राजकुमार भुजेल/मध्यान्ह
दोलखा : प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका शहीद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता शुरु भएको छ । सोमबार सदरमुकाम चरिकोटस्थित भिमेश्वर रंगशालामा दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन पूर्वराज्यमन्त्री देवी खड्काले गरेकी थिइन् ।
उक्त प्रतियोगितामा बागमती प्रदेशभित्रका १४ वटा टिमको सहभागिता रहेको सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले बताए । प्रतियोगिताको पहिलो दिन दोलखाको तामाकोशी गाउँपालिका र रामेछापको मन्थली नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा विजेता, उपविजेता, तृतीय र सान्त्वना हुने टिमले क्रमशः २ लाख ५१ हजार, १ लाख ५१ हजार, ५१ हजार र २१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै युवा सञ्जालका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वराज्यमन्त्री खड्का, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का, शहीद रित बहादुर खड्काकी श्रीमति इन्दिरा खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य नरबहादुर पाख्रिन, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बुर्जुराम घतानीलगायतले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए भने विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाले फटबल खेडालीहरुलाई सम्मान गरेको छ । समितिले कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जित्ने जुम्लाका खेलाडीलाई सम्मान गरेको हो । समितिले विजेता टिमका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई न्यानो टोपी र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
खेलकुद विकास समिति जुम्लाका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्र नै देश र राष्ट्रका लागि पहिचान दिलाउने क्षेत्र भएपनि यसलाई महत्वका साथ सरकारले हेर्न नसेकको बताए । उनले जुम्लाका खेलाडीले यतिबेला जुम्ला जिल्लाको पहिचान दिएको भन्दै खेलाडीलाई बधाई ज्ञापन गरे ।
यस्तै प्रतियोगिता सफलरुपमा सम्पन्न गरेको भन्दै जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापालाई सम्मान गरिएको छ । उनले जुम्लामा फुटबल आयोजना गर्न निकै चुनौती रहेपनि प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । उनले भने, ‘पहिले पहिले जुम्लामा पनि खेल हुन्छ ? भन्ने मानसिकता थियो । अहिले खेलाडीको लगनशीलता र मिडियाको सकरात्मक प्रचारका कारण एक खाण्डको राम्रो सन्देश गएको छ ।’
उनले सबैको साथ सहयोगले भौतिक संरचना बनेको खण्डमा जुम्लालाई फुटबलको उर्वरभूमि बनाउने दाबी गरे । उनले जुम्लाका सारोकारवालहरुको राम्रो सहयोग भएको खण्डमा सातै प्रदेशको अन्तरप्रदेश स्तरीय फुटबल प्रतियोगिता जुम्लामै गर्न सकिने बताए । उनले खेलाडीहरुलाई उत्कृष्ट खेल प्रर्दशनका लागि आवश्यक वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख तुलराज चौलागाईंले युवाहरु परिवर्तनको सम्वाहक भएको बताए । उनले जुम्लाका खेलाडी र खेलकुद क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । उनले विजेता बनेका खेलाडीलाई बधाई तथा शुभकामना दिए ।
यस्तै खेलकुद विकास समिति जुम्लाकी सदस्य सचिव संगिता आचार्यले खेलाडीले व्याक्तिगत मात्र नभइ राष्ट्रकै पहिचान दिलाउने भएकाले उनीहरुको मनोबल बढाउन पनि सम्मान गरिएको बताइन् । उनले आगामी दशौं राष्ट्रिय खेलकुदमा समेत जुम्लाका खेलाडीले आफ्नो कलालाई नियमपूर्वक ढंगबाट प्रस्फुटन गर्ने विश्वास व्यक्त गरिन् । उनले जुम्लालाई समृद्ध बनाउन खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताइन् ।
उनले खेलाडी र खेलकुदको भौतिक संरचना बनाउनका लागि आवश्यक सहयोग गर्न पनि सम्बन्धित निकायमा आग्रह गर्दै आएको बताइन् । उनले अहिले बन्दै गरेको निर्माणाधीन रंगशालाका लागि खेलकुद विकास समिति जुम्लाको अनुरोधमा तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ५० लाख रुपैयाँ प्रदेश सरकारबाट बजेट विनियोजन गराएको बताइन् ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा जिल्ला फुटबल संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष राज बहादुर खत्रीलगायतको सहभागिता रहेको थियो ।
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । नामिबिया र नेदरल्याण्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि फाइनलमा नेपाल र नेदरल्याण्ड्सको भेट पक्का भएको हो ।
नामिबिया र नेदरल्याण्ड्सबीचको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् । जसअनुसार अंक तालिकामा नेदरल्याण्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा नेपाल ४ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।
काठमाडौं : राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।
जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका हुन् ।
त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ शेखले ८ रन जोडे । नेदरल्याण्ड्ससका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्याण्ड्ससले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।
नेदरल्याण्ड्ससका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी टिम भान डेर गुग्टेनले २४ रन जोडदा रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।
नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । तेस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
सिरिजको एक खेल बाँकी रहँदा नेदरल्याण्ड्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्षस्थानमा छ । नेदरल्याण्ड्सको नेटरनरेट ०.३१० छ । नेपाल ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ०.२९३ छ ।
नामिविया ३ खेलमध्ये १ मा जित र २ मा हारसहित २ अंकका साथ पुछारमा छ । नामिवियाको नेटरनरेट माइनस ०.७०० छ । यो अवस्थामा आइतबार नेदरल्याण्ड्स विजयी हुँदा सोझै फाइनलमा पुग्नेछ । नामिबिया विजयी भएमा भने नेटरनरेटमा भर पर्नेछ । यी दुईमध्ये नेटरनरेटमा माथि रहने टोलीले फाइनल खेल्नेछ ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : प्रथम कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । जुम्लामा गत फागुन १६ गतेदेखि भएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको फाइनल खेलमा हुम्लालाई ४-० गोल अन्तरले पराजित गर्दै जुम्ला विजयी भएको हो ।
हुम्ला र जुम्लाबीचको फाइनल खेल निर्माणाधीन रंगशालामा भएको थयो । जुम्लाका रुविन भण्डारीले ३ गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै महेन्द्र शाहीले पेनाल्टीबाट गोल गरेका थिए । हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन । उपाधि जितेको जुम्लाले कप, मेडल तथा प्रमाण पत्र पाएको छ । जुम्लाका खेलाडीले घरेलु मैदानमा उपाधि जित्दा खुसी व्यक्त गरेका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देवेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरे ।
प्रतियोगितामा जुम्ला, मुगु, हुम्ला, कालीकोट, सुर्खेत र जाजरकोट गरी ६ जिल्लाको सहभागिता रहेको थियो । जसमा जाजरकोट र मुगु नकाउटचरणबाट बाहिरिएका थिए भने सुर्खेत र कालीकोट सेमिफाइनलबाट बाहिरिएका थिए ।
आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको टिम छनोटका गर्न प्रतियोगिता आयोजना गरिएको फुटबल संघका अध्यक्ष भरत बहादुर बुढथापाले बताए । उनका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गतेसम्म सुर्खेतमा हुने भनिएको छ । यो प्रतियोगिताबाट सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।
काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० आई सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नामिबियालाई ३ रनले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना पनि कायम राखेको छ ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले उत्कृष्ट बलिङ गर्दै १ विकेट लिएर ८ रन मात्र दिए ।
नामिबियाका लागि जेजे स्मितले अर्धशतकीय इनिङ खेले । उनले २६ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । यस्तै जेन फ्रिलिंकले २९ बलमा ३७ रन बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए भने अभिनाश बोहराले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ३७ बलमा ४ छक्का र १ चौकको सहयोगमा ५५ रन बनाएर नट आउट रहे ।
यस्तै आरिफ शेखले २४ बलमा ४ चौकाको सहयोगमा ३१ रन बनाए । गुलशन झाले १६ बलमा २६ रन बनाउँदा अनिल साहले १७ बलमा २३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । त्यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए । नामिबियाका लागि बेन शिकोंगोले ३ विकेट लिए भने ज्याक ब्रसेलले २ विकेट लिए ।
काठमाडौं : नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालको शुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा नै नेपालले एक विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख १ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल साह रहेका छन् ।
सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : जिल्लाको इशनाथ नगरपालिकामा बिहीबार भएको टी–२० क्रिकेट मैत्रीपूर्ण खेलमा सञ्चारकर्मी टिमलाई कर्मचारी टिमले २७ रनले पराजित गरेको छ ।
इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो ब्याटिङ रोजेका थिए । निर्धारित २० ओभरको खेलमा कर्मचारी टिमले १४ ओभरमा अलआउट हुँदै १०२ रन बनाएर १०३ रनको लक्ष्य सञ्चारकर्मी टिमलाई दिएको थियो । तर सञ्चारकर्मीको टिमले १९.४ ओभरमा अलआउट हुँदै मात्रै ७५ रन बनाउन सकक्यो ।
इशनाथ नगरपालिकामा क्रिकेट खेललाई अझै लोकप्रिय बनाउन मैत्रीपूर्ण खेलको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।
इशनाथ नगरपालिकामा सञ्चालित मेयर कप २०८० को उपलक्ष्यमा मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो । शुक्रबार उक्त खेलको फाइनल हुने भएको हुँदा खाली दिनको सदुपयोग गर्दै मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।
दिलमाया शाही/मध्यान्ह
जुम्ला : जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि हुम्ला र जुम्लाबीच प्रतिस्पर्धा हुने भएको छ । पेनाल्टी सुटआउटमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा पुगेको हो भने कालीकोटलाई पराजित गर्दै हुम्ला फाइनलमा पुगेको हो ।
जुम्ला र सुर्खेतबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा आयोजक जुम्लाले सुर्खेतलाई ६–५ गोलअन्तरले पराजित गरेको हो । हुम्ला कलीकोटलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
हुम्ला र जुम्लाबीचको फाइनल खेल शुक्रबार हुँदैछ । जुम्लालाई हराउँदै इतिहास रच्ने दाउमा हुम्ला रहेको छ भने यता जुम्ला घरेलु मैदानमा उपाधि रक्षा गर्ने पक्षमा रहेको छ ।
सुर्य प्रकाश बुढा मगर/मध्यान्ह
काठमाडौं : ह्वा राङ वारियर्स आईटीएफ खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार मलेसिया गएको छ ।
फेब्रुअरी २९ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषको ५२ केजीमुनि वीरेन्द्र कुँवर, ६२ केजीमुनि कैलाश अर्याल र ७५ केजीमुनि देवेन्द्र सुनार रहेका छन् । महिला ५२ केजीमुनि सजिना तामाङले खेल्ने छिन् ।
प्रशिक्षकमा विक्रम बाँठा मगर छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies