बेनीः म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ ।
पन्ध्रौँ शताब्दीमा निर्माण भएको जगन्नाथ मन्दिरलाई महायज्ञ आयोजना गरेर सङ्कलन भएको रकमबाट नयाँ स्वरुपमा पुनःनिर्माण गरिएको हो । नवनिर्मित मन्दिरमा भगवान् जगन्नाथ, बलभद्र तथा सुभद्रादेवीको नवीन अर्चाविग्रहहरूको विधिपूर्वक पूजा गरेर प्राणप्रतिष्ठासमेत गरिएको छ ।
विसं २०६९ मा मङ्सिरको ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रकमले जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको थियो । सप्ताहव्यापी सो महायज्ञबाट सङ्कलित एक करोड आठ लाखको रकममध्ये जगन्नाथ मन्दिरको पुनर्निर्माण गर्नका लागि कुल ४७ लाख ९१ हजार नौसय ७३ रुपैयाँ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिव निलकण्ठ शर्माले जानकारी दिए ।
मन्दिर शिखर शैली एवं काठमाडौंको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ । पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक जगन्नाथ मन्दिरको प्रचार प्रसार र प्रवर्द्धन गरेर धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।
उनले गलेश्वर, पौलस्त्य पुलहाश्रम, जगन्नाथ, डढेकोट हुँदै टोड्केको स्वर्गाश्रम क्षेत्रलाई जोडेर एकीकृतरूपमा धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउँदै जिल्लामा रहेका धार्मिक पर्यटकीयस्थलको पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरि र विमला गौचनले जगन्नाथ क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र रहेकाले यस क्षेत्रमा सडकको अवस्थालाई सुधार गर्दै पर्यटकीय पूर्वाधार निर्माणमा तीन तहकै सरकारबीचमा साझेदारी आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतम, बेनी नगरपालिका–५ पुलाचौरका वडाध्यक्ष गोविन्द बानियाँ, आर्किटेक इन्जिनियर विनोद खड्का, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, चन्दादाता गोपाल बानियाँ र जगन्नाथ मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष यामबहादुर बानियाँले मन्तव्य व्यक्त गरेका थिए ।
जगन्नाथधाममा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । तत्कालीन राजा दिलीपबम मल्लले विसं १५५० को दशकमा निर्माण गरेको यो मन्दिरको २०३९ सालमा पुनःनिर्माण गरिएको भए पनि तत्कालीन मन्दिर थप जीर्ण बन्दै गएपछि समुदायकै अग्रसरतामा महायज्ञ आयोजना गरेर पुनःनिर्माण गरिएको हो । मन्दिरको पुनःनिर्माण भएपछि अहिले यस क्षेत्रको भ्रमण तथा पूजापाठका लागि आउनेको सङ्ख्या बढेको छ । रासस
तनहुँः तनहुँको भानु नगरपालिका–४ र ५ जोड्ने गरी चुँदी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । लामो समयदेखि स्थानीय बासिन्दाले भोग्नुपरेको सास्तीलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो ।
उक्त पुलको लम्बाइ ७४ मिटर रहेको पञ्चनगर माझडिही झोलुङ्गे पुल उपभोक्ता समितिका सल्लाहकार जयहरि ढकालले जानकारी दिए । उनका अनुसार उक्त पुल बनेपछि दुई वडाका तीन हजार तीन सय ३० स्थानीयवासी लाभान्वित भएका छन् । सङ्घीय सरकारको रु. ५९ लाख ८५ हजार छ सय छ र भानु नगरपालिकाको तीन लाख ५९ हजार एक सय ३६ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको उक्त समितिका समितिका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए ।
उक्त पुल निर्माणका लागि विसं २०७७ असार ३१ मा सम्झौता गरिएकामा साउन १ गतेदेखि निर्माण कार्य सुरु भएरं २०७९ चैत १५ गते सम्पन्न भएको थियो । स्थानीय राजेश कार्कीले पुल नहुँदा अर्को वडामा पुग्न घुमाउरो बाटो पार गर्नुपर्ने अवस्था अन्त्य भएको बताए । उनले भने, ‘झोलुङ्गे पुल बनेपछि बाटो छोटिएको छ । घुमाउरो बाटो जानुपर्थ्यो । अब सजिलो भएको छ । खोला बढेकै अवस्थामा भोग्नुपर्ने सास्ती हट्यो ।’
उक्त पुल आज सांसद एवं पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्दै स्थानीयवासीलाई सहजरुपले सुबिधा उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेका बताए । उनले भने, ‘सबै आवश्यकता एकैपटकमा समाधान हुँदैन । आवश्यकताको प्रकृतिअनुसार क्रमशः पूरा हुन्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले योजनाको प्राथमिकताका आधारमा विकास गरिँदै लगिनेमा जोड दिएका थिए । रासस
बागलुङः बसाइँसाइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । छ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् ।
परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ ।
झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाइएको काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको थियो । गत साउन र भदौमा किसनाले चिया टिपे र झण्डै तीन लाखको बिक्रीसमेत गरेका छन्’, उनले भने, ‘शुरुवाती चरणमै राम्रो उत्पादन भएपछि किसानामा गाउँमै रोजगार बन्ने र आम्दानी गर्न सकिने आशा पलाएको छ । बजार झर्ने त झरिसके गाउँमा रहेकालाई अब यही बस्न चियाबारीले प्रेरित गरेको छ ।’
यहाँ थप एक लाख चियाको बिरुवा थप्ने योजना रहेको स्थानीयवासीको भनाइ छ । चियाको बजारमा बढ्दो माग हुँदा माग अनुसार उत्पादन गर्न नसकिएको किसान बताउँछन् । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने अपेक्षा स्थानीयवासीको छ ।
अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका छन् । गाउँमा रोजगार सिर्जना गर्न र बसाइँसराइ रोक्नका लागि छ वर्ष अगाडि शुरु गरिएको चिया खेतीले अहिले उत्पादन दिन थालेको लामिछानेले बताए । यसवर्ष पनि चिया खेतीको क्षेत्र विस्तार गर्ने योजना रहेको उनले बताए ।
गाउँको पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको अध्यक्ष लामिछानेल जानकारी दिए । चियाखेतीमा करिब दुई सय घरपरिवार आवद्ध रहेकाले आम्दानी सबैले पाउने उनको भनाइ थियो ।
चिया खेतीबाट वार्षिक रु. ३० लाख आम्दानी गर्ने अनुमान गरेको लामिछानेले बताए । ‘यहाँ खेती गर्न थालेको धेरै वर्ष भएको छैन, तर उत्पादन दिन थालेको छ । गत साउन र भदौमा पहिलो पटक चिया टिपेर तीन लाखको बिक्री पनि गरियो । चिया कसरी टिप्ने भन्ने विधि बल्ल आउँदैछ’, उनले भने, ‘पछिल्लो समय धेरै गाउँ छोडेर बजार झरिरहेका छन् । उनीहरुलाई गाउँमै रोक्नका लागि हामीले खेतीयोग्य जमिनको उपयोग गरी रोजगार सिर्जना गर्न चियाखेती थालेका हौँ ।’
अहिले धेरै स्थानीयवासीले चासो दिएका भन्दै उनले यस वर्ष एक लाख बिरुवा थप्ने योजना रहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । उनका अनुसार चियाखेती विस्तारमा साना किसान सहकारी संस्था आवद्ध भएर काम गरिरहेका छन् ।
यहाँ चियाखेती विस्तार गर्दा हालसम्म करिब रु. ४२ लाख खर्च भइसकेको साना किसान सहकारी संस्थाका पूर्वअध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए । गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको उनको भनाइ छ ।
कार्कीले चिया प्रशोधन गर्नका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताए । उनले खुल्ला पाखोबारीमा चियाका बिरुवा लगाइएकाले पशुचौपायाबाट जोगाउन गाह्रो भएको भन्दै संरक्षणका लागि बारबन्देज गर्नुपर्नेमा जोड दिए । यहाँको हावापानी राम्रो भएकाले अहिले बिरुवा सप्रिँदै गएको उनको भनाइ छ ।
‘बिरुवा लिएर लगाउने बेला गाउँमा धेरैले चासो देखाएका थिएनन् । अहिले चिया बारीमा पुग्दा ठूलै बगानमा पुगे जस्तो लाग्छ । शुरुमा बिरुवा हुर्काउन केही समस्या भएको थियो’, कार्कीले भने, ‘यहाँबाट आम्दानी हुन थालेको छ । गाउँका सबै स्थानीयवासी जोडिनु भएको छ । अब कुनै पनि बाँझो जमिन खाली नराख्ने योजना छ ।’
समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुने कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले रेशमा परीक्षणका लागि खेती गरिएको भन्दै यहाँ सफल हुने सम्भावना देखिएको बताए । यहाँ राम्रो उत्पादन हुन थालेमा जिल्लाका अन्य ठाउँमा पनि चिया खेती विस्तार गर्ने उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रमार्फत रेशमा चार वर्षसम्म करिब ५० लाख बढी सहयोग गरिएको मगरले बताए । अहिले जिल्लाभर १० हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिँदै आएको उनले जानकारी दिए । रासस
गोरखाः गोरखाको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मनकामना मन्दिर परिसरको सरसफाइ गरिएको छ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकारले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर मनकामना मन्दिर र मन्दिर परिसरको सरसफाइ गरिइएको हो ।
मनकामना केबुलकारको स्टेशन मेनेजर उज्ज्वल शेरचनले केबुलकारमा कार्यरत कर्मचारीको सहभागितामा मन्दिर र वरपर रहेका फोहोरलाई सङ्कलन गरी व्यवस्थापन गरिएको जानकारी दिए । त्यस्तै केबलकारको सवस्टेशनमा पर्ने चोरेस वरपरको पृथ्वीराजमार्गअन्तर्गत पर्ने सडक क्षेत्रमा समेत सरसफाइ गरिएको थियो ।
विसं २०५५ मङ्सिर ८ औपचारिकरुपमा सञ्चालनमा आएको मनकामना केबुलकारले शुक्रबार सेवा प्रारम्भ गरेको २५ वर्ष पूरा गर्दैछ । मनकामना केबलकार हुँदै गोरखाको शहीद लखन गाउँपालिकाको वडा नं २ मा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्न सकिन्छ ।
केबुलकार सञ्चालनको अवधिमा हालसम्म स्वदेशी तथा विदेशी गरी मनकामना केबलकार हुँदै करिब एक करोड ८१ लाखभन्दा बढी तीर्थयात्री मनकामना मन्दिर पुगिसेकेको सहायक स्टशेन म्यानेजर सुनिल कमाचार्यले जानकारी दिए ।
नेपाली–भारतलगायतका सार्क राष्ट्रबाट आउने पर्यटकहरु, चीनलगायतका अन्य विभिन्न देशबाट मनकामना मन्दिर घुम्न आउने पर्यटक मनकामना केबुलकार चढेर प्रसिद्ध मनकामना मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । एनालग प्रविधिमा सञ्चालित मनकामना केबुलकारलाई आउँदो वर्षदेखि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको सञ्चालकमध्येका एक राजेशबाबु श्रेष्ठले जानकारी दिए ।
चितवनः हाम्रो समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । त्यसैले सङ्क्रमित खुल्न सकेका छैनन् । परिवार र समाजले हेला गरेपछि सङ्क्रमित किशोरकिशोरी आफ्नै खुट्टामा उभिनका लागि विभिन्न उपाय खोज्न थालेका छन् ।
माडी नगरपालिका घर भएकी २० वर्षीया अम्बिका सुनार (नाम परिवर्तीत) घरमा हेला भएपछि चार वर्षदेखि दिदीको घरमा बस्दै आइरहेकी छिन् । आमाको निधनपछि उनका बुबाले अर्की श्रीमती भित्र्याएदेखि नै सुनारलाई हेला गर्न थालिएको हो । आफू ११ वर्षको हुँदा एचआइभी सङ्क्रमण पुष्टि भएको उनी बताउँछिन् । सौतेनी आमाको व्यवहारका कारण कक्षा ८ सम्म अध्ययन गरेर पढाइ छोडेकी सुनार अहिले आफ्नै खुट्टामा उभिन सीपमूलक तालिममा लागेकी छिन् ।
भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेसनको सक्रियतामा सुनारले सिलाइकटाइको तालिमसमेत लिएकी छिन् । शुरुवातमा गाउँमा नै हुँदा दिदीकोमा गएर सिलाइकटाइको काम सामान्यरुपमा गर्ने गरेको भए पनि अहिले त्यही पेसालाई अपनाउन खोजेको उनले बताइन् । सुनारले भनिन्, ‘सङ्क्रमित भनेर हेला गर्छन् । त्यसैले केही गरेर देखाउने इच्छा छ ।’
फाउण्डेसनको सहयोगमा तीन महिने तालिम केही दिन अघि मात्रै सम्पन्न गरेकी सुनार अब दिदीकै घरमा आफ्नै व्यवसाय गरेर बस्ने योजनामा छिन् । उनको स्वरोजगरका लागि संस्थाले कपडा सिलाउने मेसिनको व्यवस्था गर्दैछ । समाज परिवर्तन गर्दै अघि बढ्नुपर्ने समय आएको उनले सुनाइन् ।
फाउण्डेसनको सहयोगमा १२ वर्षदेखि २० वर्ष उमेरका सङ्क्रमित ३० किशोरकिशोरीले सीपमूलक तालिम लिएका छन् । फाउण्डेसनमा हाल नियमित औषधि सेवन गर्ने सङ्क्रमित एक हजार एक सय ५८ रहेका छन् । उनीहरुमध्ये ३८ बालबालिका रहेका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । रासस
बैतडीः बैतडीका शक्तिपीठमा जात्राको रौनक छाएको छ । जात्राकै लागि यहाँका चारवटा स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ । स्थानीय शक्तिपीठमा जात्रा रहेकाले पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
पाटन नगरपालिका–२ स्थित प्रसिद्ध महारुद्र धाममा लागेको जात्राका अवसरमा सार्वजनिक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए । नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्थालगायत बन्द रहने छन् । महारुद्र जात्रामा स्थानीयको सहभागिता रहने र यो क्षेत्रको मुख्य धार्मिकस्थल भएकाले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै शिवनाथ गाउँपालिकामा पनि आज सार्वजनिक बिदा दिइएको छ । प्रसिद्ध शिवनाथधामको जात्राका अवसरमा सोमबार र मङ्गलबार दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । शिवनाथ जात्रामा स्थानीयको उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ । शिवनाथ धामको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।
यसैगरी डिलासैनी गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिका–५ स्थित प्रसिद्ध कफलासैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । कफलासैनी यो क्षेत्रको मुख्य शक्तिपीठ हो । दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्र बुधबार सार्वजनिक बिदा दिएको छ । दशरथचन्द–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । रासस
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख गन्तव्य बन्दै गएका छन् । यसले सामुदायिक वनहरू पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएका छन् । सामुदायिक वनले वन र वन्यजन्तु लक्षित गरी पर्यटकीय गतिविधिलाई बढाउँदै जाँदा वन र वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जिल्लाको गैँडाकोटबाट त्रिवेणीसम्म वन र वन्यजन्तुमा आधारित पर्यटन फस्टाउँदो रहेको छ । निकुञ्जसँग गाँसिएका धेरैजसो मध्यवर्ती सामुदायिक वनमा वन र वन्यजन्तु अवलोकन गराउने कार्यक्रम तय गरिएका छन् । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकबाट वनको आम्दानीसमेत बढ्दो रहेको छ ।
यहाँका वनमा गैँडा अवलोकनलाई मुख्यरूपमा जोड दिइएको छ । गैँडासँगै बँदेल, मृग, हरिण, भालु, मयुरलगायतका वन्यजन्तु र चराको अवलोकन गर्न सकिने हुँदा यसैलाई लक्षित गरी सामुदायिक वनमा जङ्गल सफारी गराउने गरिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताए । जङ्गल सफारीमा आउने पर्यटकबाट लिइने शुल्क वनको आम्दानीको स्रोतसमेत भएको उनले बताए । ‘निकुञ्जसँग जोडिएकाले यहाँ गैँडा अवलोकन प्रमुख मानिन्छ, त्यसबाहेकका वन्यजन्तु र चरा अवलोकनका लागि समेत उपयुक्त क्षेत्र भएकाले हामीले यसैलाई आधार मानी पर्यटनलाई प्राथमिकता दिएका छौँ’, उनले भने, ‘यसैअनुसार मुख्य गरी जङ्गल सफारी गराउने गरिएको छ ।’
मध्यवर्ती वन र निकुञ्ज क्षेत्रबीच भएर नारायणी नदी बग्ने हुँदा नदीमा आश्रित चरा अवलोकनका लागि समेत यो क्षेत्र महत्त्वपूर्ण रहेको उनले बताए । नदी आसपासका रमणीय दृश्य आफैँमा पर्यटकलाई आकर्षित गर्ने रहेकाले आफूहरूले सोहीअनुसार वनभित्र ‘इको करिडोर’ निर्माण गरेको उनले बताए ।
सामुदायिक वनहरूले एकीकृतरूपमा वन र वन्यजन्तु अवलोकनका लागि मार्ग निर्माण गरेका छन् । अमलटारी क्षेत्रमा पर्ने गुद्रही ढकाहा, शान्तिकुञ्ज, कृष्णसार, नमूना मध्यवर्ती सामुदायिक वनले मिलेर दुई हजार २० हेक्टरको ‘इको करिडोर’ निर्माण गरेका छन् । पर्यटक सहजै वन्यजन्तुको अवलोकन गर्न सकुन् भनेर चारवटा वनले सयुक्तरूपमा यस क्षेत्रमा पर्यटकीयमार्ग निर्माण गरेका हुन् । पर्यटकले एक स्थानबाट प्रवेश गरेपछि चारैवटा वन क्षेत्रमा सहजै भ्रमण गर्न सक्ने अध्यक्ष महतोले बताए ।
जिल्लाकै शिशवार उपभोक्ता समितिमा आबद्ध रहेका चारवटा मध्यवर्ती वनले समेत सामूहिक योजना बनाएका छन् । दिव्य, प्रगति, नारायणी र मातृभूमि मध्यवर्ती सामुदायिक वन मिलेर वनमा ‘सफारीको रुट’ बनाएका छन् । वन्यजन्तु अवलोकनलाई पर्यटकले प्राथमिकता दिने गरेकाले यसैलाई लक्षित गरिएको छ ।
नारायणी नदी किनार चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती क्षेत्र पर्यटकको रोजाइमा पर्ने क्रम बढ्दै गएपछि वनहरूले सामूहिक योजना अगाडि बढाउन थालेका हुन् । वन क्षेत्रभित्र विभिन्न स्थानमा वन्यजन्तु अवलोकनका लागि मचान निर्माणसहित घाँसेमैदान र सिमसार व्यवस्थापनका लागि वनहरू लागेका छन् ।
सामुदायिक वनले वन र वन्यजन्तु लक्षित पर्यटकीय गतिविधि बढाउँदै जाँद यी क्षेत्रमा घरबास र होटल स्थापना हुने क्रम बढेको छ । मध्यवर्ती सामुदायिक वनसँगै जोडिएर आधा दर्जन बढी घरबास स्थापना भइसकेका छन् । यो सँगै पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल स्थापना गर्ने क्रमसमेत बढ्दो छ ।
मध्यवर्ती सामुदायिक वन वन्यजन्तु अवलोकनको क्षेत्रका रूपमा विकास हुँदा पर्यटक लक्षित गरी घरबास र होटल खुल्ने क्रम बढेको घरबास एशोसिएसनका केन्द्रीय अध्यक्ष एवं अमलटारी मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशङ्कर मर्दनियार थारूले बताए ।
‘मध्यवर्ती सामुदायिक वनमा गैँडासहितका वन्यजन्तु सहजै अवलोकन गर्न सकिने हुँदा पर्यटकको आगमन बढेको छ, सोहीअनुसार पर्यटक लक्षित गरी घरबास र होटल यस क्षेत्रमा खोल्ने क्रमसमेत बढेको छ’, उनले भने । धेरैजसो पर्यटक वन र वन्यजन्तु अवलोकनका लागि आउने गरेको उनले बताए । ‘वन र वन्यजन्तु अवलोकन पर्यटकको आकर्षणका रूपमा विकास भएको छ, यसमा आधारित पर्यटकीय गतिविधि बढ्दा यस क्षेत्रका संरक्षणकर्मीसमेत उत्साहित छन्’, अध्यक्ष थारूले भने । रासस
काठमाडौंः मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यामिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।
मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलो पटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतबार शुभारम्भ गरे । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो ।
हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुई हजार ४०० पुस्तक सङ्कलन भइसकेको जनाइएको छ । विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गरे ।
बागलुङः एकदशक अगाडिसम्म तिहार शुरु हुनु महिना दिन अगावै मादल र झ्याली किनमेल हुन्थ्यो । व्यवसायीलाई मादल बनाउन र बिक्री गर्न भ्याइनभ्याइ हुन्थ्यो । मादल व्यवसायबाट धेरैले जीविकोपार्जन गर्थे ।
आजभोलि मादल बिक्री नहुँदा व्यवसाय नै सङ्कटमा परेको छ । युवा व्यवसायी पलायन भइरहेका छन् भने बुढापाका पनि अन्य पेसा रोज्न बाध्य भएका छन् । प्रविधिको विकाससँगै आजभोलि मादलको सट्टा ‘इलेक्ट्रानिक्स साउण्ड सिस्टम’ बज्ने गर्छन् ।
बागलुङको निसीखोला गाउँपालिकाका वीरबहादुर परियारले मादल व्यवसाय गर्न थालेको २७ वर्ष भएको छ । पाँच वर्ष अगाडिसम्म उनलाई मादल बिक्री गरेर परिवार चलाउन सहज थियो । गाउँमा ठूला–ठूला साउण्ड सिस्टम भित्रिएपछि परियारले मादल व्यवसाय छोडेर खेती गर्न थालेका छन् । आधुनिक प्रविधिको विकासले गर्दा मौलिकता हराउँदै गएपछि मादल बजाउने प्रचलन पनि घट्दै गएको परियारले बताए । ‘पहिलापहिला विवाह, व्रतबन्ध, मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा गीत गाउने र मादल बजाउने, नाच्ने चलन थियो । आजभोली साउण्ड सिस्टममा गीत बजाएर नाच्छन्’, उनले भने ।
पाका पूर्खाले गर्दै आएको कामलाई अंगालेका परियारले व्यवसाय सङ्कटमा परेपछि पेसानै बदल्न बाध्य भएका हुन् । बाउबाजेबाट आफूले मादल बनाउन सिके पनि छोराहरुले यसप्रति चासो नदिएको परियाले बताए । ‘तिहार नजिकिएसँगै इलेक्ट्रोनिक्स साउण्ड बिक्री गर्ने पसलमा चहलपहल बढेको देखिन्छ । मादल पसल सुनसान छन्’, उनले भने ।
पहिले बाह्रै महिना मादलको माग आउने गरेको भन्दै पाँच वर्ष अगाडि बनाएका मादल थन्काएर राखिएको परियारले बताए । केही वर्ष पहिलेसम्म चाडवाडको बेलामा फाट्टफुट्ट ग्राहक आउने गरेका सुनाउँदै अहिले वार्षिक पाँच वटा मादल पनि बिक्री नहुने उनले बताए । काठको घार र विभिन्नि जनावरको छालाबाट मादल बनाउनु पर्ने उनको भनाइ थियो । मादलको घार बनाउनै दुई दिन लाग्ने भन्दै एउटा मादल तयार गर्न करिब पाँच दिन लाग्ने परियारले जानकारी दिए ।
आफ्नो पालामा मनोरञ्जनको माध्यम मादल बजाउने र गीत गाउने भएको भन्दै आजभोलि गाउँमा मादल बज्न छोडेको परियारले बताए । पहिले ग्राहकले आफूले भने जतिकै मूल्य दिने गरेको स्मरण गर्दै आजभोलि निःशुल्कमा पनि कसैले नलाने उनको भनाइ थियो
‘तिहारको बेला मादलको बढी माग हुने गर्थ्यो । गाउँ/सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गर्थे । अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गर्छन् । पहिला यसकै आम्दानीबाट परिवार पाल्न सहज भएको थियो । छोराछोरीलाई मादलनै बेचेर पढाएको हुँ’, परियारले भने, ‘पहिले यो सीप नसिकेर विदेश जानुपर्ने रहेछ । अहिले बुढेसकाल लाग्यो । मैले जानेको काम मादल बनाउने हो तर मादल बिक्दैनन् । अहिले पसल बन्द गरेर खेतीपाती गर्छु । हाम्रो गाउँमा मादल बनाउने पसल १०/१२ वटा थिए । अहिले एउटा पनि छैनन् ।’
ढोरपाटनका मादल व्यापारी सुर्जबहादुर नेपालीले पहिलेको तुलनामा आजभोलि मादलको व्यापार ९० प्रतिशतले घटेको बताए । चार/पाँचवर्ष अगाडिसम्म वार्षिक दुई सय मादल बिक्री गर्ने गरेको भन्दै हिजोआज चालिस वटा बेच्न पनि मुस्किल हुने उनको भनाइ थियो ।
आफूले मादल बनाउने र बिक्री गर्न थालेको २३ वर्ष भएको सुनाउँदै पछिल्लो समय पेसानै धरापमा पर्न थालेको नेपालीले गुनासो गरे । मौलिक संस्कृति हराउँदै गएपछि मादलको प्रयोग घट्दै गएको उनको भनाइ छ । पहिले गाउँमा सोरठी, मारुनीलगायतका पुराना नाच नाच्ने गरेको भन्दै अहिले ती नाच लोपहुँदै गएपछि मादलको बिक्रीमा गिरावट आएको नेपालीले बताए ।
‘पहिले मादल किन्नेको लाइन हुन्थ्यो । मैले पु¥याउनै सक्दैनथे । कमाइ पनि राम्रो हुन्थ्यो । वर्षमा सात लाख कमाइ गर्थेँ । अहिले मादल किन्न बेला मौकामा एक÷दुईजना आउँछन्’, उनले भने, ‘तिहार आउने बेला अलिअलि बिक्री हुन्छ । यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन । अब अरु काम पनि गर्नुपर्ने भएको छ ।’
बुर्तिबाङका साउण्ड सिस्टम व्यापारी खिमलाल क्षेत्रीले केही दिनदेखि आफ्नो पसलमा साउण्ड सिस्टम किन्न आउनेको भीड हुने गरेको बताए । दशैँ पछाडि बुटवलबाट दुई चरणमा साउण्ड सिस्टम खरिद गरेर ल्याएको सुनाउँदै उनले हालसम्म ४० बढी साना ठूला साउण्ड सिस्टम बिक्री गरेको जानकारी दिए । यहाँबाट ढोरपाटन, निसीखोला, तमानखोला, बडिगाड र रुकुमसम्म साउण्ड सिस्टम पठाउने गरेको क्षेत्रीले बताए । तीन वर्षदेखि साउण्ड सिस्टमको माग निकै बढ्न थालेको उनको भनाइ छ ।
‘सूचना प्रविधिको पहुँच अहिलेको जमानामा जताततै पुगेको छ । विद्युत नपुगेको गाउँ छैन । विद्युत्बाट चल्ने भएपछि धेरैले साउण्ड सिस्टम किन्नुहुन्छ । मादल बजाउने र पुराना गीत गाउने चलन हराएको छ’, क्षेत्रीले भने, ‘पहिले गाउँमा मेला महोत्सव हुँदा मादल घन्किन्थे । यानीमाया, सुनिमाया र लोक गीत गाउने गर्थे । तिहारमा पुरानै गीत गाएर देउसीभैलो खेल्थे । अहिले त्यस्तो कतै देखिँदैन, सुनिदैन । जहाँ पनि माइकमा गीत मात्रै बजाउँछन् ।’ रासस
गण्डकीः गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा. रबिन कडरियाले बताए । ‘कोभिड–१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ’, उनले भने, ‘दोस्रो पर्यटकीय याम शुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।’
अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा. कडरियाले बताए ।
अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको उनले उल्लेख गरे । ‘आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य छ', प्रमुख डा. कडरियाले भने, ‘नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरुमा घुम्ने क्रेज बढ्दो छ ।’
उनका अनुसार दशैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार दुई सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । गत महिना २८ हजार सात सय पाँच विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।
सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटक सो क्षेत्रमा पुगेका थिए । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।
हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताएका थिए ।
अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिकरूपले सुन्दर, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।
‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ’, उनले भने, ‘आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।’
मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र (चैत–वैशाख)मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको पथप्रदर्शक गुरुङले बताए । रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट रहेको दसैँलगत्तै मर्दी आधार शिविर पुगेर फर्किएकी पोखरा महानगरपालिका–२९ की आरजु खत्रीले उल्लेख गरिन् ।
‘कास्कीको काँडे, अष्ट्रेलियन क्याम्प, देउराली, हाई क्याम्प हुँदै आधार शिविर पुगेर तेस्रो दिनमा घर फर्कियौँ’, उनले भनिन्, ‘हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।’
सूचना प्रविधि विषयमा अध्ययनरत उनले दशैँको बिदा छोपेर साथीसँग पदयात्रामा निस्केको बताइन् । खत्रीले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाइन् । ‘मर्दीमा धेरै आन्तरिक पर्यटक नै थिए, विशेषगरी युवाहरु बढी देखिन्थे’, उनले भनिन् ।
जोमसोमस्थित ‘एक्याप’को इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले गत साउनदेखि असोजसम्ममा १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेकामासार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका मुलुकका दुई हजार दुई सय ३० पर्यटक रहेको उनले बताए ।
‘मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीय नागरिकको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शनका लागि भ्रमणका लागि आउँछन्’, प्रमुख रेग्मीले भने, ‘दशैँपछि मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेको छ ।’ रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies