मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : कतारका राष्ट्र प्रमुख राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । थानी सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका राजा हुन् ।
परराष्ट्र मन्त्रालय सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईका अनुसार कतारका राष्ट्र प्रमुख राजा थानी मंगलबार अपराह्न नेपाल आइपुग्नेछन् । राजा थानीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल आफैँ उपस्थित हुनेछन् । उनको सम्मानमा सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । मंगलबार राति राष्ट्रपति पौडेलले रात्रिभोज दिनेछन् ।
‘कतारी राजा थानीलाई राष्ट्रपतिले राजकीय भोज दिनुहुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्ने लगायत कार्यक्रम छन्’, परराष्ट्र मन्त्रालयका प्रवक्ता राई भन्छन्, ‘श्रम सम्झौता, युवा तथा खेलकुद र थप केही विषयमा छलफल हुनेछ ।’
कतारी राजा थानीको नेपाल भ्रमण दुई दिनको हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाली पक्षबाट भ्रमणको सबै तयारी पूरा भइसकेको छ ।
नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ । भ्रमणको दोस्रो दिन राजा थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । भेटवार्तामा श्रम सम्झौता, युवा तथा खेलकुद र थप केही विषयमा छलफल हुनेछ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
कतार नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक हो । यसकारण पनि कतारी राजाको नेपाल भ्रमणलाई नेपालीहरुले चासोका साथ हेरेका छन् । तर श्रम सम्झौताको विषयमा ठोस् सहमति भन्दा छलफल हुने वातावरण मात्रै बनेको परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउन कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताबीच सम्बन्ध स्थापित गर्ने र यसमार्फत अगाडि बढ्ने दुवै देशको चाहना छ ।
कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।
प्रधानमन्त्रीको वार्तापछि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा थानीले समेत सम्बोधन गर्नेछन् । कतारी राजा थानी राष्ट्र प्रमुख भएकाले उनको अभिव्यक्ति समेत श्रम सम्झौताको विषयमा अर्थपूर्ण हुनेछ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार यो कतारबाट नेपालमा भएको अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । यसअघि गत वर्ष कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।
हमासको नियन्त्रणमा नेपालका युवा विपिन जोशी रहेका छन् । नेपालले उनको रिहाइका लागि कतारको सहयोग माग गर्दै आएको छ । कतारी राजाको थानीको नेपाल भ्रमणका क्रममा यो विषय उठाइदिन पनि विपिन जोशीको परिवारले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्दै आएको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री तहमा हुने वार्तामा यो विषय उठ्न सक्नेछ । कतारी राजा थानी बुधबार नै स्वदेश फर्किनेछन् ।
काठमाडौं : तराईको अधिकांश जिल्लामा निरन्तर तापक्रम बृद्धि र तातो हावा (लू) चलेकाले जनजीवन कष्टकर बनेको छ । पछिल्लो एक साता यता निरन्तर तापक्रम बढ्दा हिडडुल गर्न सकस हुँदै गएको छ ।
एक्कासी मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका, बृद्ध बिरामी हुन थालेका छन् । हावा हुरी उडाएको धुलोका कारण आँखा दुख्ने समस्या बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार भैरहवाको उच्चतम तापक्रम ४०.९ डिग्री मापन गरिएको छ । यस्तै सिमारामा ४० डिग्री, जनपुरमा ३९.४ डिग्री र नेपालगञ्जमा ३८.४ डिग्री पुगेको छ । वैशाख महिना सुरु भएसँगै गर्मी बढेको विभागले जनाएको छ । विभागले आगामी पाँच दिनसम्म तातो हावा (लु)को सम्भावना रहकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
तापक्रम बढ्दै गएपछि विभागले आगामी केही दिनमा तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
बैशाख १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको छ । आगामी दिनमा पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न बिभागले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि समस्या देखिन्छ ।
तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस लयायत प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : नेपाल पत्रकार महासंघ हुम्लाले नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष स्वर्गिय जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट नबराज महतारालाई सम्मान गरेको छ ।
पत्रकार महासंघ हुम्लाको ८ औँ जिल्ला अधिवेशन तथा साधारणसभामा स्वर्गिय जय बहादुर रोकायाको सम्झनामा स्थापना गरिएको जय बहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कारबाट महासंघका पूर्व केन्द्रीय सदस्य महतारालाई पुरस्कृत गरिएको हो ।
रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर समेत रहेका महतारालाई समानपत्रसहित नगद रु १० हजार रासिको रोकाया स्मृति पत्रकारिता पुरस्कार दिएको हो ।
कार्यक्रममा महासंघले विभिन्न विधाका ३ जना क्रियाशील पत्रकारलाई सम्मान गरिएको छ । त्यसै लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय समाचार समिति (रासस) हुम्ला प्रतिनिधि हरिबहादुर रावत र रेडियो कैलाशमा कार्यरत पत्रकार छपाल लामालाई समेत समानपत्रसिहत दोसल्ला ओडाएर नगद रु दुईसहित सम्मान गरिएको महासंघ हुम्ला शाखाका उपाध्यक्ष राज शाहीले बताए ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : गर्मीयाम बढेसँगै डढेलोका कारण अर्घाखाँचीमा सबैभन्दा बढी क्षति भएको छ । शनिबार अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ र ४ को रातामाटा गाउँमा आगलागीबाट २७ घरगोठ जलेर नष्ट भएको नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले बताए । आगलागीका कारण भूमिकास्थान ३ रातामाटाका झण्डै १३ घर परिवार विस्थापित भएको स्थानीयबासिले बताएका छन् ।
आगोले घरनै नष्ट पारेपछि गाउँका अग्नी पीडितहरु छिमेकीको घरमा पुगेर बसेको र अहिले उनीहरुलाई बिहान बेलुका खान मुस्किल परेको वडाध्यक्ष कृष्णप्रसाद बञ्जाडेले बताए ।
‘शनिबार दिउँसोदेखि राति अबेरसम्म रातामाटा वनमा आगो लागेको थियो, एक्कासी ठूलो हावाहुरी आयो,’ बन्जाडेले भने, ‘हेर्दाहेर्दै घर घरगोठ जलेर नष्ट भए, हावाहुरीले वनमा आगो फैलियो, आगो नियन्त्रण गर्ने प्रयास गर्दा गर्दै सम्भावना भएन ।’ घर पुरै जलेर विस्थापित भएका १३ घरपरिवारलाई तत्काल अस्थायी घर बनाएर बस्ने व्यवस्था मिलाउन लागिएको वडा अध्यक्ष बन्जाडेले बताए ।
नेपाल रेडक्रस, सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले अग्नी पीडितलाई त्रिपाल कम्बल, पकाउने खाने भाडा, केही लत्ताकपडा वितरण गरेको रेडक्रस अर्घाखाँचीका मन्त्री तुल्सी पौडेलले बताए ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको नेतृत्वमा धारापानी पुगेका सुरक्षा निकाएका टोली र उद्योग वाणिज्य संघको सहयोगमा केही खाद्यान्न राहत वितरण गरिएको छ ।
शनिबार दिउँसो देखि रातभर लागेको आगोले ठूलो क्षति पुर्याएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले बिहानपख मात्रै वन र गाउँको आगो नियन्त्रणमा लिएका वरिष्ठ डिभिजन वन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए । रातामाटामा झण्डै ६० लाख भन्दा बढीको धनमाल, अन्नपात, सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
धारापानीका अग्नी पीडितहरु यतिबेला राहतको पर्खाइमा छन् । भूमिकास्थान नगरपालिका वडा नं. ३ का अग्नी पीडितलाई नगरपालिकाले राहत दिने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचर्यले बताए । यता पाणिनी गाउँपालिका, सितगंगा नगरपालिकाका विभिन्न ठाउँहरुमा आगलागी हुँदा केही घरगोठ जलेर नष्ट भएका छन् ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : हिमाली जिल्ला डोल्पामा काठमाडौं युरेका क्लबले गुणस्तर शिक्षा प्रदानका डिजिटल प्रविधि मैत्री विद्यालय बनाउन प्रोजेक्ट सञ्चालन गरेको छ ।
डोल्पा जिल्लामै पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा १ सार्कीटोल स्थित हिमज्योति आधारभूत विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउन काठमाडौं युरेका लियो क्लबले करिब तीनलाख लागतमा सूचना प्रविधि मैत्री डिजिटल सामग्रीसहित प्रोजेक्ट सञ्चालन गरेको क्लबका अध्यक्ष सृजन अर्यालले जानकारी दिए ।
उनका अनुसार विद्यालय अव पूर्व रूपमा डिजिटल प्रविधि मैत्री बनेको छ । काठमाडौं युरेकालियो क्लवले विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउन १ सेट ४३ इन्चको टेलिभिजन, २ सेट सीपीयु , किबोर्ड ४ सेट, माउस २ सेट, २ मनिटर, एउटा प्रिन्टर, २ बण्डल पेपर, युपीएस १ थान गरी करिब ३ लाख बराबरको सामान सहयोग गरिएको क्लबका अध्यक्ष अर्यालले बताए ।
त्यस्तै विद्यालयलाई चाहिने आवश्यक सफ्टवेयर समेत प्रदान गरिएको छ । आज सोमबार नै त्रिपुरासुन्दरी नगरपालिकाका नगर प्रमुख जनचन्द्र रोकायले हिमज्योति आधारभूत विद्यालयलाई डिजिटल मैत्री विद्यालयको रुपमा उद्घाटन समेत गरेका छन् ।
सोमबार विद्यालयमा एक औपचारिक कार्यक्रम गर्दै विद्यालयलाई डिजिटल प्रविधि मैत्री विद्यालयको रूपमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रोकायाद्वारा उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रोकायले दलित, पिछडिएका वर्गको बस्तीमा भएको विद्यालयलाई यति ठूलो सहयोग गरी डिजिटल मैत्री बनाइदिनु भएकोमा काठमाडौं युरेका लियो क्लबलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र कुलालले हिमाली जिल्ला त्यसैमाथि दुर्गम जिल्लामा अवस्थित यस विद्यालयलाई डिजिटल प्रविधि मैत्री बनाउनका लागि काठमाडौंदेखि आएर यति ठूलो सहयोग गर्नु भएकोमा सहयोगी संस्था र क्लबका पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एबम् कार्यक्रमका सभाध्यक्ष बम बहादुर सार्कीले आफ्नो विद्यालयमा यति राम्रो प्रोजेक्ट सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने त्रिपुराकोट निवासी लक्ष्मी प्रसाद देवकोटालाई विशेष धन्यवाद व्यक्त गरे । देवकोटासँगै काठमाडौं युरेका लियो क्लबका अध्यक्ष अर्याल, क्लबका पूर्व अध्यक्ष युवराज पराजुली, क्लबका उपाध्यक्ष र क्लबकी क्रियाशील सदस्य कुसुम पौडेललाई विद्यालयको तर्फबाट धन्यवाद समेत दिएका थिए ।
विद्यालयका प्रधानाध्यपक मनबहादुर सार्कीद्वारा सञ्चालन गरिएको विद्यालयलाई डिजिटल मैत्री विद्यालय उद्घाटनको औपचारिक कार्यक्रममा आगन्तुक पाहुनाहरुलाई विद्यार्थीहरुद्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा आएका सहयोगी पाहुना तथा अतिथि गणहरुलाई विद्यालयका अभिभावकले स्वागत तथा सम्मान समेत गरेका थिए ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका वडा ७ रोडिकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय रिता देवकोटा हमाल रहेकी छन् ।
आइतबार राति १२ बजे उनको मृत्यु भएको रोडिकोट स्वास्थ्यचौकीका इन्चार्ज टिका बोहराले बताए । बच्चा जन्मिएको तीन घण्टापछि उनको मृत्यु भएका हो ।
आइतबार राति ९ बजे बच्चा जन्माएर १२ बजे उनको रगत धेरै बगेरका कारण मृत्यु भएको स्वास्थ्य चौकी स्रोतले जनाएको छ ।
उनलाई शुक्रबार राति सुत्केरी बेथा लागेपनि आफन्तले परम्परागत भूतप्रेत लागेको भन्दै देवी देवताको विश्वास गरेर घरमै राखेका थिए । उपचार ठिक नभएपछि एक दिन ढिलो गरी देवकोटालाई आइतबार राति स्वास्थ्य चौकी पुर्याएको थियो ।
स्वास्थ्य चौकीमा ढिलो गरी ल्याउँदा यो समस्या आएको स्वास्थ्य चौकी इन्चार्ज बोहराले बताए । मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या देखिएको बताइएको छ ।
गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन फोन नउठेको स्वास्थ्य चौकीले जनाएको छ । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको आफन्तले बताएका छन् ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको पोखरिया नगरपालिकामा रहेको शिव मन्दिरको प्राणप्रतिष्ठा, शिव महापुराण कथा ज्ञान महायज्ञको अवसरमा सोमबार कलश यात्रा गरिएको छ । शिव मन्दिर प्राङ्गणबाट ७ सय ५१ जना कन्या कुमारीहरु कलश जलयात्रामा सहभागी भएका थिए ।
शिव मन्दिर प्राङ्गणबाट बाजागाजासहित निस्किएको कलश यात्रा पोखरीया बजार, सेमरबारी चोक हुँदै भदराहा मन्दिर नजिक रहेको उत्तरवाहनी नदीमा जल भरेर पुनः पोखरिया शिव मन्दिर स्थलमा पुगेर कलश राखिएको थियोे । पोखरियामा रहेको एतिहासिक शंकर भगवानको शिव मन्दिर रहेकाले नवनिर्मित शिव मन्दिरको प्राणप्रतिष्ठाको लागि कलश यात्रा निकालिएको थियो । शिव मन्दिरको संरचना पुरानै रहेकोले नगरपालिकाको सहयोगमा मन्दिरको निर्माण गरी सो नवनिर्मित शिव मन्दिरमा प्राणप्रतिष्ठा गर्ने भएको पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले बताए ।
पोखरिया मन्दिरबाट निस्किएको कलश जल यात्रामा पूर्व मेयर दिपनारायण रौनियारले पाँच वर्षपछि निर्माण कार्य सम्पन्न भएर शिव मन्दिर प्राणप्रतिष्ठा भएको बताए ।
कलश यात्रामा संविधान सभा सदस्य रामेश्वर रौनियार, उपमेयर रुवी ठाकुर, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीबास्तव, वडा अध्यक्ष लक्ष्मण साह, रामप्रवेश चौहान, महेन्द्र महतो, प्रमोद गिरी, नौसाद आलम, प्रमान्नद कुर्मी, सोनालाल साह गोढ, सियान्नद चौहान, किशोरी साह, केदार महतो, नेता नजामुदिन समानी, राजु साह, सशस्त्र प्रहरी बल पोखरीयाका डिएसपी बिक्रममणी अधिकारी, ईप्रका पोखरियाका प्रनि मोहन बिक्रम केसीलगायत जल यात्रामा महिला, पुरुष बालबालिकाहरु गरी ४ हजार भन्दा बढी भक्तजनहरुको सहभागिता रहेको थियो ।
भारत मोतिहारीका आचार्य रामप्रकाश गर्ग जी महाराजले पुजापाठ र प्रवचन गराउने छन । भारत अरेराजका आचार्य सुशील कुमार मिश्रा, आचार्य विशाल तिवारीले वैशाख ११ गते महापुरान कथा शुरु गर्ने, वैशाख १२ र १३ गते प्रवचन पुजापाठ गरिने शिवमन्दिरको प्राणप्रतिष्ठा १४ गते हुने र शंकर भगवानको मूर्ति स्थापना हुने आयोजक कमिटीले जनाएको छ ।
शिव मन्दिरको निर्माण कार्य ०७५/७६ सालमा १ करोड ९८ लाखमा अर्चना कन्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो ।
काठमाडौं : रौतहटबाट शुरु भएको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’अभियान अन्तर्गत सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । दैशकै पहिलो धार्मिक तथा पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेसमान्तक वनमा नेपाल सरकारका गृहसचिव एकनारायण अर्यालको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त अभियानको कार्यक्रममा बोल्दै नेपाल सरकारका गृहसचिव अर्यालले नेपालको नयाँ र पहिलो यो अभियानमा समेल हुने अवसर पाएकोप्रति खुसी व्यक्त गर्दै भने,‘हामी सबै सकारात्मक सोचका साथ यो कार्यक्रममा उपस्थित भएका छौँ । पछिल्लो समयमा समाजमा फैलिएको विकृति विसंगतीलाई अन्त्य गर्ने उद्देश्यदले समाजमा आफ्नो संस्कारलाई व्यवहारमा लागु गर्न समाजमा सकारात्मक सन्देश पनि दिइरहेका छौँ । समाजमा रहेका विभिन्न वर्ग तथा समुदायका व्यक्तिहरुलाई समाजका अगुवाहरुले जनचेतना फैलाउन आवश्यक छ । प्रत्येक नेपालीहरुले आ–आफ्नो जन्मदिनमा एक÷एक बिरुवा रोपण गर्ने खालको सन्देश समाजमा फैलाउनु थियो, त्यो आज पूरा भएको छ ।’
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट शुरु भएको ‘जन्मदिनलाई सत्कर्मसँग जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दन लगायतका बिरुवाको रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंले बताए ।
उनले यो अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी कलाकार, पत्रकार तथा समाजका अगुवा सबैजनाले आ–आफ्नो क्षेत्रबाट अगाडि बढाउन लागि पर्न उनले आग्रह गरे । आयोजक संस्थाका अध्यक्ष तथा अभियानका संयोजक चौलागाईं प्रति आभार प्रकट गर्दे यो अभियानलाई देशका ७७ वटै जिल्ला र ७ सय ५३ वटै स्थानीय तहसम्म पुर्याउन आवश्यक रहेको पनि उनले बताए ।
अध्यक्ष चौलागाईंले जन्मदिनलाई सत्कर्मसँग जोडेर परिवेश अनुसार फरक–फरक कार्यक्रमहरु गरेर यो अभियानलाई अगाडि बढाउने बताउँदै उनले भने, ‘यो नेपालकै नौलो अभियान हो । यो अभियान एउटा वृक्षारोपणसँग मात्र सम्बन्धित नभएर हरेक क्षेत्रहरुसँग सम्बन्धित रहेको छ । खासगरी वेसाहराको साहार बन्ने हिसाबले हामी यो अभियान अन्तर्गत अगाडी बढिरहेका छौँ । आम नेपाली नागरिकको सहयोगी भावनालाई उजार गर्नका निम्ती हामीले यो अभियानको आयोजना गरेका छौँ । हामीले आफ्नो संस्कार र सभ्यताको परिचय दिन आफैंबाट सुरुवात गर्नुपर्ने हो ।’ कुनैपनि व्यक्तिले कुनै व्यक्तिको कामको आलोचना नगरी नतिजा दिने गरी काम गर्न उनले आग्रह गरे । नेपालको नौलो तथा पहिलो यो अभियानमा कुनै व्यक्ति तथा संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग नमागेको र नलिएको पनि उनले बताए । यो अभियान काठमाडौंमा मात्र नभइ देशभर नै फैलाउनमा सरोकारवाला सबैले लागि पर्नुपर्ने आवश्यक रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । अबको नेपाली समाजलाई सभ्यता अनुसार अगाडि बढाउन सत्कर्म आवश्यक रहेको उनको भनाइ छ ।
जन्मदिनलाई सत्कर्मसँग जोडेर विदेशी नागरिकले पनि यहाँकोे सिको गर्न सक्ने खालको सकारात्मक नतिजा दिन हरेक व्यक्तिले आ–आफ्नो तर्फबाट यो अभियानसँग जोडिएर लागिपर्न पनि आयोजक संस्थाका अध्यक्ष तथा संयोजक चौलागाईंले अनुरोध गरे । सो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा आफुलाई खुसी लागेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अब यो अभियानलाई देशव्यापी हुँदै विश्वब्यापी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी भएर आफुले यो अभियानसँग जोडिएर आफ्नो तर्फबाट बिरुवा रोपण गर्न पाउँदा ज्यादै हर्षित भएको बरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मुर्तिले बताए ।
‘हरियो वन नेपालको धन’भन्ने नारालाई सबैले व्यवहारमा उतार्न पनि उनले जोड दिए । अर्थमन्त्रालयकी सहसचिव पार्वर्ती शर्मा काफ्लेले यो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने र राष्ट्रलाई समृद्ध बनाउन मद्दत हुने बताइन् । मन्त्रालयमा सचिव कृष्णहरी पुस्करको समेत एक्यवद्धतासहितको शुभकामना रहेको सहसचिव काफ्लेले कार्यक्रममा जानकारी गराइन् । यो अभियानमा अर्थ मन्त्रालयबाट हुन सक्ने भरपुर सहयोग रहने उनले बताइन् ।
यस्तै, कार्यक्रममा कलाकारहरुको तर्फबाट बोल्दै चर्चित अभिनेत्री, निर्देशक तथा निर्माता दीपाश्री निरौलाले यो अभियान समाज तथा राष्ट्र हुँदै विश्वकै लागि एकदमै सकारात्मक भएको बताइन् । कलाकारहरुको तर्फबाट हुनसक्ने गर्न सकिने पहल तथा सहयोग आफुहरुले गर्ने जानकारी गराउँदै उनले भनिन्,‘वर्तमान समाजमा भइरहेका नकारात्मक क्रियाकलापहरुलाई हटाउँदै सभ्य समाज निर्माण गर्न जन्मदिनको अवसरमा सत्कर्मको थालनी गर्न आवश्यक छ । यो अभियान निकै स्वागत योग्य छ ।’
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, काठमाडौंका प्रमुख जिल्ला वन अधिकृत पुष्पराज बतौला, काठमाडौं जिल्ला बन अधिकृत क्षेत्र बिक्रम खाँण, मध्यान्ह राष्ट्रिय दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठ, वरिष्ठ पत्रकार तथा मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार जीवराम भण्डारी, वरिष्ठ अधिवक्ताहरु स्वागत नेपाल, उद्धव चौलागाईं, गोपाल श्रेष्ठ, नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्यय र मनोज थापा अभियान्ताको उपस्थिति रहेको थियो ।
यस्तै फिल्म निर्देशक तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी, अभिनेत्री तथा निर्माता केकी अधिकारी, नायक आरएन सिग्देल, अभिनेता प्रदिप खड्का, अभिनेत्री रजनी केसी, अभिनेत्री तथा मोडल मालिका महत, हालका चर्चित गायक युवराज चौलागार्इं, गायिका सुनिता दाहाल, समाजसेवी पवन अग्रवाल, राष्ट्र सेवक कर्मचारी तथा, नागरिक समाजका अगुवा मैयादेवी अर्याल, गौरीघाट समाजसेवी श्यामप्रसाद गौतम, समाजसेवी डम्बरप्रसाद चौलागाईं, शिक्षाविद् ज्ञानप्रसाद चौलागाईं, अधिवक्ता गोपाल श्रेष्ठ, नेपाल कराँते महासंघका पूर्व अध्यक्ष तथा समाजसेवी दमन बस्नेत, समाजसेवी राजमणी श्रेष्ठलगायत विभिन्न संस्थाका कर्मचारी तथा प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यसअघि सोही अभियान अन्तर्गत काठमाडौंको तीनकुने र ललितपुरको लाकुरी भन्ज्याङमा पनि जन्मदिनमा यो अभियानले वृक्षारोपण गरिएको थियो ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले विपिन अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार राजधानी लिस्बनमा सम्पन्न भएको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा विशाल पराजुली, तुल बहादुर गुरुङ, गणेश गैरे र क्षितिज गौचन चयन भएका छन् । समाजको महासचिवमा ऋषि सुवेदीलाई चयन गरिएको छ । अधिवेशनले सचिवमा मणि सुवेदी र शेरबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा दिक्षा पौडेल र सहकोषाध्यक्षमा पुरन बहादुर कुँवरलाई चयन गरिएको छ ।
समाजको सदस्यहरुमा टाप बहादुर राना, भरत थापा, अनमोल केसी, खगेन्द्र भण्डारी, खेमराज न्यौपाने, राजेश पंगेनी, शान्ता थापा, सन्ध्या आचार्य, मिना गुरुङ, प्रनिता अर्याल, अन्जु गहतराज, रबिन थापा मगर, एकेन्द्र गुरुङ, सुवास सुबेदी, गोबिन्द शाही, रमेश जिटी, दुर्गा थापा, नरेश पाठक, चन्द्रमान केसी, फत्त बहादुर गुरुङ र लक्ष्मण पौडेल सर्वसम्मत चयन भएका छन् ।
समाजका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, एनआरएनए आईसीसी सदस्य राजकुमार थापा, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एमपी अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गुल्मी : मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउनेलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुर्कोट गाउँपालिका‐६ रजस्थलका ५९ वर्षीय रेखबहादुर परियार रहकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।
परियारले मादक पदार्थ सेवन गरी आइतबार राति आफु बस्ने घरमा आगो लगाएका थिए । आगो लागेपछि घरभित्रका अन्नपात, लत्ताकपडा जलेर पूर्णरुपमा नष्ट भएको छ । अन्य समयमा पनि परियारले मापसे गरी गाउँमा होहल्ला गर्ने र छिमेकीको घरमा आगो लगाइदिन्छु भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा आगो लगाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक पोखरेल नेतृत्वको टोलीले परियारलाई पक्राउ गरेको थियो । उनलाई प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
घरमा आगो लागेपछि अलपत्र परेकी रेखबहादुरकी श्रीमती सीता परियारलाई आज जिल्ला प्रशासन कार्यालयले तत्कालका लागि राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी, नेपाल रेडक्रसले पनि पीडित परिवारलाई भाँडाकुँडा, त्रिपाल र लत्ताकपडा उपलब्ध गराएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies