दैलेख : दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइ रहेका अवस्थामा नक्कली परीक्षार्थी फेला परेका छन् । गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ नक्कली परीक्षार्थीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको केन्द्राध्यक्ष निरक तारामीले जानकारी दिए ।
भाइको सट्टामा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन आएका उनको प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक भएको भेटिएपछि परीक्षा शुरु भएको १५ मिनेटमै परीक्षाबाट निष्काशन गरी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको थियो ।
केन्द्राध्यक्ष तारामीले भाइको लागि नक्कली परीक्षार्थी बनेका आरोपित सदरमुकामको त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी रहेको बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन विष्टले मुलुकी अपराध संंहिता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानूनी व्यवस्था रहेको जानकारी दिए ।
उनले जिल्लाभर २५ परीक्षाकेन्द्र भएको र पाँच हजार २५७ परीक्षार्थी रहेको जानकारी दिए । पहिलो दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको उनको भनाइ छ ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोट रास्कोट नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएको छ । नगरपालिकाभित्रका नागरिकहरुको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै सिंहदरबार गाउँघरमा आएको महसुसु गराउन नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता गरिएको हो ।
नगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता भएसँगै नगरवासीहरुको मुहार उज्यालो छाएको छ । स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै नगरपालिकाले एक लाखसम्मको स्वास्थ्य सुविधा निःशुल्क दिने समेत नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै नगर प्रमुख धर्मराज शाहीले स्वास्थ्य बीमाका लागि नगरबासीले तिर्नुपर्ने प्रिमियम नगर सरकारले तिर्नुका साथै रास्कोटीबासीहरुका लागि नगरसरकारले नै प्रिमियम तिरेर स्वास्थ्य बीमा गर्ने बताए ।
स्वास्थ्य नै धन हो भन्ने कुरालाई आत्मसाथ गर्दै जिल्ला अस्पताल कालीकोटपछि नगरपालिकामा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याउन नगर प्रमुख शाहीको महत्वपूर्ण भुमिका रहेको छ । नगरप्रमुख शाहीले स्थानीय तह, जनप्रतिनिधि र अगुवाको सहकार्यमा नगरपालिकाभित्रका सम्पूर्ण नगरिकलाई बीमाको पहुँचमा ल्याउने उद्देश्य रहेको बताए ।
नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम दुर्गम गाउँबस्तीमा प्रभावकारी हुँनुका साथै स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन् बढी सहयोग मिलेको रास्कोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनक न्यौपानेले बताए ।
‘पहिला–पहिला गोजीभरि पैसा बोकेर मात्रै अस्पताल जानुपर्ने अवस्था थियो । आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पिर हुन्थ्यो । अब नगर सरकार र स्वास्थ्य बीमा बोेर्डबीच सम्झौता भएसँगै बीमा कार्ड बोकेर अस्पताल जाँदा ढुक्कले उपचार गररे घर फर्कीन सकिने समेत स्थानीय टिकाराज उपाध्यायले बताए ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको मधुवन नगरपालिका वडा नं. १ पथ्थरबोझीमा सामुदायिक अन्न भण्डार भवनकोे शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख तेज बहादुर भाटले बिहीबार भवनकोे शिलान्यास गरेका हुन् ।
मधुवन नगरपालिका, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, स्थानीय समुदाय, उज्यालो नेपाल, जर्मन कोअपरेसन, ग्लोबल नेचर फण्ड, आईयुसीएन., एनईडब्लुएस खाता सामुदायिक वन समन्वय समिति, मधुवन नगरपालिका वडा नं. ३ को समन्वय र सहकार्यमा सामुदायिक अन्न भण्डार भवनको निर्माण थालिएको हो ।
घरमा भण्डार गरी राखिएको अन्न जंगली जनावर तथा हात्तीले खाएर नोक्सान गरिदिने समस्यावाट आजित भएका स्थानीयहरुलाई अन्न सुरक्षित राख्न सामुदायिक अन्न भण्डार निर्माण गर्न लागिएको उज्यालो नेपालका रमेशकुमार थापाले जानकारी दिए । करिब १२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने अन्न भण्डारबाट १ सय ३० घरधुरी लाभान्वित हुने थापाले बताए ।
हरेक वर्ष हात्तीलगायतका जंगली जनावरले घरमा भण्डार गरेर राखेको अन्न खाइदिने समस्यावाट आजित भएका स्थानीयहरु सामुदायिक अन्न भण्डार निर्माण हुने भएपछि हर्षित भएका छन् । स्थानीय धनिराम थारुले भने, ‘बल्ल अब हामीले राखेको अन्न बच्ने भयो ।’
शिलान्यास कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख भाट, वरिष्ठ संरक्षण अधिकृत अशोककुमार राम, मधुवन नगरपालिका वडा नं. १ का अध्यक्ष मीन बहादुर थापा, नगर प्रवक्ता मेक बहादुर गुरुङ, नगर सल्लाहकार विजय ओली, उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपाने, उज्यालो नेपालका रमेशकुमार थापा, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्री, हात्ती मेरो साथीका अध्यक्ष धनिराम थारु, अन्न भण्डार निर्माण समितिका अध्यक्ष भागीराम थारुलगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले सार्वजनिक सेवा प्रवाह कर्मचारीहरुको प्रमुख र पहिलो दायित्व भएको र दायित्वबाट पछि नपर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले चैत ६ गते गरेको सरुवामा अर्घाखाँची पदस्थापन भइ हाजिर भएका प्रमुख जिल्ला अधिकारी खत्रीलाई निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ खत्रीले नीति, नियम, विधि र पद्दतीलाई शिरोधार्य गर्दै सेवा प्रवाह गर्नु कर्मचारीको दायित्व रहेको बताए । उनले सेवा प्रवाहका सिलसिलामा निजामती कर्मचारीहरुलाई आइपर्ने समस्या र त्यसको निराकरण, समन्वय र सहजीकरण गर्न आफू तयार रहेको बताए ।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले कर्मचारीहरुको हकहितका साथै वकालत, सहजीकरण, समन्वय गर्नुका साथै जिल्लामा आउने नयाँ कर्मचारी र सरुवा भएर जाने कर्मचारीहरुको स्वागत, बिदाइ गर्ने कार्यक्रम अन्तर्गत स्वागत कार्यक्रम गरिएको सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्माले बताए ।
चुस्त दुरुस्त सेवा प्रवाहका लागि कर्मचारीहरुले कुनै कसर बाँकी नराख्ने बताउदै युनियनका नेताहरुले प्रमुख जिल्ला अधिकारीले खटाएको र लगाएको काममा बिना कुनै शर्त हरदम लाग्ने प्रतिवद्धता व्यक्त गरेको निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष दिपक पाण्डेले मध्यान्हलाई बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य दिलिप केसी, निजामती कर्मचारी युनियन अर्घाखाँचीका अध्यक्ष पाण्डे, निजामती कर्मचारी सगठनका जिल्ला अध्यक्ष गणेश भन्डारी, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादप सापकोटालगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी ऋषिराम भुसालको पनि स्वागत गरिएको थियो । प्रमुख जिल्ला अधिकारी खत्रीको प्रमुख आतिथ्यता, सिबिए अध्यक्ष बर्माको अध्यक्षतामा भएको कार्यक्रमसचिव दुर्गा बहादुर वि.क.ले सञ्चालन गरेका थिए ।
काठमाडौं : सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ३ जनामध्येबाट लम्साललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो । लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कायमुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।
यस्तै बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले चालु आर्थिक वर्ष २०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ भने १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।
काठमाडौं : नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मातहतका प्रहरी युनिटमा उक्त परिपत्र गरिसकिएको जानकारी दिए । “त्यस कार्यालय तथा मातहतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ”, परिपत्रमा भनिएको छ ।
प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियारले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रलाई पनि प्रतिवादी बनाइएको छ ।
यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी र कविन्द्रराज मल्लविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । विशेष अदालतमा दायर मुद्दामा उनीहरूविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
धनकृष्ण विक/मध्यान्ह
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका-७ पान्डुसैनकी अमिसा कार्की कलिलै उमेरमा पाइलट बन्ने भएकी छन् । बाजुराजस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन् । उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन् ।
उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए । उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सक्ने बताए । उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् भने काठमाडौंबाट १२ पास गरेर साउथ अफ्रिका उडेकी थिइन् ।
अमिसा मीनकी जेठी छोरी हुन् । मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन् । उनी बाजुराकै पहिलो महिला पाइलट भएको दाबी गरिएको छ । अहिले उनलाई बधाई दिनेको समेत ओइरो लागेको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य मन्त्रालयमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष २६ बुँदे सुझावपत्र पेश गरेको छ । प्रतिनिधिसभा सदस्य तथा रास्वपाका स्वास्थ्य विभाग प्रमुख डा तोसिमा कार्की नेतृत्वको टोलीले उक्त सुझावपत्र दिएको हो ।
आपतकालीन स्वास्थ्यसेवालाई राज्यको पूर्ण दायित्वभित्र पार्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै यसलाई सशक्त, सहज र पारदर्शी बनाउनुपर्ने, उपचार तथा स्वास्थ्य सेवामा शुल्क निर्धारणका विषयमा पुनरावलोकन हुनुपर्ने, चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न जति सक्दो छिटो आवश्यक दरबन्दी सिर्जना गर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएको छ ।
त्यसैगरी रास्वापाले अस्पताल तथा स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरणको अवस्था बुझ्न, स्वास्थ्य क्षेत्रका नियमनकारी निकायलाई थप सक्रिय गराई समन्वयात्मक ढाँचामा स्वास्थ्यसेवा प्रदायकको अनुगमन र नियमनलाई तीव्र बनाइनुपर्ने र दीर्घकालीन रुपमा सबै नियामक गाभी ‘स्वास्थ्यसेवा नियमन परिषद्’ गठन गर्नुपर्ने सुझाव दिएको छ ।
सुझाव पेश गर्दै डा कार्कीले भने, “हामीसँग स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञको टोली छ । स्वास्थ्यका विषयमा हामीले गृहकार्य गरेका छौँ । हामी सहयोग र सहकार्य गर्न तयार छौं ।”
सुझावपत्र बुझ्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा थुप्रै सुधारको आवश्यकता रहेको उल्लेख गर्दै भने, “मुख्य कुरा त अस्पतालमा आम नागरिकले राम्रो स्वास्थ्य सेवा पाउनुपर्यो । उपकरण र जनशक्तिको आवश्यकता रहेको छ ।” उनले दिइएका सुझावलाई अवलम्बन गर्दै आवश्यक परेका बेलामा सहयोग माग्ने प्रतिबद्धता व्यक्त गरे ।
विभागका सल्लाहकार डा सुवास प्याकुरेलले स्वास्थ्य क्षेत्र कसरी नागरिक तथा बिरामीमैत्री बनाउनेलगायतका विषयमा सुझाव दिएको बताए । उनले भने, “स्वास्थ्य क्षेत्रको गुणस्तरीयतामा सम्झौता गरिनुहुन्न । स्वास्थ्य क्षेत्रलाई तथ्यांक केन्द्रित बनाउन आवश्यक छ । रगत व्यवस्थापन र एम्बुलेन्सको गुणस्तरलगायत बुँदाबारे चर्चा गरेका छौँ ।”
चिकित्सक, स्वास्थ्यकर्मी एवम् स्वास्थ्य संस्थाको सुरक्षाका सन्दर्भमा विद्यमान कानुनलाई कडाइका साथ लागु गनुपर्ने, औषधि उत्पादनमा गुणस्तर सुनिश्चित हुने गरी नीति परिमार्जन गरिनुपर्ने, अनलाइन टिकटको व्यवस्था, इ–फलो अप, टेलिमेडिसिन, डिजिटल हेल्थ कार्डजस्ता सेवामुखी प्रविधिलाई उच्च प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएका छन् ।
विभागका उपप्रमुख डा पुष्पमणि खरालले दरबन्दीमा जोड दिँदै भने, “दरबन्दी बढाउनका लागि संघीय सरकार अग्रसर हुनुपर्छ । विदेशमा रहेका स्वास्थ्यकर्मीलाई नेपालमै बसेर काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : वैदेशिक रोजगारी तथा व्यवसायका लागि आकर्षक गन्तव्य देश हो कतार । विश्वका एक सय पाँच देशका करिब २५ लाखभन्दा बढी आप्रवासी नागरिकहरूले कतारलाई आफ्नो सपना पूरा गर्ने देशका रूपमा संघर्ष गरिरहेका छन् । यीमध्ये करिब साढे तीन लाख नेपालीले कतारलाई कर्मथलो बनाइरहेका छन् । कतारमा विद्यार्थीदेखि व्यवसायी र कामदारहरू रहेका छन् । उच्च शिक्षा हासिल गर्न नेपालबाट सिधै कतार आएका बाहेक प्राथमिक तथा माध्यमिक तहको पढाइ गर्न कतारमा नेपाली विद्यालय छैन । विद्यालय मात्र होइन नेपाल र नेपाली चिनाउन पुलको काम गर्न सक्ने कल्चरल हाउस पनि छैन ।
कतारमा नेपाली दूतावासको स्थापना सँगसँगै नेपाली विद्यालय र कल्चरल हाउसको कुरा उठे पनि यसले सार्थकता भने पाएको छैन । प्रवासमा रहेका नेपालीहरूको साझा संस्थाको रूपमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि केही वर्षदेखि दुवै मुद्दालाई जोडतोडले उठाए पनि नतिजा निस्किन नसकिरहेका बेला यहाँस्थित नेपाली दूतावास, नेपाल व्यवसायी संघ र एनआरएनए एनसीसी कतार तदारुकताका साथ लागिरहेका छन् ।
नेपालीहरूका लागि अति आवश्यक रहेको नेपाली विद्यालय तथा कल्चरल हाउस सञ्चालनमा सहयोगको अपेक्षासहित यही साता कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकालको नेतृत्वमा नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई, उपाध्यक्षद्धय नरेन्द्र भाट र राज रेग्मीसहित एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट र प्रथम उपाध्यक्ष कृष्ण पन्थीको टोलीले कतार च्यारिटीका अन्तर्राष्ट्रिय योजना कार्यक्रम प्रमुख नवाफ अब्दुल्लाह अल हम्मादीसँग भेट गरेका छन् । च्यारिटी प्रमुखसँगको भेटमा नेपालीका लागि अति आवश्यक विषयमा छलफल भएको थियो । छलफलमा योजना प्रमुख अल हम्मादीले कल्चरल हाउस सञ्चालनका लागि आफ्नोतर्फबाट हरेक किसिमको सहयोग गर्न आफू तयार रहेको बताए ।
कतारको विकास र समृद्धिका लागि नेपालीको योगदानको प्रशंसा गर्दै उनले नेपाली विद्यालय सञ्चालनका लागि पनि आवश्यक सहयोग गर्न कतार च्यारिटी सदैव तत्पर रहेको बताए । राजदूत ढकालले आफू राजदूत नियुक्ति भएर आएदेखि नै नेपाली श्रमिकदेखि नेपाल राष्ट्रको हितको खातिर कार्यसम्पादन गरिरहेको बताउँदै कतारका अमिर शेखको नेपाल भ्रमण, कतारमा नेपाली विद्यालय, कल्चरल हाउस र नेपाली उत्पादनलाई नेपाल व्यवसायी संघ कतारसँग मिलेर यहाँको स्थानीय बजारमा पुर्याउनु आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए ।
नेपाली विद्यार्थीहरुले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अध्ययन गर्दा शैक्षिक गुणस्तर पनि बढ्ने र नेपालका धेरै विषयलाई अन्तर्राष्ट्रियकरण गरेर अन्य देशका विद्यार्थीलाइ पनि नेपालको कला तथा भौगोलिकताका बारेमा अध्ययन गराउन सकिने हुँदा विद्यालय र कल्चरल हाउसको अनिवार्य आवश्यकता रहेको व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईको भनाइ छ । उनले शिक्षासँगै कला र कल्चरल हाउसले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र यसले कतारबाट नेपालमा पर्यटक भित्र्याउन पनि पुलको काम गर्ने बताए ।
कतारमा विभिन्न समस्यामा रहेका नेपाली श्रमिकको सहयोगार्थ डिजिटल च्यारिटी बक्सको व्यवस्था गरिदिन आग्रह गरेको र अल हम्मादी सकारात्मक रहेको छलफलमा सहभागी एनसीसी कतारका अध्यक्ष रमेश भट्टले बताए । भट्टले पछिल्लो समय नेपाली समुदायले गरेको जनचेतनाका कार्यक्रमबाट च्यारिटी प्रभावित भएको आफूहरूले पाएको बताए । कल्चरल हाउस “मिनी नेपाल”का रूपमा रहने बताउँदै एनिसिसी कतारका प्रथम उपाध्यक्ष पन्थीले छिट्टै नै सामुन्द्रिक तट सफाइ, ट्राफिक सचेतना तथा सामाजिक सुरक्षा तथा स्थानीय कानूनसम्बन्धी सचेतना कार्यक्रम गर्ने योजना छलफलमा पेस गरेको बताउँदै श्रमिकको हितका लागि कार्य गर्न आफू तत्पर रहेको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies