सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटमा पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकअनुसार आत्महत्या गर्नेमा १३ देखि २० वर्ष उमेर समूहका बढी रहेको पाइएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियामा एक जना ७५ वर्षीय वृद्धले आत्महत्या गरेका छन् । ७ वर्षीया नातिनीसँग बस्दै आएका ती वृद्धले बिहान बेलुकाको छाक टार्न नै गाह्रो परेपछि आत्महत्याको बाटो रोजेको बुझिएको छ । ती वृद्धकी नातिनीको लालनपालको जिम्मेवारी स्थानीयहरुले लिएका छन् ।
यस्तै दुर्गा भगवती २ भलोहियाका नुनिया टोलकी १५ वर्षीया आँचलकुमारी दासले पनि आत्महत्याको बाटो रोजिन् । घरपरिवारका सदस्यले गाली गरेकै निहुँमा उनले आत्महत्याको बाटो रोजेको बुझिएको छ । प्रायः कम उमेरकी किशोरी वा युवतीहरुले प्रेममा परेको कुरा घरपरिवारका सदस्यहरुले थाहा पाएपछि सामान्य गाली गरेकै भरमा आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।
यसै महिनामा रौतहट जिल्लामा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा १३ देखि लिएर ७५ वर्ष उमेर समूहका पुरुष तथा महिलाहरु रहेको बुझिएको छ । आत्महत्या गर्नबाट रोक्न व्यापकरुपमा जनचेतनाको खाँचो रहेको र समयमै आ-आफ्ना बालबालिकाहरुलाई सही शिक्षादिक्षा दिइ निगरानीमा राख्न जरुरी रहेको समाजसेवीहरु बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ५ जना पुरुष र १७ महिला गरेर २२ जनालाई आत्महत्या गर्नबाट जोगाउन सफल भएको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले मध्यान्हसँग कुरा गर्दै शिक्षाको कमी, बेरोजगारी, घरेलु हिंसा, प्रताडना नै आत्महत्याको प्रमुख कारण रहेको बताइन् । उनले आत्महत्याका घटना न्यूनीकरण गर्न यहाँका स्थानीय तहहरुबाट जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालयले पनि आत्महत्या रोकथाम गर्नेसम्बन्धी जनचेतनामूलक एवम् विभिन्न सन्देशमूलक कार्यक्रमहरु सञ्चालनमा ल्याउने प्रवक्ता गिरीले प्रतिबद्धता जनाइन् ।
रुपन्देही : तराई क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।
रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । गहुँको नलबाट शुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।
आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेको उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।
आगलागीको घटना जिल्लाभरिबाट नै भएका प्रवक्ता भट्ट बताउँछन् । गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौंको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित रु तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए ।
काठमाडौं- कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ । अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।
कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कनुहुने तथा त्यस क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए । राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नुहुनेछ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
रासस
राहुल गुप्ता/मध्यान्ह
वीरगञ्ज : सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जले ५० लाख रुपैयाँ बराबरको भन्सार छलेर ल्याइएको कपडा, काजु, ग्यास चुलो, ब्रेड क्रम्सलगायत विभिन्न सामान बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित दुर्गा क्यारियरमा छापा मारेर सो परिमाणको अवैध समान शनिबार बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले दुर्गा क्यारियरमा छापा मार्दा भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याइ गोदाममा भणडारण गरेर राखेको ५० लाख रुपैयाँ बराबरको समानहरु बरामद गरेको हो ।
बरामद सामानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
सपना बोहरा/मध्यान्ह
दाङ : दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलिया निवासी अन्दाजी ८७ वर्षीय वीरबहादुर बाेटेकाे आगोमा जलेर मृत्यु भएको हो ।
आगलागीबाट दुई घर र एक गाेठ जलेर नष्ट भएको छ । आगलागी भएको समयमा घरमा रहेको सामान बचाउने क्रममा बाेटेको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । बिहीबार बेलुका ५ बजे जितबहादुर बाेटेकाे घरबाट फैलिएको आगोले वीरबहादुर बाेटेको घरसहित एक गाेठ जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
'बिहीबार केटाकेटीले सलाई खेलाउने क्रममा घरमा एक्कासी खरकाे छानाेले छाएकाे जितबहादुर बाेटेकाे घरमा आगलागी भएको थियो,' इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले भने, 'घरमा रहेको समान जोगाउने क्रममा उनको आगोमा परेर मृत्यु भयो ।'
आगोमा परी घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगो स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको थियो । आगलागिबाट एक लाखभन्दा बढीकाे क्षति भएको इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
चौतारा- जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।
दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए ।
काठमाडौं - लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू टुंगो लागेको छ । नेकपा एमालेले लुम्बिनी सरकारमा सहभागी हुने हुने मन्त्रीहरुको नाम टुंगो लगाएको हो । रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमालेले जनाएको छ ।
स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने छन् । अर्घाखाँचीका चेतनारायण आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक÷एक जना मन्त्री बनाइसकेका छन् ।
महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन स्वास्थ्यमन्त्री छन् । माओवादीबाटै बाँकेकी कृष्णा केसी सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्री बनेछिन् । जसपाबाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री छन् । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् ।
पवन जायसवाल/मध्यान्ह
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय जमुनहाले नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरिको डेढ लाख बढी मूल्यको चुरोट बरामद गरेका छ ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १५ जमुनहास्थित १ हजार २ सय ८० प्याकेट खुकुरी चुरोट अन्दाजी मूल्य १ लाख ५८ हजार ७ सात २० रुपैयाँ बराबरको अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद चुरोटसहित ढुवानी गर्न संलग्न रहेका ३ जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं- सल्यानको बागचौरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको बस बागचौर नगरपालिका वडा नं २ ठिनबाङ खोलामा दुर्घटना भएको हो ।
रा १ ख २०८५ नम्बरको बस ठिनबाङ खोलाको पुलबाट खस्दा मरिब ३ सय मिटर तल खेको हो । दुर्घटनामा घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
लक्ष्मण यादव, मध्यान्ह
सर्लाही-हात्तीपाइले रोग निवारणका लागि सर्लाहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म आम औषधि सेवन कार्यक्रम संचालन हुने भएको छ । जिल्लाका २० स्थानीय तहका ८ लाख २४ हजार ६ सय ७१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले जानकारी दिएको छ ।
मंगलबार दिउँसो सदरमुकाम मलंगवास्थित स्वास्थ्य कार्यालयमा हात्तीपाइले रोगको औषधि सेवन अभियानको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा नवलकिशोर झाले आ–आफूले औषधि सेवन गरेर यो अभियानलाई सफल बनाइदिन पत्रकारमार्फत सबैसँग आग्रह गरेका छन् । उनले सबैलाई औषधि सेवन गर्न आग्रह गर्दै दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले भने यो औषधि सेवन गर्न नहुने बताए ।
अभियानका लागि जिल्लाभर ५ सय २५ जना स्वास्थ्यकर्मी र १ हजार ३ सय ५६ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । औषधि खुवाउने अभियानभर प्रत्येक क्षेत्रमा डा समेत परिचालन गर्ने स्वास्थ्य कार्यालयको योजना छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies