सरु भुसाल/मध्यान्ह
गुल्मी : गुल्मीका विभिन्न स्थानमा दुई दिनदेखि आगलागी हुँदा सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको स्थानीयले बताएका छन् । शुक्रबारदेखि गुल्मी जिल्लाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर गोठ जलेर नष्ट हुनुका साथै सरकारी सम्पत्तिसहित करोडौंको क्षति भएको छ ।
शुक्रबार दिउँसो गुल्मीदरबार गाउँपालिका ३ र ४ को बीचमा पर्ने जंगलमा आगलागी हुँदा नेपाल विद्युत प्राधिकरणको वीरबास सवस्टेशनको स्टोर जलेर दुई करोडभन्दा बढीको इलेक्ट्रोनिक्स सामग्री नष्ट भएको विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिएका छन् । शनिबार हावाहुरीसँगै गुल्मी जिल्लाका विभिन्न पालिकाका विभिन्न स्थानमा आगलागीका घटना हुँदा दर्जनौं घर जलेर नष्ट भएका छन् । आगलागीमा परेर केही मानिसहरु घाइते भएको र पशुचौपायाहरु मरेको पत्रकार रमेश बिकले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका– २ को रानीवन सामुदायिक वनमा लागेको आगो सिदुङ्खा र हाँडिखोला समेत गरी १५ वटा घर गोठ जलेर नष्ट भएका छन् । आगलागीमा लु ४ त ६५३५ नम्बरको ट्याक्टर पूर्णरुपमा जलेको छ भने त्यसका चालक उजुङ्घ निवासी हिमाल राना घाइते भएका छन् । त्यस्तै जेसिभी चालक मुसिकोट नगरपालिका– ७ पल्टारका प्रेम राना पनि गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका– ४ हुल मुड्कीनामा चार गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेर एउटा लैनो भैंसी, एउटा गाई र १० वटा बाख्रा जलेका छन् । यहाँ शनिबार अपरान्हसम्म सात वटा घर जलेर नष्ट भएको र थप करिब १० वटा घर जोखिममा रहेको त्यहाँका वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।
धुर्कोट गाउँपालिका– ६ धुर जंगलमा भिषण आगलागी भएको स्थानीयवासी तथा पत्रकार भरत पाण्डले जानकारी दिए । त्यस्तै, मुसिकोट नगरपालिकाको– ९ अर्लाङ्कोटको जंगलमा पनि भिषण आगलागी भएको छ । वडाध्यक्ष भोमा गुरुङका अनुसार अपरान्हसम्म तीन वटा घर र एउटा गोठ जलेर नष्ट भएका छन् भने तीन वटा भैंसी मरेका छन् । आगो नियन्त्रणभन्दा बाहिर रहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिका– १ भड्कुवा गाउँको चारैतिर आगलागी हुँदा पाँच वटा घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । सात वटा पशुचौपाया मरेको र झण्डै दुई दर्जन घर गोठ उच्च जोखिममा परेको स्थानीयवासी विकास ज्ञवालीले बताए । प्रहरीका अनुसार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका, मालिका गाउँपालिकाका विभिन्न स्थानमा आगलागी भएको छ । जिल्लाका विभिन्न स्थानमा आगलागी भएको हुँदा नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको भन्दै आम नागरिकसमेतलाई होसियारपूर्वक आगलागी नियन्त्रणमा जुट्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आह्वान गरेका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० घर गोठ जलेर नष्ट भएका छन् । वडा नं. ३ र ४ रातामाटामा अत्यधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा आउँदा घरगोठ जलेर नष्ट भएको स्थानीय तथा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरि प्रसाद भुसालले जानकारी दिए ।
मानविय क्षती नभएपनि दजनौं घरमा आगलागी हुँदा त्यहाँ रहेका पशुचौपाया तथा अन्य सामग्रीहरु जलेर नष्ट भएको धारापानी प्रहरी चौकीले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिले आगो चारैतिर फैलिएका कारण यकिन तथ्यांक आउन सकेको छैन । आगलागी अहिले पनि जारी रहेकोले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
प्रहरीका अनुसार अहिले आगो नियन्त्रण गर्नका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली तथा राजनीतिक दलका नेता कार्यकर्ताहरु गाउँमा परिचालन भएको भएपनि अत्यधिक हावाहुरीका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । अर्घाखाँचीमा आज दिनभर हावाहुरी लागेका कारण पनि आगो गाउँमा फैलिएको हो । अर्घाखाँचीको शितगंगा नगरपालिका गोल्डुङ भन्ने ठाउँमा पनि आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ भने पाणिनी गाउँपालिकाका विभिन्न ठाउँमा हिजोदेखि लागेको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् भने पाणिनी ३ खुलौले भन्ने ठाउँमा १ घर जलेर नष्ट भएको स्थानीय पत्रकार माधव पौडेलले जानकारी दिए ।
भुमिकास्थान ३ र ४ मा आगलागीबाट कसको घरमा भयो क्षति ?
१, शाेभाखर बन्जाडे : गाेठ
२, रेशम परियार : घर/गाेठ
३, वसन्त मल्ल ठकुरी : घर/गाेठ
४, विष्णु जि एम खाेका दाेकान
५, गंग बहादुर : घर
६, दुर्गा विक : घर
७, पुर्ण प्रसाद भुसाल : गाेठ/बाइक
८, भुपलाल भसाल : गाेठ/भैंसी
९, झविलाल भुसाल : घर
१०, खिम प्रसाद भुसाल : घर
११, तिलक भुसाल : घर
१२, ईश्वरी भुसाल : घर
१३, काँशिराम भुसाल : घर
१४, गंगा भुसाल : गाेठ
१५, रामजी भुसाल : घर/थाराे
१६, कृष्ण ओली : घर/भैंसी
१७, दाेल प्रसाद भुसाल : थाराे
१८, पिताम्वर भुसाल : थाराे
काठमाडौं : सत्ता र शक्ति स्वार्थका नेपाली कम्युनिष्टहरु मूल्य, मान्यता, विचार र सिद्धान्तबाट च्यूत हुँदै पथविचलन भएको वक्ताहरुको बताएका छन् । शनिबार काठमाडौंको संवाद डबलीमा ‘प्रगतिशील रुपान्तरण अभियान’ ले आयोजना गरेको कार्यक्रममा कम्युनिष्टहरुले जनअधिकार, राष्ट्र र राष्ट्रियतालाई समेत लिलाम गरेको आरोप लगाउँदै महाविचलनको बाटोतिर हिँडेको भन्दै चिन्ता व्यक्त गरिएको हो ।
नेकपा एमालेका नेता डा.भीम रावलले उत्पीडित जनताको अधिकार, राष्ट्र र राष्ट्रियताको रक्षाको नारा दिँदै नेपाली कम्युनिस्टहरु सत्तामा जाने तर त्यही सिद्धान्त र प्रतिबद्धताविरुद्ध जाने प्रवृत्ति घातक भएको बताए । सत्ता र शक्तिको लागि जुनसुकै हदसम्म जाने प्रवृत्तिले जनताको कम्युनिष्टप्रति विश्वास घटेको बताए ।
‘पदका लागि रातिराति जासुसहरुसँग बैठक, देश फुटाउँछु भन्नेलाई मन्त्री बनाउनेहरु विचलन मात्रै हैन महाविचलनमा गइसके’ रावलले भने । उनले नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुगेपछि आफूले उठाउँदै आएका कुराहरु छोड्ने गरेको बताए ।
नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफ्नो पार्टीमा मात्रै नभएर सबै कम्युनिस्ट पार्टीहरुमा आलोचनात्मक विचार रोक लगाएको बताए ।
‘कसैले रचनात्मक टिप्पणी गरे उसको भविश्य भोलिबाटै सकिन्छ, जसले भक्ति गान गायो उसैको भलो हुन्छ, पार्टी,जनता भडमा जाओस् । तर सहि र गलतबीच लडाइँ चलिरहन्छ आशा गरौं, कुनै दिन कम्युनिस्टहरुमा आलोचनात्मक टिप्पाणी संस्थागत हुने छन्, सिद्धान्ताको रक्षा हुनेछ’ कार्कीले भने ।
नागरिक अगुवा श्याम श्रेष्ठले कम्युनिष्टहरुले आधारभूत इमान्दारितालाई नै त्यागेर सत्ता स्वर्थमा चुर्लुम्म हुँदा विगतको संघर्षका उपलब्धिहरु पनि गुम्न लागेकोले आफूहरुले विचलनलाई रोक्न नयँ अभियान चलाउन लागेको जानकारी दिए ।
उनीहरुमा सबैभन्दा बढी अवसरवाद मौलाएको बताउँदै श्रेष्ठले भने,‘हिजो चप्पलेहरु एकाएक महले बन्ने र जनताको अवस्था ज्यूँकात्यूँ बनेपछि यसलाई पथविचलन मात्रै हैन पथभ्रष्ट भएन र भन्या । जनवादी केन्द्रीयता भने पनि हनुमाने प्रवृत्ति मौलाउनु, देश,वर्ग र पार्टीप्रति प्रतिबद्ध भन्दा अवसरमुखी हुनु आजको मुख्य समस्या हो ।’
वैज्ञानिक समाजवादी पार्टी, नेपालकाका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले कम्युनिष्टहरुले जुन व्यवस्थाको विरोध गर्दै सत्तामा पुग्छन् त्यसैको मतियार हुनेगरेकोे बताउँदै उनले भने, ‘दलाल पुँजीवादी व्यवस्थाको सत्तोसराप गर्छन् सत्तामा गएर, त्यही मान्छे त्यही व्यवस्थाको दलाल बन्छन्, अनि कहाँबाट आउँछ समाजवादी व्यवस्था, जनताले तीनलाई कसरी पत्याइ दिने ।’ कम्युनिष्ट सिद्धान्त र नेपाली समाज उत्पादन संयन्त्र परिवर्तन नभएसम्म परिवर्तन नहुने आहुतीको दाबी छ ।
त्यसैगरी डा.महेश मास्केले नेपाली कम्युनिष्टको विचार र व्यवहारमा तालमेल नभएको बताए । उनले कम्युनिष्टहरु शक्तिमा आउँदा पनि एकजुट हुन नसकेको बताउँदै उत्पादन र वितरणमा कम्युनिष्टहरु चुकेको बताए । कार्यक्रम डा.शरद वन्तले सञ्चालन गरेका थिए ।
सरु भुसाल/मध्यान्ह
अर्घाखाँची : नेपाल राष्ट्रिय कर्मचारी संगठन अर्घाखाँचीलेको आयोजनामा मित्र मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट रहेको नेपाल राष्ट्रिय कर्मचारी संगठन तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीले शनिबार एक कार्यक्रमकाबीच सन्धिखर्कको बाहुनडाँडामा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा मित्र मिलन कार्यक्रम सम्पन्न गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य तथा पूर्व राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका पूर्व सदस्य चन्द्र बहादुर खड्का उज्वल, पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क, प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, संगठनका केन्द्रीय सचिव राजेन्द्र राना, केन्द्रीय सदस्य दिपक जिसी, प्रदेश उपाध्यक्ष विजय वि.क.,प्रदेश प्रतिनिधि बिनोद भट्टराई, प्रदेश सदस्य शारदा खनाल वि.क, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण बर्मा ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।
संगठनका जिल्ला अध्यक्ष यादव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आधिकारिक ट्रेड युनियनका सचिव तथा संगठनका नेता दुर्गा वि.क.ले स्वागत मन्तव्य र महासंघका अध्यक्ष पुर्ण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिकाको वडा नं.१ भलुवहियामा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट विरेन्द्र यादव, विसनुदेव हजरा, मुकेश यादवको घर जलेर नष्ट भएको हो । आगलागीबाट करिब दश बिगहा भन्दा बढी खेतमा लगाइएको गहुँबाली समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट किसान मुनिलाल राउत अहउरका २५ कट्ठा, ताराचन साह तेलीको १५ कट्ठा, अर्जुन यादवको १२ कट्ठा, साहेव राउत अहिर, जुगुल यादव, विश्वनाथ यादव लगायत किसानका खेतमा लगाइएको करिब दश विगहा भन्दा बढी गहुँबाली जलेर नष्ट भएको छ ।
स्थानीय प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक मुकेश यादवको टोली पुगेर क्षतिको विवरण संकलन गरेको थियो । प्रहरी निरीक्षक यादवका अनुसार आगलागीमा कुखुरा फर्म, कुखुराको चल्ला २ हजार र दाना समेत जलेको छ ।
यस्तै स्थानीय विसुनुदेव हजराको २ लाख, मुकेश हजराको १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरीया नगरपालिका, विरगन्ज महानगरपालिका र नेपाल प्रहरीको वारुणयन्त्रले नियन्त्रणमा लिइएको थियो ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको राजापुर नगरपालिकामा ‘पोषणमैत्री स्थानीय सरकार’ विषयक कार्यशाला सम्पन्न भएको छ । ‘सशक्त बालिका परियोजना’ अन्तर्गत राजापुर नगरपालिकाको आयोजना तथा प्लान नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।
२०८७ साल सम्ममा देशका सबै स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यलाई सफल बनाउन राजापुर नगरपालिकाले साझेदार संघ संस्थाहरुको सहकार्यमा आफ्नो मातहतका सबै स्वास्थ्य संस्थाहरुलाई ‘पोषणमैत्री स्वास्थ्य संस्था’ बनाउँदै नगरलाई नै पोषण मैत्री बनाउने अभियान सञ्चालन गर्नुपूर्व कार्यशालाको आयोजना गरिएको हो ।
पालिकामा भएका सम्पूर्ण बालबालिका पोषणको चपेटामा नपरी बालबालिकाहरुलाई पोषणरहित समाजमा बस्ने अवसर प्रदान गर्ने वातावरण निर्माणका लागि कार्यशालाले सघाउ पु¥याउने प्लान नेपालका प्राविधिक सल्लाहकार किरण भण्डारीले बताए ।
कार्यशालामा आधारभूत पोषण तथा यसका विभिन्न आयामका बारेमा जानकारी गराउँदै बहुक्षेत्रीय पोषण योजनाको अवधारणा तथा यसमा विषयगत क्षेत्रको भूमिका र पोषणमैत्री स्थानीय तह घोषणाको लागि पूरा गर्नुपर्ने विभिन्न ७ विषयगत क्षेत्रका ७६ वटा सूचकका बारेमा चर्चा गरिएको थियो ।
नगरभित्रका ५ वर्ष मुनीका बालबालिकाको पोषणको अवस्थाको लेखाजोखा गर्दे सुधारात्मक रुपमा अगाडि बढी पालिकालाई पोषणमैत्री बनाउन कार्यशालामा चर्चा गरिएका विषयवस्तुले सहयोग पु¥याउने राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताए ।
सानो भनेर वास्ता नगरिएको कुराले समाजमा दुरगामी प्रभाव पर्ने बताउँदै राजापुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् वडा नं.५ का वडा अध्यक्ष रमेश दहितले बालबालिकाको भविष्य नै नगरपालिकाको भविष्य भएकाले नगरपालिकाको नीति तथा कार्यक्रममा पोषणको विषयलाई प्राथमिकताका साथ समावेश गरिनुपर्ने बताए ।
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारु, १० वटै वडाका वडाध्यक्ष तथा सचिवहरु, विषयगत शाखाका शाखाप्रमुखहरु, पालिका भित्र रहेका स्वास्थ्य चौकीका प्रमुखहरु, प्लान नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यशालाको सहजीकरण प्लान नेपालका प्राविधिक सल्लाहकार किरण भण्डारीले गरेका थिए ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
रोल्पा : मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम रोल्पामा सम्पन्न भएको छ । रोल्पा जिल्लाका सबै स्थानीय तहको समन्वय र मेडिक मोबाइलको सहयोग तथा स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा शनिबार रोल्पा उद्योग वाणिज्य संघको सभाहल लिबाङमा कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समिति रोल्पाका अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर, उपमेयर, ९ वटै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी रोल्पाका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान रोल्पाका प्रमुख, रोल्पा जिल्ला १० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, रोल्पा जिल्ला १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष, रेडक्रस सोसाइटी सभापति, शिक्षा समन्वय इकाई रोल्पाका प्रमुख लगायत रोल्पा जिल्लामा क्रियाशील पत्रकार तथा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बताए । रायमाझीले अहिले रोल्पा जिल्लाबाट संघमा अर्थमन्त्री, प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएकोले यो रोल्पाको लागि ठूलो अवसर भएकोले यो समयमा रोल्पा जिल्लामा केही गर्न सकिने बताए । सबै स्थानीय तहको तर्फबाट रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले स्वास्थ्य मोबाइल कार्यक्रम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको लागि राम्रो कार्यक्रम भएको बताए । मेयर घर्तीले सबै पालिकाको समन्वय, सहकार्य र सहयोगले गर्दा यो कार्यक्रमलाई समुदाय स्तरमा प्रभावकारी र सफल बनाउन सकिने समेत बताए ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले प्रदेशको मातृ तथा बाल स्वास्थ्य अवस्था,गर्भवती महिला,सुत्केरी महिला र रोल्पा जिल्लाको मातृ तथा बाल स्वास्थ्य अवस्था,गर्भवती महिला,सुत्केरी महिला,गर्भवती चेक लगायतको बारेमा अभिमुखीकरण गरेका थिए । सुवेदीले दिगो विकासमा गर्भ जाँच ९० प्रतिशत रहेको बताउँदै लुम्बिनी प्रदेशले २०३० सम्म मृत्यु हुने सुत्केरी महिलाको संख्या २०७ बाट ७० मा झार्ने लक्ष्य लिएर समेत जानकारी गराए । अहिले सम्म दुईवटा पालिका त्रिवेणी र लुङ्ग्री गाउँपालिकामा कुनै पनि सुत्केरी घरमा सुत्केरी नभएको बताउँदै रोल्पाको दुई पालिका त्रिवेणी गाउँपालिका र लुङ्ग्री गाउँपालिकालाई पूर्ण प्रसुती घोषणा गर्न बाँकी रहेको समेत उनले बताए ।
मेडिक मोबाइलका संयोजक पवन वैश्यले मोबाइल स्वास्थ्य कार्यक्रमको बारेमा जानकारी र सहजीकरण गरेका थिए । वैश्यले मोबाइल स्वास्थ्य एप विद्युतीय स्वास्थ्य सञ्चार भएको बताए । यो एपले स्वास्थ्य सम्बन्धी सञ्चारको काम गर्ने बताउँदै रोल्पा जिल्लामा पनि स्वास्थ्य अवस्था बारेमा मोबाइल स्वास्थ्य एफबाट गाउँघर,स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालयले थाहा पाउन सकिने उनले बताए । कुनै स्थानीय तहको स्वास्थ्य शाखामा बसेर गाउँ घरमा बसेर पनि गर्भवती महिलाले गर्भ जाँच सम्बन्धी जानकारी पाउन सकिने समेत उनले बताए ।
यो कार्यक्रमलाई प्रभावकारी बनाउन व्यवस्थापन,प्रविधि र प्रयोगकर्ता यसका उपलब्धिमुलक मोबाइल स्वास्थ्य एप बनाउन स्थानीय तहहरुको समन्वय भएन भने प्रभावकारी नहुने समेत उनले बताए ।
नेपालमा पहिलो पटक बागलुङ जिल्लामा मोबाइल स्वास्थ्य एप प्रयोग गरेको र अहिले धेरै जिल्लामा प्रयोगमा रहेको उनले जानकारी गराए । मोबाइल स्वास्थ्य एपले विशुद्ध स्वास्थ्य क्षेत्रमा मात्र काम गर्ने भएकोले काम गर्दै आएको बताउँदै स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।
यो एपलाई रोल्पा जिल्लामा स्वयंसेविका, स्वास्थ्य संस्थामा आवद्ध स्वास्थ्यकर्मी,स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र स्थानीय तहका प्रमुख,उप–प्रमुखको भूमिका के रहन्छन् भन्ने विषयमा छलफल गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ । मोबाइल स्वास्थ्य अन्तरक्रिया कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय रोल्पाका लेखा अधिकृत मोतिराज न्यौपानेले गरेका थिए ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाएका हुन् । उनले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारवाही गर्ने बताए ।
स्वास्थ्य सचिव बुर्लाकोटीले जारी गरेको निर्देशनमा स्वास्थ्य सेवा विभाग लगायतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा कार्यालयमा हाजिर भएको देखिने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने पाइएकाले सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो प्राप्त भएको उल्लेख छ ।
“यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थिति नहुनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवम् विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारी संयमित रही आफ्नो पदीय मर्यादा, आचारण र अनुशासन एवम् विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ”, निर्देशनमा भनिएको छ ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको सदरमुकाम गौरमा रहेको गौर प्रादेशिक अस्पतालमा आयोजिक रक्तदान कार्यक्रममा चिकित्सकहरुले शनिबार रक्तदान गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्ने उद्देश्यले गौर प्रादेशिक अस्पालका चिकित्सक र सर्वसाधारण गरी १५ जनाले रक्तदान गरेका हुन् ।
अस्पतालका मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । त्यस्तै इमरजेन्जी फाँटका प्रमुख राजेश कुमार सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका थिए ।
अस्पतालमा उपचार गराउन आउने बिरामीको विभिन्न किसिमको शल्यक्रिया गर्न रगतको अभाव हुने भएकाले अस्पताल आफैंले रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । रगतको आवश्यकता भएका बेला बिरामी तथा उनका आफन्तलाई बाहिर जान नपर्ने र तत्काल रगत उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको अस्पतालका प्रमुख डा. ठाकुरले बताए ।
रगत लिन आउनेले रगत दिएमात्र केन्द्र दीर्घकालीनरुपमा सञ्चालन हुने डा. ठाकुरले बताए । प्रादेशिक अस्पताल व्यवस्थापन समिति मधेश प्रदेश सरकार र स्वास्थय तथा जनसंख्या मन्त्रालयले रक्त सञ्चार केन्द्रलाई आवश्यक उपकरण उपलब्ध गराएको थियो । गत माघ २७ गते केन्द्रको उद्घाटन गरिएको थियो ।
प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : नेपाल दलित मुक्ति मोर्चा बाँफिकोटको सम्मेलन शहीद स्मृत भवन बाँफिकोटमा सम्पन्न भएको छ । सम्मेलनले शेरबहादुर बिकको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा पूर्णबहादुर सुनार, हिरा बिक, सचिवमा वसन्त बिक, सहसचिवमा रनजित परियार, सहसचिवमा दलबहादुर बिक र कोषाध्यक्षमा फुलमाया बिक चयन भएका छन् ।
सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्यहरु शेरु बिक, अर्का केन्द्रीय सदस्य मन बहादुर बादी, नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीलगायत १० वटै वडाका दलित नेताहरुको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies