काठमाडौं। पार्टी प्यालेस र होटलमा सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग गर्ने गरेको भन्दै काठमाडौं महानगरले निगरानी सुरु गरेको छ।
महानगरले गत साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नक्कली फुलको प्रयोग नगर्न गरिएको आग्रहलाई अटेर गरे कारवाही गर्ने बताए।
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएका छन् ।
बिहीबार नै उनको पुनरावेदन उच्च अदालत पाटनले दर्ता समेत गरेको छ। सन्दीपका कानून व्यवसायी सरोज घिमिरेका अनुसार उच्च अदालतले चैत १२ मा तारिखका लागि बोलाएको छ ।
त्यस्तै अदालतले सन्दीपलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अनुमति समेत दिएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार थुनछेकका क्रममा जेल चलान नभएका कसूरदारको कैद सजाय १० वर्षभन्दा कम भएमा थुना बाहिरै बसेर पुनरावेदनका लागि मुद्दा लड्न पाउँछन् ।
सन्दीपमाथि गौशाला–२६ लाई जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। जिल्ला अदालतले काठमाडौंले त्यसमा उनलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो ।
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिए।
काठमाडौं पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।
मौसमविद कँडेलले भने, ‘अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ। आज राति पनि वर्षाको सम्भावना छ।’
भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उनले उल्लेख गरे। ‘भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ,’ मौसमविद् कँडेलले भने।
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजंग बराल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।
काठमाडौं । देशका कुल ६ महानगरपालिकामध्य कार्यसम्पादन मूल्यांकनमा चितवनको भरतपुर महानगर उत्कृष्ठ ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मंगलबार सार्वजनिक गरेको प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा भरतपुरले महानगरहरुमध्य धेरै अंक पाएको हो ।
आयोगले तयार पारेको आर्थिक वर्ष २०७९/८०को मुल्यांकन प्रतिवेदन अनुसार भरतपुले ५६.२९ अंक पाएको छ भने दोस्रो स्थानमा रहेको काठमाडौंले ३९.०२ मात्रै भएको छ । सबैभन्दा कमजोर कार्यसम्पादन पोखराको रहेको छ । त्यस्तै वीरगञ्ज महानगरले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८ र पोखरा २०.७४ अंक पाएको छ।
भरतपुरमा रेनु दाहाल मेयर छिन् भने काठमाडौंमा बालेन साह रहेका छन् । त्यस्तै वीरगंजमा राजेशमान सिंह, बिराटनगरमा नागेश कोइराला, ललितपुरमा चिरिबाबु मर्हजन र पोखरामा धनराज आचार्य मेयर रहेका छन् ।
आयोगले कुनै पनि महानगरको कार्यसम्पादन सन्तोषजनक भने नरहेको बताएको छ। आयोगले विभिन्न १७ वटा सूचकमा आधारित भएर महानगरहरुको मूल्यांकन गरेको थियो । आयोगले यो प्रारम्भिक प्रक्षेपण रहेको भन्दै कुनै पालिकालाई चित्त नबुझे ७ दिनभित्र पुनरालोकनका लागि निवदेन दिन समेत भनेको छ ।
बित्त आयोगका अनुसार कार्यसम्पादनमा देशभरका उत्कृष्ठ १० स्थानीय तह
१.सन्धिखर्क नगरपालिका(अर्घाखाँची)
२.भरतपुर महानगरपालिका(चितवन)
३.मालिका गाउँपालिका(गुल्मी)
४.मेलम्ची नगरपालिका(सिन्धुपाल्चोक)
५.भोटेकोशी गाउँपालिका(सिन्धुपाल्चोक)
६.चन्द्रकोट गाउँपालिका(गुल्मी)
७.छत्रदेव गाउँपालिका(अर्घाखाँची)
८. रेसुंगा नगरपालिका(गुल्मी)
९.पााचपोखरी थांपाल गाउँपालिका(सिन्धुपाल्चोक)
१०.सरुमारानी गाउँपालिका (प्युठान)
सत्येन्द्रप्रताप सिंह/मध्यान्ह
रौतहट : तीन दिनपछि सरस्वतीको मूर्ति सेलाउने विषयमा सर्वदलीय बैठकमा सहमति भएपछि सोमबार दिउँसो स्थानीय नदीमा मूर्ति बिर्सजन गरिएको छ ।
सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच विवाद भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वदलीय बैठक बसेर सहमति गरेको हो । सो सहमतिको आधारमा सरस्वतीको मूर्ति विसर्जन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी ऐलिजा गिरीले बताए।
फागुन ५ गते ईशनाथ नगरपालिका वडा नं. ७ स्थित घिउरा गाँउमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद भएको थियो । विवाद उग्र भएपछि रौतहट प्रशासनले कर्फ्यू आदेश जारी गरी आइतबार थप क्षेत्रमा समेत कर्फ्यू विस्तार गरेको थियो ।
सर्वदलीय सहमति अनुसार गाँउमा समाजिक सद्भाव कायम राख्न र्याली निकालिने भएको छ । ईशनाथ नगरपालिकाको सम्बन्धित वडाहरुमा सामाजिक सद्भाव कायम भएपछि मात्रै कर्फ्यू हटाउने तयारीमा प्रशासन छ । रौतहट क्षेत्र नम्वर २ का संघीय सांसद किरण साह, नेपाल प्रहरीका डीआईजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरीका डीआइजी दिपेन्द्र शाह, राष्ट्रिय अनुसन्धान मधेश प्रदेश प्रमुख सञ्जय यादव, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एसपी महेन्द्रकुमार श्रेष्ठ, सशस्त्र एसपी माधव रेग्मी, प्रदेश सदस्य जैयद राजा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सरस्वतीको मूर्ति विसर्जन गरिएको हो ।
सरस्वतीको मूर्ति स्थानीय नदीमा विसर्जन गरेसँगै तनाव कम भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस गाउँमा पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदै आएको छ ।
काठमाडौं । मुर्ति सेलाउने बिषयमा रौतहटको ईशनाथमा भएको साम्प्रदायिक तनावको असर पर्साको वीरगंजमा समेत परेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि लागू हुने गरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यू लाग्ने जिल्ला प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
शनिबार रौतहटको ईशनाथ नगरपालिकामा मुर्ति सेलाउने विषयमा भएको विवादलाई लिएर वीरगञ्जमा आज प्रदर्शन भएको थियो।
उक्त प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति आएकाले सम्भावित अशान्ति रोक्न कर्फ्यू आदेश जारी गर्नु प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन्। चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र गरेपनि ठेक्का कसैले नलिँदा चामल अभाव भएको कम्पनीका कर्णाली प्रदेश प्रमुख माधव मिश्रले जानकारी दिए।
कर्णालीमा सबैभन्दा बढी अरुवा मोटा चामल माग भए पनि सो चामलको चरम अभाव भएको प्रमुख मिश्रले बताए। महँगो रकम पर्ने स्टीम जिरा मसिनो चामल केहीमात्रामा भए पनि चामल बिक्री नहुने भएकाले अरुवा मोटा चामल नै सबैभन्दा बढी कर्णालीमा माग हुने गरेको छ। जिल्ला सदरमुकाममा रहेका कारागार शाखामा समेत उक्त चामल प्रयोग हुन्छ। डिपोमा चामल नहुँदा दिन नसक्ने अवस्थामा पुगेको प्रमुख मिश्रले सुनाए। महँगोमा खरिद गरेर सस्तोमा कसरी दिने भन्ने समस्या भएको उनको भनाइ छ।
भूकम्पबाट प्रभावित जाजरकोटका चार बिक्री केन्द्र र चार डिपो चामलको अभावमा रित्ता रहेको जिल्ला कार्यालयका प्रमुख रामप्रसाद पौडेलले बताए। मसिनो चामल प्रतिकेजी ९२ रुपैयाँमा बिक्री हुन्छ। सो चामल स्थानीयवासीले नरुचाएको उनले सुनाए। जाजरकोटमा अरुवा मोटा चामल ५४ रुपैयाँमा पाइन्छ। यसको माग धेरै रहेको उहाँको भनाइ छ। भूकम्पका कारण उठीबास भएर अस्थायी टहरामा बसिरहेका पीडित दैनिक चामल लिन आए पनि डिपोमा चामल नहुँदा रित्तो हात फर्कनुपर्ने बाध्यता सिर्जना भएको छ। बजारमा चामल किन्दा भारीमात्रामा महँगो छ। खाद्यमा जाँदा चामल नपाउँदा समस्या भएको बारेकोट गाउँपालिका–५ का प्रेम शाहीले गुनासो गरे। जति महँगो भए पनि बजारकै चामल ल्याएर प्रयोग गर्नुपर्ने बाध्यता रहेको उजको भनाइ छ।
चामल नभएपछि अधिकांश गोदाममा ताल्चा लगाइएको छ। सदरमुकाम बाहिरका डिपो तथा बिक्री केन्द्रमा कर्मचारी नबस्ने र चामल आएमा ठेकेदारले आफैँ बिक्री गर्दै आएका छन्। कर्मचारी अभावका कारण ढुवानीकर्ताले नै चामल बिक्री गर्छन्।
कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, कालीकोट, मुगु र जुम्लामा खाद्यान्न अभाव छ। यी जिल्लामा उत्पादन हुने खाद्यान्नले वर्षभर खान नपुग्ने भएकाले बजार तथा कम्पनीको चामलको भरमा यहाँका सर्वसाधारण छन्। सरकारी तथ्याङ्कअनुसार कालीकोटमा वार्षिक २९ हजार सात सय ३९ मेट्रिकटन खाद्यान्न आवश्यक पर्दछ। यहाँ वार्षिक १७ हजार नौ सय ६४ मेट्रिकटन खाद्यान्न कमी छ।
जाजरकोटमा दुई हजार ९७, डोल्पामा दुई हजार सात सय ८७, जुम्लामा सात हजार ३०, हुम्लामा आठ हजार दुई सय ७३ र मुगुमा पाँच हजार चार सय ४४ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयको तथ्यांकमाउल्लेख छ।
कर्णालीमा वार्षिक २३ हजार चार सय २० मेट्रिकटन खाद्यान्न अपुग रहँदै आएको मन्त्रालयले जनाएको छ। कर्णालीका रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमात्र खाद्यान्नमा आत्मनिर्भर छन्। रुकुम पश्चिमले आवश्यकता परिपूर्ति गरेर वार्षिक चार हजार एक सय मेट्रिकटन खाद्यान्न सञ्चित गर्दै आएको छ। सबैभन्दा बढी खाद्यान्न सञ्चित सल्यानले गर्दछ, जहाँ वार्षिक १३ हजार नौ सय ९६ मेट्रिकटन सञ्चित हुने गर्दछ। अहिले सुर्खेतमा समेत अरुवा मोटो चामल नहुँदा समस्या भएको छ।
सुर्खेतमा ७७ हजार छ सय ६० मेट्रिकटन खाद्यान्न आवश्यक हुन्छ भने त्यसमध्ये ७८ हजार सात सय ३४ मेट्रिकटन उत्पादन गरेर एक हजार ७४ मेट्रिकटन भण्डार गर्दै आएको छ। बाँकी जिल्लामा भने स्थानीय उत्पादनले वर्षभर खान पुग्दैन। कर्णालीमा १६ डिपो छन् भने बिक्री केन्द्रको सङ्ख्या २६ छ। जाजरकोटमा सदरमुकामसहित पाँच डिपो र चार वटा बिक्री केन्द्र छन्। दैलेखका तीन ठाउँमा बिक्री केन्द्र र एक डिपो छ। कालीकोटमा चार डिपो र एक बिक्री केन्द्र छ।
जुम्लामा तीन वटा डिपो, मुगुमा चार डिपो र दुई बिक्री केन्द्र छन्। डोल्पामा चार डिपो र चार वटा बिक्री केन्द्र छन्। हुम्लामा तीन डिपो र छ वटा बिक्री केन्द्र स्थापना भएका छन्। रुकुम पश्चिममा दुई डिपो र एक बिक्री केन्द्र रहेको प्रदेश कार्यालयले जनाएको छ।
कर्णालीका ६ जिल्लामा अनुदानको चामल ढुवानी गर्दा आठ करोड १४ लाख ५२ हजार एक सय ३५ रुपैयाँ लाग्छ। कर्णालीमा खरिदभन्दा ढुवानीमा खर्च बढी हुने गरेको छ। हुम्ला र मुगुमा हवाई मार्गबाट समेत ढुवानी हुँदै आएको छ। कर्णालीको हुम्लामा अझैसम्म सडक सञ्जाल नजोडिएका कारण त्यहाँ खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ। उपल्लो डोल्पामा छ वर्षदेखि एक गेडा चामल ढुवानी भएको छैन।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार उपकुलपतिका लागि सर्टलिष्टमा परेकाहरूको अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस भएको हो ।
शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरेको हो ।
सिफारिस भएका तीन मध्य एक जनालाई अब विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले नियुक्त गर्नेछन्।
काठमाडौं। सरकारले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
पौडेललाई गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि हिरासतमा समेत लिइसकेको छ। उनीविरुद्ध सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको मुद्दा दायर गर्ने तयारी अख्तियारको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies