काठमाडौं : सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको ११८औं कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यतामा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्दै साहित्य समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहेको बताए । उनले साहित्य वर्गीय, रैथाने चेतना, पहिचान र सौन्दर्यसँग जोडिएको बताउँदै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुन सक्नुपर्ने धारणा राखे । उनले 'भ्रम' शीर्षकको कवितासमेत वाचन गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स, अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतले आ-आफ्ना कविता वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका कवि डा. मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गरेका थिए । यसैगरी कार्यक्रममा समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कवितासमेत वाचन गरेका थिए । आफ्नो कविता वाचनसहित कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गरेका थिए ।
सरु भुुसाल/मध्यान्ह
सन्धिखर्क : अर्घाखाँची जिल्लाका पाणिनी गाउँपालिका, सन्धिखर्क र शितगंगा नगरपालिकाकाका सीमान्तकृत समुदायका १६ देखि २५ वर्ष उमेर समूहका १५ जना किशोरीलाई शिक्षामा बहस र पैरवीसम्बन्धी तालिम दिन शुरु भएको छ ।
पहल नेपालको आयोजनामा शुरु भएको तालिमको उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका नगर उप–प्रमुख मिश्रा आचार्यले पहल नेपालले सीमान्तकृत समुदायका बालिकाहरुको गुणस्तरीय शिक्षाका लागि काम गर्न शुरु गरेकोमा खुसी व्यक्त गरिन् । उनले यस कामका लागि पहल नेपाललाई धन्यवाद दिँदै यो परियोजना सफल बनाउन सन्धिखर्क नगरपालिका साझेदारी र सहकार्यका लागि तयार रहेको बताइन् ।
शिक्षा विकास समन्वय इकाइ अर्घाखाँचीका कार्यालय प्रमुख मणिराम पराजुलीले संघीयताको मर्मअनुसार शिक्षा र स्वास्थ्यमा जसरी काम हुनुपर्ने हो सो नभएको भन्दै वास्तवमा राज्यले गर्नुपर्ने कामहरु पहल नेपालको यो परियोजनाले गर्न लागेकोमा धन्यवाद दिए । उनले कार्यालयको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै संघीयतापछि स्थानीय तहले शिक्षासम्बन्धी नीतिहरु बनाउन नसकोका कारण पर्याप्त काम हुन नसकेको जिकिर गरे ।
कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले शिक्षा सुधारका लागि यो कार्यक्रम अर्घाखाँची जिल्लामा कोसेढुंगाा सवित हुनेमा विश्वास व्यक्त गर्दै सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । तालिम उद्घाटनमा सन्धिखर्क नगरपालिका उपप्रमुख आचार्य, शिक्षा विकास समन्वय इकाइका प्रमुख पराजुलीसहित सन्धिखर्क नगरपालिका वडा नं. १० का अध्यक्ष मोहन सिंह ठकुरी, वडा सदस्य हरीलाल पराजुली, दलित महिला संघकी अध्यक्ष मिना भुसाल नेपालीलगायतको सहभागिता रहको थियो ।
युएसएड/सीएसएमको आर्थिक सहयोग, द एसिया फाउण्डेसन र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा अर्घाखाँची जिल्लाका तीन वटा स्थानीय तहमा सञ्चालन भएको युएसएड/सीएसएम- गर्ल्स फर गर्ल्स कम्युनिटी इन्गेजमेन्ट फर एजुकेशन परियोजनाअन्तर्गत चैत १० गतेदेखि १२ गतेसम्म आवासीय तालिम सञ्चालन गरिने र निरन्तर सीमान्तकृत समुदायका बालिकाहरुको शिक्षामा बहस पैरवी गराउनका लागि तालिमको आयोजना गरिएको आयोजक संस्था पहल नेपालका कुलबहादुर नेपालीले जानकारी दिए ।
परियोजनाले एक वर्षको अवधिमा सीमान्तकृत समुदायका बालिकाहरुको गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने पहल नेपालका परियोजना संयोजक खेमराज मरासीनीले जानकारी दिए । कार्यक्रम कुलबहादुर नेपालीको अध्यक्षता र परियोजना संयोजक मरासीनीको सञ्चालनमा सम्पन्न भएको हो ।
काठमाडौं : संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन् ।
वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन् । पछिल्लो समय नेपालमा मनाइने होली पर्व विदेशीलेसमेत मनाउने गराउने गरेका छन् ।
विदेशी पर्यटकले आज बिहानैदेखि एक अर्कासँग रङ साटासाट, नाचगानसँगै रमाइलो गरी होली मनाइरहेका छन् । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, वसन्तपुर, दरबारमार्ग, पाटन, बौद्धलगायत क्षेत्रमा होली मनाइरहेका छन् ।
ठमेल पर्यटन विकास परिषद्ले होली विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं महानगरपालिका–२६ सञ्चयकोष अगाडि सडकमा सांगीतिक मनोरञ्जनात्मक कार्यक्रमसहित होली पर्व मनाइएको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्ता सांस्कृतिक पर्वमा विदेशी पर्यटकलाई सहभागी गराएर मनाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुनुका साथै हाम्रा धार्मिक तथा सांस्कृतिक विशेषता विश्व समुदायसम्म पुर्याउन मद्दत पुग्ने बताए । “हरेक सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोड्नसके नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्छ । हाम्रा सांस्कृतिक कार्यक्रमलाई सरकारले ‘क्यालेण्डर’ बनाएर विश्वभर पर्यटन प्रवर्द्धन गर्नुपर्छ । यति गर्नसकेमा मुलुकमा १२ महिना पर्यटकको सिजन हुनेछ”, उनले भने ।
नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ८० प्रतिशत ठमेल क्षेत्रमा आउने गरेका परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए । परिषद्ले अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, सगरमाथा दिवस, विश्व पर्यटन दिवस, होलीलगायत पर्व तथा दिवसमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको उनले बताए । ठमेल पर्यटन विकास परिषद्अन्तर्गत हाल ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी र दुई हजारको हाराहारीमा घरधनी रहेका छन् ।
काठमाडौं : सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।
कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीका लागि अर्को समितिले बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयको कानून महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल र उपसचिव रामबहादुर शाही सदस्यहरू छन् ।
रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ ।
१ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सीआईबीका चार प्रहरी अधिकृतलाई विभागीय कारबाहीका लागि सिफारिस गर्नुका साथै अनुसन्धानमा खटिएका सबै प्रहरीहरुको सरुवा गर्नुपर्ने उल्लेख गरेको थियो ।
चितवन : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।
उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए । गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरुको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने बताए ।
सहकारीको पैसा अपचलन गरेर फरार रहेका जीबी राईलाई नियन्त्रणमा लिनका लागि सरकारले पूरै शक्ति परिचालन गरेको उनले बताए । सरकारले गरेका अनुसन्धान र अध्ययनका कुरा पहिलेनै सार्वजनिक गर्न नहुने भन्दै उनले राई छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।
सरकारले गरेका कामको नतिजा पूर्णरुपमा आउने उनको भनाइ थियो । उनले भने, “काहीँ कतै कसैलाई कानूनले जे भन्छ त्यही गर्ने हो । निर्दोष नफसोस् दोषी नउम्यिोस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ । त्यहीअनुसार काम हुन्छ ।” प्रक्रियामा केही जटिलता भए पनि नतिजा आउने गरी काम गर्ने उनले बताए ।
फरक प्रसंगमा बोल्दै उनले चेपाङ समुदायका लागि राज्यको उपस्थिति हुनेगरी सरकारले काम गर्ने बताए । विज्ञहरु र सरोकारवाला प्रतिनिधिसँगको छलफलबाट यसवर्ष बजेटमै राखेर काम गर्न लागिएको उनले बताए । जनताको दुःखमा राज्य पुग्नुपर्ने उनको भनाइ थियो ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : यही चैत १५ गतेबाट शुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा हुम्ला जिल्लाबाट ११ सय ९५ जना परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाका २८ वटा माध्यमिक विद्यालयबाट ११ सय बढी विद्यार्थीले एसईईमा सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
परीक्षामा ५ सय ८५ जना छात्रा र ५ सय ३ जना छात्र तथा ७ जना ग्रेडवृद्धि दिने गरेर ११ सय ९५ जना परीक्षार्थी सहभागी हुन लागेको इकाइले बताएको छ । जिल्लाका ७ वटा गाउँपालिकामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
सिमकोट गाउँपालिकाबाट मानसरोवर माध्यमिक विद्यालय र बालमन्दिर माध्यमिक विद्यालय केन्द्र ताेकिएकाे छ भने सर्केगार्ड गाउँपालिकामा हिमज्योति विद्यालय, कोट माध्यमिक विद्यालय रोडिकोट, अदानचुली गाउँपालिकामा सूर्योदय माद्यामिक विद्यालय, श्रीनगर र ताँजाकोट गाउँपालिकामा मदानादेव माद्यामिक विद्यालय केन्द्र ताेकिएकाे छ । चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा भने परिक्षा केन्द्र तोकिएको छैन ।
जिल्लाका ६ वटा परीक्षा केन्द्रमा बालमन्दिर माध्यामिक विद्यालयमा २ सय ५३, मानसरोवर माध्यमिक विद्यालयमा १ सय ७२, हिमज्योति माध्यमिक विद्यालयमा २ सय ६६, सूर्योदय माद्यामिक विद्यालयमा १ सय ५६, मदनादेव माध्यमिक विद्यालयमा २ सय ११ र कोट माध्यमिक विद्यालय रोडिकोटमा १ सय ३६ जना एसईई परीक्षार्थी सहभागी हुने छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
सन्धिखर्क : पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, केही ठाँउमा मृत्यु हुँदासमेत घाटमा नयाँ गुन्द्री लैजाने र जलाउने चलन थियो । चारवटा किला गाडेर जुटको तानमा (साचो) हतासो राखेर परालको गुन्द्री बुन्ने गरिन्छ । धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा कम मात्र देख्न पाइन्छ ।
पछिल्लो समय कम मूल्यमा बजारमा प्लाष्टिकबाट बनेका गुन्द्री पाइन थालेपछि परालबाट बनेका गुन्द्रीको महत्व हराउँदै गएको स्थानीयहरु बताउँछन् । यस्तै नयाँ पुस्ताले यो पुरानो शैलीको गुन्द्री तयार गर्ने सीप सिक्न जाँगर नगर्नु मुख्य कारण भएको अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ कि ७० वर्ष कटेकी गोपा रिजालको भनाइ छ ।
पहिला पहिला रातभर तान बाटेर गुन्द्री बुन्ने चलन थियो ।आजभोलि बजारमा गुन्द्री बुन्नका लागि विभिन्न थरीका धागोहरु आएका छन् । जति सुविधा आयो मान्छोमा त्यति जागँर हराउँदै गएकाले गुन्द्री बुन्ने परम्परा लोप हुँदै गएको गोपाको भनाइ छ ।
गाईभैंसीलाई घाँसमा प्रयोग हुने बाबियो बाटेर ताना बाटेर गुन्द्री बुन्ने चलन पनि रहेको थियो । बाबियाको डोरी नबनाए पनि जुटको डोरी प्रयोग गरेर हरेक वर्ष गुन्द्री बुन्दै आएको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराकी विस्नी भट्टराईले बताइन् । ‘गुन्द्रीले धेरै न्यानो बनाउँछ । खाटमा होस् वा पलङमा हामी यसलाई ओछ्याएपछि मात्र बिस्तारा लगाउँछौँ,’ उनी भन्छिन्, ‘अहिले पनि यो नओछ्याई निन्द्रै लाग्दैन ।' नयाँ पुस्ताले परम्परागत वस्तुहरूको उत्पादनमा ध्यान नदिने हो भने मौलिक परम्परा संरक्षण गर्न कठिनाइ हुने उनले बताइन् ।
बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याटको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । गाउँघरमा केहीले मात्र आफूलाई आवश्यक पर्ने गुन्द्री बुन्दै आएका छन् ।
कमल कुमाल/मध्यान्ह
कालीकोट : कालीकोटको तिलागुफा नगरपालिकामा गाउँमै स्वरोगार बनाउने उद्देश्यले महिलाहरुलाई सिलाइ कटाइ तालिम दिन शुरु गरिएको छ ।
उद्यमशिलता विकास तथा महिला आर्यआर्जन कार्यक्रम अन्तर्गत सीप विकास सिलाइ कटाइ तालिम तिलागुफा नगरपालिका वडा नम्बर ११ मा सञ्चालन गरिएको उद्योग तथा उपभोक्ता संरक्षण हित कार्यालय कालीकोटका नासु धिरेन्द्र बहादुर शाहीले बताए ।
उद्योग तथा उपभोक्ता संरक्षण हित कार्यालय कालीकोटको आर्थिक सहयोग तथा समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । नगरपालिकाभित्रका महिलाहरुलाई लक्षित गरी सिलाइ कटाइ तालिमको आयोजना गरिएको उद्योग तथा उपभोक्ता संरक्षण हित कार्यालय कालीकोटका कार्यबाहक अध्यक्ष कुम्भ बहादुर शाहीले बताए ।
चैत ९ गतेदेखि शुरु भएको तालिम असार ९ गतेसम्म ९० दिन सञ्चालन हुने छ भने तालिममा १० जना सहभागी छन् । तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न पनि उद्योग तथा उपभोक्ता संरक्षण हित कार्यालय कालीकोटले आग्रह गरेको छ । पछिल्लो समय जिल्लामा अधिकांश ठाउँमा विभिन्न सीपमूलक तालिम दिइँदै आएको छ ।
गलेश्वर – गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन् । साथै उनीहरूल फाुगुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन् ।
सहर बजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन् । ‘फागुमा गाइने गीत अब एकादेशको कथामा परिणत भएका छन् । भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भने ।
‘पहिले–पहिले फागुपूर्णिमा आउनुभन्दा दुई–तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैँजडीलगायत विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो’, उनले भने, ‘अहिले दुई–चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाममा पानी र के–के भरेर बन्दुक जस्तो पिचकारीबाट पानी छ्याप्न गर्छन् ।’
‘गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, सहरबजारको हावा गाउँमा छिरिसकेको छ’, पण्डित नीलकण्ठ आचार्यले भन्नुभयो, ‘अब भक्त प्रह्लाद र फूपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रह्लादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।’ फागु होलीमा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ । उमेर ढल्केका र वृद्धवृद्धामा फागुको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् ।
फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमल भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढेकामा उनीहरू खिन्न छन् । विगतमा मनाइने ‘फागु’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाहरूको भनाइ छ । “पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायत वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो’, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भने ‘अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलु प्रहार गर्ने, फोहर पानी खन्याइदिने, होलीको नाममा जे गरे पनि हुने जमाना आयो ।’
‘अहिले होली संस्कार, संस्कृति जोगाउनेभन्दा पनि रमाइलो गर्ने, साथीभाइ भेट भएर वनभोज खाने पर्वका रूपमा मनाइने गरिन्छ‘, २१ वर्षीय युवा प्रदीप पुनले भन्नुहुन्छ, ‘जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैगर्न चाहन्छन् ।” समय परिवर्तनसँगै भएको मौलिक संस्कृतिको क्षयीकरण रोक्न बेलैमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था सृजना गर्ने बताउँदै स्थानीय बुद्धिजीवीले समाजका सबै वर्ग मिलेर संस्कति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएको छ । फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएको हो ।
‘फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो’, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने बताए । साथै उनले अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies