाहरण प्रयोग गर्न सक्छौँ कि ?
यति सानो देश छ । यति धेरै सांसद, मन्त्री, सल्लाहकार, पीए, कर्मचारी र हाकिमहरू छन् । तर ‘राष्ट्रिय पोलिसी’ निर्माणमा भन्दा सत्तासुख र कमिसन कसले कोसँग मिलेर खाने भन्नेमैं हाम्रो हार र जितको खेल सीमित छ ।
जीवनको सम्पूर्ण कमाइ र मिहिनेत घर नामको एउटा भद्दा संरचनामा अझ छिमेकसँग प्रतिस्पर्धा गर्दै माटोमुनी खन्याउने क्रम रोक्न सकिन्छ कि ? अवश्यम्भावी वातावरणीय संकटलाई अहिल्यै सम्बोधन गर्न सकिन्छ कि ? के कसैले यस बारे सोच्दै होला ? के तपाईंले कहिल्यै यसरी सोच्नुभएको छ ? कि यो मैले चिन्ता गरेजस्तो समस्या नै होइन ?
–भरतमणि ज्ञवाली
विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ । भगवान् शिव र पार्वतीको दर्शनका लागि देवताहरू जाँदै गरेका बेला नन्दी (शिवका बाहन)ले विश्वकर्मालाई वास्तुशास्त्रका विषयमा प्रेरित गर्दै शिवको आराधना गर्न लगाएको भन्ने मान्यता छ । यसरी विश्वकर्माले शिव स्तुति गर्दै आफूलाई सम्पूर्ण वास्तुशास्त्रको ज्ञान होस् र जगत्को हितमा काम गर्न प्रेरणा मिलोस् भनी वरदान मागेको उल्लेख छ । आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ । विश्वकर्मा नै विभिन्न देवपुरका रचनाकार हुन् भन्ने शास्त्रीय आधार पनि छ ।
वास्तुशास्त्रको दोस्रो अध्यायमा विश्वकर्मा भन्छन्ः
शम्भो जगत्पते नाथ यदि ते मय्यनुग्रहः ।
स्तुत्या प्रसिदसि त्वं मत्कृतया चन्द्रशेखर
वास्तुशास्त्र प्रकाशोऽस्तु मत्चित्ते तव वीक्षात् ।।
“हे जगतपते यदि तपाई मेरो स्तुतिबाट प्रशन्न हुनुभएको हो भने मेरो मन या चित्तमा वास्तुशास्त्रीय ज्ञानको प्रकाश होस्” विश्वकर्माले वरदान मागेका थिए । उनले आफूमा देवालय, मानव गृह, विभिन्न शालाहरू, यन्त्र, सवारीसाधन या विमान, गोपुर या अन्य पुरलगायत समस्त निर्माणको वास्तुशास्त्रीय ज्ञान होस् भनी वरदान मागेकाले भगवान् शिवले विश्वकर्मामा समस्त निर्माणको ज्ञान दिएको भन्ने प्रसङ्ग शास्त्रमा वर्णित छ ।
मदाज्ञया त्वं लोकानां निर्माणादिषु कौशलम् ।
लभस्व च शुभां कीर्ति सर्वलोकहिताय च ।।
भगवान् शिवले विश्वकर्मालाई समग्र संसारमा यश प्राप्त गर्दै लोकको हितमा काम गर्न वरदान दिएको उल्लेख गरेको पाइन्छ । शिल्प शास्त्रका रूपमा लिइने वास्तुशास्त्रको समुचित प्रयोगले समस्त लोकमा धर्म, अर्थ, काम र मोक्षको सन्तुष्टि मिल्ने शास्त्रीय मान्यता छ । वास्तवमा वास्तुशास्त्रको मूल ग्रन्थका विषयमा विभिन्न मत पाइए पनि पूर्वीय मान्यतामा विश्वकर्मा प्रकाश या विश्वकर्मा वास्तुशास्त्रलाई प्रमुख आधार लिएर कार्य गर्ने गरेको पाइन्छ । देवशिल्पका लागि विश्वकर्माको वास्तुसँगै मय नामक दैत्यले विभिन्न पुर निर्माण गर्दै मयमतको सिर्जना गरेको पाइन्छ । खासगरी विभिन्न पुराणहरूमा पनि वास्तुको विषय चर्चा भएको उल्लेख छ ।
विद्वानहरूका अनुसार मत्स्यपुराण, भविष्यपुराण, गरुडपुराण, नारदपुराण आदिमा वास्तुको उल्लेख भएको छ । गृह वास्तु व्यवस्थामा गर्गसंहिता, वशिष्ठसंहिता, नारदसंहिताजस्ता ग्रन्थहरूले चर्चा गरेको बताइन्छ । यद्यपि समग्र वास्तुशास्त्रको श्रेय विश्वकर्मालाई जान्छ । पूर्वीय वैदिक सनातनमा विश्वकर्मा वास्तुलाई विशेष स्थान दिइएको छ ।
हिन्दू वैदिक मान्यतामा आधारित अनेक धार्मिकस्थल नै वास्तुशास्त्रका नमूना हुन् । देवालयहरूमा व्यवस्थित वास्तुकलाले विश्वलाई यसक्षेत्रमा आकर्षित गरेको पाइन्छ । सुखी, स्वस्थ र समृद्ध जीवनका लागि वास्तुशास्त्रको अवलम्बन महत्वपूर्ण पक्ष हो । हजारौँ वर्षअघि नै ऋषिमुनिहरूले यसको महत्व र आवश्यकता बुझेर मानव कल्याण हेतु विभिन्न सिद्धान्तलाई व्यवस्थितरूपमा प्रस्तुत गर्दै आए । कोही शिवभक्त थिए र उनीहरू शैव मान्यतालाई जोड दिँदै आए भने कोही विष्णुभक्त भएकाले विष्णु भगवान्को महिमा र मान्यतालाई पछ्याउँदै आए । तान्त्रिक मान्यतामा आगम र निगमको नियमलाई अधिक महत्व दिएका हुन्छन् । जसले जुन मान्यता लिए पनि समग्रमा मानवहितका लागि नै गरिएको छ ।
शिल्पशास्त्र अर्थात् वास्तुशास्त्रमा देवता, राजा र सर्वसाधारणका लागि समान हुँदैन । देव वास्तुमा मठ मन्दिर, देवालयहरू पर्छन् भने राजाहरूका लागि दरवारको निर्माणसँगै कोषागार, शस्त्रागार, कारागार जस्ता कुराहरू समेटिएका हुन्छन् । साधारण मानिसका लागि गृह वास्तुको व्यवस्थापन गरिन्छ । त्यसरी नै वास्तुमा मानिसको वर्णअनुसार विविधता हुन्छ । निर्माण तथा सजावटका फरक–फरक विधि र व्यवस्था हुन्छन् । विभिन्न स्तम्भहरू, बाहाल, टुँडाल, मण्डप तथा अन्य यन्त्र निर्माणमा वास्तुको स्वतन्त्र व्यवस्था रहेको हुन्छ । रथ तथा विमान निर्माणको वास्तुकला फरक हुन्छ । कुनै निर्माणको स्थान, परिवेश, प्रकार र आकारअनुसार वास्तुकलाको विधान व्यवस्था गरिएको छ ।
सबै वास्तुशास्त्रीय मूल सिद्दान्त अत्यन्तै विधिसम्मत् छ । वास्तुले पहिलो शर्त मुहुर्तलाई लिएको हुन्छ । कुनै पनि कार्यका लागि समय सबैभन्दा बलवान हुन्छ । शुभ समय सबै समस्याको निकास र समाधान मानिन्छ । कार्यसम्पन्न गर्नका लागि उत्तम मुहुर्त अनिवार्य हुन्छ । कार्यारम्भ शुभ मुहुर्तमा भएन भने विभिन्न समस्या उत्पन्न हुन्छन् । धनको समस्या उत्पन्न हुनसक्छ । स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले निर्माण आरम्भ, शिलान्यास गर्दा, द्वार स्थापना गर्दा मुख्यस्तम्भ निर्माण गर्दा, छानो छाउँदा, गृहप्रवेश गर्दा शुभमुहुर्त अनिवार्य हेरिनुपर्छ । त्यसरी नै जलाशय निर्माण गर्दा, पुरानो घर जीर्णोद्वार गर्दा, भवनमा अग्निस्थापना अर्थात् चुल्हो निर्माण र बाल्दा शुभमुहुर्त छनोट गर्नुपर्छ । शिल्प विज्ञानको शुद्धता र त्यसको सुधार एउटा उपाय हो तर शुभमुहुर्तको प्रभाव अधिक रहन्छ । विश्वकर्माले शिल्प निर्माणमा शुभमुहुर्तलाई प्राथमिकतामा राखेको पाइन्छ ।
वास्तुशास्त्रमा कांकिणी विधिलाई पनि विशेष महत्व दिएको पाइन्छ । कुनै पनि स्थान र गृहस्वामीको शुभाशुभ हेर्न यस विधिको प्रयोग गरिन्छ । कुनै देश या जिल्ला, नगर अथवा गाउँ सम्बन्धित व्यक्तिका लागि शुभ छ–छैन भन्ने ज्ञात गरेरमात्र निवास निर्णय गरिनुपर्छ । यदि स्थान नै व्यक्तिका लागि शुभ छैन भने त्यो स्थानमा गृह निर्माण गर्नु हानिकारक हुनसक्छ । यसका लगि देश या स्थानको अङ्क र गृहस्वामीको अङ्कका आधारमा निर्णय गरिन्छ । मुहुर्त, कांकिणी, जमिनको आकार–प्रकार, रङ, गन्ध आदिको उचित शोधन अनिवार्य मानिन्छ ।
वास्तुशास्त्रले निर्माणस्थलको मापनलाई गहन अध्ययन गर्न सुझाउँछ । निर्माणस्थलको पिण्ड अथवा क्षेत्रफलको आधारमा त्यसलाई शुभाशुभ निर्णय गरेको हुन्छ । भूमिको पिण्ड र निर्माणको पिण्डबीचको सन्तुलन अनिवार्य मानिएको छ । पिण्डका आधारमा त्यस भूमिका फरक–फरक लक्षण हुन्छन् भन्ने वास्तुशास्त्रको मान्यता छ । देश, काल र गृहस्वामीका आधारमा त्यसको मापन गरी विधिसम्मत शुभमुहुर्तमा निर्माण गर्दा सर्वोत्तम हुन्छ ।
वास्तु व्यक्तिअनुसार फरक र शुभ–अशुभ हुन्छ । एकका लागि अशुभ कार्य अर्काका लागि शुभ हुनसक्छ । विश्वकर्माकृत वास्तु या मयमत अथवा चाइनिज वास्तु या आधुनिक वास्तु सबैको मान्यता निवास या निर्माणस्थल जनहितका लागि तय गरिएको हुन्छ । पछिल्लो समयमा वास्तुशास्त्रका सिद्धान्तहरूलाई विज्ञानसँग जोडेर हेर्न प्रयास पनि भइरहेको छ । वैदिक वास्तुकै जगमा टेकेर आएका त्यसलाई प्रमाणित गर्ने काम पनि भइरहेको छ भने कहिँकतै आफ्ना नयाँ मत सिर्जना गर्ने प्रयास पनि भइरहेका छन् । वास्तु वैदिककालदेखि नै थियो र अहिले पनि यसको प्रभाव झन् बढ्दो छ । त्यसलाई राजमहलहरूमा मात्र सीमित गराउने प्रयास भए पनि पछिल्लो समयमा हरेक मानिस यस शास्त्रबाट अधिकतम् लाभ लिनसक्ने अवस्थामा छन् ।
शास्त्रीय मान्यतालाई वैज्ञानिक आधारहरू खोज्दै अधिकतम सदुपयोग गर्दा लाभ मिल्न सक्छ । आफ्नो घर, कार्यालय या अन्य निर्माणस्थललाई वास्तुशास्त्रसम्मत् बनाउँदै अधिकतम् लाभ उठाउन सकिन्छ । वास्तुशास्त्रीय मान्यता अवलम्बन गर्दा लाभ मात्रै छ, हानी छैन । स्थान सानो होस् या ठूलो वास्तुसम्मत निर्माण सम्भव छ ।
– खगेन्द्र पौडेल
कृषिलाई उद्योग बनाउँदा सामन्तवादका थुप्रै आधारहरू समाप्त हुन्छन् । अर्धदासता समाप्त हुन्छ । कृषि दासहरू स्वतन्त्र मजदुर हुन्छन् । यो प्रक्रिया समग्र एउटा आन्दोलन हो । क्रान्ति हो । यद्यपि, यसलाई सामूहिकीकरणमा लैजाँदै प्रतिस्पर्धात्मक बनाउन सकिएन भने आफैं धराशाही हुन्छ । बहुराष्ट्रिय कम्पनीका संरचनाले समाजलाई आत्मनिर्भर बनाइरहेका साना–साना यस्ता संरचनाहरूलाई खाइदिन सक्छन् । राजनीतिक अर्थशास्त्रले बताएको छ कि स्वाभिमानी लडाइँ सजिलो छैन । बहुुराष्ट्रिय कम्पनीहरूले बलजफ्ती वा फकाएर कि कारिन्दा बनाउनेछन् कि सिध्याउनेछन् ।
आज नेपालमा सत्ता नेतृत्वकर्ताको रूपमा रहेको माओवादी केन्द्रको राजनीतिक अवस्थालाई केलाउँदा ठ्याक्कै स्थिति मिल्छ । माओवादी आज आफ्ना सबै एजेन्डा तिलाञ्जली दिने अवस्थामा पुुगेको छ । उसका एजेन्डाहरूले अरूले खाइसकेका छन् । उ निरिह छ । उ विकल्पबिहीन छ तैपनी उ कहिलेकाहीँ भ्रमपूर्ण रूपमा क्रान्तिको कुरा पनि गरिरहेको हुन्छ ।
१० वर्षे जनयुुद्धको चरणमा जे–जसरी माओवादीले अर्थसंरचनाको वकालत गर्यो, जे–जसरी क्रान्तिको कुरा गर्यो, त्यो अवस्था अहिले छैन । माओवादीले आफ्नो आधार छोडिसकेको छ । आज कृषि र सहकारीको एजेन्डामा उ आफैं अलमल छ । उसले भन्ने कम्युनहरू आज किताबका पानामा मात्रै सीमित छन् । विस्तारवादी र साम्राज्यवादीको चङ्गुुलमा फस्दै गइरहेको आर्थिक संरचनाबाट कसरी बाहिर आउने भन्ने विकल्प माओवादीसँग छैन । उ विभिन्न मुद्दाहरूले घेरिएको छ र विकल्प सोंच्ने अवस्थामा पनि छैन । तैपनि कथित क्रान्तिकारी आडम्बरमा रमाउन छाडेको भने छैन ।
युद्धमा भनिएजस्तै शैलीमा माओवादी आन्दोलन अघि बढ्न सकेन । आफ्नै एजेन्डाबाट क्रमशः च्यूत हुने अवस्थामा पुुग्यो । आज आफ्नै एजेन्डा पनि कसले ल्याइदिएको भन्ने अवस्थामा माओवादी आन्दोलन पुुगेको छ । आज विगतमा भनिने कम्युनहरू छैनन् । सहकारीताको अवधारणा धुलिसात बनेको छ । यद्यपि, अझै क्रान्तिको कुरा भने गर्न छाडेको छैन । आत्मनिर्भर अर्थतन्त्रको भने कुरा पनि गरिरहेको छ ।
के हालकै विद्यमान संरचनाले हामीलाई क्रान्तिकारी बनाउन सक्छ ? के विद्यमान संरचनाभित्र आत्मनिर्भर अर्थतन्त्रको कल्पना गर्न सकिन्छ ? बहुराष्ट्रिय कम्पनीहरूको मनोमानीभित्र हामी स्वतन्त्र अर्थतन्त्रको संरचना विकास गर्न सक्छौं ? के हाम्रो कृषिलाई आधुनिकीतर्फ लैजान सक्छौं ? के सस्ता जनशक्ति फर्काउन सक्छौं ?
आज माओवादी नेतृत्व कता–कता फर्किनै नसक्ने अवस्थामा पुुगेको देखिन्छ । बदलिँदो परिस्थितिअनुसार कस्तो एजेन्डा लिने भन्ने अन्योल माओवादी नेतृत्वभित्र छ । बिडम्बना नै मान्नुपर्छ, सरकारको नेतृत्वमा रहेको माओवादीसँग आफ्नो कुनै कार्यक्रम छैन । आफ्ना कुनै योजना छैनन् । अन्यका योजनाको भारी बोकेर माओवादी सत्ताको यात्रामा छ । यसबाट प्रष्ट हुन्छ, माओवादी कताको यात्रामा छ । पछिल्लो समय माओवादी आन्दोलनको भविष्यमाथि प्रश्न उठिरहेको छ । एजेन्डा नभएको माओवादी कता पुुग्दैछ भन्ने प्रश्न छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies