रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र दुुई जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्युु भएको हो।
दुर्घटनामा मृत्यु भएका पाँच जना तिनाउकै रहेका छन् । एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ। तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहितले अकालमै ज्यान गुमाएका छन्।
पालिकाभित्र भएको कहालीलाग्दो दुर्घटनामा ज्यान गुमाएका सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुधबार एक दिनका लागि शोक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बसेको गाउँ कार्यपालिकाको ४६औँ बैठकले गाउँपालिकाभित्र सञ्चालनमा रहेका शिक्षा, स्वास्थ्य, सरकारी संघसंस्था, तथा अन्य सम्पूर्ण क्षेत्रमा शोक बिदा दिने निर्णयअनुसार बिदा दिइएको छ।
मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरिय विपद् व्यवस्थापन कोषबाट जनही ३५ हजार रुपैयाँ रकम उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको छ। बैठकले दुर्घटनाले गाउँपालिकाभित्रका धेरै नागरिकको धनजनको क्षति भएको र आगामी दिनमा गाउँपालिकाका संवेदनशील क्षेत्रमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु चढाइ आवतजावत नगर्न नगराउन सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरेको छ।
दुर्घटनामा तिनाउ–६ मस्याम बस्ने ६० वर्षीया यनकुमारी पन्त, तिनाउ–६ बस्ने ३९ वर्षीय रामबहादुर अस्लामी, सोही ठाउँकै ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मीला अस्लामी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र सोही ठाउँकै ६० वर्षीया चुना रणपाल मृत्यु भएको छ।
तिनाउ–२ खुर्साने बस्ने २० वर्षीया गिता सुनार, रिब्दिकोट गाउँपालिका–१ ख्याहा बस्ने ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देहीको देवदह नगरपालिका–५ बस्ने २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
प्रहरी निरिक्षक श्रेष्ठका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जिल्लाको तिनाउ–६ मस्यामस्थित इकोफम हाउस नजिकैभित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप मङ्गलवार साँझ करिव ५ बजेको समयमा दुर्घटना भएको हो।
अनियन्त्रित भएर जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको छ। चालक तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
क्षमताभन्दा बढी यात्रु बोकेकाले, उकालो, कच्ची बाटोमा जीप दुर्घटना भएको छ। ग्रामीण भेगमा सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना हुने गरेका छन्।
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो।
सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको संघर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो । समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए। केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको संघर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ।
यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो।
सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू , प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन्। पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ।
सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो। सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए। उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकरी दिए।
पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन्। अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन्।
केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन्। पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ। प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन्।
गोदार (धनुषा) । धनुषा र सिरहालाई जोड्ने एक हजार पाँच सय दशमलव ४४ मिटर लामो कठाल मल्हनिया मल्टिस्पान झोलङ्गे पुल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ।
करिब दुई साताअघि निर्माण भई सञ्चालनमा आएको उक्त पुल हेर्न नेपाल र भारतबाट सयौँको सङ्ख्यामा मानिस आउने गरेका छन्। दैनिक पाँच सयदेखि आठसयको हाराहारीमा पुल घुम्न मानिस आउने गरेको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका बिल्टु मण्डलले बताए। नदी र बालुवा बाहेक केही नभएको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावतको सहजतासँगै यस क्षेत्र भरिभराउ देखिन थालेको उनको भनाइ थियो।
‘पुल वरिपरि धमाधम पसल खुल्दैँछन्,’ मण्डले भने, ‘यसले गर्दा स्थानीय बासिन्दाको आम्दानीको स्रोत बन्दै गएको छ।’ पुल हेर्नका लागि अहिले आसपासका गाउँबाट मात्रै होइन छिमेकीमूलुक भारतको मधुवनी जिल्लाका जयनगर, भदौर, देउधा, हरिने हरलाखी, अकोन्हा, उछाल, बेलालगायतका दर्जनौँ ठाउँबाट मानिस आउने गरेका पुलको सुरक्षामा खटिनुभएका प्रहरी चौकी बलहा गोठ बनरझुल्लाका इन्चार्ज शर्माप्रसाद यादवले जानकारी दिए।
‘जहिया स पुल्ला बैन सुरु भेलैया, तहिया स गाममे मुरही कचरीके नस्ताके दोकान चल्बे नै करै छल (जहिलेदेखि पुल निर्माण सम्पन्न भएर आवतजावत सुरु भयो । तबदेखि गाउँमा रहेको मुरही कचरीको नास्ता पसलमा बिक्री कम हुदैँन)’, जनकनन्दनी–६ कठालमा मुरही कचरीका पसल थापेकी गीतादेवीले भनिन्। पहिले गाउँमा दुई हजारदेखि दुई हजार पाँचय रुपैयाँसम्मको बिक्री हुनेमा अहिले बम हुँदै गएको उनले बताए।
गाउँमा बिक्री कम हुन थालेपछि पुलको शिरमा चप, कचरी, मुरही र जिलेबी बेच्न थालिएको गीतादेवीले बताए। यहाँ पसल थापेपछि पुनः दैनिक दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको उनले बताए।
यो पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन र तीन हजार आठ सय ८६ पैदलयात्रीको रहेको छ। सम्झौता मिति भन्दा छ महिना अगावै निर्माण कम्पनीले काम सम्पन्न गरेको छ।
त्यस्तै पुलमा रातिको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सोलार प्यानल जडान गरिएको छ। पुलमा छ वटा सोलार प्यानल जडान गरिएको पुल निर्माणमा स्वयंसेवकका रुपमा खटिनुभएका इन्जिनियर विनोदकुमार मण्डलले बताए।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका भौतिक पूर्वाधार विकास निर्देशनालय जनकपुरधामको सहयोगमा पुलमा सोलार प्यानल जडान गरिएको उनले जानकारी दिए। उनका अनुसार दश लाखको लागतमा उक्त सोलार प्यानल पुलको छ वटै टावरमा जडान गरिएको हो।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
पाल्पा : पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिस सिखरडाँडातर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी सुगन्ध श्रेष्ठले मध्यान्हलाई बताए ।
जिपमा २० जना सवार रहेको प्रहरीको अनुमान छ । दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। जिप सडकभन्दा १०० मिटर तल खसेको थियो । डीएसपी श्रेष्ठले घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन ।
सुर्खेत, १ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आयोजना गरिएको छैटौँ राष्ट्रिय बेटी सम्मेलन ‘सत्र बुँदे कर्णाली घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। आभाशा राष्ट्रिय अभियान नेपाल र मूलधार महिला सेवा केन्द्र, उदयपुरद्वारा गत माघ २७ गतेदेखि उक्त सम्मेलन सुरु भएको थियो।
‘दिगो विकास लक्ष्य पाँच पूरा गर्ने प्रतिबद्धता, सबै निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता’ नाराका साथ सम्पन्न उक्त बेटी सम्मेलनले कर्णाली तथा देशैभरिका महिला एवं छोरी लक्षित हानिकारक परम्परा निर्मूल गर्न सत्र बुँदे घोषणापत्रमार्फत तीनै तहका सरकारको ध्यानाकर्षण गरेको छ।
समानता, समावेशी र मानव अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ मूल उद्देश्यलाई निर्णायक तहमा स्थापित गर्न थालिएको अभियानअन्तर्गत कर्णालीमा सम्मेलन आयोजना गरिएको उक्त अभियानका केन्द्रीय संयोजक नजबुल खानले जानकारी दिए। विसं २०७५ मा कोशी प्रदेशबाट सो अभियान थालिएको हो।
‘अभियानलाई राष्ट्रव्यापी रुपमा विस्तार गर्न बेटी सम्मेलनको थालनी गरेका हौँ,’ संयोजक खानले भने, ‘यसले छोरीमाथि हुने हिंसा र शोषणको अन्त्य गर्न तथा निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता गराउन सरोकारवालालाई दबाब सिर्जना गर्नेछ।’
उनका अनुसार कर्णालीमा घरेलु हिंसा, भ्रुण हत्या, बलात्कार, बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा, देउकी प्रथालगायतका महिला हिंसाका थुप्रै कु–संस्कार, कु–प्रथा समाजमा विद्यमान छन्। महिलालाई आत्मनिर्भर बनाउन नयाँ नयाँ सीप, कला, दक्षता र प्राविधिक शिक्षामा चेलिवेटीको उल्लेखनीय, व्यापक सहभागिता गराउन माग छ।
महिला अधिकारको विषयमा लामो समयदेखि बहस भए पनि महिला सहभागितामा नेपालका राजनीतिक दल चुकेको उक्त अभियानको ठहर छ। घोषणा पत्रले विशेषगरी कर्णाली प्रदेशमा देखिएको होचा, पुड्काको अवस्था र कारणको अध्ययन गरी ती सवाललाई यथोचित सम्बोधन हुने गरी खाद्य सुरक्षा तथा पोषणसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारसँग पैरवी र सहकार्य गर्ने उल्लेख गरेको छ।
त्यस्तै, कर्णाली प्रदेश सरकारसहित यहाँका स्थानीय सरकारले ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरिको’ र ‘छोरीबुहारी छात्रवृत्ति कार्यक्रम’मा महिला सशक्तिकरणका कार्यक्रम तथा अभियानको निरन्तरता र प्रभावकारिता बढाउन आवश्यक पैरवी तथा सहकार्य गर्ने संयोजक खानले जानकारी दिए।
घोषणा पत्रले जाजरकोट भूकम्पका कारण जोखिममा रहेका पीडितको सुरक्षा र पुनःस्थापनाका कार्यलाई तीव्र गतिमा अगाडि बढाउन सरोकारवालाको ध्यानाकर्षण गरेको छ।
सत्येन्द्रप्रताप सिंह/मध्यान्ह
रौतहट, १ फागुन । प्रहरीले अपराध अनुसन्धान तथा कारवाही सम्बन्धि एक दिने अनुशिक्षण तालिम दिएको छ। तालिम आयोजक जिल्ला प्रहरी कार्यालय रौतहटले कार्यरत स्थलमा नै तालिम उपलब्ध गराउने उद्देश्य अनुसार कार्यक्रम आयोजना गरेको बताएको छ ।
तालिममा जिल्ला प्रहरी कार्यालयबाट अपराध अनुसन्धानमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो। अपराध अनुसन्धानका क्रममा हुने कठिनाइ, सेवाग्राही तथा पीडितसंग गर्ने व्यवहार र प्रमाणमुखि अनुसन्धान कसरी गर्न सकिन्छ भन्ने जस्ता विषयमा छलफल भएको रौतहट प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउन सुझाव दिए। तालिममा सैद्दान्तिक कक्षा अन्तर्गत ऐन नियम तथा प्रारम्भिक अनुसन्धान, विस्तृत अनुसन्धान, विधि विज्ञान र चिकित्सा विज्ञान, विशेष प्रकृतिका अपराध अनुसन्धानसंग सम्बन्धित विषयमा छलफल भएको जनाईएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरी र प्रहरी निरिक्षक उमाशंकर प्रसादले अपराध अनुसन्धान तथा प्रमाण संकलन गर्दा ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी गराएका थिए। तालिमका सहभागीहरु आफूहरुले सिकेका कुरा व्यहारमा ल्याउने प्रतिवद्धता जनाएका थिए ।
काठमाडौं। नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९/८०’ मा २०७२ सालको भूकम्प र कोरोना महामारीलगायत कारणबाट अपेक्षित रुपमा गरिबीको दर घट्न नसकेको उल्लेख छ।
सर्वेक्षणअनुसार गरिबीको दर सहरी क्षेत्रमाभन्दा ग्रामीण क्षेत्रमा बढी छ। सहरी क्षेत्रमा गरिबीको दर १८ दशमलव ३४ प्रतिशत र ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत छ।
त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले गरिबी निवारणमा देशले गरेको प्रगति विश्वव्यापी कोरोना महामारी, प्राकृतिक विपद्लगायत कारणबाट मेटिन पुगेको बताए।
सात प्रदेशमध्ये चार प्रदेशमा राष्ट्रिय गरिबीको दर बढी छ। सर्वेक्षणअनुसार सुदुरपश्चिम प्रदेश (३४ दशमलव १६), कर्णाली प्रदेशमा (२६ दशमलव ६९), लुम्बिनी प्रदेशमा (२४ दशमलव ३५ प्रतिशत) र मधेश प्रदेशमा (२२ दशमलव ५३ प्रतिशत) छ। गण्डकी प्रदेशमा (११ दशमलव ८८ प्रतिशत), बाग्मती प्रदेशमा (१२ दशमलव ५९ प्रतिशत), र कोशी प्रदेशमा (१७ दशमलव १९ प्रतिशत) रहेको छ।
काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ, मधेस प्रदेशबाट १० करोड पाँच लाख ५८ हजार ९०१ रुपैयाँ, बागमती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट आठ करोड १८ लाख ७६ हजार रुपैयाँ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार रुपैयाँ, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख ८८ हजार रुपैयाँ संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
राजस्व रकम सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तत्थ्यांकमा उल्लेख छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायतलाई कारबाही गरिएको हो।
कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका पनि प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले देखाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूरअनुसार ट्राफिक प्रहरीले कारबाही गर्नसक्ने व्यवस्था रहेको छ।
सन्तोष पौडेल/मध्यान्ह
बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं ६ को एक गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ । शनिबार राति नारायणपुर बस्ने मुक्त बहादुर बस्नेतको गोठमा अचानक आगलागी हुँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट खरले छाएको गोठ जलेर पुरै नष्ट भएको छ । गोठमा बाँधिएका एउटा दुहुनो भैंसी, ६ वटा बाख्रा जलेका छन् । गोठका काठ काम नलाग्ने भएका छन् । आगलागी बाट मानवीय क्षति नभएको र आगो के कारणले लागेको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बागलुङ : जन्मँदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उनी उभिनै सकेनन् ।
खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका लागि अपाङ्गता भयो । ५० वर्षका उनी अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्छन् । युवराज मात्रै होइन उनकी श्रीमतीमा समेत शारीरिक आपङ्गता छ । ४० वर्षीया ढालकुमारी कँडेलको देब्रेहात छैन । भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुपर्यो ।
श्रीमान् खुट्टाको अपाङ्गता र श्रीमती हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गता नै बोझ बन्यो कँडेल दम्पतीलाई । उनीहरुलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन ।
‘श्रीमतीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता मलाई छ, अपाङ्गतालाई गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो गर्यौं , तर कठिन थियो परिस्थिति’, २० वर्षअघिका दिन सम्झँदै युवराजले भने, ‘एक लाख रुपैयाँमा आफ्नो भागको पुर्ख्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौँ, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौँ ।’
युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ । भरत वैशाखीको सहारामा विद्यालय आउने जाने गर्छन् । छोराको उपचारका क्रममा चिकित्सकबाट युवराजले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको युवराजले बताए । उनका छोराको अपाङ्गता बाल अस्पताल बनेपामा उपचार भएको थियो ।
युवराज परिवारका तीन सदस्य अपाङ्गता जेठी छोरी र छोरा भुवन मात्रै सबलाङ्ग छन् । छोरीको विवाह भइसकेको छ भने भुवन कक्षा १२ मा अध्ययनरत छन् । छाप्रो अघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा थिए । कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भने, ‘परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारीचौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरुवासहित अन्य तरकारी बिक्री गरेर चारजनाको परिवार धानिँदै आएको छ ।’
कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफैं गर्दै आएका छन् । वार्षिक १२ हजार रुपैयाँ भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरुवा उत्पादन भएर बिक्री भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताए ।
‘उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्गता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौँ, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमानको खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो’, ढालकुमारीले भनिन्, ‘बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौँ, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ ।’
कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न पाँच लाख रुपैयाँ लाग्ने भएपछि सहयोग सङ्कलन अभियानमार्फत चार लाख जुटेर शल्यक्रिया गरेको युवराजले बताए । छोराको खुट्टाको उपचार सहयोग सङ्कलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उनको भनाइ छ ।
किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ । ‘किराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक–पटक अस्पताल धाउँदा समस्या भयो, पसल छाडियो’, उनले भने, ‘छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए, तर घर खर्च चलाउन कृषि कर्ममा छौँ, कृषिमा लागेकै आठ वर्ष भयो ।’
घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । उनले शारीरिक अपाङ्गताका बाबजुद व्यावसायिक नर्सरी तथा तरकारीखेती अँगाल्दै आएका छन् । अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा रहेका युवराजले श्रीमतीको सहारामा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।
उत्पादन गर्नसके बजारको अभाव नभएको बताउँदै उनले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको जानकारी दिए । उनले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरुवा र तरकारीको माग हुँदा पुर्याउन नसकिएको बताए । कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छ भने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको युवराजले बताए ।
कान्छो छोराको अहिलेसम्म छ पटक खुट्टा भाँचिएको उनले जानकारी दिए । अहिले उनी वैशाखीको सहाराले हिँड्डुल गरे पनि विद्यालय जान/आउन भने दाइको सहारा लिने गरेका छन् । कान्छो छोराको उपचारमा मात्रै हालसम्म १३ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको बुबा युवराजले बताए ।
बीउ पूँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी संस्थाले १५ हजार रुपैयाँ सहयोग गरेको जनाउँदै कँडेलले १५ हजारको बीउबाट उत्पादन गरेका बिरुवा बिक्री गरेर ४० हजार रुपैयाँ कमाएको सुनाए । कँडेल दम्पतीले प्याजका बिरुवाबाहेक, सिमी, बन्दा र काउली उत्पादन गर्दै आएका छन् । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies