सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटले एक हप्ताको अवधिमा २४ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामानहरू बरामद गरेको छ । जिल्लाका विभिन्न नाका भइ ल्याउँदै गरेको अवस्थामा भन्सार छली, चोरी, निकासी, पैठारी नियन्त्रण गर्ने क्रममा प्रहरीको गस्ती टोलीले बरामदमा लिएका खाद्यान्न सामग्री, पशु, किराना लगायतका सामान कारबाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरिले प्रेस विज्ञप्ति जारी गर्दै चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म बरामद गरिएको २४ लाख ४५ हजार ५ सय ५६ रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि भन्सार दाखिला गरिएको उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा दुई लाख २ हजार ६७ रुपैयाँ मूल्य बराबरको लत्ता कपडा, ४ लाख ६८ हजार २८९ रुपैयाँ मूल्य बराबरको किराना सामान तथा खाद्यान्न, ३२ हजार ५ सय मुल्य बराबरको पशुपन्छी,७८ हजार मूल्य बराबरको काठ र १६ लाख ६४ हजार ७ सय स्रोत नखुलेको रकम कारबाहीको लागि भन्सारमा बुझाइएको उल्लेख गरिएको छ ।
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गरेका छन् । नव वर्ष २०८१ सालको उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य, संस्कृति, कला, इतिहास, दर्शन र समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ ।
‘सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा–प्रतिष्ठान’भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेश– तराइका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोशहरू प्रदर्शनी स्थलमा राखिएका छन् ।
प्रज्ञा नेपाली बृहत् शब्दकोश १ प्रति खरिदमा २० प्रतिशत छुट र दुई प्रतिको खरिदमा २५ प्रतिशत छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ । प्रदर्शनी २०८१ वैशाख ४ देखि १८ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुनःप्रकाशन भएका अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र, जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रीक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचिन अभिलेख, गुमानसिंह चामलिङ्को एरिस्टोटल र उनका काव्य शास्त्र ’पेरी पोइएतिकेस’, काठमाडौं उपत्यकाका नेवारी लोकगीत लगायतका पुस्तकहरू ४० प्रतिशत छुटमा पाइन्छ ।
प्रतिष्ठानका नयाँ प्रकाशन ’समाज अन्वेषण’, ’मिक’, ’लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएको छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिनेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लाका प्रहरी नायव उपरीक्षक छेदी लाल कामतीले जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति लागू गरिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी नायव उपरीक्षकको जिम्मेवारी सम्हाल्न आइपुगेका उपरीक्षक कामतीले जुम्लालाई सुरक्षित बनाउनका लागि आफ्नो कार्यकालमा रणनीति बनाउने बताए । मंगलबार आयोजित भेटघाटमा उनले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताए । यसको लागि यहाँका नागरिकको साथ पनि चाहिने उनले बताए ।
उनले भने,‘प्रहरीले कुनै पनि अपराधसँग सम्झौता गर्दैन । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अपराध घटाउन यहाँका सरोकारवाला निकायसँग सहकार्य गर्छ ।’ त्यस्तै जुम्लाका क्रियाशिल पत्रकारहरुले जिल्लामा अहिले मुख्यगरी लागुऔषध कारोवार, घरेलुहिंसा, बलात्कार, हत्याहिंसा, महिला तथा बालबालिका,बालविवाह, जुवातास, गण्डागर्दी, अवैध हातहतियार ओसार–पसास र घरेलु मदिरा लगायतका विभिन्न अपराधिक क्रियाकलाप चुनौतीको विषय बनेको बताएका थिए ।
पत्रकारहरुको जिज्ञासा मेटाउँदै प्रहरी नायव उपरीक्षक कामतीले आगामी दिनमा अपराध न्यूनीकरण गर्न प्रहरीले अपराध हुने सम्भावित क्षेत्रका नागरिकसँग सहकार्यको योजना बताउने बताए । उनले अपराध समुदायमा हुने भएकाले नागरिकको सहायता आवश्यक रहेको बताए । उनले आमनागरिकको सहयोग र सहकार्य बिना समाजलाई अपराधरहित गतिविधि न्यूनीकरण गर्न कठिनाइ हुने बताए ।
उनले प्रहरीले आफ्नो कार्ययोजना बनाएर अपराधविरुद्ध आवश्यक कदम चाल्दै आएको छ । कामतीले भने,‘अपराध रोक्न हामी सशक्त बन्नेछौं । अपराधरहित समाज निर्माणमा प्रहरी केन्द्रित भएको छ । पत्रकारको सुझाव अनुसार जुम्ला प्रहरी आगामी दिनमा अझैँ सशक्त भएर लाग्छ ।’
पवन जायसवाल/मध्यान्ह
बाँके : कालपृष्ठ दैनिकका सम्पादक तथा गोरखापत्रकर्मी पत्रकार कमल खत्रीसहित चार जना सम्मानित भएका छन् । खजुरा गाउँपालिकाको वडा नं.३ मा भएको पञ्चकर्म तथा पूर्वकर्म थेरापी सेवाको उद्घाटन कार्यक्रममा पत्रकार खत्रीसहित चार जनालाई सम्मान गरिएको हो ।
आयुर्वेद सेवाको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पत्रकार खत्री, चन्द्र बोहोरा र खगेन्द्र दाहाललाई सम्मान गरेका थिए । कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र खजुरामा कार्यरत कार्यालय सहयोगी सविना केसीलाई पनि सम्मान गरिएको थियो । स्वास्थ्य सेवा आयुर्वेद समूह अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो ।
बाँकेमा आयुर्वेद सेवाको बारेमा खत्रीले नियमित रुपमा समाचार लेख्दै आएका छन् । करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार खत्रीलाई आयुर्वेद सेवाको प्रचार–प्रसार तथा जनचेतनामूलक सन्देश प्रवाह गर्न भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ का बाख्रापालक किसानहरुलाई प्रजननयोग्य बाख्राका बोका र पाठी वितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको आर्थिक सहयोगमा सानीपोखरी कृषि तथा पशुपालन कृषक समूह भूमिकास्थान–३ मा आवद्ध कृषकहरुलाई प्रजननयोग्य बोका र पाठी वितरण गरिएको स्थानीय पत्रकार टेकराज भुसालले जानकारी दिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेल, भूमिकास्थान–३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे, प्रगति कृषक सहकारी संस्थाका अध्यक्ष भुवानन्द भुसाल, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र राधा पन्थी (पाण्डे) भूमिकास्थान युवा संजालका अध्यक्ष टेकराज भुसालले कृषकलाई ५८ वटा प्रजननयोग्य बाख्रा र २ वटा बोका हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद पौडेलले अनुदानमा दिइएको प्रजननयोग्य बाख्रा तथा बोकाबाट किसानको जीवनस्तरमाथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अघि बढेर उदाहरणीय बन्न किसानलाई आग्रह समेत गरे ।
भूमिकास्थान–३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडेले ३ नम्बर वडा बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै बाख्रापालन व्यवसाय अघि बढाउन आग्रह गरेका थिए । प्रगति कृषक सहकारी संस्था भूमिकास्थान १ र २ का अध्यक्ष भुवानन्द भुसालले सहकारीमा आबद्ध कृषकले प्राप्त गरेका प्रजननयोग्य बोका तथा पाठीहरुलाई राम्रोसँग पालनपोषण गरी आर्थिक लाभ लिन लागि अनुरोध गर्दै कृषकहरुलाई केही समस्या परेमा साथ दिन तयार रहेको बताए ।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका पशु प्राविधिक हुमाकान्त बन्जाडे, भूमिकास्थान युवा संजालका संयोजक टेकराज भुसाल भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी, स्थानीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सानीपोखरी कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष बसन्ता पौडेलको अध्यक्षता र भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र अर्घाखाँचीका अधिकृत छैठौं सुन्दरलाल विकको सहजीकरणमा सम्पन्न भएको थियो ।
काठमाडौं : सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गरेका छन् । प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन (गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिइन् ।
आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने भेद्भाव उन्मुलन समिति (युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उनले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताइन् ।
नयाँ विधेयक बनाउँदा वा मस्यौदा विधेयकमा संशोधन गर्दा सिडको सिफारिसँग मिल्ने गरी बनाउने आधार वा मार्गनिर्देशनको रुपमा प्रयोग गर्न उनले सुझाव दिइन् । उनले भनिन्, “आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको घोषणापत्रअनुरुप आदिवासी महिलाको अधिकार, विशेषगरी उनीहरुको आत्मनिर्णयको अधिकार स्पष्ट रुपमा पहिचान गर्न संविधान संशोधन गर्ने भनी गरेको सिफारिसलाई विधायिकाहरुले प्राथमिकता दिनुपर्छ ।”
मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी जनजाति महिला हरेक क्षेत्रमा पहुँचभन्दा बाहिर रहेको र उनीहरुको अधिकारको सुनिश्चितता हुनुपर्ने धारणा राखिन् । उनले आदिवासी महिलाको अधिकार दाबी गर्न सिडको सिफारिस कार्यान्वयनको सम्बन्धमा सांसदहरुको दायित्व रहेको बताइन् ।
सांसद रोशन कार्कीले प्रवासमा जाने महिला कामदार बढी शोषित भइरहेका र उनीहरुको विषयमा पनि आवाज उठाउनुपर्ने बताए । उनले अन्तरजातीय विवाहले संस्कृति हराउँदै गएको हो की भन्ने चिन्ता प्रकट गरे । सांसद शान्ति विकले आदिवासी जनजाति महिला मात्र होइन सबै महिला पीडित रहेको जिकिर गरिन् । उनले भनिन्, “आदिवासी जनजाति महिला बढी एकतामा बाँधिएका हुन्छन् जुन अरु समुदायमा त्यति पाइँदैन । सीमान्तकृत महिलाहरुको हक अधिकारको सुनिश्चितता हुनु जरुरी छ ।”
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : शितगंगा नगरपालिका अर्घाखाँची स्वास्थ्य शाखाको आयोजनामा शितगंगा नगरपालिकाका सबै वडामा गर्भवती महिलाहरूका लागि नि:शुल्क अल्ट्रासाउन्ड गर्ने कार्यक्रम निकै लोकप्रिय हुँदै गएको छ । शितगंगा नगरपालिका वडा नं. १ सुवर्णखालमा रहेको स्वास्थ्य केन्द्रबाट गर्भवतीहरूको अल्ट्रासाउन्ड गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।
नगरपालिकाभित्र रहेका १४ वटा वडामा रहेका स्वास्थ्य संस्थामा पुग्नेगरी कार्यतालिका बनाएरै अल्ट्रासाउन्ड गर्ने कार्य वैशाख २ गतेबाट शुरुवात गरिएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले मध्यान्हलाई जानकारी दिए ।
नगरपालिकाले प्राथमिक उपचारमा समेत पछाडि रहेका गाँउहरुमा चिकित्सकसहितका अन्य घुम्ती शिविरसमेत सम्पन्न गरेपछि सिंहदरबारको अधिकार गाउँमा आएको महसुस नगरवासीले गरेको शितगंगा-४ का समाजसेवी दिल बहादुर गुरुङले बताए । गर्भवती महिलाहरू शारीरिकरुपमा समेत कमजोर हुने भएकाले घुम्ती अल्ट्रासाउन्ड सेवा यो वर्षको वार्षिक कार्यक्रमअनुसार पहिलो चरणमा शुरु गरिएको नगर प्रमुख छविलाल पौडेलले बताए ।
अल्ट्रासाउन्ड गर्नका लागि बुटवलसम्म जाने गर्भवती महिलाहरूलाई नगरपालिकामा समेत सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन समेत यसले सहयोग पुर्याएको नगरपालिका उपप्रमुख गीता भाटले बताइन् ।
ग्रामिण क्षेत्रका सम्पूर्ण गर्भवती आमाको अवस्था र बच्चाको अवस्था कस्तो छ भनि अल्ट्रासाउन्डमार्फत जाँच्ने र अवस्थाअनुसार नियमित फलोअप गर्न नियमितरुपमा स्वास्थ्य चौकीमा जचाउन जानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ ।
नगरपालिकाले योजना नै बनाएर सबै ग्रामिण क्षेत्रका महिलाको पहुँचका लागि समेत यो सेवा शुरु गरिएको बताउँदै नगरपालिका योजना शाखाका प्रमुख खनालले यसबाट धेरै सेवाग्राहीहरु लाभान्वित भएको र स्थानीयको पैसा समेत बचत भएको बताए ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ ।
शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानूनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानून कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको जनाइएको छ । छलफलमा शिक्षामन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरेकी थिइन् ।
“शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ । अब, कसरी हटाउने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ । मन्त्रालयले प्रमाण जुटाउन चाहिने विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छ”, मन्त्री श्रेष्ठले भनिन् ।
छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानून, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न कुनै समस्या नरहेको बताएका थिए । विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको र कानून कार्यान्वयन गराउन आयोगको सहयोग रहने प्रमुख आयुक्त थपलियाले विश्वास दिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् ।
रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानून कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने बताए ।
“भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउन सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री प्रचण्डले भने, “वर्तमान सरकारको प्रमुख प्राथमिकता छन्, सुशासन, सामाजिक न्याय र समृद्धि हो, त्यसमध्ये सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेकै छ ।”
उनले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्य अपरिहार्य रहेको बताए ।
“कानूनको सफल कार्यान्वयनबाट मात्र राज्य व्यवस्था सही ढंगले सञ्चालन हुन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “संविधानले अङ्गिकार गरेका मूल्यमान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारका सम्बन्धमा कानूनहरू निर्माण भएर कार्यान्वयन भइरहेको छ । ती सबै कानून कार्यान्वयन गर्दै देशलाई सुशासन र समृद्धिको यात्रामा डोहोर्याउन आवश्यक छ ।”
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै नीतिगत र कानूनी क्षेत्रमा समेत ठूलो रूपान्तरण आवश्यक हुने बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय संकल्प र आवश्यकताबमोजिम संघीय ऐनहरू जारी गर्न सरकार लागिपरेको स्पष्ट पारे ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए ।
प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरूजु कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies