बारा । अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो। जसमा तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधीराम न्यौपानेले गत वैशाख १७ गतेदेखि हालसम्म सात सय ७९ वटा उजुरीमाथि छलफल, समन्वय, सहकार्य गरी मिलापत्र गराइएको जानकारी दिए।
उनका अनुसार कूल २३ करोड ९२ लाख ३१ हजार सात सय ८२ रुपैयाँ बराबरको दाबी उजुरी परेकोमा हालसम्म विभिन्न माध्यमबाट सहमति, मिलापत्रमार्फत १५ करोड ११ लाख ३७ हजार चार सय ११ रुपैयाँको टुंगो लगाइएको छ।
फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ। रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ।
‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा करिब एक किलोमिटर तल धाराखामबाट गाग्रीमा बोकेर जीविका चलाउनुपरेको छ’, उनले भने, ‘बिहान ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइन लाग्नुपर्दा कहिलेकाहीँ डेढ घण्टासम्म खर्चनुपर्छ।’
सोही ठाउँकी कमलकुमारी राईको पीडा पनि उस्तै छ। उनले खानेपानीको व्यवस्थापन चिन्ताको विषय भएको बताइन्। चिसोपानी पञ्चमीबाट अस्थायीरुपमा पाइपमार्फत ल्याएको पानी निकै कम भएकाले एक गाग्री पनि भर्न नपाइने उनको भनाइ छ। त्यसैले पानीको जोहो गर्न धाराखाममै जानु परेको उनले सुनाइन्।
‘चिसोपानीबाट ल्याइएको पानी त विहान एक घण्टा मात्र आउँछ। कहिलेकाँही त एक गाग्री भर्नै नपाइ बन्द हुन्छ’, उनले भनिन्, ‘त्यसैले धाराखाममा भर पर्नुको विकल्प छैन। कहिलेकाहीँ त ट्यांकरबाट पानी किनेर समेत प्रयोग गर्नुपरेको छ।’
रक्से बजारमा पानीको समस्याकै कारण विकासले गति लिन नसकेको स्थानीयको बझाइ छ। पानी अभावका कारण विकास निर्माणमा पछि परेको स्थानीयवासी सुनिता राई बताउँछिन। ‘विकासको काम गर्न वा कुनैपनि संरचना बनाउनका लागि पानीकै आवश्यकता पर्दो रहेछ। यहाँ खानेपानी नै छैन, अन्य प्रयोजनका लागि त पानी झन् टाढाको कुरा भयो’, उनले भनिन्, ‘खानेपानीको व्यवस्थापन गर्न जनप्रतिनिधिसँग पटकपटक माग राखेका छौंँ, आश्वासन पनि नपाएको होइन तर भएन, यसपटक पम्पिङ सिस्टमबाट खानेपानी आउने आश्वासन पाएका छौं ।’
रक्से बजारकी बसन्ता, कमलकुमारी र सुनिता मात्र होइन, यहाँका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन्। खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउँछिन्। सरकारसँग चाँडो खानेपानीको दिगो व्यवस्थापन गरिदिन उनको माग छ। बोकेर ल्याएको पानीले खान नै नपुग्ने अवस्थामा शौचालयमा प्रयोगलगायत अन्य प्रयोजनमा प्रयोग गर्न झनै समस्या हुने गरेको उनीहरुको भनाइ छ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउँछन्। ‘आर्थिक वर्ष २०६७÷६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ”, उनले भने, ‘अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन।’
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ। नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँछन्।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गरे। संघीय सरकारको विशेष अनुदानबाट दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलालाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको बताए । रासस
काठमाडौं । सवारी ज्यान मुद्दामा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला दोषी ठहर भएका छन्।
सोमबार जिल्ला अदालत, दाङका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले उनलाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको हो ।
दशैं मनाउन सुर्खेत जाने क्रममा बाँस्तोलाले चलाएको स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो।
चौधरीको मृत्यु भएपछि बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। केही समयपछि उनी धरौटीमा छुटेका थिए।
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। उपचारका लागि सोमबार दिउँसो उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
झण्डै ४ सय गीतमा स्वर तथा संगीत दिएका आचार्य भजन शिरोमनी उपनामले समेत चिनिन्छन् । उनका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको जस्ता थुप्रै गित लोकप्रिय छन् ।
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ।
संघीय संसद् भवन क्षेत्र वरपर सरकारले तोकेको निषेधित क्षेत्र तोडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, ‘सरकारले संघीय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेकामा आज लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेकाले नियन्त्रणमा लिएका हौँ।’
नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। केही समययतादेखि उनीहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन्।
लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन्। यसै क्रममा आज संसद् भवन वरपरको निषेधित क्षेत्र तोडेकाले प्रहरीले नियन्त्रणमा लिएको हो।
सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको संख्या दिनानुदिन बढ्दो छ। हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन्।
यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिए। कुनै समय अवसर खोज्दै विदेश पुगे। विसं २०६७ मा रोजगारीका लाग मलेसिया पुगेका उनले त्यहाँ करिब तीन वर्ष पसिना बगाए। उनलाई लाग्यो, त्यहाँ बगाउने पसिना गाउँमै बगाउन सक्ने हो भने धेरै काम गर्न सकिन्छ। यही सोचले स्वदेश फर्कनुभएका उनी यतिबेला गाउँमै माछापालनमा रमाएका छन्।
‘जागिरको खोजीमा म विदेश जाँदिन। एकपटक अञ्जानमा विदेश गइयो,’ उनले भने, ‘विदेश के रहेछ र त्यहाँको दुःख के हो भन्ने बुझ्नै मौका पनि मिल्यो । अहिले स्वदेशमै पुग्दो छ।’ उनी माछापालनबाट मासिक सबै खर्च कटाएर एक लाख ५० हजार बचत भइरहेको बताउँछन् । ‘दैनिक औसतमा १५ हजारको कारोबार हुन्छ। त्यसबाट पाँच हजार रुपैयाँ जति बचत हुन्छ’, उनले भने।
सोलुदुधकुण्ड नगरपालिका–४ रोक्दिङमा करिब चार रोपनी क्षेत्रफलमा निर्माण गरिएको पोखरीमा ‘ट्राउट’ माछापालन गर्दै आएका उनीसँग अहिले ४० हजारभन्दा बढी माछाका भुराहरु छन्। उनले माछापालनका लागि दश वटा पोखरी निर्माण गरेका छन्।
‘विदेशबाट फर्किपछि अन्य काम गरिरहेको थिए। कमाइ पनि ठिकै थियो। कोरोना महामारीका कारण बन्दाबन्दी लागू भएपछि भने आम्दानी ठप्प भयो’, उनले भने, ‘सबै काम ठप्प भएपछि माछापालनको योजना बनाएको हुँ।’ सुरुमा माछापालनको योजना सुनाउँदा धेरैले हुँदैन भन्ने गरे पनि अहिले माछापालनबाट आम्दानी हुन थालेपछि भने प्रसंशा गर्ने गरेको उनले सुनाए। ‘सोलु जस्तै चिसो ठाउँमा माछापालन हुन्न भन्ने धेरै थिए’, उनले भने।
राजभण्डारी अहिले दैनिक १८ घण्टासम्म माछापालनमै रमाउँछन्। विस २०७७ सालबाट सुरु गरेको माछापालनमा हालसम्म एक करोड रुपैयाँ लगानी भइसकेको छ। उनले माछापालनसँगै रोक्दिङमा होटल पनि सञ्चालन गरिरहेका छन्। माछा खरिद गरी लैजाने भन्दा पनि माछाका परिकार खान आउनेहरु धेरै रहेको उनको भनाइ छ। सदरमुकाम सल्लेरीबाट ट्राउट माछा खान आउनेहरु धेरै रहेको उनले सुनाए।
फाल्लुका दिनेश राई खोलामा माछा पातलिँदै गएपछि मानिसहरु माछाको स्वाद लिन यहाँसम्म आउने गरेको बताउँछन्। ‘माछा खान रुचाउने मानिसहरुको सङ्ख्या बढ्दो छ। तर खोलामा माछा हराउँदै गएका छन्। अब पालेको माछा खानुको विकल्प छैन’, उनले भने।
जिल्लामा ट्राउट माछा प्रतिकिलो एक हजार छ सयमा बिक्री भइरहेको छ। यहाँ उत्पादन हुने माछा लुक्ला, नाम्चेलगायतका क्षेत्रमा बढी खपत हुने गरेको उनको भनाइ छ। चिसो ठाउँमा हुर्किएको माछा उपभोक्ताले बढी रुचाउने गरेको राजभण्डारीको अनुभव छ। हाल जिल्लाको अन्य चार स्थानमा पनि व्यावसायिक माछापालन भइरहेको छ। तामाखानी, बेनी, साल्मे, सल्लेरीमा ट्राउट माछापालन भइरहेको हो।
बजारको चिन्ता छैन
यहाँ उत्पादन हुने माछा जिल्लामै खपत हुने गरेको छ। राजभण्डारी माग नै धान्न नसकिने अवस्था रहेको बताउँछन्। यहाँ उत्पादन भएका माछाले माग धान्न नसकेर कतिपय होटलहरुमा बाहिरबाट समेत माछा ल्याउने गरिएको उनले बताए।
माछापालनमा एउटा समस्या भने छ। माछालाई रातको समयमा वन्यजन्तुहरुले आत्रमण गर्ने गरेको साल्मेका व्यवसायी भानुभक्त श्रेष्ठले सुनाए। फार्ममा राति आउने सालकले एकैपटकमा धेरै माछाहरु मार्ने गरेको भाइकाजी राजभण्डरीको भनाइ छ।
‘केही हप्ता अघि मात्रै मेरो फार्ममा एकै पटक एक सयभन्दा बढी माछाहरु टाउको नभएको अवस्थामा भेटिए। हामी अचम्ममा पर्यौँ’, उनले भने, ‘पछि सिसी क्यामरा राखेपछि पोखरीको माछा सालकले खाने गरेको भेटियो।’ रातको समयमा खोलाबाट आउने सालकले पोखरीमा प्रवेश गरी माछाको टाउको खाने गरेको पाइएको उनले बताए।
सालकले माछाको टाउको मात्रै खाने गरेको व्यवसायी कमल मगर बताउँछन्। राजभण्डारीले सिसि क्यामेरामा साइरन जडान गरेको र केही वस्तु पोखरीमा छिर्ने वित्तिकै साइरन बज्ने गरेको सुनाए। माछापालनमा वर्षातको समयमा आउने भलले पनि समस्या हुने गरेको छ।
जिल्लामा ट्राउटका लागि आवश्यक दाना ढुवानी चुनौतीपूर्ण छ। जिल्लामा दाना उत्पादन नहुने र दानाका लागि काठमाडौंबाट ल्याउनुपर्ने हुँदा महंगो पर्ने गरेको छ। काठमाडौंबाट दाना आयात गर्दा प्रतिकिलो दुई सय ६६ रुपैयाँ पर्ने गरेको छ।रासस
काठमाडौं। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ।
महानगरका अनुसार कलंकी क्षेत्रमा रहेका दुई अस्पताल सहिद मेमोरियल र नेपाल नेशनल अस्पतालमा फोहोर संकलन रोक लगाएको छ। त्यस्तै चावहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए। यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो।
यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ।
‘
काठमाडौं। मिटरब्याज तथा ठगी विरुद्ध काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका पीडितसँग संवाद गर्न सरकारले वार्ता टोली बनाएको छ। गृहमन्त्रालयले आइतबार मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएको छ।
त्यस्तै मन्त्रालयले आन्दोलनरत पीडितलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको छ। मिटरब्याज पीडितहरु विभिन्न जिल्लाबाट पैदल यात्रा गर्दै काठमाडौंकेन्द्रित आन्दोलन थालेका हुन।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो। सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो।
मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो। सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ। मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन्।
वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो। अनुगमन तथा निरीक्षण टोलीले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर रहेका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेको थियो।
मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्ट’ तयार गरी कामदारलाई दिने गरेको अनुगमनका क्रममा पाइएको छ। यी संस्थाहरुमा कर्मचारी र उपकरण पर्याप्त नभएको र परीक्षण नै नगरी प्रतिवेदन दिने गरेको पाइएको छ।
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ। नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको हो। मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ।
मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डानुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन्। यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ। साउदी अबरले १९ वटा संस्था तोकेको छ। कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ। भने इजरायलले चार र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ। रासस
जनकपुरधाम। धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन्। तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ।
धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो। निर्माणको जिम्मा पाएको श्री सपना÷उमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौंले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्यो। सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विधिवत् उद्घाटन गरे।
त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गरे। ‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन्। छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ’, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने।
उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोडा दिए। ‘बजेट छैन भने सरकारले दिनुपर्यो। बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्यो’, उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ ?’
स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताए। उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताए। ‘झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन् । त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ’, दासले भने।
दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि। कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ। उनी भन्छन्, ‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ। अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ। प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ।’
सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गरे।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे। ‘निर्माण सुरु भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ । त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु।’
उनले कमला नदीकै कारण स्थानीयको उर्वरभूमि काम नलाग्ने अवस्थामा रहेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा मुआब्जाको व्यवस्था, मानवबस्ती तथा बाँकी भूभागको संरक्षणका लागि पक्की तटबन्ध निर्माणका लागिसमेत आग्रह गरे।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवले मधेसमा रहेका बाटो, सिँचाइ तथा नदी कटान, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ‘समथर र उर्बर भूमि भएर पनि मधेस प्रदेशमा समस्यामा छन्। आगामी आवको बजेटमा आवश्यक रकम बिनियोजन गरी यहाँका सम्भावना र समस्या सम्बोधनका लागि पहल हुनेमा विश्वास छ’, मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
जवाफमा प्रधानमन्त्रीले मधेसको विकास नभई मुलुक विकास नहुने भन्दै मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए। उनले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए।
‘यो झोलुङ्गे पुलले धनुषा र सिरहाका जनतालाई धेरै ठूलो राहत पु¥याएको छ। वर्षायाममा यहाँका जनताले भोग्नुपर्ने समस्या अन्त्य भएको छ’, प्रधानमन्त्री दाहालले भने, ‘भत्केको पुलका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’
प्रधानमन्त्री दाहालले कमला नदीमा पक्की तटबन्ध नभएका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएकाबारे ध्यानाकर्षण भएको बताउँदै तराईमा सिँचाइ विस्तार गरी उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए। रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies