समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको संसदीय शक्तिमा कुनै फरक परेको छैन । किनभने, प्रधानमन्त्री ओली अझै दुई तिहाइ नजिकको संसदीय गणितमा सरकार चलाइरहेका छन् । २७५ मध्ये नेकपा सँगै १७४ सांसद रहेकाले अन्य दलले समर्थन गर्नु र नगर्नुले उति ठूलो असर पार्दैन । २०७२ को संविधानले पार्टी विभाजनका लागि बलियो शर्तको प्रावधान गरेकाले तत्काललाई प्रधानमन्त्री ओलीको शक्तिबारे कुनै प्रश्न उठ्ने देखिदैन । प्रधानमन्त्री ओली कमजोर हुनलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजन आउनुपर्ने हुन्छ, त्यो पनि ठूलो संख्यामा सांसदहरुले सरकार छोड्ने निर्णय गर्नुपर्ने हुन्छ । शक्तिमा पुग्ने प्रमुख उद्देश्यका साथ पार्टी एकीकरण गरेको नेकपामा त्यो संभावना देखिदैन । तसर्थ, प्रधानमन्त्री ओली शक्तिशाली रहेको र रहनेमा कुनै दुइमत छैन ।
तिनै शक्तिशाली प्रधानमन्त्रीको अभिव्यक्ति र कार्यशैलीबाट भने आम नागरिकमा उत्साह देखिदैन । मंगलबार मात्रै प्रधानमन्त्री ओली मूलधारे मिडियासँग रुस्ट रहेको अभिव्यक्ति दिए । पत्रकारहरुको योग्यता र नियतबारे प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीले सकारात्मक समाचार लेख्न र देख्नलाई सम्पादकको मुटु नै नभएको अभिव्यक्ति दिए । यही अभिव्यक्तिका कारण प्रधानमन्त्री ओली फेरि एक पटक विवादित बनेका छन् । संविधान कार्यान्वयनको प्रमुख कार्यकारी व्यक्तिबाटै संविधान प्रदत्त अधिकारमाथि धावा बोलिएको रुपमा मिडियाकर्मीहरुले टिप्पणी गरिरहेका छन् ।
डा.शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा नदिए पछि महिना दिनदेखि बन्धक संसद खुलाउने प्रयत्नबारे जिम्मेवारीपूर्ण अभिव्यक्ति नदिने प्रधानमन्त्री ओलीको आक्रोशलाई स्वभाविक मानिएको छैन । त्यसै पनि विधिको शासन कायम रहेको मुलुकमा मिडियाले सरकारकै कमजोरी बारे सामग्री तय गर्ने हो । तर, राज्य सत्ताको शक्ति सन्तुलन र नागरिक स्वतन्त्रताका लागि आफ्नो भूमिकामा तैनाथ रहेर तयार पारिएका मिडिया सामग्री बारे प्रधानमन्त्रीले यसअगाडि बाटै धेरै पटक आपत्ति जनाउँदै आएका छन् । यसले संविधान प्रदत्त नागरिकको हक सरकारबाटै खोसिने खतरा रहेको आशंकालाई समेत बल पुगेको छ । त्यसै पनि मिडिया काउन्सिल विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, गुठी विधेयक, सूचना प्रविधि विधेयक लगायतबाट त्रसित नागरिकलाई अझ सशंकित बनाउनेगरी प्रधानमन्त्रीको अभिव्यक्ति आउनु उचित होइन । यसले प्रधानमन्त्री प्रति आम नागरिकको धारणा नकारात्मक मात्रै बन्दैन; सामाजिक न्याय, लोकतन्त्र र सुशासनका लागि अत्यावश्यक सचेत नागरिक पंक्तिका मुटुहरुलाई पनि निरुत्साहित बनाउँछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies