सशस्त्र द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाको छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका लागि पदाधिकारी सिफारिस भएका छन् । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले दुई आयोगका लागि पदाधिकारी सिफारिस गरेको हो । शनिबार बसेको सिफारिस समितिको बैठकले दुवै आयोगमा अध्यक्ष सहित चार–चार जना सदस्यको नामावली टुंगो लगाउँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाइएको छ ।
सिफारिस सँगै, झण्डै एक वर्षदेखि रिक्त दुवै आयोगमा पदाधिकारी नियुक्त हुँदैछन् । पूर्व प्रधानन्यायाधीशकै संयोजकत्वको समितिमा राष्ट्रिय मानवअधिकार आयोग, द्वन्द्व पीडितका प्रतिनिधि समेत सामेल भएकाले प्रक्रियाका हिसाबले आशंका गर्नुपर्ने ठाउँ देखिदैन । किनभने, प्रक्रियामा कतै त्रुटि देखिदैन । तर, त्यसभित्र ‘ओपन सेक्रेट’ का रुपमा गरिएको दलीय भागबण्डाले भने गम्भीर आशंका उत्पन्न गराएको छ । भागबण्डा गरिएको निर्णय सत्तारुढ नेकपा र काँग्रेसकै नेताहरुले आम सञ्चार माध्यमलाई बताएका छन् । तिनै नेताहरुका अनुसार, शनिबार बालुवाटारमा नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भागबण्डामा सहमति जुटाएका थिए ।
निष्पक्ष छानबिन गर्ने उद्देश्यले २०७१ मा गठित दुवै आयोगमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्ने निर्णय पछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । द्वन्द्व पीडित साझा चौतारी नेपालले दलहरुको निर्णयका आधारमा पदाधिकारी नियुक्ति हुनुलाई गम्भीर धोका र षडयन्त्र भएको आरोप लगाएको छ । उसले दलीय भागबण्डाका आधारमा आएका पदाधिकारीले गर्ने छानबिन निष्पक्ष नहुने निष्कर्ष समेत निकालेको छ । अन्य सरोकारवालाहरुको पनि पत्यक्ष÷परोक्ष आपत्ति देखिन्छ ।
हुन पनि सशस्त्र द्वन्द्वकालसँग काँग्रेस सभापति देउवा र नेकपाका अध्यक्ष दाहाल दुवै जोडिएका छन् । दाहालले सशस्त्र द्वन्द्वकालमा विद्रोही शक्तिको नेतृत्व गरेका थिए भने देउवा नेतृत्व सरकारले सेना परिचालन गरेको थियो । तसर्थ, दुवै पक्षका जिम्मेवारहरुबीच भागबण्डा गरी आयोगको नेतृत्व टुंग्याउने कार्यप्रति आपत्ति जनाइनु स्वभाविक देखिन्छ । जसले नियुक्ति दियो, उनै विरुद्ध हुने अनुसन्धान पक्कै पनि निष्पक्ष हुन सक्दैन । यदि, निष्पक्ष कामै गरे पनि प्रश्न उठ्न सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies