कैलाली - सरकारमा सहभागिताको विषयमा छलफल गर्न नागरिक उन्मुक्ति पार्टी नाउपाको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक कैलालीको टीकापुरमा जारी छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नाउपाका संस्थापक र सांसदहरुको बैठक बसिरहेको हो । बैठकमा संस्थापक २१ जना र सांसद १६ जना सहभागी छन् । संरक्षक रेशम चौधरी भने विदेशमा रहेकाले यो बैठकमा सहभागी छैनन् ।
यो बैठकले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे निर्णय लिने अध्यक्ष चौधरीले जानकारी दिइन् । एमाले(माओवादी(रास्वपासहितको नयाँ गठबन्धनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अध्यक्ष रञ्जिता र उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीबीच विमति छ । रेशमको स्वीकृतिमा नाउपा सुदूरपश्चिम र लुम्बिनी सरकारमा सहभागी छ । तर रञ्जिता भने सरकारबाट फिर्ता हुनुपर्ने र नयाँ सत्ता समीकरणमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।
नाउपाका एक जना संस्थापक केन्द्रीय सदस्य रमेश विकले आजको बैठकले प्रदेश सरकारबारे आगामी मार्ग तय गर्ने बताए । केन्द्र सरकारमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नियुक्तिलाई पूर्णता दिइसकेका छन् । केन्द्रको २५ सदस्यीय मन्त्रिपरिषदमा अब एक जना राज्यमन्त्री मात्र नियुक्त गर्न बाँकी छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : नेपाल नेत्र ज्योति संघको ४६ औं स्थापना दिवसको अवसरमा गौर आँखा अस्पतालले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी’ मूल नाराको साथ नेपाल नेत्र ज्योति संघ रौतहट शाखा, नेपाल गौर आँखा अस्पताल आँखा स्वास्थ्य शिक्षा इकाइद्वारा मंगलबार अस्पताल परिसरमा आयोजित आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रममार्फत गौर नगरक्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुलाई जानकारी गराइ नेत्र ज्योती संघको स्थापना दिवस मनाइएको हो ।
गौर आँखा अस्पताल पुरेनवामा सामुदायिक विद्यालयका शिक्षक÷शिक्षिकाहरुलाई अस्पतालका चिकित्सक, आँखा वरिष्ठ अधिकृत, कार्यक्रम संयोजकहरुले शिक्षक/शिक्षिकाहरुको माध्यमबाट विद्यालयमा अध्ययनरत छात्रछात्राहरुको आँखामा देखिएको समस्या समाधान गर्न र गराउन महत्वपूर्ण भू्मिका रहेको उनीहरुलाई जनचेतनामार्फत जागृत गराइएको थियो भने आँखामा हुने ८० प्रतिशत बिरामीलाई निर्मूल पार्न सकिने कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले बताए ।
डा.मनोजकुमार साह, आँखा विशेषज्ञ शिवकुमार यादवसहितका चिकित्सकहरुले आँखामा हुने विभिन्न खालका बिरामीहरुलाई समयमै पहिचान कसरी गर्ने, पहिचान गरेर कहाँ पठाउने तथा आँखामा लाग्ने रोगहरुको बारेमा महत्वपूर्ण जानकारी गराए ।
नेत्र ज्योति संघ रौतहटका अध्यक्ष विजय सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व अध्यक्ष दुर्गा प्रसाद यादव, सचिव बच्चा यादवसहित नेत्र ज्योति संघका पदाधिकारी तथा आँखा अस्पतालका नेत्र विशेषज्ञहरुको उपस्थितिमा गौर नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको कार्यक्रम संयोजक पाण्डेले जानकारी गराए ।
मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : विवादित व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्ने अदालतको आदेशपछि पुनः उनी चर्चामा छन् । तर सर्वोच्च अदालतले प्रसाईको बीएण्डसी अस्पतालको पक्षमा फैसला गरेपनि पूर्ण पाठ नआएकाले त्यसले एमबीबीएस कक्षा सञ्चालनका लागि तत्कालै अनुमति पाउने वा नपाउने स्पष्ट भने नभएको अधिकारीहरू बताउँछन् ।
सानो ब्यवसायबाट उद्योग क्षेत्रमा उदाएका प्रसाईं पछिल्ला समय बैंकको ऋण नतिर्नेबारे अभियान चलाएर चर्चामा थिए । त्यसैकारण विवादित बनेका प्रसाईं पछिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध उभिएका थिए । जसका कारण बैंकहरूका लागि समेत उनी समस्या बनेका थिए ।
प्रतिशोधको लडाईं !
प्रसाईंको सम्बन्धन पाउने लडाईं नयाँ होइन । शिक्षा मन्त्रालयले २०६८ सालमा झापाको बिर्तामोडमा बीएण्डसी अस्पताल र मेडिकल कलेज चलाउनका लागि मनसायपत्र (एलओई) दिएको थियो । सोहीअनुसार प्रसाईंले भौतिक संरचना निर्माण गरी ३ सय शैयाको अस्पताल सञ्चालनमा ल्याएका थिए । भौतिक संरचना निर्माण गरी मेडिकल इक्युपमेन्ट समेत ल्याएर तयारी गरिसक्दा अस्पतालले मेडिकल कलेजका लागि सम्बन्धन पाएन ।
समस्या त्यहीबाट शुरु भएको थियो । ठूलो धनराशी खर्च भइसकेपछि प्रसाईं विभिन्न शक्ति केन्द्र धाउन थालेका थिए । २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पुरानो सम्बन्धको उपयोग गर्दै प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिलाउन निकै दबाब दिए । त्यतिबेला प्रचण्डले सम्बन्धन दिनका लागि निकै कसरत गरे पनि डा. गोविन्द केसीको पटक पटकको अनसन र विरोधका कारण सफल हुन सकेनन् ।
प्रसाईंले सोही कलेज सञ्चालनपूर्वको तयारी, पूर्वमै अर्को क्यान्सर अस्पताल र एक होटलका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ५ अर्ब भन्दा बढी ऋण लिए । तर तिर्ने आधार नबनेपछि उनी सरकारप्रति आक्रोशित बनेका थिए । उनको आक्रोशलाई धेरैले स्वभाविक भनेका थिए ।
निराश व्यवसायी
राज्यलाई कर तिर्ने र राज्य सञ्चालनका लागि सहयोग गर्ने उद्योगी ब्यवसायीका लागि सरकारले अभिभावक बन्नुपर्छ । तर सरकारले ब्यवसायीको वास्तविक अवस्था र बजारमा सहयाग गर्न नसक्दा ब्यवायीहरू निराश बनिरहेका छन् । गत वर्ष नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका ब्यवसायी प्रेमप्रसाद आचार्यले राज्यले सहयोग नगरेका कारण व्यापार व्यवसायमा जताततै असफलता व्यहोरेको सुसाइट नोटमा उल्लेख गरेका थिए । सरकार र बैंकहरूले ब्यसायीलाई असहयोग गरेको भन्दै धनगढीका एक व्यवसायीले पनि केही महिनाअघि आफ्नै घरको पाँचौं तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका थिए ।
यसै वर्ष विराटनगर र मोरङका एक एक व्यवसायीले आर्थिक भार खेप्न नसकेको जनाउँदै आत्महत्या गरेका थिए । कोरोना महामारीको समयमा ब्यवसाय नहुँदा ऋण तिर्न नसकेको र बैंकले ताकेता गरेको भन्दै सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम पौडेल पनि आत्महत्या गरेका थिए ।
जिम्मेवारी नलिने !
२०४६ सालपछि अपनाएको उदार अर्थनीतिपछि नेपालमा उद्योगी ब्यवसायीले लगानी बढाउन थाले पनि राज्यको भरपुर साथ पाउन नसकेको बताइन्छ । अर्थात् प्रसाईं त एक पात्र हुन् । काम गर भने पनि राज्यले गर्नुपर्ने समन्वय नहुने, आफ्नो काम फत्ते गर्न विभिन्न शक्ति केन्द्र धाउनुपर्ने र उनीहरूलाई रिझाउनुपर्ने अवस्थाले व्यवायीहरू निराश त छदैछन् पलायन पनि भइरहेका छन् ।
प्रसाईंले प्रतिसोध लागेका कारण मात्रै चर्चामा आएका हुन् । राज्यको गैर जिम्मेवारी र अदूरदर्शिताका कारण समस्यामा परेका कयौं व्यवसायीहरू समस्यामा पर्ने परेका छन् । प्रसाईं बाहेक कयौं प्रसाईं पात्र नेपाली उद्योग ब्यवायमा छन् । राज्यको अस्पष्ट नीतिको चेपुवामा परेर बैंकहरूसँग ऋण लिएर चलाएका व्यवसाय तथा उद्योगधन्दा चुर्लुम्म ऋणमा डुबाउन बाध्य छन् ।
फरक यत्ति हो, कोह आन्दोलन गर्छन् त कोही निराश हुँदै पलायन हुन्छन् । कोहीले ऋण तिर्न नसकेर घरजग्गा तथा अन्य सम्पत्ति लिलामी गर्न बाध्य छन् । यसको जिम्मेवारी राज्यले लिने कि नलिने ? सरोकारवाला भन्छन्, ‘उद्योगी व्यवासायका लागि एकीकिृत नीति बन्न नसक्दा उद्योगी ब्यवासायी समस्यामा छन् । कोही उदण्ड बन्दा यसको क्षति राज्यले नै ब्यहोर्नुपर्छ । जिम्मेवारी पनि राज्यले नै लिने हो ।’
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा छन् । ९ दिने चीन भ्रमणमा रहेका श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बुधबार बेइजिङमा भेटवार्ता भएको छ । त्यसअगाडि श्रेष्ठले अन्य चिनियाँ नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।
भेटवार्ताका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनबारे नेपालको तत्परताको सम्बन्धमा चीनको चासो प्रकट भएको छ । बीरआरआई कार्यान्वयनलाई लिएर नेपालमा हुने गरेका बहसप्रति पनि चिनियाँ पक्षको चासो रहेको छ । तर, परराष्ट्रमन्त्री श्रेष्ठले बिआरआई कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने गरी संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा दुवै नेताले दुईपक्षीय सम्बन्धको अवस्था मूल्यांकन गर्दै थप उचाइमा पुर्याउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका पनि छन् । चिनिया लगानीमा नेपालमा संचालित विकास आयोजनाहरुको छिटो कार्यान्वयनमा पनि दुवै पक्षले जोड दिएका छन् ।
साथै, भेटमा वाङले गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा राष्ट्रपति सीसँग भएको भेटमा द्विपक्षीय सम्बन्धको विकासका लागि महत्वपूर्ण सहमति भएको उल्लेख गर्दै त्यसको सशक्त कार्यान्वयन र बीआरआई सहयोग प्रवद्र्धन र नागरिकस्तरको सम्पर्कमा वृद्धि गर्नमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा भएका सहमति तथा सम्झौता कार्यान्वयनलगायत विषय स्मरण गरे । साथै, परराष्ट्रमन्त्री श्रेष्ठले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा चिनियाँ विमान खरिद गर्दाको ऋण मिनाहाका लागि कूटनीतिक पहल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ व्यवसायीलाई नेपालमा लगानी गर्न समेत भनेका छन् । चीनस्थित नेपाली दूतावासले आयोजना गरेको पूर्वलगानी सेमिनारलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आउँदो महिना नेपालमा लगानी सम्मेलन हुने भन्दै सहभागिताका लागि आग्रह गरे । नेपाल चिनियाँ लगानीकर्ताका लागि उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै उनले सरकारले आवश्यक सुविधा दिन तयार रहेको बताएका छन् ।
९ दिने भ्रमणका क्रममा मन्त्री श्रेष्ठले अन्य चिनिया नेताहरुसँग समेत भेटवार्ता गर्नेछन् । उनी छोङछिङ, तिब्बत र सिचुआन प्रान्त जाने कार्यक्रम पनि छ ।
मन्त्रीस्तरीय संयन्त्र निर्माण
नेपाल र चीनमा परराष्ट्र मन्त्रीस्तरीय संयन्त्र निर्माण भएको छ । भारतसँग नेपालको मन्त्रीस्तरीय संयन्त्र यसअगाडि देखि नै क्रियाशिल छ । भारतको जस्तै संयन्त्र नेपालले चीनसँग पनि बनाएको होे ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–चीन सम्बन्धका सबै विषयको समीक्षा र भावी दिनको कार्यदिशा तय गर्न सन १९९६ मा दुवै मुलुकका परराष्ट्र सचिवस्तरमा संयन्त्र गठन भएको थियो । अब मन्त्रीस्तरीय संयन्त्र बनेको छ ।
यसका अलावा, नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई सञ्चालनमा ल्याउने लगायतका समझदारी भएका छन् । चीन जाने नेपाली नागरिकलाई भिषा शुल्क निशुल्क गर्ने लगायतका विषयमा पनि चीन सकारात्मक भएको छ ।
सुर्यप्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : २०६६ सालदेखि निर्माण शुरु भएको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको १९७ किलोमिटरमध्ये हालसम्म १८ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ ।
यो सडकको धेरै खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको सडक योजना प्रमुख अन्जु परियारले बताएकी छन् । करिब ८ अर्बको डीपीआर भएको सडकमा प्रत्येक वर्ष ४० देखि ४५ करोड बजेट विनियोजन हुने गरेकोमा आर्थिक वर्ष २०८०/२०८१ मा मन्त्रालयले १७ करोड मात्रै बजेट विनियोजन गरेको थियो भने गत वर्षको भन्दा ५२ प्रतिशत बजेट घटेर आएको कारण काम गर्न परियोजनामा बजेटको समस्या भएको योजनाका लेखा प्रमुख योगेश पन्थिले बताए ।
निर्माण गर्न लागेको १३ वर्षको अवधिमा झण्डै ३ अर्ब रुपैयाँ खर्च भएको सालझण्डी–सन्धिखर्क सडक योजना प्रमुख परियारले मध्यान्हलाई बताइन् ।
यो सडक अन्तर्गत पर्ने १० पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छन् भने बाग्लुङ जिल्लामा पर्ने बौलाहा बाँसे खोला र दोवल खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति अन्तिम चरणमा रहेको योजना प्रमुख परियारले बताइन् । सडकमा पर्ने ८ वटा पुलहरु निर्माण सम्पन भइसकेका छन् । सन्धिखर्कमा विवाद भएका कारण ५ सय मिटर कच्ची सडकको काम रोकिएपनि अन्यत्र कुनै रोकावट नभएको कारण काम निरन्तर चलिरहेको योजना प्रमुख परियारले बताइन् ।
सुरुमा यही सन्धिखर्कको विवादले गर्दा काममा ढिलाइ भएको थियो । पछि टुक्रा–टुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले दु्रत गति लिन शुरु गरेको योजनाका इन्जिनियरहरु बताउँछन् ।
सालझण्डी–ढोरपाटन सडक योजना कार्यालयको प्रमुख इन्जिनियर परियारले बजेटकै कारण निर्माण कार्यले गति लिन नसकेको दाबी गरिन् ।
अहिले परियोजना अन्तर्गत पाँच वटा ठेक्काको काम भइरहेको छ । ४ वटा बहुवर्षे ठेक्का हुन् सबै ठेक्कामा भुक्तानी दिने बजेट कार्यालयसँग नभएको र निर्माण व्यवसायी समेत पैसा नभएपछि काम गर्न उत्साहित नभएको कार्यालका लेखा प्रमुख पन्थीले गुनासो गरे ।
सन्धिखर्क माटे भण्डार ७ किलोमिटर सडक र पुर्कोट अर्खाबाङ १९ किलोमिटर सडक गरी २६ किलोमिटर सडकको काम बिरुवा–पुस्पा बिल्डर्स कम्पनी अर्घाखाँचीले काम द्रुत गतिमा अगाडि बढाएको भएपनि काम अनुसार बिल भुक्तानी नपाउँदा काम गर्न अप्ठ्यारो परेको बिरुवा पुष्पा विल्डर्सका सञ्चालक इन्जिनियर मनोज बन्जाडे मध्यान्हसँग गुनासो गरे । यो काम कालोपत्रेको काम हो भने कञ्चन खोला, रुपन्देहीदेखि– खुसार्ने, पाल्पा सम्म १३.५ किलोमिटर, खुसार्ने पाल्पादेखि पटौटी अर्घाखाँचीसम्म २२ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघर सम्मको २२ किलोमिटर बहुवर्षे ठेक्काहरुको काम भइरहेपनि निर्माण व्यवसायीलाई थप बजेट आएपछि मात्रै भुक्तानी दिने कार्यालयका योजना प्रमुख परियारले बताइन् ।
बहुवर्षे ठेक्कामा जति काम निर्माण व्यवसायीले गर्न सक्छन् त्यति रकम कार्यालयले दिनुपर्ने हुन्छ । कार्यालयमा बजेट अभाव भएपछि निर्माण व्यवसायीलाई काम गर्न ताकेता लगाउन नसकिने भएकाले काम गर्न दबाब दिन कठिन हुने साइटमा खटिएका कर्मचारीहरु बताउँछन् ।
पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने तयारी भएको भएपनि अझैँ केही समय लाग्ने योजना प्रमुख परियारको भनाइ छ ।
खासगरी यो सडक ५ जिल्ला रुपन्देही–पाल्पा अर्घाखाँची गुल्मी बाग्लुङ जिल्लालाई प्रत्यक्ष सहयोग पुर्याउने गौरवको सडक योजना भएपनि सरकारमा रहने उच्च तहका नेताहरुले ध्यान नदिएको कारण सडकमा बजेट अभाव भएको यहाँका जनताहरुको बुझाइ छ ।
यी ५ जिल्लामा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उद्देश्यले सडक निर्माणको काम थालेपनि सरकारको बेवास्ता, नेताहरुको दुरदृष्टि नपुग्दा सडकलाई आवश्यक पर्ने उचित बजेट पर्न नसकेको स्थानीय बताउँछन् ।
यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न निकै छोटो दुरी र सहज हुने युवा व्यवसायी पुष्पा निर्माण सेवाका सञ्चालक इन्जिनियर मनोज बन्जाडे बताउँछन् ।
यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने र अर्घाखाँचीको व्यापार व्यवसाय समेत चलाएमान हुने अपेक्षा गरिएको छ । सडक योजनाको काम हेर्न कार्यालय प्रमुख परियारसहितका प्राविधिकहरु दैनिक फिल्डमा खटिएका छन् भने सडकमा बजेट अभावको गुनासो बोकेर मन्त्रालयमा पुग्दा पनि कुनै सुनुवाइ नहुने गरेको कार्यालयका कर्मचारीहरु गुनासो गर्छन् ।
काठमाडौं : नेपाल नेत्रज्योति संघले दुरदराजमा विपन्नमा आफ्नो सेवा पुर्याउने घोषणा गरेको छ । देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको संघले मंगलबार आफ्नो सेवा अझैं ब्यापक गर्ने घोषणा गरेको हो ।
संघले ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित देशै भरी विभिन्न कार्यक्रमसहित ४६ औँ नेत्रज्योति दिवस मनाएको हो । दिवसको अवसरकारमा पत्रकार सम्मेलन गरी संघले आफ्ना विभिन्न योजनाहरू सार्वजनिक गरेको हो ।
सन् २०२३ मा संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको संघले जानकारी दिएको छ ।
संघको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले सेवा प्राप्त गरेका थिए । संस्थाका अध्यक्ष प्रा.डा.चेतराज पन्तले स्थापनादेखि हालसम्म संघले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिए ।
उनले संघले आँखाको उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिए । उनका अनुसार संघद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । संघले विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ । सन् १९८१ को राष्ट्रिय सर्वेक्षणबाट नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशतबाट रहेकोमा अहिले त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ ।
सुर्यप्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको समन्वयमा कपिलवस्तु र अर्घाखाँची दुई जिल्लाका सीमा क्षेत्रको स्थलगत अनुगमनसहित संयुक्त बैठक सम्पन्न भएको छ ।
पत्थरकोट ढुंगेसेरा हर्रे सडक अन्तर्गत गुडरुङ्ग खोलामा निर्माण भइरहेको मोटरेवल पुल निर्माण गर्दा र महेन्द्रकोट सिँचाई योजनाको बाधले जम्मा गरेको नदीजन्य पदार्थको संकलन र व्यवस्थापनका विषयमा दुवै जिल्लाको संयुक्त अनुगमन तथा बैठक सम्पन्न भएको हो ।
बैठकमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य सहभागी थिए । त्यस्तै, बैठकमा शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेल, कपिलवस्तु बुद्धभूमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठ, अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्याय, डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख इश्वरीप्रसाद पौडेल सहभागी थिए ।
अनुगमन तथा बैठकमा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, अर्घाखाँचीका समन्वय अधिकारी ऋषिराम भुसाल, कपिलवस्तुका समन्वय अधिकारी भूमिराम पोख्रेल सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर गोपिराज पुन, सितगंगा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष नबराज भुसाल लगायत उपस्थित थिए ।
साथै सोही अवसरमा देउराली मार ढुंगेसेरा टिक्करी खयरभट्टी वनकसबास सडक अन्तर्गत पत्थरकोट ढुंगेसेरा खण्डमा भएको सडक निर्माण कार्यको पनि अनुगमन गरिएको थियो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री नरेश भण्डारीले व्यावसायिक र सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
उनले एसिया इन्टरनेशलन मोडल अंग्रेजी स्कूलले आयोजना गरेको अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने,‘पछिल्लो समय यो स्कूलले विद्यार्थीहरु व्यवहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित बनाएको छ, यसबाट जुम्लालाई छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विश्वास दिएको छ ।’
साथै उनले युवा जनशक्ति विदेशतिर पलायन भइरहेको सन्दर्भमा स्कुलका सञ्चालक मनोज बुढाथोकीले स्कूलबाट पर्याप्त कमाई गर्न सकिने उदाहरण प्रस्तुत गरेको बताए । ‘यहाँको युवा जनशक्ति खाडी मुलुकहरुमा ‘थ्री डी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन्, यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्न समेत नेपाल बाहिरकै बर्चस्व देखिएको छ ।’
पूर्वमन्त्री भण्डारीले अहिलेको सन्दर्भमा शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भएको बताउँदै अध्ययन गरेपछि सिर्जनात्मक श्रमशक्ति हुनुपर्ने बताए । जसको सुरुवात एसिया इन्टरनेशलन मोडल अंग्रेजी स्कूलले गरेको उनको भनाइ थियो । उनले जुम्ला बिरामी पठाउने क्षेत्र भएकोमा अब विद्यार्थी बोलाएर डाक्टर बनाउनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको बताए । त्यस्तै, कार्यक्रममा एसिया मोडल अंग्रेजी स्कूलका सञ्चालक मनोज बुढाथोकी मगरले मानव मूल्यमा आधारित शिक्षा आजको आवश्यकता भएको बताए । उनले शिक्षाले मानिसको चेतनालाई आकार दिने भनाइ राखेका थिए ।
‘हाम्रो शिक्षा, प्रणाली र शिक्षाको दर्शनले हरेक व्यक्ति र समाजको समग्र चेतनालाई आकार दिने काम गर्छ, यसको लागी अभिभावकले हाम्रो बच्चा कस्तो बनाउने हामी स्वयं कस्तो बन्न चाहन्छौं र समाज कस्तो बनाउन चाहन्छौं ? भन्ने प्रश्नको जवाफ हामीले लिने शिक्षाको दर्शन र शिक्षा प्रणाली भित्र नै हुन्छ’, उनले भने । उनले सो स्कूलले दिने शिक्षा र विद्या व्यापारमुखी नभएर व्यावसायिक र सीपमूलक भएको बताएका थिए । उनका अनुसार नर्सरी देखि कक्षा ८ सम्म पढाइ हुने सो स्कूल आठ वर्षदेखि सञ्चालनमा रहेको छ ।
त्यस्तै, स्कूलका प्रिन्सिपल चन्द्रबहादुर महतले सिकाउने संस्कारित सनातन ज्ञानको कमीले दुषित बन्दै गएको वर्तमान समाजलाई स्वच्छ र सन्तुलित बनाउनको लागी सिपमा आधारित शिक्षा दिन थालेको बताए । स्कूलले विभिन्न शिर्षकमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ भने पूर्वमन्त्री भण्डारीले आईटीकक्षा, खानेपानी र फनपार्कको समेत उद्घाटन गरेका थिए ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरिएको छ । नगरपालिकाभित्रका गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच गर्नका लागि त्रिपुराकोट स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले बताए ।
‘यसअघि प्रत्येक तीन महिनामा घुम्ती सेवाबाट भिडियो एक्सरे सेवा दिने गरिए पनि अबदेखि भने स्वास्थ्य चौकीबाटै दैनिकरुपमा सेवा दिन शुरु गरेका छौं,’ उनले भने, ‘यसअघि गर्भवती महिलाले स्वास्थ्य जाँच गर्नुपर्दा जिल्ला सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता थियो, जसले गर्दा समय र पैसा दुबै खर्च हुन्थ्यो, अब त्रिपुराकोटमै सेवा शुरु भएको छ, जसको लाभ विपन्नदेखि दुरदराजका महिलाहरुले लिइराख्नुभएको छ ।’
अहिले भिडियो एक्सरे मेशिन सञ्चालन गर्ने तालिम लिएका स्वास्थ्यकर्मी रोजिना पहाडी र धर्मादेवी बोहोराले सेवा दिइरहेको उनले बताए । नगरपालिका र स्वास्थ्य सेवा विभागबाट भिडियो एक्सरे मेशिन उपलब्ध भएसँगै सेवालाई पनि नियमित गरिएको उनको भनाइ छ ।
मनोज साह/मध्यान्ह
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ५ मा रहेको मुस्कान होटलमा काम गर्ने कामदार मृत अवस्थामा शव फेला परेका छन् । केही महिनादेखि होटलमा काम गर्दै आएका चन्द्रपुर नगरपालिका वडा नं. ६ निवासी ५० वर्षीय कृष्ण प्रसाद घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मृतक घिमिरेका परिवारका सदस्यले भने आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन् । यद्यपि घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मृतक घिमिरेले होटल सञ्चालकले आफनो चार महिनादेखिको तलब नदिएको भन्दै सोमबार बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा निवेदन दिएका थिए । सोमबार बिहान उजुरी दिएका घिमिरेको शव सोही होटलमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घिमिरेको अनुहारलगायतमा केही चोटपटकसमेत देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको भएता पनि सो चोटपटक नयाँ अथवा पुरानो भन्ने एकिन भने नभइसकेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले उक्त घटनलाई गम्भीरतापूर्वक हेरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य पत्ता लाग्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सो घटनापछि होटलका सञ्चालक हबीब मियाँ अन्सारी फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले घटनाको आवश्यक अनुसन्धानपछि मात्र हत्या वा आत्महत्याका बारेमा खुल्ने बताए । पीडित परिवारले उक्त होटल सञ्चालक अन्सारीका विरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरीसमेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies