राजकुमार भुजेल/मध्यान्ह
दोलखा : प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘शहीद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधि मेलम्चीले हात पारेको छ । जिल्लाको सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई हराउँदै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो ।
रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिकाबीच भएको प्रतिस्पर्धामा कमलामाई नगरपालिका तृतीय भएको थियो । कमलामाई नगरपालिकाले ३–१ को सेटमा मन्थली नगरपालिकालाई पराजित गरेको हो । कमला नगरपालिकाले हराएपछि मन्थली नगरपालिकाले सान्त्वनामै चित्त बुझाउनुपर्यो ।
उक्त प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गत सोमबारदेखि दोलखा युवा सञ्जालको आयोजनामा शुरु भएको उक्त खेल शुक्रबार सम्पन्न भएको हो । हालसम्मकै सर्वाधिक राशिको प्रतियोगितामा बागमती प्रदेशभित्रका १४ वटा टिम सहभागी थिए ।
काठमाडौं : डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्वनम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् ।
उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो । उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो । उपाधिसहित उनले नगद एक लाख प्राप्त गरे ।
लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन बिहीबार ६–ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए । समग्रमा १–अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए । उनले एमेच्योरतर्फ उपाधि जिते । एमेच्योरतर्फ समग्रमा ७–ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए । उनले बिहीबार ३–ओभर ७१ मा खेल सकाए ।
समग्रमा १–ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे । दिनेशले बिहीबार ४–अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १–ओभर ६९ र धनले ३–ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
पहिलो दिनका लिडर रामे मगरले बिहीबार इभन–पार ६८ खेलेर समग्रमा ४–ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे । समग्रमा ५–ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे । दाबेदार भुवनले बिहीबार ८–ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए ।
यस्तै ३–ओभर ७१ स्कोर गर्दा भुवन कुमार रोक्का र जयरामले इभन–पार ६८ मा खेल पूरा गरे । उनीहरूले २७ हजार ८ सय ७५ नगद आफ्नो नाममा लेखाए । समग्रमा १२–ओभर २ सय ८४ को नतिजामा रमेश अधिकारी दशौं भए र २१ हजार प्राप्त ग्रे।उनले बिहीबार ६–ओभर २ सय ७४ को स्कोर बनाए ।
अन्तिम १८ होलको खेल सुरू हुँदा रवि सदभाव भन्दा ३ स्ट्रोकले पछि थिए । सदभावले लय गुमाउँदा रविले सुदबुझपूर्ण प्रदर्शन गरे । रविले पहिलो, दोस्रो, चौथो र आठौं होलमा बर्डी प्रहार गरे । तेस्रो र सातौं होलमा एक–एक सट खेर फाले । फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यता ३ स्ट्रोकको अग्रतामा दिनको शुरुवात गरेका सदभावले पहिलो होलमा बर्डी प्रहार गरे पनि तेस्रो होलको डबल बोगी र आठौं होलको बोगीले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए । नौ होलको समाप्तीमा रविले सदभावलाई एक स्ट्रोकले पछि पारे ।
खेलको टर्निङ प्वाइन्ट दशौं होल बन्यो । सदभावले टी सट जंगलमा प्रहार गरे । दोस्रो सट ओबी खेल्दा यो होलमा ट्रीपल बोगीको सामना गर्न बाध्य भए । यता रविले यही होलमा इगल प्रहार गर्दा दशौं होलको समाप्तीमा रविले सदभाव विरूद्ध ६ स्ट्रोकको अग्रता बनाए । यसपछि रविले १७औं होलमा एक सट खेर फाले भने १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३२ मा नै पूरा गरे ।
सदभावले दशौं होलको ट्रीपल बोगी लगतै १२औं होलमा डबल बोगी र १५औं होलमा बोगीको सामना गरे । १३औं र १४औं होलमा एक–एक सट बचाए र ब्याक नाइन ४–ओभर ३८ मा सकाए । दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३२ मा सकाए । उनले पहिलो, चौथौं, आठौं, १०औं र १५औं होलमा बर्डी प्रहार गर्दा सातौं होलमा एक सट खेर फाले ।
दीपकले पहिलो र सातौं होलमा एक–एक सट बचाउँदा पाँचौ र नवौं होलको बोगीले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । यसपछि १३औं होलको बर्डी विरूद्ध १५औं र १७औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।
धनले फ्रन्ट नाइन २–ओभर ३६ र ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । यो क्रममा उनले पहिलो, ११औं, १३औं र १५औं होलमा बर्डी प्रहार गरेपनि तेस्रो, आठौं र नवौं होलमा बोगी खेप्दा १०औं र १८औं होलमा डबल बोगीको सामना गरे ।
७२ होलको चार दिने प्रतियोगिताको कूल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशि रहेको थियो । प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जिल्ला क्रिकेट संघको आयोजनामा फागुन २६ गतेदेखि शुरू हुन लागेको क्रिकेट प्रतियोगिताको कप सार्वजनिक गरिएको छ ।
गौर राइस मिलमा हुने प्रतियोगिताको उद्घाटन नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालले गर्ने रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
रौतहटका १८ पालिकाका टिम सहभागी हुने बताउँदै कोषाध्यक्ष नेपालले प्रतियोगितामा ४३ वटा खेल हुने बताए । प्रतियोगितामा सहभागी भएका १८ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ए मा गौर नगरपालिका, मौलापुर नगरपालिका र गुजरा नगरपालिका, समूह बी मा गरुडा नगरपालिका, फतुवा बिजयपुर नगरपालिका र माधव नारायण नगरपालिका रहेका छन् ।
समूह सी मा यमुनामाई गाउँपालिका, परोहा नगरपालिका र बृन्दावन नगरपालिका, समूह डी मा गढीमाई नगरपालिका, राजदेवी नगरपालिका र बौधिमाई नगरपालिका, समूह ई मा चन्द्रपुर नगरपालिका, देवाही गोनाही नगरपालिका र दुर्गा भगवती गाउँपालिका तथा समूह एफमा कटहरिया नगरपालिका, राजपुर नगरपालिका तथा ईशनाथ नगरपालिका रहेको आयोजकले जनाएको छ ।
करिब ६५ लाखको लागत लाग्ने क्रिकेट प्रतियोगिताको विजेता टिमलाई शिल्डसहित नगद ३ लाख तथा उपविजेता टिमलाई शिल्डसहित नगद १ लाख ५० हजार पुरस्कार दिइने संघका कोषाध्यक्ष तथा प्रतियोगिताका संयोजक नेपालले जानकारी दिए ।
काठमाडौं : एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन तीन स्ट्रोकको अग्रतासहित शीषस्थानमा कायमै रहन सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधबार डिफेन्डिङ च्याम्पियन युवा गल्फर सदभावले ४–अन्डर ६४ को उम्दा प्रदर्शन गर्दा समग्रमा ७–अन्डर १ सय ९७ सहित पुर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे । रविले बुधबार ३–अन्डर ६५ स्कोर दर्ज गरे । उनी समग्रमा ४–अन्डर २०० सहित दोस्रो स्थानमा उक्लिए ।
भुवन नगरकोटीले बुधबार दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा ५–अन्डर ६३ स्कोर गरे। समग्रमा ३–अन्डर २ सय १ सहित तेस्रो स्थानमा उक्लिए। धन बहादुर थापाले बुधबार इभन–पार ६८ मा खेल सकाउँदा समग्रमा २–अन्डर २ सय २ सहित चौथो स्थानमा झरे ।
भेट्रान प्रो दीपक मगरले ३–अन्डर ६५ मा तेस्रो दिनको खेल सकाए । उनी समग्रमा इभन–पार २ सय ४ को नतिजामा पाँचौ स्थानमा उक्लिए । समग्रमा २–ओभर २ सय ६ सहित सञ्जय लामा छैटौं स्थानमा छन् । उनले बुधबार १–अन्डर ६७ मा खेल सकाए ।
बुधबार ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–ओभर २ सय ७ सहित विष्णु प्रसाद शर्मा सातौं स्थानमा उक्लिए। एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा ४–ओभर २ सय ८ सहित आठौं स्थानमा छन् । टासीले बुधबार २–अन्डर ६६ मा खेल सकाए । उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन् । पहिलो दिनका लिडर रामेले बुधबार ५–ओभर ७३ को खराब प्रदर्शन गरे ।
समग्रमा ५–ओभर २ सय ९ सहित भुवन कुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औं स्थान बाँडे । भुवनले ४–अन्डर ६४, जयरामले ३–ओभर ७१ र दिनेशले ५–ओभर ७३ मा खेल सकाए ।
उपाधि रक्षा गर्ने दाउमा रहेका सदभावले पहिलो होलमा नै ओबी प्रहार गर्दै सो होलमा बोगी खेपे। तर उनले उत्कृष्ट पुनरागमन गरे। दोस्रो होलमा बर्डी र ५–पारको चौथो होलमा इगलको सफलता प्राप्त गरे । यसपछि पाँचौं होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि १३औं होलको बोगीका विरूद्ध १०औं, १५औं र १८औं होलमा बर्डीको सफलतासहित सदभावले ब्याक नाइन २–अन्डर ३२ मा नै पुरा गरे । अन्तिम १८ होलको खेल बाकी छँदा करियरको तेस्रो उपाधि जित्ने सम्भावनालाई बलियो बनाएका छन् ।
रविले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन २–अन्डर ३२ मा सकाए। उनले चौथो, १३औं, १४औं र १६औं होलमा चार बर्डी प्रहार गरे भने १२औं होलमा एक सट खेर फाले ।
भुवनले लोभलाग्दो सुरूवात गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । पहिलो, चौथो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १०औं र १७औं होलमा पनि एक–एक सट बचाए भने १८औं होलमा बोगीको सामना गरे ।
धनले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । उनले तेस्रो, आठौं र १३औं होलमा बर्डी प्रहार गर्दा चौथौं, १७औं र १८औं होलमा एक–एक सट खेर फाले ।
चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ । कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौं हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं : आईसीसी पुरुष टी– २० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रकम निकासा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिए ।
‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ सदस्य–सचिव घिसिङले भने, ‘नेपाली टोली विश्वकपमा पुगपछि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू सो प्रतिबद्धता पूरा भएको छ । अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको छु ।’
सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिए ।
नेपालमा गत अक्टोबर ३० देखि नोभेम्बर ५ तारिखसम्म भएको आईसीसी पुरुष टी– २० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिकदेखि शुरु हुने आईसीसी पुरुष टी– २० विश्व कपका लागि नेपाल छनोट भएको थियो । सन् २०१४ मा पहिलोपटक टी– २० विश्वकप खेलेको नेपालले १० वर्षपछि टी– २० विश्वकप खेल्न लागेको हो ।
काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीषस्थानमा उक्लन सफल भएका छन् ।
डिफेन्डिङ च्याम्पियन सदभावले मंगलबार १–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३–अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । १–अन्डर ६७ सहित समग्रमा २–अन्डर १ सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए ।
पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १–अन्डर ३५ को नतिजामा संयुक्तरुपमा तेस्रो स्थान बाँडे । रविले मंगलबार २–अन्डर ६६ र रामेले २–ओभर ७० मा दोस्रो दिनको खेल सकाए ।
२–अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन–पार १ सय ३६ सहित पाँचौं स्थानमा रहेका छन् । समग्रमा २–ओभर १ सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौं स्थान बाँडे । जयरामले १–अन्डर ६७ र भुवनले ३–ओभर ७१ मा मंगलबारको खेल सकाए । ३–ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौं स्थानमा तल झरे ।
यसैगरी ३–ओभर १ सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्य प्रसाद शर्मा संयुक्तरुपमा आठौं स्थानमा रहे । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३–अन्डर ६५ मा खेल सकाए । दीपकले इभन–पार ६८ र सूर्यले १–ओभर ६९ को स्कोर दर्ज गरे ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६–ओभर १ सय ४२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा छन् । दुवैले मंगलबार ३–ओभर ७१ को स्कोर बनाए । उनीहरू लिडर सदभाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन् ।
३६ होलको समाप्तीमा १९–ओभर १ सय ५५ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ३ एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।
उपाधि रक्षा गर्ने कोशिसमा रहेका युवा एमेच्योर सदभावले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । तर पाँचौं होलमा डबल बोगी र सातौं होलमा बोगीको सामना गरे । सदभावले ब्याक नाइन भने २–अन्डर ३२ मा पूरा गरे । ५–पारको १०औं होलमा इगलको सफलता प्राप्त गर्दा ११औं होलमा बर्डी प्रहार गरे । १४ औं होलमा भने एक सट खेर फाले ।
धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १–अन्डरमा सकाए । यसपछि १२औं होलमा बोगी र १३औं होलको बर्डीले ब्याक नाइनमा इभन–पार ३४ को स्कोर निकाले ।
दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १८औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।
काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्ट भने अर्धशतक पूरा गर्नबाट २ रनले चुके । २९ बलमा ४ चौका र ३ छक्का हानेका उनले ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।
नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान १-१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४७ रन जोडेका हुन् । त्यस्तै गुल्शन झाले २५ बलमा ३ छक्काको सहयोगमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको सहयोगमा २६ रन बनाउँदा कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।
यस्तै ओपनर कुशल भुर्तेलले १० बलमा २ छक्का र १ चौकाको सहयोगमा २० रन जोडे । करण केसीले ४ बलमा १ छक्काको सहयोगमा ९ रन जोडे भने सोमपाल कामी र प्रतिश जिसीले समान ६-६ रन जोडे । दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए भने आरिफ शेख शून्य रनमा आउट भए ।
नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गग्टेन, माइकल लेभिट र सिब्रान्डले समान २-२ विकेट लिए ।
काठमाडौं : त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । उनले ३७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४७ रन जोडेका हुन् । त्यस्तै गुल्शन झाले २५ बलमा ३ छक्काको सहयोगमा ३४ रन बनाए । कुशल मल्लले ११ बलमा ३ छक्काको सहयोगमा २६ रन बनाउँदा कप्तान रोहित पौडेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।
यस्तै ओपनर कुशल भुर्तेलले १० बलमा २ छक्का र १ चौकाको सहयोगमा २० रन जोडे । करण केसीले ४ बलमा १ छक्काको सहयोगमा ९ रन जोडे भने सोमपाल कामी र प्रतिश जिसीले समान ६-६ रन जोडे । दीपेन्द्रसिंह ऐरी १ रन बनाएर आउट भए भने आरिफ शेख शून्य रनमा आउट भए ।
नेदरल्याण्ड्सका लागि फ्रेड क्लासेन, टिम भान डेर गग्टेन, माइकल लेभिट र सिब्रान्डले समान २-२ विकेट लिए ।
राजकुमार भुजेल/मध्यान्ह
दोलखा : प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता शुरु भएको छ । सोमबार सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन पूर्वराज्यमन्त्री देवी खड्काले गरेकी थिइन् ।
उक्त प्रतियोगितामा बागमती प्रदेशभित्रका १४ वटा टिमको सहभागिता रहेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए । प्रतियोगिताको पहिलो दिन दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको मन्थली नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै युवा सञ्जालका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वराज्यमन्त्री खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का, शहीद रित बहादुर खड्काकी श्रीमति इन्दिरा खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य नरबहादुर पाख्रिन, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानीलगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाले फटबल खेडालीहरुलाई सम्मान गरेको छ । समितिले कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जित्ने जुम्लाका खेलाडीलाई सम्मान गरेको हो । समितिले विजेता टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई न्यानो टोपी र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्र नै देश र राष्ट्रका लागि पहिचान दिलाउने क्षेत्र भएपनि यसलाई महत्वका साथ सरकारले हेर्न नसेकको बताए । उनले जुम्लाका खेलाडीले यतिबेला जुम्ला जिल्लाको पहिचान दिएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गरे ।
यस्तै प्रतियोगिता सफलरुपमा सम्पन्न गरेको भन्दै जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापालाई सम्मान गरिएको छ । उनले जुम्लामा फुटबल आयोजना गर्न निकै चुनौती रहेपनि प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उनले भने, ‘पहिले पहिले जुम्लामा पनि खेल हुन्छ ? भन्ने मानसिकता थियो । अहिले खेलाडीको लगनशीलता र मिडियाको सकरात्मक प्रचारका कारण एक खाण्डको राम्रो सन्देश गएको छ ।’
उनले सबैको साथ सहयोगले भौतिक संरचना बनेको खण्डमा जुम्लालाई फुटबलको उर्वरभूमि बनाउने दाबी गरे । उनले जुम्लाका सारोकारवालहरुको राम्रो सहयोग भएको खण्डमा सातै प्रदेशको अन्तरप्रदेश स्तरीय फुटबल प्रतियोगिता जुम्लामै गर्न सकिने बताए । उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चौलागाईंले युवाहरु परिवर्तनको सम्वाहक भएको बताए । उनले जुम्लाका खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले विजेता बनेका खेलाडीलाई बधाई तथा शुभकामना दिए ।
यस्तै खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले खेलाडीले व्याक्तिगत मात्र नभइ राष्ट्रकै पहिचान दिलाउने भएकाले उनीहरुको मनोबल बढाउन पनि सम्मान गरिएको बताइन् । उनले आगामी दशौं राष्ट्रिय खेलकुदमा समेत जुम्लाका खेलाडीले आफ्नो कलालाई नियमपूर्वक ढंगबाट प्रस्फुटन गर्ने विश्वास व्यक्त गरिन् । उनले जुम्लालाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताइन् ।
उनले खेलाडी र खेलकुदको भौतिक संरचना बनाउनका लागि आवश्यक सहयोग गर्न पनि सम्बन्धित निकायमा आग्रह गर्दै आएको बताइन् । उनले अहिले बन्दै गरेको निर्माणाधीन रंगशालाका लागि खेलकुद विकास समिति जुम्लाको अनुरोधमा तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ५० लाख रुपैयाँ प्रदेश सरकारबाट बजेट विनियोजन गराएको बताइन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा जिल्ला फुटबल संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष राज बहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies