मनोज साह/मध्यान्ह
रौतहट : रौतहटको गरुडामा रहेको मोटरसाइकल स्पेयर पार्ट्सको होलसेल बिक्रेतामा आगलागी हुँदा पार्टपूर्जासहितका सामनहरु जलेर नष्ट भएको छ । गरुडा नगरपालिका वडा नं. ४ स्थित कुश्वाह इन्टरप्राइजेजमा मंगलबार आगलागी भएको हो । आगलागीबाट मोटरसाइकलका स्पेयर पार्ट्स, मर्मतका लागि राखिएको करिब १० वटा मोटरसाइकल, नगद, ल्यापटप तथा अन्य सामग्रीहरु जलेर नष्ट भएको छ ।
कुश्वाह इन्टरप्राइजेजका सञ्चालक रंधीर साहका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । पसलमा कोही नभएको अवस्थामा राति आगलागी भएकाले क्षति धेरै भएको उनको भनाइ छ । मानवीय क्षति नभएपनि पसलमा गोदाम गरेर राखिएका सम्पूर्ण पाटपूर्जा जलेर काम नै नालग्ने अवस्थामा रहेको उनले बताए । पसल रहेको घरमा पनि आगलागीले क्षति गरेको छ । उनले आगलागीबाट करिब ६ करोडभन्दा बढीको क्षति पुगेको दाबी गरेका छन् ।
सुरक्षाकर्मी, स्थानियवासी तथा वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणमा लिनका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, हरीवन तथा निजगढको दमकल प्रयोग गरिएको थियो । आगलागी भएको करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार आगलागीको घटनाका बारेमा अनुसन्धान भइरहेको छ । आगलागीबाट करिब ६ करोडको क्षति भएको प्रारम्भिक अनुमान भएपनि यसबारे अनुसन्धानपछि मात्र खुल्ने उनले जानकारी दिए ।
२०७३ सालमा दर्ता भएर सञ्चालनमा रहेको पसलबाट मोटरसाइकलको पार्ट्स बिक्री तथा मर्मतको कार्य हुँदै आएको थियो । आगलागीबाट धेरै क्षति पुगेकाले आफू मर्कामा परेको सञ्चालक साहले दुखेसो गरेका छन् । गरुडा नगर उद्योग वाणिज्य संघले समेत उक्त घटनाले धेरै क्षति भएको उल्लेख गर्दै क्षतिपूर्ति वा अन्य कार्यका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।
आगलागीबाट भएको क्षतिका बारेमा कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुश्वाह तथा उद्योग वाणिज्य संघका पदधिकारीहरुले समेत स्थलगत निरीक्षण गरेका छन् । यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सतर्कता अपनाउन रौतहट उद्योग वाणिज्य संघले सबै व्यापारी वर्गमा आग्रहसमेत गरेको छ ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले बृहत् इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत् ईफ्तार कार्यक्रम कतार च्यारिटीको सभा हलमा सोमबार साँझ सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष अजमत अलिको अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मौलाना धर्म गुरु गुलाम नबि रजवीले कुराअन तिलावत वाचन तथा नात (धार्मिक गीत) वाचन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । रमजान रोजा र व्रतको बारेमा धर्म गुरु कासिम रैयानले प्रष्ट पारेका थिए ।
कार्यक्रममा कतार च्यारिटीका पदाधिकारीले शुभकामना व्यक्त गरे भने प्रमुख अतिथि ढकालले सम्पूर्ण बर्तालुहरूलाई सु-स्वास्थ्य दीर्घायुको कामना गरे । समाजका उपाध्यक्ष इसा अलिले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै अध्यक्ष अलिले कार्यक्रममा उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिने सम्पूर्णलाई हार्दिक आभार प्रकट गरे ।
कार्यक्रमलाई का.वा. महासचिव मौलाना नजिर मियाले सहजीकरण गरेका थिए । कार्यक्रममा आईसीसीका विभिन्न तह तप्काका पदाधिकारीहरू, एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, कतार च्यारिटीका पदाधिकारीलगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र व्रतालुहरूको उपस्थिति रहेको थियो ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए । उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै उनले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको उल्लेख गरे ।
“आयोगले सरकारको थिंक ट्यांकका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भने, “आगामी दिनमा योजनाहरू प्रभावकारी एवम् तथ्यमा आधारित हुनेछन् ।” तथ्यांक प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन सो अवसरमा उनले निर्देशन दिए ।
“मलाई विश्वास छ, अहिले बनेको नयाँ टोलीले राष्ट्रिय योजना आयोगको काम–कारबाहीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनेछ,” प्रधानमन्त्री दाहालले भने, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।” उनले १६औं योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेकालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति तथा कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए ।
सोह्रौँ योजनाले प्रमुखरूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पु¥याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।” सो अवसरमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।
चितवन : चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा र १२ वर्षीय छोरा रामबहादुर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
सानुमाया तथा मनिषा सामान्य घाइते भएका र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको तथा उहाँको आधारभूत अस्पताल कुरिनटारमा उपचार भइरहेको उनले बताए । चट्याङबाट एककोठे कच्ची घर पनि जलेर नष्ट भएको उनले बताए ।
काठमाडौं : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले युनेस्को पेरिसबाट सन् २०२४ का लागि दिइने ‘युनेस्को प्राइज फर गल्र्स एण्ड वुमन’ मा आवेदन दिन आह्वान गरेको छ ।
नेपाल सरकारलाई सिफारिस गर्न अनुरोध भएको उक्त पुरस्कारको राशि ५० हजार अमेरिकी डलर (करिब रु ६६ लाख) रहेको छ । नेपालमा महिला र बालबालिकाको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्ति वा संस्थाले तोकिएको मापदण्डको आधारमा रही पुरस्कारका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने सचिवालयले जनाएको छ ।
आवेदनमाथि आयोगको सचिवालयले छनोट गरी सिफारिस हुने र युनेस्कोको विश्वस्तरका निर्णायक समूहबाट अन्तिम छनोट हुने जनाइएको छ ।
चितवन : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रिय सभाको भएको बताएका छन् ।
भरतपुर महानगरपालिकाले आज आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रिय सभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उनले बताए ।
उनले भने, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण छ ।” तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा संघीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो ।
संविधानले राष्ट्रिय सभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे । राष्ट्रिय सभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए । उनले भने, “राष्ट्रिय सभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रिय सभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उनले बताए ।
अहिलेको संविधान कार्यान्वयनका लागि धेरै कानुनहरु बन्न आवश्यक रहेको बताउँदै उनले ती कानुन बनाउन सरकारलाई झकझक्याउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । भरतपुर महानगरपलिकाले गरेको विकासको प्रशंसा गर्दै उनले समग्र चितवनको विकासमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्थानीय तहमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सभाले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । संविधान कार्यान्वयनका कुरामा ध्यान दिँदै स्थानीय तहका बाधा हटाउन सहयोग गर्न उनले आग्रह गरिन् । राज्य र जनताको पक्षमा गरेको योगदानको मूल्यांकन भएको भन्दै उनले समग्र जनताको हित र संविधान रक्षाका सवालमा राष्ट्रिय सभा अब्बल साबित हुनुपर्ने बताइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले संविधानको रक्षाका लागि दाहालको कार्यकाल सफल रहेन विश्वास व्यक्त गरे । वर्तमान अवस्थामा देखिएका समस्या समाधानका लागि पहल हुने विश्वास उनीहरुले व्यक्त गरे ।
काठमाडौं : ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनाका आरोपी होटल सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो । हत्या हुनेहरुमा पाँचथर घर भइ खुमलटार बस्ने पुजन राई र धरान घर भई ढोलाहिटी बस्ने रोवश राई रहेका छन् ।
पक्राउ परेका चार जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ भने घटनामा संलग्न रहेको आरोप लागेका थप एक जना भने फरार छन् ।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई, सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । पाजु गुरुङ भन्ने व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
चार जना र फरार भएका एक जनासहित पाँचजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । यस घटनामा अनुसन्धानका लागि थप ८ जनालाई पनि नियन्त्रणमा लिइएको छ ।
धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आउनुभएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए ।
धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । उनले त्यतिबेला सञ्चालन नभएको सम्पर्क कार्यालय अब नियमित रूपमा सञ्चालन हुने बताए ।
आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव संकलन कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकासँगको अन्तरक्रिया, धनकुटा औद्योगिक ग्रामको अवलोकन, खेलाडी सम्मान कार्यक्रममा सहभागी हुने मुख्यमन्त्रीका प्रेस सल्लाहकार लीलाबल्लव घिमिरेले बताए ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ कर्णालीको जुम्लामा छ भन्ने सन्देश दिन चैत १२ गते सार्वजनिक बिदा दिइएको बताएका छन् ।
उनले विश्वको अग्लो स्थानमा काली मार्सी धान फलाउने प्रदेश कर्णाली प्रदेशको जुम्लामा रहेको बताए । उनका अनुसार यो सन्देश दिन प्रत्येक वर्ष चैत १२ गते जुम्लाका किसानले कालीमार्सी धानको बीउ भिजाउने दिनलाई कर्णाली प्रदेश सरकारले धान दिवसको स्वामित्व लिएको छ ।
मन्त्री शर्माले धान दिवसको शुभकामना दिँदै विश्वको अग्लो स्थानमा धान फल्ने ठाउँ नेपालमा छ भन्ने सन्देश दिने दिन चैत १२ गते भएको दावी गरे । उनले भने,‘२ हजार आठ सय ५० उचाईमा रहेको पातारासी गाउँपालिकाको छुमा ज्युलो जुम्ली काली मासी धान फलिरहेको छ । चैत १२ गतेको दिन धानको बीउ भिजाउने दिन कर्णालीका किसानहरुको महत्वपूर्ण दिन भएको स्मरण छ ।’
कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचिकृत भएको, विश्वकै अग्लो स्थानमा काली मार्सीधान उत्पादन हुने छुमज्युलो धानखेती हुने क्षेत्रका रुपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । विश्वको एक मात्रै ठाउँमा समुन्द्री सतहदेखि झण्डै २ हजार ८ सय ९० मिटर उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिका वडा नं ३ छुमचौरलाई कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रम तय गर्ने गरेको मन्त्री शर्माले बताए । मन्त्री शर्माका अनुसार कालीमार्सी धान कम उत्पादन हुने तर मूल्यवान हुने भएकोले कर्णालीका ५ जिल्ला जुम्ला, हुम्ला, कालिकोट,डोल्पा,मुगुमा रैथाने वालीको रुपमा काली मार्सीधान खेती गर्ने गरेको छ ।
त्यस्तै कर्णालीको दुःखका रुपमा रोग भोक, अशिक्षा र बेरोजगार रहेको जीकीर गर्दै बहुमूल्य मार्सीधान खेती विकास गरी भोकमारी, कुपोषण र गरिबी हटाउन कर्णालीका ५ जिल्लामा मार्सीधान खेती विकास प्रवर्द्धन संरक्षण बजार बजारीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सरकार हेरफेरको गृहकार्य अघि बढाएका छन् । दोस्रो तहका नेताहरुबाट भएको प्रयास र ब्रिफिङ पछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच संवाद भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा प्रदेश सरकारको भागवण्डाबारे छलफल चलेको हो । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेका थिए । त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ ।
नेताहरुका अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री लिने, माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने, जसपाले मधेश सरकारको नेतृत्व लिने, सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारको नेतृत्व दिने खाकामा छलफल भएको छ ।
तर नयाँ सत्ता गठबन्धनलाई प्रदेश सरकार फेर्न कांग्रेसले अड्को थाप्ने तयारी गरेको छ । संसदीय अंकगणितका आधारमा खेल्न सक्नेमा खेल्ने र संसदीय अंकगणित खेल्न नसक्ने कोशी प्रदेशमा संवैधानिक प्रश्न उठाउने तयारी कांग्रेसले गरेको छ ।
कोशीमा एमालेले नेतृत्व गर्ने नयाँ गठबन्धनमा छलफल चलेको छ । तर ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत छ । एमालेका ४०, माओवादीका १३ र एकीकृत समाजवादीका ४ सांसद छन् ।
गठबन्धनसँग प्रष्ट बहुमत भए पनि यो प्रदेशमा गत चुनाव यता नै सरकार बनाउने सबै विकल्पमा सरकार बनिसकेको छ । एक वर्षमा पाँच वटा मुख्यमन्त्री फेरिए भने हाल रहेका छैटौं मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वतन्त्र सांसदको हैसितमा मुख्यमन्त्री बनेका थिए ।
यो सरकार अन्तिम सरकार भएको र अर्को सरकार बन्न नसक्ने कांग्रेसको दाबी छ । वर्तमान कार्की नेतृत्वको सरकार ढले मध्यावधि चुनाव हुने भनी कांग्रेसले संवैधानिक प्रश्न उठाएको हो । यसका अलावा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा कांग्रेसले अड्को थाप्दैछ ।
११० सदस्यीय बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ५५ मत छ । सरकार बनाउन ५६ मत चाहिन्छ । १३ सिट रहेको राप्रपाले सरकार बनाउन साथ नदिने भनिसकेको छ । ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि नयाँ गठबन्धनलाई साथ दिने निर्णय लिएको छैन ।
यस्तो अवस्थामा वर्तमान सरकारले विश्वासको मत पाउन नसके सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने र साना दलको साथ लिएर सरकार चलाउने योजना कांग्रेसको छ । तर, कांग्रेसलाई पनि साना दलको साथ लिएर सरकार चलाउन आवश्यक ५६ मत पुग्दैन । यस्तो स्वतन्त्र सरकार बनाउने हदसम्म जाने गरी कांग्रेसले नीति लिएको छ ।
गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज छैन । कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बहुमत जुटाउने प्रयासमा छन् । उनले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका छन् भने दुई प्रदेश सांसद भएको राप्रपाको समर्थन लिने प्रयास गरेका छन् ।
आफू स्वतन्त्र सांसद भएको मनाङेको दाबी सदर भएमा एमाले–माओवादीलाई सरकार बनाउन असहज हुनेछ । मनाङे कारबाहीमा परेर पद रिक्त भएमा पनि नयाँ गठबन्धनलाई सरकार बनाउन आवश्यक मत पुग्दैन । लुम्बिनी र सुद्ररपश्चिम प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनले नाउपाको साथ खोजेको छ । कांग्रेसले पनि यो दुवै सरकार जोगाउन नाउपाकै समर्थन खोजेको छ ।
लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ सांसद छन् । राप्रपा ४, लोसपा ३, जनमत ३, जनमोर्चा १ को समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था छैन ।
एमाले–माओवादी गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन । एमाले २९ माओवादी सभामुख बाहेक ८, जसपा ३ र एकीकृत समाजवादी १ जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार बनाउने एमाले र माओवादी नेताहरुको तयारी छ ।
सुदूरपश्चिम समेतको अंकगणितलाई हेरेर नयाँ गठबन्धनले नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिन तयारी गरेको छ । नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । केन्द्रमा नाउपाका सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।
५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्, माओवादीका ११ र एमालेका १० सांसद छन् । सरकार गठनमा निर्णायक रहेको नाउपासँग ७ सांसद छ । मुख्यमन्त्री कमल शाहले नाउपासँगै राप्रपा (१) र स्वतन्त्र सांसद तारा जोशीको समर्थन लिएर बहुमत जुटाउने कोसिस गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies