काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री दाहालले प्रतिनिधि सभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए ।
“यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु, प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,” प्रधानमन्त्री दाहालले भने, “अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ, नेपाली कांग्रेसको पृष्ठभूमिबाट, उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट, सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट, राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रको पृष्ठभूमिबाट, उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट, सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।”
काठमाडौं : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले वर्तमान मन्त्रिपरिषदमा विवादास्पद छवि भएका व्यक्ति रहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको आजको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा विवादास्पद छवि भएका व्यक्तिलाई कारबाही गर्नुको साटो मन्त्री नियुक्त गरेर पुरस्कृत गरेको आरोप लगाइन् ।
उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारका सदस्य सुन तस्करीमा संलग्न भएको देखिएको अवस्थामा कुनै कारबाही नभएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।
सचेतक थिङले उपरोक्त सबै विषयमा राम्ररी छलफल नगरी सदन प्रभावकारी रुपमा सञ्चालन हुन नसक्ने बताइन् ।
दिवाकर अधिकारी/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेससँगको सत्तागठबन्धन छाडेर नेकपा नेकपा एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादी सहितका दलहरुको समर्थनमा सरकारलाई अगाडि लैजान खोजेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् ।
प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत, नाउपा लगायत समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिपक्षीमा रहेको कांग्रेस सहितका दलको प्रचण्डले समर्थन पाए । संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए । उनले इतिहासमै पहिलोपटक सबै दलको समर्थन पाएका थिए ।
तर, राष्ट्रपतिको चुनावसम्म पुग्दा प्रचण्ड कांग्रेससँग नजिकिए । राष्ट्रपति चुनावमा माओवादीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएपछि एमालेसँगको समीकरण भत्कियो र नयाँ समीकरण बन्यो । प्रचण्डले फेरि दोस्रो पटक चैत ६ गते संसदमा विश्वासको लिए । त्यसदिन भएको मतदानमा उनलाई विश्वास छ भन्ने पक्षमा १७२ मत खसेको थियो । विपक्षमा ८९ मत परेको थियो ।
यही फागुन २१ गते प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर फेरि एमाले र रास्वपासँग गठबन्धन गरेपछि कांग्रेस प्रतिपक्षमा पुगेको छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन बनेको छ । यही गठबन्धनको समर्थन प्रचण्डलाई छ । यस आधारमा प्रचण्डले आज बुधबार विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रसले तेस्रोपटक विश्वासको मत लिँदै गर्दा विगतमा भन्दा दृश्य केही बदलिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिलाउने र नयाँ समीकरणलाई दिगो बनाउने विषयलाई एमाले अध्यक्ष ओलीले प्रतिष्ठाकै विषय बनाएका छन् ।
तेस्रोपटक प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनु अगाडि एमाले अध्यक्ष ओलीले साना दलहरुसँग मत मागे । एकीकृत समाजवादीलाई विश्वासमा लिन पाँच दलबीच नयाँ सहमति गराए । नयाँ सहमतिमा यसअघि एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष लिने विषय हटाइएको छ । प्रदेश सरकारमा एकीकृत समाजवादीलाई समेट्ने लगायतका विषयमा नरम भएका छन् । साथै ओलीले मंगलबार संसदीय दलको बैठक राखेर नयाँ समीकरण दीर्घकालीन भएको भन्दै पार्टीका सांसदहरुलाई सर्तक गराए ।
मंगलबार नै सत्तारुढ रास्वपा, एमाले, एकीकृत समाजवादीले सांसदहरुलाई प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाइसकेका छन् । एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।
नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलबार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वाको मतको पक्षमा उभिन ह्वीप लगाएकी छन् । यी ६ दलको कूल मत १५७ हुन्छ ।
प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २७४ सांसद छन् । त्यमिध्ये दुईजना निलम्बित छन् । प्रधानमन्त्रीमा विश्वास छ भन्नका लागि १३८ मत आवश्यक पर्छ । ६ दल एकैठाउँमा रहँदा प्रचण्डले तेस्रो पटक पनि विश्वासको मत प्रष्ट छ ।
तर, केही गरी अवस्था फरक हुन सक्छ भन्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई सतर्क गराएका छन् । केही गरी प्रचण्डले विश्वासको मत नपाए कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आउने भन्दै उनले ख्याल गर्न सुझाएका हुन् ।
नेपाली कांग्रेसले प्रचण्डको विपक्षमा मत दिन सांसदलाई ह्वीप लगाएको छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका चार जना सांसद छन् । लोसपा प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबारसम्म मौन छ । तथापि, मंगलबार भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा लोसपाले कांग्रेस उम्मेदवार युवराज शर्माको पक्षमा मतदान गरेको छ ।
राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भनी निर्णय लिएको छैन । प्रतिनिधि सभामा लोसपाका एक जना सांसद छन् । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले पनि कुनै निर्णय लिएका छैनन् ।
शिव विक/मध्यान्ह
काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा मंगलबार भएको निर्वाचनमा माओवादीका केन्द्रका दाहाल ३९ मत प्राप्त गर्दै बहुमतका आधारमा विजयी भएका हुन् । दाहाल सत्ता गठबन्धनको तर्फबाटका उम्मेदवार थिए ।
कांग्रेस र लोसपाको तर्फबाट युवराज शर्मा थिए । शर्मा र दाहालका लागि दुवै तर्फबाट पेस गरिएको प्रस्तावित मत बहुमतका आधारमा पारित गरिएको हो । जसमा ३९ मत लिएका माओवादीका दाहाल विजयी भएका हुन् ।
माओवादीका उम्मेदवार दाहाललाई माओवादीसहित नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन थियो भने कांग्रेसका शर्मालाई कांग्रेसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन थियो ।
शर्मालाई अध्यक्ष बनाउनुपर्ने प्रस्तावमा १७ जनाले मत दिएका थिए । ५९ सदस्यीय मतदानमा ५६ जनाले भाग लिएका थिए । राष्ट्रिय जनमोर्चाले दुवै उम्मेदवारलाई मत दिएन ।
निर्वाचनपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओजपूर्ण पर्यास गर्ने प्रतिवद्धता जनाए ।
‘राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर म अगाडि बढ्छु । त्यो कानुन निर्माण होस् अथवा अरु सवाल किन नहोस्’ दाहालले भनेका छन्, ‘राष्ट्रिय सभालाई ओजपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था रहेछ भन्ने खालको बनाउन म आफ्नो प्रयत्न गर्नेछु ।’
नवनिर्वाचित अध्यक्ष दाहालले सार्वजनिक प्रतिवद्धताअनुसार काम गर्न सके त्यो धेरै ठूलो उपलब्धी हुने बताउँछन् राष्ट्रिय सभामा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहाल । उनी थप्छन्, ‘उहाँको जे सार्वजनिक प्रतिवद्धता छ त्यो उहाँले गर्नुहुन्छ भन्ने विश्वास छ । त्यसो हुँदा राष्ट्रिय सभाको ओज बढ्छ । राष्ट्रिय सभा वर्तमानमा भन्दा भन्दा दह्रो हुन्छ ।’
संघीय संसद सचिवालयको विवरण अनुसार दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालिन राजनीतिमा सक्रिय भएका दाहाल २०४८ मा २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि दाहाल २०६३ मा अन्तरिम व्यवस्थापिका संसदमा सदस्य थिए । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०७० सालको चुनावमा सोही क्षेत्रबाट पारजित भएका उनी त्यसयता संघीय संसदमा आउन सकिरहेका थिएनन् ।
गत वर्ष (२५ चैत २०७९ मा) तत्कालीन राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभामा छिरेका दाहालले यसवर्ष सभाको नेतृत्व गर्ने अवसर पाएका हुन् । राष्ट्रिय सभामा उनको कार्याकाल चार वर्ष बाँकी छ ।
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बानेश्वरस्थित संसद भवनमा बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि हामी एकदम दिल खोलेर, बिना हिच्किचाहाट, मनको कुनामा कतै नराखेर सकरात्मक कदममा विश्वासको मत दिन्छौं ।’
ओलीले प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अर्को कुनै विकल्प यति बेला नभएको पनि बताए । ‘यो बेस्ट अप्सन हो कि होइन भन्ने कुरा छोडिदिउ, यतिबेलाको अर्को कुनै अप्सन छैन,’ उनले भने, ‘दुईटा मात्रै अप्सन हो । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ । यसले जित्छ । कित त ७६(३) अनुसार नेपाली कांग्रेसको अल्पमतको सरकार बन्छ ।’
यदि विश्वासको मत लिने प्रस्ताव असफल भए मिलिजुली सरकार बनाउने प्रक्रिया समाप्त हुने र पहिलो दलको हिसाबले कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्ने भन्दै ओलीले त्यसलाई रोक्न पनि मत दिनुपर्ने जिकिर गरे। ‘भोलि यदि उहाँको प्रस्ताव असफल भयो भने ७६ (२) अर्थात मिलिजुली सरकारको च्याप्टर क्लोज हुन्छ,’ उनको भनाइ छ, ‘प्रस्ताव असफल हुने बित्तिकै प्रमुख पार्टीको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ । त्यो सरकार अल्पमतको, अयोग्य, दृष्टिकोणबिहिन, स्वाभिमानहिन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको बन्छ । त्यस्तो बन्न दिनुहुँदैन ।’
चलिरहेको गठबन्धन त्यागेर नयाँ गठबन्धन बनाउनु प्रचण्डको सकरात्मक कदम भएको ओलीको भनाइ छ । ‘अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ, एकदम अनुचित गठबन्धन छोडेर एकदम उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनु भएको छ,’ उनले भने, ‘कमसेकम एक, डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर, एक, डेढ वर्ष पदमा रहनु मात्रै होइन, देश अप्ठ्यारोमा प¥यो भन्ने रियालाइजेसन गरेर उहाँले फरक ढंगले कदम चाल्नु भएको छ ।
काठमाडौं : जनमत पार्टीले इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तथा बझाङको प्रदेशसभा क्षेत्र नं १ (१) मा हुन गइरहेको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
सो पार्टीका राष्ट्रिय प्रवक्ता डा शरद्सिंह यादवले सो पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकका निर्णयहरु सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
साथै सो पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनाका साथै नयाँ बनेको सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी पनि उनले दिए ।
काठमाडौं : राष्ट्रिय सभा अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दाहाल नेपाल कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा अध्यक्ष पदका लागि मतदान भएको थियो ।
दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए ।
यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
दाहाललाई नेकपा माओवादी केद्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन थियो।
काठमाडौं : सत्ता गठबन्धनका पाँच दलबीच सात बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सात बुँदे सहमति भएको हो ।
यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच आठ बुँदे लिखित सहमति भएको थियो ।
आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।
यसअघिको आठ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका बारेमा सत्ता गठबन्धनका चार दलबीच छलफल भएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच छलफल भएको हो ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा भएको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत उपस्थित छन् ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज हुँदैछ । अध्यक्षका लागि गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले सोमबार मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । यस्तै कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् ।
आरके डिसी/मध्यान्ह
काठमाडौं : सोमबार प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भयो । उक्त भेटवार्तामा प्रधानमन्त्रीले लिने विश्वासको मत, राष्ट्रिय सभाको निर्वाचनका साथै प्रदेश सरकारहरुको सन्दर्भमा समेत छलफल भएको छ । प्रदेश सरकार हेरफेरका लागि सहजताका लागि दुई नेताबीचको भेटले कांग्रेस निकट प्रदेश प्रमुखहरु बर्खास्तीमा परेका छन् ।
ओली र प्रचण्डबीचको भेटपछि बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरिएको हो ।
यसअघि माओवादी र कांग्रेसको गठबन्धन हुँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखरु नियुक्त गरेको थियो । यसपटक फेर्दा कांग्रेस निकटलाई हटाएर माओवादी निकटलाई यथावत राखिएको छ भने भयाँमा एमाले निकटकालाई पठाइएको छ । यो कदमलाई कतिपयले कम्युनिष्टहरुबीचको दुरी कम गर्ने र दीर्घकालीन सम्बन्धको आधार बनाउने रुपमा समेत ब्याख्या गरेका छन् ।
एमाले र माओवादी केन्द्रका नेताहरुले पनि नयाँ गठबन्धनलाई गठबन्धन नभइ सहकार्य भन्न थालेका छन् । एमाले अध्यक्ष ओलीले पार्टी बैठकमा र प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमा एमाले एकीकृत समाजवादी र माओवादीको सत्ता सहकार्यलाई गठबन्धन नभनी सहकार्य नै भनिएको बताएका थिए । त्यसअनुसार प्रस्तुत हुन पनि उनीहरको निर्देश थियो ।
विगतमा यी तीन कम्युनिष्ट पार्टी एउटै पार्टीमा थिए । २०७४ सालमा भएको चुनावमा वाम तालमेल गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २०७५ मा पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएका थिए । तर उक्त एकता सर्वोच्च अदालतको फैसलासँगै भंग हुन पुगेको थियो । पार्टीभित्रको अन्तरद्वन्द्वका कारणले समेत उक्त एकताले निरन्तरता पाउन सकेन । बरु त्यही नेकपा हाल तीन वटा पार्टीको रुपमा संसदमा प्रतिनिधित्व गरिरहेको छ ।
पछिल्लो समय तत्कालीन नेकपामा रहेको प्रचण्डले नेतृत्व गर्दै आएको माओवादी केन्द्र, माधवकुमार नेपालले नेतृत्व गर्दै आएको एकीकृत समाजवादीले समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताको पहल गर्दै आएका थिए । एमाले बाहिर रहेका बेला सरकारमा गएपयिछ नयाँ सहकार्यको सुरुवात भएको हो ।
तीन पार्टीका तीन नेतृत्व (केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल)का बीचमा औपचारिक र अनौपचारिक संवाद बाक्लिएपछि नेपाली राजनीतिमा एमाले, माओवादी र एकीकृत समाजवादी सहकार्य गर्दै एकतामा पुग्नुपर्ने आग्रह नेता÷कार्याकर्ताहरुको छ ।
यसबीचमा ओली नेपालका बीचमा समेत एक्ला एक्लै संवाद भएको छ । यस्तो संवादलाई कतिपयले सम्बन्ध सुधारको रुपमा समेत लिएका छन् । यो सँगै नेपालमा पुनः एमाले समेतको वाम एकताको लागि ओपचारिक पहलकदमी शुरु भएको नेता/कार्यकर्ताको विश्वास छ । कम्युनिष्टहरुका बीचमा सहकार्य सुरु भएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सार्वजनिक रुपमै खुसी प्रकट गरिरहेका छन् ।
उसो त एकीकृत समाजवादी कांग्रेस नेतृत्वको सत्तारूढ गठबन्धनमा सत्ता साझेदार दलका रूपमा थियो । तर, उक्त गठबन्धन उलटफेर हुँदा खनाल खुसी भएका हुन् । उनी निरन्तर भनिरहेका छन्, ‘गठबन्धनमा भएको परिवर्तनलाई मैले सकारात्मकरूपमै लिएको छु । मैले त पहिल्यै यही दिशातिर जानुपर्छ भनेर नेताहरूलाई पनि भनेकै थिएँ । अब फेरि एकपटक तीन कम्युनिष्ट एक हुने वातावरण बनेको छ । सहकार्य गर्दै एकतामा पुगेर मुलुकमा नयाँ संचार गराउन आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies