अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनले स्थानीय तहमा भ्रष्टाचार बढेको देखाएको छ । प्रतिवेदनअनुसार, आयोगमा २६ दशमलव ८७ प्रतिशत उजुरी स्थानीय सरकारसँग जोडिएको छ । यसपछि साविकझैं शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार जस्ता विभागीय विषयका भ्रष्टाचार छन् । प्रदेशगत रुपमा भने दुई नम्बर प्रदेशमा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएको छ । अख्तियारकै प्रतिवेदनलाई आधार मानेर स्थानीय सरकारलाई हेर्ने दृष्टिकोण समेत तय भएको छ ।
आँगनसम्म सिंहदरबार पुर्याउने परिकल्पना सहित गठन भएको स्थानीय सरकारमा भ्रष्टाचार बढी देखिनु संघीयताकै लागि पनि शुभ संकेत होइन । किनभने, नेपालको संविधान २०७२ ले बलियो स्थानीय सरकारको कल्पना गरेको छ । त्यसैअनुसारको अधिकार प्रत्यायोजन गरिएको छ । संविधानको अनुसुचीमै स्थानीय सरकारलाई बलियो हुनेगरी अधिकार दिइएको छ । ती अधिकार प्रयोग गर्दै आम नागरिकमा संघीयताको अनुभूति दिलाउनुपर्ने दायित्व स्थानीय सरकारसँग छ । तर, सुशासनको प्रत्याभूति दिलाउनुपर्ने सरकारमै बढी भ्रष्टाचारको मुद्दा देखिनुले बहुआयामिक प्रश्न खडा गरेको छ ।
यो विषयलाई सकारात्मक दृष्टिबाट हेर्ने हो भने स्थानीय सरकारले बढी सुशासनको खोजी गरेको छ पनि भन्न सकिन्छ । किनभने, सुशासनको खोजी नगरी भ्रष्टाचारको विषय उठ्दैन । अध्याँरोमा उज्यालोको खोजी भएझैं सुशासनको खोजीले भ्रष्टाचारको विषय सतहमा ल्याउँछ । तसर्थ, संघ र प्रदेशमा भन्दा बढी स्थानीय सरकारमा सुशासनको एजेण्डा बढेको निष्कर्ष निकाल्न सकिन्छ । साना तर, जनताको प्रत्यक्ष सहभागिता रहने हुँदा थोरै तलमाथि हुनासाथ उजुरी परेको हुन सक्छ ।
तर, जेसुकै कारण भए पनि अख्तियारमा परेको उजुरी संख्या र प्रतिशतले भने राम्रो सन्देश गएको छैन । संघीयतामा भ्रष्टाचार बढ्छ भन्ने निष्कर्ष निकाल्नेहरुलाई मद्दत गर्छ, विद्रोहको जगमा उभिएको उपलब्धीलाई रक्षा गर्न सक्दैन । त्यसैले स्थानीय सरकारमा ब्यापक सुधारको जरुरी छ । यसको थालनी भने माथिबाट हुनुपर्छ । संसदीय अभ्यासमा दलका शीर्ष तहको सिको कार्यकर्ता पंक्तिले गर्ने भएकाले सुशासनको खोजी पनि माथिबाटै थालनि गर्नुपर्ने हुन्छ । दलहरु सुशासनको सवालमा प्रष्ट भए भने संविधानको कल्पनाअनुसार, समाज अगाडि बढ्छ । तर, संघमा सुशासन गौण विषय बन्यो भने प्रदेश र स्थानीय सरकारमा पनि यसको प्रभाव पर्छ । जसले, संघीय अभ्यासलाई कमजोर बनाउँछ । अन्ततः संविधान खतरामा पर्ने संभावना बढी हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies