काठमाडौं : गायिका आस्था राउतको प्रहरीमाथिको आक्रोशको भिडियोे विवादमा फसेको छ । विवादित भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ र सर्वत्र चर्चाको विषय बनेको छ । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा विमानस्थलमा आफुलाई प्रहरीले आदर नगरी बोलेको र अपमान गरेको भन्दै आक्रोश पोखेकी छन् ।
एयरपोर्टमा चेकिङका क्रममा महिला प्रहरीले एउटा महिला कलाकारलाई नै अपमानित गरेकोमा उनले चित्त दुखाएकी छन् । चेकिङका क्रममा महिला प्रहरीले आफूलाई 'तँ' भनेको भन्दै भिडियोमार्फत् आस्थाले आक्रोश पोखेकी हुन् । उनले भनेकी छिन्, 'एरपोर्टबाट ३३ किलो सुन छिर्छ, ड्रग्स छिर्छ । तर एउटा महिलाले महिलालाई सम्मान गर्न सक्दैनौ । एउटा कलाकारको सम्मान छैन । मेरो हातमा कफि छ गोजीमा छाम्नुस्, मलाई ढिला भैसक्यो भन्दा खोल ज्याकेट खोल रे । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’
उनले विशेष गरेर माथिल्लो पदमा रहेका प्रहरी अधिकारीहरूमा मात्र उच्च आदररार्थी शब्दको प्रयोग हुने र तल्लो तहका अधिकारीहरूमा बोल्ने शैली र हेक्का नै नभएको आरोप लगाएकी छन् । उनले भिडियोमा पदमा बस्नेलाई सम्मान गर्ने र सर्वसाधरणलाई अपमान गर्ने प्रहरीहरूको व्यवहार परिवर्तन गर्न समेत आग्रह गरेकी छन् । आक्रामक शैलीमा उनले थपेकी छन्, 'यो नेपाल प्रहरीकोे जरा नै दुर्गन्धित छ । टुप्पामा दर्शन भनेर हुन्छ? टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । जरा नै कुहिएको छ, पहिला जरा मलजल गर ।’
प्रहरीले वर्दी लगाएकै भरमा सर्वसाधारणलाई धम्काउने गरेको जनतालाई स्वीकार्य नहुने बताएकी छन् । 'टुप्पामा मात्र राम्रो भएर हुँदैन तल्लो तहका सिपाही, हवल्दारहरूलाई पनि संस्कार सिकाउनुहोस्, आफूलाई मात्र होइन सबैलाई हजुर भनेर सम्बोधन गर्न सिकाउनुहोस्’, भिडियोमा आस्थाले नेपाल प्रहरीलाई सुझाव दिँदै भनेकी छन्, 'सम्मान चाहिन्छ भने सम्मान गर्न पनि सिक ।’ जीवनमा आफूलाई आफ्नै बा–आमाले पनि 'तँ’ नभनेको तर चेकिङमा प्रहरीले 'तँ’ भनेकोप्रति उनी आक्रोशित भएकी हुन् । उनले प्रहरीलाई फुलिस, डन्ठे, प्युसो, डन्ठीनी लगायतका शब्द प्रयोग गर्दै गाली गरेकी छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालले राउतको उक्त भिडियोको छानविन गर्न निर्देशन दिएपछि अनुसन्धान सुरु भइसकेको छ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइसकिएको बताए । प्रवक्ता क्षेत्रीले राउतमाथि दुव्र्यवहार भएको भए त्यो गलत हुने बताउँदै भने, 'तर, उहाँले जसरी बोल्नुभएको छ, त्यो शैली पनि संस्कारजन्य चाहिँ देखिएन ।’ प्रकरणमा दोषी देखिने पक्षमाथि कारबाही हुने उनले बताए ।
गायिका राउतले विमानस्थलमा आफूले प्रहरीको व्यवहारविरुद्ध असन्तुष्टि जनाए पनि गल्ती भने नगरेको बताएकी छन् । 'जे भएको हो त्यो कुरा मैले भिडियोमा भनिसकेको छु । सहनै नसक्ने दुर्व्यवहार भएका कारण मैले भिडियोमार्फत् भएको कुरा बाहिर ल्याएको हुँ,' आस्थाले भनिन्, 'भिडियोमा प्रयोग भएका दुईचार शब्द पक्कै पनि मैले प्रयोग नगरेको भए हुने थियो जस्तो अहिले लागेको छ । तर त्यति ठूलो गल्ती नै भने मैले गरे जस्तो लाग्दैन । मैले जे भोगेँ त्यो कुरा भनेकी हुँ ।'
फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एयरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ ।
'चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,' आस्था भन्छिन्, 'तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।'
जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा ! नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies