मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : संघीय सरकारका सहयात्री एवं मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) महाधिवेशनको सम्मुखमा छ । आगामी २७–२९ जेठमा जनकपुरमा महाधिवेशन गर्ने तयारीमा जसपा जुटेको छ ।
जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार महाधिवेशनको तयारी अन्तर्गत पार्टीको नीति तथा कार्यक्रम मस्यौदा तयारी लगायतका कार्य अगाडि बढेका छन् ।
जसपालाई कस्तो पार्टी बनाउने, कसरी अगाडि लैजाने, कस्तो रणनीति अवलम्बन गर्ने भन्नेमा छलफलमा रहेका जसपाका नेता÷कार्यकर्ता पार्टीको मूल नेतृत्वको विषयमा भने खासै छलफल र तयारीमा छैनन् । नेताहरुका अनुसार जसपामा तत्काल उपेन्द्र यादवको विकल्प नदेखिएकाले नेतृत्वको विकल्पबारे कुनै प्रकारको विकल्पमा छलफल भएको छैन । अर्थात् उपेन्द्र यादव पुनः नेतृत्वमा दोहोरिन चाहन्छन् र विकल्पमा अर्को व्यक्ति खडा हुने वातावरण बन्न दिएका छैनन् ।
उपेन्द्र यादव राज्य सत्तामा पहाडी समुदायको एकल बश्वर्च रहेको विरोध गरेर उदाएका नेता हुन् । मधेशी लगायत उत्पिडित वर्गको शासन सत्तामा प्रतिनिधित्व सहितको नेतृत्वको मुद्दा लिएर उनले २०५४ सालमै सामाजिक संस्थाको रुपमा मधेशी जनअधिकार फोरम गठन गरेका थिए । सोही सामाजिक संस्थालाई मधेशी जनअधिकार फोरम नेपाल पार्टीको रुपमा २०६४ सालमा निर्वाचन आयोगमा दर्ता गराएका थिए भने २०६५ सालमा वीरगञ्जमा उक्त पार्टीको महाधिवेशन गराएका थिए ।
त्यस यता पार्टी विभाजन र एकताको विभिन्न चरण पार गर्दै अघि बढेतापनि उपेन्द्र निरन्तर नेतृत्वमा छन् । मधेशी जनअधिकार फोरम र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो । त्यसपछाडि राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी पार्टी बन्यो र यसमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल समेत मिसिएको थियो । हाल बाबुराम यादवसँग छैनन् । समाजवादी पार्टी हुँदै जसपा नेपाल बनेयता पनि महाधिवेशन हुन सकेको छैन ।
जसपा नेपालको अन्तरिम विधानमा महाधिवेशन प्रत्येक ५ वर्षमा हुने उल्लेख छ । विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिने व्यवस्था छ । विधानको यो प्रावधान मधेशी जनअधिकार फोरम, संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टीसम्म पनि उल्लेख हुँदै आएको छ ।
तर पार्टीहरुसँग एकीकरण गर्दै नयाँ पार्टी र विधान बनाउँदै आउँदा कहिल्यै पनि महाधिवेशन बाध्यता बनेन । पार्टी एकीकरणपछि एकता महाधिवेशन गर्ने भनि निर्णय हुने र अर्को महाधिवेशन गर्ने बेलासम्म फेरि कुनै दलसँग एकीकरण गर्दै विधान हेरफेर गर्दै गर्दा कानुननतः महाधिवेशन गराउने बाध्यता नपरेको हो । यो क्रम जसपासम्म चल्दै आएको छ ।
यसपटक भने यादवले आगामी जेठमा जनकपुरमा महाधिवेशन गराउँदैछन् । यादवको जीवनमा उनले दोस्रो पटक महाधिवेशनको सामना गर्न लागेका हुन् । तर नेताहरुका अनुसार पार्टीमा उनको नेतृत्वमा अधिनायकत्व निरन्तर अगाडि जानेवाला छ ।
किनभने यादवलाई टक्कर दिने नेता जसपामा देखा परेका छैनन् । यादव नेतृत्वको पार्टीमा एकता गरेर पुगेका महन्थ ठाकुर, बाबुराम भट्टराई लगायतका नेता हाल एउटै पार्टीमा छैनन् । अशोक राइले नेतृत्वमा टक्कर दिन नसक्दा यादव नै फेरि नेतृत्वमा दोहोरिन सक्छन् ।
अहिले पनि जसपाको पुरानै अन्तरिम विधान छ । त्यसलाई संशोधन गर्नका लागि कार्यदल बनेको छ । उक्त कार्यदलले विधानको मस्यौदा निर्माणको काम गरिरहेको छ । तर, जसपा नेतृत्वमा यादवको विकल्प देखिनेमा नेता÷कार्यकर्ता विश्वस्त छैनन् ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब नेकपा एमालेको एजेण्डा विकास निर्माण, सुशासन र उत्पादन रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी( एमाले) को नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन् । पोखरेलले एमालेले स्थानीय तह वा एमालेभित्रै जुनसुकै ठाउँमा भ्रष्टाचार रहेपनि भ्रष्टाचार,सुशासन,विकास निर्माणका विषयमा बुलन्द आवाज उठाउनुपर्ने बताए ।
उनले भ्रष्टाचार, सुशासन र विकास निर्माण, समाजको कुरीति, अन्धविश्वास विकृति जस्ता कार्यहरुकाविरुद्ध बुलन्द रुपमा आवाज उठाउन सकिँदैन भने त्यो एमाले हुन नसक्ने बताए । उनले एमालेले भ्रष्टाचार, विकृति, विसङ्गतिजस्ता कार्यलाई प्रसय नदिनुका साथै विकास निर्माण, रोजगार सीपमुलक शिक्षा, सुशासन र उत्पादनलाई जोड दिने बताए । उनले केन्द्रीय नेताले खेलाडीको भूमिका नभएर रेफ्रीको रुपमा भूमिका निर्वाह गर्ने बताए ।
उनले नवौं अधिवेशनले अब आउने कार्यसमितिमा खेलाडी नेता नभएर नेतृत्वदायी समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने रेफ्री नेता चुन्न आग्रह गरे । उनले हिजोको एमालेको गठबन्धन योजना विहीन, कार्यक्रम विहीन, संविधानको मर्मविपरित रहेको उल्लेख गर्दै अहिलेको नयाँ गठबन्धन नयाँ समीकरणको रुपमा आएको बताए । उनले भने, ‘यो नयाँ समीकरणले एउटै स्वार्थ छ त्यो स्वार्थ आर्थिक विकास र राष्ट्रिय स्वाधिनता सीमाना मिचिएको छ । त्यसका त्यसका सवालमा अगाडि बढ्नु रहेको छ ।’ उनले अब नयाँ समिकरणले कोशी प्रदेश नाम बाहेक अन्यमा एमाले बाहिर नजाने उल्लेख गरे ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औं राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।
पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिए ।
देशभर महाधिवेशन केन्द्रित संगठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय संगठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ । महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुन् ।
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गरेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् ।
सुर्खेत : नेकपा एमाले सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ । यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
छवि सापकोटा/मध्यान्ह
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ स्वरुपमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव राखेको छ । संघीयता आएसँगै यसलाई हटाउनुपर्ने माग उठिरहेका बेला कांग्रेसले नाम फेर्ने, तर जिल्लामा संयत्र राखेर त्यस मार्फत् समग्र जिल्लाको शिक्षाको गुणस्तर अनुगमन गर्ने, शिक्षक सरुवा र प्राध्यानाध्यापक नियुक्तिका संलग्न गराउने प्रस्ताव राखेको हो ।
विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा कांग्रेसले यस्तो प्रस्ताव राखेको हो । यो विधेयक प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ । दफावार छलफलका क्रमममा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले पार्टीका तर्फबाट प्रस्ताव राख्दै नयाँ स्वरुपमा जिल्ला शिक्षा कार्यालय राख्नुपर्ने बताएका हुन् ।
विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने पनि बताएका छन् । ‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौं भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भनेका छन् ।
परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने उनको प्रस्ताव छ । ५ कक्षासम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् । शिक्षकको सरुवा गर्दा स्थानीय तहले शिक्षा विकास तथा समन्वय कार्यालयको परामर्श लिनुपर्ने व्यवस्था राख्नुपर्ने कांग्रेसले प्रस्ताव राखेको छ ।
यसअघि सरकारले शिक्षकहरुसँग समेत विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सहमति गरेको छ । विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । त्यसक्रममा सरकारले शिक्षकहरुका माग सम्बोधन गर्ने गरी सहमति गरेको थियो । शिक्षकहरुले भने आफूहरु स्थानीय सरकार मातहत रहन नचाहेको बताउँदै आएका छन् ।
शिव विक/मध्यान्ह
काठमाडौं : नेकपा एमालेले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेका उपाध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो । त्यस क्षेत्रमा एमालेले हाल तय गरेको उम्मेद्वार सुहाङ सुवाष नेम्वाङका कान्छा छोरा हुन् ।
केही समय अगाडि मात्रै एमालेमा कानून विभाग सदस्य भएका सुहाङ व्यवसायीका रुपमा कार्यरत छन् । यसअघि नै उनले उपनिर्वाचनका लागि आफ्नो गतिविधिलाई अघि बढाएका छन् ।
आगामी वैशाख १५ गते बझाङ १ मा पनि सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । यो क्षेत्रमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ । भण्डारी हाल एमाले पार्टीको जिल्ला अध्यक्ष पनि हुन् ।
कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलले पनि उपचुनाव केन्द्रित गतिविधि अघि बढाएका छन् ।
कांग्रेसको सम्बन्धित पार्टी कमिटीले इलाम–२ र बझाङ १ का लागि उम्मेदवारहरुको सिफारिस गरिसकेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको हो ।
जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ छन् । आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।
बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ । पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।
कांग्रेसले नाम सिफारिसका लागि तोकिएको समय सकिएको छ । केही दिनमा उम्मेदवारबारे निर्णय लिने कांग्रेसको तयारी छ । इलाम २ का लागि आगामी शनिबार उम्मेदवार घोषणा गर्ने रास्वपाको तयारी छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद पनि गएका थिए ।
राप्रपाले इलाम २ मा चुनावी गतिविधिका लागि रवीन्द्र लिङ्देनको नेतृत्वमा टोली परिचालन गरेको छ भने लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने तयारी गरेको छ । राप्रपाले बझाङमा उम्मेदवारी दिँदैछ ।
एकीकृत समाजवादीले पनि दुबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उम्मेदवारीको तयारी हुँदैछ ।
दुवै क्षेत्रमा हुने दलहरुसँग समीकरणबारे हुने निर्णयपछि निर्णय लिने माओवादी केन्द्र केन्द्रको भनाइ छ । माओवादी केन्द्रका सम्बन्धित कमिटीले समेत उपचुनावको तयारीबारे अनौपचारिक छलफल चलाइरहेका छन् ।
उपचुनावको खर्च १० करोड
उपनिर्वाचन सम्पन्न गर्न सरकारले १० करोड रुपैयाँ विनियोजना गरेको छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको हो ।
आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो । मागे जति नै रकम स्वीकृत भएको छ ।
आयोगले मतदाता नामावली अद्यावधिक गर्ने र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको छ । निर्वाचन हुने जिल्लामा कति सामग्री छ, नपुग्ने भए अर्को जिल्लाबाट कति लैजानुपर्छ भनेर निर्वाचन सामग्री व्यवस्थापन भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया बताउँछन् ।
उनका अनुसार मुख्य निर्वाचन अधिकृत तोक्नका लागि नाम माग्ने तथा कार्यालय व्यवस्थापन गर्ने लगायतका काम भइरहेको छ । सूक्ष्म रूपमा सुरक्षा संयन्त्र प्रयोग गरेर सुरक्षा अवस्थाको आँकलन, मतदाताको उत्साह, दलहरूप्रतिको दृष्टिकोण, शान्ति सुरक्षा सम्बन्धी अवस्थाको अध्ययन गर्ने काम भइरहेको छ । यही चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन, २४ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।
बिन्द्र राई/मध्यान्ह
उदयपुर : नेकपा एमाले उदयपुरको ९औं जिल्ला अधिवेशन गाईघाटमा हुने भएको छ । नेकपा एमाले उदयपुरको जिल्ला अधिवेशन प्रचार प्रसार उपसमिति उदयपुरले शनिबार पत्रकार सम्मेलन गरी अधिवेशन चैत १३ र १४ गते गाईघाटको इम्पाएर होटल मोतिगडामा हुने जानकारी दिएको हो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुने अधिवेशनका लागि १२ वटा उपसमिति गठन गरिएको छ । अधिवेशन सञ्चालनका लागि अनुमानित १५ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनमा ६ सय ३२ प्रतिनिधिले भाग लिने र खाना तथा बासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
नेकपा एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले संगठनमा एकता रहेको उल्लेख गर्दै अधिवेशनले सर्वसम्मत पदाधिकारी चयन गर्ने बताए । घिमिरेले अधिवेशनमा पदाधिकारीका आकांक्षी अधिक्तम रहेको बताए । उनले पार्टीलाई एकताबद्धरुपमा अगाडि बढाउने बताउँदै आगामी मिसन ८४ महत्वपूर्ण रहेको बताए ।
काठमाडौं : नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको हो ।
बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनअन्तर्गत यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies