गण्डकी : नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति प्रकट गरेको छ । कांग्रेस प्रदेशसभा संसदीय दलले राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु ‘असंवैधानिक’ भएको जनाएको छ ।
कांग्रेस ससंदीय दलका तर्फबाट प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए । उनले दल त्याग गरिसकेको अवस्थामा सभामुख पद तटस्थ हुने भन्दै सरकार गठनको जोडघटाउमा सभामुख लाग्न नमिल्ने बताए ।
“संविधानको व्यवस्था अनुसार सरकार गठन हुनुपर्छ, अहिले गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको हाम्रो ठहर छ”, सचेतक न्यौपानेले भने । प्रदेश प्रमुख भट्टले नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको धारा १६८ (२) बमोजिम उहाँ मुख्यमन्त्री बनेका हुन् ।
यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेकपा (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ गरी ३१ सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गर्नुभएको थियो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार गठनको प्रक्रियामा सामेल भएको छैन ।
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।
कालीकोट : नेकपा एमाले कालीकोट जिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरे ।
यही चैत २१ गतेदेखि सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिवार निर्वाचन भएको थियो । पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ ।
साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे । सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरे ।
उप-सचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित हुनुभयो भने उहाँका प्रत्यासीहरु प्रेमबहादुर बुढाले ९२ र लङ्कबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए ।
उप-सचिव महिलामा ताराकुमारी शाही दुई सय १२ मत प्राप्त गरी विजयी भइन् भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरिन् । निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेर आइतबार एमाले, माओवादी केन्द्र र स्वतन्त्र हैसियत मागेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) अनुसार यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका थिए ।
अधिकारीको समर्थनमा एमालेका २२ र माओवादीका ८ (सभामुखसहित) सांसद छन् ।
काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । महराले आइतबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् ।
काठमाडौं- गण्डकी प्रदेशमा सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र दीपक मनाङ्गे एक गरी ठिक्क बहुमत पुग्छ । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएपछि नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठनको तयारी भइरहेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले दलहरुलाई यही चैत २७ गते ३ बजेभित्र दाबी पेस गर्ने समय दिएका छन् ।
मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : इलाम २ बाट प्रतिनिधि सभा सदस्य हुन २० जनाले उम्मेदवारी दिएका छन् । तर, एक जना पनि महिला उम्मेदवार छैनन् ।
निर्वाचन आयोगका उपसचिव एवम सहायक प्रवक्ता राम दत्त पाण्डेयका अनुसार निर्वाचन कार्यतालिका अन्तर्गत शनिवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । इलाम २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको हो । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेका छन् ।
बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।
२०७८ सालको जनगणना अनुसार नेपालमा महिलाको संख्या पुरुषको भन्दा बढी छ । ४८.९ प्रतिशत पुरुष र ५१.०४ प्रतिशत महिला छन् । तर, निर्वाचनमा भने महिला उम्मेदवारको संख्या न्युन हुँदै आएको छ ।
आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा पनि महिला उम्मेदवार इलाम २ मा शून्य हुन पुगेको छ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता भई सूची प्रकाशन भएको छ । चैत २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।
चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम रहेको छ । २८ चैतदेखि १२ वैशाखसम्म प्रचारप्रसारको समय छ भने १५ वैशाखमा मतदान हुनेछ ।
उपेन्द्र र बाबुराम एकैठाउँ !
उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई एकै ठाउँ भएका छन् । दुवै नेता विगतमा एउटै पार्टीमा थिए । छुट्टिएर अगाडि बढिरहेका उनीहरु इलाम २ को उपनिर्वाचनमा एकै उम्मेदवारको पक्षमा उभिएका छन् ।
पहिचान पक्षधर समूहरु कोशी प्रदेशको नामाकरणको विषयलाई इलाम–२ को उपचुनावसँग जोडिरहेका छन् । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार छन् । जसपा र नेसपाले डकेन्द्रसिंहलाई उम्मेदवार मानेका हुन् ।
इलाम २ मा नेपाली कांग्रेसले डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए । उनी कांग्रेस इलामका सभापति पनि हुन् ।
एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार नेम्वाङकै कान्छा छोरा सुहाङलाई बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
शोभाखर पन्थी/मध्यान्ह
अर्घाखाँची : नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य बोमबहादुर बि.क.ले नयाँ गठबन्धन निर्माणले जनतामा आशा पलाएको बताएका छन् । नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीद्वारा शनिबार आयोजित आधारभूत प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उनले अग्रगामी वामपन्थी शक्तिहरु सम्मिलित वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
अघिल्लो गठबन्धन अप्राकृतिक र अस्वभाविक रहेको भन्दै उनले त्यो गठबन्धनलाई ढाल्नु नै मुलुकका निम्ति ठूलो उपलब्धि भएको दाबी गरे । सरकारको काम गर्ने शैलीमा धेरै परिवर्तन आएको भन्दै उनले वर्तमान सरकारले परिणाममुखी काम गर्ने बताए । केन्द्रीय सदस्य बि.क.ले नेकपा एमाले सामाजिक न्यायसहितको विकास र समृद्धिको पक्षमा रहेको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताए । उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शुरुवात गरेको विकास निर्माणको कामलाई वर्तमान सरकारले निरन्तरता दिनुका साथै जनताको पक्षमा थप योजना अगाडि ल्याउनेमा आफूहरु आसावादी रहेको बताए ।
अध्यक्ष भुसालले आगामी निर्वाचनमा एमालेलाई मुलुकको कुनै तागतले हराउन नसक्ने भन्दै त्यसको निम्ति अहिलेदेखि नै संगठन बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष भुसालले कार्यकर्ताको चौतर्फी विकासको निम्ति विभिन्न समयमा पार्टीले सञ्चालन गरेका प्रशिक्षण फलदायी भएको बताए । अहिलेको प्रशिक्षणले कार्यकर्तामा उत्साह थपेको उनको भनाइ थियो ।
नेकपा एमाले सन्धिखर्क विशेष इलाका कमिटीका अध्यक्ष खुबिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसाल, जिल्ला कमिटी सचिव तोजबहादुर रायमाझी, उपसचिव शम्भु प्रसाद पोख्रेल, कार्यालय सचिव लिलबहादुर बि.क., एमाले पाणिनी पालिका कमिटीका अध्यक्ष कमल घिमिरे, अनेरास्ववियूका स्थायी कमिटीका सदस्य प्रदिप नेपाली, एमाले जिल्ला कमिटी सदस्य कमल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
बझाङ : आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री छन् ।
त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, संघीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।
उनका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
गुल्मी : आफूहरुले मतदान गरेर विजयी बनाएर जिम्मेवार पदमा पुर्याएका जनप्रतिनिधि विभिन्न समस्याका बारेमा जिज्ञासा राख्दै आफ्नो घर–दैलोमै टुप्लुक आइपुग्दा गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका स्थानीयहरु उत्साहित भएका छन् ।
गाउँपालिकाभित्रका ८० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरेर रुरुक्षेत्र गाउँपालिकाले ‘टोलटोलमा ज्येष्ठ नागरिक, घरघरमा स्वास्थ्य सेवा’ अभियान केही महिना अगाडिदेखि चलाएको छ ।
गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अगुवाईमा शुरु गरिएको उक्त अभियानका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेसहितका कर्मचारी तथा वडाका जनप्रतिनिधिहरु गाउँका जनताको कुरा बुझ्न घरघरमा जाँदा स्थानीयहरु हर्षित भएको भन्दै वडा नम्बर १ निवासी प्रदीप बिकले खुसी व्यक्त गरे ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको माग अनुसारका सामग्रीहरु पनि वितरण गर्ने गरेको छ । गाउँ सभा हुनुपूर्व सबै वडाका मुख्य समस्या, गाउँपालिकाबाट अनुदानमा दिएका विभिन्न कृषि सामग्रीहरुको प्रयोग सही ठाउँमा भए–नभएको बुझ्नका लागि गाउँपालकिा अध्यक्ष ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत पाण्डे तथा सम्बन्धित वडाका अध्यक्ष स्थानीयहरुको घरघरमा पुग्ने गरेका छन् ।
स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि घरदैलोमै आएर स्वस्थ्य, शिक्षा, खानेपानी, विद्युत तथा गाउँको समग्र विकासका बारेमा जानकारी लिँदा धेरै समस्या हल भएको स्थानीयहरु बताउँछन् ।
रुरुक्षेत्र गाउँपालिका अहिले पनि कार्यसम्पादनमा गुल्मी जिल्लामै अब्बल रहेको, गाउँपालिकाले राम्रो काम गरेको समाचार सुन्न पाउँदा खुसी लाग्ने वडा नम्बर १ का विष्णु भट्टराईले बताए ।
यस्तै गाउँपालिका अध्यक्ष ज्ञवालीले आफू जनप्रतिनिधि भएका नाताले सदैव आफ्नो ध्यान जनताको सेवामै समर्पित हुने बताए । गाउँपालिकाले गाउँपालिकाबाट हुने गरेका विकास निर्माण कार्यसम्पादन तथा अन्य गतिविधिहरु जनताको बीचमा पुर्याउनका लागि प्रत्येक पहिलो चौमासिक, दोस्रो चौमासिक, तेस्रो चौमासिक र चौथो चौमासिकमा बृहत् सार्वजनिक सुनुवाइ गर्ने र जनताले दिएका सुझावलाई ग्रहण गरेर गुनासो सम्बोधन गर्नेजस्ता महत्वपूर्ण कामहरु गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies