सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ ।
तस्बिर : नवीन गड्तौला/रासस
दमौलीः वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा बिहीबारदेखि शुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख गरे ।
यही कात्तिक १ गतेदेखि जारी आठौँ विश्वओमकार तथा हिन्दू महामिलन पर्वअन्तर्गत विश्व हिन्दू महासङ्घ नेपाल स्याङ्जा शाखाको आयोजनामा महायज्ञ शुरु भएको हो । प्रमुख वाचक पण्डित नेत्रप्रसाद पण्डितको वाचकत्वमा सात दिन भागवत् कथा वाचन हुनेछ । विश्व हिन्दू महासङ्घ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासङ्घका उपाध्यक्ष शङ्कर खराल, शान्ति स्वरुपानन्द दामोदर बाबा, व्यासका अध्यता काशीनाथ न्यौपाने, पूर्वसांसद शङ्करप्रसाद पाण्डे लगायतले व्यासभूमिको महत्वका बारेमा चर्चा गरे ।
वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका दुर्गाभक्त अधिकारीले व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले कात्तिक १ गतेदेखि एकमहिने महामिलन पर्व आयोजना गरिएको बताए ।
विसं २०७४ कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकीर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना हुँदै आएको छ । महामिलन पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवी एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहनेछ ।
महामिलन पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुहरुबाट दैनिक धार्मिक प्रवचनलगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।
पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेपछि सरोकारवाला संस्था कस्सिएका हुन् ।
व्यासका अध्येता काशीनाथ न्यौपानेले जनताको तहबाट प्रयास शुरु भए पनि अझै यसले साकार रुप लिन नसकेको बताए । विभिन्न शास्त्रीय प्रमाणहरुले व्यासको जन्मभूमि दमौलीमा भएको स्वीकार गरिसके पनि प्रचारप्रसारको अभावमा यस क्षेत्रमा ओझेलमा परिरहेको उनको भनाइ छ । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्मसभामा महर्षी वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेका थिए । त्यसपछि यस क्षेत्रका बारेमा थप अध्ययन अनुसन्धान हुन थालेको व्यासका अध्येता न्यौपानेले बताए ।
आजभन्दा करिब ५५ सय वर्ष अगाडी व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमी पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाका रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको बताएको छ ।
मन्थलीः कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् ।
युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरुको भनाइ छ । आफूहरु बुढो हुँदै जानु र युवा पुस्ता (छोरा,नाति)मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा पर्नाका मुख्य कारण रहेको दोलखा, मेलुङका रुद्रध्वज जोगीले बताए ।
उनले भन्नुभयो– “स्थानीय सरकारले कला र संस्कृति जोगाउने नाममा विभिन्न जातजातिलाई सीपअनुसारको बाजागाजा, आरन, बाध्यबादन सामग्री बाँडिरेको सुनिन्छ तर हाम्रो समुदायलाई केही प्राप्त हुदैन अनि कसरी आफ्नो संस्कृति जोगाउनु, कसरी जीविकोपार्जन गर्नु रु स्थानीय सरकारले हामीलाई पनि राति घर–घर गई फेरी लगाउनका लागि आवश्यक पर्ने लाइट, लौरो र बजाउने सामग्री (बराठको सिङ) उपलब्ध गराउन सके आमी हाम्रो पेसा संरक्षण गर्न र आफ्नो जीविकोपार्जन गर्न सक्ने थियौँ ।”
परम्परागत पेसा जोगाउनकै लागि भए पनि आफू बुबासँगै घर घर हिँडे पनि यो माग्ने पेसा आफूलाई झन्झट लागेको दोलखा मेलुङका युवा दीपक जोगीले बताउनुभयो । यो पेसा संरक्षणका लागि राज्यबाट पनि केही सहयोग प्राप्त भए पेसालाई जोगाउन सकिने उहाँको भनाइ थियो ।
रामेछाप नगरपालिका हिमगङ्गाका मीनबहादर जोगीले भन्नुभयो, “हाम्रा बुवा हजुरबुवाले यही पेसा गरे र हामीले पनि गरिरहेका छौँ तर अब पढेलेखेका छोरा सहरमा जागिर खान जाने भएकाले उनीहरुले यो पेसा गर्ने अवस्था छैन त्यसैले अब हाम्रो पेसा लोप हुने अवस्था छ । न हामीलाई राज्यबाट सहयोग छ नत अरुबाट हामीलाई सहयोग नै छ । फेरी लगाएको दिन बिहानभरी घर–घर घुम्दा झर्को नमानी सिदा दक्षिणा दिन्छन् ।” तर हाम्रो शेष पाछि भने हामिले लगाउने गरेको फेरी लोप होलाजस्तो छ ।
कार्तिक र चैत्र महिनामा रातको १२ बजे पछिदेखि घर घरमा गई विभिन्न मत्रोच्चारण गरेर बराठको सिङ बजाएर फेरी लगाउने र सिदा सङ्कलन गर्ने कार्य उनीहले गर्दछन् । बिषेशगरी घर परिक्रमा गरेर मन्त्रोचारणका साथ घरका चार सुरमा चार पटक फेरी लगाउदा, घरमा भुत, प्रेत पिचास नलाग्ने र डाइनी वोक्सीले पनि दुख नदिने परम्परागत मान्यता छ । कसै कसैले राति घर वा कोठा भित्रै बोलाएर पनि फेरी लगाउन लाउने गर्दछन् ।
उनीहरु रातभर फेरी लगाउने र बिहानभर जय गोरखनाथ भन्दै राती फेरी लगाएको घर घरमा पुगेर सिदा सङ्कलन गर्ने गर्दछन् । सिदाका सबै सामानहरु सङ्कलन गरेर थैलो थैलेमा हाल्छन् र एउटा टोल वा गाँउ सकिएपछि प्राप्त भएको सिदाका सामानहरु घर लैजाने गर्दछन् ।
जिल्लाको रामेछाप नगरपालिका र लिखु तामाकोशी गँँउपालिकामा गरी करिव एक सय को संख्यामा उनीहरुको बसोवास रहेको छ भने दोलखाको मेलुङ गाउँपालिकामा पचास जनाको सङ्ख्यामा जोगीहरुको बासोवास रहेको बताइएको छ । मन्थली र आसपासका क्षेत्रहरुमा भने पहिलेदेखि नै दोलखाको मेलुङका जोगीहरुले फेरी लगाउदै आइरहेका छन् । रासस
चितवनः भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा बुधबार आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिइन् ।
उनकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूलसमिति बन्दै गरेको सो अवसरमा जानकारी गराइएको थियो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति र २८ वटा उपसमिति निर्माण गरेर काम अघि बढाइएको उनले बताइन् ।
भ्रमण वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि बाघ देखाउने गरी तयारी भइरहेको छ । यसैगरी दियालो बङ्गला क्षेत्र पर्यटकको लागि खुला गर्न पहल भइरहेको उनले बताइन् । उपप्रमुख अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचार गरी भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न पत्रकारलाई आग्रह गरे ।
उनले हालसम्म तयारीका काम धेरै अघि बढेको भन्दै आर्थिकरुपमा अप्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउने गरी कार्यक्रम गर्न लागिएको बताए । प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र पर्यटन विज्ञ डा. विश्व सुवेदीले हालसम्मका तयारीका बारेमा जानकारी गराएका थिए ।
भ्रमण वर्षका लागि महानगरपालिकाले तीन करोड ७० लाख बजेट विनियोजन गरेको छ । सो कार्यका लागि प्रदेश सरकारले र सङ्घीय सरकारसँग थप बजेट पनि माग गरेको सो अवसरमा जानकारी गराइयो । महानगरपालिकाको एकातर्फको भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । महानगरबाट दुई नाकामार्फत् निकुञ्ज प्रवेश गर्न सकिन्छ ।
यसका अतिरिक्त सूर्योदय अवलोकनका लागि चौकीडाँडा र सूर्यास्तका लागि गोलाघाट यही महानगरमा पर्दछ । महानगरले २९ वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ । तीमध्ये सात वटा मुख्य पर्यटकीय गन्तव्य हुन् ।कार्यक्रमा पत्रकारहरुसँग भ्रमण वर्ष सम्पन्न गर्न आवश्यक सुझाव लिइएको थियो ।
गण्डकीः होटल सङ्घ पोखराको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरहरूमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने भएको छ ।
पोखरामा आन्तरिक पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ ‘जाउँ है पोखरा’ कार्यक्रम लिएर यही कात्तिक १६ गते बिहीबारदेखि पाँचदिने अभियानसहित पर्यटन व्यवसायी, सञ्चारकर्मीको टोली पूर्वी नेपाल जान लागेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
सङ्घले दुई दशकअघि देखि नेपालभित्रका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले तत्कालीन समयमा एक प्रतिशत मात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको जानकारी दिए ।
‘अभियानले पोखरामात्र नभई नेपालका अन्य पर्यटकीय सहरमा पनि महत्वपूर्ण प्रभाव पारेको छ’, उनले भने, ‘कोरोना महामारी लगायतका विभिन्न विपत्तिका कारण प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनले विशेष योगदान पुर्याएको छ ।’
पूर्व नेपालमा गर्न लागिएका प्रवर्द्धनात्मक कार्यक्रमका क्रममा जनकपुर, विराटनगर, विर्तामोड र धनकुटामा त्यहाँका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
गण्डकीः कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा हुनुहुन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उहाँको उठिबास गराएको थियो ।
पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् रु कुनै ठेगान छैन । “आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले लग्यो”, उहाँले भन्नुभयो, “सरकारले हाम्रो दुःख देखोस्, केही व्यवस्था गरोस् ।” दुई महिना बितिसक्दा पनि बाढीमा घरबास गुमाएकाको पुनःस्थापना हुन सकेको छैन ।
यसपालिको वर्षात्मा कागखोलाले नराम्ररी झुक्काएको कर्माले सुनाउनुभयो । “पानी पर्ने, खोला घटबढ हुने त भइरहन्थ्यो, तर यसरी बाढी नै आएको कहिल्यै थाहा पाएका थिएनौँ”, उहाँले भन्नुभयो, “कहिल्यै नसोचेको घटना हामीले व्यहोर्नुपर्यो, हेर्दाहेर्दै बस्ती नै बगरमा परिणत भयो ।”
कर्माको दुईतले घर, च्याङ्ग्रा गोठ, खेती उब्जाउने जमिनलगायत सबै बाढीले बगाएको थियो । उहाँझैँ कागबेनीका नौ परिवारले बाढीमा सर्वश्व गुमाएका छन् । राहतका भरमा उनीहरुको गुजारा चलिरहेको छ । बाढीले घरमा आंशिक क्षति पुगेका २३ परिवार पनि कष्टपूर्ण दिन काटिरहेका छन् ।
कृष्ण गुरुङ अहिले बाढीबाट क्षतिग्रस्त भएको घरको जीर्णोद्धारमा जुटिरहनुभएको छ । उहाँको घरगोठ, होटललगायतमा बाढीले क्षति पुर्याएको थियो । “बाढी आउँदा ज्यान जोगाउनु नै ठूलो कुरा भयो, के–कति सरसामान हरायो एकिन छैन,” ६३ वर्षीय गुरुङले भन्नुभयो, “मेरो घरमा रु २० लाख बढीको भौतिक क्षति भएको छ, भत्किएको घरगोठको आफैले मर्मतसुधार थालेको छु ।”
कृष्णले विभिन्न सङ्घसंस्था र जनस्तरबाट जुटेको राहत सामग्री र आर्थिक सहयोगका भरमा बाढी प्रभावितले दिन गुजारीरहेको बताउनुभयो । “सरकारबाट आउने राहत रकम अझै आइसकेको छैन, बाढीबाट घरबास गुमाएका परिवारलाई यथाशक्य चाँडो पुनःस्थापना गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । सामान्य क्षति पुगेका निजी संरचनाको जीर्णोद्धारमा स्थानीयवासी आफै जुटेको कृष्णले बताउनुभयो ।
कृष्णले सञ्चालन गर्दै आएको होटल माउन्ट एभरेष्टका सात कोठामा बाढीले पूर्ण रुपमा क्षति पुर्याएको थियो । उहाँले हावापानीमा भइरहेको फेरबदलका कारण मुस्ताङमा बाढी, पहिराजस्त विपद् निम्तन थालेको बताउनुभयो । “पानी पर्ने बेलामा पर्दैन, नपर्ने बेलामा पर्छ”, कृष्णले भन्नुभयो, “कागखोलाको बाढीले हामी सबैलाई झस्काएको छ ।”
अनेपेक्षित वर्षासँगै कागखोलामा आएको बाढीले छिनमै हिन्दु र बौद्ध समुदायको पवित्र तीर्थस्थल कागबेनीलाई बगरमा परिणत गरिदिएको थियो । बाढीको पूर्वसूचना पाएका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीयवासी बताउँछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले कागखोलाको जोखिम न्यूनीकरण र बस्ती पुनःनिर्माणबारे सरकारी तबरबाट भौगर्भिक अध्ययन भइरहेको बताउनुभयो ।
“बाढी प्रभावितको तत्कालीन राहत तथा उद्धारमा सबै क्षेत्रबाट सहयोग जुट्यो, अब विस्थापितको पुर्नस्थापना र कागबेनी बस्ती र अरु भौतिक संरचनाको पुर्ननिर्माणमा तीनै तहका सरकारले अग्रसरता लिनुपर्छ”, अध्यक्ष रिङजीनले भन्नुभयो, “बाढी प्रभावितले सरकारबाट पाउने राहत सहयोग छिटो उपलब्ध गराउन पनि पहल भइरहेको छ ।”
अध्यक्ष रिङजीनले सरकारले विस्तृत अध्ययन गरेर मात्र कागबेनी बस्ती पुर्ननिर्माणको योजना ल्याउनुपर्ने बताउनुभयो । उहाँले खोलाको दायाँबायाँ २० मिटर छोडेर घरलगायत भौतिक संरचना बनाउनेबारे स्थानीयस्तरमा पनि छलफल भइरहको उल्लेख गर्नुभयो ।
“बाढीको घटनाले हामी सबैलाई पाठक सिकाएको छ, पूर्वअध्ययनविना भौतिक निर्माणका काम अगाडि बढाउनुहुँदैन”, अध्यक्ष रिङजीनले भन्नुभयो, “ऐतिहासिक महत्त्व बोकेको धार्मिक तथा पर्यटकीयस्थल भएकाले कागबेनी पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।”
पर्यटक र तीर्थयात्रीको चहलपहल हुने कागबेनी अहिले उराठलाग्दो बनेको छ । पितृ तर्पण दिने र स्नान गर्ने ठाउँसमेत बाढीले बगाएपछि त्यहाँ पुग्ने श्रद्धालुसमेत निराश हुनुपर्ने स्थिति छ । बाढीले मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुल, सामुदायिक भवनलगायत करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।
विस्थापित हुने परिवारको सङ्ख्या नौ भए पनि बाढीबाट ५० स्थानीयवासीका घरमा रु ५२ करोडभन्दा बढीको क्षति भएको अनुमान गाउँपालिकाको छ । बाढीबाट धेरै–थोरै प्रभावित हुने घरधुरी भने सयौँको सङ्ख्यामा छन् । “२३ घर आंशिक क्षतिमा समेटिए पनि ती घर पनि बस्नलायक छैनन्, पुनःनिर्माण नै गुर्नपर्ने अवस्थाका छन्”, अध्यक्ष रिङजिनले भन्नुभयो, “बाढी प्रभावितको अवस्था हेरेर सबैलाई उचित राहत र पुनःस्थापनाको योजना बनाउँछौँ ।”
विस्थापित भएका नौ परिवारका लागि तत्काल आवासका लागि अस्थायी संरचना बनाउन सुरु गरिएको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङले बताउनुभयो । उहाँले बाढी प्रभावितलाई राहत जुट्ने क्रम अझै जारी रहेको बताउनुभयो । हालसम्म झण्डै रु ८० लाख सङ्कलन भएको संयोजक उहाँको भनाइ छ ।
“देशविदेशमा रहनुभएका मुस्ताङवासी दाजुभाइ, दिदीबहिनीहरुबाट सहयोग आइरहेको छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्”, संयोजक फेन्चोकले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।”
सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताउनुभयो । “बाढी आउँदासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री तहबाटै कागबेनीको पुर्ननिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ, आशा छ छिट्टै दीर्घकालीन पुनःनिर्माणको काम सुरु हुनेछ ।”
बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको संयोजक फेन्चोकले बताउनुभयो । उहाँले जोखिम अध्ययन गरेर मात्र कागबेनीमा नयाँ बस्ती बसाउनुपर्ने धारणा राख्नुभयो । “कागबेनी पहिलेदेखि नै खोला माथि बसेको बस्ती हो, करिब एक सय २० वर्ष पहिले पनि यहाँ बाढी आएको पाकापुराना बताउँछन्”, उहाँले भन्नुभयो, “प्राविधिक अध्ययन नगरी सडक, पुल, भवनजस्ता भौतिक संरचना बनाउनुहुँदैन ।”
तीनै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीनरचार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिने संयोजक फेन्चोकले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मुक्तिनाथ, कोराला नाका र डोल्पा जाने बाटोको सङ्गमस्थलका रहेकाले कागबेनीको महत्व थप चुलिएको संयोजक फेन्चोकले उल्लेख गर्नुभयो । कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाको पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । बर्सेनि हजारौँ देशीविदेशी पर्यटक तथा तीर्थयात्री कागबेनी पुग्छन् ।
हिन्दु धर्मवालम्बीहरूले सोह्रश्रद्धामा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्ने चलन छ । दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट बगेर आउने कागखोलाको दोभानमा पर्ने कागबेनीमा पिण्ड दान गर्दा उत्तम फल मिल्ने विभिन्न धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
प्रधानमन्त्री, गृहमन्त्री, मुख्यमन्त्रीलगायतले कागबेनी बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कमी हुन नदिइने बताएकाले छिट्टै पुनःनिर्माण सुरु हुनेमा स्थानीयवासीमा आशा जागेको संयोजक फेन्चोकले बताउनुभयो । गत भदौ १९ गते बाढीग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्ती पुर्ननिर्माण सरकारको प्राथमिकतामा रहने उल्लेख गर्नुभएको थियो ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको स्थल भएकाले पुनःनिर्माण योजनालाई शीघ्र अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो । गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा उन्नत र व्यवस्थित ढङ्गलले कागबेनी बस्तीको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि गत महिना कागबेनी पुगेर पुर्ननिर्माणमा प्रदेश सरकारले हातेमालो गर्ने बताउनुभएको थियो । यही कात्तिक दुई गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्नुभएको थियो ।
सो क्षेत्रको निरीक्षणपछि जोमसोममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बाढीपहिराजस्ता घटनाबाट मुस्ताङमा पुगेको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्नुभएको थियो । उहाँले जलवायुजन्य विपद् सामनाका लागि दातृ निकायबाट आउने रु ५० करोड मुस्ताङलाई दिने घोषणा गर्नुभएको थियो । रामबहादुर थापा/रासस
बागलुङः पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ । जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन् ।
नयाँ पहिचान भएका पर्यटकीय क्षेत्रमध्ये केहीमा मोटर बाटो, केहीमा पदमार्ग पुगेको छ भने कतिपयमा अहिलेसम्म सामान्य गोरेटो बाटोसमेत बनेका छैनन् । यद्यपि आन्तरिक पर्यटक बाटो बनाउँदै गन्तव्यसम्म पुग्ने गरेका छन् । बागलुङ बजार नजिकै रहेको भिरलाँकुरी, निसीखोलाको टाकुरा, तमानखोलाको बराह ताल, नेवारे झरना, नौ बहिनी झरना, ढोरपाटनको जलजलालगायतका ठाउँ पछिल्लो समय चर्चामा आउन थालेका छन् । यी पर्यटकीय ठाउँमध्ये अधिकांशमा अहिले पनि पूर्वाधार बन्न सकेका छैनन् । पर्यटनका हिसाबले बागलुङले सम्भावना बोकेको छ, तर प्रचार–प्रसार र आवश्यक पूर्वाधार निर्माण ढिलाइ गर्दा सोचेअनुसार पर्यटक भित्र्याउन सकेको छैन ।
तीन राष्ट्रिय सडकले जोडिएको बागलुङले बाह्य पर्यटक भने निकै कम मात्रामा भित्र्याउने गरेको छ । ढोरपाटन सिकार आरक्षबाहेक अन्य ठाउँमा विदेशी पर्यटक आएको खासै पाइँदैन । पछिल्लो समय बागलुङ र पर्वत जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा फाट्टफुट्ट बाह्य पर्यटक देख्न थालिएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले पूर्व–पश्चिम, कालीगण्डकी करिडोरले चीन–भारत र सालझण्डी–ढोरपाटनले तराई–पहाडलाई जोडेको छ । विगतका वर्षमा भन्दा यस वर्ष पर्यटन यामको सुरुआतमै उल्लेख्य पर्यटक बागलुङमा भित्रिएको र नयाँ ठाउँमा पुग्न थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
पहिलेको तुलनामा पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढ्दै जाँदा ओझेलमा रहेका पर्यटकीय ठाउँ चर्चामा आउन थालेको उहाँको भनाइ छ । केही वर्ष अगाडिसम्म पर्यटकीय सम्भावना बोकेका ठाउँमा पुगे पनि त्यसलाई कसैले पनि बाहिर नल्याएको भन्दै अहिले पुग्ने हरेक व्यक्तिले फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न थालेपछि धेरै ठाउँ चर्चित बन्दै गएको उहाँको भनाइ छ । नयाँ गन्तव्यलाई थप व्यवस्थित बनाएर प्रचार–प्रसार गरी पर्यटक भित्र¬्याउनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने अध्यक्ष खड्का बताउनुहुन्छ । अध्यक्ष खड्काले भन्नुभयो, “सामाजिक सञ्जालले पनि धेरै ओझेलमा रहेका ठाउँलाई बाहिर ल्याउन मद्दत गर्नुका साथै धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगेको छ ।”
बजार नजिकै भए पनि भिरलाँकुरी अघिल्लो वर्षसम्म गुनामनै थियो तर अहिले दैनिक एक सयको हाराहारीमा पर्यटक पुग्ने गरेको पाइन्छ । बागलुङ बजारबाट हिँडेर करिब ४५ मिनेटमा पुग्न सकिने हुँदा धेरै मान्छे भिरलाँकुरी आउन थालेको स्थानीय सृष्टि आचार्यको भनाइ छ । यहाँबाट बागलुङ बजारसहित थुप्रै हिमशृङ्खला एकैपटक अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटक आउन थालेको उहाँले बताउनुभयो । धेरैजसो पदयात्रामार्फत भिरलाँकुरी पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।
आचार्यले भन्नुभयो, “यो ठाउँ पहिला सुनसान, स्थानीयले घाँस काट्ने ठाउँ थियो, तर अहिले हरेक दिन मान्छे आउन थालेपछि चहलपहल बढेको छ, यस्तो ठाउँ पर्यटकीय गन्तव्य होला भन्ने कसैले पनि सोचेका थिएनौँ, अहिले ‘ट्रेकिङ’ गर्नेहरूका लागि यो ठाउँ उपयुक्त बनेको छ, बिदाको दिन अझ बढी पर्यटक आउने गरेका छन् ।”
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन उत्यकाको पूर्वपट्टि पर्छ जलजला । यहाँ पनि पछिल्लो समय धेरै पर्यटक पुग्ने गरेको स्थानीय वीरबहादुर घर्तीले बताउनुभयो । पहिले–पहिले जलजलामा पर्यटक पुग्ने गरे पनि गत वर्षदेखि अझ बढी जान थालेको उहाँको भनाइ छ । ढोरपाटन उपत्यकाबाट पाखाथर, छेन्तुङगाउँ हुँदै जलजला पुग्ने पर्यटकलाई मोटर बाटोले थप सहज बनाएको उहाँले बताउनुभयो । खाने र बस्ने सुविधाका लागि होटल तथा रेष्टुरेन्ट बढ्दै गएपछि पर्यटक बढेको घर्ती बताउनुहुन्छ ।
“धेरै पर्यटक ढोरबराह मन्दिर र खापाथरसम्म आएरमात्रै फर्किन्थे, तर अहिले टाढा–टाढा पुग्ने गरेका छन्, पर्यटक आउन थालेसँगै होटल व्यवसाय पनि राम्रो हुँदै गएको छ, पहिले जनैपूर्णिमाका बेलामात्रै पर्यटक ढोरपाटन आउँथे, तर अहिले बाह्रै महिना आउने गरेका छन्”, उहाँले भन्नुभयो, “जलजला पुग्न समस्या छैन, सडक बनेको छ, ठाउँ–ठाउँमा गोठ छन्, वरपर जङ्गल र डाँडाकाँडाले पर्यटकलाई आकर्षित गरेको छ, बर्खामा यहाँ थुप्रै गोठ बस्ने गर्छन् ।”
चर्चित भएर पनि ओझेलमा
बागलुङका धेरै चर्चित गन्तव्यमा आधारभूत पूर्वाधार निर्माण नहुँदा ओझेलमा परेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने गाजाको दह, सहस्रधारा झरना, अर्नाकोट, बराह ताल, बुद्ध हिललगायतका दर्जन बढी ठाउँमा निकै कम पर्यटक पुग्ने गरेका छन् । त्यहाँसम्म पुग्ने सडक तथा पैदलमार्ग सहज नहुँदा पर्यटक कम जाने गरेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष खड्का बताउनुहुन्छ । मुख्य सडकमै पर्ने गाजाको दहसम्म पुग्ने सडकको अवस्था निकै जोखिमपूर्ण र अप्ठ्यारो हुँदा ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।
स्थानीय तुलबहादुर थापाले बागलुङ बजारबाट करिब दुई घण्टा गाडीको यात्रामा पुग्न सकिने गाजाको दह निकै सुन्दर भए पनि पर्यटक कम आएको बताउनुभयो । पर्यटकले सहजता बढी खोज्ने हुँदा गाजाको दह ओझेलमा परेको उहाँ बताउनुहुन्छ । पहिले कहिलेकाहीँ पैदलयात्रामार्फत विदेशी पर्यटक पुग्ने गरे पनि अहिले सुनसानजस्तै रहेको थापाको भनाइ छ । पर्यटक भित्र्याउनका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी रहोको उहाँले जानकारी दिनुभयो ।
तमानखोलाको बराह ताल जिल्लाकै उच्च स्थानमा रहेको छ । यहाँसम्म पुग्ने सहज माध्यम नहुँदा पर्यटक कम मात्रामा जाने गरेका छन् । पर्यटकको सहजताका लागि तमानखोला गाउँपालिकाले यस वर्ष मोटर बाटो निर्माण गरेको छ । मोटर बाटोको स्तरोन्नतिपछि मात्रै तालमा पर्यटक पुग्ने अपेक्षा लिइएको छ । डम्मर बुढामगर/रासस
काठमाडौंः नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।
जसमध्ये सबैभन्दा बढी ५९ दशमलव ८२ प्रतिशत एकतले छन् । विवरणअनुसार २८ दशमलव ७८ प्रतिशत दुईतले र नौ दशमलव १७ प्रतिशत तीनतले घर छन् । नेपालमा एक दशमलव तीन प्रतिशत चारतले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि साततले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि नौतले र शून्य दशमलव ००३ प्रतिशत १० भन्दा बढी तले घर छन् ।
“मधेस प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४ दशमलव ४२ प्रतिशत छन् भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् दुई दशमलव ३४ प्रतिशत छन्”, तथ्याङ्क कार्यालयले भनेको छ ।
देशभर कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६ दशमलव ६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा दुई दशमलव ९८ प्रतिशत रहेको छ ।
करिब ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता रहेको छ । “कूल ४१ लाख २२ हजार छ सय ९० अर्थात् ६१ दशमलव ८९ प्रतिशत परिवारमा कम्तीमा एकजना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ”, तथ्याङ्क कार्यालयको विवरणमा भनिएको छ, “यसैगरी कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्यामध्ये ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् २५ दशमलव ५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ ।”
यसैगरी, कूल एक करोड ४२ लाख ५३ हजार पाँच ५१ पुरुषमध्ये २६ दशमलव ४२ प्रतिशत र कूल एक करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४ दशमलव ७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको छ । देशभरका कूल आठ लाख ३६ हजार एक सय २७ अर्थात् १२ दशमलव ५५ प्रतिशत परिवारमा कम्तीमा एकजना व्यक्तिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन् ।
देशभरका कूल परिवार सङ्ख्यामध्ये २५ दशमलव ५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको देखिन्छ । प्रदेशअनुसार हेर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८ दशमलव ८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ९६ प्रतिशत रहेका छन् ।
राष्ट्रिय जनगणना २०७८ सञ्चालनका क्रममा २०७८ भदौ ३० देखि असोज १८ सम्म ९२० दिन० घर तथा परिवारसम्बन्धी विवरण र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म ९पन्ध्र दिन० प्रत्येक व्यक्ति तथा परिवारका बारेमा विस्तृत विवरण सङ्कलन गरिएको थियो ।
भरतपुरः देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती शुरु गरिएको छ । बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।
जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । ‘मैले बाँदर रोक्न केही विकल्प देखेको छैन, कि त तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्यो होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ’, उनले भने, ‘हामीले त फलफूलका बिरुवा रोप्न शुरु गरेका छौँ ।’ १० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उनले बताए । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताए ।
देवघाट क्षेत्रमा कमलादेवि सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् । यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ ।
एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् । बढीमात्रामा वृद्धवृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन् ।
यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन् । यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।
‘गाउँपालिकाबाट दुई वर्षअघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो । त्यसले पनि भएन । बाहिर लगेर व्यवस्थित गर्नुपर्यो भनेर केही बाँदर लगियो । त्यो पनि भएन’, अध्यक्ष गुरुङले भने, ‘बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ ।’ देवघाटका किसानलाई बाँदरबाट खेती जोगाउनसमेत मुस्किल छ ।
‘बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने’, देवघाट–५ देउपुरकी कल्पना थापामगरले भनिन्, ‘आधा बाँदरलाई आधा आफूलाई हो ।’ उनले बाँदरको समस्या दीर्घकालीनरुपमा समाधान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन् । रासस
गण्डकीः अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्कनुभएका उहाँ चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किनुभयो ।
पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसक्नुभएको छ । “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो”, उहाँले सुनाउनुभयो, “नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।”
पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । “मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि मर्दी ट्रेक उपयुक्त गन्तव्य रहेछ”, उहाँले भन्नुभयो, “दसैँलगत्तै मर्दी ट्रेक घुम्न निस्केका पर्यटकको बाटैभरि लर्को नै थियो ।”
खड्कासहितको टोली कास्कीको काँडेबाट छिरेर दुई दिनको पदयात्रामा मर्दी हिमालको आधार शिविर पुगेको थियो । फर्किंदा लान्द्रुक, नयाँपुल हुँदै बागलुङ फर्केको खड्काले बताउनुभयो । पोखरा महानगरपालिका–२९ भण्ढारढिककी आरजु खत्रीले पनि यसपालिको दसैँ बिदामा घुम्नका लागि मर्दी आधार शिविरलाई रोज्नुभयो ।
काठमाडौँबाट आएका दुई साथीसहित दसैँको पर्सीपल्ट उहाँले मर्दीका लागि यात्रा तय गर्नुभएको थियो । “काँडे, अष्ट्रेलियन क्याम्प, देउराली हुँदै पहिलो दिन हाइक्याम्प पुगेर बास बस्यौँ, दोस्रो दिन मर्दी आधार शिविर पुगेर देस्रो दिन घर फर्कियौँ”, खत्रीले भन्नुभयो, “हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।”
सूचना प्रविधि विषयमा अध्ययनरत उहाँ दसैँमा लामो बिदा हुने भएकाले घुम्न रुचाउनुहुन्छ । खत्रीले गत वर्ष हिउँदमा कास्कीकै अर्को पर्यटकीय गन्तव्य खुमै डाँडाको पदयात्रा गर्नुभएको थियो । उहाँले मर्दी आधारशिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाउनुभयो । “धेरै आन्तरिक पर्यटक नै थिए, विशेष गरी युवा बढी देखिन्थे”, खत्रीले भन्नुभयो ।
काठमाडौँमा व्यवसाय गर्ने बागलुङका ओम खत्री पनि दसैँको भोलिपल्टै साथीहरूसँग ढोरपाटन घुम्न निस्कनुभयो । आफ्नै जिल्लामा पर्ने भए पनि ढोरपाटन यात्रा उहाँका लागि पहिलो थियो । “ढोरपाटन घुम्न पहिलेदेखिनै उत्सुक थिएँ, अहिले बल्ल मौका जु¥यो”, खत्रीले भन्नुभयो, “व्यवस्तताले नजिकका गन्तव्य पनि घुम्न पाइएको छैन, अब भने बेलाबेला घुमफिरमा निस्कनुपर्छ भन्ने लागेको छ ।”
खत्रीसहित छ जना मिलेर मोटरसाइकलमा ढोरपाटन पुगेका थिए । उनीहरू तीन दिन लगाएर ढोरपाटन उपत्यका, बुकी, जलजलालगायत ठाउँ घुमेका थिए । दसैँ बिदामा ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहपहल बढी देखिएको खत्रीले बताउनुभयो । ढोरपाटन देशकै एक मात्र सिकार आरक्ष हो । सिकारमा विदेशीको आकर्षण रहे पनि ढोरपाटन क्षेत्र घुम्न जानेमा बढी आन्तरिक पर्यटक नै हुन्छन् ।
कास्कीका दिवस गुरुङले दसैँको छेकोमा तीन जापानी पर्यटकसहित सात दिन पदयात्रा गर्नुभयो । कास्कीको नयाँपुल, म्याग्दीको घोरेपानी हुँदै मुक्तिनाथसम्म पदयात्रा गरेको उहाँले बताउनुभयो । २९ वर्षीय गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गर्नुभएको थियो । मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उहाँले पदयात्रा गर्नुभएको थियो । मुस्ताङदेखि डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उहाँको स्मृतिमा अहिले पनि ताजै छ ।
गुरुङले विसं २०७५ को दसैँमा पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गर्नुभएको थियो । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, उहाँले भन्नुभयो, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।”
जतिसुकै कठिन र लामो यात्रामा पनि उहाँ एक्लै निस्कन्छन् । कर्णाली यात्रामा जाँदा मुस्ताङ र डोल्पाबीचको याकखर्कमा पाँच दिनसम्म सम्पर्कविहीन भएर बस्नुपरेको गुरुङले सुनाउनुभयो । “हिमपातले अगाडि जान नसकेपछि धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, उहाँले भन्नुभयो, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”
गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन एक्लै हिँड्नुभएको थियो । उहाँ पदयात्री पथ प्रदर्शकसमेत हुनुहुन्छ । आम्दानीमा जोडिन पथ प्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाउनुभयो । “घुम्ने र घुमाउने नै मेरो पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न धेरै बाँकी छ”, गुरुङले भन्नुभयो, “बढीजसो म दसैँ र तिहारका बेला घुम्न निस्किरहेको हुन्छु ।” उहाँले पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढेको बताउनुभयो ।
गुरुङले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउनुभयो “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङले भन्नुभयो, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।”
पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने गुरुङले बताउनुभयो । “पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उहाँले भने, “घुम्नलाई नेपालभित्रै असङ्ख्य सम्पदा, संस्कृति र प्राकृतिक गन्तव्यस्थल छन्, आफ्नै देश चिन्नलाई पनि घुमौँ ।”
दसैँलगत्तै अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक पर्यटकको घुइँचो लागेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताउनुभयो । आन्तरिक पर्यटकको आँकडा राख्ने नगरिएपनि बर्सेनि हजारौँ नेपालीले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गन्तव्यस्थलको भ्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो एक दशकयता नेपालीहरूमा घुम्ने संस्कृति ह्वात्तै बढेको प्रमुख डा कडरियाले उल्लेख गर्नुभयो । “अन्नपूर्ण आधार शिविर, मर्दी, तिलिचो, थोरङ्ला भञ्ज्याङलगायत क्षेत्रमा पदयात्रा गर्नेको सङ्ख्या उल्लेख्य छ, विशेष गरी नेपाली युवामा घुम्ने क्रेज बढ्दो छ, सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ”, उहाँले भन्नुभयो, “कोभिड–१९ महामारीताका सुस्ताएको अन्नपूर्ण क्षेत्रको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ ।” रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies