काठमाडौं- गण्डकी प्रदेशमा सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र दीपक मनाङ्गे एक गरी ठिक्क बहुमत पुग्छ । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम २ बाट प्रतिनिधि सभा सदस्य हुन २० जनाले उम्मेदवारी दिएका छन् । तर, एक जना पनि महिला उम्मेदवार छैनन् ।
निर्वाचन आयोगका उपसचिव एवम सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार निर्वाचन कार्यतालिका अन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । इलाम २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको हो । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेका छन् ।
बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।
२०७८ सालको जनगणना अनुसार नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी छ । ४८.९ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला छन् । तर, निर्वाचनमा भने महिला उम्मेदवारको संख्या न्युन हुँदै आएको छ ।
आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा पनि महिला उम्मेदवार इलाम २ मा शून्य हुन पुगेको छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएको छ । चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।
चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको समय छ भने १५ वैशाखमा मतदान हुनेछ ।
उपेन्द्र र बाबुराम एकैठाउँ !
उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई एकै ठाउँ भएका छन् । दुवै नेता विगतमा एउटै पार्टीमा थिए । छुट्टिएर अगाडि बढिरहेका उनीहरु इलाम २ को उपनिर्वाचनमा एकै उम्मेदवारको पक्षमा उभिएका छन् ।
पहिचान पक्षधर समूहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । जसपा र नेसपाले डकेन्द्रसिंहलाई उम्मेदवार मानेका हुन् ।
इलाम २ मा नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार नेम्वाङकै कान्छा छोरा सुहाङलाई बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची : नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य बोमबहादुर बि.क.ले नयाँ गठबन्धन निर्माणले जनतामा आशा पलाएको बताएका छन् । नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीद्वारा शनिबार आयोजित आधारभूत प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उनले अग्रगामी वामपन्थी शक्तिहरु सम्मिलित वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
अघिल्लो गठबन्धन अप्राकृतिक र अस्वभाविक रहेको भन्दै उनले त्यो गठबन्धनलाई ढाल्नु नै मुलुकका निम्ति ठूलो उपलब्धि भएको दाबी गरे । सरकारको काम गर्ने शैलीमा धेरै परिवर्तन आएको भन्दै उनले वर्तमान सरकारले परिणाममुखी काम गर्ने बताए । केन्द्रीय सदस्य बि.क.ले नेकपा एमाले सामाजिक न्यायसहितको विकास र समृद्धिको पक्षमा रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताए । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शुरुवात गरेको विकास निर्माणको कामलाई वर्तमान सरकारले निरन्तरता दिनुका साथै जनताको पक्षमा थप योजना अगाडि ल्याउनेमा आफूहरु आसावादी रहेको बताए ।
अध्यक्ष भुसालले आगामी निर्वाचनमा एमालेलाई मुलुकको कुनै तागतले हराउन नसक्ने भन्दै त्यसको निम्ति अहिलेदेखि नै संगठन बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष भुसालले कार्यकर्ताको चौतर्फी विकासको निम्ति विभिन्न समयमा पार्टीले सञ्चालन गरेका प्रशिक्षण फलदायी भएको बताए । अहिलेको प्रशिक्षणले कार्यकर्तामा उत्साह थपेको उनको भनाइ थियो ।
नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीका अध्यक्ष खुबिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल, जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी, उपसचिव शम्भु प्रसाद पोख्रेल, कार्यालय सचिव लिलबहादुर बि.क., एमाले पाणिनी पालिका कमिटीका अध्यक्ष कमल घिमिरे, अनेरास्ववियूका स्थायी कमिटीका सदस्य प्रदिप नेपाली, एमाले जिल्ला कमिटी सदस्य कमल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
बझाङ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् ।
त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
उनका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
गुल्मी : आफूहरुले मतदान गरेर विजयी बनाएर जिम्मेवार पदमा पुर्याएका जनप्रतिनिधि विभिन्न समस्याका बारेमा जिज्ञासा राख्दै आफ्नो घर–दैलोमै टुप्लुक आइपुग्दा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका स्थानीयहरु उत्साहित भएका छन् ।
गाउँपालिकाभित्रका ८० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरेर रुरुक्षेत्र गाउँपालिकाले ‘टोलटोलमा ज्येष्ठ नागरिक, घरघरमा स्वास्थ्य सेवा’ अभियान केही महिना अगाडिदेखि चलाएको छ ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अगुवाईमा शुरु गरिएको उक्त अभियानका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसहितका कर्मचारी तथा वडाका जनप्रतिनिधिहरु गाउँका जनताको कुरा बुझ्न घरघरमा जाँदा स्थानीयहरु हर्षित भएको भन्दै वडा नम्बर १ निवासी प्रदीप बिकले खुसी व्यक्त गरे ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको माग अनुसारका सामग्रीहरु पनि वितरण गर्ने गरेको छ । गाउँ सभा हुनुपूर्व सबै वडाका मुख्य समस्या, गाउँपालिकाबाट अनुदानमा दिएका विभिन्न कृषि सामग्रीहरुको प्रयोग सही ठाउँमा भए–नभएको बुझ्नका लागि गाउँपालकिा अध्यक्ष ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत पाण्डे तथा सम्बन्धित वडाका अध्यक्ष स्थानीयहरुको घरघरमा पुग्ने गरेका छन् ।
स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि घरदैलोमै आएर स्वस्थ्य, शिक्षा, खानेपानी, विद्युत तथा गाउँको समग्र विकासका बारेमा जानकारी लिँदा धेरै समस्या हल भएको स्थानीयहरु बताउँछन् ।
रुरुक्षेत्र गाउँपालिका अहिले पनि कार्यसम्पादनमा गुल्मी जिल्लामै अब्बल रहेको, गाउँपालिकाले राम्रो काम गरेको समाचार सुन्न पाउँदा खुसी लाग्ने वडा नम्बर १ का विष्णु भट्टराईले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष ज्ञवालीले आफू जनप्रतिनिधि भएका नाताले सदैव आफ्नो ध्यान जनताको सेवामै समर्पित हुने बताए । गाउँपालिकाले गाउँपालिकाबाट हुने गरेका विकास निर्माण कार्यसम्पादन तथा अन्य गतिविधिहरु जनताको बीचमा पुर्याउनका लागि प्रत्येक पहिलो चौमासिक, दोस्रो चौमासिक, तेस्रो चौमासिक र चौथो चौमासिकमा बृहत् सार्वजनिक सुनुवाइ गर्ने र जनताले दिएका सुझावलाई ग्रहण गरेर गुनासो सम्बोधन गर्नेजस्ता महत्वपूर्ण कामहरु गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
इलाम : आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ कोे उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराउनुभएको छ । सुहाङसहित हालसम्म सातजनाले मनानयन दर्ता गराइसकेका छन् ।
बाजागाजा र झाँकीसहित निर्वाचन कार्यालयमा पुगेका सुहाङको प्रस्तावक रामप्रसाद सुवेदी र समर्थक धिरेन्द्र शर्मा रमण रहेका छन् । सुहाङले मनोनयन दर्तामा जानुअघि भानुरत्न चोक इलाममा रहेको सहिद रत्नकुमार वान्तवा, सहिद बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार सबैभन्दा पहिला जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप)ले मनोनयन दर्ता गराएका थिए ।
यस्तै, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जीले पनि मनोनयन दर्ता गराएका छन् । डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् । पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन् ।
रास्वपाबाट केही बेरमा मिलन लिम्बूले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले मनोनयन दर्ता गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम क्षेत्र नं २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : शनिबार (आज) इलाम–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदैछ । बझाङ–१ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय पनि शनिबार नै छ । तर राजनीतिक दलहरुको ध्यान इलाम २ मा ज्यादा छ ।
पहिचान पक्षधर समूहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार चयन भइसकेका छन् ।
नेपाली कांग्रेसले वामपन्थी किल्ला भत्काउन चाहेको छ भने एमाले जोगाउन प्रयासरत छ । यसका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसका उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार नेम्वाङकै कान्छा छोरा सुहाङलाई बनाएको छ ।
एमालेले अन्य नेताहरुलाई छाडेर सुहाङलाई नै उम्मेदवार बनाउनुको कारण वामपन्थी किल्ला जोगाउन पर्यास हो । किनभने यो क्षेत्रमा २०४८ साल देखि नै एमालेका स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङ निरन्तर निर्वाचित हुँदै आएका थिए ।
यहीबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शीर्ष टीम नै चुनावी मैदानमा उत्रिएको देखिन्छ । रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हालै मात्र काठमाडौं फर्किएका छन् ।
निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद खटिएका थिए । मत सर्वेक्षण समेतका आधारमा रास्वपाले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । इलाम २ मा जनसंख्याको दृष्टिमा राइ पछि लिम्बुको बाहुल्यता छ ।
निर्वाचन कार्यतालिका अन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता हुनेछ । २५ चैतमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ चैतमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता, र निर्वाचन चिह्न वितरण गरिनेछ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको समय छ भने १५ वैशाखमा मतदान हुनेछ ।
स्याङ्जा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताएका छन् ।
नेकपा एमाले स्याङ्जाको नवौं जिल्ला अधिवेशनको शुक्रबार स्याङ्जाको पुतलीबजारमा उद्घाटन गर्दै उनले अहिलेको समीकरणलाई कमजोर हुन नदिने र थप मजबुद बनाउँदै लगिने बताएका हुन् । “यसअघि भएको गठबन्धन धेरैबेर टिक्दैन भनेको थिएँ, भयो पनि त्यस्तै”, उनले भने, “उक्त गठबन्धन खरानीको डल्लोजस्तो थियो, जुन पानी परे पनि फुट्थ्यो, सुके पनि फुट्थ्यो, अहिलेको गठबन्धन कमजोर नभई बलियो छ ।”
यो समीकरणलाई देखेर आन्तरिक तथा बाह्य शक्तिहरुको रुवाबासी शुरु भएको उनको भनाइ थियो । “नेकपा एमाले यस्तै सरकार बनाइरहने हेरफेर गरिरहने खेलमा लागिरहन्छ भन्ने पक्षमा होइन”, उनले भने, “देशलाई त्यही अवस्थामा छाड्ने हो भने देशमा राजनीतिक अस्थिरता, अराजकता हुने भएकाले निकासका लागि नयाँ समीकरण बनाएका हौं ।”
कम्युनिष्ट आन्दोलनलाई आन्तरिक तथा बाह्य शक्तिहरुले घेराबन्दीमा हाल्ने र प्रहार गर्ने कोशिस भए पनि केही सीप नचल्ने उनले बताए । उनले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा पार्टीलाई अगाडि बढाउँदै ‘मिसन ८४’ लाई निर्णायक तहमा पु¥याउने गरी अगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
जिल्लाको यस नवौं अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव एक-एक जना, उपसचिव दुई जना र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गर्नेछ । अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुनेगरी कूल छ सय नौ जना प्रतिनिधि रहेका छन् ।
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री दाबी पेस गर्न आह्वान भएको हो ।
दलहरुलाई ९ दिनको समय दिइएको छ । अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्नुपर्नेछ ।
काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
माओवादी संसदीय दलका नेता महराले शुक्रबार नै बहुमत ४४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies