सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
काठमाडौं : ह्वा राङ वारियर्स आईटीएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया गएको छ ।
फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहेका छन् । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्ने छिन् ।
प्रशिक्षकमा विक्रम बाँठा मगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : दोलखामा आगामी फागुन २१ गतेदेखि प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । दोलखा युवा सञ्जालको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म खेलमार्फत दोलखाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ “प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद कमरेड रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता” हुने भएको हो ।
रित बहादुर खड्का 'प्रताप' को व्यक्तित्व र कृतित्व र स्मृतिको निरन्तरताका लागि सर्वाधिक पुरस्कार राशिको खेल हुन लागेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए ।
त्यस्तै प्रतियोगिताको विषयमा सञ्जालले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनमार्फत जानाकारी गराउने छ । प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा हुनेछ ।
काठमाडौं : भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र परेपछि भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरिएको थियो । बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ ।
रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ । एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछ । यो काम पुरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा सञ्चालित कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको पहिलो दिन दुई वटा खेल भएका छन् । जसमा सुर्खेत र हुम्ला विजयी भएका छन् । पहिलो खेल सुर्खेत र मुगु जिल्लाबीच भएको थियो भने दोस्रो खेल जाजरकोट र हुम्लाबीच भएको थियो ।
सुर्खेतले मुगुलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आयोजक जुम्ला फुटबल संघका अनुसार सुर्खेतका नविन वलीले ३१औं मिनेटमा पहिलो गोल, ५७औं मिनेटमा दोस्रो गोल हानेका थिए । यसैगरी दोस्रो हाफमा सुर्खेतका भरत नगलले ६०औं मिनेटमा एक गोल र ६८औं मिनेटमा अर्को गोल थप्न सफल भएका थिए । मुगुका लागि मिसी शाहीले ४८औं मिनेटमा एक गोल गरेका थिए ।
त्यस्तै हुम्लाले जाजरकोटलाई २–० गोलले विजयी भएको छ । खेल अवधिमा गोल हान्न निकै प्रयास गरेको जाजरकोटले गोल गर्न सकेन । खेल शुरु भएको ३३औं मिनेटमा हुम्लाका सागर शर्माले पेनाल्टीमार्फत गोल गर्न सफल भएका थिए । दोस्रो गोल हुम्लाका सुनिल शाहीले ५३औं मिनेटमा गरेका थिए ।
जुल्ला जिल्ला फुटबल संघकाका महासचिव दिपेन्द्र विक्रम हमालका अनुसार खेल नकाउट भएकाले विजेता जिल्लाले मात्रै अब अर्को खेल खेल्ने भएका छन् । जुम्ला र कालिकोट बाई परेकाले अब सुर्खेत, जुम्ला र हुम्ला, कालिकोट यही फागुन १७ गते सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सेमिफाइनलबाट विजयी भएका दुई टिम १८ गते फाइनलका लागि भिड्ने छन् ।
फागुन १५ गते उद्घाटन गरिएको प्रदेशस्तरीय पुरुष फुटवल खेल प्रतियोगिता हिउँ परेकाले मंगलबार स्थगित गरी बुधबारबाट खेल शुरु गरिएको हो । कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले खेलाडीलाई बल हस्तान्तरण गरेर खेल शुरु गरिएको थियो । उनले बल हस्तारण गर्दै ६ वटै जिल्लाबाट खेलमा सहभागी भएका खेलाडीलाई शुभकामना दिएका थिए । प्रतियोगितामा जुम्ला, सुर्खेत, कालीकोट, हुम्ला, मुगु र जाजरकोट सहभागी भएका छन् ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ।
नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।
चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए ।
त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौं बलमा उनले १ रन मात्र लिए । अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो ।
खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडे । आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे । कुशल मल्ल र करण केसीले समान ११-१ रन जोडे भने सन्दिप जोराले ८ रन बनाए ।
बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई÷दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक-एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन् । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक÷एक विकेट लिएका थिए । नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए । साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे ।
तेजा निदमनुरुले २४ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोडे । नेपालका लागि करण केसी र कुशल मल्लले १-१ विकेट लिए भने दुई विकेट रनआउटबाट आएको थियो ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।
नेपालले २.१ ओभरमा पहिलो सफलता हासिल गरेको छ । नेपालका करण केसीले नेदरल्याण्ड्सका म्याक्स ओ डाउडलाई आउट गरेका हुन् ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । आजको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छभने ललितनारायाण राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा समेटिएका छन् ।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलसन झा र प्रतिश जिसी छन् ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : मौसमका कारण जुम्लामा मंगलबार हुने भनिएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताअन्तर्गतको उद्घाटन खेल स्थागित भएको छ । मौसम प्रतिकुलताका जुम्ला र जाजरकोटबीचको उद्घाटन खेल स्थगित भएको हो ।
कर्णाली प्रदेश सभाका सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रतियोगिताको उद्घाटन गरेका थिए । तर उद्घाटन गरेलगत्तै पानी र हिउँ पर्न थालेपछि खेल स्थागित गरिएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले जानकारी दिए ।
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ मंसिर २ –९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हुँदैछ । यसका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशको टिम बनाउनका लागि जुम्लामा छनोट खेल हुन लागेको हो । कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा सहभागी हुन जाजारकोट, हुम्ला, मुगु, कालीकोट, सुर्खेत र जुम्ला गरी छ वटा जिल्लाका टिम दर्ता भएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य पछाईले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसकेको बताए । उनले खेल र खेलाडीहरूको विकास हुन जरुरी रहेको बताए । खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने उनको भनाइ थियो । उनले जुम्लामा खेल क्षेत्रको विकासका लागि कसैको ध्यान नगएको बताए ।
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०७ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बलमा २ चौका र २ छक्काको सहयोगमा ४८ रन बनाएका हुन् । यस्तै नेपालका कप्तान रोहित पौडेलले २४ बलमा ४२ रन बनाए । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कुशल मल्लले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३२ रनको योगदान दिए । सोमपाल कामीले ११ बलमा ३ छक्का र १ चौकाको सहयोगमा २६ रन जोडे । त्यस्तै गुल्शन झाले ६ बलमा १२ रन बनाए भने आसिफ शेख र विवेक यादवले समान ६ रन बनाए । सन्दीप जोराले ५ रन बनाउँदा करण केसी २ रनमा नटआउट रहे । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रनमा आउट भए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ३.५ ओभरमा २९ रन दिएर ४ विकेट लिए । यस्तै जान फ्राइलिंक, बर्नाल्ड स्कोल्स र जान निकोलले २-२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । नामिबियाका लागि निकोल लोफ्टी इटनले विश्व कीर्तिमानी शतक प्रहार गरे । लोफ्टी इटनले १०१ रन बनाए । उनले ३३ बलमा शतक पूरा गर्दै कुशल मल्लको कीर्तिमान तोडे । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । अर्का ओपनर माइकल बेन लिन्गन २० रन बनाएर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।
नेपालले अब सिरिजको दोस्रो खेलमा बुधबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं : नामिबियाका ब्याट्सम्यान जान निकोल लोफ्टी इटनले टी–२० अन्तराष्ट्रिय विश्व किर्तिमान बनाएका छन् । उनले टी–२० अन्तराष्ट्रियमा सबैभन्दा कम बलमा शतक प्रहार गरेका छन् । उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक बनाएका हुन् ।
उनले नेपाली खेलाडी कुशल मल्लको किर्तिमानलाई तोडेका हुन् । कुशल मल्लले चीनको हाङझाउमा सेप्टेम्बर २०२३ मा भएको १९ औं एशियाली खेलकुदमा मंगोलीयाविरुद्ध ३४ बलमा शतक बनाएका थिए ।
यस क्रममा टी-२०आई सिरिज अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई २ सय ७ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो ।
नामिबियाका ओपनर मलान क्रुगरले ४८ बलमा ६ चुअका र २ छक्कासहित नटआउट ५९ रन जोडे । नेपालका लागि कप्तान रोहित पौडेलले २ विकेट लिए भने करण केसी र अभिनाष बोहराले १-१ विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies