काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने संकल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गरेका हुन् ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
“गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।”
सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताएका छन् ।
विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन् । शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गरेका छन् ।
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि अख्तियारले विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो ।
२०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समूहले आफ्नो नाममा ल्याएको थियो । चौधरी समूहले २०४२ सालमा खुलेको च्याम्पियन फुटवेयरले बाँसबारीको जग्गा आफ्नो नाममा सारेको थियो । च्याम्पियनले आफ्नो नाममा सारेको उक्त जग्गा चौधरी समूहकै चाँदवाग रेसिडेन्सीको नाममा छ । जग्गा अनियमितता प्रकरण सतहमा आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०का साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेका थिए ।
सीआईबीले केही महिना अघि व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेर अदालतको आदेशबाट केही दिनमा छाडेको थियो । अनुसन्धानका क्रममा सीआईबीले गत चैत ८ गते व्यवसायी एवं कांग्रेस सांसद विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो । लगत्तै उनी विदेश गएका थिए ।
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी त्रिवेणी चेम्जोङको निधन भएको छ । डी प्रोटोन म्यानपावर सप्लायर्स प्रा.लि.का जनरल म्यानेजर तथा नेपाल लोकतान्त्रिक लिम्बू संघका केन्द्रीय अध्यक्षसमेत रहेका ५० वर्षीय चेम्जोङको शनिबार निधन भएको हो ।
ताप्लेजुङ मैवा खोला स्थायी घर भएका व्यवसायी चेम्जोङ लामो समयदेखि काठमाडौंमै रहेर व्यवसाय गर्दै आएका थिए । नेपाल वैदेशिक रोजगार व्यवासयी संघका पूर्वकार्यसमिति सदस्यसमेत रहेका चेम्जोङ लामो समयदेखि प्रेसर, सुगर र कलेजो रोगबाट ग्रसित थिए ।
मैवा खोला सरोकार समाजका अध्यक्ष, ताप्लेजुङ सरोकार केन्द्रको आजीवन सदस्यसमेत रहेका चेम्जोङ शुक्रबार अचानक बिरामी भएपछि काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । त्यहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
शनिबार चिकित्सकका साथै परिवारको सल्लाह अनुसार चेम्जोङलाई एम्बुलेन्समार्फत उनलाई धरान लगिएको थियो । तर धरान लैजाँदै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चेम्जोङका श्रीमती र दुई छोरा रहेका छन् ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा एक घरमा आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ । त्रियुगा नगरपालिका –१० गुन्टेस्थित रिद्धिबहादुर कटुवालको घर जल्दा सो घरमा रहेको धान अन्नपात र भाडावर्तनका साथै काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
चापागाईंका अनुसार आगलागीबाट १० लाख ७६ हजार बराबरको क्षति भएको अनुमान छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : ज्योति भविश्वर बहुमुखी क्यापस ठाडामा दोस्रो महायज्ञ शुरु भएको छ । महायज्ञको एक विशेष कार्यक्रमकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै प्रदेशसभा सदस्य घिमिरेले देश समृद्धिका लागि कला, धर्म, संस्कृति, पर्यटनका साथै स्थानीय उत्पादन नै महत्वपूर्ण हुने भन्दै अब आर्थिक सामाजिक विकासमा ध्यान दिनुपर्ने बताए ।
भौतिक पूर्वाधार विकासलाई मात्र विकासको सूचक मान्ने गलत बुझाइ भएको भन्दै क्याम्पसको स्तर उन्नतिका लागि धेरै प्रयास गर्दा पनि प्रयाप्त बजेट विनियोजन गर्न नसकिएको उनले बताए । आगामी दिनमा देशकै ठूलो नगरपालिकाको एकमात्र क्याम्पसको विकासका लागि लागि पर्ने पनि उनले बताए । कार्यक्रमका विशिष्ट अतिथि एवम् जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले महायज्ञले शिक्षा र पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कथावाचक विश्व विख्यात कथा वाचक बाल योगेश्वर विजय कृष्णमूर्ति जी महाराजले क्यापसको स्तरोन्नतिका लागि गर्न लागिएको महायज्ञमा सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए । उनले महायज्ञका सबै कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध समेत गरे ।
उद्घाटन कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, नगर उपप्रमुख गीता भाट, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, पत्रकार महासंघका जिल्ला सहसचिव एवम् पर्यटन प्रवर्द्धन अभियानका प्रवक्ता हृदय भुसाल लगायतले महायज्ञ सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष कुमार केशव बेल्वासेको अध्यक्षता, क्यापस प्रमुख बिष्णु भट्टराईले स्वागत र पत्रकार अराज बेल्वासेले सञ्चालन गरेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रमुख, जनप्रतिनिधि, कर्मचारी शैक्षिक तथा धार्मिक व्यक्तित्व सामाजिक अगुवा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा बाजागाजा र कलश यात्रासहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा सबैलाई खुलेर सहयोग गर्नका लागि क्यापस प्रमुख बिष्णु भट्टराईले अनुरोध समेत गरेका थिए । कार्यक्रममा शितगंगा नगरपालिकाका जनप्रतिनिधिहरु, नगरपालिकाका योजना अधिकृत नुमलाल खनाल लगायतको उपस्थिति रहेको थियोे ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले प्रदेशमा छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा गृह जिल्ला रोल्पा पुगेका मुख्यमन्त्री महराले रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरिएको शहीद स्तम्भ र सुनिलस्मृति गाउँपालिका गजुलमा निर्माण गरिएको सुनिल पार्कमा रहेको किम बहादुर थपा (सुनिल)को शालिकमा माल्यार्पण गर्दै सो कुरा बताएका हुन् ।
'हामी अहिले सरकारमा सहभागी भएका दलहरूसँग छलफल गरिरहेका छौं र मलाई लाग्छ यो हप्ताभित्रै लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल विस्तार हुन्छ,' मुख्यमन्त्री महराले भने ।
मुख्यमन्त्री महराले यो देशलाई यो स्थानसम्म ल्याइपुर्याउने, ज्यानको बलिदान दिने सम्पूर्ण शहीद योद्धाहरुप्रति श्रद्धाञ्जली तथा घाइते अपाङ्गप्रति सम्मान र स्वास्थ्य लाभको कामनासमेत व्यक्त गरे ।
रोल्पा जिल्ला नयाँ ठाउँमा र नयाँ नेतृत्वमा पुगेको बताउँदै उनले प्रतिनिधि सभाका सांसद वर्षमान पुन संघीय मन्त्रालयको अर्थमन्त्री, प्रदेश सभा १ क बाट निर्वाचित आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री र प्रदेश सभा १ ख बाट निर्वाचित दीपेन्द्र कुमार पुन मन्त्री बनेको बताए । 'यो जिल्लाले दिएको माया, यो जिल्लाले दिएको भोटलाई हाम्रो पार्टी, अहिले बनेको सत्ता समीकरणले उच्च हिसाबले सम्मान र महत्व दिएको छ,' उनले भने ।
नव वर्ष २०८१ साल सुख, शान्ति, समृद्ध देश बनाउने वर्षको रूपमा परिचित होस् भनि उनले शुभकामनासमेत व्यक्त गरे । मुख्यमन्त्री महराले २०८० चैत ३० गते शुक्रबार प्रदेश सभाबाट मुख्यमन्त्रीमा विश्वासको मत लिएका हुन् । उनले लुम्बिनी प्रदेशसभामा ८६ सांसद मध्ये ४८ जना सांसदको साथ पाएका छन् भने नेपाली कांग्रेससहित २८ जना सांसदले मुख्यमन्त्री महराको विपक्षीमा मत दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री दीपेन्द्र कुमार पुनको पनि सहभागिता रहेको थियो ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
लालबाबु बानिया/मध्यान्ह
मधेश : मधेश प्रदेशमा चैती छठ पर्व मनाउन शुरु भएको छ । चैती छठ चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने गरिन्छ । चैती छठ पर्वको मुख्य दिन आइतबार व्रतालुले निराहार व्रत बस्ने परम्परा छ । शनिबार पहिलो दिन नहाए खाए विधि गरिएको छ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति खानेकुरा खाने गर्छन् । आइतबार षष्ठी तिथिका दिन निराहार व्रत बसी साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गइ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने परम्परा रहेको छ ।
अर्घ्य दिइने क्रममा फलफूल र ठेकुवा, कसारलगायतका परिकार राखिएको अर्घ्य उठाइ सूर्यदेवलाई देखाइन्छ । सो दिन गरिने विधिलाई मधेशमा ‘सझिआ अरघ’ भनिन्छ । सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यीनै प्रसाद सामग्री देखाएर अर्घ्य दिइ व्रत समापन गरिन्छ । यो विधिलाई बोलीचालीमा ‘भोरवा अरख’ भनिन्छ ।
शरद र वसन्त ऋतुमा गरी वर्षमा दुई पटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन सोमबार रौतहट, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाहीलगायत मधेश प्रदेशभरिका शहरी तथा ग्रामीण क्षेत्रको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धूमधामका साथ चैती छठ पर्व सम्पन्न गरिन्छ ।
छठ पर्वको बारेमा पौराणिक कथाअनुसार सत्ययुगमा भगवान श्रीराम, द्वापर युगमा दानवीर कर्ण र पाँच पाण्डवको पत्नी द्रौपदीले सूर्यको उपासना गरेको मान्यता रहेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले नेपालीहरूको नयाँ वर्ष भव्यरूपमा मनाएको छ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्रको अवसर पारेर आयोजना गरिएको आन्तरिक वनभोज तथा शुभकामना आदान प्रदानसहित मोना कतारले नयाँ वर्ष मनाएको हो ।
कार्यक्रम दोहा शहरबाट करिब ५० किलोमिटरको दुरीमा रहेको अलदोसरी पार्कमा शुक्रबार संघका अध्यक्ष राजु पौडेलको अध्यक्षता तथा कतार भ्रमणमा रहेका म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं ९ का चक्र केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । गीत गाउँदै नाच्दै रम्दै रमाउँदै म्याग्देली जम्मा भएर मनाइएको नयाँ वर्षलाई थप रौनकता दिन अन्ध निशान खेल प्रतियोगिता गराइएको थियो । ३० जना सहभागी उक्त खेलमा २९ जनालाई हराउँदै संघका कार्यसमिति सदस्य गंगा कँडेलले पुरुषकार जितेका छन् ।
कार्यक्रममा मोना कतारका संरक्षक तथा सल्लाहकारहरूले समेत शुभकामना मन्तव्य राखेका थिए । आफ्नो मन्तव्य राख्दै मोना कतार बहुउद्देश्यीय अक्षय कोषका अध्यक्ष विक्रम कार्कीले रोजगारीका लागि कतारमा आए पनि जन्मभूमिमा सक्ने सबै किसिमको सहयोग गरिएको बताउँदै मोना कतार र बहुउद्देश्यीय अक्षय कोषमार्फत समस्यामा परेकालाई उद्धार सहितका अभियानमा समेत साथ दिँदै आइरहेको बताए ।
संघका उपाध्यक्ष हेम बानियाँले स्वागत मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले व्यक्तिगत भ्रमणमा कतारमा आउँदा मोना कतार जस्तो प्रतिष्ठित संस्थाले आफूलाई दिएको स्थान र सम्मानको प्रशंसा गरे । केसीले मोना कतार सदैव जिल्लामा अग्रणी संस्था रहनुको रहस्यको भेद आफूले कतारमा आउँदा संस्थागत एकता देखेर बुझेको बताउँदै मोना कतारका हरेक गतिविधिमा जिल्लामा आफ्नो स्थानबाट साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
महासचिव शिव खड्काले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले संस्थालाई सबैको साझा बनाउन आफू लागी परेको बताउँदै संस्थामै आबद्ध हुन र सामाजिक कार्यमा हात मिलाउन उपस्थित समक्ष आग्रह गरेका थिए ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पामा एक साताभित्र आगलागीमा परेर ६ जनाले ज्यान गुमाएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका जलनबाट घाइते दुई बालककाे उपचारकाे क्रममा मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
सुं सामुदायिक वनमा भएकाे आगलागीम चैत २९ गते जलेर घाइते भएका १३ वर्षीय समन्त बुढा र ११ वर्षीय विवस बुढाकाे उपचारकाे क्रममा काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएकाे हाे ।
वनमा गुच्छी च्याउ टिप्न गएको बेला आगोमा परी रंग गाउँका कक्षा ४ मा पढ्ने ९ वर्षीया विवस बुढा, १० वर्षीय सुलस बुढा र १३ वर्षीय सुमन्त बुढा घाइते भएका थिए ।
घाइते सलस बुढाकाे उपचारका क्रममा जिल्ला अस्पताल दुनैमा चैत ३० गते निधन भएकाे थियाे । काठमाडौंमा उपचारत विवस र समन्तकाे भने उपचारकै क्रममा शनिबार निधन भएकाे आफन्त विकाश बुढा क्षेत्रीले जनाएका छन् । घाइते तीन जना बालकको मृत्यु भएपछि यतिबेला त्रिपुरासुन्दरी-४ को सिंगो गाउँ शोकमा डुबेको छ । मृतक बालकहरुकाे काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।
गत सोमबार मात्रै मष्टा भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न गएका सदरमुकामस्थित देविदत्त गुल्मका ३ जना सैनिकको मृत्यु भएको थियो । एक जनाको भने काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार भइरहेको छ ।
काठमाडौं : विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।
विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies