मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सरकार हेरफेरको गृहकार्य अघि बढाएका छन् । दोस्रो तहका नेताहरुबाट भएको प्रयास र ब्रिफिङ पछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच संवाद भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा प्रदेश सरकारको भागवण्डाबारे छलफल चलेको हो । गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण बदलेर एमालेसँग गठबन्धन गरेका थिए । त्यसपछि नयाँ सत्ता समीकरणअनुसार प्रदेश सरकार हेरफेर गर्ने तयारी छ । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको छ ।
नेताहरुका अनुसार एमालेले कोशी, गण्डकी र कर्णाली प्रदेशको मुख्यमन्त्री लिने, माओवादीले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिने, जसपाले मधेश सरकारको नेतृत्व लिने, सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारको नेतृत्व दिने खाकामा छलफल भएको छ ।
तर नयाँ सत्ता गठबन्धनलाई प्रदेश सरकार फेर्न कांग्रेसले अड्को थाप्ने तयारी गरेको छ । संसदीय अंकगणितका आधारमा खेल्न सक्नेमा खेल्ने र संसदीय अंकगणित खेल्न नसक्ने कोशी प्रदेशमा संवैधानिक प्रश्न उठाउने तयारी कांग्रेसले गरेको छ ।
कोशीमा एमालेले नेतृत्व गर्ने नयाँ गठबन्धनमा छलफल चलेको छ । तर ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत छ । एमालेका ४०, माओवादीका १३ र एकीकृत समाजवादीका ४ सांसद छन् ।
गठबन्धनसँग प्रष्ट बहुमत भए पनि यो प्रदेशमा गत चुनाव यता नै सरकार बनाउने सबै विकल्पमा सरकार बनिसकेको छ । एक वर्षमा पाँच वटा मुख्यमन्त्री फेरिए भने हाल रहेका छैटौं मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वतन्त्र सांसदको हैसितमा मुख्यमन्त्री बनेका थिए ।
यो सरकार अन्तिम सरकार भएको र अर्को सरकार बन्न नसक्ने कांग्रेसको दाबी छ । वर्तमान कार्की नेतृत्वको सरकार ढले मध्यावधि चुनाव हुने भनी कांग्रेसले संवैधानिक प्रश्न उठाएको हो । यसका अलावा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका सन्दर्भमा कांग्रेसले अड्को थाप्दैछ ।
११० सदस्यीय बागमती प्रदेशमा नयाँ गठबन्धनसँग ५५ मत छ । सरकार बनाउन ५६ मत चाहिन्छ । १३ सिट रहेको राप्रपाले सरकार बनाउन साथ नदिने भनिसकेको छ । ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि नयाँ गठबन्धनलाई साथ दिने निर्णय लिएको छैन ।
यस्तो अवस्थामा वर्तमान सरकारले विश्वासको मत पाउन नसके सबैभन्दा ठूलो दलको हैसियतमा सरकार बनाउने र साना दलको साथ लिएर सरकार चलाउने योजना कांग्रेसको छ । तर, कांग्रेसलाई पनि साना दलको साथ लिएर सरकार चलाउन आवश्यक ५६ मत पुग्दैन । यस्तो स्वतन्त्र सरकार बनाउने हदसम्म जाने गरी कांग्रेसले नीति लिएको छ ।
गण्डकीमा पनि एमाले–माओवादी गठबन्धनलाई सरकार बनाउन सहज छैन । कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बहुमत जुटाउने प्रयासमा छन् । उनले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई भौतिक पूर्वाधारमन्त्री बनाएका छन् भने दुई प्रदेश सांसद भएको राप्रपाको समर्थन लिने प्रयास गरेका छन् ।
आफू स्वतन्त्र सांसद भएको मनाङेको दाबी सदर भएमा एमाले–माओवादीलाई सरकार बनाउन असहज हुनेछ । मनाङे कारबाहीमा परेर पद रिक्त भएमा पनि नयाँ गठबन्धनलाई सरकार बनाउन आवश्यक मत पुग्दैन । लुम्बिनी र सुद्ररपश्चिम प्रदेशमा सरकार बनाउन नयाँ गठबन्धनले नाउपाको साथ खोजेको छ । कांग्रेसले पनि यो दुवै सरकार जोगाउन नाउपाकै समर्थन खोजेको छ ।
लुम्बिनीमा कांग्रेस नेतृत्वको सरकार छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसद चाहिन्छ । कांग्रेससँग २७ सांसद छन् । राप्रपा ४, लोसपा ३, जनमत ३, जनमोर्चा १ को समर्थन जुटाउँदा पनि मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन सक्ने अवस्था छैन ।
एमाले–माओवादी गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन । एमाले २९ माओवादी सभामुख बाहेक ८, जसपा ३ र एकीकृत समाजवादी १ जोड्दा ४१ हुन्छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर सरकार बनाउने एमाले र माओवादी नेताहरुको तयारी छ ।
सुदूरपश्चिम समेतको अंकगणितलाई हेरेर नयाँ गठबन्धनले नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिन तयारी गरेको छ । नाउपा सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । केन्द्रमा नाउपाका सांसदले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको छ ।
५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्, माओवादीका ११ र एमालेका १० सांसद छन् । सरकार गठनमा निर्णायक रहेको नाउपासँग ७ सांसद छ । मुख्यमन्त्री कमल शाहले नाउपासँगै राप्रपा (१) र स्वतन्त्र सांसद तारा जोशीको समर्थन लिएर बहुमत जुटाउने कोसिस गरेका छन् ।
शिव नेपाली/मध्यान्ह
काठमाडौं : सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले बिएण्डसीलाई सम्बन्धन आदेश दिएको हो ।
सरकारले नै अनुमति दिएपछि पूर्वाधार तयार भएको बिएण्डसी कलेजले सम्बन्धन पाउन सकिरहेको छैन । यहीकारण ऋणमा परेपछि बिभिन्न नाममा आन्दोलन गर्दै हिँडेका व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्चको आदेशले राहत मिलेको छ ।
सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीका अनुसार काठमाडौँ विश्वविद्यालयलाई व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बिएण्डसी मेडिकल कलेजको सम्बन्धन माग गर्दै परेको दुईवटा रिट निवेदनमा रिट जारी गरेको हो । गत मंगलबार न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ सकिएको तीनवटा रिटमा सोमबार निर्णय सुनाउनका लागि पेशी तोकिएको थियो ।
झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए । त्यसपछि प्रसाईंले २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध फेरि अर्को रिट निवेदन दिएका थिए ।
रिट निवेदनको प्रतिवादमा शशिविक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गर्दै २०७८ भदौमा रिट दिएका थिए । ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सोमबार सर्वोच्चले निर्णय सुनाएको हो । कार्कीको रिटमा सर्वोच्चले कानुन बमोजिम गर्नु भन्ने आदेश दिएको उप्रेतीले बताए ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका गोविन्द केसीको आन्दोलनका कारण सबै मापदण्ड पुगेर पनि बिएण्डसीले सम्बन्धन पाउने प्रक्रिया रोकिएको थियो । सोमबार सर्वोच्च अदालतले जारी गरेको आदेशसँगै विएण् सीले सम्बन्धन पाउने बाटो खुलेको छ ।
तर, यसका लागि आवश्यक कानुनी प्रवन्ध भने गर्नुपर्ने सर्वोच्चको आशय छ । पूर्णपाठ नआउँदासम्म आगामी प्रक्रियाहरु के हुन्छ भन्ने बारे स्पष्ट नहुने पनि कानुन व्यावसायीहरु बताउँछन् ।
निस्ता कार्की/मध्यान्ह
कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिकालाई नेपालकै पहिलो पालिकाको रुपमा जलवायु उत्थानशील गाउँपालिका घोषणा गरिने भएको छ । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको नरहरिनाथ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम तय गरी निकट भविष्यमा जलवायु उत्थानशिल गाउँपालिका घोषणा गर्ने भएको हो । जलवायु अनुकुलनमैत्री पालिका घोषणा गर्न सबै सूचकहरु पास गरी राजपत्रमा प्रकाशित सूचनाका आधारमा पालिकालाई जलवायु उत्थानशिल गाउँपालिका बनाउने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टले बताए ।
उनले जलवायु परिवर्तनका कारण हुने असरहरुका विषयमा नरहरिनाथबासी सचेत भएको बताए । उनले भने, ‘सरकार प्रतिबद्ध छ, जनताले दुःख पाउनु हुँदैन ।’ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहले भने, ‘२०७७ सालमा आएको बाढी पहिरोमा परेर दर्जनौं नरहरीनाथबासीको ज्यान गयो । जलवायु परिवर्तनले पार्ने असर र यसबाट बच्न सक्ने प्रयासका विषयमा यहाँका नागरिकहरु जानकार भएका भए यति ठूलो क्षति बेर्होनुपर्ने अवस्था आउने थिएन । त्यसैले वर्तमान स्थानीय सरकार सचेतपूर्ण ढंगले लागि परेको छ ।’
यसैगरी पछिल्लो समयमा जलवायु परिवर्तनका कारण अनियमित रुपमा वर्षा हुनु, स्वास्थ्यमा समस्या देखिनु, कृषिबालिमा रोग लाग्नु, छिटोछिटो हिउँ पग्लनु लामो समयसम्म पानी नपर्नुले जनजीवन कष्टकर भएको साहास नेपाल पाइला परियोजना संयोजक मनिक्षा आचार्यले बताइन् । उनले भनिन्,‘भू–क्षय हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरु पनि नरहरिनाथमा देखिएका छन् ।’
यसलाई न्यूनीकरण गर्दै कृषि अनुकुल प्रणालीको प्रयोग गर्ने, वैकल्पिक उर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरी त्यसलाई कृर्षिजन्य उत्पादनमा प्रयोग गर्ने र बनजंगलको संरक्षण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
अन्तरसंवाद कार्यक्रममा किशोरी पविता विश्वकर्माले जलवायू परिवर्तनका कारण बालवालिकाहरुमा पनि असर परेको बताइन् । यस्तो अवस्थामा पनि स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै छिट्नै जलवायु उत्थानशिल पालिका घोषणा गर्न सरकारका प्रतिनिधिहरुसँग उनले माग गरिन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सहकारीले विपद तथा जलवायुजन्य उत्थानशिल योजना २०८० मा समाहित गरिएका योजनाहरुलाई पालिकाको वार्षिक नीति तथा कार्यक्रममा समाहित गरेको बताए । उनले अबका दिनमा नरहरिनाथ गाउँपालिकामा विपदले निम्त्याउने हरेक जोखिमहरुसँग नरनहरिनाथबासी परिपक्व भएर लड्न सक्ने भए ।
गाउँमा आजकाल परम्परागत चुलोलाई त्यागेर नयाँ आधुनिक चुलो वितरण गरिएको छ । यसैगरी स्थानीय सरकारलाई सुझाव दिँदै सहास नेपाल पाइला परियोजना अनुगमन अधिकृत खगेन्द्र विश्वकर्माले भने, ‘यहाँका नागरिकहरुको जीवनस्तर उठाउने खालका उद्योगहरु खोलिनुपर्छ । सबैलाई कृषि क्षेत्रतिर लाग्न गाउँपालिकाले नीति निर्माण गर्नुपर्छ ।’
नागरिकका प्रश्नको उत्तर दिँदै गाउँपालिका अध्यक्ष बिष्टले नरहरिनाथ गाउँपालिकालाई सन् २०२४ भित्रै जलवायु उत्थानशिलपालिका बनाउने विषयमा आफु प्रतिबद्ध भएको बताए ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनएन एनसीसी) कतारको आयोजनामा इस्लाम धर्मावलम्बीहरूको पवित्र चाड इद उल फितरको अवसरमा आयोजित शुभकामना आदान–प्रदान, बृहत इफ्तार र फुटवल प्रतियोगीता सम्पन्न भएको छ । दोहामा चलिरहेको दोहा एक्सपोमा रहेको नेपाल पभिलोनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै धर्म गुरु हजरत मौलाना कारी कलिमुल्लाह नदबिले कुरान तिलावत वाचन गरेका थिए । त्यस्तै धर्मगुरु मौलाना गुलाब नबी रिज्वीले (नात ए कलाम) इस्लाम धर्म र रोजाको बारेमा बताउँदै पैगम्बर हजरत मोहम्मदको प्रशंसा गरेका थिए । पवित्र महिना रमदानको विशेषता, रमजान महिनाको रोजा उपवास र व्रतको बारेमा प्रोफेसर मोहमद रमजान अलि मियाले प्रस्ट पारेका थिए ।
एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत मन्तव्य राखेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ढकालले इफ्तार कार्यक्रमले नेपालीहरूको पारिवारिक माहोल बढेको बताए । जुन कुनै धर्म संस्कृति सबैको एउटै लक्ष्य मानसिक, शारीरिक, शान्ति समाज र मानव कल्याण रहेको र इस्लाम धर्मावलम्बीको मात्र धर्म नभइ हामी सम्पूर्ण नेपालीहरूको धर्म रहेको बताउँदै शुभकामना व्यक्त गरे ।
महासचिव रबिन मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति भट्टले हामी नेपाली हाम्रो देश नेपाल भौगोलिक जातीय एवं धार्मिक रूपमा विविधता भएपनि सबै जातजाति धर्म संस्कृति मिलेर बसेको साझा फूलबारी बताउँदै एनसीसी कतारले सबै धर्म जाती र क्षेत्रका चाडपर्वहरूलाई अपनत्व गर्दै विगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको र यस्ता कार्यक्रमले हामीहरु बीचको सद्भाव भाइचारा बढ्ने बताए । कार्यक्रमका लागि सहज वातावरण एक्स्पोले दिएको स्थानलाई हार्दिक कृतज्ञता प्रकट गर्दै उपस्थित धर्म गुरु लगायतलाई आभार व्यक्त गरेका थिए ।
कार्यक्रममा एनआरएनए आइसीसी, एनसीसीसहित कतारमा स्थापित विभिन्न प्रदेश, जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधि धर्म गुरुहरूको उपस्थिति सहित मन्तव्य रहेको थियो । कार्यक्रम पश्चात् अतिथीगणले एक्स्पोरो अवलोकन गरेका थिए ।
फुटबल प्रतियोगिता सम्पन्न
इफ्तार कार्यक्रम लगत्तै अलबिदामा रहेको फुटबल ग्राउन्डमा एनसीसी कतार र सीएफसीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ७/७ जनाको टिम निर्माण गरी ६० मिनेटको सीमा राखेर खेलाइएको खेलमा एनसीसीका तर्फबाट राज देवकोटाले २ गोल गरेका थिए भने सीएफसीले ३ गोल गर्दै प्रतियोगिताको विजयी बनेको थियो ।
एनसीसी कतारका अध्यक्ष भट्टले बल पास गर्दै खेलको शुभारम्भ गरेका थिए । आगामी बकर इदको अवसर पारेर कतारमा अवस्थित नेपाली समुदायमा रहेका खेलाडीहरू समेटेर फुटबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको एनसीसी कतारका वरिष्ठ उपाध्यक्ष पन्थीले मध्यान्हलाई जानकारी दिए ।
पवन जायसवाल/मध्यान्ह
विराटनगर : नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रीय सभाको अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । नेपाल क्षयरोग निवारण संस्था मोरङ शाखाको आतिथ्यमा विराटनगरस्थित स्वागतम होटलमा केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर अधिवेशन उद्घाटन गरेका थिए ।
नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाका सचिव भविस कुमार श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष अरुण प्रताप राणाले गरेका थिए । अधिवेशनका प्रमुख अतिथि खापुङ्गले क्षयरोग पत्ता लगाउने वैज्ञानिक डा.रर्वटकक र यस संस्थाका संस्थापक तथा पूर्व मन्त्री मातृका प्रसाद कोइरालाको स्मरण गरेका थिए । उनले यो रोग फैलन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट सचेतना फैलाउन आवश्यक रहेको बताए ।
यसरी विशिष्ट अतिथि तथा मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले प्रदेशमा बच्चाहरुलाई निःशुल्क उपचार गर्ने र बच्चाहरु स्वस्थ भए भने क्षयरोग नलाग्ने बताए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगर मूलुकको पहिलो औद्यौगिक नगरी रहेको बताए । उनले आज भन्दा ७० वर्ष अगाडि स्थापना भएको क्षयरोग संस्था रहेको बताए ।
कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारले कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसरी कार्यक्रममा केन्द्रीय अध्यक्ष मदन काजी श्रेष्ठ, केन्द्रीय महासचिव राजेन्द्र श्रेष्ठले केन्द्रले गरेको कार्यहरुको बारेमा प्रकाश पारेका थिए । मोरङ्ग शाखाका सभापति शिव नारायण प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
निर्वतमान केन्द्रीय अध्यक्ष देवेन्द्रमान प्रधान, सम्मानित व्यक्तित्वहरुको तर्फबाट सलाही जिल्लाका सभापति डोल प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय महासचिव राजन कुमार श्रेष्ठद्वारा आ.व. २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष किरणमान प्रधानद्वारा आ.व. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रगति प्रतिवेदन, लेखा परिक्षण, आयव्यय विवरण, प्रस्तावित कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरिएपछि सर्वसम्मतले पारित गरिएको थियो । कार्यालयबाट प्राप्त सुझाव अनुसार मस्यौदा अनुमोदनको लागि पेश गरिएको थियो ।
नेपालगन्ज : बाँकेमा ५ सय ३९ जना क्षयरोगी थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षमा मात्रै ५ सय ३९ जना क्षयरोगी थपिएका हुन् ।
१४१ औं विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा आयोजित सचेतनामूलक कार्यक्रममा क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले बाँकेमा क्षयरोगीको संख्या बढ्दै गएको जानकारी गराए ।
हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने यस वर्षको विश्व क्षयरोग दिवसको नाराका साथ नेपालगन्ज र कोहलपुरमा सचेतनामूलक र्याली, अन्तरक्रिया तथा सभाको आयोजना गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपाल क्षयरोग संस्था बाँके लगायत विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा नेपालगन्जमा जनचेतनामूलक र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरु क्षयरोग सम्बन्धी विभिन्न सन्देशमूलक नारा लेखिएको सचेतनामूलक प्लेकार्डसहित सहभागी भएका थिए ।
सो अवसरमा विभिन्न संघसंस्थाहरुको तर्फबाट नेपाल क्षयरोग संस्था बाँकेका पूर्व अध्यक्ष पूर्ण लाल चुकेले स्वास प्रश्वासबाट फैलिने यो रोगबाट अहिले पनि हरेक वर्ष १७ हजारको अकालमा ज्यान गइरहेकोतर्फ गम्भीर हुँदै सरकारले उच्च प्राथमिकता दिएर यसको नियन्त्रणका लागि प्रभावकारी योजना ल्याएर कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।
भेरी अस्पतालबाट शुरू भएको सो र्याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । समापन कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगन्ज उपमहानगरमा सबैभन्दा धेरै क्षयरोेगी पत्ता लागेको बताउँदै सहकार्य बिना एकल प्रयासले मात्र क्षयरोगी पत्ता लगाउन र उपचारमा ल्याउन कठिन भएको बताए । क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको उनको भनाई थियो ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाही क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको बताउँदै लगातार दुई साता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने बताए ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका पूर्व प्रमुख धीर जंग शाह, नेपाल क्षयरोग संस्था बाँकेका अध्यक्ष बदरुद्दीन अन्सारी, महिला स्वास्थ्य स्वयम्सेवीकाहरु, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय, बाँकेकी मलेरिया निरीक्षक दुर्गा गौतमले गरेका थिए । सोही दिवसको अवसरमा अपरान्ह स्वास्थ्य कार्यालय, बाँकेले पत्रकार अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरेर बाँके जिल्लामा क्षयरोगको अवस्थाको बारेमा जानकारी दिइएको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका थिए ।
यसैगरी बाँकेको कोहलपुरमा पनि विश्व क्षयरोग दिवस र्यालीसहित कोणसभा गरी मनाइएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा आयोजित र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवालाहरुको सहभागिता थियो ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : भगवती माध्यमिक विद्यालय सन्धिखर्क–२ कुर शंखेटारीले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने भएको छ ।
अभिभावकको आग्रह र विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै विद्यालयले आगामी शैक्षिक सत्र २०८१ देखि शंखेटारीमा नर्सरी, केजी र कक्षा ६ तथा भगवतीस्थान कुरमा नर्सरी, केजी र कक्षा–१ मा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएको हो ।
भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीद्वारा एसईई परीक्षामा समावेश हुने विद्यार्थीको निम्ति आयोजित शुभकामना तथा बधाइ कार्यक्रममा विद्यालयले आफ्नो भावी कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर भुसालले शैक्षिक गुणस्तर वृद्धिको निम्ति विद्यालय नयाँ योजना निर्माण गरेर अगाडि बढेको बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न नसके ग्रामीण बस्ती मानव विहीन हुन सक्ने उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक ध्रुबबहादुर खत्रीले पछिल्लो समय अंग्रेजी भाषाप्रति समुदायको आकर्षण बढेकाले नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको बताए । उनले शैक्षिक गुणस्तरको निम्ति आफुहरुले ठूलो चुनौतीकाबीच काम गरिरहेको बताए ।
सरकारी विद्यालय प्रतिका आशंका र गुनासा चिर्ने प्रमुख औजार शैक्षिक गुणस्तर र विद्यार्थीमा आउने परिवर्तन भएको भन्दै उनले शिक्षकमा मैले केही गरेर देखाउँछु भन्ने हिम्मत,विद्यार्थीमा जिज्ञासा र अभिभावकमा छोराछोरी प्रतिको कर्तव्यबोध हुन जरुरी रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु ढुङ्गानाले भगवती मध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरिने बताए ।
कुरमा विद्यालय स्थापना गर्दा अभिभावकले पुर्याएको योगदानको स्मरण गर्दै उनले शैक्षिक गुणस्तर वृद्धिको निम्ति जस्तोसुकै त्याग र सहयोग गर्न अभिभावक तयार रहेको दावी गरे ।
उनले मन देखिनै गर्छु भनेर लागेमा असंभव भन्ने कुरा केही नभएको भन्दै फेरि एकपटक विद्यालयको निम्ति त्याग गर्न सरोकारवालाको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य तुल्सी गैरेले सरकारी विद्यायको नतिजा कमजोर आउनु दुःखद पक्ष भएको भन्दै भगवती माध्यमिक विद्यालयले उदाहरण बनेर देखानु पर्नेमा जोड दिए ।
गंगा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदिप भण्डारीले जिल्लामा सरकारी विद्यालयले पुर्याएको योगदानको स्मरण गर्दै सरकारी विद्यालयले आफूलाई समय अनुकुल रुपान्तरण गर्दै लैजानु पर्नेमा जोड दिए ।
कक्षा–९ की छात्रा सामना नेपालीको अध्यक्षता, वरिष्ठ शिक्षक डिलाराम पन्थीको स्वागत मन्तव्य र शिक्षक शोभाखर पन्थीले सञ्चालन गरेको कार्यक्रममा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले रोचक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
अर्घाखाँची : निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीले गृह मन्त्रालय सरुवा भएका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको एक कार्यक्रमका बीच बिदाइ गरेको छ । जिल्लामा क्रियाशिल ट्रेड युनियनका अध्यक्ष, प्रतिनिधीहरुको उपस्थितिमा ढकाललाई बिदाइ गरिएको हो ।
प्रमुख जिल्ला अधिकारीले आधिकारिक ट्रेड युनियनको जग्गा प्राप्तिसम्बन्धी कार्यमा सहयोग र समन्वय गरेको भन्दै उपस्थित सबैले प्रशंसासमेत गरेका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यता, सिबिए अध्यक्ष कृष्ण वर्माको अध्यक्षता र सिबिए सचिव दुर्गा बि.क.को सञ्चालनमा सम्पन्न भएको हो ।
पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पामा झारल काट्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रमा झारल मारेर काट्दै गरेको अवस्थामा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
सोमबार त्रिपुराकोट प्रहरी चौकीका इन्चार्ज रमेश बहादुर सिंह नेतृत्वको टोलीले खुकुरीसहित त्रिपुरासुन्दरी नगरपालिका-९ का ३६ वर्षीय लक्ष्मीनारायण पुनलाई पक्राउ गरेकाे हाे । प्रहरीले पुनलाई त्रिपुरासुन्दरीमा पर्ने धाउने भन्ने स्थानमा मारेकाे झारल भाग लगाउनका लागि काट्नै लागेकाे अवस्थामा पक्राउ गरेकाे हो ।
सिंहका अनुसार सोमबार बिहान धाउने भन्ने स्थानमा गाेली हानेर पुनले झारल मारेकाे बुझिएकाे छ । झारल फागुन ११ गते शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जकाे मध्यवर्ती क्षेत्र त्रिपुराकाेटमा देखा परेकाे थियाे । पुनले झारल मार्न प्रयाेग गरेकाे बन्दुक त्रिपुरासुन्दरी-१० दापु निवासी बद्री शाहिलाकाे रहेकाे अनुसन्धानमा खुलेकाे त्रिपुराकोट प्रहरी चौकीले बताएको छ ।
घटनास्थलमा बरामद हतियारसहित पुनलाई डिभिजन वन कार्यालय डोल्पामा बुझाउने गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पा लगिएकाे छ । डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन रावतका अनुसार अनुसन्धानपछि पुनविरुद्ध वन्यजन्तु चाेरी पैठारी एवम् चाेरी शिकारी ऐन अनुसार कारबाही हुने छ ।
काठमाडौं : सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईंको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies